निर्णय नं. २२०९ - हक कायम
निर्णय नं. २२०९ ने.का.प. २०४१ अङ्क १२
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४० सालको दे.पु.नं. ६२४
मुद्दा : हक कायम
निवेदक/वादी : ल.पु.जि.कोपुण्डोल ल.पु.न.पं. वा.नं. १ बस्ने योधराज शमशेर ज.ब.रा.
विरूद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने जिवनारायण वेलवासे
फैसला भएको मिति : २०४१।११।४।५ मा
§ शेषपछिको बकसपत्रको व्यवस्थालाई पछिको पास भएको बण्डापत्रले अर्कै व्यवस्था गरेको देखिएको त्यसलाई बदर गराउन नसकेकोले समेत क्षे.अ.को फैसलामा लेखिएका बुँदा प्रमाण समेतको आधारमा क्षे.अ.को इन्साफ मनासिव ठहर्छ ।
(प्रकरण नं. १३)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
उल्लेखित मुद्दा : x
फैसला
न्या. बब्बरप्रसाद सिंह : म.क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने वादी योधराज शमशेर ज.ब.रा.को निवेदन परी अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा पुनरावेदन जिकिर निम्न लिखितानुसारको रहेछ :
२. बुबा श्री बुद्धशमशेरका म समेतको ३ छोरा र मोहनकुमारी चन्द्रकुमारी समेतका भित्रिनी पत्नीहरू २ जनाका बीचमा सम्वत् १९९८।१।१० गते तत्कालीन रजिष्ट्रेशन अड्डाबाट पास समेत गरी चन्द्रकुमारी र मोहनकुमारीलाई घर जग्गा शेषपछिको बकसपत्र गरी दिनु हुँदा राखी बक्सेको शर्त बन्देज अनुसार बकस पाउने मध्यको चन्द्रकुमारी राणाको हिस्सामा परेको ल.पु.न.पं. वा.नं. १ को घर जग्गामा जानको लागि बाटोका हकमा बाहिर मूल ढोकादेखि पटाङ्गिनीबाट ठूलो घरको मूल ढोकामा पसी ठूलो चोकबाट सो बकस पाएको घरको दक्षिण पट्टिको ढोकाबाट सो घर चोकमा जाने गरी सो बमोजिम बन्देज गरी भन्ने बोली व्यहोराको लिखत भएकोमा बेमात्री आमा चन्द्रकुमारी राणाले पूर्वतर्फ मूल सडकमा जोडिएको १२ फुटे मूलढोका कायम गरी तथा भोग चलन गरी आउनुभएको थियो । उक्त बन्देज बकसपत्रमा मेरो शेषपछि छोराहरूसँग अंश नखोज्नु भन्ने शब्द समेत उल्लेख भएको र ०२३ सालमा भएको बण्डापत्रमा पनि घरको हकमा पूर्ववत बन्देजलाई कायम राखी जग्गा रोपनी १–०–० भाग अंश लिनुभएकोले त्यही कारणले मात्र बन्देज (शेषपछिको बकस) पत्र बदर हुन सक्ने स्थिति छैन किनकि बकस दिने व्यक्ति बुद्ध शमशेर २००० सालमा परलोक भई सक्नुभएको छ सो बमोजिम बकस प्राप्त गर्ने चन्द्रकुमारीको हक भएको थियो । बेमात्री आमा चन्द्रकुमारी मोहनकुमारी दाजु गगन शमशेर भाइ डायमण्ड शमशेर र म योधराज शमशेर समेतका बीचमा भएको २०२३ सालको बण्डापत्रमा मूलढोका बाटो र पटाङ्गिनीमा योधराजशमशेरको भागमा परेकोले दक्षिणतर्फ मोहनकुमारी चन्द्रकुमारी र डायमण्ड शमशेर हिड्ने ३ फुटे बाटो भन्ने छुट्टै ३ जनाको गोश्वारा बाटो देखाएको र १९९८ को लिखतलाई मान्यता राखी बाटाको हकमा मोहनकुमारीको जग्गामा जान गगनशमशेरले दिने चन्द्रकुमारीको जग्गामा जान आउनको लागि योधराजशमशेरले दिने भनी गोश्वारा बाटो सहित २ बाटो र १२ फुटे बाटोलाई समेत कायम राखेको छ । यही विपक्षीले बाटो खुल्ला गरिपाउँ भन्ने न.पं.बाट उठेको मुद्दामा उठाउनुभएको प्रश्न मिल्दो भएको भए पूर्व सडकबाट भइरहेको १२ फिटको मूल ढोका बाटो र पटाङ्गिनी हुँदै हिँडिरहेको चन्द्रकुमारीको घरमा प्रवेश गर्ने म योधराजशमशेरले आफ्नो बण्डाको घर दमनशमशेरलाई बिक्री गर्दा उल्लिखित शर्त बन्देजलाई विरोध पर्ने गरी बिक्री गरेको छैन । त्यो साविकदेखि चली आएको बाटो बन्द गर्छु भनी मूलढोका फोडेकोले साविक १२ फिटको मूलढोका बन्द गर्न नपाउने गरी खुलाई पाउँ भनी आमा चन्द्रकुमारीको ल.पु.न.पं.मा निवेदन परी आवश्यक जाँचबुझ र नक्सा गर्दा साविक बाटो बन्द गरी पर्खाल लगाएको देखिएको १२ फिट बाटो खोल्न पाउने ठहरियो । त्यसपछि विपक्षीले न.पं.सभामा पुनरावेदन गर्दा पनि न.पं.को इन्साफ मनासिव नै त्यस इन्साफ उपर बा.अं.अ.मा पुनरावेदन विपक्षीले दिँदा यस मुद्दामा हक बेहकको प्रश्न समावेश भएकोले न.पं. तथा न.पं.सभाबाट गरेको फैसला बदर हुन्छ यसको सूचना चन्द्रकुमारीको देहान्त भएकोले निजको हक खाने म योधराजशमशेरलाई सूचना दिने भन्ने भई हक बेहकमा जानु भन्ने बा.अं.अ.को इन्साफ उपर मैले म.क्षे.अ.मा पुनरावेदन गर्दा बा.अं.अ.कै फैसला बदर भयो त्यसरी अन्तिम निर्णय भएको ३५ दिनभित्र नालेश दिनुपर्ने अवस्था छ । अर्कोतर्फ घर कम्पाउण्ड भित्रको ढोका बाटोमा उजूर गर्ने हदम्याद किटान नभएकोले जहिलेसुकै पनि नालिश लाग्ने अ.बं. ३६ नं. ले व्यवस्था गरको छ । तापनि ३५ दिनभित्र नालिश गरेको छु त्यसकारण यस स्थितिमा अन्याय वालाले चन्द्रकुमारीको भोग गरिरहेको बाटो नदिने गरी हक बेहकको प्रश्न उठाउनु भएकोले साविकबाटोमा मेरै हक कायम गरिपाउँ भन्नेसमेत व्यहोराको मिति ०३२।१२।२९ को फिरादपत्र ।
३. वादीले यो सबूत प्रमाणबाट मेरो हक पुग्ने भनी दावी नगरी बकसपत्र र बण्डापत्र समेतको व्याख्या गरी शर्त बन्देज तोडिएको छैन र बाटोको हक पुग्छ भनी लामो भूमिका रची आफूलाई नै सो बाटो कायम गराउने कुरामा विश्वास नरहेको र झुठ्ठा दावी लिई चलेको भन्ने कुरा फिरादपत्रले देखाउँछ । वादीले दमनशमशेरलाई बेचेको र निज दमनशमशेरबाट मैले किनेको जग्गामा विपक्षीले बिक्री गरेको सम्पत्ति उपर बिना अधिकार प्रलोभन र लालच राखेका हुन् । चन्द्रकुमारीको बण्डापत्र अनुसार हक नभएको सो कुरा स्वीकार गरी अन्यत्र बाटो लिइसकेको र पटक–पटक भएको राजीनामाहरू उपर समेत म्यादभित्र उजूर गरी बदर नगराई यथार्थ स्वीकार गरी सक्नुभएको हुँदा झुठ्ठा नालेश गरेमा सजाय गरी मेरो एकलौटी बाटोमा एकलौटी नै कायम गरिपाउँ भन्ने समेत व्यहोराको ०३३।६।३ को प्रतिउत्तर पत्र ।
४. उल्लिखित २०२३ सालको पास भएको बण्डापत्र र दमशमशेरले जिवनारायणलाई दिएको राजीनामाबाट समेत चन्द्रकुमारीले पाएको जग्गामा जाने बाटो आउने छुट्टै कायम गरी राखेको देखिँदा वादीले झुठ्ठा दावी गरेको हुन् । प्र.जिवनारायणको मूलढोका चोक पटाङ्गिनीमा हक भएको ठहर्छ भन्ने समेत मिति ०३५।११।१२।३ मा ल.पु.जि.अ.बाट भएको फैसला ।
५. दमनशमशेरले विपक्षी जिवनारायणलाई बिक्री गरेको तमसुकमा म योधराजशमेशर साक्षी बसेको र तमसुकमा ढोका बाटो बिक्री भएको छैन । सो नभएको रमसक बदर गराउन पर्ने छैन अदालतबाट भएका ३ वटा नक्सामा मूल ढोकाबाट पटाङ्गिनी गई त्यताबाट चोकमा प्रवेश भई चन्द्रकुमारीको घरमा जाने बाटो प्रष्ट छ । उक्त नक्सा समेत जाँची नपाई पाउँ भन्ने समेत व्यहोराको बा.अं.अ.मा परेको पुनरावेदन ।
६. शुरू ल.पु.जि.अ.ले पू.वे.को दावी झुठ्ठा ठहर्याई बाटो जग्गा प्रतिवादी प्रत्यर्थीको हकको ठहर्याई ०३५।११।१२ मा छिनिएको इन्साफ मनासिव ठहर्छ भन्ने मिति ०३८।३।१७ मा बा.अं.अ.बाट भएको फैसला ।
७. दमनशमशेरले जिवनारायणलाई बिक्री गरेको भनेको लिखित अ.बं. ७८ नं. बमोजिम नभई साविकको बाटोमा हकनपुग्ने ठहराएको बा.अं.अ.को फैसला बदर हुन पुनरावेदनको अनुमतिपाउँ भनी मिति ०३७।८।४।५ मा परेको निवेदनमा बा.अं.अ.को फैसलामा मुलुकी ऐन घर बनाउनेको ३ नं. को कानुनी त्रुटि देखिएकोले न्या. प्र.सु.ऐन, २०३१ को दफा १३(३) को अवस्था विद्यमान हुँदा पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने समेत ०३९।११।१२।५ को म.क्षे.अ.को आदेश ।
८. शुरूबाट वादी दावी झुठ्ठा ठहरिई फिराद दावी बमोजिमको बाटो जग्गा प्र.जिवनारायणको हकको ठहर्याएको इन्साफ मनासिव गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को फैसला ।
९. १९९८।१।१० मा भएको शेषपछिको बकसपत्रमा उल्लेख भएको बाटो तर्फ केही नबोली व्यवहारबाट नयाँ व्यवस्था गरेको भनी म.क्षे.अ.ले हक कायम नहुने ठहर्याई गरेको म.क्षे.अ.को फैसलामा अ.बं. १८४(क) नं. को समेत त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत निवेदनपत्र ।
१०. १९९८।१।१० मा भएको शेषपछिको बकसपत्रमा उल्लेख भएको बाटोतर्फ केही नबोली व्यवहारबाट नयाँ व्यवस्था गरेको भनी म.क्षे. अ.ले हक कायम नहुने ठहर्याई गरेको निर्णय सबूत प्रमाणको मूल्याङ्कन गरी फैसला गरेको नदेखिएको हुँदा पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्चको आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक योधराज शमशेर ज.ब.रा. र विपक्षीको वा.रामविलासलाई बेञ्चबाट बोलाउन लगाउँदा उपस्थित नभएका र पुनरावेदकका तर्फबाट बहसमा उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विपक्षी जिवनारायण वेलावासेको तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंहको बहस जिकिर समेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको मनासिव बेमनासिव के रहेछ निर्णय दिनुपर्ने हुन आयो ।
१३. यसमा बुबा श्री बुद्धशमशेरका म समेतका ३ छोरा र मोहनकुमारी चन्द्रकुमारी समेतका भित्रिनी पत्नीहरू २ जनाको बीचमा सम्वत् १९९८।१।१० गते चन्द्रकुमारी र मोहनकुमारीलाई घर जग्गा शेषपछिको बकसपत्र गरी दिनु हुँदा राखी बक्सेको शर्त बन्देज अनुसार बकस पाउने मध्येकी चन्द्रकुमारी राणाको हिस्सामा परेको ल.पु.न.पं. वा.नं. १ को घर जग्गामा जानको लागि बाटोको हकमा बाहिर मूलढोकादेखि पटाङ्गिनीबाट ठूलो घरको मूल ढोकामा पसी ठूलो चोकबाट सो बकस पाएको घरको दक्षिण पट्टिको ढोकाबाट सो घर चोकमा जाने गरी सो बमोजिम बन्देज गरी भन्ने बोली व्यहोराको लिखत भएकोमा बेमात्री आमा चन्द्रकुमारी राणाले भोग चलन गरी आउनुभएको थियो । अन्यायवालाले चन्द्रकुमारीले भोग गरी रहेको बाटो नदिने गरी हक बेहकको प्रश्न उठाउनु भएकोले साविक बाटोमा मेरै हक कायम गरिपाउँ भन्ने समेत फिराद र चन्द्रकुमारीको बण्डापत्र अनुसार हक नभएको र सो कुरा स्वीकार गरी अन्यत्र बाटो लिइसकेको र पटक–पटक भएको राजीनामाहरू उपर समेत म्यादभित्र उजूर गरी बदर नगराई यथार्थता स्वीकार गरी सक्नुभएको हुँदा मेरो एकलौटी बाटो एकलौटी कायम गरिपाउँ भन्ने समेत प्रतिउत्तर भएकोमा १९९८।१।१० मा भएको शेषपछिको बकसपत्र पछि ०२३।१०।२० मा भएको बण्डापत्रमा चन्द्रकुमारी मोहनकुमारीको घरमा आउने जाने पूर्व सडकदेखि ३ फिटको बाटोबाट आई मेघराज शमशेरको मूल ढोकाबाट चोकमा पसी आउने जाने बाटो दिने गर्ने भन्ने स्पष्ट व्यवस्था गरी बण्डा गरेको देखिने योधराज शमशेरले अंशबण्डा अनुसार आफ्नो अंश भागको कुपण्डोलको घर जग्गा दमन शमशेरलाई दिएको राजीनामामा साविकको बाटो कायम राखी राजीनामा दिएको नदेखिने दमन शमशेरबाट जिवनारायण बेलवासे पारित गरी लिएको राजीनामा दक्षिण किल्ला मोहनकुमारी चन्द्रकुमारी र डायमण्ड शमशेर हिँड्ने ३ फुटको बाटो भनी जनिएको देखिएबाट १९९८।१।१० को शेषपछिको बकसपत्रको व्यवस्थालाई पछि ०२३।१०।२० को पास भएको बण्डापत्रले अर्को व्यवस्था गरेको देखिएको त्यसलाई चन्द्रकुमारीले बदर गराउन नसकेकोले समेत क्षे.अ.को फैसलामा लेखिएको बुँदा प्रमाण समेतको आधारमा क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखी दायर भएको मुद्दा हुँदा केही गरिरहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४१ साल फाल्गुण ४ गते रोज ५ शुभम् ।