निर्णय नं. २८३० - कर्तव्य ज्यान

निर्णय नं. २८३० ने.का.प. २०४३ अङ्क ८
संयुक्तइजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४१ सालको फौ.पु.नं. ६६८
फैसला भएको मिति : २०४३।८।१२।५ मा
पुनरावेदक/वादी : शिवचरण यादवको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.प.खैरवन्नी गा.पं.वडा नं.६ बस्ने परमेश्वर साहू सोनारसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) रिस परेकोमा झुठ्ठा आरोप समेत लाग्न सक्ने हुनाले शंकारहित तवरबाट प्रतिवादीहरूको कर्तव्यले ज्यान मरेको अवस्था वादी पक्षबाट प्रमाणित हुन नसकेको हुनाले प्रतिवादीहरूले सफाई पाउने ।
(प्रकरण नं. १९)
पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री वलराम के.सी.
फैसला
न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।२।१ को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ ।
२. आजभन्दा १५।१६ दिन अघि खेत नजिकको चौरमा टाउको काटी लाश फ्याँकेको छ भन्ने गाउँमा चर्चा सुनेपछि खैरवन्नी घर भई हाल सीतामढी सिरसिया बन्ने सालो सोनफी यादव हराएको छ भन्ने सुनी निज बसेको ठाउँमा गई निजकी छोरी किसमतकुमारीलाई सोद्धा चार पाँच दिन अघि राम अवतार, भगवत, बम्बर भन्ने परमेश्वर साहू, देवन राय समेतका साथ खैरवन्नी जानु भएको फर्किनु भएको छैन भनेकीले फर्की लाश भएको ठाउँमा हेर्न जाँदा टाउको काटिएको लाश देख्यौं निजले लगाएको धोती, गन्जी, कमीजबाट सोनफी नै हो भन्ने चिन्यौं । निज विपक्षीहरू र अरु को को मिली ज्यान मारेका हुन् कारवाही गराई पाउँ भन्ने शिवचरण यादवले मिति २०३८।८।१५।२ मा जि.प्र.का.महोत्तरीमा दिएको जाहेरी दर्खास्त ।
३. घटनास्थलमा रहेका भनी देखाएका कपडाका टुक्राहरू मेरा बाबुले घरबाट आउँदा लगाई आएको कपडाका टुक्राहरू हुन् । बुबा सोनफीको लाश चिनें यही हो भन्ने किसमतकुमारीको सनाखत कागज ।
४. आज भन्दा २०।२२ दिन अगाडि म बस्ने गरेको खैरवन्नी स्थित सोनफी राय यादवको फुसको घरमा राम अवतार, निजको छोरा भागवत, देवन राय आई सोनफी कहाँ जाउँ भनी बोलाई लगे राम अवतारले सोनफीलाई झगडा किन गर्नु तिम्रो जग्गाको मोल दिन्छु भनी सँगै बोलाई बाटामा पर्ने गाउँ देखि आधा माईल पश्चिम खलिहानमा बसी कुराकानी गरी बसिरहेको बेला मोदरा मलाहा, रामदत्त मलाहा भूपा मलाह समेत आई उक्त उल्लिखित मानिस समेत सबै मिली एक्कासी सोनफीलाई समाती उसैको धोतीले नाक मुख थुनी पाता फर्काई खुट्टा समेत बाँधी निजहरूले नै बोकी त्यहाँबाट १० विगहा उत्तर पैनीमा लाँदा बाटामा यसले खेत सम्बन्धमा मलाई मार्ने भनिरहेको थियो । हामी सबै मिली यसलाई मारी दिने यसको खेत मलाई हुन्छ भनी राम अवतारले भन्यो । घर तिमीलाई दिन्छु जुगेश्वर साहनीलाई यसको मारेको बदला मलाहाहरूले लिइहाल्छ भनी पैनीमा पुगी सोेनफीको टाउको उत्तर खुट्टा दक्षिण गरी म गोडामा राम अवतार घुँडामा बस्यौं मौदरा मलाहा छातीमा बस्यो, रामदत्त मलाहा कम्मर माथि उत्तर मुख गरी भूपा मलाहाले दाहिने पट्टिबाट थिचेपछि भागवत राय यादवले खल्तिबाट दायगर चक्कू झिकी सोनफीको घाँटी रेट्यो टाउको यहाँ राख्नुु हुन्न भन्दै टाउको काट्यो लाशलाई पैनीबाट तानी खेतमा गएपछि त्यहाँदेखि अन्दाजी २ किलोमिटर टाढा धानको खेतमा देवन राय यादव र भागवत राय यादवले हिलो हटाई टाउको गाडेपछि हामी सबै नदीतर्फ गई हात खुट्टा पखाल्यौं अनि सबैजना आ–आफ्ना घर गई सुतेका हौं भन्ने बम्बर भन्ने परमेश्वर साहू सोनारको प्रहरीमा भएको कागज ।
५. मेरो साला सोनफीको नामको जग्गा छोरा भागवतको नाममा पास गराएँ पैसा अली अली दिन बाँकी रहेकोले तिमी दुवै बाबु छोरालाई मारी दिन्छु भन्ने धम्की दिई राखेकोले म मेरो छोरा भागवत, ज्वाई देवन मिलि भारत गई जग्गाको कुरा मिलाउने सल्लाह गरी सोनाफीलाई संगै बोलाई लिई आए म खलिहानमा पुगी एकछिन कुराकानी गरिरहेको अवस्थामा मैले भनेर गए बमोजिम मौदरा मलाहा, भूपा मलाहा, रामदत्त मलाहा आई पुगी सोनफीलाई समाती निजैको धोतीले बाँधी नाक मुख थुनी छोरा र ज्वाई समेत ५ जना भई बोकी पैनीमा लगी परमेश्वरले गोडा समाते म घुँडा माथि बसें रामदत्त मलाहा कम्मरमा र मोदराले घाँटीमा थिची बस्यौं भूपा मलाहाले दाहिने पट्टि थिची भागवत राय यादवले खल्तीबाट डायगर चक्कू झिकी घाँटी रेट्यो यसको टाउको यहाँ रहन दिनु हुन्न भन्दै अन्दाजी २ किलोमिटर धान खेतमा लगी देवान र भागवतले गाडे हामी आलीमा उभिइरहृयौं । टाउको गाडी सकेपछि नदीमा हात खुट्टा धोई हामी सबैजना राती ११ बजे आफ्ना घर पुगी सुतेका हौं भन्ने प्र. राम अवतार यादवले प्रहरीमा गरेको कागज ।
६. जाहेरी दर्खास्त लाश प्रकृति मुचुल्का अभियुक्तको बयान कागज, सोनफीको छोरी किसमतकुमारीले गरिदिएको कागज सरजमीन मुचुल्का समेत हेरी विचार गर्दा अभियुक्तहरूले सोनफीलाई जोखिमी हतियारले काटी मारी फालेको देखिन आएको हुनाले भागवत उपर ज्यानसम्बन्धीको १३(१) परमेश्वर, राम अवतार, रामदत्त, मदौरा, देवन, भूपा समेत ६ जनाले हात खुट्टा टाउको समाती सहयोग दिएको ऐ.को १३(४) अनुसार सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन ।
७. प्रहरीमा गरेको कागज राजीशुखीले गरेको होइन । कुटपिट गरी सावित गराएका हुन् मैले सोनफीलाई मारेको होइन, कसले मारे मलाई थाहा छैन जग्गा सम्बन्धमा झगडा भएको छैन किन पोल गरे थाहा छैन भन्ने प्र.राम अवतारले अदालतमा गरेको बयान ।
८. प्रहरीमा गरेको कागज राजीखुशीले गरेको होइन कुटपिट गरी बेहोश पारी मलाई नसुनाई सहिछाप गराएका हुन् मैले सोनफीलाई मारेको होइन भन्ने परमेश्वर साहूले अदालतमा गरेको बयान ।
९. मिति २०३८।८।२० गते मटिहानीतर्फ माछा मार्न गई मिति २०३८।८।२५ गते घर फर्केको हुँ मैले सोनफीलाई मारेको होइन भन्ने समेत भूपनारायण मलाहाको बयान ।
१०. राम औतार, परमेश्वर देवानसंग रीसइवी छ, २०३८ साल कार्तिक २५ गतेका दिन फूलकाटा पञ्चायतमा खपडाले घर छाउने काममा लागी छाउने काम सकी २०३८।८।१७ गते मात्र घर फर्केको हुँ ईवीले झुठ्ठा पोलका हुन् भन्ने समेत मोदरा साहनी मलाहाको बयान ।
११. मिति २०३८।७।२४ गते आराहा नवराजपुरमा गई मिति २०३८।८।२० गते घर फर्की आएको थिएँ । म निर्दोष छु भन्ने समेत रामदत्तले अदालतमा गरेको बयान ।
१२. सोनफी राय मेरो मामा हुन, निजका नामको जग्गा मलाई पास गरी दिएका छन् निज सोनफी मुद्दामा फरार भई लुकी छिपी बसेका थिए । जग्गा खान नपाएको इवीले झुठ्ठा पोल गरेको हुन् सोनफी रायको छोरी भनी लेखेको किसमतकुमारीलाई चिनेको छु । निज किसमतकुमारी सहनी मलाहाको छोरी हो, आमाको नाम शनिश्वरी मलाहीन हो । वारदात भएको ४।५ दिन अगाडि म निजको घरमा गएको छैन मैले कुनै कसूर नगरेको हुँदा सफाई पाउँ भन्ने भागवत राय यादवले अदालतमा गरेको बयान ।
१३. वितेको कार्तिक १५ गते सर्लाही जिल्ला कविलासी गाउँमा गएको थिएँ । मार्ग १५ गतेका दिन घर फर्की आएको हुँ सोनफीलाई कसले मारे थाहा छैन । विरोधीले पोलाएको हुनुपर्छ म निर्दोष छु भन्ने समेत देवन राय यादवले गरेको बयान ।
१४. सोनफीको भनेको नाक, आँखा, कान, मुख केही नभएको नरमुण्ड डाक्टरद्वारा जाँच भएको पाइँदैन जसबाट सोनफीको टाउँको भन्न सकिने स्थिति छैन सोनफीले लगाएका भनिएका किसमतकुमारीले सनाखत गरेका कपडाका टुक्रा अदालतमा पेश हुन नसकेको किसमतकुमारीको भनाईको आधारमा जाहेरी परेको र वादी पक्षले किसमतकुमारीलाई अदालतमा उपस्थित गराउन नसकेको, प्रतिवादीहरूले सोनफीलाई मार्नु पर्ने सम्मको रीसइवी पनि नदेखिएको, भेटिएका १३ टुक्रा हाड सोनफी कै हो भन्न सकिने प्रमाण नभएको राम औतार र परमेश्वरलाई २०३८।८।१७ मा पक्राउ गरी दाखिल गरेको भन्ने प्रहरी प्रतिवेदनमा उल्लेख भएको र २०३८।८।१५ को लाश जाँच मुचुल्का र सोही दिनको टाउको बरामदी मुचुल्कामा यिनै प्रतिवादीहरू रोहवरमा रही सहिछाप गरेको पनि देखिन आउँछ । १७ गते पक्राउ हुने व्यक्तिले १५ गते कसरी टाउको बरामत गराई मुचुल्कामा सहिछाप गरी दियो भन्ने शंका उत्पन्न हुन्छ प्रहरीको साविती निर्विवाद प्रमाणित हुन नसकेको प्रतिवादीका साक्षीहरूले प्रतिवादीहरू निर्दोष छन् भनी किटानी बकपत्र गरेको समेत आधारमा प्रतिवादीहरूले सफाई पाउने ठहराई महोत्तरी जिल्ला अदालतबाट मिति २०४०।९।१३ मा भएको फैसला ।
१५. शुरु जिल्ला अदालतको फैसला उपर पुनरावेदन परी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट इन्साफ हुँदा शुरु जिल्ला अदालतले अभियुक्तहरूलाई सफाई दिएको इन्साफ मनासिब ठहराई मिति २०४१।२।१ मा भएको फैसला ।
१६. जाहेरीमा उल्लिखित लाश र बरामदी मुचुल्कामा उल्लिखित लाश उही देखिन आई टाउको र शरीर अलग अलग बरामद भएका तथ्यहरु अभियुक्तको प्रहरीमा भएको कागजसँग मिलिरहेको छ । सोनफी अभियुक्त राम औतार समेत सँग गएदेखि हराइरहेको भन्ने कुरामा कुनै शंका नभई अभियुक्तसँग मर्ने सोनफीको रीसइवी भइरहेको तथ्यलाई मध्यमाञ्चल क्षेत्रीय अदालतले पनि मानेकै हुँदा फेला परेको लाश सोनफीको नै सिद्ध हुनआएको र अभियुक्तहरूले नै सोनफीलाई हत्या गरेको सिद्ध हुनआएकोले सजायँ हुनुपर्ने अभियुक्तहरुलाई सफाई दिने गरी शुरुले गरेको म.क्षे.अ. निर्णय बदर गरी प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीहरूलाई सजायँ गरी पाउँ भन्ने जिकिर लिई श्री ५ को सरकारबाट मिति २०४१।३।१८ मा यस अदालतमा पर्न आएको पुनरावेदन ।
१७. पुनरावेदक वादी श्री ५ को सरकारका तर्फबाट बहसका निमित्त उपस्थित हुनुभएका विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी ले कपडाबाट पहिचान भई मृतक सोनफीकी छोरी किसमतकुमारी समेतबाट लाश सनाखत भएको, किसमतकुमारीले प्र.हरूले सोनफीलाई बोलाई लगेको भने बमोजिम नै परमेश्वर र राम औतार प्रहरीमा सावित रहेका, प्रहरीमा गरेको कागजलाई राजीखुशीले गरेको होइनसम्म भने पनि अपराध गरेको होइन भनी स्पष्ट इन्कार गर्न नसकेको हुनाले प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१८. नियमानुसार निर्णयार्थ आज यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिले नमिलेको के छ भन्ने विषयमा निर्णय दिनु पर्ने हुनआएको छ ।
१९. यसमा निर्णयतर्फ विचार गर्दा लाश प्रकृति मुचुल्कामा उल्लेख भएअनुसार छाला मासु गली सकेको, हाडखोर मात्र भेटिएको लाशलाई मृतक सोनफीले लगाउने गरेका कपडाका टुक्राहरू वरपर भेटिएबाट सो लाश सोनफीको हो भनी चिन्ने आधार लिएको, मृतक सोनफीकी छोरी भनेकी किसमतकुमारीको सनाखत मुचुल्काबाट पोष्र्टमार्टम हुन नसक्ने अवस्थाका हाडखोर यथार्थमा सोनफीकै थिए भनी शंकारहित तवरबाट पुष्टि हुने अवस्था देखिँदैन । प्रतिवादीहरू मध्ये परमेश्वर र रामऔतार प्रहरीमा सावित भए तापनि अदालत समक्ष इन्कार रही बयान दिएका र अन्य प्रकारबाट समेत प्रहरीमा भएको सावितीको पुष्ट्याई हुनसकेको देखिँदैन । अभियुक्तसँग मर्ने सोनफीको रीसइवी भएको कुरालाई मध्यमाञ्चल क्षेत्रीय अदालतले स्वीकारेको हुनाले अभियुक्तहरूले नै सोनफीको हत्या गरेको भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर भएकोमा रीसइवी भएका मानिसले मृतक सोनफीलाई बोलाएर लगेको भन्ने कथन विश्वसनीय मान्न सक्ने अवस्था हुँदैन र रिस परेकोमा झुठ्ठा आरोप समेत लाग्न सक्ने हुनाले शंकारहित तवरबाट प्रतिवादीहरूको कर्तव्यले सोनफीको ज्यान मरेको अवस्था वादी पक्षबाट प्रमाणित हुन नसकेको हुनाले प्रतिवादीहरूले सफाई पाउने ठहराई महोत्तरी जिल्ला अदालतबाट मिति २०४०।९।१३ मा भएको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।२।१ को इन्साफ मनासिब छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । जानकारीका निमित्त निर्णयको प्रतिलिपि श्री महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इतिसम्वत् २०४३ साल मार्ग १२ गते रोज ५ शुभम् ।