निर्णय नं. २८५३ - सन्धी जग्गा निखनाई पाउँ

निर्णय नं. २८५३ ने.का.प. २०४३ अङ्क ९
संयुक्तइजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४२ सालको दे.पु.नं. ४८८
फैसला भएको मिति : २०४३।९।२८।२ मा
निवेदक/वादी : जि.तनहुँ सतिस्वरा गा.पं.वार्ड नं.६ बस्ने फैसलामा गलत रुपमा पुष्पखर भनी लेखिएको पुष्पाखर मिश्र
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ.बस्ने खिलमाया अधिकारी
मुद्दा : सन्धी जग्गा निखनाई पाउँ
(१) जग्गाको स्थितिबाट वादी दावी बमोजिम वादीको जग्गाको सन्धिसर्पन पर्ने नै देखिएको र वादी सन्धिसर्पन पर्ने हकवाला भएकोमा पनि विवाद देखिन आएन, तसर्थ वादी दावी बमोजिम निखन्न पाउने ठहर्याएको इन्साफ मनासिब ठहर्छ ।
(प्रकरण नं. १७)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या.पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरी दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. जग्गा बिक्री गर्ने जरिमाया र म एकै बाजेका ३ पुस्ता भित्रका हकदार हौं । निज मेरी काइली आमा जिरीमायाले विपक्षी खिलमायालाई रु.१,०००।– थैली राखी भिरलुड्ड गा.पं.वार्ड नं.२(ख) कि.नं.११ को क्षेत्रफल रोपनी ०–८–०–२ भएको खेत समेत मिति ०३७।३।६ मा मालपोत कार्यालय तनहूँमा गई रजिष्ट्रेशन गरेको कुरा ऐ.१६ गते नक्कल सारी थाहा पाएको हुँदा उक्त खेतको थैली रु.१,०००।– र रजिष्ट्रेशन दस्तूर रु.५०।– समेत रु.१,०५०।– मालपोत कार्यालय तनहूँमा धरौट राखी उक्त बिक्री भएको कि.नं.११ को कित्तासंग मेरो कि.नं.१३ को खेत जोडिएको छ । मेरो खेतमा धान रोप्दा वा अन्य बाली लगाउँदा पनि कि.नं.११ को बाली काटिने, जोत्दा पनि हल गोरु मध्येको एउटा गोरुले उक्त जग्गामा हिंड्नु पर्ने अवस्था हुँदा र म ऐन बमोजिमको सन्धिसर्पन पर्ने हकवाला हुँदा उक्त कि.नं.११ को कित्ता एकको खेत हकसफा गराई पाउँ भन्ने समेत फिरादपत्र ।
३. वादीले निखनाई पाउँ भनेको साविक भिरलुड्ड गा.पं.वार्ड नं. २(ख) कि.नं.११ को जग्गा विपक्षी वादी मेरा दाता भएको हकवाला नभएको, निजको सन्धिसर्पन पनि नपर्ने र निजले ६ महीना भित्र थाहा पाएको ३५ दिनभित्र दर्खास्त नदिनु भएको हुँदा दावा झुठ्ठा हो, तसर्थ झुठ्ठा वादी दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।
४. मिसिल सामेल रहेको सर्भे नापीको नक्शा ट्रेस हेर्दा प्रतिवादीले किनेको भनेको कि.नं.११ र वादीको भनेको कि.नं.१३ साँध मिलेको देखिए पनि साँध मिलेको हुँदैमा सन्धिसर्पन मानिन नसक्ने र वादीको कि.नं.१३ मा जाने बाटो समेत कि.नं.११ सर्भे वादीको सन्धिसर्पन मानिन सक्ने कुनै पनि आधार उक्त नक्शाबाट र वादीको साक्षीको बकाई समेतबाट पनि देखिन नआएकोले वादी पुष्पाखर प्रतिवादीको दाता जरीमायाको हकवाला भई आएपनि प्रतिवादीले किनेको कि.नं.११ को जग्गा वादीलाई सन्धिसर्पन पर्न देखिन नआएको समेतबाट वादीले जग्गा निखनी लिन नपाउने देखिँदा निखनाई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने ठहर्छ भन्ने समेत ०३८।१०।२२ को तनहूँ जिल्ला अदालतको फैसला ।
५. वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु तनहूँ जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी पाउँ भन्ने पुष्पराजको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. मिति ०४०।४।२६।५ मा भएको नक्शा मुचुल्का मिसिल सामेल रहेको छ ।
७. वादी दावी बमोजिम कि.नं.११ को जग्गा वादीले निखनी लिन पाउने र वादीले मालमा धरौटी राखेको जग्गा थैली र रजिष्ट्रेशन दस्तूर समेतको रकम प्रतिवादीले बुझी लिनु पर्ने समेतको रकम प्रतिवादीले बुझी लिनु पर्ने समेत ठहर्ने भई निखनाई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने ठहराई गरेको शुरु तनहूँ जिल्ला अदालतको इन्साफ मिलेको नदेखिँदा शुरुको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत ०४१।१।७।५ को गण्डकी अञ्चल अदालतको फैसला ।
८. शुरु जिल्ला अदालत र अञ्चल अदालतको राय मिलेको छैन इन्साफ जाँची पाउँ भनी खिलमाया अधिकारीले श्री ५ महाराजाधिराजका सवारी शिविर पोखरामा दिएको हु.प्र. सहितको निवेदन प्र.क्षे.अ.मा आएको रहेछ ।
९. यसमा वादी विपक्षको कि.नं.२४८ को न.नं.२८२ क.देखि २ ङ, सम्मका जग्गामा समेत जाने बाटो न.नं.१५ देखिन आउँछ । यही जग्गामा न.नं.४ को मुनिबाट कूलो आएको पनि देखिन आएको छ । निखनाई पाउँ भनेको कि.नं.२४७, २४९ को जग्गा क्रमशः न.नं.३३ ख, र न.नं.११ ख, देखिन आई ती जग्गाहरू स्वतन्त्र रुपले रही आई वादीको कि.नं.२४८ को जग्गालाई सन्धी नै पर्ने भन्न सकिने अवस्था देखिन नआई अञ्चल अदालतको फैसला फरक पर्न जाने भएबाट अ.बं.२०२ नं.बमोजिम विपक्ष झिकाई आएपछि पेश गर्नु भन्ने प.क्षे.अ.को मिति ०४२।२।७ को आदेश ।
१०. यसमा मिसिल संलग्न ०४०।४।२७ को नक्शा कुंडली हेर्दा न.नं.१ र १(ख) तथा न.नं.३ र ३(क), ३(ख) को जग्गा निखनाई पाउँ भनी विवाद परेको देखिन्छ । न.नं.२(ङ) देखि २(ख) सम्म वादीको सर्भे कि.नं.२४८ को जग्गा देखिन्छ । सोही जग्गाको कारणबाट सन्धी पर्ने भन्ने वादीको दावी देखियो वादीको जग्गा र बिक्री भएको जग्गा साँधमा सम्म पर्ने देखिन्छ । तर ती कित्ता जग्गाहरू अलग अलग अस्तित्वमा अवस्थित देखिन्छ । विवादीत जग्गाबाट गोरु हिंडाउन पर्ने अवस्था पनि कूलो रोकिने भन्ने देखिएन । साँध जोडिएको कारणले मात्र सन्धी पर्ने भन्न मिलेन । सन्धी पर्ने देखिएन, सन्धी पर्ने भनी निखनाई दिने गरेको ग.अं.अ. को इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत प.क्षे.अ.को फैसला ।
११. संशोधनको लागि पेश हुनआएको प्रस्तुत मुद्दामा इन्साफ जाँचको लागि दिएको निवेदनमा कि.नं.२४७ र २४९ मा वादीले निखनाई माग्न तनहूँ मालमा थैली रु.१२,०००।– र रजिष्ट्रेशन दस्तूर रु.६००।– समेत जम्मा रु.१२,६००।– धरौट राखेको देखिएकोले यस अदालत डिभिजनबेञ्चबाट २०४२।३।४ मा फैसला हुँदा ग.अं.अ.को फैसला उल्टी भएपछि धरौट रहेको रु.१२,६००।– वादीले फिर्ता पाउने भनी तपसील खण्डको दोश्रा दफामा उल्लेख गर्नु पर्नेमा सो यसैसंग सम्बन्धित दे.डि. विविध नं. १५ को मुद्दाको टिपोट उतार तपसीलको दोश्रो दफामा वि.नं. १५ कै मुद्दाको कुरा उल्लेख गरी गरेको देखिएको, इन्साफमा तल माथि नपरेको र केवल मुद्दाको टिपोट र तपसील सम्म फरक परेको देखिँदा तपसील खण्डको दोश्रो हरफमा पुष्पाखर मिश्रले धरौट रहेको रु.१०५०।– फिर्ता पाउने भन्ने वाक्याँशको सट्टा तनहूँ मालमा पुष्पाखर मिश्रबाट धरौट रहेको कि.नं.२४७ र २४९ का कित्ताहरूको धरौट रहेको थैली रु.१२,६००।– वादी पुष्पाखरले फिर्ता पाउने भन्ने वाक्यांश राखी संशोधन गरिएको छ भन्ने समेत मिति २०४२।४।१।३ को प.क्षे.अ.डिभिजनबेञ्चबाट संशोधन आदेश भएको रहेछ ।
१२. गण्डकी अञ्चल अदालतको मिति ०४१।१।७।५ को इन्साफ उल्टी हुने ठहर्याएको प.क्षे.अ.को फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा वादीको कि.नं.२४८ को उत्तर दक्षिण पट्टि साँधमा दावीको कि.नं.२४७ र २४९ को जग्गा रहे भएको देखिने अञ्चल अदालतबाट भएको नक्शा मुचुल्काको नक्शा कैफियतमा प्रतिवादीको वा बद्रिनाथ अधिकारीले मेरो कि.नं.२४७ को जग्गाबाट वादीको सिरानको गरामा पानी जान्छ भन्ने समेत उल्लेख गरेको, नक्शाबाट कि.नं.२४८ वा कि.नं.२४७ कै जग्गाबाट जान पर्ने देखिनेमा प.क्षे.अ.ले नक्शाको गलत विवेचना गरी सन्धी पर्ने भनी निखनाई दिने ग.अं.अ. को इन्साफ उल्टी हुने ठहर्याएको प.क्षे.अ.को फैसालमा सार्वजनिक महत्वको विषयमा प्रमाण ऐन, २०३१ दफा ३, ५४, लेनदेन व्यवहारको ११ नं.तथा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा ११ र १२(ख) समेतको त्रुटि भएको देखिएकोले पुनरावेदन गर्ने अनुमति दिइएको छ भनी यस अदालत डिभिजनबेञ्चको मिति ०४२।५।२६।४ को आदेश ।
१३. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहित मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले वादीको कि.नं.२४८ को जग्गाको उत्तर तथा दक्षिण दुवै तर्फ प्रतिवादीको कि.नं.२४७ र कि.नं.२४९ जग्गा रहेको प्रतिवादीको कि.नं.२४७ बाट वादीको जग्गामा पानी खस्ने भएकोले सन्धिसर्पन पर्ने भएको र वादी सन्धिसर्पन पर्ने नजिकको हकवाला समेत भएकोले दावी बमोजिम निखनाई पाउनु पर्नेमा निखनाई दिने ठहर्याएको अञ्चल अदालतको फैसला उल्टी हुने ठहर्याएको प.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर हुनु पर्छ, गण्डकी अञ्चल अदालतको सदर हुनुपर्छ समेत भनी र विपक्षी प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादी दावीको जग्गा साँधसम्म पर्ने जग्गा भएको र साँध पर्नु नै सन्धी पर्नु होइन, वादीको जग्गा खेत नभई पानीको कारणबाट सन्धी पर्ने भन्ने जिकिर तथ्य संगत छैन, तसर्थ सन्धिसर्पन नपर्ने ठहर्याएको प.क्षे.अ.को इन्साफ मनासिब हुनुपर्छ समेत भनी गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१४. अब प.क्षे.अ.को इन्साफ मिलेको छ छैन सो को निर्णय दिन परेको छ ।
१५. निर्णयतर्फ विचार गर्दा यसमा मलाई सन्धी पर्ने जग्गा म हकवाला समेत भएबाट निखनाई पाउनु पर्नेमा निखन्न नदिने गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने समेत पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा विवादको जग्गा कि.नं.२४७ र २४९ वादीको सन्धिसर्पन पर्ने नपर्ने के हो भन्ने कुराको नै निर्णय दिनु पर्ने देखिन्छ । त्यसतर्फ विचार गर्दा विवादको जग्गा यी वादी प्रतिवादीका दाताको मूल पुरुष बाजे हरिप्रसादका नाममा मोठ नं. ९४५ मा दर्ता रही पछि अंशियारहरूका बीच अंशबण्डा भई अंशियारहरूले अलग भोग गरिआएको भन्ने फिरादको प्रकरण ८ बाट देखिन्छ । वादीले आफूलाई सन्धिसर्पन परेकाले निखनाई पाउँ भनेको जग्गा कि.नं.२४७ र २४९ तथा वादीको आफ्नो जग्गा कि.नं.२४८ तिनै कित्ता जग्गाहरू एकै बान्नो (पर्खाल) भित्र रहेको देखिन्छ । वादीका बाबु काशीनाथको अंश भागमा परी वादीको हकभोग हुनु आएको कि.नं.२४८ को उत्तर तथा दक्षिण दुवैतिर वादी दावीको जग्गा कि.नं.२४७ र २४९ रहेका नक्शा आदी प्रमाणबाट देखिएको छ । वादीको जग्गा कि.नं.२४८ मा वादीको जग्गा कि.नं.२४७ बाट पानी खस्ने भएबाट प्रत्यक्षतः सन्धिसर्पन परेको भन्ने वादीको दावी जिकिर भएकोमा वादीको कि.नं.२४८ को जग्गा खेत नभई पाखो बारी भएकोले वादीको जिकिर तथ्य संगत छैन भन्ने प्रतिवादीका कानुन व्यवसायीको भनाई भएकोमा वादीले फिरादपत्रको प्रकरण नं. ८ मा उक्त तीन कित्ता जग्गा साविक दर्ता देखि नै खेत भएको कुरा प्रष्टै खुलाई लेखेको पाइन्छ र वादीको जग्गा कि.नं.२४८ वादीको कि.नं.२४७ र २४९ को माझमा परेकोले सो जग्गामा खनजोत गर्न गोरु खेताला लाँदा ल्याउँदा र छेउकुना खन्दा समेत बाधा विरोध अड्चन पर्न जाने र खेती गर्दा अघिपछि पर्दा लगाएको खेतीमा नोक्सान पर्न गई उनाउ पक्षलाई हानी नोक्सानी पर्ने भन्ने समेतका वादी जिकिर देखिन्छ । वादीको यो जिकिरको हकमा दुवै जग्गाको पूर्वपट्टि छुट्टै गल्ली रहेको नक्शाबाट देखिन आएबाट सो जिकिर भने तर्फ संगत मान्न सकिने अवस्था देखिँदैन ।
१६. खण्डे थैली धरौट राखेको मिलेको छैन, सम्पूर्ण थैली धरौट राख्न पर्ने भन्ने प्रतिवादीको कानुन व्यवशायीको जिकिरको हकमा विचार गर्दा प्रतिउत्तर दिँदा वादीले दावी लिए जति जग्गाको मोल धरौटी राखेमा सो थैली बारेमा कुनै विवाद गरेको नदेखिएको हुँदा प्रस्तुत बहस जिकिरलाई तर्कसंगत मान्न सकिन्न ।
१७. यसप्रकार वादीको जग्गा कि.नं.२४८ र दावीको जग्गा कि.नं.२४७ र २४९ एउटै साविक मोठ श्रेस्ताको जग्गा भएको र पर्खाल (वानो) ले घेरेको एउटै चक्ला (खलो) को ३ कित्ता जग्गामा माझमा परेको वादीको जग्गामा दावीको कि.नं.२४७ बाट पानी आउने अर्थात् वादीको जग्गा खेतमा आउने पानीको मुहान नै कि.नं.२४७ मा नै पर्ने समेत देखिँदा जग्गाको स्थितिबाट वादी दावी बमोजिम कि.नं.२४७ र २४९ वादीको कि.नं.२४८ को जग्गाको सन्धिसर्पन पर्ने नै देखिएको र वादी सन्धिसर्पन पर्ने हकवाला भएकोमा पनि विवाद देखिन आएन । तसर्थ वादी दावी बमोजिम निखन्न पाउने ठहर्याएको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । वादी दावी बमोजिम सन्धिसर्पन नपर्ने भनी निखन्न नपाउने ठहर्याएको प.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुने ठहर्छ अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प.क्षे.अ.को इन्साफ बदर भई उल्टी हुने ठहरी वादी दावी अनुसार निखनाई पाउने ठहर्याएको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब ठहरेकाले देहाय बमोजिम गर्न का.जि.अ.त.मा लगत दिनु....१
पुनरावेदन वादी पुष्पाखर मिश्रले देहाएका अदालतमा राखेको कोर्टफी भराई पाउँ भनी ऐनको म्यादभित्र वादीको दर्खास्त परेमा कुनै दस्तूर नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी...२
यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० शुरु तनहूँ जि.अ.मा राखेको कोर्टफी रु.१।५० गण्डकी अञ्चल अदालतमा राखेको कोर्टफी रु.१।५० वादी दावी बमोजिम थैली बुझी निखनाई दिनु भनी मालपोत कार्यालय तनहुँलाई पत्र लेख्न भनी प.क्षे.अ.को मिति ०४२।३।४।३ को फैसला बमोजिम देहायको लगत कट्टा गर्नु भनी...३
गण्डकी अञ्चल अदालत पोखराको मिति ०४१।१।७।५ को फैसलाले वादी पुष्पाखर मिश्रलाई भराई दिने गरेको कोर्टफी भरी नपाउने भन्ने....४
ऐ.ऐ.मितिको फैसलाले प्रतिवादीले थैली बुझ्ने गरेको बुझ्न नपर्ने भन्ने....२ वादीले धरौट राखेको थैली रु.१२०००।– र रजिष्ट्रेशन दस्तूर रु.६००।– समेत जम्मा रु.१२,६०० वादीलाई फिर्ता दिनु भन्ने....३ फैसला उल्टीमा मा.न्या.द्वय श्री प्रचण्डराज अनिल र श्री मोहनबहादुर श्रेष्ठको रेकर्ड राख्न प्रशासन शाखालाई जनाउ दिनु.....३
मिसिल नियम बमोजिम बुझाई दिनु......................४
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४३ साल पौष २८ गते रोज २ शुभम् ।