निर्णय नं. २१८३ - कर्तव्य ज्यान

निर्णय नं. २१८३ ने.का.प. २०४१ अङ्क ११
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको फौ.पु.नं. ४५४
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/वादी : जोगबुडा गा.पं.को जाहेरीले वादी श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : जोगबुडा गा.पं.अन्तर्गत जोगबुढा बस्ने नैनसिंह धामी समेत
फैसला भएको मिति : २०४१।११।१७।५ मा
§ आफैं यकीन नभएको लास जाँच मुचुल्काको संदिग्ध लेखाइको आधारमा घाँटीमा देखिएको प्वाल गोलीकै हो भन्ने स्थिति रहेन ।
(प्रकरण नं. २८)
पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा
विपक्षी प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. त्रिलोकप्रताप राणा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले डडेलधुरा जिल्ला अदालतले सफाई दिने गरेको फैसला मनासिव ठहर्छ भनी गरेको फैसला उपर वादी श्री ५ को सरकारको यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. रंगुन खोला वारपार गर्ने मानिसबाट सो खोलामा मानिसको लास भएको सुनी हेर्दा लास देखिएकोले तहकिकात गरिपाउँ भन्ने समेत जोगबुडा गा.पं.को जाहेरी ।
३. सो लास मेरा कान्छा बाबुको छोराको हो भन्ने समेत दले धामीको सनाखत कागज।
४. मर्ने देबु धामी चरेश बोकी रंगुन खोला तर्फ लाग्दा लछी राई समेतले बन्दूकको गोली हानी निजको मृत्यु भएको हो कि कस्को कर्तव्यबाट मारेको हो थाहा छैन भन्ने व्यहोरा समेतको प्र.म.दानबहादुर समेतको सरजमीन मुचुल्का ।
५. २०३७ भाद्र २४ गते मर्ने समेतको ८ जवान मेरा घरमा बसी भोलिपल्ट गाई बाधे भन्ने ठाउँ सम्म पुर्याई दिनु पर्यो भनी म सावा गएको रंगुन खोला तर्दा खैरेनी झालबाट कमानसिंह मगर समेत ३ फायर बन्दूक चलाउँदा देवु धामी मरे भनी कराएको थिए । म भागी आएँ भनी कालु धामीले मलाई महेन्द्रनगरमा भनेकोले निजहरूले नै कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने समेत दले धामीको कागज ।
६. देबु धामीसँग रू. ३५००। र चरेश समेत लुटी लिने उद्देश्यबाट रंगुन खोला तर्दा कमान सिंह थापा, माइलो मगर लछी राई समेतले बन्दूक फायर गर्दा देबु धामीको मृत्यु भई निजहरूले माल समेत लुटी लगेका हुन् भन्ने समेत कालु धामीको कागज ।
७. रंगुन खोला तर्दा मानिस निजहरूसँग भएको मालसामान समेत लुटी लगेको कुरा कालुले भनेकोले सुनेको हुँ भन्ने समेत लालबहादुर थापाको कागज ।
८. ७ जना उपर उजूर छ तापनि सो बाहेक प्रहरी चौकीका प्र.ह.तेजनारायण समेतका प्रहरी ४ समेतले दाजु देब धामीलाई मार्नमा सरिक हुन भन्ने वीरे धामीको श्री ५ महाराजाधिराजमा चढाएको बिन्तिपत्रको बोधार्थ ।
९. ०३७।५।२४ गते प्र.तेजनारायण समेतले बझाङबाट चरेश आउँदैछ भनी सोद्धा चरेश व्यापारी धनबहादुरका घरमा बास बसेको कुरा थाहा पाएको म माइला मगर र प्र.द.तेजनारायण समेत रंगुन घाट बगरमा गई बस्यौं राति अं. १० बजेतिर बझांगीहरूले ९ डोका माल वारी तराए सो डोका हामीमध्येकै मानिसले २ डोका अन्तै लुकाए । पुनः माल तराउन भनी मानिस खोला बीचमा पुगेको मानिस बगी गयो भनी पारी तिरबाट वरबहादुरको आवाज सुने वारी पारी हल्ला भो पारी तिरबाट एक फायर गर्दा सो फायर पारी प्रधानपञ्चको थियो भन्ने सुनेको थिएँ भन्ने समेत नरबहादुरको कागज ।
१०. चस्मदिद गवाह कालु धामीको बकाई लास मुचुल्का सरजमीनका व्यक्तिले झंगु धामी समेतले चरेश लिई आएको देबु धामी समेत उपर गोली फायर गर्दा देबु धामी मरेको भन्ने केही सरजमीनले र निज कसका कर्तव्यबाट मरेको हो थाहा छैन भनी बकी लेखी दिएका अभियुक्त पक्राउमा फेला नपरी फरार भइरहेका चस्मदिद गवाह र सरजमीन समेतबाट केही खुल्न नआएको बिन्तिपत्र अनुसार नरबहादुर बोहराको कागजबाट देबुधामीको कर्तव्यबाट मृत्यु भएको देखिनाले बन्दुकधारी कमासिंह माहिलो मगर लक्ष्मी राई उपर ज्यानसम्बन्धीको १३(१) बमोजिम र झग्गुप्रसाद समेतको १० जना उपर भई देहाय ३ बमोजिम सजायको माग भएको प्रहरी प्रतिवेदन ।
११. ०३७।५।२६ गते धनवीरसँग भेट हुँदा बझाङी अन्तर ल्याई निजको घरमा बास बसेको २४ गते राति १० बजेतिर धनवीर कालुसिंह बझांगी साथै रंगुनखोला तर्दा कमानसिंह माइलो मगर समेतले कस्ले बन्दुकको फायरबाट एक जवान खोलामा बग्यो बन्दूक कस्को साथमा थियो थाहा भएन धनवीरले मेरो चरेश पनि गयो भन्दथे अपराधी ४०।४५ जवान थिए भन्दथे सो वारदातमा म थिइँन सरिक छैन भन्ने समेत नरबहादुर बोहराको बयान ।
१२. भाद्र २३ गते प्र.चन्द्रबहादुरलाई चार्ज बुझाई गएको २५ गते फर्की चौकीमा आई एकजना विद्यार्थीबाट रंगुनखोलामा लास भएको कुरा थाहा पाएँ । प्र.पं.लाई साथ लिई लास हेरी प्र.पं.ले जाहेरी दिई लास सुरक्षा गर्ने बन्दोबस्त मिलाई जि.का. मा जाहेर गरेको छ । चरेश सम्बन्ध र वारदातका कुरा थाहा छैन सरिक भएको पनि छैन । म समेतका प्रहरीलाई आरोप लगाए थाहा छैन वीरबहादुरले सरिक थिएँ भनेकोमा निजलाई रक्सी खाएको विषय मैले कडा हालेको सोही इवीबाट म उपरको दावी झुठ्ठा हो भन्ने समेत प्र.ह. तेजनारायण रायको बयान ।
१३. वारदातमा सरिक भएको छैन अत्तर लिई खोला तर्दा मर्ने बगी मरेको भन्दथे वीरेलाई मैले खसी रक्सी खाएकोमा पिटेको सो इवीले म माथि आरोप लगाएको हुनुपर्छ भन्ने समेत प्र.ज.नैनसिंह ठगुन्नाको बयान ।
१४. देबु धामी के भई मरेको हो मलाई थाहा छैन वारदातमा सरिक पनि छैन वीरे धामीलाई चौकीमा रक्सी ख्वाएको विषय सुनेको थिएँ सो इवीबाट म प्रतिको आरोप झुठ्ठा हो भन्ने समेत प्र.नरदेवको बयान ।
१५. वारदातमा सरिक छैन मप्रति रिसइवीबाट झुठ्ठा आरोप लगाएको भन्ने समेत चन्द्रबहादुरको बयान ।
१६. ०३७।५।२३ गते महेन्द्रनगर गै ऐ. २४ गते पुगी असोज ३ गते तक महेन्द्रनगरमा छु । वारदातमा सरिक छैन । वारदात सम्बन्धी कुरा महेन्द्रनगरमा सुनेको छु भन्ने समेतको धनबहादुरको बयान ।
१७. देबु धामी रंगुन खोलामा बन्दुकको फायरबाट वा खोलामा बगी मरेको भन्ने हल्ला सुनेको हुँ निज के भई मरे थाहा छैन वारदातमा सरिक छैन म प्रति झुठ्ठा आरोप लगाएको हो भन्ने प्र.नैनसिंह धामीको बयान ।
१८. वारदातमा म छैन म उपर झुठ्ठा आरोप लगाएको हो भन्ने समेत रामसिंह धामीको बयान ।
१९. वारदात मितिमा म भारत दिल्लीमा थिएँ । देबु धामी रंगुन खोलामा मरेको कुरा घरमा आई थाहापाएको हुँ । के भई मरेको हो थाहा छैन भन्ने समेत जनकराज पनेरूको बयान ।
२०. वारदात समयमा म कञ्चनपुर जडेपानीमा थिएँ । देबु धामी के भई मरेको हो थाहा छैन भन्ने समेत प्र.लछी राईको बयान ।
२१. ०३७।५।२४ र २५ गते म बझाङमा छु । मर्ने के भई मरे थाहा छैन म उपर उजूरी झुठ्ठा हो भन्ने समेतको कविराम बोहराको बयान ।
२२. प्रहरी अभियोग पत्रका झग्गुप्रसाद कमानसिं माइलो मगर मौकामा फेला नपरी ७० दिन म्यादी पूर्जि गुजारी बसेकोले निजहरूका हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी रहने अरू प्रतिवादी जनक राज पनेरूसमेत अदालतमा आई इन्कारीबयान गरेका लासजाँच मुचुल्काबाट मर्ने बन्दूकको फायर बाट मृत्यु भएको भन्ने कालु धामीसमेतको भनाई भएको, कालु सिंहबाटै थाहापाएको भनी निजको भतिजो दले धामीसमेतले कागज गरेको, निज अदालतमा उपस्थित हुनसकेन, मर्नेपक्ष मैनसिंह धामी लाई चरेस मुद्दाको अभियोग लगाएको, निजहरू नत उपस्थित छन् नत चरेश बरामद छ चरेश मुद्दाको कामकारवाही विवरणले देखाउँछ । यसर्थ सबूत प्रमाणको अभावमा प्र.लछी राई, जनकराज, नैनसिंह, नरबहादुर कविराम, तेजनारयण नैनसिंह, नरेन्द्रदेव, चन्द्रबहादुर समेतले ज्यान मारेको ठहर्दैन भन्ने समेत डडेलधुरा जिल्ला अदालतबाट फैसला भएको ।
२३. उक्त इन्साफमा चित्त नबुझी वादी श्री ५ को सरकार तर्फबाट सु.प.क्षे.अ.मा परेको पुनरावेदन पत्र ।
२४. मिसिल संलग्न लास जाँच प्रकृति मुचुल्काबाट रंगुन खोलाको बगरमा लास परेको लासको घाँटीमा गोली लागे जस्तो प्वाल भएको भन्ने समेत भएबाट मृतक देबु धामीको मृत्यु कर्तव्यबाट भएकै हो कि भन्ने देखिन आउँछ । सो लास सनाखत देबु धामीले गरेको कागजबाट मृतकको साथमा रंगुन खोला तर्न लाग्दा रू. ३५००। भएको र लछी राई, झग्गुप्रसाद, जग्गी ठेकदार, कमान थापा, माइलो मगर, कमानसिंह धामी र रामसिंह धामीले बन्दूकले हानी मारेको भनी कालु सिंह धामीले भनेको भन्ने समेत निजको बयान कागजबाट देखिएकोमा उक्त प्रतिवादीहरू मध्ये कमानसिंह माइलो मगर र झग्गुप्रसाद फरार रहेको देखिएको बाँकी प्रतिवादीका सम्बन्धमा विचार गर्दा निज प्रतिवादीले अदालतमा र मौकामा प्रहरीमा गरेको बयानबाट निजहरू इन्कार रहेको देखिएको निजहरू समेतले अपराध गरेको भन्ने सम्बन्धमा अदालतमा आई बकपत्र गर्ने सरजमीनका मानिस कमानसिंह बोहराले प्रतिवादीहरूले कर्तव्य गरी मारेको मलाई लाग्दैन भनी बकपत्र गरी दिएको देखिन्छ । अन्य प्रमाण मिसिलबाट देखिन आउँदैन । कालु सिंह धामी समेतलाई अदालतमा उपस्थित गराउन सकेको देखिँदैन । मौकामा उपस्थित नभएको मानिसलाई हाल बुझ्दा पनि तथ्ययुक्त आधार प्रमाण सुन्न सक्ने स्थिति देखिन नआउने । तसर्थ प्रमाणको अभावमा यी प्रतिवादी समेतलाई अपराधी ठहर्याउन नमिल्ने भएबाट वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । सफाई दिएको इन्साफ शुरूको मनासिव हुँदा सदर हुने ठहर्छ भन्ने समेतको सु.प.क्षे.अ.को फैसला ।
२५. उक्त फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
२६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट रहनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्माले प्रत्यक्षदर्शी गवाहलाई बुझी रहन आवश्यक नभएको भनी गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला प्रमाण ऐन, ०३१ को दफा ५४ को त्रुटि हुँदा प्रत्यक्षदर्शी कालु सिंहलाई बुझ्नुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
२७. प्रस्तुत मुद्दामा क्षे.अ.को इन्साफ मिलेनमिलेको के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
२८. यसमा जाहेरवालाले मर्ने देबु धामीलाई यी प्रतिवादीहरूले नै गोली हानी मारेको हो भनी आफ्नो जाहेरी दर्खास्तमा लेखी दिएको पाइन्न । सरजमीनका व्यक्तिहरूले यो देबु धामीलाई यी प्रतिवादीहरूले गोली हानी मारेको हो भनी लेखी दिन नसकी हामीलाई केही थाहा छैन, कसैउपर शंका छैन भनी सरजमीनमा लेखी अदालतमा समेत सोही बमोजिम बकपत्र गरेको पाइन्छ । प्रहरीमा कागज हुँदा कालुसिंह धामीले लालढुंगामा काम गर्ने गद्दीवाल १, रामसिंह धामी १, झग्गुप्रसाद डागी समेतका व्यक्तिहरूले तीन फायर बन्दुक चलाई देबु धामी मरेको भनी लेखिदिए तापनि निज अदालतमा उपस्थित हुन सकेको देखिन्न । अ.बं. ११५ नं. बमोजिम यस अदालतको आदेशानुसार म्याद पठाउँदा पनि निज कालु धामी अदालतमा उपस्थित भएन । ०३७ साल भाद्र ३१ मा भएको लास जाँच मुचुल्का हेर्दा घाँटीमा गोली लागे जस्तो प्वाल भएको र लास सडी गली गएको भन्ने देखिन्छ । उक्त प्वाल के कस्तो आकार प्रकारको थियो लास जाँच मुचुल्काबाट खुल्दैन । स्वयं लास जाँच मुचुल्कामा बस्ने व्यक्तिहरूले देबु धामीको घाँटीमा देखिएको प्वाल गोलीकै हो भनी यकीनसाथ भन्न र लेखी दिन नसकी गोली “लागे जस्तो” भनी लेखेको पाइन्छ । मृतकको पोष्टमार्टम रिपोर्ट भएको देखिन्न । पोष्टमार्टम रिपोर्टको अभावमा आफैं यकीन नभएको लास जाँच मुचुल्काको त्यस्तो संदिग्ध लेखाइको आधारमा देबु धामीको घाँटीमा देखिएको प्वाल गोलीकै हो भन्ने स्थिति रहेन ।
२९. तथ्ययुक्त सबूत प्रमाणको अभावमा प्रतिवादीहरूलाई दोषी ठहर्याउन नमिल्ने हुँदा वादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । हाजिर नभएको प्रतिवादीहरूको हकमा मुलतवी राखी अन्य प्रतिवादीहरूलाई सफाई दिने ठहर्याएको शुरू जिल्ला अदालतको इन्साफ सदर ठहर्याएको सु.प.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल फल्गुण १७ गते रोज ५ शुभम् ।