निर्णय नं. ८९०७ - रैकर दर्ता स्रेस्ता बदर गुठी हक कायम गरिपाऊँ
ने.का.प. २०६९, अङ्क १०
निर्णय नं. ८९०७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
माननीय न्यायाधीश श्री कमलनारायण दास
२०६८–CI–१०४०
फैसला मितिः २०६९।८।१।६
मुद्दा :– रैकर दर्ता स्रेस्ता बदर गुठी हक कायम गरिपाऊँ ।
पुनरावेदक वादीः बेखाबहादुरको छोरा, ललितपुर जिल्ला खोकना गाउँ विकास समिति वडा नं. ७ बस्ने आनन्दबहादुर श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः कैलाश बद्रीनाथ प्रभृति सदावर्त निजी गुठीका सञ्चालक ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १३ कुसुन्ती बस्ने अर्जुननरसिँह राणा समेत
शुरू फैसला गर्नेः
मा.न्या.श्री भीमकुमार ओझा
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री केशरीराज पण्डित
मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ
§ फैसलाको ठहर खण्ड नै अदालतको निर्णय हो । सो निर्णयलाई कार्यान्वयन गर्न तथा निर्णयबाट स्वाभाविक रुपमा निस्कने कोर्टफी फिर्ता, दण्ड जरीवाना, विगो आदि कार्यान्वयन गर्नलाई सहयोग पुर्याउन तपसील खण्ड लेखिन्छ । तपसील खण्डले निर्णयको स्थान लिन नसक्ने ।
§ ठहर खण्ड र तपसील खण्ड बाझिए ठहर खण्ड नै मान्य हुन्छ । ठहर खण्डमा उल्लेख नभएका वा विवेचना नभएका कुरा तपसील खण्डमा उल्लेख हुन सक्दैनन्, यदि भएको रहेछ भने समेत त्यसले कुनै मान्यता पाउन नसक्ने ।
§ ठहर खण्डको विपरीत वा सो बाझिने गरी तपसील खण्ड लेखेमा कानूनविपरीत हुन्छ । तपसील खण्डमा भएका सामान्य भाषिक त्रुटि, लेखाइ वा टाइपको गल्ती वा कुनै शब्द ठहर खण्डभन्दा भिन्न हुन गएमा ठहर खण्डको विपरीत नहुने गरी सच्याउन वा सुधार गर्न सकिन्छ । तर इन्साफमा नै फरक हुने गरी, ठहर खण्डमा लेखिएको निर्णयसँग बाझिने गरी विरोधाभाषपूर्ण ढंगले लेखिएको तपसील खण्डले मान्यता पाउन नसक्ने ।
(प्रकरण नं.८)
§ संविधान वा कानूनमा भएको व्यवस्थाको अधीनमा रही अदालत वा अधिकारीले आफ्नो अधिकारक्षेत्र ग्रहण गर्ने गर्दछ । सोअनुसार अधिकार सम्पन्न भए नभएको निश्चित गरेपछि मात्र निर्णयरुपी निष्कर्षमा पुग्नुपर्ने हुन्छ । अरुको अधिकार प्रचलन गराउनेले पहिला आफ्नो अधिकारको विस्तार र सीमाप्रति सजग र सचेत रहनु पर्दछ । कुनै निर्णयकर्ता, अदालत वा निकायले अर्काको अधिकारक्षेत्र वा क्षेत्राधिकारको अतिक्रमण गर्न नहुने ।
§ अनाधिकृत निकायबाट भएका निर्णय प्रभावहीन शून्य भई बदर हुने कानूनी व्यवस्था अ.व. ३५ नं. मा भएको हुँदा यसका अतिरिक्त प्रस्तुत मुद्दामा प्रमाणको रूपमा पेश भएको फिल्डबुक उतारको लेखाईको न्यायोचित विवेचना नभएको र पारीत नै नभएको अपारीत लिखत विवादित जग्गाको हकको शंकारहित स्रोत हुन नसक्ने ।
(प्रकरण नं.९)
पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता रमेशकुमार मैनाली
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्बित नजीरः
§ नेकाप २०४६, नि.न.३९८७, पृष्ठ ११२०
सम्बद्ध कानूनः
§ भूमिसुधार ऐन, २०२१ (संशोधनसहित) २०५३ को दफा २६(१)
§ न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१)
§ मुलुकी ऐन अदालती बन्दोवस्तको ३५, ८६ नं.
फैसला
न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पाटनको मिति २०६७।११।२६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत वादीको पुनरावेदन पत्र दर्ता भै निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
श्रीभक्त हेमेश्वर, हेम भक्तेश्वर र शान्त बालेश्वर समेत श्री ३ शिवालय गुठीको साविक खोकना डोल खेत २–८–० जग्गाको साविक मोही पहलमान ज्यापू भएको र निजको मुत्युपछि निजका छोरा तुईसिँ महर्जनले जीतबहादुर डंगोललाई मिति २०१०।३।९ मा भोगबन्धकी दिएकोमा जीतबहादुर परलोक भएकोले निजको हक खाने हकदारहरू कृष्णबहादुर महर्जन, ज्ञानलाल महर्जन र ज्ञानदास महर्जन समेत तीन जनाले कमाई आएकोमा सर्भे नापी हुँदा भोगबन्धकी दिने साहूका हकदारले छुट्टाछुट्टै नापी भएको ललितपुर जिल्ला खोकना गाउँ विकास समिति वडा नं. ६(ख) कि.नं. २७ को क्षेत्रफल १–३–०–० ऐ. कि.नं. २८ को क्षेत्रफल ०–०–९–१ र ऐ. कि.नं. २९ को क्षेत्रफल ०–१३–०–० जग्गा कायम भई नापी भएको जग्गा भोगबन्धकी दिने तुईसिँले मिति २०२२।४।१२ मा भोगबन्धकी लिने साहू जीतबहादुरको हक खाने कृष्णबहादुर महर्जन, ज्ञानलाल महर्जन र ज्ञानदास महर्जन समेत तीन जनालाई रकम बुझाई २०३१ सालमा निवेदकलाई छोडपत्रको लिखतबाट राजीनामा गरी दिई गुठी सञ्चालकसमक्ष सनाखत गरी गुठी सञ्चालकबाट मेरो नाउँमा मोही नामसारी भई २०३१ सालदेखि हालसम्म म निवेदकले कमाई गुठी सञ्चालकलाई साल सालैको बाली बुझाई आएको र उक्त जग्गाको मोही नामसारी गरी जग्गाधनी प्रमाण पूर्जा पाऊँ भनी गाउँ विकास समितिको सिफारिशसहित मिति २०४५।३।१९ द.नं. ३११७ मा निवेदन दिई कारवाहीयुक्त अवस्थामा रहेकोमा उक्त विवादित जग्गा श्री कैलाश बद्रीनाथ प्रभृति सदावर्त निजी गुठीको नाउँमा दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा लिएको हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ (१) बमोजिम कसैले गुठीको घरजग्गा रैकरमा दर्ता गराएको खण्डमा गुठी संस्थान (कार्य व्यवस्था) विनिमय २०४२ को विनिमय २० को देहाय २ र ३ नं. बमोजिम रैकर लगत कट्टा गरी गुठी कायम हुने व्यवस्था गरिएको आधारमा कि.नं.२७ को क्षेत्रफल १–३–०–० जग्गा श्रीभक्त हेमेश्वर, हेमभक्तेश्वर र शान्त बालेश्वरसमेत श्री ३ शिवालय गुठीको जग्गा भएको हुँदा रैकरमा दर्ता गर्ने गरी मालपोत कार्यालय, ललितपुरबाट मिति २०५०।१२।१९ मा भएको निर्णय बदर गरी सो निर्णयको आधारमा भएको दर्ता स्रेस्तासमेत बदर गरी मेरो नाउँमा गुठी हक कायम समेत गरिपाऊँ भन्ने समेत व्यहोराको वादी आनन्दबहादुर श्रेष्ठको मिति २०६४।८।१६ गतेको फिराद दावी ।
विपक्षीले हामीले ललितपुर जिल्ला, खोकना गाउँ विकास समिति वडा नं. ६(ख) कि.नं. २७ को क्षेत्रफल १–३–०–० ऐ. कि.नं. २८ र २९ को दर्ता समेत बदर गरिपाऊँ भनी उल्लेख भएको नालेस मुलुकी ऐन, अ.वं. ७३ नं. विपरीत भई नालेस लाग्ने होइन । हामीलाई अनावश्यक रूपमा दुःख दिएमा केही हात लाग्छ कि भन्ने मनसायले नालेस दिएको भन्ने कुरा स्पष्ट हुन्छ । फिरादीले रैकर लगत कट्टा गरी गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) बमोजिम गुठी संस्थानलाई नै हुने भनी लिएको दावी अ.वं. ८२ नं. ले हकदैयाविहीन हुँदा खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अक्रुरनरसिँह राणा समेतको संयुक्त प्रतिउत्तर जिकीर ।
वादीले पेश गरेको बाली बुझाएको भरपाई देखाउँदा देखेँ, उक्त भरपाईहरू सद्दे साँचो हो भनी प्रतिवादीका वारेस सिद्दिबहादुर महर्जनले मिति २०६५।३।२६ गते अ.वं. ७८ नं. बमोजिम अदालतमा गरेको बयान ।
शुरू अदालतको मिति २०६६।१०।२६ गतेको आदेशानुसार मिति २०६६।११।१३ गते विवादित जग्गाको भै आएको सर्जमीन मुचुल्का मिसिल सामेल रहेछ ।
विवादित जग्गा यी प्रतिवादीको निजी गुठीको एवं रैकर नभई विवादित जग्गा श्री ३ शिवालय गुठी श्री भक्त हेमेश्वर, हेम भक्तेश्वर र शान्त बालेश्वर गुठीको भएको हुँदा यी वादी उक्त जग्गाको मोही भएको कुरा पुष्टि भई रहेको अवस्था हुँदाहुँदै यी प्रतिवादीहरूले निजी गुठीमा दर्ता गराएको नमिलेको हुँदा बदर गरी विवादित जग्गाको रैकर स्रेस्ता कट्टा गरी गुठीको हक कायम भई यी वादी मोही कायमसमेत हुने ठहरी ललितपुर जिल्ला अदालतबाट मिति २०६७।१२।३० मा भएको फैसला ।
ललितपुर जिल्ला खोकना गाउँ विकास समिति वडा नं. ६(ख) कि.नं. २७ को जग्गा २०२१ सालमा नापी हुँदा जोताहा मोहीमा कृष्णबहादुर ज्यापू, किसानको व्यहोरामा कैलाश बद्रीनाथ प्रभृति सदावर्त गुठी जनिई नाप नक्सा भएको जग्गा हो । वादी दावीबमोजिमको श्रीभक्त हेमेश्वर, हेम भक्तेश्वर शान्त बालेश्वर समेत तीन शिवालय गुठीको गुठी अधिनस्थ जग्गा होइन । उक्त जग्गा हालसम्म पनि रैकर परिणत गरिएको छैन, गुठी नै जनिई रहेको अवस्था छ । उक्त जग्गा श्री ३ शिवालयको भन्ने दावी हो भने श्री ३ शिवालयबाट मुद्दा गर्नुपर्छ, मोहीले गर्ने होइन, यस मुद्दामा आकर्षित नै नहुने मुलुकी ऐन ज.प. को १७ नं., ज.मि.को १८ नं. समाई दायर गरेको हकदैया, हदम्यादविहीन फिराद खारेज गर्नुपर्नेमा श्री कैलाश बद्रीनाथ सदावर्त निजी गुठीको हकभोग नै लोप हुने गरी श्री ३ शिवालय गुठीको कायम हुने गरी शुरूले गरेको फैसला उल्टी गरी श्री कैलाश बद्रीनाथ प्रभृति सदावर्त निजी गुठीको नाममा यथावत कायम गरिपाऊँ भन्ने समेत व्यहोराको श्री कैलाश बद्रीनाथ सदावर्त गुठीका सञ्चालकहरूको र आफ्नो हकमा समेत अर्जुननरसिँह राणाको मिति २०६७।५।२७ को पुनरावेदन पत्र ।
ललितपुर जिल्ला खोकना गाउँ विकास समिति वडा नं. ६(ख) कि.नं. २७ को जग्गा २०२१ सालमा नापी हुँदा जोताहा मोहीमा कृष्णबहादुर ज्यापू, किसानको व्यहोरामा कैलाश बद्रीनाथ प्रभृति सदावर्त गुठी जनिई नाप नक्सा भएको जग्गा हो । वादी दावीबमोजिमको श्रीभक्त हेमेश्वर, हेम भक्तेश्वर शान्त बालेश्वर समेत तीन शिवालय गुठीको गुठी अधिनस्थ जग्गा होइन । उक्त जग्गा हालसम्म पनि रैकर परिणत गरिएको छैन, गुठी नै जनिई रहेको अवस्था छ, उक्त जग्गा श्री ३ शिवालयको भन्ने दावी हो भने श्री ३ शिवालयबाट मुद्दा गर्नुपर्छ, मोहीले गर्ने होइन, यस मुद्दामा आकर्षित नै नहुने मुलुकी ऐन ज.प. को १७ नं. ज.मि.को १८ नं. समाई दायर गरेको हकदैया, हदम्याद विहीन फिराद खारेज गर्नुपर्नेमा श्री कैलाश बद्रीनाथ सदावर्त निजी गुठीको हकभोग नै लोप हुने गरी श्री ३ शिवालय गुठीको कायम हुने गरी शुरूले गरेको फैसला उल्टी गरी श्री कैलाश बद्रीनाथ प्रभृति सदावर्त निजी गुठीको नाममा यथावत कायम गरिपाऊँभन्ने समेत व्यहोराको गुठीमा सञ्चालकहरू अक्रुरनरसिँह र प्रभुनरसिँह राणाको संयुक्त पुनरावेदन पत्र ।
यसमा यसै मुद्दासँग लगाउ भएको दे.पु.नं. ०२६३ को गुठी हक कायम मुद्दामा विपक्षी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी रहेको देखिंदा यसमा पनि प्रत्यर्थी झिकाई आए वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेश गर्नु भन्ने दे.पु.नं. ०२६१ को मुद्दामा भएको पुनरावेदन अदालतको मिति २०६७।८।२ गतेको आदेश ।
यसमा मिसिल संलग्न प्रमाणहरूको समूचित मूल्याङ्कन समेत नगरी कुन के कस्तो गुठी कायम भएको हो सो समेत प्रष्ट नगरी मोही हकको सम्बन्धमा समेत के कसरी हक छाडेको हो, सो समेत उल्लेख नभै भएको शुरू फैसला फरक पर्नसक्ने भै विचारणीय भएकोले छलफलको लागि अ.वं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतीत भएपछि नियमानुसार गरी लगाउका मुद्दाहरू साथै राखी पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।८।२ को दे.पु.नं. ०२६३ को मुद्दामा भएको आदेश ।
फिराद लेखमा विपक्षी वादी कि.नं. २७ को जग्गाको मोही भएको भन्ने उल्लेख गरी गुठी हक कायम गरिपाऊँभनी दावी लिएकोमा शुरू जिल्ला अदालतबाट विवादित जग्गा रैकर स्रेस्ता कट्टा गरी गुठीको हक कायम भई वादी मोही कायम हुने ठहर्छ भनी फैसला भएको देखिन्छ । मोही कायम गरिपाऊँ भनी दावी नै नभएकोमा पनि जिल्ला अदालतबाट मोही कायम हुने ठहर गरेको देखियो । जग्गाको मोही को हुने भन्ने विषय अदालतको अधिकारक्षेत्रमा पर्ने पनि होइन । मोही कायमसम्बन्धी विषय भूमिसम्बन्धी ऐन, २०२१ ले भूमिसुधार कार्यालयलाई अधिकार प्रदान गरेको छ । विवादित कि.नं. २७ को जग्गा श्री ३ शिवालय गुठीको स्वामित्वको हो भनी सो गुठीको हक कायम गर्न विपक्षी वादी आनन्दबहादुर श्रेष्ठ अख्तियारप्राप्त व्यक्ति भएको देखिएन । निज विपक्षीले प्रस्तुत फिराद गर्नु अघि यस्तै मागदावी लिई गुठी संस्थानमा निवेदन दिई कारवाहीमा रहेको पनि देखिन्छ । अतः गुठीको स्वामित्वको विषयमा विपक्षी वादी आनन्दबहादुर श्रेष्ठलाई प्रस्तुत मुद्दा गर्न अ.वं. ८२ नं. अनुसार हकदैया भएको नदेखिँदा विवादित कि.नं. २७ को जग्गाको रैकर स्रेस्ता कट्टा गरी गुठीको हक कायम भई विपक्षी वादी मोही कायम हुने ठहर्याएको ललितपुर जिल्ला अदालतको मिति २०६६।१२।३० को फैसला मिलेको नदेखिँदा उल्टी भै प्रस्तुत फिराद हकदैयाको अभावमा अ.वं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६७।११।२६ को फैसला ।
कि.नं. २७ को जग्गाको स्रेस्तामा २०५०।१२।१९ मा निर्णय भएको कुरा उल्लेख भएको छ । सोबाहेक के कसरी कुन रसिदसँग भिडी दर्ता भएको हो सो कुरा कुनै उल्लेख भएको पनि छैन भने अर्को तर्फ प्रत्यर्थी प्रतिवादीहरूले आफ्नो के कुन रसिदसँग भिड्ने जग्गा हो भनी कुनै साविक स्रोतको प्रमाण पेश गर्न समेत सकेका छैनन् । ललितपुर जिल्ला अदालतबाट यी सबै प्रमाणको मूल्याङ्कन गरी वादी दावी पुग्ने फैसला भएको हो । प्रतिवादीहरूको कुनै प्रमाण नहुँदानहुँदै पुनरावेदकको दावी नपुग्ने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले पुनरावेदन अदालत पाटनबाट भएको फैसला बदरभागी छ । २०१०।३।