शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२०५ - कर्तव्य ज्यान

भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२

निर्णय नं. २२०५   ने.का.प. २०४१           अङ्क १२

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको फौ.पु.नं. ४६३

सम्वत् २०४० सालको फौ.सा.नं. १७९

मुद्दा : कर्तव्य ज्यान

पुनरावेदक/प्रतिवादी : रोल्पा लिवाङ गा.पं. वार्ड नं. ८ तिब्रीकोट घर भइ हाल कारागार तुल्सीपुरमा थुनामा रहेका देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्री

विरूद्ध

विपक्षी/वादी : मोहनलाल विष्ट क्षेत्रीको जाहेरीले श्री ५ को सरकार

वादी :   मोहनलाल विष्ट क्षेत्रीको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

प्रतिवादी : देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्री

फैसला भएको मिति :   २०४१।१२।१३।३ मा

§  कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त सबूत प्रमाण कुनै देखिँदैन । यस स्थितिमा मैले कर्तव्य गरी मारेको होइन भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।

(प्रकरण नं. १९)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्रीमती इश्वरी दाहाल

विपक्षी वादी तर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन परी र साधक निकासा निमित्त समेत पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

          २.  ०३९।७।१२ गतेका दिन बारी पाखो जोती घर आएका बाजवीर डाँगी क्षेत्री रातमा मरे भन्ने १३ गतेको दिन खबर गरेकोले जाँदा घरभित्र मरेको लास देखिएको मुखबाट रगत वान्ता भई भुइँमा रगत जमेको देखिँदा कारवाही तहकिकात गरिपाउँ भन्ने गा.पं.स.मोहनलाल विष्ट क्षेत्रीको ०३९।३।१३ को जाहेरी दर्खास्त ।

          ३.  बाबु वाजवीरसँग भिन्न भई मैले पाउने अंश भाग जग्गा समेत लिई भिन्दै बसेको ०३३ सालमा आमा परलोक भएदेखि मदभट्टीको आयस्ता र खेतीको आम्दानी खर्च गर्न र छोरा छोरीको कपडा किन्दा लागेको ऋण मिलाउन रुपैयाँ माग्दा नदिने समेत कारण परी बुबा वाजवीरको र मेरो कल झगडा मनमुटाव भएकोले ०३९।७।१२ गते पाखा बारी जोती घर आई खाना खाई सुती बिहान अं. ३ बजेको समयमा निन्द्राबाट व्यूँझी रिस बढ्न गई बाबुको हत्या गर्ने नै सोची बाबुको घर गई ढोका खोली भित्र पसी ओछ्यानमा सुतेको अवस्था छातीमा दाहिने घुँडाले धसी हातले बाबुको घाँटी समाई चलपल गर्न नदिई घाँटी निमोठ्दा बाबु चल्न कराउन सकेनन् । बाबुको नाक मुखबाट रगत आउँदा मैले बुबालाई त्यसै छाडी मल हाल्न भनी गएँ । बुबा वाजवीरलाई मारे मराएमा जो ठहर्छ भन्ने समेत देउदास भन्ने दिलबहादुर डाँगीले प्रहरीमा गरेको बयान कागज ।

          ४.  गा.स.स. जितकुमार समेत जना २८ ले गरी दिएको ०३९।७।१४ को लासप्रकृति मुचुल्का ।

          ५.  बाजवीरलाई देउदास भन्ने दिलबहादुरले कर्तव्य गरी मारेको विश्वास लाग्छ भन्ने समेत कुलराज रावत क्षेत्री समेतले गरी दिएको ०३९।७।१५ को सरजमीन मुचुल्का ।

          ६.  प्र.देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्रीलाई ज्यानसम्बन्धीको १३ नं. को (३) बमोजिम सजाय हुन मागदावी गरेको मिति ०३९।७।१६ को स.स.अ. तथा प्रहरीको संयुक्त प्रतिवेदन ।

          ७.  मैले बुबा वाजवीरसँग रुपैयाँ माग्ने उहाँले नदिने गर्दा सोही रिस इवीबाट पटकपटक झगडा भइरहन्थ्यो । ऐ. १२ गतेका दिन आफ्नोफ्नो बारी जोती त्यस दिन पनि काम विषयमा झगडा भई आफ्नो घरमा सुत्यौं । राति अं. ३ बजे ब्यूझी अं. ४ बजे मल बोक्ने डोको बोकी हिँडे । बाटोमा बुबा प्रति रिस उठी बुबा वाजवीरलाई हत्या गर्नु पर्‍यो भनी बाबुको घरमा गई ढोका उघारी भित्र पसी कोइलाको उज्यालोले निदाएको ठाउँमा गई बुबाको छातीमा दाहिने घुँडा धसी दायाँ हातले घाँटी च्यापी दुवै हातले समाती मडाक मुडुग पारी मुन्टो बटारी दिई मैले नै कर्तव्य गरी मारेको हुँ भन्ने समेत प्र. देउदास भन्ने दिलबहादुरको अदालतमा भएको ०३९।७।१६ को बयान ।

          ८.  वाजवीरलाई मैले मारेको भनी देउदास भन्ने दिलबहादुर सावित भई बयान गरेकोले निजले कर्तव्य गरी मारेको पूरा विश्वास लाग्छ भन्ने समेत मदनलाल विष्टले गरेको बकपत्र ।

          ९.  बाजवीर डाँगी क्षेत्रीलाई कर्तव्य गरी मारेमा सावित भएकोले देउदास भन्ने दिलबहादुरले नै कर्तव्य गरी मारेको हो भन्ने समेत प्रतिमान विष्ट क्षेत्रीको बकपत्र ।

          १०.  बाबु वाजवीरलाई मैले नै मारेको हुँ भनी देउदास भन्ने दिलबहादुर सावित भएकोले अरू कसैप्रति शंका लाग्दैन भन्ने समेत रत्न रावत क्षेत्रीको बकपत्र ।

          ११.  वाजवीरलाई मार्ने दिलबहादुर बाहेक अरू प्रति शंका लाग्दैन भन्ने पुनराम विष्ट क्षेत्रीको बकपत्र ।

          १२.  प्र.देउदास भन्ने दिलबहादुरले बाबुलाई मारेमा सावित भएकोले निजले नै मारेको शंका लाग्छ भन्ने समेत पवित्रा डाँगीको बकपत्र ।

          १३.  मृतक वाजवीर डाँगी क्षेत्रीलाई प्र. देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्रीले घाँटी च्यापी मुन्टो (गर्दन) समेत हातले भाँची प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यानसम्बन्धीको १३(३) नं. अनुसार कर्तव्य गरी मारेको हुँदा सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत रोल्पा जिल्ला अदालतको ०३९।९।१० को फैसला ।

          १४. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्रीको पुनरावेदन ।

          १५. पुनरावेदन जिकिर पुग्न सक्दैन शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४०।५।६।२ को फैसला ।

          १६.  सो फैसलामा चित्त बुझेन अपराधबाट सफाई पाउनु पर्छ भन्ने समेत प्रतिवादी दिल बहादुरको पुनरावेदन ।

          १७. प्रतिवादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्रीमती इश्वरी दाहालले प्रतिवादी र मृतकको बाबु छोराको सम्बन्ध छ । बाबुलाई मार्ने सम्मको रिसइवी थियो भन्ने कुरा मिसिलबाट देखिँदैन । केवल सावितीको मात्र आधारमा कसूरदार ठहराएको मिलेको छैन । निजले अपराध गरेकै माने पनि तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई मारेको भन्ने मिसिल प्रमाणबाट देखिएकै हुँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गरेको मिलेको छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १८.  प्रस्तुत मुद्दामा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १९.  यसमा निर्णयतर्फ हेर्दा मृतकको दायाँ कुम जोर्नीमा नीलडाम छाला खुइलिएको आधा इन्च लम्बा चांैडाको घाउखत र बायाँ कुमको जोर्नीमा नङ्गको दाग खत भएको घाँटी गर्धन भाँचिएको भन्ने लासप्रकृति मुचुल्कामा उल्लेख भएको पाइन्छ । अभियुक्त प्रतिवादी देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्रीले अदालतमा बयान गर्दा मैले बाबु वाजवीरसँग रुपैयाँ माग्ने उहाँले नदिने गर्दा सोही रिसइवीबाट झगडा भइरहन्थ्यो । ०३९।७।१२ गते पनि काम विषयमा झगडा भई बुबाको घर गई ढोका उघारी निदाएको ठाउँमा गई बुबाको छातीमा दाहिने घुँडा धसी दायाँ हातले घाँटी च्यापी दुवै हातले समाई मर्‍याक मुरूक पारी मुन्टो बटारी कर्तव्य गरी मारेको भन्ने समेत लेखाएको पाइन्छ । यसबाट आफूले अपराध गरेको कुराको चित्रण गर्दै बाबु वाजवीर डाँगी क्षेत्रीलाई कर्तव्य गरी मारेकोमा प्रहरी र अदालतमा समेत सावित भएको देखिन्छ । बुझिएका सरजमीनमा लेखिएको कुरालाई समर्थन गर्दै प्रतिवादीकै कर्तव्यबाट मृतकको मृत्यु भएकोमा विश्वास लाग्छ भनी अदालतमा समेत बकपत्र गरी दिएको पाइन्छ । घाँटी च्यापी मुन्टो बटारी कर्तव्य गरी मारेको भन्ने प्रतिवादीको साविती बयानलाई घाँटी गर्दन भाँचिएको भन्ने लासप्रकृति मुचुल्काले समर्थित भएको देखिन्छ । पुनरावेदक प्रतिवादी देउदास भन्ने दिलबहादुरले कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त सबूत प्रमाण कुनै देखिँदैन । यस स्थितिमा मैले कर्तव्य गरी मारेको होइन भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । वाजवीर डाँगी क्षेत्रीलाई पुनरावेदक प्रतिवादी देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्रीले ज्यानसम्बन्धी १३(३) नं. अनुसार कर्तव्य गरी मारेको हुँदा सर्वस्वसहित जन्मकैद गर्ने गरेको रोल्पा जिल्ला अदालतको इन्साफ सदर गरेको म.प.क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदनको तहबाट निर्णय भएको हुँदा साधक तर्फ केही बोलिरहन परेन । साधकको लगत कट्टा गरी दिनु । निर्णय भएको सूचना पुनरावेदकलाई दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।  

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४१ साल चैत्र १३ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु