निर्णय नं. ४६८२ - उत्प्रेषण मिश्रित परमादेश
निर्णय नं. – ४६८२ ने.का.प. २०५० (क) अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधशि श्री केदानाथ उपाध्याय
सम्बत् २०४६ सालको रिट नं.– ८८०
आदेश मिति :– २०४९–७–१७–२
निवेदिका : का.जि.का.न.पा.वा.नं. १३ बस्ने वर्ष २५ को गोदावरी बज्राचार्य ।
विरुद्ध
विपक्षी : मा.पो.का. नबलपरासी समेत ।
विषय – उत्प्रेषण मिश्रित परमादेश ।
(१) बैंकले आफ्नो कर्जा सर्वप्रथम धितोमा रहेका सम्पत्तिबाट चुक्ता गर्नु पर्छ । त्यसले नपुगेमात्र निजको अरु जायजेथाबाट असुल गर्न कानून बमोजिम कारवाही चलाउन पाउने व्यवस्था रहे भएको देखिने ।
(प्र.नं.१३)
(२) सर्वप्रथम धित्तो राखेको सुरक्षण सम्पत्ति लिलाम गरी सोबाट नपुग भएमा मात्र अरु जायजेथा पक्रन पाउनेमा ऋणीले धितो बन्धकमा नै नदिएको र निज ऋणीको नाममा नै नभएको जग्गा लिलाम गर्न रा.वा. बैंक ले गो.प.मा सूचना प्रकाशित गरेको तथा तत्सम्बन्धी अन्य सम्पूर्ण काम कारबाही त्रुटीपूर्ण देखिएकोले उत्प्रेषणाको आदेशद्वारा बदर हुने ।
(प्र.नं.१३)
निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त
विपक्षी तर्फबाट : विद्वान अधिवक्रा श्री चुडामणिराज सिंह मल्ल
विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति
आदेश
न्या. ओमभक्त श्रेष्ठ
१. नेपालको संविधान, २०१९ को धारा १६, ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. उपरोक्त विपक्षीले मिति २०४६।७।१९ को गोरखापत्रमा सिलबन्दी बोलपत्रको सूचना भनी सूचना प्रकाशित गरी विपक्षी मेरा पति तारामान बज्राचार्याले लिएको भनेको कर्जा नं. २३।०१ को सिलसिलामा म निवेदिकाको नाउँको मेरो निजी आर्जनको कि.नं. ३७ क्षेत्रफल ०–१०–१५ को जग्गा समेत लिलाममा बोलपत्र आव्हान गरेको कुरा मिति २०४६।८।११ मा थाहा भयो । मैले विपक्षी बैंकबाट कुनै पनि प्रकारको कर्जा नलिएको र कसैले पनि उक्त जग्गा कसैलाई कर्जा सुरक्षण वा धितो बापत नदिएकोमा बिना सूचना नै वेहकको जग्गा लिलाम गर्न सूचना गरी मिति २०४६।८।१२ सम्ममा बोलपत्र प्राप्त गरी मिति २०४६।८।१५ मा बोलपत्र खोल्ने भत्रे भएकोले मेरो संवैधानिक हकमा आघात पुग्न गएको छ । मेरा पतिले विपक्षी बैंकबाट कर्जा लिएको भए सुरक्षण दिएको सम्पत्ति र सोबाट असुल नभएमा कानूनी रीत पुर्याइ निजबाट असुल गर्न वाणिज्य बैंक ऐन, २०३१ ले अधिकार प्रदान गरेको छ । तर मेरो नामको जग्गामा सुनवाईको मौका समेत प्रदान नगरी प्राकृतिक न्याय सिद्धान्त विपरीत लिलाम गर्न लागेकोले सो गैरकानूनी तथा अनधिकृत लिलाम कार्य बदर गरी मालपोत कार्यालय समेतलाई सो जग्गा फुकुवा गर्नु भनी आदेश गरी अन्तरिम आदेश समेत जारी गरी पाउँ भत्रे समेतको रिट निवेदन ।
३. यसमा विपक्षीबाट लिखित जबाफ मगाई आए पछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु साथै अन्तरिम आदेशको लागि छलफल गर्न उपस्थित हुनु भत्रे समेतको यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
४. यसमा यो रिट निवेदनको अन्तिम किनारा नभएसम्म निवेदिकाका हक भोगको कुनै पनि सम्पत्ति लिलाम तथा हक हस्तान्तरण हुने किसिमले कुनै काम कारबाही नगर्नु नगराउनु भनी संयुक्त इजलासबाट भएको अन्तरिम आदेश ।
५. यसमा यस शाखाबाट विपक्षीका पति तारा मान बज्राचार्यले मिति २०४४।६।६ मा ओभर ड्राफ्ट कर्जा शिर्षक अन्र्तगत कर्जा नं. २३।०१ बाट विष्णु कुमारी दाहालको का.जि.कोटेश्वर गा.पं.वा.नं. ३ क.कि.नं. ४५३ को क्षे.फ. ४–३–० जग्गा धितो राखी रु ९,००,०००।– (नौलाख) ६ महीना भित्र चुक्ता गर्ने शर्तमा कर्जा लिनु भएको थियो । उक्त कर्जाको भुक्तानी म्याद नाघी सकेकोले कर्जा चुक्ता गर्न शाखाले बारम्बार लिखित एवम् मौखिक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले धितो सम्पत्ति वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ (क) बमोजिम लिलाम बिक्री गरी बैंकको कर्जा असुल उपर गर्न नसकिने हुँदा सो प्रयोजनार्थ धितो रहेको स्थानमा गई हेर्दा ४–३–० क्षे. फ. जग्गा हुनु पर्ने मा ०–८–० जग्गा मात्र बाँकी भई अरु जग्गा नदी बगर देखिए पछि ऋणीलाई सम्पर्क राखी कर्जा सुरक्षित गर्न थप सुरक्ष्ण माग गर्दा पंचतारा ब्याट्री इण्डष्ट्रिज (प्रा.) लि. नवलपरासीका मिति २०४५।११।६ को निवेदन बमोजिम सो कम्पनीको नवलपरासी जिल्ला सुनवल गा.पं.वा.नं. १ (क) कि.नं. १२ को क्षे.फ. १–५–१० जग्गा यस शाखाको नाममा मिति २०४५।११।८ मा धितो बन्धक लिखत पारित गरी दिएको थियो । धितो चुक्ता नगरेकोले धितो सम्पत्ति लिलाम गर्न २०४६।२।१९ को गोप.मा सूचना प्रकाशित गरी बोलपत्र आव्हान गरी २०४६।८।१५ मा लिलाम गरिने सूचना प्रकाशित भएको हो । उक्त सम्पत्तिबाट कर्जा असुल नहुने भएकोले २०४६।८।१५ को सूचना ऋणीका एकाघरकी पत्नी विपक्षीको नाममा रहेको नवलपरासी जिल्ला सुनवल गा.पं.वा.नं.१ को कि.नं. ३७ को ०–१०–१५ जग्गा समेत सिलबन्दी बोलपत्रबाट लिलाम गरिने भनिएको हो यसरी सूचना प्रकाशित गर्दा बैंकलाई लेखाई नदिएको विपक्षी गोदावरी बज्राचार्यको नाउँमा दर्ता रहेको कि.नं. ३७ को क्षे.फ. ०–१०–१५ को जग्गा समेत लिलाम गर्न लाग्यो भत्रे विपक्षीको जिकिर भएकोमा हाल सम्मानित अदालतको आदेश कमोजिम लिलाम स्थगित गरिएको भएपनि विपक्षी गोदावरी ऋणीका एका सगोलको पत्नी भएको हुनाले ऋणीले लेखाई दिएको सम्पत्तिबाट कर्जा असूल नभए बाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ (क) को उपदफा (३) बमोजिम विपक्षीको सम्पत्तिबाट समेत बाँकी कर्जा असूल गर्न यस बैंकलाई अधिकरा भएबाट विपक्षीको रिट निवेदन खारेज गरी पाउँ भत्रे समेतको रा.वा.वैंक शाखा मैतिदेवीको लिखित जबाफ ।
६. यसमा माहान्यायाधिवक्ताको कार्यालयको मिति २०४७।९।२६ को पत्रद्वारा माग गरिएका कागजातहरूका प्रतिलिपि उक्त कार्यालयमा पठाई नियमानुसार गरी पेश गर्नुभत्रे यस अदालत संयुक्त इजलासको आदेश ।
७. यसमा निवेदिकाका पति तारामान बज्राचार्यले रा.वा.बैंक शाखा कार्यालय मैतिदेवीबाट कुनै ऋण लिएको छ छैन लिएको भए कुन मितिमा कति लिएको हो र त्यस बापत कुनै सुरक्षण दिएको छ छैन तत्सम्बन्धी कागजात रा.वा.बैं. शाखा कार्यालय मैतिदेवीबाट म.न्या.का. मार्फत झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
८. यसमा बोलपत्रमा तीन कित्ता क, ख र ग लिलाम हुने जग्गाहरू भनी उल्लेख भए मध्ये प्रस्तुत रिट निवेदनमा खण्ड ग मा मात्र विवाद उठाइएको देखियो । अरु खण्ड क र ख मा उल्लेखखित जग्गाहरू लिलाम भयो भएन र लिलाम भएको भए के कतिमा लिलाम भयो ऋण साधन भयो वा भएन भत्रे स्पष्ट खुलाई पठाउनु भनी प्रत्यर्थी मध्येका रा.वा.बैंक शाखा कार्यालय मैतीदेवीबाट जवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने आदेश ।
९. यसमा गोदावरी बज्राचार्यको नाममा भएको सुनवल गा.पं.वा.नं. १ क स्थित कि.नं. ३७ को क्षे. फ. ०–१०–१५ को जग्गा यस बैंकबाट लिलाम गरेकोमा लिलाम बढावढ नभएको व्यहोरा अनुरोध छ । साथै बोलपत्रको क, ख का जग्गाहरू पनि लिलाम नभएको व्यहोरा अनुरोध गर्दछु भत्रे रा.वा.बैं. शाखा कार्यालय मैतिदेवीको जवाफ ।
१०. रा.वा.बै. केन्द्रीय कार्यलयको रा.वा.बैं. शाखा कार्यालय मोतिदेवीकै लिखित जवाफ बमोजिमक यस केन्द्रीय कार्यालयको लिखित बजाफ रहेकोले सोही अनुसार रिट खारेज होस् भत्रे लिखित जबाफ ।
११. अब यसमा रिट निवेदिकाको माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो होइन भत्रे सम्बन्धमा निर्णय दिनु पर्ने हुन आएको छ ।
१२. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको मुद्दाबाट रिट निवेदिकाका तर्फबाट उपस्थित हुन आएका विद्वान अधिवक्ता श्री ध्रुव नाथ पंतले निवेदिकाका पतिले बैंकलाई धितो सुरक्षण राखी ऋण लिएको हो सो बापत दिएको सुरक्षण वा ऋण व्यक्तिकै सम्पत्तिबाट मात्र कर्जा चुक्ता गर्नु पर्छ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ (३) बमोजिम सुरक्षण बापत दिएको सम्पतिले नपुगे ऋणीकै सम्पत्तिबाट मात्र असूल उपर गर्नु पर्ने हो तर रिट निवेदिकाको स्वआर्जनको सम्पत्तिबाट असूल उपर हुन नसक्ने तथा सो सम्पत्तिलाई रोक्का गर्न मिल्ने होइन भत्रे समेतको बहस प्रस्तुत गर्नु भयो । विपक्षी रा.वा.बैंक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री चुडामणी राजसिंह मल्लले रिट निवेदिकाको नाममा रहेको सम्पत्ति नीजी सम्पत्ति हो भन्ने कुरा कतैबाट खुल्न आएको देखिदैन तसर्थ उक्त सम्पत्ति सगोलको सम्पत्ति देखिन आउँछ । निज निवेदिकाका एकाघरको पतिले लिए खाएको ऋणमा एकाघरकी पत्नीको पनि दायित्व रहन्छ तसर्थ उक्त सम्पत्तिबाट बैंकको ऋण असुल गर्न वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ (३) ले अख्तियार प्रदान गरेको छ भत्रे समेतको बहस प्रस्तुत गर्नु भयो । मालपोत कार्यालयका तर्फबाट उपस्थित हुनु भएका विद्वान का.मु. सहन्यायधिवक्ता श्री सत्य नारायण प्रजापतीले रा.वा.बैं को पत्रानुसार मालपोत कार्यालयले रोक्का राखेकोले रिट निवेदन खारेज होस भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
१३. अव यसमा निर्णय तर्फ विचार गर्दा रिट निवेदिकाका पति तारामान बज्राचार्यले रा.बा.बैंक मैतीदेवी शाखाबाट कोटेश्वर गा.वि.स.वा.नं. ३ कि. नं. ४५३ को ४–३–० जग्गा धितो राखी ९ लाख रुपैया ६ महिनामा चुक्ता गर्ने गरी कर्जा लिएको देखिन्छ । समयमा कर्जा नतिरेकोले धितो रहेको उक्त सम्पत्ति लिलाम गर्न खोज्दा उक्त जग्गा मध्ये ०–८–० जग्गा मत्र बाँकी रही बाँकी जग्गा खोला बगर भएकोले अरु थप सुरक्षण माग गर्दा पंचतारा ब्याट्री इण्डष्ट्रिज (प्रा.) लि. नवलपरासीको सुनवल गा.वि.स.नं. (१) (क) कि.नं. १–५–१० जग्गा सुरक्षणमा दिई धितो बन्धक पास गरिदिएको देखिन्छ । रा.वा.बैं. मैतीदेवी शाखा कार्यालयको मिति २०४६।७।११ को सिलबन्दी बोलपत्र सूचनामा लिलाम हुने जग्गामा ऋणी तारामानकी पत्नी गोदावरी वज्राचार्यको नाममा भएको सुनवल गा.वि.स.वा.नं. १ (क) कि.नं. ३७ को क्षे.फ. ०–१०–१५ को जग्गा समेत उल्लेख छ । बैंकले आफ्नो ऋण असूली कारवाहीमा ऋणीले धितो बन्धकमा दिएको सम्पत्ति लिलाम गरी बाँकीमा पत्नीको नामको जग्गा पक्रेको पनि नदेखिई खण्ड (ख) र (ग) समेतको सम्पत्ति लिलाम विक्री गर्न सूचना प्रकाशित गरिएको देखिन्छ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ (३) हेर्दा बैंकले लिलाम बिक्री गरी असूल उपर गर्दा त्यस्तो धितोबाट बैंकको सावा ब्याजको पूरा रकम असूल उपर हुन नसकेमा कर्जा लिने व्यक्ति, संस्था उद्योगको अरु जाय जेथाबाट बैंकले लिलाम बिक्री गरी असूल उपर गर्न सक्नेछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । बैंकले आफ्नो कर्जा सर्वप्रथम धितोमा रहेको सम्पतिबाट चुक्ता गर्नु पर्छ त्यसले नपुगेको मात्र निजको अरु जायजेथाबाट असूल गर्न कानून बमोजिम कारबाही चलाउन पाउने व्यवस्था रहे भएको देखिन्छ । रा.वा.बैं. शाखा कार्यालय मैतीदेवीको मिति २०४९।१।२३ को पत्र हेर्दा ऋणी तारामानले लिएको कर्जा वापत निजले सुरक्षणमा दिएको कोटेश्वर गा.वि.स.वा.नं.३ (क) कि.नं. ४५३ तथा पञ्चतारा ब्याट्री इण्डष्ट्रजको नाममा रहेको सुनवल गा.वि.स. वार्ड नं. १ क कि.नं. १२ को जग्गा लिलाम गरी ऋण असूल गरी अरु ऋण बाँकीमा कारबाही चलाएको पनि देखित्र । यसरी सर्वप्रथम धितो राखेको सुरक्षण सम्पत्ति लिलाम गरी सोबाट नपुग भएमा मात्र अरु जायजेथा पक्रन पाउनेमा ऋणीले धितो बन्धकमा नै नदिएको र निज ऋणीको नाममा नै नभएको उक्त गोदावरी बज्राचार्यका नामको सुनवल गा.वि.स वा.नं. १ (क) कि.नं. ३७ को क्षेत्रफल ०–१०–१५ को जग्गा लिलाम गर्न रा.वा. बैंक शाखा कार्यालय मौतीदेवीले गो.प.मा. सूचना प्रकाशित गरेको तथा तत् सम्बन्धी अन्य सम्पूर्ण काम कारबाही त्रुटीपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ। मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केदारनाथ उपाध्याय
इति सम्वत् ०४९ कार्तिक १७ गते रोज २ शुभम्