९ मा तुइसीँ ज्यापूले जीतबहादुर महर्जनलाई भोगबन्धकी लेखी दिँदा जग्गाको विवरणमा मेरा तिरो भोगचलनको श्रीपशुपतिमा सदावर्तन भएको भक्तहेमेश्वर हेम भक्तेश्वर समेत तीन शिवालय गुठीमा दरिएको ले.ज. वोर्णविक्रम राणाको गुठीको तहविलमा बुझाउनु पर्ने भनी स्पष्ट लेखिएको छ भनी सोही जग्गा बन्धकी साहूलाई रकम बुझाई दरपीठ भएको जग्गा पुनरावेदकले २०३१।५।१३ मा राजीनामा गरी लिई श्रीहेम भक्तेश्वर, हेमेश्वर र शान्त बालेश्वर समेत श्री ३ शिवालय गुठीबाट मिति २०३१।८।२७ मा तुईसिँ ज्यापुबाट पुनरावेदकको नाममा नामसारी हुने निर्णय भई नामसारी भएको जग्गा २०३१ सालको गहुँवालीदेखि म आफैंले कमाई श्री ३ शिवालयमा सालिन्दा बाली बुझाई आएको जग्गा हो । यसरी राजीनामा र छोडपत्रको लिखत गरी लिई मोही नामसारी समेत भई भोगचलनमा रही बाली बुझाई आएको जग्गामा मेरो हक स्थापित भई सकेको छ, सो लिखत तथा निर्णयलगायत बाली बुझाएको भरपाई समेतबाट प्रत्यर्थीहरूले अन्यथा भन्न नसकेको अवस्थामा मेरो नालेस गर्ने हकदैया रहेको छ । यसरी मेरो हक स्थापित भइसकेको अवस्थामा मेरो हक नपुग्ने भनी पुनरावेदन अदालत पाटनबाट भएको फैसला बदरभागी छ । फिल्डबुकमा कैलाश बद्रीनाथ प्रभृति सदावर्त गुठी र कैलाश बद्रीनाथ प्रभृति सदावर्त गुठी लेखिएको छ, पशुपति सदावर्त गुठी र कैलाश बद्रीनाथ प्रभृति सदावर्त गुठी अलगअलग अस्तित्वका गुठी हुन् । साविक लगत तथा तुईसिँ र जीतबहादुर महर्जनबीच २०१०।३।९ मा खडा भएको भोगबन्धकी लिखतमा पशुपतिमा स्थापना भएको तीन शिवालय गुठी भनी उल्लेख भएको छ । यसबाट समेत पशुपति सदावर्त गुठी, गुठी अधिनस्थ गुठीको जग्गा हो भने कैलाश बद्रिनाथ प्रभृति सदावर्त निजी गुठी हो । यसतर्फ कत्ति पनि नहेरी भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी शुरू फैसला सदर गरिपाऊँभन्ने आनन्दबहादुर श्रेष्ठको यस अदालतमा परेको पुनरावेदन ।
नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितका मिसिल कागजातहरूको अध्ययन गरियो । पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रमेशकुमार मैनालीले २००० सालको लगतमा विवादित जग्गाको जग्गाधनीमा श्रीभक्त हेमेश्वर, हेम भक्तेश्वर र शान्त बालेश्वर समेत ३ शिवालय गुठी र मोहीमा पहलमान ज्यापू जनिएको छ । २०३१ सालमा शिवालय गुठीले वादी आनन्दबहादुर श्रेष्ठलाई मोही नामसारी गरिदिए पछि वादीले २०३१ सालदेखि हालसम्म उक्त जग्गा जोतकमोद गरी वर्षैपिच्छे बाली बुझाउँदै आएको विवादित जग्गा श्री ३ शिवालय गुठीको भएको हुँदा सो गुठीको हक कायम गर्दा पुनरावेदक वादी मोही कायम हुने गरी ललितपुर जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी वादी दावी खारेज गर्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरिपाऊँ भनी बहस गर्नुभयो ।
विद्वान अधिवक्ताको उपरोक्तानुसारको बहस समेत सुनी ईन्साफतर्फ बिचार गर्दा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिले नमिलेको के रहेछ र बादीको पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्वन्धमा ठहर निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा कि.नं. २७ को जग्गाको फिल्डबुक उतार एवं स्रेस्ता उतारमा मोही कृष्णबहादुर महर्जन (ज्यापु) जनिएको २ नं. अनुसूची कृष्णबहादुर महर्जन भनी प्रकाशित भएको प्रमाण समेतबाट भू.सु.ऐन, २०२१ (संशोधनसहित) २०५३ को दफा २६ (१) बमोजिम कि.नं. २७ को क्षेत्रफल १–३–०–० जग्गा मृतक मोहीका नामबाट हकदार श्रीमती माया महर्जनको नाउँमा जोत नामसारी हुने ठहर्छ भनी भूमिसुधार कार्यालय ललितपुरबाट मिति २०६३।११।२९ मा निर्णय भएको देखिन्छ ।
३. कि.नं.२७ को क्षेत्रफल १–३–० जग्गाको वास्तविक मोही फिरादी भएको हुँदा मिति २०६३।११।२९ मा मोही नामसारी हुने गरी भूमिसुधार कार्यालय ललितपुरबाट भएको निर्णय तथा सो निर्णयको आधारमा दर्ता भएको मोहीयानी हकको प्रमाणपत्रसमेत बदर गरिपाऊँभनी ललितपुर जिल्ला अदालतमा फिराद दिएको देखिन्छ ।
४. न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) मा पुनरावेदन अदालतलाई आफ्नो प्रादेशिक क्षेत्राधिकारभित्र रहेको अन्य कुनै निकाय वा अधिकारीले मुद्दा मामिलामा गरेको शुरू फैसला वा अन्तिम आदेशउपर पुनरावेदन सुन्ने अधिकार हुनेछ भन्ने कानूनी व्यवस्था रहेको छ । भूमिसुधार कार्यालय ललितपुरले मिति २०६३।११।२९ मा गरेको निर्णयउपर पुनरावेदन अदालतमा पुरावेदन सुन्ने क्षेत्राधिकार उक्त कानूनले व्यवस्था गरेको पाइन्छ ।
५. विवादित कि.नं. २७ को जग्गाको विवादको बारेमा निर्णय गर्ने अधिकार भूमि सम्बन्धी ऐन, २०२१ ले भूमिसुधार कार्यालयलाई प्रदान गरेको छ । विपक्षी वादीलाई भूमिसुधार कार्यालय ललितपुरको उक्त निर्णयबाट असर पर्न गएको भए मुलुकी ऐन अदालती बन्दोवस्तको ८६ नं. अनुसार सो निर्णयलाई चुनौती दिन सम्बन्धित निकायमा जानुपर्ने हुन्छ । फिराद लेखमा कि.नं. २७ को जग्गाको विपक्षी वादी मोही हुँ भनी उल्लेख भएको पाइन्छ । मोही सम्बन्धी विवाद हेर्ने क्षेत्राधिकार जिल्ला अदालतलाई कानूनले प्रदान गरेको छैन । मोहीसम्बन्धी विषयमा भूमिसुधार कार्यालयले गरेको निर्णयउपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने कानूनी व्यवस्था भएको हुँदा सो जिल्ला भूमिसुधार कार्यालय ललितपुरले मिति २०६३।११।२९ मा गरेको निर्णय बदर गर्ने क्षेत्राधिकार शुरू ललितपुर जिल्ला अदालतलाई रहेको देखिएन ।
६. फिराद दावीमा कि.नं. २७ को क्षेत्रफल १–३–० जग्गाको मोही नामसारी गर्ने गरी भएको मिति २०६३।११।२९ को निर्णय बदर गरिपाऊँ भन्ने दावी लिएको देखिन्छ । भूमिसुधार कार्यालय ललितपुरबाट सो मिति २०६३।११।२९ मा कि.नं. २७ को जग्गाको हकमा सम्म मोही नामसारी हुने निर्णय भएको पाइन्छ । खोकना गाउँ विकास समिति वडा नं. ६(ख) कि.नं. २८, २९ जग्गाको मोही नामसारी गरिपाऊँ भनी विपक्षी वादीले गुठी तहविल तथा खर्च कार्यालयमा मिति २०६४।२।८ मा निवेदन दिई कारवाहीयुक्त अवस्थामा नै रहेको प्रमाणमा आएको मिसिलबाट देखिन्छ । अतः सो कि.नं. २८ र २९ जग्गाको मोहीको सम्बन्धमा प्रस्तुत मुद्दामा दावी नै नपरेको र अन्य निकायमा विचाराधीन रहेको भन्ने देखिन आएको छ ।
७. शुरू ललितपुर जिल्ला अदालतको फैसला हेर्दा कि.नं. २७, २८, २९ को मोही कायम हुने ठहरी फैसला भएको हुँदा वादी आनन्दबहादुर श्रेष्ठलाई मोही कायम गरी दिनु भनी भूमिसुधार कार्यालय ललितपुरमा लेखी पठाई दिनु भनी फैसलाको तपसील खण्डमा उल्लेख गरेको देखिन आएको छ । फिराद दावीमा कि.नं. २७ को मोही नामसारी निर्णय बदरसम्म माग गरेकोमा दावी नै नभएको मोही नामसारी नै नभई पुनरावेदककै निवेदनअनुसार गुठी संस्थानमा विचाराधीन रहेको कि.नं. २८ र २९ को जग्गाको मोहीसम्बन्धी विषयको सम्बन्धमा शुरू ललितपुर जिल्ला अदालतको फैसलाको ठहर खण्डमा विवेचना गरी ठहर फैसला नै भएको देखिदैँन । फैसलाको ठहर खण्डमा राय व्यक्त भई ठहर निर्णय नै नभएको कि.नं. २८ र २९ को जग्गाको सम्बन्धमा सो फैसलाको ठहर खण्डसँग विल्कुलै नमिल्ने ढंगबाट फैसलाको तपसील खण्डमा कि.नं. २८, २९ समेत मोही कायम हुने ठहरी फैसला भएको हुँदा वादीलाई मोही कायम गरीदिनु भनी भूमिसुधार कार्यालय ललितपुरमा लेखी पठाई दिने भनी उल्लेख गरी शुरू ललितपुर जिल्ला अदालतबाट गम्भीर त्रुटि गरी फैसला भएको देखिन्छ ।
८. फैसलाको ठहर खण्ड नै अदालतको निर्णय हो । सो निर्णयलाई कार्यान्वयन गर्न तथा निर्णयबाट स्वाभाविक रुपमा निस्कने कोर्टफी फिर्ता, दण्ड जरीवाना, विगो आदि कार्यान्वयन गर्नलाई सहयोग पुर्याउन तपसील खण्ड लेखिन्छ । तपसील खण्डले निर्णयको स्थान लिन सक्दैन । ठहर खण्ड र तपसील खण्ड बाझिए ठहर खण्ड नै मान्य हुन्छ । ठहर खण्डमा उल्लेख नभएका वा विवेचना नभएका कुरा तपसील खण्डमा उल्लेख हुन सक्दैनन्, यदि भएको रहेछ भने समेत त्यसले कुनै मान्यता पाउन सक्दैन । ठहर खण्ड वा इन्साफ खण्ड नै कुनै पनि मुद्दाको वास्तविक फैसला हो । तपसील खण्ड त ठहर खण्डको कार्यान्वयन गर्ने भाग मात्र हो । त्यसकारण तपसील खण्डको छुट्टै अस्तित्व हुदैन । त्यो सदैव ठहर खण्डसँग जोडिएर रहेको हुन्छ । पक्षको सुविधाको लागि र फैसला कार्यान्वयन सहज रुपमा होस् भन्ने हेतु छुट्टै भागको रुपमा तपसील खण्ड लेखिने सम्म हो । त्यसकारण ठहर खण्डअनुरूप तपसील खण्ड तयार हुने गर्दछ । ठहर खण्डको विपरीत वा सो बाझिने गरी तपसील खण्ड लेखेमा कानूनविपरीत हुन्छ । तपसील खण्डमा भएका सामाान्य भाषिक त्रुटि, लेखाइ वा टाइपको गल्ती वा कुनै शब्द ठहर खण्डभन्दा भिन्न हुन गएमा ठहर खण्डको विपरीत नहुने गरी सच्याउन वा सुधार गर्न सकिन्छ । तर इन्साफमा नै फरक हुने गरी, ठहर खण्डमा लेखिएको निर्णयसँग बाझिने गरी विरोधाभाषपूर्ण ढंगले लेखिएको तपसील खण्डले मान्यता पाउन सक्दैन । यसै सन्दर्भमा नेकाप २०४६, नि.न.३९८७, पृष्ठ ११२० मा सर्वोच्च अदालतको पूर्ण इजलासबाट “फैसलाको ठहर खण्ड र तपसील खण्ड बाझिएमा ठहर खण्डले मान्यता पाउने” भनी सिद्धान्त प्रतिपादन भई सकेको पाइदा प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले फैसला गर्दा ठहर खण्डसँग तपसील खण्ड बाझिने गरी लेखेको पाइयो । यसरी एउटै न्यायाधीशले ठहर खण्डमा एउटा कुरा र तपसील खण्डमा अर्कै कुरा बोलेको भनी सम्झनु औचित्यहीन र अस्वभाविक मान्नु पर्ने देखिन आयो ।
९. यसैगरी प्रस्तुत विवादमा अर्को महत्वपूर्ण प्रश्न अधिकारक्षेत्रसँग सम्बन्धित रहेको देखिन्छ । हुनतः अधिकारक्षेत्र कहिले पनि शून्यको स्थितिमा रहन सक्दैन । तर पनि हरेक क्षेत्राधिकारको आफ्नै सीमा हुन्छ । कुन कुन मुद्दा, कुन कुन अदालत वा अधिकारीले प्रारम्भिक सुनुवाई गर्छ र त्यसउपरको पुनरावेदनको सुनुवाई कहाँबाट हुन्छ, अन्तिम निर्णय कहाँबाट हुन्छ भन्ने कुरा संविधान वा प्रचलित कानूनमा उल्लेख गरिएको हुन्छ । सो संविधान वा कानूनमा भएको व्यवस्थाको अधीनमा रही अदालत वा अधिकारीले आफ्नो अधिकारक्षेत्र ग्रहण गर्ने गर्दछ । सोअनुसार अधिकार सम्पन्न भए नभएको निश्चित गरेपछि मात्र निर्णयरुपी निष्कर्षमा पुग्नुपर्ने हुन्छ । अरुको अधिकार प्रचलन गराउनेले पहिला आफ्नो अधिकारको विस्तार र सीमाप्रति सजग र सचेत रहनु पर्दछ । कुनै निर्णयकर्ता, अदालत वा निकायले अर्काको अधिकारक्षेत्र वा क्षेत्राधिकारको अतिक्रमण गर्नुहुँदैन । अधिकारविहीन निर्णय गरे वा भएमा त्यस्तो निर्णय अमान्य र वदरयोग्य हुन्छ । त्यसकारण प्रत्येक निकाय र अदालतको निर्णयकर्ता आफ्नो अधिकारक्षेत्र र आफ्नो प्रादेशिकक्षेत्रभित्रको दावी छ वा छैन सो कुराको निश्चय गरेपछि मात्र विवादको निरुपण गर्नुपर्ने हुन्छ । यसको विपरीत प्रस्तुत विवादमा भूमिसुधार अधिकारीको क्षेत्राधिकारभित्र पर्ने कायम हुने हो वा होइन भन्ने मुद्दा ललितपुर जिल्ला अदालतले हेरी मोही कायम गरी दावी भन्दा बाहिर गई फैसला गरेको कानूनविपरीत देखिन आयो । अनाधिकृत निकायबाट भएका निर्णय प्रभावहीन शून्य भई बदर हुने कानूनी व्यवस्था अ.व. ३५ नं. मा भएको हुँदा यसका अतिरिक्त प्रस्तुत मुद्दामा प्रमाणको रूपमा पेश भएको फिल्डबुक उतारको लेखाईको न्यायोचित विवेचना नभएको र पारीत नै नभएको अपारीत लिखत विवादित जग्गाको हकको शंकारहित स्रोत हुन नसक्ने स्पष्ट हुँदाहुँदै त्यसैको आधारमा वादीको फिराद परेको देखिँदा र २०३१ सालको लिखतमा विवादित जग्गाको कि.नं.नै उल्लेख नभएको हुँदा फिराद खारेज गर्ने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिवै देखिन आयो ।
१०. उपरोक्त आधार कारण र प्रमाणहरूको विवेचनाबाट वादी कि.नं.२७ को जग्गाको मोही भएको उल्लेख गरी गुठी हक कायम गरिपाऊँ भनी दावी लिएकोमा शुरू अदालतबाट विवादित जग्गा रैकर स्रेस्ता कट्टा गरी गुठीको हक कायम गरी फिराद दावी भन्दा बाहिर गई वादी मोही कायम हुने ठहराएको फैसला क्षेत्राधिकारको अभावमा मिल्ने देखिएन । भूमिसुधार कार्यालय ललितपुरबाट मोही नामसारी गर्ने गरी भएको निर्णय बदर गर्ने अधिकारक्षेत्र र कि.नं.२७ को जग्गाको मोहीसम्बन्धी विवादको विषय हेर्ने अधिकारक्षेत्र समेत जिल्ला अदालतलाई नभएको र आफ्नो अधिकारक्षेत्रभित्र गुठी संस्थान तथा भूमिसुधार कार्यालयले निर्णय गर्न सक्ने नै हुँदा अन्य निकायमा विचाराधीन रहेको कि.नं.२८ र २९ को मोहीसम्बन्धी विवादलाई असर पर्ने गरी र फैसलाको ठहर खण्डसँग नै नमिल्ने गरी दावी नै नभएको जग्गाहरूको विषयमा तपसील खण्डमा उल्लेख गरी शुरू ललितपुर जिल्ला अदालतबाट दावीबमोजिम भूमिसुधार कार्यालय ललितपुरबाट कि.नं.२७ को मोही नामसारी गर्ने गरेको मिति २०६३।११।२९ को मोही नामसारी निर्णय बदरसमेत हुने ठहर्याई शुरू ललितपुर जिल्ला अदालतबाट मिति २०६६।१२।३० मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भै प्रस्तुत फिराद गर्न यी वादीलाई अ.वं.८२ नं.अनुसार हकदैया नभएको र अधिकारक्षेत्र समेतको अभावमा अ.वं.१८० नं.अनुसार फिराद खारेज हुने ठहर भएको पुनरावेदन अदालत पाटनको मिति २०६७।११।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.कमलनारायण दास
इति संवत् २०६९ साल मंसिर १ गते रोज ६ शुभम्
इजलास अधिकृत :–परशुराम भट्टराई