शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१५६ - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: माघ अंक: १०

निर्णय नं. २१५६   ने.का.प. २०४१           अङ्क १०

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको रिट नं. १९०६

विषय : उत्प्रेषण

निवेदक : का.जि.का.न.पं. वडा नं. १३ कालीमाटी बस्ने तुयुदास मानन्धर समेत

ऐ ऐ बस्ने मंगला देवी मानन्धरनी

विरूद्ध

विपक्षी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय काठमाडौं

का.जि. का.न.पं. वडा नं. २० कोहिटी बस्ने चन्द्र मान शाक्य

ऐ ऐ बस्ने ज्ञान बहादुर शाक्य

ऐ ऐ बस्ने तेजरत्न शाक्य

ऐ ऐ बस्ने हिरा रत्न शाक्य

ऐ ऐ बस्ने रत्न मान शाक्य

ऐ ऐ बस्ने चिनीया मान शाक्य

ऐ ऐ बस्ने जगत कुमारी शाक्य

ऐ ऐ वडा नं. १३ कालीमाट बस्ने कृष्ण दास मानन्धर

आदेश भएको मिति :   २०४१।५।७।५ मा

§  फिराद दिएको देखिनाले विवादको जग्गामा मोही पत्याउन बाँकी रहेको भन्न प्रत्यर्थीले एकपटक स्वीकार गरेकोलाई विबन्धनका सिद्धान्त अनुसार पुनः अस्वीकार गर्न पाउँदैन ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

उल्लेखित मुद्दा : x

आदेश

          न्या. गजेन्द्रकेशरी बास्तोला : विपक्षी कार्यालयको ०४०।२।३० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ ।

          २.  यसमा साविक कालीमाटी गा.पं. वडा नं. ६ कि.नं. ३३ ऐ.ऐ. कि.नं. ११९ र ऐ. कि.नं. १४५ समेत ३ तीन कित्ता जग्गा नापीमा लालदास मानन्धरका नाउँमा मोही भएको र ज.ध.मा चन्द्रमान शाक्य समेत ७ जना भएको बाबु ससुरा मृत्यु भएकोले भू.सं. ऐन, ०२१ को दफा २६(१) बमोजिम जोत नामसारी गरिपाउँ भनी तुयुदास र मंगलादेवीको निवेदन परेको र कि.नं. १४५ को जग्गा तुयुदास मंगलादेवीले नजोतेको र ज.ध. ले मलाई भू.सं.ऐन, ०२९ को दफा ३४(१) बमोजिम कबुलियत समेत गरी दिएकोले ऐ. ऐनको दफा २६(१) बमोजिम मेरा नाउँमा नामसारी गरिपाउँ भन्ने कृष्ण मानन्धर र ज.ध. समेतले कि.नं. १४५ को जग्गाका हकमा कृष्ण मानन्धरलाई पत्याएकोले कि.नं. १४५ को जग्गा कृष्ण मानन्धरको नाममा ऐ. ऐनको दफा २६(१) अनुसार जोत नामसारी गरिदिने र बाँकी कि.नं. ३३ र कि.नं. ११९ को हकमा ज.ध. ले पछि ठहर गर्नेछौं भनेकोले छुटेका र बाँकी गर्ने ठहर्छ भन्ने समेत व्यहोराको भू.सु.का. काठमाडौंको ०४०।२।३० को निर्णय पर्चा ।

