निर्णय नं. २१४९ - परमादेश
निर्णय नं. २१४९ ने.का.प. २०४१ अङ्क १०
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको रि.नं. १९७०
विषय : परमादेश
निवेदक : जिल्ला सर्लाही मलंगवा गा.पं. वार्ड नं. २ बस्ने मलंगवा माध्यामिक व्यवसायिक विद्यालयको प्र.अ. रामहरि जोशी
विरूद्ध
विपक्षी : मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, काठमाडौं
जिल्ला कार्यालय शिक्षा शाखा सर्लाही
पब्लिक ब्यावसायिक मा.वि. सञ्चालक समिति मलंगवा सर्लाही
प्रधानाध्यापक बनाइएका महेन्द्रलाल कर्ण
म. व्या.मा.वि. मलंगवा
आदेश भएको मिति : २०४१।१०।४।५ मा
§ निवेदकलाई बर्खास्ती गर्ने गरेको निर्णयहरू बदर भएपछि रिट निवेदकको हैसियत निर्णय हुनु अगाडि जे जस्तो छ सोही बमोजिमको हुन जान्छ ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री नूतन थपलिया
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट
उल्लेखित मुद्दा : x
आदेश
न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ ।
२. मलाई पदबाट बर्खास्त गर्ने गरेको निर्णय उपर मेरो निवेदन पर्दा यसै अदालतको डिभिजन बेञ्चबाट ०३७ सालको रिट नं. १३८३ को निवेदनमा मिति ०३९।६।११ मा म रामहरि जोशीलाई सेवाबाट बर्खास्त गरेको का.मु.जि.सि.अ.को ०३७।२।२० को पत्र र त्यसलाई समर्थन गरेको क्षेत्रीय निर्देशनालयको ०३७।७।२८ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भनी निर्णय भएको थियो । त्यसपछि मलाई पुनः बहाली गराई पाउँ भनी विपक्षीहरू समक्ष पटक–पटक निवेदन गर्दै आएको छु । विपक्षी जि.का.शि.शा.ले विपक्षी विद्यालयलाई ०४०।४।२ मा मलाई साविक बमोजिम बहाली गर्नु भन्ने समेत पत्र पनि लेखेको छु तर विपक्षी सञ्चालक समितिले ०४०।१।२४ को निर्णयानुसार तपाईलाई बहाल गराउन नसकिने भन्ने निर्णय भएको जानकारी गराइन्छ भनी मलाई ०४०।९।६ मा सूचना दिएको छ ।
३. सम्मानित सर्वोच्च अदालतको डिभिजन बेञ्चबाट मलाई बर्खास्त गरेको निर्णय बदर भई गई सकेपछि मलाई अविलम्ब साविक पदमा बहाल गर्नुपर्नेमा सम्मानित अदालतको आदेशको अपहेलना गरी मलाई बहाल नगरेकोले साविकबमोजिमको पदमा अविलम्ब बहाली गर्नु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेत रिटनिवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश ।
५. बहाली गर्ने काम यस कार्यालयको नभई सञ्चालक समितिको हो । निवेदक प्र.अ. नभई शिक्षकसम्म हो र बर्खास्त गर्दाको अवस्थामा का.मु.सम्म दिइएको थियो । आफूलाई प्र.अ.भनी झुठ्ठो निवेदन गरेकाले समेत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत जि.का.शि.शाखा मलंगवा सर्लाहीको लिखितजवाफ ।
६. रिट निवेदन झुठ्ठा हो । निवेदक उपर लागेको राजनैतिक आरोपबाट सफाई पाएको नभई बर्खास्ती त्रुटिपूर्ण भएको भनी बदर भएको सम्म हो । निवेदक प्र.अ. नभई शिक्षक सम्म हो । निवेदकको राजनैतिक गतिविधिले गर्दा बहाली राख्न सम्भव नभएकोले सरूवाको लागि क्षे.शि.नि.मा लेखी पठाइएको छ । तसर्थ रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत विपक्षी संचालक समितिको लिखितजवाफ ।
७. रिट निवेदक शिक्षक मात्र भएकोले प्र.अ.को पदको दावी गरेको बिलकुल झुठ्ठा हो । सञ्चालक समितिको निर्णय उपर पुनरावेदन गर्ने कानुनी हक सुरक्षित छ । निवेदकको बहालीका लागि यस कार्यालयले पत्राचार गरी रहेको समेत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको लिखितजवाफ ।
८. मैले रिट निवेदकको हकमा र सम्मानित अदालतको आदेशमा असर पुर्याएको छैन । म उक्त विद्यालयमा काजमा गई फिर्ता भई कृष्णदेवी मा.वि. विष्णुपुर मलंगवामा सेवारत छु । तसर्थ मेरो विरूद्ध परमादेश लागू हुनुपर्ने होइन भन्नेसमेत विपक्षी प्र.अ.महेन्द्रप्रसादको लिखितजवाफ ।
९. नियमानुसार पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री नुतन थपलियाको र विपक्षी कार्यालयका तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्टको बहस समेत सुनियो ।
१०. प्रस्तुत विवादमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो होइन सो कुरामा निर्णय दिनुपरेको छ ।
११. निर्णयतर्फ विचार गर्दा यसमा रिट निवेदक रामहरि जोशीलाई शिक्षक पदबाट बर्खास्त गर्ने गरेको का.मु.जि.शि.अ. को ०३७।२।२० को पत्र र त्यसलाई समर्थन गरेको क्षेत्रीय शिक्षा निर्देशनालयको ०३७।७।२८ को निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गर्ने ठहर्याई यसै अदालतको डिभिजन बेञ्चबाट मिति ०३९।६।११।२ मा आदेश भएको देखिन्छ । यसरी निवेदकलाई बर्खास्ती गर्ने गरेको निर्णयहरू बदर भएपछि रिट निवेदकको हैसियत निर्णय हुनु अगाडि जे जस्तो छ सोही बमोजिमको हुन जान्छ । रिट निवेदकलाई शिक्षक पदबाट बर्खास्त गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर भएकोमा विवाद छैन । यस्तो अवस्थामा बर्खास्त गरिएको निर्णय बदर भएपछि रिट निवेदकलाई साविक बमोजिमको पदमा बहाल गर्नुपर्नेमा सो गरेको नदेखिएकोले रिट निवेदक रामहरि जोशीलाई साविक बमोजिमको पदमा अविलम्ब बहाल गर्नु भनी विपक्षी सञ्चालक समिति समेतका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । जानकारी निमित्त आदेशको प्रतिलिपि विपक्षी कार्यालयहरू समक्ष पठाउन महान्यायाधिवक्ताको कार्यालयमा र विपक्षी सञ्चालक समितिमा पठाई फाइल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल माघ ४ गते रोज ५ शुभम् ।