निर्णय नं. ८९०५ - मोही नामसारी
ने.का.प. २०६९, अङ्क १०
निर्णय नं. ८९०५
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
२०६७–CI–०५६३ र ०६७–CI–१०८१
फैसला मितिः २०६९।८।१५
मुद्दा :– मोही नामसारी ।
पुनरावदेक प्रतिवादीः रौतहट जिल्ला, सरमुजवा गाउँ विकास समिति वडा नं. १ बस्ने गणेश साह कलवार
विरुद्ध
प्रत्यर्थी वादीः रौतहट जिल्ला, सरमुजवा गाउँ विकास समिति वडा नं.१ बस्ने दुखा तुरहा
पुनरावेदक प्रतिवादीः बारा जिल्ला, कचोर्वा गाउँ विकास समिति वडा नं.३ बस्ने तेजनारायण प्रसाद जयसवाल
विरुद्ध
प्रत्यर्थी वादीः रौतहट जिल्ला, सरमुजवा गाउँ विकास समिति वडा नं.१ बस्ने दुखा तुरहा
शुरु फैसला गर्ने :–
भू.सु.अ.श्री सागरकुमार रोका
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी
मा.न्या.श्री विदुरविक्रम थापा
§ अ.बं. ७२ ले गरेको कानूनी व्यवस्थावाट लेखिए भन्दा बढ्ता कुरा एउटै फिरादपत्रमा लेखी ल्याएको रहेछ भने सो हदसम्मका कुरामा इन्साफ गर्न नपर्ने भनी सम्बन्धित सेवाग्राहीलाई सूचना दिनुपर्ने “फिरादवालालाई थाहा हुना निमित्त सोही फिरादपत्रको भरपाई लेखिदिनुपर्छ” भन्ने वाक्य यस नम्बरमा समायोजन गरेबाट प्रष्ट भएकाले अड्डा अदालतले ग्रहण गरिसकेको नालिस सबूद प्रमाणको मूल्याङ्कन तथा हकदैया हदम्याद समेतका प्रश्नबाट जे ठहर्छ सोहीबमोजिम इन्साफ हुनैपर्ने ।
(प्रकरण नं.३)
§ फोटोहरू लिखत प्रमाण हुन् । नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(घ) द्वारा निर्धारित परिभाषाका अतिरिक्त प्रमाण कानूनका विश्वव्यापी मान्यताका कारणबाट फोटोहरू लिखत प्रमाणको कोटीमा पर्दछन् । विधिसम्मत प्रक्रियाबाट मिसिलमा संलग्न हुन पुगेका फोटोहरूका हकमा समेत अ.बं. ७८ आर्कषित हुने ।
§ पुरातन मस्यौदाहरूमा “कागज” भन्ने शब्द प्रयोग हुँदैमा आधुनिक मस्यौदामा “लिखत” भन्ने शब्द लेखिएको छ भन्दैमा लिखत भन्नु र कागज भन्नु फरक हुन् भन्ने अर्थ गर्न नमिल्ने ।
§ जानकारीमा आएका फोटो सम्बन्धित जग्गाका होइनन् भन्ने समेतका आधारमा चुनौती दिएको अवस्थामा अ.बं. १७१ बमोजिम नाप जाँच गराउनु पर्दथ्यो । अ.बं. १७१ को नाप नक्सा जाँचबुझ अदालतले न्यायिक निष्कर्षमा पुग्न आफ्नो सन्तुष्टिका लागि अदालतका प्रतिनिधिलाई विवादस्थलको वस्तुगत अध्ययन गर्न पठाउन अवलम्बन गरिने कार्यविधि भएकाले लिखत प्रमाणका रूपमा रहेका फोटोहरूमा मुद्दाका दुवै पक्षको मुख मिलेको छ भने यिनले अ.बं. १७१ को आवश्यकता पूरा गर्न सक्ने ।
(प्रकरण नं.५)
§ न्यायिक निष्कर्ष निकाल्दा न्यायिक मनको विशिष्ठ भूमिका हुन्छ । भूमिसम्बन्धी नियमअन्तर्गतका १ नं., २ नं., ४ नं. तथा ३ नं. अनुसूची भएपनि भूमिसम्बन्धी ऐनले नै मोहियानी हक प्राप्तिका लागि निषेध गरेको अवस्थामा ऐनकै व्यवस्थाले मान्यता पाउँछ । ऐनकै कार्यान्वयनको सुगमताका लागि नियम बन्ने हुँदा ऐनका प्रतिकूल नियम बन्न नसके जस्तै सो नियमअनुसार प्राप्त कागजातले कुनै कानूनी बल प्राप्त गर्न नसक्ने ।
§ जसरी दूषित दर्ताले कुनै मान्यता पाउँदैन, यसका लागि हदम्याद बाधक बन्दैन त्यसरी नै दूषित प्रमाणको कुनै औचित्य हुँदैन । कानूनविपरीतको दूषित प्रमाणले कसैलाई कानूनी हक प्रदान गर्न नसक्ने ।
(प्रकरण नं.९)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता महादेव यादव तथा विद्वान अधिवक्ता उमेशप्रसाद जयसवाल
प्रत्यर्थी वादी तर्फबाटः वरिष्ठ अधिवक्ता किशोरकुमार अधिकारी
अवलम्बित नजीरः
§ नेकाप २०२५, अङ्क १०, नि.नं. ४४२ पृष्ठ २७३
§ नेकाप २०४४ अङ्क १२, नि.नं. ३३००, पृष्ठ १२७५
§ नेकाप २०६६ अङ्क ८, नि.नं. ८२०१, पृष्ठ १२६८
सम्बद्ध कानूनः
§ मुलुकी ऐन अ.बं. ७२, ७८, १७१
§ नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(घ)
§ प्रमाण ऐन, २०३१ को दफा ३४
§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ (ङ), २५(५)(क)
फैसला
रजिष्ट्रेशन पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :–
विपक्षी जग्गाधनी गणेश साह कलवारको नाउँमा दर्ता रहेको जिल्ला रौतहट, सरमुजवा गाउँ विकास समिति वडा नं. १ कि.नं. ६९८ को ०–४–० जग्गा र विपक्षी तेजनारायण प्रसाद जयसवालको नाममा दर्ता रहेको जिल्ला रौतहट सरमुजवा गाउँ विकास समिति वडा नं. ५ कि.नं. ९८ को ०–६–५ जग्गाको मोही स्व. बाबु भरोस तुरहा भएकोमा निज बाबु २०२९ सालमा परलोक हुनु भएको र मेरो आमा २०३० सालमा परलोक हुनु भएकोमा एकमात्र छोरा म वादी भएकोले उक्त जग्गाहरू मेरो नाउँमा मोही नामसारी गरिपाऊँ भन्ने समेत व्यहोराको दुखा तुरहाको फिराद दावी ।
वादी तथा निजको बाबु भरोस तुरहाले दावीको जग्गा मोहीको हैसियतले जोतकोड गरेका छैनन् । उक्त जग्गा मैले मिति २०२३।५।२५ मा भरोस तुरहाको काका सुकृत तुरहाबाट खरीद गरी सोही मितिदेखि जोतभोग गरेको र २०३२ सालमा सो जग्गामा आँपको रुख, बाँस झ्याङ्ग तथा सिसौका रुखहरू लगाई भोगचलन गरी आएको हुँदा वादी दावीबमोजिम मोही नामसारी हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी तेजनारायण प्रसाद जयसवालको प्रतिउत्तर जिकीर ।
दावीको जग्गा कहिले पनि वादीबाट जोत आवाद गरिएको छैन । म तथा साविक जग्गा धनीले कुत बुझी गरिदिएको भर्पाई वादीबाट पेश हुन सकेको अवस्था छैन । दावीको जग्गामा मैले २०२५ सालमा नै पोखरी खनाई माछा पालन गर्दै आएको छु । दावीको जग्गामा पोखरी तथा बसोबाससमेत रहेको हुँदा घरवारीको जग्गाको मोही नामसारी हुन सक्दैन भन्ने समेत व्यहोराको प्रतिवादी गणेश साह कलवारको प्रतिउत्तर जिकीर ।
यिनै वादी तेजनारायण प्रसाद जयसवाल र प्रतिवादी दुखा साह तुरहा भएको मि.नं. १४४० को मोही लगत कट्टा मुद्दा आजै फैसला भइसकेकोले वादी दावी नपुग्ने ठहर्छ र अर्का प्रतिवादी गणेश कलवारको नाउँ दर्ताको सरमुजवा गाउँ विकास समिति वडा नं. १ कि.नं. ६९८ को ०–४–० जग्गासमेतको वादी दावी नपुग्ने ठहर्छ भन्ने शुरु भूमिसुधार कार्यालय, रौतहटको मिति २०६५।१०।१३ को फैसला ।
शुरु भूमिसुधार कार्यालयले भूमिसम्बन्धी ऐन, तथा नियमावलीको विपरीत गरेको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी विवादित जग्गामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) तथा निवेदक रामाकान्त राय यादव विरुद्ध भूमिसुधार कार्यालय, रौतहट भएको मोही मुद्दामा सम्मानीत सर्वोच्च अदालतबाट २०५८ सालको रिट नं. ३९२४ मिति २०६१।१२।१९ मा भएको प्रतिपादित सिद्धान्तको आधारमा म पुनरावेदक वादीको नाउँमा मोही नामसारी हुने ठहर्याई इन्साफ पाऊँ भन्ने समेत व्यहोराको वादी दुखा तुरहाको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दामा फिराद पत्रबाट दावीको जग्गामा वादीको बाबु दर्तावाला मोही देखिएकोमा निज मोहीको मृत्युपछि मोहीको छोरामा मोहीयानी हक नामसारी हुने कुरालाई इन्कार गरी भएको भूमिसुधार कार्यालय, रौतहटको शुरु फैसला लिखत प्रमाणको मूल्याङ्कनको दृष्टिबाट समेत फरक पर्ने देखिँदा प्रत्यर्थी प्रतिवादीलाई झिकाई नियमबमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।९।२२ को आदेश ।
दावीको जग्गामा आँप, बाँस तथा सीसौका रुखहरू जग्गाधनीले लगाएको र उक्त जग्गामा मोहीको जोतभोग नभएकोले मोही नामसारीतर्फको दावी नपुग्ने ठहर्याएको शुरु फैसला कानूनसम्मत् हुँदा सदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत हेटौंडामा परेको लिखित प्रतिवाद ।
प्रतिवादीमध्येका तेजनारायणले कि.नं. ९८ को जग्गा खरीद गर्दा नै भरोस तुरहालाई मोही मानेको व्यहोरा उल्लेख गरी जग्गा खरीद गरेको देखिन्छ । मोही भरोस तुरहाले मोहीको कर्तव्य पालन नगरेको वा निजको मृत्युपछि निजका छोरा दुखा तुरहाले उल्लिखित जग्गा जोतआवाद नगरेको वा मोहीले पालन गर्नुपर्ने कर्तव्य पालन नगरेको भन्ने बारेमा कतै कुनै किसिमको उजूरी गरेको समेत देखिँदैन । मोही लागेको जग्गामा मोही लगत कायम रहेकै अवस्थामा जग्गाधनीले मोहीको मञ्जूरी बेगर जग्गा आफैँले कमाएको, जग्गामा घर पोखरी बनाएको र रुख लगाएको भन्ने आधार लिई मोहीको मोहियानी हक समाप्त गर्ने अवस्था रहँदैन । कि.नं. ६९८ र ९८ को जग्गाको मोही भरोस तुरहाको २०२९ सालमा र निजकी पत्नीको २०३० सालमा परलोक भएको र यी पुनरावेदक दुखा तुरहा मोहीका एकमात्र छोरा भएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मृतक मोहीको मोहीयानी हक यी पुनरावेदक वादीको नाममा नामसारी हुन सक्दैन भन्न मिल्दैन । यसै लगाउको दे.नं. १४६३ को मोही लगत कट्टा मुद्दामा आजै यस इजलासबाट शुरु भूमिसुधार कार्यालय, रौतहटले मोही लगत कट्टा हुने भनी गरेको निर्णय उल्टी गरी मोही लगत कायम हुने निर्णय भएको हुँदा वादी दावी नपुग्ने ठहर्छ भनी शुरु भूमिसुधार कार्यालय, रौतहटले मिति २०६५।१०।१३ मा गरेको निर्णय नमिलेको हुनाले उल्टी भई पुनरावेदक दुखा तुरहाको पुनरावेदन जिकीरबमोजिम मोही नामसारी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०६७।४।१२ को फैसला ।
विपक्षी वादीद्वारा म पुनरावेदक गणेश साह कलवार नाम दर्ताको कि.नं. ६९८ र तेजनारायण प्रसाद जयसवाल नाम दर्ताको कि.नं. ९८ को जग्गाको मोही नामसारी गरिपाऊँ भनी दुई फरक फरक व्यक्तिउपर एउटै फिराद दायर गरिएको छ । एउटा मानिसले जतिसुकै मानिस उपर एउटै फिराद दायर गर्न र इन्साफ हुन सक्ने विद्यमान कानूनी व्यवस्था नरहेकोमा पुनरावेदन अदालतबाट भएको फैसला मुलुकी ऐन अ.बं. ७२ नं. को रोहमा त्रुटिपूर्ण रहेको छ । म पुनरावेदकको दावीको जग्गामा विपक्षीका पिता मोही कायम भई निजले मोहीको स्थायी निस्सा प्राप्त गरेको भएता पनि निज भरोस तुरहाले मोही छोडपत्रको लागि २०२४ सालमा नै सम्बन्धित निकाय गाउँ विकास समितिमा निवेदन दिएको थियो र सो जग्गामा निजकै समयमा पोखरी खनाई डिलमा घर बनाई वृक्ष रोपी भोग गर्दै आएको हुँ । विपक्षीले कहिले पनि जग्गा जोतेको छैन । जग्गाबाट घरबास तथा पोखरीमा परिणत भैसकेको जग्गाको मोही नामसारी गर्न पनि मिल्दैन । विपक्षीका पिताको २०२९ सालमा र आमाको २०३० सालमा मृत्यु भैसकेकोमा ३४ वर्षपछि मोही नामसारी गरी पाउन दिएको निवेदनबाट पनि विपक्षीको दावी बनावटी रहेको प्रष्ट छ । मोहियानी हकको जग्गा एकपटक आफूले नकमाई परित्याग गरिसके पछि पुनः सोही घर जग्गाको मोहियानी हक विपक्षीले दावी गर्न नपाउने अवस्थामा समेत मोही नामसारी हुने ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६७।४।१२ को फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ तथा अ.बं. १८४, १८५, १८९ र ७२ नं. तथा अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत रहेकोले सो फैसला उल्टी गरी न्याय पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी गणेश साह कलवारको पुनरावेदन पत्र ।
विपक्षीले दुई अलगअलग जग्गाधनीको अलगअलग जग्गा सम्बन्धमा एउटै मोही नामसारी मुद्दा दिएको देखिन्छ । मुलुकी ऐन अ.बं. ७२ नं. बमोजिम, “एउटै मानिसले एउटै मानिसउपर जतिसुकै विषयको नालिस लेखी ल्याए वा जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै झगडाको विषयमा नालिस लेखी ल्याए सोही नालिसबाट इन्साफ हुने” भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । एउटै मानिसले जतिसुकै मानिसउपर जतिसुकै झगडाको विषयमा दिएको नालिस लाग्न नसक्ने स्पष्ट कानूनी व्यवस्था रहेको हुँदा विपक्षीले दुई अलगअलग जग्गाधनीउपर अलगअलग जग्गा सम्बन्धमा एउटै नालिस गरेको कुरा स्पष्ट रहेकोले विपक्षीको फिराद नै अ.बं. ७२ नं. प्रतिकूल भएकोले सो फिरादबाट इन्साफ हुन सक्दैन । विपक्षीको पिता मोही र साविक जग्गाधनी एकासगोलको काका भतिजा रहेको कुरा फिल्डबुकबाट स्पष्ट देखिन्छ । यसरी मोही र साबिक जग्गाधनी एकआपसमा एकासगोलको काका भतिजा भएको प्रमाण पेश गरेको अवस्था हुँदाहुँदै सोतर्फ कुनै ध्यान नदिई प्रमाण पेश नगरेको भनी मोही कायम हुने गरी भएको फैसलामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २क तथा २६(१) को प्रत्यक्ष त्रुटि छ । मैले उक्त जग्गा खरीद गरेको मितिमा नै एकासगोलको मोहीको अस्तित्व समाप्त भैसकेको कारणबाट सो जग्गाको जग्गाधनी र मोही दुबैको हैसियतले मैले कमाई घर र बगैंचासमेत लगाएकोमा मेरो सो भोगलाई विपक्षी समेतले लिखित रूपमा स्वीकार गरेका छन् । उक्त जग्गा मेरो नाउँमा दा.खा. गराउँदा मालपोत कार्यालय रौतहटले भोग सम्बन्धमा सर्जमीन गर्दा सोमा विपक्षी आफू उक्त जग्गाको उत्तरपट्टिको सँधियारको हैसियतले सहिछाप गरी उक्त जग्गा मेरो भोगमा रही आएको भनी स्वीकार गरेको अवस्था रहेको छ । विपक्षीको पिताको २०२९ सालमा र आमाको २०३० सालमा मृत्यु भएको र विपक्षी सो समयमा चार वर्षको नाबालक रहेकोले सो जग्गा विपक्षीले जोती कमाई आएको होला भनी अनुमान गर्नै सकिदैन । यसरी मोहीको हैसियत नै समाप्त भै विपक्षीको पिताकै मोही हक समाप्त भै सकेको र मेरो जोत कायम भै मेरो हकभोग कायम भैसकेको जग्गामा विपक्षी मोही कायम हुन नसक्ने हुँदा पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६७।४।१२ मा भएको कानूनी त्रुटिपूर्ण फैसला बदर गरी शुरु भूमिसुधार कार्यालय रौतहटको मिति २०६५।१०।१३ को फैसलालाई सदर गरी इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी तेजनारायण प्रसाद जयसवालको पुनरावेदन पत्र ।
यसमा छुट्टाछुट्टै जग्गाधनी उपर छुट्टाछुट्टै जग्गाका सम्बन्धमा एउटै नालिस दिएको र त्यस्तो नालिस सुनी इन्साफ गरेको कुरा अ.बं.७२ नं. प्रतिकूल देखिएको साथै गणेश साहको सम्बन्धमा मोही लगत कट्टा नभएकोमा अन्य मुद्दाका कुरालाई आधार लिई निज गणेश साह कलवारको हकमासमेत निर्णय गरेको त्रुटिपूर्ण देखिएको साथै यस्तै विषयवस्तु समावेश भएको नेकाप २०४४ अङ्क १२, नि.नं. ३३००, पृष्ठ १२७५ निवेदक प्रगासी यादवनी समेत विरुद्ध दशैं पासवान समेतको उत्प्रेषण मुद्दामा प्रतिपादित नजीर सिद्धान्त समेतको प्रतिकूल देखिँदा विपक्षी झिकाई हाजीर भए वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६८।१२।१० को आदेश ।
नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक गणेश साह कलवारको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादवले वादीको बाबु भरोस तुरहाको २०२९ सालमा र निजको आमाको २०३० सालमा मृत्यु भएकोमा सोको ३४ वर्षपछि मोही नामसारीमा दावी गरेको अवस्था छ । दावीको जग्गामा पोखरी, घर तथा बगैंचा रहेको भन्ने मिसिल संलग्न प्रमाणबाट पुष्टि हुने हुँदा उक्त घरवारीको जग्गामा मोही हक लाग्न सक्दैन । दावीको जग्गा वादीले जोत आवाद नगरेको र मेरो पक्ष तथा साविक जग्गाधनीले कुत बुझी गरिदिएको भर्पाई वादीबाट पेश हुन नसकेको हुँदा मोही नामसारी हुने ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक तेजनारायण प्रसाद जयसवालको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री उमेशप्रसाद जयसवालले दुई अलगअलग जग्गाधनीको अलगअलग जग्गा सम्बन्धमा एउटै मुद्दा दिएको हुँदा वादी दावी अ.वं. ७२ नं. प्रतिकूल छ । वादीको बाबु र साविक जग्गाधनी एकासगोलका काका भतिजा भएको हुँदा एउटै परिवारको व्यक्तिमध्ये एकजना जग्गाधनी र अर्को मोही हुन सक्दैन । दावीको जग्गा दा.खा. गर्दा मालपोत कार्यालय रौतहटबाट भएको सर्जमीनमा प्रत्यर्थी वादीसमेत साक्षी बसेको र उक्त सर्जमीनबाट समेत दावीको जग्गा २०२३ सालदेखि मेरो पक्षको भोगमा रहेको भन्ने तथ्य पुष्टि हुने हुँदा मोही नामसारी हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री किशोरकुमार अधिकारीले मुलुकी ऐन अ.वं. ७२ नं. को कानूनी प्रावधानबमोजिम एउटै विषयमा जतिसुकै वादीको जतिसुकै प्रतिवादी उपर मुद्दा लाग्न सक्दछ । मोहीको प्रमाणपत्र एउटै भएको अवस्था हुँदा अलगअलग मुद्दा गर्नुपर्ने अवस्था छैन । विवादित जग्गाको हक हस्तान्तरण हुँदा समेत मोही जनिएको अवस्था छ । मोहीयानी लगत एक पटक कायम भएपछि उक्त लगत कानूनबमोजिम बदर नभएसम्म कायम रहन्छ । मेरो पक्षसँग मोहीसँग हुनु पर्ने १ नं. लगत, २ नं. अनुसूची रहनुको साथै जग्गाधनी दर्ता प्रमाणपूर्जा तथा फिल्ड बुकमा समेत मोही जनिएको हुँदा मोही नामसारी हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसला सदर कायम हुनु पर्दछ भन्ने समेत प्रस्तुत गर्नु भएको बहस सुनियो ।
प्रस्तुत भएको उपरोक्तानुसारको बहस जिकीर समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ छैन, पुनरावेदकहरूको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा विपक्षी जग्गाधनी गणेश साह कलबारको नाउँमा दर्ता रहेको रौतहट जिल्ला सरमुजवा गाउँ विकास समिति वडा नं.१ स्थित कि.नं. ६९८ को जग्गा विगाहा ०–४–० जग्गा र विपक्षी तेजनारायण प्रसाद जयसवालको नाममा दर्ता रहेको रौतहट जिल्ला सरमुजवा गाउँ विकास समिति वडा नं.५ स्थित कि.नं. ९८ को जग्गा विगाहा ०–६–५ जग्गाको मोही बाबु भरोस तुरहा भएको र निज बाबुको २०२९ सालमा तथा आमाको २०३० सालमा मृत्यु भएको हुँदा उक्त जग्गाहरू एकमात्र छोरा म वादीको नाउँमा मोही नामसारी गरिपाऊँ भन्ने मुख्य वादी दावी तथा दावीको जग्गामा रुखहरू तथा माछा पोखरी रहेको र उक्त जग्गा वादी तथा निजको बाबुले जोतकोड नगरेको हुँदा मोही नामसारी हुने होइन भन्ने समेत प्रतिउत्तर जिकीर रहेकोमा शुरु भूमिसुधार कार्यालय रौतहटबाट वादी दावी पुग्न नसक्ने ठहर्याई फैसला भई उक्त फैसलाउपर वादीको पुनरावेदन परेकोमा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरुको फैसला उल्टी भै वादी दावीबमोजिम मोही नामसारी हुने ठहर्याई पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला उपर प्रतिवादी गणेश साह कलवार र तेजनारायण प्रसाद जयसवालको छुट्टाछुट्टै पुनरावेदन परी प्रत्यर्थी झिकाउने आदेश भई निर्णयार्थ यस इजलाससमक्ष प्रस्तुत भएको पाइयो ।
३. सर्वप्रथमतः यस अदालतबाट अ.बं. २०२ नं. बमोजिम आदेश गर्दा नालिसको त्रुटिका रूपमा औंल्याइएको अ.बं. ७२ को प्रयोग यस मुद्दामा हुने हो होइन भन्ने विषयमा सो आदेशमा उल्लिखित नजीरको प्रयोग समेतको आधारमा प्रवेश गर्नुपर्ने आवश्यकता छ । अ.बं. ७२ प्रतिकूल नालिस रहेको मानिएको स्थितिमा पछिल्लो प्रतिवादीका हकमा नालिस अमान्य हुने भई केवल पहिलो प्रतिवादीका हकमा निर्णयमा प्रवेश गरे पुग्दछ । अ.बं. ७२ प्रतिकूल अर्थात् झगडाका एक भन्दा बढी विषयमा एउटै फिराद परेको अवस्थामा सम्पूर्ण फिराद अमान्य भई खारेज हुने होइन । कारण अ.बं. ७२ ले गरेको कानूनी व्यवस्थाको अध्ययन गर्दा लेखिए भन्दा बढ्ता कुरा एउटै फिरादपत्रमा लेखी ल्याएको रहेछ भने सो हदसम्मका कुरामा इन्साफ गर्न नपर्ने भनी सम्बन्धित सेवाग्राहीलाई सूचना दिनु पर्ने “फिरादवालालाई थाहा हुना निमित्त सोही फिरादपत्रको भरपाई लेखिदिनुपर्छ” भन्ने वाक्य विधिकर्ताले यस नम्बरमा समायोजन गरेबाट प्रष्ट छ । यसरी अड्डा अदालतले ग्रहण गरिसकेको नालिस सबूद प्रमाणको मूल्याङ्कन तथा हकदैया हदम्याद समेतका प्रश्नबाट जे ठहर्छ सोही बमोजिम इन्साफ हुनै पर्ने हुन्छ । दुई अलग प्रतिवादी तथा दुई अलग कित्ता जग्गा हुँदैमा दुईटा फिराद गरिनु पर्नेमा सो नगरिएकोले सम्पूर्ण फिराद नै खारेज हुनुपर्छ भन्ने पुनरावेदक प्रतिवादीको जिकीरसँग नेकाप २०२५, माघ, नि.नं. ४४२ पृष्ठ २७३ को समेत परिप्रेक्ष्यमा सहमत हुन सकिदैन । कारण अ.बं. ७२ ले देवानी विषयभित्र प्रतिवादी र जग्गा कित्ताको संख्या गन्न भनेको नभई झगडाको विषय एउटै हो होइन निर्धारण गरी नालिस वा फिरादको संख्या निर्धारण गर्न भनेको हो झगडाको विषय एउटै हो वा होइन भन्ने निर्धारण गर्नुपर्दा अलगअलग प्रतिवादीको हकमा अलगअलग प्रमाणको विवेचना गर्नुपर्ने र मुद्दा गर्नुपर्ने कारण तथा मिति अलगअलग रूपमा उपस्थित भएको छ छैन भन्ने कुरा नै निर्धारक तत्व हो । यस अदालतले अ.बं. २०२ नं. प्रयोग गर्दा आधार लिएको नेकाप २०४४, चैत, नि.नं. ३३००, पृष्ठ १२७५ को नजीर मोही हकको प्रमाण पत्र पाऊँ भन्ने सम्बन्धमा प्रतिपादित भएको हो । सो मुद्दामा प्रतिवाद कथन अध्ययन गर्दा अलगअलग प्रमाणका आधारमा मोहियानी हकको प्रमाणपत्र पाउने हो वा होइन भनी निरोपण गरिनुपर्ने अवस्था छ । प्रस्तुत विवादमा मोही सम्बन्धी एउटै प्रमाणपत्र पाएको पिताको देहान्त भएबाट आफू एक मात्र हकदार छोरा भई सोही आधारमा मोहियानी हक नामसारी गरिपाउन दावी परेको छ । प्रस्तुत विवादको प्रतिवाद हेर्दा घरवारीको जग्गामा वादीका स्वर्गीय पिता नै मोही हुन नसक्ने र सगोलको काका भतिजा मोही र जग्गाधनी हुन नसक्ने प्रश्न उठाईएबाट यहाँ अलग अलग प्रमाणको विवेचना गरी निष्कर्षमा पुग्नुपर्ने अवस्था छैन । अ.बं. ७२ समेतका व्याख्याको सन्दर्भमा पूर्ण इजलासबाट नेकाप २०६६ मंसिर, नि.नं. ८२०१, पृष्ठ १२६८ मा प्रतिपादित नजीरको अनुशरण गर्न यो इजलास बाध्य छ । तसर्थ दुवै प्रतिवादीका हकमा इन्साफतर्फ विचार गर्नुपर्ने देखियो ।
४. प्रत्यर्थी वादीका पिता भरोस तुरहाले भूमिसुधार कार्यालय रौतहटमा भरेको मोहीको लगतको मिसिल संलग्न छायाँप्रति हेर्दा विवादित कि.नं. ६९८ को जग्गा विगाहा ०–४–० जग्गामा वंगला रहेको भन्ने उल्लेख गरेको देखिन्छ भने अर्को विवादित कि.नं. ९८ को जग्गा विगाहा ०–६–५ जग्गामा टहरो रहेको भन्ने व्यहोरा उल्लेख गरेको पाइयो । लगाउको मोही लगत कट्टा मुद्दाको मिसिल संलग्न रहेको भूमिसुधार कार्यालय रौतहटबाट मिति २०६५।७।२ मा भएको सर्जमीन व्यहोरा हेर्दा सर्जमीनका सम्पूर्ण व्यक्तिहरूले विवादित जग्गामा आँप तथा सिसौका रुखहरू र बाँसका झ्याङ्हरू रहेको भनी लेखाएको पाइन्छ । उक्त सर्जमीनमा यी प्रत्यर्थी वादी दुखा तुरहा समेत रोहवरमा बसेको अवस्था हुँदा सर्जमीन व्यहोरालाई अन्यथा भन्न मिल्ने पनि देखिएन । विवादित जग्गामा बोटविरुवाहरू तथा बाँसका झ्याङ्हरू रहेको भन्ने जिकीर लिँदै बोटविरुवा तथा बाँसका झ्याङ्हरू देखिने गरी खिचिएको गाउँ विकास समितिबाट प्रमाणित फोटाहरू प्रतिवादीले पेश गरेकोमा पेश गरिएका उक्त फोटाहरू विवादित जग्गाका फोटाहरू होइनन् भनी प्रत्यर्थी वादीले जिकीर लिन सकेको पनि देखिएन ।
५. फोटोहरू लिखत प्रमाण हुन । नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(घ) द्वारा निर्धारित परिभाषाका अतिरिक्त प्रमाण कानूनका विश्वव्यापी मान्यताका कारणबाट फोटोहरू लिखत प्रमाणको कोटीमा पर्दछन् । विधिसम्मत प्रक्रियाबाट मिसिलमा संलग्न हुन पुगेका फोटोहरूका हकमा समेत अ.बं. ७८ आर्कषित हुन्छ । पुरातन मस्यौदाहरूमा “कागज” भन्ने शब्द प्रयोग हुँदैमा आधुनिक मस्यौदामा “लिखत” भन्ने शब्द लेखिएको छ भन्दैमा लिखत भन्नु र कागज भन्नु फरक हुन भन्ने अर्थ गर्न मिल्दैन । शब्दको प्रयोग सामाजिक रूपान्तरणका कारणबाट परिवर्तन हुनु स्वाभाविक हो र यो स्वाभाविक परिवर्तनलाई कानूनले आफूभित्र समाहित गर्दै लानु पर्दछ । प्रस्तुत विवादमा प्रतिवादी पक्षले पेश गरेका फोटोहरूमा पोखरीको डिल रुख पात र बाँसका झ्याङ स्पष्ट दृष्टिगोचर हुन्छन् । वादीले नै पेश गरेका मोहीसम्बन्धी अनुसूची तथा फिल्डबुकमा विवादित कित्ताका हकमा घर टहरा जनिएबाट फोटोहरूको सत्यता पुष्टि भएको छ । मूलतः ती वादीको जानकारीमा आएका फोटो सम्बन्धित जग्गाका होइनन् भन्ने समेतका आधारमा वादीले चुनौती दिएको भए अ.बं. १७१ बमोजिम नाप जाँच गराउनु पर्दथ्यो । अ.बं. १७१ को नाप नक्सा जाँच बुझ अदालतले न्यायिक निष्कर्षमा पुग्न आफ्नो सन्तुष्टिका लागि अदालतका प्रतिनिधिलाई विवादस्थलको बस्तुगत अध्ययन गर्न पठाउन अवलम्बन गरिने कार्यविधि हो । लिखत प्रमाणका रूपमा रहेका फोटोहरूमा मुद्दाका दुवै पक्षको मुख मिलेको छ भने यिनले अ.बं. १७१ को आवश्यकता पूरा गर्न सक्दछन् ।
६. विवादित जग्गाको सर्भे नापी हुँदाको फिल्डबुकको व्यहोरालाई यी वादीको रोहवरमा सम्पन्न सर्जमीनले पुष्टि गरिरहेको छ । विवादित जग्गामा भोग कसको छ भन्ने कुरा तथ्यको प्रश्न भएबाट प्रतिवादीको भोग रहेको स्वीकार गर्ने यी वादीलाई प्रमाण ऐन, २०३१ को दफा ३४ ले विवन्धन समेत लाग्दछ । फिल्डबुकको व्यहोराले वादीका पिता र साविक जग्गाधनी काका भतिजा रहेको पनि देखिन्छ । एका परिवारमा कोही जग्गाधनी र कोही मोही हुन नसक्ने कानूनी व्यवस्था पनि स्थापित छ ।
७. अब, विवादित कि.नं. ६९८ र ९८ को जग्गा मोहियानी हक वादीलाई प्राप्त हुने नहुने कस्तो प्रकृतिको जग्गा हो भन्ने सम्बन्धमा हेर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ (ङ) मा, “घरवारी भन्नाले मानिस बसोवास गर्ने घर र सो घरले चर्चेको जग्गा सम्झनु पर्छ र सो शब्दले घरसँग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तवेला, फलफूलको बगैँचा, तरकारी बारी, बाँसघारी, खरवारी, खेलकूद वा मनोरञ्जन गर्ने ठाउँ र सो सरहको अरु कुनै काममा लगाइएको जग्गालाई समेत जनाउँछ” भन्ने कानूनी प्रावधान रहेको पाइन्छ । उपरोक्त परिभाषाबमोजिम विवादित जग्गा घरबारीको परिभाषाअन्तर्गत पर्न आउने देखिन्छ ।
८. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा ५ (क) मा घरबारीको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त नहुने भन्ने कानूनी प्रावधान रहेको पाइन्छ । भूमिसम्बन्धी ऐन, २०२१ मा भएको उपरोक्त कानूनी व्यवस्था बमोजिम विवादित जग्गा घरवारी रहेको र यस्तो प्रकृतिको जग्गामा मोहियानी हक प्राप्त नहुने हुँदा विवादित जग्गा प्रत्यर्थी वादीको नाममा मोही नामसारी हुने अवस्था देखिएन ।
९. मोहियानी हक नामसारी गर्न कुनै हदम्यादको व्यवस्था छैन । तर, न्यायिक निर्णय गर्नुपर्दा समय तत्वलाई पनि ध्यान दिनुपर्ने हुन्छ । बाबु २०२९ सालमा आमा २०३० सालमा परलोक भएको भन्दै बाबुको नामको मोहियानी नामसारी गर्न ३४ वर्षसम्म कुर्नुपर्ने अवस्था के पर्यो वादीले फिरादमा देखाउन सकेको छैन । यो समयको अन्तरालले पनि प्रतिवादी कथनलाई परोक्ष रूपमै सही सहयोग गरिरहेको छ । न्यायिक निष्कर्ष निकाल्दा न्यायिक मनको विशिष्ठ भूमिका हुन्छ । भूमिसम्बन्धी नियम अन्तर्गतका १ नं. २ नं. ४ नं. तथा ३ नं. अनुसूची भएपनि भूमिसम्बन्धी ऐनले नै मोहियानी हक प्राप्तिका लागि निषेध गरेको अवस्थामा ऐनकै व्यवस्थाले मान्यता पाउँछ । ऐनकै कार्यान्वयनको सुगमताका लागि नियम बन्ने हुँदा ऐनका प्रतिकूल नियम बन्न नसके जस्तै सो नियम अनुसार प्राप्त कागजातले कुनै कानूनी बल प्राप्त गर्न सक्दैनन् । जसरी दूषित दर्ताले कुनै मान्यता पाउँदैन, यसका लागि हदम्याद बाधक बन्दैन त्यसरी नै द्ूषित प्रमाणको कुनै औचित्य हुँदैन । कानून विपरीतको दूषित प्रमाणले कसैलाई कानूनी हक प्रदान गर्न सक्दैन । वादीले प्रस्तुत गरेका अनुसूचीहरू भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(क) प्रतिकूल रहेबाट तिनका आधारमा मोहियानी नामसारी हुन सक्ने अवस्था रहँदैन ।
१०. अतः माथि विवेचना गरिएका आधार, कारण र प्रमाणहरूबाट वादी दावीको कि.नं. ६९८ र ९८ को जग्गा प्रत्यर्थी वादी दुखा तुरहाको नाममा मोही नामसारी हुन सक्ने नदेखिँदा मोही नामसारी गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ । वादी दावी पुग्न नसक्ने गरी भएको भूमिसुधार कार्यालय रौतहटको फैसला उल्टी गरी वादी दावीबमोजिम मोही नामसारी हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको मिति २०६७।४।१२ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत हेटौंडाको मिति २०६७।४।१२ को फैसला उल्टी भै मोही नामसारी गरिपाऊँ भन्ने वादी दावी पुग्न नसक्ने ठहरेकोले पुनरावेदन अदालत हेटौंडाको फैसलाको तपसील खण्डमा उल्लिखित लगत कट्टा गर्नु भनी उक्त अदालतमा लेखी पठाउनू ––––– १
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ––––२ उक्त रायमा समहत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६९ साल मंसिर १५ गते रोज ६ शुभम्
इजलास अधिकृत : कृष्णप्रसाद पौडेल