निर्णय नं. २१९४ - ठगी
निर्णय नं. २१९४ ने.का.प. २०४१ अङ्क ११
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको डि.फौ.पु.नं. ४४८
मुद्दा : ठगी
पुनरावेदक/प्रतिवादी : रौतहट गौर गा.पं. वा.नं. ९ बस्ने कमलेश्वर उपाध्याय
ऐ ऐ बस्ने मिथिला देवी
विरूद्ध
विपक्षी/वादी : रौतहट जिल्ला साविक बसतपुर गा.पं. वडा नं. ८ हाल बर्डहवा गा.पं.बस्ने अम्बिकादेवी ब्राम्हणी
फैसला भएको मिति : २०४१।१०।४।५ मा
§ बन्धकी राख्न दिएको भनी स्वीकार गरी विश्वासको भरमा रसिद भर्पाई नलिएको र सुन निखन्न जाँदा के को सुन कस्तो सुन भनी निखन्न नदिएको भनी ठगी अन्तर्गतको कार्य गरेको भनी परेको वादी दावा ठगीको १ नं. को परिभाषासँग मिल्ने देखिँदैन ।
(प्रकरण नं. ११)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित
उल्लेखित मुद्दा : x
फैसला
न्या. हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।३।३१ मा भएको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :
२. प्रतिवादी बम्बईको माइती भएको र मेरा कान्छा छोराको ससुराली घर जि.सिराहा मदनपुर गा.पं.मा भएको र जान पहिचान रहेको उसमा पनि मेरो ज्वाइँ नारायणप्रसाद रौ.जि.अ.मा सरूवा भई आउँदा निजहरूकै घरमा डेरा गरी बसेबाट समेत बढी सम्पर्क हुँदा लोग्नेको पालाको सुन तोला ६ को २ लराको सिकरी र २ तोलाको पिटवा चुरी थान १ र १।। तोलाको असर्फीको औंठी १ समेत जम्मा ९।। सुन घर व्यवहारको लागि बन्धकी राख्नुपर्ने हुँदा प्रतिवादीहरू कहाँ ल्याई राखी ०३४ सालको मालपोत तिर्न रू. ४००। र छोरी बिदाई गर्न रू. ४००। समेतको आवश्यकता परी गहना बैंकमा राख्न ०३४।१।१ का दिन गौर आई बन्धक राखी रुपैयाँ लिने कुरा गर्दा प्रतिवादीहरूले यो यति गहना लिई गौर बडहर्वा बराबर आवत जावत गर्दा जीउज्यानको खतरा हुन्छ भन्ने भयभित कुरा गरी मलाई फकाई बेइमानी चिताई गहना बन्धकी राखी रुपैयाँ ल्याई दिन्छु भनी भनेका सबै रुपैयाँको अहिले आवश्यकता छैन पोता तिर्न रू. ४००। लिनुस् आषाढमा छोरी बिदाईको अवस्थामा लानु भनेकाले रू. ४००। आषाढमा बुझी लिई ०३५ सालमा प्र.हरूलाई रू. ८००। चैत्र महीनामा बुझाउन गई बुझी लिनुस् मेरो गहना दिनुस भन्दा रुपैयाँ बुझ्न इन्कार गरी म कहाँ कहिले कस्तो तपाईंको सुन भनी जवाफ दिनुभएकोले प्र.हरू माथि ठगीका कुराको पञ्चायत गराउँदा मसँग ठगी गरेको कुरामा सिद्ध भई छोरीको विवाहमा केही खर्च गरेको छ केही दिनपछि जग्गा बिक्री गर्दा सब पूरा गरी दिउँला भनेकोमा नदिएकोले मोल बिगो रू. १३६५०। को सुन ठगी गरेको हुँदा उक्त बिगो दिलाई ठगीको १ नं. अनुसार सजाय गरिपाउँ भन्ने वादी ।
३. वादी दावी बमोजिम हामीले ठगी गरेको छैनौं वादी दावी झुठ्ठा हो । वादीको ज्वाइँ मेरो घरमा केही वर्ष अघि भाडामा बसी रू. १००। बाँकी लगाई ०३५ सालमा निज रौ.जि.अ.मा सरूवा भई आउँदा घर डेरा सासू लिई खोज्न आउँदा पहिलेको रुपैयाँ माग्दा इन्कार गरेकोले भाडामा घर दिन्न भन्ने इवीबाट वादीलाई उचाली झुठ्ठा नालिश गरेको हुन् भन्ने प्रतिउत्तर ।
४. वादी दावी बमोजिमको सुनको ठगी गरेको ठहर्छ भन्ने समेत रौतहट जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भनी प्रतिवादीहरूको पुनरावेदन पर्दा वादी प्रतिवादीको बीच सद्भावना र विश्वास रहेको र प्रतिवादी वादीको पत्यारको मानिस देखिन आउँछ । पत्याएको मानिसलाई सुन दिएमा ठगी बन्न नमिल्ने भनी स.अ.बाट सिद्धान्त प्रतिपादित भएको र नासो धरौटको १ नं. अनुसार सुन राखी नगद लिएको कार्यलाई ठगीको १ नं. मा समावेश गर्न पनि नमिल्ने हुँदा अ.ब. १८० नं. बमोजिम खारेज गरी शुरूको फैसला उल्टी हुने ठहर्छ भन्ने मिति ०३७।१०।६।२ को ना.अं.अ.को फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदनमा अनुमति प्राप्त भई वादीको फिराद लेखबाट नालिश ठगीको १ नं. परिभाषाभित्र देखिन आएकोले ठगीको १ नं. परिभाषाभित्र नपर्ने भनी वादीको नालिश खारेज गर्ने गरेको ना.अं.अदालतको फैसला मिल्न आएको नदेखिएकोले सो फैसला बदर भई रौतहट जिल्ला अदालतले गरेको फैसला उपर पर्न आएको पुनरावेदनमा जो जे बुझ्नुपर्ने हो बुझौं कानुन बमोजिम इन्साफ तहकिकात गर्नु भनी दुवै थरलाई तारिख तोकी शुरू मिसिल समेत नारायणी अञ्चल अदालतमा पठाई दिने ठहर्छ भन्ने समेतको मिति ०३९।३।३१ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको निवेदन पर्न आएकोमा वादीले गहना बन्धकी राखी कर्जा रुपैयाँ लिएको र उक्त कर्जा कारोबार तथा फिराद लेखबाट वादीको यी प्रतिवादी पत्यारको मानिस देखिई गफलतमा परेको समेत नदेखिँदा ठगीको १ नं. परिभाषाभित्र पर्छ भनी पुनरावेदनमा इन्साफ तहकिकात गर्नु भनी मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा ठगीको १ नं. को त्रुटि देखिँदा उक्त त्रुटि सार्वजनिक महत्वको भई न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) खण्ड (ख) बमोजिमको अवस्था विद्यमान भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको मिति ०४०।९।७ को आदेश ।
८. पुनरावेदक प्रतिवादीहरूका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले वादीले सुन बन्धकी राखेको निखन्न नदिएको भनी ठगीको १ नं. अन्तर्गत फिराद गरेको मिलेको छैन । रसिद भर्पाईको आधारमा नासो धरौट महल अन्तर्गत नालिश गर्नुपर्ने कानुनी व्यवस्था भएकोले ठगी गर्यो भन्ने दावी पुग्न नसक्ने हुनाले अञ्चल अदालतको फैसला कायम हुनुपर्छ भन्ने र विपक्षी वादी अम्बिका देवीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापितले अञ्चल अदालतले शुरू जिल्ला अदालतको फैसला उल्टी हुने गरी गरेको फैसला मिलेको छैन भनी गर्नु भएको बहस समेत सुनियो ।
९. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ हेरी सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा ०३४ साल बैशाख १ गतेका दिन गहनाहरू बैंकमा बन्धक राख्न पर्यो भनी प्रतिवादीहरूको घरमा आई कुरा गर्दा मलाई अनेक किसिमले ललाई फकाई बेइमानी नियतले बन्धकी राखी रुपैयाँ ल्याई दिन्छु भनी पहिलो पटक रू. ४००। र अर्को पटक रू. ४००। समेत मलाई दिई बन्धकी रसिद पूर्जा माग्दा हामीलाई पत्यार गर्नुहोस रसिद पूर्जा केही चाहिँदैन भनेका र ०३५ साल चैत्र महीनामा रुपैयाँ बुझाई गहना लिन जाँदा के को सुन कस्तो सुन भनी जवाफ दिनुभएकोले जम्मा सुन ९।।। को मोल रू. १३६५०। प्रतिवादीहरूबाट दिलाई भराई सजाय समेत गरिपाउँ भन्ने वादीले ठगीको १ नं. अन्तर्गत प्रस्तुत मुद्दाको फिराद दायर गरेको देखिन्छ ।
११. वादीले आफ्नो फिरादमा प्रतिवादीहरूले ललाई फकाई ठगी गरेको भन्ने जिकिर लिएको सम्बन्धमा ठगीको महलको १ नं. हेरिएमा कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्ने मानिसलाई वा जसका जिम्मा रहेको छ उसलाई ललाई फकाई वा अरू जुनसुकै व्यहोरासँग धोका दिई वा झुक्याई गफलतमा पारी बेइमानीका नियतले लिए दिए दिलाए वा अर्काको माल मेरो हो वा मेरो भएको छ भनी लिए दिए बिक्री व्यवहार गरेमा ठगी गरेको ठहर्छ भनी उल्लेख भएको पाइन्छ । वादीले आफ्नो फिरादमा प्रतिवादीहरूलाई रू. ८००। मा बन्धकी राख्न दिएको र विश्वासको भरमा रसिद भर्पाई केही नलिएको भनी बन्धकी दिएको कुरा स्वीकार गरेको पाइन्छ । वादीका साक्षीहरूले पनि वादीले प्रतिवादीलाई सुन बन्धकीमा राख्न दिएको भनी बकपत्र गरेको समेत पाइन्छ । यस स्थितिमा बन्धकी राख्न दिएको भनी स्वीकार गरी विश्वासको भरमा रसिद भर्पाई नलिएको र सुन निखन्न जाँदा के को सुन कस्तो सुन भनी निखन्न नदिएको भनी ठगी अन्तर्गतको कार्य गरेको भनी परेको वादी दावी ठगीको १ नं. को परिभाषासँग मिल्ने देखिँदैन । रामलखन भन्ने लखनलाल कानु विरूद्ध डिल्लीराम न्यौपाने भएको ठगी भनेकोमा वादीको हक पुगी सकेको सम्पत्तिमा जालसाजी समेतको फौजदारी मुद्दा मिश्रित भएको र जालसाजी मुद्दामा वादीका लेखबाट देवानी तथा जालसाजी भयो भन्ने उल्लेख पनि नभएको ठगीको ऐनले ठगीको परिभाषाभित्र नपर्ने कुरालाई ठगीमा समावेश गरी नालेश गरेको देखिएको हुनाले अ.बं. ७२।८२ र ठगीको १ नं. बमोजिम यो वादीको फिरादबाट कारवाही तहकिकात गर्न नमिल्ने भनी सर्वोच्च अदालत फुल बेञ्चबाट मिति ०३१।१।१० मा निर्णय भई सिद्धान्त प्रतिपादित भएको देखिन्छ ।
१२. अतः उपरोक्त उल्लिखित कारण र आधारहरू समेतबाट वादीको फिराद दावी ठगीको १ नं. को परिभाषाभित्र नपर्ने हुनाले अ.बं. १८० नं. बमोजिम नालेश खारेज गर्ने गरेको नारायणी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ । ना.अं.अ.को फैसला बदर गरी कानुन बमोजिम इन्साफ तहकिकात गर्नु नारायणी अञ्चल अदालतमा मिसिल पठाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको देखिएन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०४१ साल माघ ४ गते रोज ५ शुभम् ।