          ३.  विवादित जग्गामा परापूर्व देखि घरबास गरी आएको पक्की घरबासी भएको जग्गा हो । यस्तो जग्गा ऐनको दफा २(ङ) अनुसार बसोबास बगैंचाको जग्गामा ऐनको दफा २६(क) ले हक छाडी दिन पाउने अवस्थाको जग्गा हो । विपक्षी कृष्णले स्वर्गीय लालदाससँग अंश बापत नगदी रुपैयाँ लिई अंश छोडपत्रको लिखत ०८।१२।३० मा रजिष्ट्रेशन पास गरिदिनु भएको छ । तत्काल मोही हक खरीद बिक्री हुने सुविधा प्राप्त थियो । त्यस्तो भिन्न बसेको व्यक्तिले पिताजीको नामको जग्गा नामसारी गरिपाउँ भन्ने निवेदनमा ज.ध.ले पनि हामी सगोलकालाई नरोजी भिन्न भएकोलाई रोज्ने र भिन्न भएका कृष्णका नाउँमा नामसारी गर्ने निर्णय गर्न मिल्ने होइन । ऐनको दफा २६(१) ले पनि भिन्न बसेकालाई पत्याउन र सागोलकालाई पत्याउन्नौं भन्न मिल्दैन । त्यसमा पनि हाम्रो घरबास भोगचलन हुँदा नामसारी हुन सक्ने नै होइन । कालीमाटी सडक चौडा गर्न अधिग्रहण गरिसकेको सो सट्टा भर्ना पाउँ भनी हाम्रो वा.का.मा निवेदन परेको जानकारी विपक्षी कार्यालयलाई ०३९।५।१५ मा दिइसकेको छ । विपक्षी ज.ध.ले तुयुदास र मंगलादेवीका स्वर्गीय पति देवराम दासलाई मोही हुन् भनी ०२७ सालमै फिराद दिएको एकपटक मोही हुन भनी पत्याई सकेकोलाई अब पत्याउनौ भन्ने प्रमाण ऐन, ०३१ को दफा ३४ ले पनि मिल्दैन । ज.ध.प्र.पू.माग्दा हामीलाई भइरहेको हैसियतमा राखी बयान गराई मात्र दिइएको छ । हामीले दावी लिएको कि.नं. १४५, ३३ मध्ये कि.नं. १४५ को कित्ता कृष्णका नाउँमा गर्ने गरिएको निर्णय त्रुटिपूर्ण छ । अझ हाम्रा दावीको कि.नं. ३३, ११९ को हकमा पनि ठहर गर्ने भनिएको छ । हाम्रो घरबास भएको जग्गा हाम्रा नाउँमा नामसारी हुन नपर्ने नसक्ने कुनै कानुनी व्यवस्था छैन । ऐनको दफा २६(क) अनुसार नामसारी गराई माग्ने हक हामीमा पूर्ण सुरक्षित छ । हाम्रो ३ विषयमा दावी गरी निवेदन दिएपछि सबैको एकैपटक निर्णय हुनुपर्ने । अधिकारीज्यूको निर्णय अ.बं. १९२ को पूर्ण त्रुटि भएको छ । नामसारी गर्न हाम्रो अघि निवेदन परेपछि त्यसै विषयमा विपक्षी कृष्णको निवेदन लिनै मिल्ने होइन । हाल कि.नं. ३३ मा रहे भएको जग्गा घरमा म मंगला समेत बसोबास गरी आएको छु । ०१२ सालमा प्राप्त भएको चलानी पूर्जिमा घर जग्गा दुवै लिएको छ । नेपालको संविधानको धारा ११(२)(ङ) धारा १५ द्वारा प्रदत्त हक समेत हनन् भएकोले धारा ७१ बमोजिम निवेदन गरेको छ । उत्प्रेषणयुक्त परमादेश समेतको जो चाहिने आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयको ०४०।२।३० को त्रुटिपूर्ण निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।

          ४.  विपक्षीहरूबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश ।

          ५.  यसमा रिट निवेदकले दिएका रिट सम्बन्धमा भू.सं.ऐन, ०२१ को दफा २६ को उपदफा १ अनुसार ज.ध.बुझ्दा जग्गावालाले पत्याएको व्यक्तिका नाममा मोही नामसारी गरी दिने गरी कार्यालयबाट भएको निर्णय कानुन अनुसारै भएकोले रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत व्यहोराको भू.सु.का. काठमाडौंका लिखितजवाफ ।

          ६.  भू.सं.ऐन, दफा २६(१) अनुसार कृष्णलाई पत्याएको हुँदा सो आधारमा भएको निर्णय त्रुटि भन्न नमिल्ने । ऐनले भिन्न भएका छोरा र सगोलका छोरामा भेदभाव गरेको छैन । यता बाबुको निधन पछि कृष्णले नै कमाई आएको कुरा ०२८।३।१० को कबुलियत हामी ज.ध.ले गरी दिएको रसिदले नै प्रष्ट गरी सकेको छ । घर बनाएको बसेको भनेको हकमा घर बनाएको भए हाम्रो स्वीकृति नक्सा पास हुनुपर्ने सो छैन । एकैपटक निर्णय नगरेको अ.बं. १९२ को त्रुटि भनेकोमा सो भू.सं. ऐन आफ्नै विशेष व्यवस्थाको ऐन हो । सडकमा परेको मुआब्जाको र जग्गाको यकीन नहुँदा यो यकीन भएका जग्गाको मात्र निर्णय भएको हो । निवेदकको हक कुनै हनन् नभएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रमान शाक्य १ तेजरत्न १ ज्ञानबहादुर १ हिरारत्न १ चिनीयामान १ जगतकुमारी १ कृष्णदास १ समेतको संयुक्त लिखितजवाफ ।

          ७.  निवेदक तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मीले ०१२ सालको चलन पूर्जिबाट घर जग्गा पाएको भू.सं. ऐनको दफा २(ङ) ले बिक्री व्यवहार गर्न पाउने जग्गा हो । घरबारी निष्कासन गर्न पाउने पनि होइन दोश्रो ०२८ जेष्ठमा दिएको फिरादमा तुयुदास रामदासलाई पत्याई सकेको छ छुट्टिएको छोराले बाबु आमाको अपुताली पनि पाउँदैन । तसर्थ गोलका छोरालाई नपत्याई भिन्न भइसकेकोलाई पत्याउन पाउँदैन । तीनै कित्तामा एकैपटक अ.बं. १९२ नं. बमोजिम निर्णय गर्नुपर्ने नगरेको । ज.ध. कै ज.ध.प्र.पू. लिँदा मेरै पक्षलाई बुझेकोले पनि अब पत्याउन बाँकी छैन । दुईटा उजूरीको विषयमा एउटै निर्णय गरेको पनि मिलेको छैन । ०२७ को फिरादको प्रकरण २ मा लालदासको पालादेखि नै अन्यायवाला मोही भएको निज मोहीलाई सजाय गरिपाउँ भनेको छ कि.नं. १४५ मा घर भएको भन्ने निवेदकको भनाई छैन । घरबारीको परिभाषा ऐनमा दिइराखेकै छ । घरवारीको जग्गा खरीद बिक्री हुने भएकोले त्यस्तो घरबाट जग्गामा मोहीलाई पत्याउने प्रश्नै उठेन भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

          ८.  विपक्षी कार्यालयतर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले कि.नं. १४५ नं. को जग्गा कृष्णको नाममा नामसारी गरी दिने र कि.नं. ३३ र ११९ को हकमा जग्गाधनीले पछि विचार गर्ने गरी निर्णय भएको छ । जग्गाधनी र कृष्ण मानन्धरका बीचमा कबुलियत भएको छ बाली बुझाएको पनि देखिन्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

          ९.  लिखितजवाफ तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले लालदास मोही भएकोमा विवाद छैन तर निजको छोरा तुयुदासलाई ज.ध.ले पत्याएको छैन घरबारीमा पनि ज.ध.ले पत्याएको व्यक्ति मात्र मोही हुन सक्ने हो ऐनको २६(१) अनुसार पनि भिन्न भएका छोरालाई ज.ध.ले पत्याउन पाउने हो । ०२५ सालमा प्रत्यर्थीले निवेदकलाई मोही मानेको भए पनि केही साल जग्गामा मात्र मोही मानेको हो । कानुन बमोजिम निवेदकलाई पत्याएको पनि छैन । ऐनको दफा २५(४)(ख) ले मोहियानी हकको दर्ता किताब राख्ने व्यवस्था गरेको छ । त्यसमा लालदासको नाम छ तर निज पछि अरूको नाम नभएपछि ज.ध.ले पत्याएको व्यक्तिले मात्र मोहियानी हक पाउँछ । लालपूर्जा लिँदा निवेदकलाई बुझेको भन्ने भनाईमा तर लालारामलाई मात्र बुझेको भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

          १०.  मुख्यतः निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । कित्ता नं. १४५, ३३, ११९ को चलन पूर्जि बमोजिम पाएको जग्गा नामसारी गरिपाउँ भनी तुयुदास र मंलगादेवीले दिएको निवेदनमा अरू कित्ता नम्बरका हकमा बाँकी राखी मिति ०८।१२।३०।६ मा अंश छोडपत्र गरी भिन्न बसेका छोराको नाममा नामसारी गरी दिने ०४०।२।३० मा भू.सु.का. काठमाडौंले गरेको निर्णय गैरकानुनी हुँदा सो निर्णय बदर गरिपाउँ भनी निवेदकको माग दावी भएकोमा सो बमोजिम गर्न मिल्ने र नमिल्ने के हो त्यसतर्फ हेर्दा कि.नं. १४५ को जग्गा कृष्णदासको नाममा नामसारी गरिदिने र अरू दुई कित्ताका हकमा जग्गाधनीले पछि ठहर गर्नेछौं भनेकोले छुट्टै कारवाही गर्ने ठहर्छ भनी निर्णय गरिदिएको देखिन्छ । लालदासले तत्कालीन अदालत तहसील बिगो फाँटको ०१२।८।१७ का चलन पूर्जि बमोजिम घर जग्गा पाएको देखिन्छ । निज मरेपछि निजका छोरा तुयुदास र निजकी बुहारी मंगलादेवीले १४५, ३३, ११९ को जग्गा नामसारी गरिपाउँ भनी दिएको निवेदन र कि.नं. ११९ को जग्गा मेरो नाममा नामसारी गरिपाउँ भनी ०८।१२।३०।६ मा छोडपत्र गरी भिन्न भई बसेका छोरा कृष्ण मानन्धरको उजूरीमा जग्गाधनीले निजलाई पत्याएको भनी कि.नं. १४५ को जग्गाको मोहियानी हक निजको नाममा दर्ता गरिदिने र निर्णय गरेको देखिन्छ । ०२७ साल जेठमा प्रत्यर्थीले तुयुदास विरूद्ध दिएको फिरादपत्रमा निज अन्यायवालाका बाबु लालदासका पालादेखि मोही अन्यायवाला हुन् भनी मानी तुयुदास समेतलाई फिराद दिएको देखिनाले विवादको जग्गामा मोही पत्याउन बाँकी रहेको भन्न प्रत्यर्थीले एकपटक स्वीकार गरेको तथ्यलाई विबन्धनको सिद्धान्त अनुसार पुनः अस्वीकार गर्न पाउँदैन । तसर्थ कि.नं. १४५ को जग्गा कृष्णदासका नाममा नाउँसारी गरेको त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ । अब यसमा कानुन बमोजिम जो बुझ्नुपर्ने सबूत प्रमाण बुझी तिनै कित्ताको निर्णय गर्नु भनी भूमिसुधार कार्यालय काठमाडौंका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमत छ ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४१ साल भाद्र ७ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु