शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१६० - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: माघ अंक: १०

निर्णय नं. २१६० ने.का.प. २०४१              अङ्क १०

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको रिट नं. १४१८

विषय : उत्प्रेषण

निवेदक : का.न.पं. वडा नं. १ का.जि.नक्साल बस्ने धर्मरत्न सिन्दुराकार

विरूद्ध

विपक्षी : ऐ.ऐ. बस्ने सूर्यमुनी शाक्य

ऐ ऐ का.न.पं. का प्रधान पञ्च कमल चित्रकार

आदेश भएको मिति : २०४१।५।१८।२ मा

§  नगरपञ्चायत ऐनको दफा १७(ढ) समेतको आधारमा नगर र नगरबासी जनतालाई सफाई र स्वच्छ राख्ने मूल उद्देश्य लिनु ढलसम्म खुलाई दिने गरी गरेको काठमाडौं नगरपञ्चायतको निर्णयमा कुनै कानुनी त्रुटि र हक बेहकको अवस्था विद्यमान रहेको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ।

(प्रकरण नं. ७)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

उल्लेखित मुद्दा : x

आदेश

        न्या. महेशरामभक्त माथेमा : विपक्षी का.न.प.को ०४०।४।१६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छन् ।

        २.  धर्मरत्न सिन्दुराकारले ढल निकास बन्द गरी घर बनाई रहेको ढलबाट जुठो पानी नगई त्यसै जम्मा भइरहेकोले त्यसबाट दुर्गन्ध समेत आई सारै मर्का परेकोले आवश्यक कारवाही गरी दिनुहुन अनुरोध गर्दछु भन्ने वादी, ढल निकास बन्द गरेको छैन, उजूर झुठ्ठा हो भन्ने प्रतिवादी धर्मरत्न भएकोमा उक्त बन्द भइरहेको ढल निकास प्रतिवादीबाट आजका मितिले ३५ दिनभित्र खुलाई दिनुभनी उपस्थित रहेका प्रतिवादीलाई सुनाई दिने, सो म्यादभित्र नखुलाई दिएमा का.न.पं. स्यानिटेशन फाँटबाट खुलाउन लगाउन लेखी पठाउने भन्ने समेत व्यहोराको ०४०।४।१६ को का.न.पं.को निर्णय फैसला ।

        ३.  जुन ठाउँमा ढल निकास बन्द गरी दिएको भन्छ सो ठाउँमा ढल निकास नै छैन सो ढल निकास यसठाउँमा जाने गई आएको छ भनी विपक्षीले उजूरीमा पनि देखाउन सकेको छैन । विपक्षीले ढल निकास छ भनेको जग्गा नै मेरो हो । ढल खुलाई पाउँ भन्ने किटानी उजूरी पनि छैन । न.पं.ले सो ठाउँमा ढल छ छैन सो नहेरी कुनै प्रमाण नबुझी विपक्षीलाई मेरो जग्गामा ढल खुलाई दिने भनी नक्सा सरजमीन केही नगरी न्यायिक मन नलगाई अ.बं. १८४ र १८४(क) तथा १८५ नं. समेतको प्रतिकूल निर्णय गरेको छ । सूर्यमुनीको त्यस ठाउँमा घर जग्गा र उजूर गर्ने अधिकारै छैन । साविक जग्गावाला नारायणदेवीसँग मुद्दा परी ०२८।१२।२९ का फैसलाबाट मेरा फार्छे बमोजिम मैले जोती पाएको जग्गा हो । सो बाहेक बाँकी जग्गा कमलादेवी शाक्यलाई ०३३।३।२८ मा बिक्री गरी दिएकोबाट निज कमलाको भोगमा छ । सो नारायणदेवीको फार्छामा पनि निजको घरको ढल मेरो जग्गामा आउने भन्ने कुनै उल्लेख छैन । कमलादेवीको र नारायणदेवीको उजूरी पनि छैन । मैले ०२६।६।१९ मा लिँदा पनि सो जग्गामा ढल नभएको र ढल छ भनी जग्गा समेत लिने विचार गरी ढल छ भनी खिचोला गरेपछि जग्गाको समेत तेरो मेरो गर्नुपर्ने प्रश्न देखिन आएको पनि छ । हकै नपुग्ने व्यक्तिले उजूर गर्न पाउने अ.बं. १८२ नं. ले हक दिएको समेत छैन । उक्त लेखिए बमोजिम कानुनी हक र नेपालको संविधानको धारा १० नं. ऐ. को ११ को ऐ. को (ङ) ऐ. को धारा १५ समेतको संवैधानिक हक हनन् गरी अनाधिकार गैरकानुनीसँग विपक्षीले गरेको निर्णय बदर गर्ने अन्य उपचार नभएकोले ऐ. धारा १६, ७१ बमोजिम निवेदन गर्न आएको छु । उत्प्रेषणको आदेशद्वारा सो ०४०।४।१६ को निर्णय बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

        ४.  विपक्षीबाट लिखितजवाफ झिकाई पेश गर्नुभन्ने सिंगलबेञ्चको आदेश भइरहेको ढल निकास थुन्न हुँदैन भन्ने घर बनाउनेको ३ नं. ले पनि व्यवस्था गरेको छ र भइरहेको ढल खुलाई दिने खोल्न लगाउने भन्नेसम्म निर्णय गरेको हो । ढल भन्ने चीज अर्काको जग्गाबाट गइरहेको भए पनि रोक्न हुँदैन । यथावत चालू राख्नुपर्छ । यसरी रोक्यो भने ठूलो समस्या उत्पन्न हुन्छ । कानुनी दृष्टिकोणले पनि मिल्दैन । यसरी ढल निकास विषयको उजूरी सुनी खोली कारवाही गर्ने अधिकार न.पं. ऐन, १७(ढ) ले यस पञ्चायतलाई पूरा अधिकार छ । त्यही अधिकार क्षेत्रभित्र रही यो निर्णय गरेको हो । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको का.न.पं.को लिखितजवाफ ।

        ५.  विपक्षीले उजूर गर्ने अधिकार छैन भनेकोमा जग्गावाला भनेको कमलादेवी मेरी श्रीमती हुन् । उनी माइत गएको बखत घर बनाउन लाग्दा मैले उजूर गरेको हुँ र कमलादेवीका जग्गा भन्ने स्वयं विपक्षीले स्वीकार गरेको छ । जग्गाको हक बेहकको कुरा नभई ढलसम्म खुलाउन का.न.पं.मा उजूरी दिएको छु । का.न.प.मा बयान गर्दा ढल थियो भन्ने कुरा स्वीर्कानु भएको पनि छ तर बन्द गरेको छैन भन्ने बयान दिएकोबाट का.न.पं.ले प्रमाण बुझ्दा ढल बन्द गरेको ठहर्‍याई सो ढल निकासा गर्ने निर्णय अ.बं. १८४ र १८४(क) तथा १८५ नं. समेतको प्रतिकूल नपर्ने गरी अ.बं. १८६ नं. बमोजिम गरेको फैसला गैरकानुनी भन्न नमिल्ने हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको सूर्यमुनी शाक्यको लिखितजवाफ ।

        ६.  निवेदक तर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्यले अघिदेखि ढल नभएको सेफ्टीट्याङ्की पनि बनाइराखेको छ । यी जग्गामा हकबेहक पनि परेको देखिएको निवेदकको हकदैया पनि नभएको भन्नेसमेत बहस प्रस्तुत गर्नुभएको छ । विपक्षी का.न.पं. तर्फबाट उपस्थित हुनुभएको विद्वान व.अ. श्री सर्वज्ञरत्न तुलाधरले स्वास्नीको घर जग्गामा लोग्नेले उजूर गर्न नपाउने भन्ने निवेदकको भनाई छन् घरमा बस्न अन्य व्यक्तिले पनि सुविधा र असुविधाको सम्बन्धमा उजूर गर्न पाउने हो । नगर पञ्चायतले ढल खुलाई दिनेसम्म निर्णय गरेको छ र यसमा हकबेहक गरेको पनि छैन न.पं. ऐनको दफा १७ (ढ) अनुसार नालि खोल्ने निर्णय गरेको छ भन्ने समेत वहस प्रस्तुत गर्नु भएको छ । मुख्यतः निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

        ७.  ढलै नभएको ठाउँमा ढल खुलाई दिने गरी जग्गा नै तेरो मेरो पर्ने गरी का.न.पं.ले गरेको निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदकको जिकिर भएकोमा सो बमोजिम गर्न मिल्ने हो होइन भनी त्यसतर्फ हेर्दा ढल खुलाई पाउँ भन्ने उजूरीमा काठमाडौं नगरपञ्चायतले जाँची बुझी का.न.पं.ले निरीक्षण तथा कारवाही फाँटको ओभरसियर रामनारायण श्रेष्ठले दिएको प्रतिवेदन प्राप्त न.पं.को फाइलबाटै देखिन आएको र नगरपञ्चायत ऐनको दफा १७(ढ) समेतको आधारमा नगर र नगरबासी जनतालाई सफाई र स्वच्छ राख्ने मूल उद्देश्य लिनु ढल सम्म खुलाई दिने गरी गरेको काठमाडौं नगरपञ्चायतको ०४०।४।१६ को निर्णयमा कुनै कानुनी त्रुटि र हक बेहकको अवस्था विद्यमान रहेको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियमानुसार गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।  

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४१ साल भाद्र १८ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु