निर्णय नं. २१९३ - अंश लिखित बदर

निर्णय नं. २१९३ ने.का.प. २०४१ अङ्क ११
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको दे.पु.नं. ५०१
मुद्दा : अंश लिखित बदर
पुनरावेदक/वादी : जि.मोरङ गोविन्दपुर गा.पं. वडा नं. ९ बस्ने अमरलाल राजवंशी
विरूद्ध
विपक्षी/प्रतिवादी : जि.मोरङ गोविन्दपुर गा.पं. वडा नं. ९ बस्ने चिनी राजवंशी मरी मु.स. गर्ने निजको पत्नी ऐ. बस्ने तेलानी राजवंशी
ऐ बस्ने सम्त तेलानी राजवंशी
ऐ बस्ने मट्ठतासरी राजवंशी
ऐ बस्ने पुस्पतलाल राजवंशी
फैसला भएको मिति : २०४१।१०।१५।२ मा
§ सगोलको सम्पत्ति बकस दिँदा लेनदेन व्यवहारको १० नं. ले मञ्जूरी लिन पर्ने ।
(प्रकरण नं. १४)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवदेशकुमार सिंह
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल
उल्लेखित मुद्दा : x
फैसला
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पू.क्षेत्रीय अदालतको मिति ०४०।२।३१ को निर्णय फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. मूल पुर्खा किन्नुलालका ४ छोरा मध्ये जेठा टिकमलाल, माहिला चिनी, साहिला म अमरलाल र कान्छा मोतिचन्द्र समेत हो । बाबु आमा र कान्छा मोतिचन्द्र अघि नै परलोक भएका जेठा दाजु टिकमलाल माहिला चिनी साहिला म अमरलाल कान्छा भइ मोतिचन्द्रको पत्नी सस्तासरी र छोरा सम्पत पुष्पत समेत हामी सबै एकै सगोलमा बसी बाबु किन्नुको आर्जनको निजको नाउँबाट टिकमलालका नाउँमा दर्ता भएको गोविन्दपुर गा.पं. वडा नं. २,३,५ को जग्गा र बाबुको नाउँको जग्गा चिनीका नाउँमा नामसारी दर्ता भएको ऐ. वार्ड नं. ९ के घर जग्गा चौपाया समेत सगोलमै भोगी आएकोमा जग्गाको हेरचार टिकमलाल र सुनचाँदी तालाकुन्जी बुहारी सस्तासरीले गरी आएकोमा धेरै परिवार बढिएका सगोलमा बस्न नसक्ने भएबाट ०३०।३।१ गते भात भान्सा अलग गरी जग्गाको आयस्ता दाजुहरूले दिए जति खाई भोगी आएकोमा ०३१ साल बैशाखमा जेठा दाजु टिकम परलोक हुनु भयो । वहाँको छोराछोरी कोही नभएबाट सगोलका ३ अंशियारहरू मध्ये १ अंशी चिनीलाल १, अंशी म वादी र १ अंशी मोतिचन्द्रको अंश भाग खाने सस्ता, सम्पत, पुष्पत समेतले सल्लाह गरी टिकमलालका नाउँको जग्गा चिनी, अमर, सम्पतका नाउँमा संयुक्त नामसारी गर्दा गराउन पञ्चायतबाट सिफारिश समेत भएको जग्गा नामसारी दर्ता हुन नपाउँदै सोही आषाढ महीनामा विपक्षीहरूसँग मैले पाउने अंश दिनुहोस् भन्दा नामसारी नगरी बण्डा हुँदैन, सबैले घर छाडी हिड्नु हुँदैन तिम्रो हकमा वारेसनामा लिई जान्छौं संयुक्त नामसारी गरी लिई आउँछौं भनी लेखी राखेको कागज १ थान र यो बिग्रियो भने फेरि किन आइरहनु भनी नलेखेको १ थान कागजमा समेत सहिछाप गरी लगे र ०३१ साल आश्विन लागेपछि सबै प्रतिवादीहरू जम्मा भएको बखत अंश छुट्याई दिनु होस् भन्दा खेरी एकै मुख लागी अंश लिने आसा नगर भनी जवाफ दिएको र निजहरू ०३१ साल आश्विन २७ गते भू.प्र.का. मोरङ आई बुझ्दा ०३१ साल श्रावण १ गते मै दाजु चिनीले निजका नाउँको जग्गामध्येबाट प्र.सस्तासरीलाई २–१–१ सम्पतलाई २–८–१९ पुष्पतलाई २–१४–९ जग्गा समेत ७–४–९
बकसपत्र पास गरी दिएको थाहा भयो जग्गा दर्तावाला माहिला दाजु, घरको राखन धरन गर्ने बुहारी र निजका छोरा समेतले अंशबण्डा गरी नदिएकोले अंशबण्डाको ३५ नं. ले ३ भाग अंश मलाई यहाँ नदिई मञ्जूर नलिई अंश मार्ने समेत गरेकोले लेनदेन व्यवहारको १०नं. प्रतिकूल बकसपत्र गरी दिएकोमा सोही ऐनको १० नं. का म्यादभित्र फिराद गर्न आएको छु । उल्लिखित बकसपत्र बदर गरी अंश ३ भागको १ भाग छुट्याई दिलाई भराई पाउँ भन्ने समेतको फिरादपत्र ।
३. वादी समेत हामी ४ अंशियारमा जेठा टिकमलाल माहिला म चिनीका नाममा दर्ता रहेको भए पनि ४ अंशीको हक लाग्ने जग्गा हो र हामी दाजु टिकमलाल जीवित हुँदै भिन्न भइसकेको चल धनमाल सोहीबखत हातहातै बाँडी लिएको रीतपूर्वक बण्डा भएको थिएन । दाजु टिकमलालको निधन भएपछि निज निसन्तान भएकोले निजका भागको चल चाँदीभरी १६०। र गोरू जोडा १ समेतको त्रिखण्डी भाग गरी गोरू भतिजा सम्पतले लिने भई गोरूको रू. १२००। मोल राखी ४००। का दरले म चिनी र अमरलालले लिने भई बिक्रीनामा र भर्पाई गरी दिएका हुन् र जग्गा मेरो नाममा भएको र मेरो भागको जग्गा बकसपत्र गरी दिएको हो भन्ने समेत चिनी राजवंशी समेतको प्रतिउत्तर पत्र ।
४. प्रतिवादीबाट पेश हुन आएको भर्पाई जालसाजीबाट खडा भएको हो भन्ने समेत वादीको ०३१।११।१५ को बयान ।
५. जालसाजी होइन सद्दे हो भन्ने समेत प्र.को ऐ. मितिको बयान ।
६. अंशबण्डा नहुँदै गरी दिएको बकसपत्रको जग्गा आफ्नो हक भइसकेको भन्न सकिने स्थिति नहुँदा त्यसरी गरी दिएको उक्त बकसपत्रको लिखत समेत बदर हुने ठहर्छ भन्ने समेत ०३२।११।१२ को मो.जि.अ.को फैसला ।
७. प्रतिवादीले प्रमाणमा दिएको ०३१।३।१६ को भर्पाईलाई वादीले जालसाज गरेको भनी दावा लिएको जालसाज तर्फ शुरूले इन्साफ गरेको नदेखिँदा अंशतर्फ मात्र ठहर गरेको देखिँदा यस्तो आंशिक निर्णय अ.बं. १९२ नं. ले गरेको प्रतिकूल हुँदा शुरूबाट गरिएको फैसला बदर हुन्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३५।८।१८।१ को फैसला ।
८. प्र.चिनीलालले बकसपत्र गरी दिएको समेत कूल चल अचल सम्पत्तिमा वादीले तीन खण्डको १ खण्डा बकसपत्र गरी दिएको बाहेकको सम्पत्तिबाट पाउने ठहर्छ भन्ने समेत मोरङ जिल्ला अदालतको ०३८।२।२० को फैसला ।
९. उक्त फैसला उपर वादीको पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको ।
१०. मिसिलको अध्ययनबाट टिकम र चिनीको नाउँमा जग्गा दर्ता रहेको देखिन्छ । चिनीले आफ्नो हकको सम्पत्ति बकसपत्र गरी दिन सक्ने नै देखिन्छ । भागबण्डाका तात्पर्यका लागि बकस गरी दिएको सम्पत्ति मूल अंकमा जोडनु पर्ने भयो । अमरलालले ३ भागको १ भाग पाउँदा बकसपत्रबाट गएको सम्पत्तिमा भाग पाउन सक्ने भएन । बकस गएको जग्गा ७–४–९ लाई चिनीको भागमा कायम भए सरह मानी वादीले भाग पाउने भयो तसर्थ मोरङ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
११. पूर्वाञ्चल क्षेत्रीय अदालतको उक्त फैसलामा गम्भीर कानुनी त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको यस अदालत समक्ष पर्न आएको निवेदनमा लेनदेन व्यवहारको १० नं. मा उल्लेख भए बमोजिम अंश नभएको अंशियारले सगोलको सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफू खुसी गर्न पाउने अरूको मञ्जूरी लिन नपर्ने बाहेक अरूमा एकाघर संगका अंशियार सबै साक्षी बसेको वा निजहरूको मञ्जूरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको, मञ्जूरीको लिखत पनि नभएकोमा निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनुपर्छ भन्ने समेत उल्लेख भएको देखिनाले बकसपत्र गरी दिएको सम्पत्तिमा निवेदक वादीको हक भएको तर बकसपत्र दिँदा निजको साक्षी मञ्जूरी नभएकोले यस्तो बकसपत्र सदर गरी गरेको पू.क्षे.अ.को फैसलामा लेनदेन व्यवहारको १० नं. को त्रुटि गरी गरेको देखिन आएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेतको यस अदालत डिभिजन बेञ्चको आदेश ।
१२. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री अवदेशकुमार सिंहले लेनदेन व्यवहारको १० नं. को गलत व्याख्या र प्रयोग गरी गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ बदर हुनुपर्छ भन्ने र विपक्षी प्रतिवादीका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री नारायणराज खरेलले पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा कुनै त्रुटि नहुँदा सोही फैसला सदर कायम हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
१३. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव वा बेमनासिव के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१४. यसमा जग्गा बकसपत्र बदर गरी ३ भाग अंश दिलाई पाउँ भन्ने फिराद दावी भएकोमा मेरो भागको जग्गा बकसपत्र गरी दिएको भन्ने चिनी राजवंशीको प्रत्युत्तर भएको पाइन्छ । वादी प्रतिवादीहरू सगोलको अंशियार भएको देखिन्छ । चिनीलालको नाममा दर्ता रहेको जग्गामा पुनरावेदक अम्बरलालको पनि अंश भाग भएको कुरामा विवाद देखिँदैन । त्यस्तो सगोलको सम्पत्ति बकस दिँदा लेनदेन व्यवहारको १० नं. ले निजको मञ्जूरी लिन पर्नेमा सो मञ्जूरी नलिई गरेको बकसपत्रबाट निज अम्बरलालको हक भागको ३ भागको १ भाग जतिको बकसपत्र बदर गरी दिने ठहर्छ । अब तायदातबाट देखिन आएको सम्पूर्ण सम्पत्तिबाट ३ भागको १ भाग गर्दा वादी अम्बरलालले जति पाउने देखिन आएको सम्पूर्ण सम्पत्तिबाट ३ भागको १ भाग गर्दा वादी अम्बरलालले जति पाउने देखिन आउँछ त्यसमा बकसपत्रको जग्गाबाट ३ भागको १ भाग र अरू बाँकी बकसपत्र बाहेकको सम्पत्तिबाट निजले अंश पाउने ठहर्छ । पू.क्षे. अ.ले गरेको निर्णयमा केहीउल्टी हुन्छ । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।
तपसील
पुनरावेदक वादी अम्बरलाल राजवंशी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम भएकोले प्रतिवादी चिनीराजवंशीले सस्तासरीलाई २–१–१ सम्पतलाई २–८–१९ र पुष्पतलाललाई २–१४–९– जग्गा मिति ०३१।३।३१ मा बकसपत्र गरी दिएकोमा सो बकसपत्रहरू पुरावेदक वादीको हक ३ खण्डको १ खण्ड बकसपत्र बदर हुने ठहरेकोले सो बकसपत्रहरूबाट ३ खण्डको १ खण्ड र सो बकसपत्र दिए बाहेकको अरू ०३२।८।३ को तायदातीमा उल्लेख भए अनुसारको जग्गाबाट ३ खण्डको १ खण्ड जग्गा समेत अंश छुट्याई पाउँ भनी दण्डसजायको ४६ नं. का म्यादभित्र निज पुनरावेदक वादीको दर्खास्त परे सयकडा २
का दरले दस्तूर लिई कानुनको रीत पुर्याई वादीलाई अंश छुट्याई दिनु भनी मोरङ जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु..................१
शुरू मोरङ जिल्ला अदालतको ०३८।२।२० को फैसलाले बकसपत्र बाहेकको जग्गाबाट वादीले अंश दिलाउने गरी लगत कसिएकोमा माथि लेखिए बमोजिम अंश छुट्याई दिनुपर्ने भएकोले उक्त जि.अ.का फैसला बमोजिम अंश छुट्टाउने तर्फ कसिएको लगत बमोजिम गर्नु नपर्ने हुँदा सो अंश छुट्टाउने तर्फ कसिएको लगत कट्टा गरी दिनु भनी मोरङ जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु.......................२
ऐ.ऐ. माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी पुनरावेदक अम्बरलाल राजवंशीले यस अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्टफी रू. २२८।९८ भराई पाउँ भनी वादीको ऐनको म्यादभित्र दर्खास्त पर्न आएमा कानुन बमोजिम देहाएका प्रतिवादीहरूबाट बराबरका दरले वादीलाई भरी भराई दिनु भनी ऐ.ऐ. लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......................३
चिनी राजवंशीको मु.स.गर्ने तेलावी राजवंशी १, सस्तासरी राजवंशी १, पुस्पतलाल राजवंशी १, सम्पतलाल राजवंशी १
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४१ साल माघ १५ गते रोज २ शुभम् ।