शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २१८६ - ज्यान डाँका

भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११

निर्णय नं. २१८६   ने.का.प. २०४१                   अङ्क ११

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको फौ.पु.नं. ४५६

मुद्दा : ज्यान डाँका

पुनरावेदक/वादी : लालबहादुरको जाहेरीले वादी श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : का.प.जि.शारदा गा.पं. वडा नं. ६ बस्ने माझी सार्की समेत

फैसला भएको मिति :  २०४१।११।१०।४ मा

§  एकै दिनमा जाडोको मौसममा पहाड जस्तो ठाउँमा लास सडी गली जाने अवस्था हुँदैन ।

(प्रकरण नं. ३१)

पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

          २.  मेरो सहोदर दाजु आसाबहादुरलाई ०३५।८।१९ गतेको रातको अं. १०,११ बजेको समय हुँदो हो सो अवस्था निज दाजु समेतका परिवार सुती निदाएको अवस्था नमालुम चोरहरूले खुकुरी लठ्ठी समेत प्रयोग गरी निज दाजु आसाबहादुरलाई र भाउजू भेन्जेमाया र बुहारी माइली समेतलाई कुटपीट गरी काले तामाङलाई मारेको थाहा पाई जाहेर गर्न आएको छु । कानुन बमोजिम लास जाँच समेत भई कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ०३५।८।२० को लालबहादुरको जाहेरी दर्खास्त रहेछ ।

          ३.  म कुटपीटका चोटबाट बेहोस हुँदा अपराधी को हुन् चिन्दिन भनी आसाबहादुरले प्रहरीमा कागज गरी दिएको रहेछ ।

          ४.  वारदातको समयमा कुटपीट हुँदा कुटाइको चोटबाट बिउँझेको र मेरो छोरा काले र बुहारी र लोग्ने आसाबहादुर बेहोस भएका रहेछन् बिउँझदा ३ जनाले धनमाल बोकी छिंडीमा झरेको देखेँ ती मध्ये अघिको र पछिको मानिसलाई चिनिन, माझका चाहिँ माझी सार्की हो अघि जानेले लाइट बालेकोले सो उज्यालोले चिनेको हुँ भनी भिन्दो तामाङले प्रहरीमा कागज गरेको रहेछ ।

          ५.  वारदातको राति हामी सुतिरहेको अवस्थामा चोरहरू आई मेरो टाउकोमा लठ्ठीले हिर्काए । म बिउँझे अनि यिनीहरूलाई काट्न मार्न पर्छ भनी गाउँकै कान्छा भन्ने जैसी बाहुनले भनेको स्वरले चिनेको हुँ भनी बुहारी माइलीले प्रहरीमा कागज गरी दिएको रहेछ ।

          ६.  माझी सार्की र कान्छो भन्ने बद्रीप्रसादले सो वारदातका दिन हामी घरमा नै छौं हामी कँही गएको छैन भनी प्रहरीमा इन्कारी कागज गरी दिएको ।

          ७.  यसमा हामी ८ जनाको सल्लाह अनुसार वारदातको रातमा काहिला तामाङले घटना घटेको सो कुवा पाटीको ढोकाको दायाँ पट्टि आगलो भेट्ने गरी भित्तामा प्वाल पारी ढुंगा झिकी हात भित्र घुसाई आगलो झिकी ढोका खोले, अनि काहिला तामाङ दोस्रो माने कामी तेश्रो बुधेकामी चौंथो शिवजी मगर र हरिकामी काहिला कामी एकै चोटि घरभित्र पसे म र कुमाले बाहिर ढोकाको छेउमा बस्यौं र भित्र गुहार भनी कराउँदा म र कुमाले भागी नर्भाङ भन्ज्याङमा पुग्दा तिनीहरू सबै पुगेर भारी हेर्दा तामाको मुजुगो फलामे कोदाली समेत बोकी ल्याएका रहेछन्, काहिला तामाङले मलाई रू. ३०। दिए, शिवजीलाई रू. २० दिए भनी सानुकाजीले प्रहरीमा गरेको कागज ।

          ८.  काले तामाङलाई कुटपीट गरी मारेको होइन सो दिन हामी आफ्ना घरमा नै छौं, डाँका गरेको होइन भनी हरिकामी, कुमाले, शिवजी, बुधे, माने कामी समेतले पृथकपृथक प्रहरीमा गरी दिएको कागज ।

          ९.  जाहेरवालाको जाहेरी अनुसार काले तामाङको मृत्यु भएको हो, सानु कामी र निजले पोलेका ७ जना मध्ये काहिला तामाङलाई चिनेको र अरूलाई नचिनेको, निज काहिला तामाङले उक्त अपराध गरेकोमा हामीलाई शंका लाग्दैन भनी केही व्यक्तिले भनेको र अरू प्रतिवादीहरू नचिनेको हुँदा अपराध गरे नगरेको उनीहरू नै जानून्, मुचुल्का सम्बन्धित मानिसले किटानी देखाएको माझी सार्की र कान्छो भन्ने बद्री अधिकारीले पनि जाहेरी बमोजिम अपराध गरे होला भन्ने कुरामा हामीलाई शंका लाग्दैन भनी सरजमीनका मानिसले लेखी दिएको ।

          १०. वारदातको अवस्थामा देखेको र स्वरले चिनेको हो, भनी मृतकको आमा र श्रीमतीले किटानी गरेको आधारमा मात्र माझी सार्की र कान्छा भन्ने बद्रीप्रसाद अधिकारी जवान २ सावितीवालाले पोलेको आधारमा प्रतिवादी मानेकामी, बुधे तामाङ, हरि कामी, माइला कामी, काहिला तामाङ, शिवजी राना मगर, समेतलाई ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसारको सजायको माग दावी लिएको रहेछ ।

          ११.  साविती प्र.सानु कामी र इन्कारी रहेका कुमाले कामी जवान २ प्रति ज्यानसम्बन्धीको दफा १७(३) नं. अनुसार सजायको माग दावी लिएको र डकैती र चोरी सम्बन्धमा सानु कामीले रू. ३०। मात्र लिएको साविती देखिएको चोरीको १०।३ नं. बमोजिम भराई दिने र अरूमा प्रहरी अनुसन्धान जारी नै रहेको भन्ने समेत प्रहरी प्रतिवेदन ।

          १२. ०३५ साल मार्ग ४ गतेका दिन पस्मति खोपासी बहिनीको घर गएको थिएँ । मलाई बहिनीको ससुराले तैंले मेरो बुहारीको सुन लगेको छस् दिन्छस् कि दिदैँनस् भनी प्रहरीमा लगी बुझाई दिए अनि प्रहरीमा घर चोर्न गएको होस् कि होइनस् भनी पिट्दा मैले हो भनेँ वारदातको दिन म आफ्नो घरमा छैन खेतमा नै छु म पनि कतै गएको छैन मैले वारदात गरेको होइन निर्दोष छु भन्ने समेत सानु कामीको अदालतमा बयान ।

          १३. ०३५ साल मार्ग १८ गते रफेल खेत भन्ने ठाउँमा सत्यनारायणको पूजा गर्न सोही गाउँको भोसो भन्ने खत्रीको घरमा गई बेलुका पूजा लगाई तहाँ नै बसी भोलिपल्ट २ बजेतिर खेतमा आई खेतालासँग काम गरी बसेको छु, वारदातको बखतमा म घरमा नै छु मैले घटना घटाएको होइन निर्दोष छु भन्ने बद्रीप्रसादले गरेको बयान ।

          १४. ०३५ साल मार्ग १९ गते म धादिंग गई २० गतेमात्र घर फर्केकोमा पैरो लागी भोलिपल्ट मात्र घर पुगेँ । मर्ने व्यक्ति र जाहेरवालालाई चिनेको छैन निर्दोष छु भन्ने शिवजी राना मगरको बयान ।

          १५. ०३५।८।१९ गते म आफ्नो गाउँघरमा जुत्ता सिई बसेको थिएँ । काले तामाङलाई मारी डाँका गरेको होइन । मलाई मृतककी आमाले जुत्ता सिउन आउँदा चाँडो भएन भनी रिसाई सोही इवीबाट मात्र भनेको हुनुपर्छ मैले डाँका गरी कालेलाई मारेको होइन भन्ने समेत माझी सार्कीको बयान ।

          १६. म घरमै छु । मर्ने काले तामाङलाई चिनेको पनि छैन । चोरी डाँका गर्न म गएको नहुँदा निर्दोष छु भन्ने कुमाले कामीको बयान ।

          १७. म घरमै छु काले तामाङलाई मारी डाँका गरेको छैन । काले तामाङलाई चिनेको पनि छैन भन्ने बुधे कामीको अदालतमा गरेको बयान ।

          १८. ०३५।८।१९ गते म आफ्नो घरमा आरन काम गरी बसेको छु । डाँका र ज्यान मारेको समेत छैन सानुकामीले किन पोले उनै जानून भन्ने समेत हरि कामीले अदालतमा गरेको बयान ।

          १९. ०३५।८।१९ गते म आफ्नै घरमा छु । काले तामाङलाई मारी डाँका समेत गरेको छैन । काले तामाङलाई चिनेको पनि छैन । सानुकामीले किन पोले उनै जानून भनी माहिला कामीले अदालतमा गरेको बयान ।

          २०. ०३५।८।१९ गते म बोहोरे गाउँमा केटी माग्न गएको २० गते मात्र घर फर्केको छु । काले तामाङलाई चिनेको छैन भन्ने समेत मानबहादुर कामीको अदालतमा भएको बयान ।

          २१. ०३५।८।१९ गते म मट्टितेल किन्न काठमाडौं आई ऐ. २३ गते मात्र घर फर्केको छु । प्रतिवादीहरूलाई चिनेको छैन । काले तामाङको घरमा ज्यान डाँका भयो भन्ने प्रहरीमा थाहा पाएको छु । निर्दोष छु भन्ने चन्द्रमान तामाङको अदालतमा भएको बयान ।

          २२. ०३५।८।१९ गते म ज्यामदी गई रात १० बजेमात्र घर फर्केको छु । माझी सार्की चाहि होटेलमा बसेको देखेको छु । अरू प्रतिवादी देखिन । बद्रीप्रसाद चाहि उक्त डाँका गर्नेमा गएका होइनन् । यस्तो खालका मानिस पनि होइनन् भन्ने खड्गबहादुरको बकपत्र ।

          २३. प्रहरी प्रतिवेदन मनासिव देखिएन । सबै प्रतिवादीहरू निर्दोष देखिएकोले सबैले सफाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको काभ्रेपलान्चोक जिल्ला अदालतको ०३८।१०।१९।२ को फैसला ।

          २४. उपरोक्त इन्साफ उपर वादी श्री ५ को सरकार तर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

          २५. आरोपपत्रमा प्र.सानुकामी र कुमाले कामीलाई ज्यानसम्बन्धीको १७(३) अनुसारको सजायको माग गरेको र अन्य प्रतिवादी ८ जना उपर ज्यानसम्बन्धीको १३(३) नं. का ऐन अनुसार सजाय माग गरी प्रहरी प्रतिवेदन दायर भएको देखिन्छ । प्र.सानुकामी प्रहरीमा घटनास्थलमा उपस्थित रहेको कुरा सावित भएको र ज्यानसम्बन्धीको १३(३) नं. को ऐनद्वारा निशेध गरिएको आरोपित कसूर गर्दा यी प्रतिवादीहरूको के भूमिका रहेको हो भन्ने कुरा दावीमा यकीन उल्लेख नभएको र सो प्रमाणित हुन आएको समेत देखिँदैन । अन्य प्रतिवादीहरू अधिकार प्राप्त अधिकारीको समक्ष र अदालतमा समेत इन्कारी रही बयान गरेको र निजहरूले कसूर गरेको प्रमाणित हुने कुनै पनि चस्मदिद गवाह वादी तर्फबाट प्रस्तुत गर्न नसकेको र अनुमानको भरबाट कसूर गरेको हो भनी निष्कर्षमा पुग्न नमिल्ने हुनाले प्रतिवादीहरूले आरोपित कसुरबाट सफाई पाउने ठहराएको शुरू काभ्रेपलान्चोक जि.अ.को फैसला मनासिव ठहर्छ । प्रहरी प्रतिवेदन दावी अनुसार सजाय हुनुपर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          २६. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको यस अदालत समक्ष पर्न आएको पुनरावेदन पत्र ।

          २७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट रहनुभएका विद्वान सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले प्र.सानुकाजीले अदालत समक्ष बयान गर्दा प्रहरीमा गरेको कागज राजीखुशीले नै गरेको हो भनेको छ र कागजमा लागेको सहिछाप मेरो हो भनेको छ साथै प्रहरीले कुटे पनि घाउ खत छैन घाउ खत जँचाई पाउँ भनी उजूर पनि गरेको छैन र घाउ जँचाई पाउँ भनी माग पनि गर्दिन भनी उल्लेख गरेकोबाट निजको प्रहरीमा भएको बयान स्वेच्छाले गरेको भन्ने कुरा प्रष्ट देखिन आएकोले निज प्र.सानुकामी र निजले पोल गरेको प्रतिवादीहरू निर्दोष हुन भनी भन्न मिल्ने अवस्था देखिँदैन । तसर्थ प्रतिवादीहरूलाई शुरू दावी बमोजिम सजाय हुन पर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।

          २८. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव वा बेमनासिव के रहेछ निर्णय गर्नुपरेको छ ।

          २९. यसमा प्र. सानु कामीको अदालतमा भएको बयान हेर्दा निजले उक्त बयानको जवाफ ३ मा प्रहरीमा भएको कागज राजीखुशीले गरेको छु भने तापनि लगतै सो पछि सोही जवाफमा उक्त वारदातमा आफू नभएको र डकैती समेत गरेको छैन भनी इन्कारी बयान लिएको र सोही बयानको सवालको जवाफ ४ मा समेत उक्त कुरा प्रष्टाउँदै आफू निर्दोष छु भन्दै इन्कारी बयान गरेको देखिन्छ । वारदातमा पुगेको छैन र डकैती गरेको छैन भन्ने प्र.सानु कामीको अदालतमा भएको यस्तो किटानी बयानलाई सावितीको संज्ञा दिन मिल्दैन । प्रहरीमा भएको निजको साविती कागज अन्य स्वतन्त्र प्रमाणबाट समर्थित नभएको अवस्थामा प्रहरीमा भएको साविती कागजलाई स्वेच्छाले भएको भन्ने स्थिति रहेन ।

          ३०. प्र.माझी सार्कीलाई भिन्दो तामाङनीले अनुहार अथवा हिँडेको चाल ढालबाट चिनेको देखिन्छ । कालो जुत्ता, सेतो सुरूवाल र कालो इष्टकोट लगाएबाट चिनेको भनेको पाइन्छ । यो भेषभुषा सामान्य किसिमको सबैले लगाउने पहिरन हुँदा यत्तिकै नाताबाट फलानो हो भनी चिनिने र यकीन गर्न सकिने अवस्था रहँदैन । बद्रीप्रसादलाई माहिली तामाङनीले स्वरले चिने भन्छिन् । वारदात रातको अवस्थामा घटेको छ र सो बखत कुटपीट भैराखेको बक्साहरू फोडीन लागेको ढ्याङ ढुङको आवाज समेत भएको देखिन्छ । सामूहिक रूपले सबै किसिमको आवाज भई राखेको अवस्थामा सो आवाजहरू मध्ये फलानोकै आवाज हो भनी यकीन गर्न गाह्रो पर्छ ।

          ३१. यी माहिली तामाङनीले स्वरले प्र.बद्रीप्रसादलाई र प्र.माझी सार्कीलाई भिन्दो तामाङनीले निजको पहिरनबाट चिनेका भए सो कुरा लालबहादुरको मौकामा ०३५।८।२० को जाहेरीमा खोलिने स्थिति छ । तर लालबहादुरले यी प्रतिवादीहरूलाई मौकैमा माइली तामाङनीले र भिन्दो तामाङनीले चिनेको छ भनी लेखी दिएको पाइँदैन । ०३५।८।१९ को वारदात देखिन्छ र ०३५।८।२० मा लास जाँच मुचुल्का भएकोमा विवाद देखिन्न । तर लास सडेको भने देखिन्छ । एकै दिनमा जाडोको मौसममा पहाड जस्तो ठाउँमा लास सडी गली जाने अवस्था हुँदैन । ०३५।८।२० मा भएको लास जाँच मुचुल्काबाट लास सडी गली समेत गएको देखिँदा ०३५।८।१९ मा वारदात भई सो वारदातमा यी प्रतिवादीहरूले काले कामीलाई मारेको भन्ने शंकास्पद देखिन्छ । शंका र अनुमानबाट अपराध कायम गर्न नमिल्ने हुँदा शंकाको सुविधा प्रतिवादीहरूले पाउने हुँदा प्रतिवादीहरूलाई सफाई दिने ठहराएको शुरू जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । मिसल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु । 

 

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इति सम्वत् २०४१ साल फल्गुण १० गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु