शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१६२ - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: माघ अंक: १०

निर्णय नं. २१६२ ने.का.प. २०४१              अङ्क १०

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४० सालको रि.नं. १८४५

विषय : उत्प्रेषण

निवेदक : का.जि.का.न.पं. वा.नं. ७ बस्ने गणेशप्रसाद उपाध्याय खरेल

विरूद्ध

विपक्षी : ऐ.ऐ. वडा नं. ८ बस्ने लक्ष्मी श्रेष्ठ

ऐ ऐ बस्ने कान्छी श्रेष्ठ

ऐ ऐ बस्ने जितमाया भण्डारी

पशुपति भण्डार तहविल कार्यालय

मालपोत कार्यालय काठमाडौं

आदेश भएको मिति : २०४१।५।१।६ मा

§  विवादित जग्गा निवेदकले पशुपतिनाथको होइन भनी भन्न देखाउन लेख्न सकेको समेत पाइन्न । यस्तो स्थितिमा निर्विवाद हकको प्रचलन गर्न मिल्ने देखिन आएन ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

उल्लेखित मुद्दा : x

आदेश

        न्या. हरिहरलाल राजभण्डारी :    नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ भन्ने समेत ०४०।३।५ मा रिट निवेदन पर्न आएको रहेछ ।

        २.  संक्षिप्त तथ्य तथा निवेदन जिकिर : मालपोत कार्यालय काठमाडौंमा उत्तर ६१४ नं. मा जित मान समेतका नाउँमा पोता दर्ता भएका संखिचापाल खेत रो. ३० जग्गाधनीहरूको निजी गुठीमा दर्ता भइरहेको ज.ना.जा. हुँदा पशुपति गा.पं. वडा नं. ८(क) कि.नं. ३२ सो २३ कायम भई पोता दर्तावालाको सन्तान हकवाला लक्ष्मी, कान्छी श्रेष्ठ, विष्णुलाल समेत जग्गाधनी र मोहीमा कृष्णकुमारी भन्ने रोजनानी जनिएको जग्गाहरू मैले जोती जग्गाधनीहरूलाई कूत बुझाई आएको भू.सु.का. काठमाडौंको ०३८।३।२५ को निर्णयानुसार म वास्तविक मोही रोजनानीको नाम श्रेस्तामा सच्चिन आदेश भई मालपोत कार्यालयमा पत्र पठाएको । उक्त जग्गाको पोता दर्ताको निजी गुठीको जग्गा मेरा नाउँमा रैकरमा परिणत गरी पाउन मेरो र विपक्षीहरूको समेत मा.पो.का. काठमाडौंमा निवेदन परेको जग्गा धनीको भन्दा मेरो निवेदन अगािड परेको हुँदा मोहीका नाउँमा राजगुठीमा दर्ता गरी दिन गुठी संस्थानमा पठाई दिन निर्णयानुसार गुठी संस्थानमा पठाइएकोमा विपक्षीहरूको पशुपति भण्डार तहवीलमा कृतिमुख भैरवको पूजा गरी खान जग्गा रैकर हुन लागेकोले रोकी पाउँ भन्ने निवेदन परेको आधारबाट पशुपति भण्डार तहवीलमा फाइल पठाइएछ । पशुपति भण्डार तहवील कार्यालयबाट मा.पो.का. लाई ज.ध.मा पशुपति भण्डार तहवील र दर्तावाला समेत विपक्षीहरू ३ जनाका नाउँमा दर्ता गरी ज.ध.प्र.पू. पठाई दिनुभनी लेखी आएको आधारमा टिप्पणीं उठाउँदै पशुपति तहवील बुझ्दा जोताहा दर्तावाला महलमा विपक्षीहरू र जग्गाधनी पशुपतिनाथ भण्डार तहवील कृतिमुख भैरव गुठीलाई पूर्जा उपलब्ध गराई दिने भनी लेखी आएकोले ज.ध.प्र.पू.बनाई पठाई दिने टिप्पणीं उठाई ०३९।१२।६ मा सदर गरिएको रहेछ ।

        ३.  पशुपति भण्डार तहवील मालपोत कार्यालयको पुनरावेदन सुन्ने निकाय होइन जग्गाधनीको भन्दा मेरो अगाडि रैकरमा परिणत गरी पाउने निवेदन परेकोले मेरो नाउँमा राजगुठीमा दर्ता गरी दिने निर्णय भएको छँदाछँदै पशुपति भण्डार तहवीलका नाउँमा र जोताहा दर्तावाला महलमा विपक्षीहरूका नाउँ जनाई ज.ध.प्र.पू. बनाई पठाई दिने भनी मालपोत कार्यालय काठमाडौंबाट टिप्पणीं सदर गरिएको ०३०।२।१४ को निर्णयको बिपरीत भएको र अ.बं. ८५ नं. को समेत प्रतिकूल भएबाट ने.का.प. ०२८ नि.नं. १५२५ मा प्रतिपादित सिद्धान्त अनुसार बदरभागी छ । निर्णय अनुसारको दर्तावाला व्यक्तिलाई बुझी निर्णय गर्नुपर्नेमा सो नगरी प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल टिप्पणीं सदर गरेको आदेश नि.नं. १५ मा प्रतिपादित सिद्धान्त अनुसार पनि बदरभागी छ । पशुपति भण्डार तहवील दर्ताको भए अदालतमा गई हक कायम गराउन पर्नेमा अनाधिकार पत्र लेखी त्यसको आधारमा ज.ध.प्र.पू.बनाई पठाई दिने टिप्पणीं सदर आदेश अ.बं. १८४, १८५क.नं. को त्रुटिपूर्ण भएको छ । अतः मालपोत कार्यालयको ०३९।१२।६ को गैरकानुनी टिप्पणीं सदर आदेश र तदनुरूप भए गरेको काम कारवाई समेत उत्प्रेषण जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरी बदर गराई हक प्रचलन कायम गराई पाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

        ४.  यसमा के कसो भएको हो ? सम्बन्धित विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश ।

        ५.  श्री पशुपतिनाथको मन्दिरभित्रको कम्पाउण्डमा रहनुभएका स्वच्छन्द नामका श्री कृतिमुख भैरव पूजा गरी खाने श्री पशुपतिनाथको लालमोहरिया भण्डारी विसेटले पूजा गरी भोज खाने जग्गालाई गणेशप्रसादले रैकरमा परिणत गरिपाउँ भन्ने निवेदन दिई कारवाई चलाए पछि गुठियार मध्येका व्यक्तिले रैकर गराउन लागेको भन्ने उजूर दिई अब उप्रान्त श्री पशुपतिनाथको लालमोहर बमोजिम पूजा गरी खाने जग्गा यथावत कायम राख्ने गरी १८६७ सालको लामोहरबाट जग्गाको धार्मिक प्रक्रिया थामेकोमा गणेशप्रसादको निवेदन जिकिर अनुसार तेरो मेरोमा जानुपर्ने भन्ने भनाई असत्य र झुठ्ठा हो । निवेदकको नाउँमा जोत दर्ता भएको फिल्डबुक उतारबाट देखिन्न सो जग्गा नापीका समय रोजनानीको नाउँमा दर्ता छ । पशुपतिनाथको जग्गामा साविक बमोजिम गर्नु भन्ने गणेशप्रसाद खरेल र श्री पशुपतिनाथ अमालकोट कचहरी भएको रि.नं. १२४२ को मुद्दामा प्रष्ट गरेबाट यस भण्डारबाट गणेशप्रसादलाई जोताहा कायम गर्न सकिने लालमोहरभित्रको जग्गा जुनसुकै बखत श्री पशुपतिनाथको स्वामित्वमा रहने भई स्वामित्ववालाले कब्जा गरी लियो भनी लालमोहरिया जग्गालाई रैकरमा परिणत गराउन नपाएकोले असाधारण अधिकार क्षेत्र गुहार्न पाउने होइन । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत श्री पशुपतिनाथ भण्डार तहवील कार्यालयको लिखितजवाफ ।

        ६.  क्षेत्रीय किताबमा कृष्णकुमारी भन्ने रोजनानी मोही कायम भएकोमा विपक्षी कहिले देखि कसरी मोही भएको सो प्रष्ट गर्न सक्नुभएको छैन । भू.सं. ऐनको दफा २६(१) बमोजिमको जग्गाधनीले पत्याई मोही हक पाएको भन्ने भनाई पनि छैन । विपक्षीलाई हामीहरूले पत्याई भू.सं. ऐनको दफा ३४(१) बमोजिमको कुनै प्रकृया अपनाई काम कुरा भए गरेको छैन । उल्लेख गरे बमोजिम विपक्षीले मोहीको प्रमाणपत्र लिए पाएको छैन । मोही नै नभएको व्यक्तिले म मोही हुँ मेरो नाउँमा रैकर परिणत गरिपाउँ भनी निवेदन दिने अधिकार छैन । रैकरमा परिणत गरिपाउँ भन्ने निवेदन परे पछि हामीलाई बुझी निर्णय गर्नुपर्नेमा नबुझी गरेको निर्णय त्रुटिपूर्ण छ । मा.पो.का. काठमाडौंलाई श्री पशुपतिनाथको गुठी विषयमा निर्णय गर्न अधिकार नहुँदा निर्णय स्वतः निस्कृय छ । कुनै पनि अधिकार नभएको कुरामा षड्यन्त्र रची आउनुभएको हुँदा निवेदकको माग बमोजिमका आदेश जारी हुने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत लक्ष्मी श्रेष्ठ कान्छी श्रेष्ठ जितमाया राजभण्डारीको संयुक्त लिखितजवाफ ।

        ७.  मालपोत कार्यालयले लिखितजवाफ पेश गरेको रहेनछ । निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले साविक लगत नं. ६१४ को जग्गा भएको विवादको जग्गा विर्ता भएको विपक्षीहरूलाई तिरो तिरान गरी जग्गा कमाई आएका मोही हुन् भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

        ८.  विपक्षी लिखितजवाफवाला जितमायातर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले ०२१ सालका नापीमा जग्गा कमाउनेको महलमा कृष्णकुमारी भन्ने रोजनानीको नाम भएको ०३३ सालदेखि कमाएको भन्ने निवेदकको भनाई भएकोमा कृष्णकुमारीले कमाई आएको जग्गा निवेदकले कुन किसिमले कमाई आएको हो सो भन्न सकेका छैन र कृष्णकुमारीलाई सो जग्गाबाट निष्कासन गरेको पनि छैन । निवेदक कृष्णकुमारीको कुनै नाताका मानिस पनि देखिन्न । एउटा सरजमीन गराई जग्गाधनीलाई नबुझी निवेदकलाई दिएको प्रमाणपत्र अनधिकृत हो अधिकार नभएको व्यक्तिले लिएको प्रमाणपत्रलाई बदर गराई रहनुपर्ने मोहीलाई रोज्ने अधिकार ऐनको दफा २६ अन्तर्गत जग्गाधनीलाई भएको र त्यसमा पनि कृष्णकुमारीको नातेदार पनि होइन भू.सं. ऐन, ०२१ आउँदा गुठी जग्गामा मोही हक नलाग्ने थियो तर ०२५ सालमा सो दफा झिकियो, गुठी संस्थान ऐन, ०२९ र ०३३ ले मोहियानी हक दिएको । निवेदकले भू.सं. ऐन, २०२१ को दफा ३४ अनुसार कबुलियत गरी जग्गा कमाएका हुनुपर्ने सो पनि नभएकोले निवेदकले कायम गरेको मोहियानी हक निस्कृय हो । राजगुठीमा दर्ता गर्दा कुनै गुठीको नाममा दर्ता हुन्छ । तसर्थ राजगुठीमा दर्ता गर्न सिफारिश गरेको कुनै सार छैन । विवादको जग्गा पशुपति भण्डार तहवीलमा दर्ता भई राखेको देखिन्छ । यस विषयमा कैयौं प्रतिपादित सिद्धान्त पनि मौजुद छन् भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

        ९.  मुख्यतः निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

        १०. साविकका उत्तर ६१४ नं. का पोता लगतमा जितमानका नाउँमा दर्ता भएको हाल सर्वे हुँदा पशुपति गा.पं. वडा नं. ८(क) नं. ३२ को सिम ठहर २३ कायम भएको ज.ध. मा दर्तावालाका सन्तान लक्ष्मी श्रेष्ठ, विष्णुलाल श्रेष्ठ र मोहीमा कृष्णकुमारी भन्ने रोजनानी जनिएको जग्गा म निवेदकले जोती ज.ध. लाई कूत बुझाई आएको जग्गामा भू.प्र.का. काठमाडौंको ०३८।३।१५ को निर्णयले म निवेदक नै वास्तविक मोही कायम भएको हुँदा सो रोजनानीको नाउँमा श्रेस्तामा सच्चाउने आदेश भए पत्र समेतमा मा.का. मा पठाएको । सो जग्गा मेरै नाउँमा रैकरमा परिणत गरिपाउँ भनी ०३८।१२।२७ मा म निवेदकले दिएको निवेदनमा मेरो नाउँमा दर्ता गराउने सम्बन्धमा गुठी संस्थानमा कारवाही हुन गएकोमा हाल मालपोत कार्यालयले विपक्षी कान्छी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, विष्णुलाल श्रीमती जितमाया समेतको नाउँमा जग्गाधनी प्रमाणपूर्जा बनाई दिने गरी ०३९।१२।६ मा टिप्पणीं सदर गरेकोले बदर गरिपाउँ भन्ने समेत रिट निवेदकको जिकिर भएकोमा सो बमोजिम गर्न मिल्ने नमिल्ने के रहेछ भनी त्यसतर्फ हेर्दा विवादित जग्गा निवेदकले पशुपतिनाथको होइन भनी भन्न देखाउन लेख्न सकेको समेत पाइन्न । यस्तो स्थितिमा निर्विवाद हकको प्रचलन गर्न मिल्ने देखिन आएन । रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।  

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४१ साल भाद्र १ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु