निर्णय नं. २८६६ - अपुताली दर्ता नामसारी

निर्णय नं. २८६६ ने.का.प. २०४३ अङ्क ९
संयुक्तइजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४२ सालको दे.फु.नं. ७०५
फैसला भएको मिति : २०४३।९।७।२ मा
पुनरावेदक/वादी : रुपन्देही गा.पं.वसन्तपुर वार्ड नं. २ परसौनी बस्ने भगवानी अहिरनी
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ.गा.पं.सिकहन वार्ड नं. २ बस्ने सुमेश्वर अहिर
विषय : अपुताली दर्ता नामसारी
(१) अघिल्लो लोग्नेको सम्पत्तिमा अपुतालीबाट आफ्नो हक कायम गराई लिएपछि यदि विपक्षी सित पोइल जान्छ भने स्त्री अंश धनको ६ नं. ले अघिल्लो लोग्नेतर्फको सम्पत्तिमा कुनै हक कायम नरही अघिल्लो लोग्नेतर्फको कानुन बमोजिम हकवालाले खान पाउने व्यवस्था भएको र अघिल्लो लोग्नेको छोरी भएको र अपुतालीको २ नं.ले निज मरेपछि निजको हक खाने अरु कानुन बमोजिमको नजिकका हकदार नभए बाँकी छोरीले पाउने स्पष्ट कानुनी व्यवस्था भएकोले छविराजको नाउँको सम्पत्तिमा वादी दावी बमोजिम वादीको हक कायम भई नामसारी समेत गरी पाउने ठहर्छ ।
(प्रकरण नं. १२)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नीप्रसाद खरेल
प्रत्यर्थी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या.हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।९।११ को फैसला उपर मिति २०४२।१।११।३ को स.अ.डिभिजनबेञ्चको आदेशानुसार पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदन लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. मृतक मेरा बाबु चुल्हाईको स्त्री मेरी आमा छवीबाट जन्मेकी छोरी हुँ । बाबु चुल्हाई अघि नै र आमा ०३४ साल मार्ग महीनामा देहान्त भएकी र छवीराजीको म मात्र १ छोरी भएको ३ पुस्तामा हकवाला समेत नभएकोले आमाका नाउँमा दर्ता भएको जग्गा मेरा नाउँमा नामसारी गराई पाउँ भनी मालमा दर्खास्त दिएको थिएँ, विपक्षी सुमेश्वरले मेरो स्वास्नी ०३४ साल मार्गमा मरेकाले हकदार म हुँदा नामसारी गरी पाउँ भनी मालमा दर्खास्त दिएका रहेछन् । छविराजी मेरी स्वास्नी भन्ने सुमेश्वर छविराजी चुल्हाईको श्रीमती मेरो आमा भएकोले नामसारी गरी पाउँ भन्ने भगवानी अहिरनी भएकोले मृतक छविराजीको लोग्ने सुमेश्वर वा चुल्हाई को हुन् छविराजीको हक खाने पनि सुमेश्वर हुन् या छोरी भगवानी को हुन हक बेहक गराई ल्याउनु भनी मालबाट मिति २०३६।८।१० मा निर्णय भएको मृतक छवीराजी सुमेश्वरको स्वास्नी नभई चुल्हाईको स्वास्नी मेरो आमा हुन् रामनगरको शिर र शिर साथको नम्बरी समेतका जग्गा विगहा ३५।।२।।१ जिमदारी खान्गी भा.रु.१६।।। भएको जिमिदारी हिस्सा चार आना बाबु चुल्हाई देहान्त भएकोले उक्त जिमिदारी दर्ता सम्बन्धमा मुद्दा चली जिमिदारी शिर र नम्बरी जग्गा मध्ये आधी दुई आना हिस्सा मृतक चुल्हाईको छोरी म भगवानीले दर्ता गराई भोग गर्ने, आधी हिस्सा जिमिदारी मध्ये १ खण्ड आमा छविराजीले दर्ता गराई भोग गर्ने, १ खण्ड बाबु चुल्हाईको कान्छी स्वास्नीको छोरा रामवलीको विधवा स्त्री फुलमतीले दर्ता गराई भोग गर्ने गरी मिलापत्र गर्ने मध्येका फुलमतीको मञ्जूरनामा विपक्ष सुमेश्वरले दाखेल गरी म भगवानी, फुलमती र छविराजी समेतको अपील तहबाट चलेको मुद्दामा २०१६ साल आषाढ २३ गते पाल्ही माझ खण्ड गोश्वारामा मिलापत्र भएको नक्कल पेश गरेकी छु । सो बाट आमा छवीराजी बाबु चुल्हाईको म छोरी भन्ने प्रष्ट छ । चुल्हाईका नाउँको जिमिदारी जग्गा नामसारी भई छविराजीको जीउ छदाँ सुमेश्वरलाई लोग्ने भनेको नभई स्वास्नी भनी मिति २०३५।१२।८ मा मात्र दर्खास्त गरेको सुमेश्वरको स्वास्नी कायम हुने हो भने पनि मेरा बाबु चुल्हाईको सत्य डगाएको प्रकाश हुनआएको भन्नु पनि त्यस अवस्थामा स्त्री अंश धनको ६८ नं. ले अघिको लोग्ने मेरा बाबुबाट नामसारी दर्ता हुनआएको जग्गा छविराजीको हक हुन नसक्ने अपुतालीको २ नं.ले म छोरीको हुने आमाका नाउँमा दर्ता रहेको तपसीलमा उल्लिखित जग्गा मृतक मेरो आमा छविराजी मेरो स्वास्नी भएकोले म लोग्नेको नाउँमा नामसारी गरी पाउँ भनी मालपोत कार्यालयमा दर्खास्त गरी मेरो हक जग्गामा खिचोला गरेको हुँदा मालपोत कार्यालयको निर्णय म्यादभित्र फिराद गरेकी छु, छविराजीको नाउँमा दर्ता रहेको जग्गा अपुतालीको २ नं.बमोजिम मेरो हक कायम गरी उक्त जग्गा मेरो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिराद ।
३. फिरादको प्रकरण ३ मा छविराजी चुल्हाईकै सत्यमा रही परलोक भएकी भनिएको छ भने प्रकरण ४ मा छविराजी सुमेश्वरको स्वास्नी कायम नहुने भए पनि चुल्हाईको सत्य डगाएको भन्नु परी भन्ने लेखिएको छ छविराजी चुल्हाई अहिरकै स्वास्नी कायम रही मरेको भनी विश्वास लिन नसकेको, छविराजी सुमेश्वरको स्वास्नी भएको प्रकाशमा आएको, २०३४ साल मार्गमा मरेपछि मात्र मेरो स्वास्नी भनी मिति २०३५।१२।८ सुमेश्वरले दर्खास्त गरेको भन्ने फिरादको कुरा गलत हो चुल्हाई मरेपछि चुल्हाईको नाउँको रामनगरको चार आना जिमिदारी हिस्सा नामसारी गरी पाउँ भनी तत्कालीन पाल्ही माल परासीमा दर्खास्त दिँदा चुल्हाईको स्वास्नी छविराजी समेत पोइल गएको भनी लेखेको छ । छविराजीलाई पोइल गएको भनी वादीले लेख्न नपर्ने २०२६ सालको मतदाता नामावलीमा छविराजीलाई सुमेश्वरको स्वास्नी भनी प्रकाश भएको छ । नामसारी गरी पाउँ भन्ने वादीको माग दावी छ, सो जग्गा सर्भे नापीको क्षेत्रीय दर्ता किताब फिल्ड बुकमा समेत लोग्ने सुमेश्वर भनी लेखिएको छ, २०३३ सालमा नागरिकता टोलीमा नागरिकताको अस्थायी प्रमाणपत्रमा लोग्ने सुमेश्वर अहिर भनी लेखिएको चुल्हाई मरेपछि छविराजी पोईल गएको देखि फिरादीले आफ्ना बाबु चुल्हाईको सम्पत्ति मध्ये विगहा १७–१६–८ जग्गामा हक पाई अरुमा दावी छोडी मिलापत्र गरेको, सो बाट प्रष्ट देखिने चुल्हाईको सम्पत्ति मध्ये आधा जेठी स्वास्नी ठाकुर देईको अंश हक लाग्ने विगहा १७–१६–८ निजको छोरी यो वादी भगवानीले बाँकी आधामा छविराजीले र आधा विगहामा ८–१८–४ फुलमतीले दर्ता नामसारी गराई पाउने गरी २०२६।३।२३ मा पाल्ही माझ खण्ड गोश्वरामा मिलापत्र भएको, सोही अनुसार दर्ता नामसारी भई भोग तिरो गरेकोमा फुलमतीको हक फिरादीको जेठाजु राम नरेशले हक छुटाई लिएको र फुलमती पनि मरिसकेकी र छविराजीको हक जति मुलुकी ऐन जग्गा पजनीको ४ नं.देहाय २ ले दिएको सुविधा अनुसार त्यसै धुरीमा लोग्ने स्वास्नीले सम्पत्ति भोग गर्न पाउने भई भोगी आएको छविराजी मरेको र आजसम्म सोही घरमा म बसी आएको छु । मेरो स्वास्नी छविराजीको अपुतालीका २ नं.अनुसार मेरो स्वास्नी छविराजीका नाउँमा दर्ता रहेको वादी दावीको जग्गामा मेरो हककायम गरी मेरै नाउँमा दर्ता नामसारी गराई पाउँ भन्ने सुमेश्वर अहिरको प्रतिवादी परेको रहेछ ।
४. वादी प्रतिवादीका साक्षीको बकपत्र भएको ।
५. मालपोत कार्यालयबाट आएको नामसारी गरी पाउँ भन्ने नं. ७३ को मिसिल प्रमाणमा रहेछ ।
६. चुल्हाई मरेकाले निजका नाउँको चल अचल श्रीसम्पत्ति नामसारी दर्ता गराई पाउँ भन्ने दावी निजले नै पेश गरेको मिलापत्रबाट पोइल गएको भन्ने किटान गरेको सुमेश्वरले मेरी स्वास्नी हो भनी पछि पोइल गएको कुरा पछि प्रकाशमा आएको भन्ने वादी २०१६।३।२३ को मिलापत्रमा वादीले दावी गरेकी वादी खण्डमा आमा पोइल गैसकेकी भन्ने कुरा छर्लड्ड गरिएको छ । २००९।२।३१ गते रामवली अहिरलाई गरिदिएको बकसमा पनि बुहारीहरू पोइल गइसकेको भन्ने लेखिएको पेश भएको नक्कलबाट देखिन आयो । सक्कल फिल्डबूक झिकाई हेर्दा कैफियत खण्डमा प्रतिवादी सुमेश्वरले यो जग्गा मेरी स्वास्नी छविराजीको नाउँको हो मैले जोती आएको छु भन्ने लेखिएको किसानको नाममा सुमेश्वर र जग्गावालाको नाममा छविराजी लेखिएको देखियो । छविराजी सुमेश्वरको स्वास्नी नभए फिल्डबूकमा दर्ता हुँदाकै अवस्था जनिएको त्यसमा कुनै विवाद नहुँदा छविराजीको लोग्ने सुमेश्वर अहिर रहेनछ भन्ने २०२३।८।२४ मा पाएको नागरिकताको अस्थायी प्रमाणपत्रमा लोग्ने सुमेश्वर अहिर भनी जनिएकोबाट अपुतालीको २ नं. बमोजिम नजिकको हकदार लोग्ने भई मौजुद अघिल्लो लोग्ने पट्टिको छोरीले आमाको अपुताली भनी आमाका नाउँको जग्गा नामसारी गरी पाउँ भन्ने समेत दावी नपुग्ने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको ०३७।६।२१ को फैसला रहेछ ।
७. विपक्षी सुमेश्वर अहिर मेरो बाबु चुल्हाईको श्रीमती मेरी आमा छविराजीको लोग्ने होइन बाबु चुल्हाईको सत्यमा रहेको हैसियतले आमा छविराजीका नाउँमा सम्पत्ति रही आएको हो र आमाको मृत्यु भएको हो, सम्पूर्ण मिसिल तलब गरी प्रमाण बुझी शुरु रुपन्देही जिल्ला अदालतको मिति २०३७।६।२१ को फैसला इन्साफ उल्टाई मेरो फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको भगवानी अहिरको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको रहेछ । भगवानी अहिरनीले सुमेश्वरको स्वास्नी छविराजी होइनन् चुल्हाई हो भनी जिकिर लिएकोमा सुमेश्वरले मेरै स्वास्नी भनी सबूद समेत पेश गरेको मिसिलबाट देखिन आउँछ । छविराजी चुल्हाई या सुमेश्वर कस्की श्रीमती भन्ने प्रश्न उपस्थित भइसकेकोमा सो निराकरण अ.बं.८० अनुसार गर्नु पर्नेमा सो कारवाही नअपनाई नै छविराजीको लोग्ने सुमेश्वर कायम गर्ने गरेको शुरुको फैसला मिलेको देखिएन । अतः अ.बं.२०२ नं.क्षे.अ.नि.२०३६ बमोजिम विपक्षी तारेखमा हुँदा झिकाइरहन परेन भन्ने सिंगलबेञ्चको मिति २०४०।८।१९।२ को आदेश रहेछ ।
८. पाल्ही मालको २०१५।४।२८ को फैसलाबाट भगवानीलाई छविराजीको उदरबाट जन्मेकी छोरी भन्न मिल्ने देखिएन । जेठी स्वास्नी ठकुर देइयाकी छोरी भन्ने देखिन्छ । यस स्थितिमा प्रस्तुत केशमा सौतेनी छोरीले अपुताली पाउन सक्ने भन्न मिलेन । वादी दावी पुग्न सक्दैन । रुपन्देही जिल्ला अदालतको इन्साफ मनासिब ठहरेकोले पुनरावेदक भगवानी अहिरको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने प.क्षे.अ.को मिति ०४१।९।११।३ को फैसला रहेछ ।
९. वादी दावी पुग्न सकेन भनी प.क्षे.अ.ले गरेको फैसला उपर चित्त बुझेन उक्त फैसलामा सार्वजनिक महत्वको प्रत्यक्ष कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा वादीको पर्न आएको निवेदनमा पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं.१८४(क) र स्त्री अंश धनको ६ नं. तथा अपुतालीको २ नं.समेतको त्रुटि भएको र उक्त त्रुटि सार्वजनिक महत्वको समेत भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति ०४२।१।११ को आदेश रहेछ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा तारेखमा रही बेञ्च समक्ष उपस्थित भएका पुनरावेदक वादी भगवानी अहिरनीको वारेश श्याम सिंह प्रधानलाई समेत रोहवरमा राखी पुनरावेदक वादीको तर्फबाट बहसलाई उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री अग्नीप्रसाद खरेल र विपक्षी प्रतिवादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस जिकिर समेत सुनियो ।
११. यसमा वादी दावी नपुग्ने नठहर्याई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आएको छ ।
१२. यसमा क्षे.अ.बाट छविराजीको अपुताली परेको वादी भगवानी छविराजीको सौतेनी छोरी देखिएकोले सौतेनी छोरीले अपुताली पाउने भन्न नमिल्ने भन्ने आधारमा वादी दावी नपुग्ने ठहर्याए उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी भगवानीको निवेदन परी बेञ्च समक्ष पेश हुँदा छविराजी पोइल गएपछि सम्पत्तिमा छविराजीको हक नपुगी छोरी भगवानीको हक पुग्ने हुँदा वादी दावी नपुग्ने ठहर्याएको इन्साफ नमिलेको भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान गरी विपक्षी समेत झिकाई पेश हुनआएकोमा पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री अग्नीप्रसाद खरेल र विपक्षीतर्फबाट वरिष्ठ अधिवक्ता श्री मुकुन्दप्रसाद रेग्मीले गर्नुभएको बहसलाई ध्यानमा राखी क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेतर्फ निर्णय दिन सर्वप्रथम विपक्षीतर्फबाट मालबाट भएको जुन पर्चाको आधारमा प्रस्तुत मुद्दामा दावी लिई आएको छ सो पर्चा बमोजिम छविराजीको नाता कायमतर्फ फिरादबाट दावी नै नलिएको भन्ने र पुनरावेदक तर्फबाट नातामा विवाद उठेको कुरामा अ.बं.८० नंं. बमोजिम बयान गराई निर्णय हुन पर्ने भन्ने जिकिरको सम्बन्धमा मालको पर्चाबाट छविराजी वादीको बाबु चुल्हाईको स्वास्नी हो वा सुमेश्वरको स्वास्नी हो त्यसतर्फ ठहर हुनु बेगर उपर परेको अपुतालीमा वादीको हक पुग्ने नपुग्ने ठहर हुन नसक्ने भनी त्यसतर्फ निर्णय गराई ल्याउन सुनाइएकोमा वादीले आफ्नो फिरादमा छविराजी आफ्नु बाबु चुल्हाईकै स्वास्नी भई निज मरेको हुँदा अरु हक खाने कोही नहुँदा परेको अपुतालीमा म छोराको हक कायम गरी पाउँ पोइल गएकै भए पनि पोइल जानेको बाबु चुल्हाईको सम्पत्तिमा कुनै हक नरहने हुँदा छोरीको नाताले मेरो हक हुनुपर्ने हुँदा हक कायम गरी नामसारी गरी पाउँ भन्ने मुख्य दावी लिएकोबाट निज छविराजीलाई चुल्हाइकै स्वास्नी कायम गरी निज मरेको हुँदा एक मात्र हक खाने छोरी वादीको हक कायम गरी पाउँ पोइल गएकै भए पनि छोरीकै हक हुँदा भएको सम्पत्तिमा हक कायम गरी पाउँ भन्ने दावी भएकोबाट यस सम्बन्धी दुवै पक्षको जिरहसंग सहमत हुन नसकी प्रस्तुत फिरादबाट दावीको कुरामा इन्साफ दिन कुनै बाधा देखिन आएन । अब वादीले दावी गरे बमोजिम छविराजीको नाउँको सम्पत्तिमा वादीको हक पुग्ने नपुग्ने के हो भन्नेतर्फ विचार गरिएमा छविराजीको नाउँमा वादी दावीको जे जो सम्पत्ति रहेको छ सो सम्पत्ति यिनै वादी र छविराजी समेतको बीचमा यिनै वादीका बाबुको सम्पत्तिमा अपुताली सम्बन्धी मुद्दा परी मिलापत्र भई वादीका बाबु चुल्हाईका नाउँको सम्पत्तिको ४ खण्डको १ खण्ड छविराजीका नाउँमा दर्ता हुन गएकोमा वादी र प्रतिवादीको बीच कुनै विवाद देखिन नआएकोले छविराजीको नाममा रहेको वादीले छविराजी परलोक भई अपुतालीबाट आफ्नो हक भएको भनी दावी गरेको सम्पत्ति चुल्हाइको नामबाट छविराजीको नाममा आएकोमा कुनै शङ्का रहन आएन । यसरी छविराजीको नाममा रहेको सम्पत्तिमा वादीले निज छविराजीलाई आफ्ना बाबु चुल्हाइकी स्वास्नी भनी देखाई निज मरी निजको अपुताली खाने अरु हकदार कोही नभई अपुतालीको नं. २ बमोजिम आफ्नो हक हुनआएको भनी दावी गरेकोछ भन्ने प्रतिवादीले निज छविराजी आफ्नो स्वानी भई निज मरी अपुतालीको २ नं.बमोजिम आफ्नो हक भएको भनी दावी गरी सो को प्रमाणमा जुन मिलापत्रबाट वादी दावीकै जग्गा छविराजीको नाममा दर्ता हुनआएको छ सोही मुद्दामा यिनै वादीले छविराजीलाई पोइल गैसकेको भनी देखाई चुल्हाइका नाममा रहेको सम्पत्ति अपुतालीबाट आफ्नु हक भएको आफ्नो नाममा नामसारी गरिपाउँ भनी दावी लिएकोमा सोही मुद्दामा शुरु पाल्ही माझ खण्ड मालबाट निज छविराजीलाई पोइल गएको ठहर्याई चुल्हाइका नामको सबै सम्पत्ति सोही मुद्दाका प्रतिवादी चुल्हाइका छोरा रामवलीकी स्वास्नी फुलमतीको हक कायम गरी फैसला गरे उपर यिनै वादी भगवानीको अपील परी गएकोमा यिनै वादीले आफूले पोइल गइसकेकी भनी दावी लिए बमोजिम पाल्ही माझ खण्ड मालबाट पोइल गएकै ठहर्याएका छविराजीका नाममा चुल्हाइको सम्पत्ति मध्ये ४ खण्डको १ खण्ड दर्ता हुने गरी मिलापत्र गरेकोबाट पोइल गएकी छविराजीले मिलापत्रबाट पाएको वादी दावीको सम्पत्ति निज मरे पछि अपुतालीका २ नं.ले लोग्ने विपक्षी सुमेश्वरको हक हुने भनी यिनै वादी र छविराजी तथा फुलमती प्रतिवादी भएको अपुताली हक कायम गरी नामसारी गरी पाउँ भन्ने मुद्दामा पाल्ही माझ खण्ड गोश्वराबाट २०१६।३।२३।३ मा भएको मिलापत्रलाई देखाएको देखिन आउँछ । वादीको तर्फबाट पनि यदि छविराजी पोइल गएकी भए पनि निजको नाममा रहेको सम्पत्ति आफ्ना बाबु चुल्हाइको स्वास्नीको नाताबाट पाएको हुँदा पोइल गैसकेपछि अघिल्लो लोग्ने तर्फको सम्पत्तिमा निजको कुनै हक नरहने हुँदा आफू चुल्हाइको अपुताली हक खान पाउने एक मात्र छोरी हुँदा दावीको छविराजीको नामको सम्पत्तिमा आफ्नो हक कायम हुने र आमा छविराजी पोइल गएको भन्ने कुरा निज मरे पछि विपक्षीको भनाइबाट मात्र थाहा भएको भनी फिरादबाट दावी लिएको पनि देखिन आएकोले प्रमाणको रुपमा आएको मिसिल साथ रहेको सो मिलापत्रको नक्कल हेरिएमा सो मिलापत्र भएको मुद्दामा यिनै वादी भगवानीले आफ्ना बाबु चुल्हाई मरेको निजकी यिनी छविराजी समेतका दुवै स्वास्नी पोइल गई बाबु चुल्हाइको हक खाने एक मात्र आफू छोरी भएको हुँदा चुल्हाइको नामको जिमिदारी समेतको सम्पत्ति आफ्नो नाउँमा नामसारी गरी पाउँ भनी पाल्ही माझ खण्ड मालमा दर्खास्त दिई चलेको कारवाहीमा छविराजीले आफू पोइल गएको कुरा इन्कार गरी लोग्ने चुल्हाइकै सत्यमा रहेको देखाई चुल्हाइको नामको जिमिदारी सहित सम्पत्ति आफ्नो नाममा नामसारी गरी पाउनु पर्ने भनी र अर्का प्रतिवादी फूलमतीले आफूलाई चुल्हाइको छोरा रामवलीका स्वास्नी भनी देखाई चुल्हाइकी स्वास्नी वादीकी आमा ठाकूर देही र आफ्ना लोग्नेकी आमा यिनै छविराजी समेत पोइल गएकी हुँदा चुल्हाइको नामको जिमिदारी समेतको सम्पत्ति अपुतालीबाट आफ्नो हक भई आफ्नो नाममा नामसारी हुनुपर्ने भनी दावी लिएकोमा पाल्ही माझ खण्ड मालबाट चुल्हाइको सम्पूर्ण सम्पत्ति प्र.फुलमतीको नाममा नामसारी गरी पाउने भन्ने ठहर गरेकोमा गोश्वरामा अपील गरी कारवाही चलेको अवस्थामा चुल्हाइको नामको जिमिदारीको शिर जग्गा र नम्बरी जग्गा मध्ये आधी यिनी वादीको नाममा र बाँकी आधी मध्येको आधी छविराजीको नाममा र आधी फुलमतीको नाममा नामसारी दर्ता गर्ने गरी वादी भगवानी र प्र.छविराजीको अपील जिकिर समेत छोडाई मिल्न मन्जूर गरी मिलापत्र भएको देखिन आएको छ । सो मिलापत्र भएको भनेको मिसिल आउन सकेको देखिएन । मिलापत्रको शीर खण्डको व्यहोरामा माझ खण्ड मालको फैसला उपर यी वादीको भगवानीको मात्र अपील परी गएको भन्ने स्थिति देखिए पनि मिलापत्रको मूल व्यहोरामा वादी भगवानीको र छवीराजीको अपील जिकिर छोडाई भन्ने व्यहोरा परेकोबाट सो मुद्दामा पा. माझखण्ड मालको फैसला उपर छविराजीको अपील नपरेको भनी यकीन रुपबाट भन्न सकिने स्थिति पनि रहन आएन । यस्तो अवस्थामा यिनै वादीले सो मुद्दामा आफैं वादी भई छविराजीलाई पोइल गइसकेकी भनी देखाएकै भए पनि सोही मुद्दामा छविराजीले प्रतिवादीको रुपमा रही आफू पोइल गएकोमा इन्कार रहेकोबाट छविराजी पोइल गएको भन्ने कुरा वादी र प्रतिवादीको बीच मुख नमिली रहेको स्पष्ट छ र सोही मुद्दामा चुल्हाईको नामको जिमिदारी समेतको सम्पत्ति मध्ये ४ खण्डको १ खण्डमा छविराजीको हक कायम गरी नामसारी गर्न मञ्जूर गरी मिलापत्र गरेपछि निजलाई सो सम्पत्ति विपक्षीतर्फको जिकिर बमोजिम निज पोइल गइसकेको कायम गरी दिएको होला भनी मिलापत्रमा स्पष्ट शब्दको सो व्यहोरा उल्लेख हुनु बेगर मान्न कानुनले मिल्ने देखिन नआएकोले छविराजीलाई निजको दावी बमोजिम चुल्हाइको स्वास्नी नै मानी निज चुल्हाईको सम्पत्ति मध्ये ४ खण्डको एक खण्डमा हक दिई नामसारी गराएको भन्नु पर्ने हुनआएको छ । निज छविराजी सो मिलापत्र हुनुभन्दा अगावै पोइल गइसकेकी हुन भनी विपक्षीतर्फबाट सो मिलापत्र हुन अघिको जिम्दारी नामसारी गरी पाउँ भन्ने भगवानीयाले पाल्ही माझ खण्डमा दिएको दर्खास्तमा २०१५।४।२८ मा पा.मा.बाट भएको फैसला प्रमाणको रुपमा देखाएको देखिन्छ तर सो प्रमाणको बाबजुद पनि २०१६।३।२३।३ मा उक्त बमोजिम मिलापत्र भएकोबाट अब ती प्रमाणहरूको कुनै कानुनी मान्यता रहने देखिन आउँदैन जहाँसम्म मिलापत्र भएपछि छविराजीको नामबाट भूमिसम्बन्धी ऐन बमोजिम ७ नं. फाराम भर्दा सोमेश्वरलाई लोग्ने भनी देखाएको निजैलाई लोग्ने भनी देखाई नागरिकताको प्रमाणपत्र लिएको र छविराजीको नाउँको जग्गा नापी हुँदा जग्गाधनीमा छविराजी देखाई जोताहामा लोग्ने विपक्षी सोमेश्वरले जोती आएको भनी देखाएको हुँदा सो मौकामा वादीले दावी लिई विवादको जग्गाहरूमा हक कायम गराई लिन पर्नेमा मरी सकेपछि मात्र थाहा पाएको भन्न नमिल्ने भन्ने विपक्षीतर्फको जिकिरको हकमा पनि माथि लेखी देखाइए बमोजिम छविराजीलाई आफ्ना बाबु चुल्हाइकी स्वास्नी कायम मानी ४ खण्डको १ खण्डमा हक दिई नामसारी गराई दिएपछि निज छविराजीले के कसरी ७ नं. फाराम भरे के कसरी नागरिकताको प्रमाणपत्र लिए नापी गराउँदा के कसरी नापी गराए वादीलाई कुनै सरोकारको कुरा नभएकोले वादीले त्यस तर्फ खोजी रहनु पर्ने कुनै कारण नरहेको तर निज मरेपछि आफ्ना बाबु चुल्हाइको सम्पत्तिको आफू एकमात्र हक खाने छोरी भएको हुँदा आफ्नो अपुताली हक कायम गराउँन जाँदा विपक्षीले निज छविराजी आफूसित पोइल आई आफू लोग्ने भएको नाताबाट निजको नाउँमा रहेको सम्पत्तिमा अपुतालीको नाताबाट आफ्नो हक हुने भनी दावी गर्न आएकोबाट मात्र वादीलाई सो कुरा थाहा हुनआएको देखिन आएकोले विपक्षीतर्फको यो जिरह मनासिब देखिन आएन । अब प्रस्तुत मुद्दामा विपक्षीले दावी गरे बमोजिम छविराजी विपक्षीसित पोइल आएकै भए पनि उक्त मिलापत्र भए पछि मात्र मान्नु पर्ने हुँदा यसरी अघिल्लो लोग्नेको सम्पत्तिमा अपुतालीबाट आफ्नो हक कायम गराई लिए पछि यदि छविराजी विपक्षीसित पोइल जान्छ भने स्त्री अंशधनको ६ नं. ले अघिल्लो लोग्ने तर्फको सम्पत्तिमा छविराजीको कुनै हक कायम नरही अघिल्लो लोग्ने तर्फको कानुन बमोजिम हकवालाले खान पाउने व्यवस्था भएको र वादी छविराजीको अघिल्लो लोग्ने चुल्हाइकी छोरी भएको र अपुतालीको २ नं.ले निज चुल्हाई मरेपछि निजको हक खाने अरु कानुन बमोजिमको नजिकका हकदार नभए वादी छोरीले पाउने स्पष्ट कानुनी व्यवस्था भएकोले छविराजीको नाउँको सम्पत्तिमा वादी दावी बमोजिम वादीको हक कायम हुने भई नामसारी समेत गरी पाउने ठहर्छ यस स्थितिमा क्षेत्रीय अदालतबाट वादीलाई मर्ने छविराजीको सौतेनी छोरी भनी वादी दावी नपुग्ने ठहर्याएको कानुन विपरीत देखी उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी पुनरावेदक भगवानी अहिरनी के माथी इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी अनुसार अपुताली पाउने ठहरी फैसला भएकोले शुरु रुपन्देही जिल्ला अदालतमा फिराद दर्ता गर्दा मिति ०३६।९।१२।५ मा राखेको कोर्टफी रु.२६५।– अन्य दस्तूर रु.१०। र पुनरावेदन दर्ता गर्दा लुम्बिनी अञ्चल अदालतमा मिति ०३७।७।२०।४ मा राखेको कोर्ट फी रु.३६।८४ समेत गरी जम्मा रु.३११।८४ कोर्टफी ऐन, २०१७ को दफा १५(१) र १६(१) बमोजिम प्रतिवादी सोमेश्वर अहिरबाट भरी पाउने हुँदा कानुनको म्यादभित्र प्रतिवादीको जेथा देखाई दर्खास्त परेको अवस्था कुनै दस्तूर नलिई भराई दिनु भनी लगत राख्नु शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ..........१
प.क्षे.अ.डिभिजनबेञ्चको मिति ०४१।९।११।३ को को इन्साफ उल्टी भएकोले मा.मु.न्या. श्री प्रचण्डराज अनिल र मा.न्या.श्री मोहनबहादुर श्रेष्ठको उल्टी रेकर्ड राख्नु ..........२
नियम बमोजिम गरी मिसिल बुझाई दिनु ............. ३
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इतिसम्वत् २०४३ साल पौष ७ गते रोज २ शुभम् ।