निर्णय नं. २१५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. २१५५ ने.का.प. २०४१ अङ्क १०
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको रिट नं. १७२५
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
निवेदक : राप्ती अञ्चल प्यूठान जिल्ला धर्मावती गा.पं. वडा नं. ४ उपल्ला दम्पति बस्ने पदमबहादुर थापा क्षेत्री
विरूद्ध
विपक्षी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय राप्ती अञ्चल प्यूठान जिल्ला खलंग प्यूठान जिल्ला धर्मावती गा.पं. कार्यालय वाग्ढुला राप्ती अञ्चल प्यूठान जिल्ला धर्मावती गा.पं. वडा नं. ४ उपल्ला दम्पति बस्ने नारायण बहादुर थापा
आदेश भएको मिति : २०४१।९।३०।१ मा
§ बन्धकी छोडी दिएको भनेको कागज निवेदकको इच्छा विरूद्ध प्रमुख जिल्ला अधिकारीले अधिकार बाहिर गई क्षेत्रात्मक त्रुटि गरेको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट
उल्लेखित मुद्दा : x
आदेश
न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयले मिति २०४०।७।११ गतेको कार्यवाही बदर गरिपाउँ भनी रिट निवेदन मिति ०४०।८।१३।३ मा दर्ता भएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : मेरा पिता टेकबहादुर थापाको तीनवटी श्रीमतीबाट ६ जना छोरा जेठा का.प.नरबहादुर थापा माहिला होतबहादुर थापा साहिलो म निवेदक पदमबहादुर थापा १ काहिलो अकिलबहादुर थापा, ठूलोकान्छो दीर्घबहादुर, कान्छो नारायणबहादुर १ समेतका सबै अंशियार २०१० साल भन्दा अघि नै छुट्टी भिन्न भई आफ्नो–आफ्नो खती उपती गरी आएको र पिता र माताहरू समेत परलोक भई सकल भएको छ । हामी दाजुभाइमा कुनै प्रकारको झगडा थिएन । पिताजी टेकबहादुरले मसँग रू. २५००। रुपैयाँ लिई निजका नाउँमा दर्ता रहेको पूर्व पूर्णबहादुर पाण्डे क्षेत्रीको पाखो बारी साँध पश्चिम भुलावारीको ठीक साँध उत्तर ठाडोबाट दक्षिण मेरै हक आधा बाटो यति ४ किल्लाभित्र उदनि घरबारी मध्येको आधा पाटो अं. विजन ।।३ जाने जग्गा विपक्षी नारायणबहादुर समेतका भिन्न बसेका दाइ भाइ साक्षी बसी मिति २०३२।११।२३ मा घरसारमा लिखत भई ऐनका म्यादभित्र पारित गरी नदिई अदालतमा फिराद पारी पास हुने ठहर भई फैसला भई मिति ०३४।५।६।२ मा लिखत पारित भराई भोगी आएको थिएँ । उक्त पिताजीले दिई बाँकी रहेको घरबारी पिताजी परलोक भई विपक्षी नारायणबहादुरका नाउँमा दर्ता तिरो भरो भएको पूर्व रणबहादुर र आमा गोपकुमारीको आँठो पश्चिम तेर्सो डोहार खिमबहादुरको आँठो उत्तर दक्षिण दीर्घबहादुरको र धनीको घरबास यति ४ किल्लामा बनेको १९ हात लम्बा ११ हात चौडा भएको ढुंगाको गाहरो फुसको छाना जिर्ण भएको घर समेत विपक्षी भाइ नारायणबहादुरले मिति २०३८।१०।१२ मा रू. ६०००। मा राजीनामा गरी म निवेदकलाई दिएको थियो । राजीनामा गरी लिएपछि मैले भोगी चर्ची आएको थिए । कुनै विवाद थिएन । विपक्षी मध्ये नारायणबहादुरले विपक्षी मध्ये जि. कार्यालयमा रू. १८००। रुपैयाँ मैले राजीनामा गरी दिँदा नदिई बाँकी रहेको थैली र पारित राजीनामाका चारकिल्ला भित्र आमाको भागको आमा मरी अपुताली परी मेरो हक भएको जग्गा रू. १०००। मा घरसारमा विपक्षीलाई मौखिक शर्तमा दिएको बाँकी बन्धकी निखनाई जग्गा मेरो हक कायम गरिपाउँ भनी उजूरी दिएको रहेछ । विपक्षी जिल्ला कार्यालयले विपक्षी पञ्चायतलाई कार्यवाही गर्नु भनी उजूरी पठाई दिएको रहेछ । विपक्षी पञ्चायतले मलाई म्याद काटी झिकाए पछि म हाजिर भई मैले बन्धकी लिएको छैन । विपक्षीलाई रुपैयाँ तिर्न बाँकी छैन भनी राजीनामाका कागजहरू पेश गरे विपक्षी पञ्चायतले मेरो राजीनामाहरू हेरी विपक्षी नारायणबहादुरलाई तपाईको हक पुग्दैन भनी जवाफ दिई सम्बन्धित मिसिल विपक्षी जिल्ला कार्यालयमा पठाई म निवेदकलाई र विपक्षी नारायणबहादुरलाई विपक्षी जिल्ला कार्यालयमा हाजिर हुन जानु भनी तारिख तोकी मिति ०३०।७।६ गते पठाई दिएको थियो । विपक्षी जिल्ला कार्यालयले तारिखको भर्पाई नदिई दैनिक मिति ०४०।७।६ देखि लगातार १० गतेसम्म तारिखमा म निवेदकलाई राखी सो दिन मलाई रुपैयाँ तिरी बन्धकी थैली बुझी जग्गा हक कायम गराउने कागज गरी दे भनी विपक्षी प्र.जि.अ.ले भन्नुभयो । मैले कागज गर्न इन्कार गरे मलाई यसलाई लगेर थुन भनी प्रहरीलाई आदेश दिनुभयो प्रहरीले मलाई लगी जिल्ला प्रहरी थानामा थुनी राखे मिति २०४०।७।११ का दिन बिहान अन्दाजी ८ बजेको समयमा प्रमुख जिल्ला अधिकारी थानामा आउनुभयो । कागज गर्छस् कि गर्दैनस् भनी मलाई सोधनी भयो । मैले कागज गर्दिन भनी इन्कार गरे यसलाई ठीक गर भनी प्रहरीलाई आदेश दिनुभयो । प्रहरीले मलाई कुटपीट गरे जबसम्म कागज गर्छु भन्दैन तबसम्म यसलाई पिटी ठीक गर भनी विपक्षी प्र.जि.अ.ले आदेश दिएपछि कागज गर्न मञ्जूर नगरूञ्जेल प्रहरीले टाङ च्याती ढुंगा बोकाई कोर्राले र निवेदकका दाँया बाँया तिघ्रा, पिडुलामा पिटे । मेरो ज्यान रहने आशा भएन । आत्मसुरक्षाको लागि जे जस्तो कागजमा भने पनि सही गर्दछु भनी प्रहरी समक्ष भनी मलाई दिनको करीब ११।। बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट विपक्षी जिल्ला कार्यालयमा प्रहरीले पुर्याए । लौ यसको बन्धकी थैली बुझ्ने बाँकी रुपैयाँ दिने जग्गा बन्धकी कायम गर्ने व्यहोरको कागज लेख भनी जिल्ला कार्यालयका कर्मचारीलाई आदेश दिनुभयो । जिल्ला कार्यालयका कर्मचारीले कागज लेखिसकेपछि मलाई सहिछाप गर भन्नु भयो के व्यहोराको कागज हो, मलाई पढी बाँची सुनाई पढी दिनुहोस् भनी भने अझ यसलाई ठीक पार्न पुगेनछ सहिछाप गर्दछस् कि फेरि ठीक गर्न पठाउँ भनी विपक्षी प्र.जि.अ.ले भन्नु भयो । आत्मसुरक्षाको लागि बाध्य भई सहिछाप गरे त्यसपछि मलाई छाडी दिनुभयो । मिति ०४०।७।२ गतेका दिन नक्कल पाउँ भनी विपक्षी जिल्ला कार्यालयमा निवेदन दिन गएँ मेरो निवेदन दर्ता गरी दिनुभएन । कागजको नक्कल पनि दिनुभएन । अ.बं. २११ नं. को बिपरीत सरोकारवालालाई नक्कल पनि सार्न नदिएकोले विपक्षीले गरेको कारवाहीको खण्डन गरी यस सम्मानित अदालत समक्ष निवेदन गर्न पाइँन । यस सम्मानित अदालतबाट विपक्षी अदालतबाट जिल्ला कार्यालयसँग मिसिल मगाई आएपछि नक्कल सारी यसै निवेदनको अभिन्न अङ्गको रूपमा पुनः निवेदन दिई खण्डन गर्दछु । विपक्षी मध्ये जिल्ला कार्यालयलाई बन्धकी कायम गरी निखनाई दिने लिखत बमोजिमको रुपैयाँ दिलाई दिने मुद्दा दर्ता गरी विपक्षी नारायणबहादुरले विपक्षी जिल्ला कार्यालयमा उजूर दिनु गर्न पाउने प्रचलित कानुनमा व्यवस्था गरेको छैन । बन्धकी निखनाउने मुद्दा माल कार्यालयमा र बन्धकी कायम गर्ने लिखत बमोजिमको रुपैयाँ दिलाई पाउँ भन्ने मुद्दा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा ९ बमोजिम जिल्ला अदालतको अधिकार क्षेत्रभित्र पर्ने मुद्दा हो विपक्षी जिल्ला कार्यालयको अधिकार क्षेत्रभित्र पर्ने मुद्दा होइन । विपक्षी जिल्ला कार्यालयले अधिकार क्षेत्रको अतिक्रमण गरी जिल्ला अदालतको मालको अधिकार क्षेत्रभित्रको मुद्दा आफ्नो कार्यालयमा दर्ता गराई विपक्षी पञ्चायतलाई कार्यवाही गर्न पठाई विपक्षी पञ्चायतले मलाई झिकाई तारिखमा राखी गैरकानुनी तरीकाले जिल्ला कार्यालयमा पठाए गराएको कारवाही सम्पूर्ण शुन्य छ । शुन्य करणीय होइन अ.बं. ३५ नं. ले बदरभागी छ ।
३. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको मिति ०४०।९।८।६ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् ।
४. उजूरवाला पदमबहादुरलाई यस कार्यालयबाट जि.प्र.का. प्यूठानमा पठाई थुनुवामा राखी कुटपीट गराई करकापसँग कागज गराएको कुनै कुरा होइन । सो सबै व्यहोरा निवेदन उजूरमा झुठ्ठा लेखिएका हुन् । सो कुरा प्रमाणमा देखाई पेश गरिएको निजै उजूरवालाले मिति–मितिमा तारिख बुझी गरी दिएको तारिख भर्पाईबाट पनि प्रमाणित हुन आएको नै छ । निजले तारिख पर्चा लिएकै थिए । सो मिलापत्रको नक्कल माग्न आएको होइन । अर्कोतिर निवेदन उजूर अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानमा बन्दी गराई करकापसँग कागज गराएको भन्ने लेखिएकोमा सो कुरा साँचो भए सो जि.प्र.का. प्यूठानका नाउँमा पनि उजूर दावी गरेकै हुनुपर्ने सो नहुनुको कारणबाट पनि झुठ्ठा उजूर निवेदन गरेका रहेछन् भन्ने कुरा रिट निवेदन सुनवाई हुँदाका अवस्था देखिनै छ । अतएव निजको निवेदन उजूर अनुसार रिट आदेश जारी हुनुपर्ने होइन सो निवेदन उजूर खारेज गरिपाउँ भन्ने समेत जिल्ला प्रहरी कार्यालय प्यूठान ।
५. जिल्ला कार्यालयमा हामी पक्ष विपक्ष हाजिर भई छलफलमा जिल्ला सभापति खेमराज पण्डित समेत हुनुहुन्थ्यो । निजहरूकै रोहवरमा निज निवेदक पदमबहादुरले घर म आउँछु । थैली बुझाउन बाँकी छैन भनी श्री भीमसेन स्थानमा धर्म भाकेकोले उक्त बाँकी लिनुपर्ने थैली रू. १८७७। छाडी दिए उक्त श्री महतारीले लिनुभएको निवेदकको रू. १०००। अड्डैका सामने बुझी निवेदक खुसी हुँदै मिलापत्रमा सहीछाप गरी घर जानु भएको हो झुठ्ठा रिट निवेदन गर्नु भएको मुख्य कारण घरमा जानुभएपछि कुरा सुन्नुभएको अरू गाउँ छिमेकी मानिसहरूले निजलाई धर्म भाकेकोमा घृणा गरेबाट लाज भई लाज पचाउनुको उद्देश्य हो दफा ६–७–८ को कुरा पनि कुनै होइन र स्थानीय प्रशासन ऐन दफा ६ को उपदफा ५ ले जिल्ला कार्यालयलाई अधिकार प्राप्त छ र दफा ८ को निवेदकको माग अनुसार उत्प्रेषण प्रतिषेधको आदेश जारी गर्नुपर्ने होइन भन्ने समेत नारायणबहादुर थापा क्षेत्री ।
६. निवेदकतर्फका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले मेरो पक्षलाई विपक्षी पञ्चायतले पुनः जिल्ला कार्यालयमा पठाई थुनी कुटपीट गरी गराई जोर जुलुम करकापमा पारी कागज गराई तारिखमा भर्पाई समेत नदिई थुनामा राखी कुटपीट गरी प्रहरीमा रहेको प्रशासकीय अधिकारको दुरूपयोग गरी गरेको कागज बदर हुनुपर्छ भन्ने र विपक्षी जिल्ला कार्यालय प्यूठान समेत तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्टले निवेदकको इच्छा विरूद्ध कुनै कागज गरे गराएको छैन रिट निवेदनपत्र खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
७. प्रस्तुत केशमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ ? सो कुराको निर्णय दिनु परेको छ ।
८. यसमा विपक्षी मध्ये नारायणबहादुरले विपक्षी मध्ये जिल्ला कार्यालयमा रू. १८००। रुपैयाँ मैले राजीनामा गरी दिँदा नदिई बाँकी रहेको थैली र पारित राजीनामाका चार किल्लाभित्र आमाको भाग आमा मरी अपुताली परी मेरो हक भएको जग्गा रू. १०००। मा घरसारमा विपक्षीलाई मौखिक शर्तमा बन्धकी दिएको बन्धकी निखनाई जग्गा मेरो हक कायम गरिपाउँ भन्ने समेत उजूरी भएको पाइन्छ ।
९. विपक्षी प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय प्यूठानको लिखितजवाफ हेर्दा विपक्षी नारायणबहादुरलाई निजको दावीको तिरो रू. ।७ को पाखो जग्गा आफ्नो राजीखुसीबाट बन्धकी थैली रू. १०००। बुझी लिई छाडी दिएको हुँदा सो मिलापत्रमा प्रमाणित गरिदिनु भई मिलापत्र भएको देखिन आएको भन्ने उल्लेख भएको देखिन्छ ।
१०. निवेदकको जिकिर लिखितजवाफ समेतमा दृष्टिगत गरी हेर्दा वादीको तिरो रू. ।७ को पाखो जग्गा बन्धकी थैली रू. १०००। बुझी लिई निवेदक पदमबहादुरले नारायणबहादुरलाई गरी दिएको बन्धकी छोडी लिएको भनेको कागज निवेदकको इच्छा विरूद्ध प्रमुख जिल्ला अधिकारी प्यूठानले अधिकार बाहिर गई क्षेत्रात्मक त्रुटि गरेको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४१ साल पौष ३० गते रोज १ शुभम् ।