शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२०१ - लिखत दर्ता बदर

भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२

निर्णय नं. २२०१   ने.का.प. २०४१           अङ्क १२

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४० सालको डि.दे.पु.नं. ४६८

मुद्दा : लिखत दर्ता बदर

पुनरावेदक/वादी : जिल्ला झापा डुवागडी गा.पं. चारआली गा.पं. वा.नं. ८ बस्ने पेची राजवंशीनी

ऐ ऐ बस्ने किशोर कुमार राजवंशी

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने तीर्थराज सुवेदी

ऐ ऐ बस्ने कार्तिक चन्द्र राजवंशी

ऐ ऐ बस्ने झरी राजवंशी

फैसला भएको मिति :   २०४१।१२।२।६ मा

§  लेनदेन व्यवहारको १० नं. ले व्यवस्था गरेका कुराको सम्बन्धमा सोही ऐनमा लेखिएको हदम्याद नै लागू हुने ।

(प्रकरण नं. १४)

पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

विपक्षी प्रतिवादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

          २.  विपक्षी झरी राजवंशी काकी सासू र कार्तिक राजवंशी पति बाबु नाताका हुन् अंशबण्डा भएको छैन । ०३३ सालमा कार्तिकचन्द्रसँग घरमा झगडा हुँदा तेरो हकको सब बिक्री गरी दिन्छु भनी वार वार धम्की दिएकोले निजले जग्गा बिक्री गरेको पास नहोस भनी मैले प्र.जि.अ.मा निवेदन दिएको छु । कार्तिकचन्द्र समेत आसामी भई तीर्थराज सुवेदी साहू भई रू. ७,०००। मा डुवागडी गा.पं. वा.नं. ८ को कि.नं. १२०, १९९, १२१ समेतको जग्गा बिगहा ३१०० राजीनामा लिखत गरी ०३४।२।१० गते पास गरेका छन् । पछि तीर्थराज सुवेदीले जग्गा जोत्न आएकोले थाहा भयो हाम्रो ४ अंश लाग्ने हुँदा छोरा किशोरकुमार राजवंशी नाबालकको हकमा समेत संरक्षक भई हाम्रो अंश जग्गा समेत जम्मा बिगहा ३१०० मध्ये आधा बिक्री गरेको लिखत र त्यसबाट गरेको दर्ता समेत बदर गरिपाउँ भन्ने समेतको पेची राजवंशीको फिराद ।

          ३.  फिरादी आफ्नै पति समेत एकाघरमा रहेको कुरा प्रमाणित छ । घरको मूलीलाई सम्पत्ति बेचबिखन गर्ने अधिकार छ । १५ वर्ष सहवास नभई उमेर ३५ वर्ष नपुगेसम्म स्वास्नीले अंश नपाउने अंशबण्डाको १० नं. समेतले तोकेको छ । लेनदेन व्यवहारको ८ नं. ले मुख्य भई कामकाज गरेकोले लेनदेन व्यवहारको ९ नं. ले फिरादीहरूको हकै नपुग्ने हुँदा निजहरूसँग मञ्जूरी लिई रहनु नपर्ने हुँदा अ.बं. ८२ नं. ले फिराद नै खारेज हुने हो । दाताले आफ्नो नाउँको जग्गा बिक्री गर्न फिरादीहरूको स्वीकृति लिइरहनु नपर्ने, सगोलमा हुँदा सबै कुरा पहिले नै जानकारी भएकोमा ०३५।२।९ मा मात्र थाहा पाएको उल्लेख गरेको हुँदा फिराद दायर रहन नसकी बदरभागी छ । प्र.जि.अ.को सिफारिशमा रजिष्ट्रेशन पास भएकोले दर्ता बदर हुने होइन झुठ्ठा दावीबाट अलग गराई वादीलाई नै सजाय गरिपाउँ भन्ने प्र.तीर्थराजको प्रतिउत्तरपत्र ।

          ४.  दावाको जग्गा मध्ये झरीको आधा कटाई बाँकी आधा कार्तिकचन्द्रको भाग हुने मध्येबाट आधा बिक्री गरेको जग्गा मध्ये ४ भागको एक भाग जग्गा ०१७० प्रतिवादी तीर्थराजले गराई लिएको लिखत दर्ता बदर हुने र ४ भागको १ भाग थैली कपाली हुने समेत ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको फैसला ।

          ५.  शुरू अदालतको इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी तीर्थराज सुवेदीको मेची अञ्चल अदालतमा परेको पुनरावेदन ।

          ६.  शुरूले ठहराएको इन्साफ मिलेन । पारित राजीनामा पुरै सदर हुने ठहर्छ भन्ने मेची अञ्चल अदालतको ०३८।६।१।५ को फैसला ।

          ७.  मेची अञ्चल अदालतको फैसला प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँभनी पूर्वाञ्चल क्षेत्रीय अदालतमा निवेदन परेको पुनरावेदनको अनुमति दिइएको रहेछ ।

          ८.  वादीले फिराद दिँदा कार्तिक राजवंशी र झरी राजवंशीले आफूखुस गर्न नपाउने सम्पत्ति भनी जिकिर लिन सकेको देखिएन । ०३४।२।१० मा पारित गरी बिक्री गरेकोमा ०३५।२।९ मा थाहा पाएको भन्ने वादी दावी देखियो । यसकारण बिक्री बदर नगर्ने गरी अञ्चल अदालतबाट भएको फैसलामा कुनै कानुनी त्रुटि भएको नदेखिँदा कुनै परिवर्तन गर्न परेन । इन्साफ सो अदालतको मनासिव छ भन्ने समेत पू.क्षे.अ. को ०४०।१।२६ को फैसला ।

          ९.  उक्त पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीको यस अदालतमा निवेदन परेकोमा विवादित जग्गा पैतृक सम्पत्ति हो भन्ने निर्विवाद देखिन आएको, त्यस्तो पैतृक सम्पत्ति आफूखुस गर्न पाउने भन्दा बढी बिक्री बदर नगर्ने गरी मे.अं.अदालतले गरेको इन्साफ सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले फैसला लेनदेन व्यवहारको १० नं. तथा अंशबण्डाको १९ नं. समेतको त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको ०४०।८।२८।४ को आदेश ।

          १०.  पुनरावेदक वादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले विवाद जग्गा पैतृक सम्पत्ति हो भन्ने कुरामा कुनै विवाद छैन । त्यस्तो पैतृक सम्पत्ति बेचबिखन गर्दा उमेर पुगेका अंशियार समेतको मञ्जूरी लिनु पर्नेमा अंशियारको मञ्जूरी नै नलिई गरेको बिक्री व्यवहारलाई सदर गर्ने गरी मेची अञ्चल अदालतले गरेको फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा लेनदेन व्यवहारको १० नं. समेतको त्रुटि हुँदा उक्त फैसला बदर भई वादी दावी बमोजिम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          ११.  प्रस्ततु मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमनासिव के रहेछ सोको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १२.  यसमा निर्णयतर्फ हेर्दा लोग्नेले बिक्री गरेको सम्पत्ति हाम्रो समेत अंश हक लाग्ने हुँदा हाम्रो हक जति ४ भागको २ भाग लिखत बदर गरिपाउँ भनी नाबालक छोराको हकमा समेत भन्दै पेची राजवंशीनीको लेनदेन व्यवहारको १० नं. तथा अंशबण्डाको १९ नं. अन्र्तगत फिराद परेको देखिन्छ ।

          १३.  शुरू झापा जिल्ला अदालतले ४ भागको १ भाग मात्र लिखत बदर हुने ठहर्‍याएको फैसला उपर वादीहरूले पुनरावेदन नगरी चित्त बुझाई बसेकोले त्यस तर्फ केही विचार गर्नु परने । लिखत सदर गर्ने गरेको मेची अञ्चल अदालतको फैसलालाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर वादीले अनुमति प्राप्त गरी पेश भएको पुनरावेदन जिकिर तर्फ हेर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला हेरिएमा ०३४।२।१० मा पारित गरी बिक्री गरेकोमा ०३५।२।९ मा थाहा पाएको भन्ने वादी दावी हुँदा मेची अञ्चल अदालतबाट भएको फैसलामा कुनै त्रुटि नहुँदा कुनै परिवर्तन गरी रहनु परेन भनी निर्णय गरेको पाइन्छ ।

          १४. विवादको जग्गा पैतृक सम्पत्ति भनी फिरादीले दावी गरेको देखिन्छ । उक्त जग्गा पैतृक सम्पत्ति होइन भनी प्रतिवादीले कुनै जिकिर लिन सकेको छैन । अंशबण्डाको १९ नं. ले पिता पूर्खाको पालाको अचल सम्पत्ति आधा भन्दा बढी बिक्री गर्दा सो ऐन बमोजिम मञ्जूरी लिएको थियो भनी प्रतिवादीले जिकिर लिन सकेको पाइँदैन । मेची अञ्चल अदालतबाट लेनदेन व्यवहारको ११ नं. ले एकाघरका सगोलमा उमेर पुगेकोले थाहा पाएकोमा सगोलमा भएको मुख्य समेत सबैले थाहा पाएको ठहर्छ भन्ने बुँदा उल्लेख गर्दै ०३४।२।१० मा रजिष्ट्रेशन पारित भएको भएपछि फिरादी समेतले सोही मितिमा थाहा पाएको भन्नु पर्ने हुँदा ०३५।२।९ मा मात्र थाहा पाएको भनी फिरादीले नपुग्ने दावी लिएको हुँदा शुरूले गरेको इन्साफ मिलेन पारित राजीनामा पुरै सदर हुने ठहर्छ भनी गरेको फैसलालाई पूर्वाञ्चल क्षेत्रीय अदालतले सदर गरेको देखिन्छ । लेनदेन व्यवहारको ११ नं. ले बिक्री व्यवहार भएको अचल सम्पत्ति निखन्ने सम्बन्धमा म्याद उल्लेख गरेको छ । त्यसबाट एकाघरमा सगोलमा उमेर पुगेको कसैले थाहा पाएकोमा सगोलमा भएका मुख्य समेत सबै हकवालाले थाहा पाएको ठहर्छ भनी निखन्ने म्यादका सम्बन्धमा व्यवस्था गरेको पाइन्छ । लेनदेन व्यवहारको १० नं. ले व्यवस्था गरेको कुराका सम्बन्धमा सोही ऐनमा लेखिएको हदम्याद नै लागू हुन्छ । तर लेनदेन व्यवहारको ११ नं. ले निखन्ने सम्बन्धमा एकासगोलको मुख्यले थाहा पाएको उमेर पुगेको सबैले थाहा पाएको ठहर्छ भन्ने लेखिएको कुरा प्रस्तुत मुद्दाको सन्दर्भमा लागू गर्न मिल्ने हुँदैन । विवादित जग्गा बिक्री भएको लिखत ०३४।२।१० मा पारित भएको भन्ने देखिन्छ । प्रस्तुत फिराद ०३५।२।९ मा थाहा पाएको भन्दै ०३५।३।१२ मा दायर भएको देखिन्छ । तसर्थ रजिष्ट्रेशन पास भएको मितिले लेनदेन व्यवहारको १० नं. ले व्यवस्था गरेको म्यादभित्रै फिराद दायर भएको देखिँदा दावीको जग्गा मध्ये झरीको आधा कटाई बाँकी आधा कार्तिकचन्द्रको भाग हुने मध्येबाट आधा बिक्री गरेको जग्गा मध्ये ४ भागको १ भाग जग्गा ०१७० कठ्ठा प्रतिवादी तिर्थराजले गराई लिएको लिखत दर्ता बदर हुने र ४ भागको १ भाग थैली कपाली हुने समेत ठहर्छ भनी झापा जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । लिखत सदर गर्ने गरेको मे.अं.अ.को इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । तपसील बमोजिम गर्नु ।

         

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम मेची अञ्चल अदालतको फैसला उल्टी भएकोले सो अञ्चल अदालतको मिति ०३८।६।१।५ का फैसलाले कस्ने गरेको देहाय बमोजिमको लगत अनुसार गर्नु नपर्ने हुँदा सो लगत कट्टा गरी दिनु भनी झापा जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु.............१

प्रतिवादी तिर्थराज सुवेदीलाई धरौटी रहेकोबाट फिर्ता दिने गरेको कोर्टफी रू. २।५० को कलम १, वादीबाट प्र.तिर्थराजलाई भराई दिने गरेको कोर्टफी रू. ।३७ पैसाको कलम १

पुनरावेदक वादी पेची राजवंशीके शुरू झापा जिल्ला अदालतका मिति ०३७।३।४।३ को फैसलाले प्रतिवादीबाट वादीलाई भराइने गरेको कोर्टफी रू. २।५० प्रतिवादीले मेची अञ्चल अदालतमा पुनरावेदन गर्दा मिति ०३७।५।३।३ मा अञ्चल अदालतमा धरौट राखेको देखिँदा सो धरौटी रहेको कोर्टफीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र वादीको दर्खास्त परे दस्तूर केही नलिई धरौटी रहेकोबाट वादीलाई भराई दिनु र शुरू जिल्ला अदालतको फैसलाले प्रतिवादीबाट भराई दिने गरी सकेको कोर्टफीको लगत कट्टा गरी दिनु भनी झापा जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु......................२

पुनरावेदक वादी पेची राजवंशी के निजले पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन दर्ता गर्दा मिति ०३९।४।२५ मा दाखिल गरेको कोर्टफी र अन्य दस्तूर समेत रू. ६। र सर्वोच्च अदालतमा पुनरावेदन गर्दा मिति ०४०।९।१० मा राखेको कोर्टफी रू. ३। समेत प्रतिवादीबाट भराई पाउँ भनी कानुनको म्यादभित्र वादीको दर्खास्त परे कानुनको रीत पुर्‍याई दस्तूर केही नलिई प्रतिवादीबाट भराई दिनु भनी झा.जि.अ.मा लेखी पठाउन काठ.जि.अ.मा लगत दिनु.............३

इन्साफ खण्डमा मेची अञ्चल अदालतको मिति ०३८।६।१।५ को फैसलाले तत्कालीन झापा जिल्ला अदालतका जिल्ला न्यायाधीश योगनाथ उपाध्यायको इन्साफ उल्टीमा रेकर्ड राख्ने गरेकोमा शुरूको इन्साफ सदर भएकोले सो रेकर्ड राख्नु पर्दैन भनी मेची अञ्चल अदालतमा लेखी पठाई दिनु................४

इन्साफ उल्टीमा पूर्वाञ्चल क्षेत्रीय अदालतका तत्कालीन मा.न्या. श्री प्रचण्डराज अनिल र मा.न्या. श्री जनार्दनलाल मल्लिक तथा मेची अञ्चल अदालतका तत्कालीन अञ्चल न्यायाधीश श्री तुल्सीप्रसाद श्रेष्ठको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा लेखी पठाई दिनु.......................५

मिसिल नियम बमोजिम गरी बुझाई दिनु....................६

 

उक्त रायमा म सहमत छु ।  

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४१ साल चैत्र २ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु