शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८५४ - उत्प्रेषण

भाग: २८ साल: २०४३ महिना: पौस अंक:

निर्णय नं. २८५४    ने.का.प. २०४३      अङ्क ९

संयुक्तइजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् ०४२ सालको रिट नं. १५०५

आदेश भएको मिति : २०४३।९।११।६ मा

रिट/निवेदक : जि.सुनसरी गा.पं.घुसकी वार्ड नं. ८ बस्ने वर्ष १२ को रामनरेश शाहको संरक्षक हकवाला बाबु महावीर साहु

विरुद्ध

विपक्षी : जि.सुनसरी गा.पं.घुसकी वार्ड नं. ७ बस्ने फौदी मलाहासमेत

 

विषय : उत्प्रेषण

 

(१)         मोही बण्डा हुनसक्ने कानुनी व्यवस्था नभएको र यस अदालतबाट यस्तो कार्यलाई मान्यता दिएको पनि छैन ।

(प्रकरण नं. १५)

(२)        कानुनले जुन कुरा प्रत्यक्ष रुपमा गर्न सकिन्न त्यो कुरा अप्रत्यक्ष रुपले पनि गर्न सकिन्न ।    

(प्रकरण नं. १५)

 

रिट/निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री परशुराम चौधरी, विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह

 

आदेश

न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०४२।५।५।४ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ ।

२. पाँचु साहूबाट रामनरेश साहूले मिति ०४१।८।१४ मा धुसकी गा.पं.वार्ड नं. १(ख) कि.नं.५३ ज.वि.०१४१५ र ऐ.ऐ.कि.नं.६५ को ज.वि.०½ गरी जम्मा ज.वि.०१९–½ जग्गा राजीनामा गराई लिनु भयो । उक्त जग्गाको मोही महलमा मेरा बाबु अनुपलाल मल्लाहा उल्लेख छ । बुबा अनुपलाल ०४१।८।१८ मा स्वर्गे हुनुभएकोले निजको नामबाट मेरो नाउँमा नामसारी गरी पाउँ भनी विपक्षी फौदी मलाहाको भू.सु.का.सुनसरीमा मिति ०४१।१०।२३ मा निवेदन पर्‍यो । मोही अनुपलालका रौदी मलाहा र फौदी मलाहा २ भाइ छोरा भएका हुँदा भू.सु.ऐन, ०२१ को दफा २६  (१) बमोजिम रोदीलाई मोही रोज्न मेरो मञ्जुर छ भन्ने प्रतिउत्तर पर्‍यो । यसमा जग्गा बाबुको शेषपछि वादीले कमाएको कुरामा प्रतिवादी सावित भई बाली बुझाई भर्पाई समेत गरी दिएको हुँदा एकपटक मोही भनी पत्याई बाली बुझी भर्पाई समेत गरी दिएको आधारमा भू.सं.ऐन, ०२१ को दफा २६(१) अनुसार विवादीत जग्गाको वादी फौदी मलाहाको नाउँमा मोही नामसारी हुने ठहर्छ भन्ने मिति ०४२।३।१६ मा भू.सु.अ.बाट फैसला भयो ।

३. मेरो दाता पाचु साहूको समय देखि अनुपलालले मोहीमा जोतेको मैले ०४१।८।१४ मा राजीनामा गराई लिएको लगत ०४१।८।१८ मा निज अनुपलाल स्वर्गीय हुनु भएपछि हाल निजको पत्‍नी र २ जना छोरा जीवित भएका हुँदा भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिम जग्गावालाले पत्याएको व्यक्ति मोही हुने हुँदा मैले रौदीलाई मोही रोजेको छु । यस्तो अवस्थामा जग्गा कस्को जोत भोगमा छ सो कुरा समेत नुबझी विपक्षी  फौदी मलाहाका नाममा मोही नामसारी गर्ने गरेको भू.सु.का.सुनसरीको मिति ०४२।३।१६ को निर्णयमा अ.बं.१८४(क), १८५, १८९ समेतको त्रुटिपूर्ण भएको हुँदा उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ ।

४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४२।५।१०।२ को आदेशले प्राप्त हुनआएको लिखितजवाफ निम्नानुसार रहेछ ।

५. भू.सं.ऐन नियममा व्यवस्था भए बमोजिम ज.ध.ले मोहीको मृत्युपछि वादी फौदी मलाहाले जग्गा मोहीमा कमाएको कुरा स्वीकार गरी प्रतिवादी ज.ध.ले वादीबाट बाली बुझी भर्पाई समेत गरी दिएको र जग्गाधनीले मोही भनी सम्बोधन गरी भर्पाई दिइसकेपछि जग्गा कमाई भर्पाई प्राप्त गर्ने व्यक्तिलाई मोही मान्नु पर्ने भन्ने नजीर समेतका आधारमा वादीका नाममा मोही नामसारी हुने ठहर्‍याई यस कार्यालयबाट मिति ०४२।३।१६ मा भएको निर्णयमा कुनै कानुनी त्रुटि भएको नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको भू.सु.का.सुनसरीको लिखितजवाफ रहेछ ।

६. युवा अनुपलालको शेषपछि म सगोलको छोराले सो जग्गा कमाई विपक्षीलाई कूत बाली बुझाई विपक्षीका पिता तथा संरक्षक सहावीर साहूले कूत बुझी भर्पाई समेत गरी दिनु भएको हुँदा निजले मोहीमा मलाई पत्याई सक्नु भएको प्रमाणित भएबाट सो जग्गाको मोही मलाई कायम गर्ने गरी भएको भू.सु.का.को निर्णय कानुनसंगत नै हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको फौदी मलाहाको लिखितजवाफ रहेछ ।

७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदकतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह र विपक्षी फौदी मलाहाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री परशुराम चौधरी र विपक्षी भू.सु.का.सुनसरीका तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले गर्नुभएको बहस समेत सुनियो । यसमा रिट निवेदकका माग बमोजिम आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।

८. यस सम्बन्धमा निर्णय गर्दा सर्वप्रथम भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ मा भएको केही हक र दायित्व सम्बन्धी ऐनको व्यवस्थातर्फ विचार गर्नु पर्ने देखिन्छ । मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्‍नी र छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछभनी भू.सं.ऐनको दफा २६ मा उल्लेख भएको पाइन्छ । यस सम्बन्धमा यस अदालतबाट भइरहेका निम्न लिखित निर्णयमा प्रतिपादन भएका सिद्धान्तहरूतर्फ पनि विचार गर्नु पर्ने देखिन्छ ।

९. नेपाल कानुन पत्रिका ०३९ नि.नं.१५४४ पृष्ठ १८ निवेदक बबरी सिंह राजवंशी विरुद्ध भू.सु.का.झापा समेत भएको उत्प्रेषण रिट निवेदनमा जग्गावाला तर्फबाट भू.सं.ऐन, ०२१ को दफा २६(१) अनुसार पत्‍नी छोरा मध्येमा एक जनालाई रोजेपछि मात्र मोहियानी हक प्राप्त हुन्छ त्यस्तो मञ्जुरी छ भनी निवेदकले देखाउन सकेको छैन । बरु ०३७।१२।१३ को विपक्षी कार्यालयको निर्णय बदर गर्ने ठहर्‍याएको मिति ०३८।३।२१।१ को निर्णय बदर हुनुपर्ने भनी प्रस्तुत निवेदनमा दावी गरेको छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयको जस्तो हालत हुन्छ ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयलाई बदर गराउन निमित्त रिटको निवेदन दर्ता गर्ने यी निवेदकले आफ्नो अधिकार देखाउनु पर्ने हुन्छ । मोहियानी हकको अधिकार छ भनी देखाउन जग्गाधनीको स्वीकृति लिएको हुनु पर्‍यो भन्ने  यस अदालत डिभिजनबेञ्चबाट मिति ०३९।३।७।२ मा निर्णय भएको पाइन्छ ।

१०. ने.का.प.०४२ पृष्ठ ६१२ र ०४१ सालको रिट नं. १५६२ को हुकुम मियाँ विरुद्ध भू.सु.का.पर्सा समेत भएको विषय उत्प्रेषणमा मोही सम्बन्धी हक भू.सु.ऐन, ०२१ को दफा २६(१) ले व्यवस्था गरे बमोजिमको शर्तको अधीनमा रही प्राप्त हुने भोगाधिकार हो । मोहीको मृत्यु पछि निजको मोही सम्बन्धी हक समाप्त हुन्छ र दफा २६(१) ले व्यवस्था गरे मुताविकको प्रकृया पूरा गरेपछि यो हक निजको पति पत्‍नी वा छोराहरूमा पुनः स्थापना हुने हो । यस्तो हक लाई स्वतः पति पत्‍नी वा छोराहरू मध्ये सर्ने हक हो भन्न मिल्दैन त्यसकारण मोहियानी हकलाई जग्गा धनिको जग्गाधिकारको हक समान एकपछि अर्कोमा हकदार वा अपुतालीको हिसाबले सर्छ भनी मान्न र सम्झन मिल्दैनभनी यस अदालतमा प्रष्टरुपमा बोलिएको देखिन्छ ।

११. २०३४ सालको रिट नं. १०२८ (०३५ सालको ने.का.प. पृष्ठ १८१) को जेलसवती यादवनी विरुद्ध भू.प्र.का.पर्साको विषय उत्प्रेषणमा भूमि प्रशासकले भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) ले निर्देशन गरे अनुसार मोही हुनेको पत्‍नी वा अन्य छोराहरू छन् छैनन र जग्गाधनीले कसलाई रोज्न चाहेको छ इत्यादी ऐनले निर्देशन गरेको कारवाही गरी निर्णय गर्नु पर्नेमा सो ऐन अनुसारको कारवाही नगरी गरेको भू.प्र.का.को निर्णय भूमिसम्बन्धी ऐनको दफा २६(१) को विपरीत भएको छभन्ने उल्लेख छ ।

१२. त्यसैगरी सम्वत् ०३१ सालको रिट फु.नं. ३८ (ने.का.प. ०३२ निर्णय नं. ९०१, पृष्ठ १००) रसीदनी फकिरनी विरुद्ध बाबुलाल महतो नुनिया समेत भएको विषय उत्प्रेषणमा दर्तावाला मोही मरेपछि भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) को अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्‍नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने लेखिएकोले सो कानुनी व्यवस्थाबाट पती पत्‍नी वा छोराहरू मध्ये कुनै व्यक्तिलाई जग्गावालाले पत्याउन सक्ने अधिकार जग्गावालालाई दिएको देखिन्छ ती हकदार बाहेक अन्य व्यक्तिलाई मोही पत्याउने वा कसैलाई नपत्याई मोही हक समाप्त गर्ने कानुनी व्यवस्था भएको देखिँदैनभन्ने उल्लेख भएको पाइन्छ ।

१३. सम्वत् २०३६ सालको रिट नं. ८८९ दुखी साहुतेली विरुद्ध भू.सु.का.धनुषा समेत भएको विषय उत्प्रेषणमा (ने.का.प.०३८ अंक ४ पृष्ठ ११) भू.सं.ऐन, ०२१ को २६(१) को प्रयोग भूमिसुधार अधिकारीले गर्ने नभई जग्गावालाले गर्न पाउने हो । जग्गावालाले प्रयोग गर्न पाउने अधिकार भूमिसुधार अधिकारीले गरेबाट उक्त दफाको त्रुटि भएको पाइन्छउल्लेख भएको पाइन्छ । अतः ऐनमा भइरहेको व्यवस्था र यस अदालतले गरेको उपरोक्त व्याख्या समेतबाट मोही रोज्न पाउने अधिकार जग्गाधनीको हो भन्ने कुरामा कुनै व्याख्याको आवश्यकता देखिँदैन ।

१४. प्रस्तुत मुद्दामा विवादीत जग्गा ०४१।८।१३ मा पाचु साहुबाट रामनरेशको नाउँमा आएको र ०४१।८।१८ मा मोही अनुपलाल मरेको भन्ने देखिन्छ । अनुपलालका २ छोरा भएको रिट निवेदनको प्रकरण ४ बाट देखिन्छ । ०४१ सालको बाली ०४१।१०।२९ मा बाली बुझेको छ भनिएकोमा सो भर्पाईबाट जग्गाधनीको बाबुले बुझी भर्पाई गरी दिएको देखिन्छ । मोही जीवित छँदै लगाएको बाली कूत मोहीले बुझाउन नपाउँदै मोही मरेकोले पछि सो बाली अरुले बुझाएको नाताबाट अथवा भर्पाईबाट मात्र निजका नाममा मोही कायम हुन सक्दैन यस विषयमा यस अदालतबाट ०४२ सालको रिट नम्बर १६२८ को निवेदक महेन्द्रप्रसाद विरुद्ध भू.सु.का.सप्तरी समेतको रिट निवेदनमा भएको ०४३।७।२१ को निर्णय आदेशमा विस्तृत विवेचना भइसकेको छ । जस अनुसार मोही मरेपछि मोही रोज्ने हक जग्गावालाको नै हो । मोही मरेमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ बमोजिम जग्गावालाले पत्याएको व्यक्तिलाई सो मोहियानी हक जान्छ । यस्ता हकवालाले सो हक स्वतः प्राप्त भएको सम्झन वा बण्डा गरी लिन पाउने हक होइन ।

१५. मोही कायम छँदै मोहिबण्डा भएको भन्ने कुरा पनि जिकिर लिएको पाइयो । मोहिबण्डा हुनसक्ने कानुनी व्यवस्था नभएको र यस अदालतबाट यस्तो कार्यलाई मान्यता दिएको पनि छैन । अतः त्यसतर्फ विचार गरी रहनु परेन । कानुनले जुन कुरा प्रत्यक्ष रुपमा गर्न सकिन्न यो कुरा अप्रत्यक्ष रुपले पनि गर्न सकिन्न । यसको मतलव यो हो कि जग्गाधनीको मोही रोज्ने अधिकारमा परोक्ष रुपले आधात पर्न जाने गरी ऐनको मनसायको विपरीत व्याख्या गर्न सकिन्न ।

१६. अतः उपरोक्त माथि उल्लिखित कारण तथा परिबन्दहरूबाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ बमोजिम मोही रोजाउने कारवाही नगरी फौदी मलाहाको नाउँमा मोही कायम हुने ठहर्‍याएको भूमिसुधार कार्यालय सुनसरीको मिति ०४२।३।१६ को निर्णय गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । कानुन बमोजिम मोही रोजाउने कारवाही गरी पुनः कानुन बमोजिम निर्णय गर्नु भनी भू.सु.का.सुनसरीका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि यो आदेशको एकप्रति प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४३ साल पौष ११ गते रोज ६ शुभम् ।



 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु