शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८५० - कर्तव्य ज्यान

भाग: २८ साल: २०४३ महिना: पौस अंक:

निर्णय नं. २८५०    ने.का.प. २०४३      अङ्क ९

संयुक्तइजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको फौ.पु.नं. ४१०

फैसला भएको मिति : २०४३।९।१५।१ मा

 

पुनरावेदक/वादी : ठग्गु थारुका जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.ब.मानसुरखाटा गा.पं.वार्ड नं. ३ बस्ने सूर्यलाल चौधरी

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)         आफूलाई कुटपिट गर्न लागेकोबाट तत्काल उठेको रिस थाम्न नसकी साधारण कटबाँसको लाठीले पिटेकोबाट मृत्यु भएको भन्ने देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरेको इन्साफ मनासिब ठहर्छ ।

(प्रकरण नं. २५)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह

 

फैसला

न्या.पृथ्वीबहादुर सिंह : म.प.क्षे.अ.को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन गरी पेश हुन  आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।

२. ०३९ साल चैत्र १० गते बेलुका प्र.सूर्यलाल चौधरीले थारुलाई आफ्नै घरमा कुटपिट गरी मारी लाश लुकाई राखेको छ भन्ने गाउँमा हल्ला भएकोले निज सूर्यलाललाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने गा.पं.स. भिमसेन विश्वकर्माको मिति ०३९।१२।१२ को निवेदनपत्र ।

३. यसै लाठीले कुटपिट गरी मारेको हुँ भनी प्र.सूर्यलाल चौधरीले लुकाई राखेको कटबाँसको लाठी दाखिल गरेको ठीक हो भन्ने मिति ०३९।१२।१३ को बरामदी मुचुल्का ।

४. सूर्यलाल चौधरीले यही चैत्र १० गते राती मेरा काका तेज थारुलाई आफ्नो घरमा कुटपिट गरी मारी परालले छोपी फालेको रहेछ । सोधपुछ गर्दा मैले मारी फालेको छ भनी लाश देखाएकोले निजलाई कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने ठग्गु थारुको मिति ०३९।१२।१३ को जाहेरी दर्खास्त ।

५. प्र.सूर्यलाल चौधरीको घरमा भित्ता देहरी र जमीनमा ठाउँ ठाउँमा रगत लागेको मृतक तेज थारुको चप्पल र रगत लागेको बेत भेटिएको र सो घरदेखि ३६ हात पश्चिम साँढे तीन फिट गहिरो खाल्टोमा परालले छोपेको लाश भेटिएको, लाश निकाली हेर्दा कपालमा घाउ भई रगत आइरहेको, खुट्टाको नलीमा घोचेको घाउ भएको र अन्य ठाउँमा पनि घाउ र नील डाम समेत भएको भन्ने लाश प्रकृति मुचुल्का ।

६. म उदयपुरबाट रक्सी खाई आएकै बखत तेजु थारु कहाँबाट आई सुजिया साले गधा कहाँ छस् आइज नपिटी छाड्दैन भनी गाली गलौज गर्न थालेको म बाहिर आई किन गाली गर्छौ भन्ना साथै मेरो घोक्रामा समातेकोले मलाई रिस उठी मैले कठबाँसको लाठीले निजका अड्डमा बेसरी कुटपिट गर्दा बेहोश भई एकै छिनपछि मरेकोले सन्दकमा फाली पराल हालिदिएको भन्ने समेत प्र.सूर्यलालको प्रहरीमा भएको कागज ।

७. तेजु थारुसंग झगडा गर्दा रिस उठी तेजु थारुलाई मैले लठ्ठीले कुटपिट गर्दा मर्न गएको हो भनी प्र.सूर्यलालले लाश समेत देखाएकोले निज सूर्यलालले नै तेजु थारुलाई मारेको पूरा विश्वास लाग्छ । अरु कसैमाथि शंका लाग्दैन भन्ने समेत सरजमीन मुचुल्का ।

८. संकलित सबूद प्रमाणबाट प्र.सूर्यलाल चौधरीले तेजु थारुलाई कुटपिट गरी ज्यान मारेको सिद्ध हुनआएकोले निज सूर्यलाल चौधरीलाई ज्यानसम्बन्धी १३(३) बमोजिम सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन ।

९. तेजु थारुलाई मैले मारेको होइन, तेजु थारुलाई मारेको हो भने छुट्टि पाउँछस् भनी प्रहरीले मलाई भनेकोले मैले मारेको हुँ भनी प्रहरीमा साविती बयान गरेको हुँ मेरो घरमा रगतको छिटा थिएन, बरामत गरेका लाठी मेरा होइनन् । चप्पल कहाँबाट आएको हो मलाई थाहा छैन, झुठ्ठा आरोपबाट सफाई पाउँ भन्ने प्र.सूर्यलाल चौधरीले अदालतमा गरेको बयान ।

१०. काका तेजुलाई सूर्यलालले मारेको मैले देखिँन गाउँले निजलाई समात्दा लाश देखाई दिएका हुन् किन मारे थाहा छैन भन्ने जाहेरवाला ठग्गु थारुको बकपत्र ।

११. म सूर्यलालको कमैया भएकोले चैत्र १० गते सूर्यलालको काम गरी साँझ आफ्नो घर गएँ । म हुँदासम्म सूर्यलाल र तेजु त्यहाँ आएका थिएनन् तेजुलाई कसले मार्‍यो मलाई थाहा छैन ।

१२. चैत्र २८ गते भएको व्यहोरा लेखाई दिएको छु । अरु भन्नु केही छैन भन्ने सरजमीनका मानिस एकदेव आचार्य समेतको बकपत्र ।

१३. ०३९ साल चैत्र १० गते म मेरो माइत फत्तेपुरमा छु । उक्त दिन मेरो लोग्ने सूर्यलालले तेजुलाई मारेमा विश्वास लाग्दैन भन्ने प्रतिवादीकी श्रीमती गीतादेवीको बकपत्र ।

१४. प्र.सूर्यलालले तेजु थारुलाई मारेको मैले देखिँन, तेजुलाई मैले मारेको हुँ भनी सूर्यलालले आफैं   भनेका हुन् । निजहरूको कुनै रीसइवी थिएन भन्ने समेत प्र.का साक्षी कृष्णराम थारु समेतको बकपत्र ।

१५. मर्ने तेजु थारु प्र.सूर्यलालको घरमा आई निजलाई पिट्छु भनी समाती भूइँमा पछारेबाट प्र.सूर्यलाल चौधरीले उसै बखत उठेको रिसले कठबाँसको लाठीले हान्दा तेजु थारुको मृत्यु हुन गएको भन्ने कुरा प्रस्तुत मिसिल प्रमाणबाट देखिँदा प्र.सूर्यलाल चौधरीले ज्यानसम्बन्धीको १४ नं.को अपराध गरेको ठहर्छ भन्ने समेत वर्दिया जि.अ.को मिति ०४२।१।२३ को फैसला ।

१६. वर्दिया जि.अ.को फैसलामा चित्त बुझेन भन्ने श्री ५ को सरकारको म.प.क्षे.अ.मा पुनरावेदन परेको ।

१७. मार्नु पर्ने सम्मको रीसइवी पनि नभएको मार्नमा प्रयोग गरिएको हतियार पनि जोखमी भन्ने नभएको, केवल लठ्ठीसम्म भन्ने मात्र देखिएकोले यस्तो अवस्थामा ज्या.सं.को १४ नं.अनुसार १० वर्ष कैद गर्ने गरेको शुरु बर्दिया जि.अ.को इन्साफ मनासिब हुने ठहर्छ भन्ने समेत म.प.क्षे.अ.को मिति ०४२।५।११ को फैसला ।

१८. म.प.क्षे.अ.को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको रहेछ ।

१९. नियम बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी पुनरावेदक श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले जाहेरवाला उपर प्र.सूर्यलाल चौधरीको पुरानो रीसइवी समेत भइरहेको हुँदा बदला लिने भावनाले प्र.सूर्यलाल प्रेरित भएको र मृतक तेजु थारुलाई कुटपिट गरी मार्ने खराबी मनसायबाट पूर्ण प्रेरित भएको मिसिलबाट देखिएकोले निजलाई आवेशमा आइराखेको देखिएको भनी मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं.लगाएको इन्साफ मिलेन प्रहरी प्रतिवेदन बमोजिम सजायँ होस् भनी भन्ने समेत बहस गर्नुभएको बहस समेत सुनियो ।

२०. अब म.प.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ । सो को निर्णय दिन परेको छ ।

२१. निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी सूर्यलाल चौधरीको बयान तथा लाश प्रकृति मुचुल्का समेतबाट तेजु थारुको कुटपिटबाट मृत्यु भएको कुरामा विवाद देखिँदैन ।

२२. मृतक तेजु थारुलाई कुटपिट गरेको अभियोगमा प्र.सूर्यलाल उपर मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँको माग दावी भई प्रहरी प्रतिवेदन परेको देखिन्छ ।

२३. मृतक तेजु थारुले प्र.सूर्यलाललाई निजको घरमा आई गाली गलौज गरी कुटपिट समेत गर्न लागेपछि तत्काल उठेको रिस थाम्न नसकी कठबाँसले हिर्काउँदा निज तेजु थारुको मृत्यु भएको मिसिल प्रमाणबाट सिद्ध हुनआएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैदको सजायँ हुने ठहर्छ भनी शुरु वर्दिया जिल्ला अदालतबाट भएको इन्साफलाई म.प.क्षे.अ.मनासिब ठहर्‍याए उपर प्रहरी प्रतिवेदन माग दावी बमोजिम नै सजायँ हुनुपर्छ भन्ने श्री ५ को सरकारको पुनरावेदन परेको देखिन्छ ।

२४. श्री ५ को सरकारको पुनरावेदन जिकिर हेर्दा मृतकलाई खराब मनसायबाट प्रेरित भई हिर्काएको र जाहेरवालासंग पुरानो रीसइवी भएको भन्ने जिकिर लिएको पाइन्छ । तर प्रतिवादीहरूको जाहेरवाला मृतक उपर के त्यस्तो रीसइवी थियो जसले गर्दा मानिसको ज्यान लिन परेको थियो सो वादी पक्षबाट प्रष्टरुपमा पुष्टी हुनआएको देखिँदैन । रीसइवीको कारण के थियो त्यो ठोस रुपमा प्रमाणित वादी पक्षले गर्नसकेको छैन । अर्को कुरा ज्यानै लिनु पर्ने थियो भने प्रतिवादीबाट कुनै पनि जोखिमी हतियारको प्रयोग हुन सक्यो किन भएन ? अर्थात् कठबाँसले नै हिर्काउँदा मरेको कुरालाई वादी पक्षले स्वीकारै गरेको देखिन्छ । अन्य कुनै जोखिमी हतियारको प्रयोग भएको थियो भन्ने वादी  पक्षका भनाई भएको मिसिलबाट देखिन्न । प्रतिवादी सूर्यलालको प्रहरीमा भएको बयान अनुसार मृतक तेजु थारु मातेर निज सूर्यलालको घरमा आई गाली गलौज गर्दै कुट्छु पिट्छु भनी समाती भूईमा पछारेकाले रिस उठी सो रिस थाम्न नसकी कठबाँसको लाठीले पिट्दा तेजु थारुको मृत्यु भएको हो भन्ने देखिन्छ र लाश प्रकृति मृचुल्काबाट कुटपिट बाटै मृत्यु भएको भन्ने उक्त बयान समर्थित भएको पाइन्छ ।

२५.   यसप्रकार आफूलाई कुटपिट गर्न लागेकोबाट तत्काल उठेको रिस थाम्न नसकी साधारण कठबाँसको लाठीले पिटेकोबाट तेजु थारुको मृत्यु भएको भन्ने देखिन आएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं.बमोजिम प्रतिवादी सूर्यलाल चौधरीलाई १० वर्ष कैद गर्ने गरेको शुरु बर्दिया जिल्ला अदालतको इन्साफ सदर गरेको म.प.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा, सो इन्साफ मनासिब ठहर्छ । प्रहरी प्रतिवेदन माग बमोजिम सजायँ हुनुपर्ने भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् ०४३ साल पौष १५ गते रोज १ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु