शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२१० - उत्प्रेषण

भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२

निर्णय नं. २२१०   ने.का.प. २०४१           अङ्क १२

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको रि.नं. २२२४

विषय : उत्प्रेषण

निवेदक : पूर्व २ नं. रामेछाप नमाडी गा.पं. वार्ड नं. ७ को हाल हे.न.पं. वार्ड नं. ७ बस्ने हेमबहादुर खड्का

विरूद्ध

विपक्षी : मकवानपुर जिल्ला अदालत मुकाम भिमफेदी

मालपोत कार्यालय मकवानपुर हेटौंडा

मेन्टनेन्स नापी शाखा मुकाम हेटौंडा

हेटौंडा न.पं. वार्ड नं. ७ बस्ने मान बहादुर तिवारी

आदेश भएको मिति :   २०४१।१२।१८।१ मा

§  दुवै पक्षको मञ्जूरी साथ मिलापत्र भइसकेपछि रिट क्षेत्रमा अहिले आएर मिलापत्र बदर गरिपाउँ भन्ने रिट निवेदकको निवेदन दावी निराधार भई मु.ऐन अ.बं. १८२ नं. को बिपरीत भएको देखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनाली

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल र विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार

उल्लेखित मुद्दा : x

आदेश

    न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार रहेछन् ।

          २.  जिल्ला मकवानपुर हेटौडा नगरपञ्चायत वार्ड नं. ७ को सर्भे कि.नं. ५३८ को जग्गा बिगहा ०१२१७ मेरा नाममा नापी दर्ता भई जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त भएको मेरो हक भोग चलनको जग्गा हो । २०३९।१२।६ मा विपक्षी मानबहादुर तिवारीलाई रू. ३५,०००। पैंतीस हजारमा उक्त कि.नं. ५३८ को जग्गा ०१२१७ मा दृष्टिबन्धक पास गरी दिएको थिएँ । दृष्टिबन्धक लिखत बमोजिम दृष्टिबन्धक भोग चलन गर्न दिएनन् मु.ऐ लेनदेन व्यवहारको ६ नं. बमोजिम रुपैयाँ दिलाई पाउँ र ऐ. ३ नं. बमोजिम अदालतबाट दृष्टिबन्धक जग्गा चलन चलाई पाउँ विपक्षी मानबहादुरको ०४०।९।७ मा मकवानपुर जि.अ. मा फिराद परेकोमा कुन दावीमा फिराद गरेको प्रष्ट नहुनाले फिराद दावी खारेज गरिपाउँ भनी मेरो प्रतिवाद पर्‍यो र मिलापत्र गर्ने शर्त भई कि.नं. ५३८ को जग्गा बि. ०१२१७ मध्ये उत्तरतर्फ ०१७ जग्गा दृष्टिबन्धक चलन चलाउन दिने गरी मिलापत्र भयो । सो मिलापत्र बमोजिम गरी माग्न विपक्षी मानबहादुर तिवारीले ०४१।१।१९ मा भाखा नघाई जग्गा पनि चलन चलाई पाउँ भनी मालपोत कार्यालय मकवानपुरमा निवेदन गर्दा मालपोत कार्यालयले कित्ताकाट गर्न मेन्टनेन्स नापी शाखालाई आदेश दिई आदेश बमोजिम कित्ताकाट गरी मेरो हक भोग तथा स्वामित्वको जग्गा विपक्षी मानबहादुरलाई दिनु दिलाउनु गरी विपक्षीले आफ्नो नाउँमा सम्पूर्ण हक स्वामित्व हुने गरी जग्गाधनी प्रमाणपूर्जा माल कार्यालयबाट लिएको कुरा मिति ०४१।१।२७ गते नक्कल सारी लिँदा थाहा पाएकोले नेपालको संविधानको धारा १०।१५।७१ को आधारमा सम्मानित अदालतको शरण पर्न आएको छु । मु.ऐ.अ.बं. ३५ नं. मा कानुन बमोजिम आफूले हेर्न नहुने मुद्दा बाहेक अरू मुद्दा हेर्न हुँदैन भन्ने छ । जिल्ला अदालतबाट इन्साफ हुँदा दृष्टिबन्धक चलन चलाउन पर्ने हो होइन त्यति कुरामा मात्र ठहर गर्ने अधिकार छ, वादी दावी बेगर जि.अ.ले ठहर गर्न पाउने होइन दृष्टिबन्धक लिखत बमोजिम जग्गा चलन चलाई पाउँ भन्ने मुद्दामा मिलापत्र भएको भनी दर्खास्तमा दावी छ भने हकै मेट्ने मेटाउने गरी कित्ताकाट गर्ने आदेश दिनु हक मेट्ने मेटाउने गरी ज.ध.प्र.पूर्जा दिन विपक्षी मालपोत कार्यालयले पाउने होइन । गैरकानुनी निर्णय आदेशको आधारमा मे.ना.शा.ले कित्ताकाट गर्न पाउने होइन । विपक्षीहरूको उपरोक्त कार्यालयबाट मेरो हक स्वामित्वको जग्गा अपहरण गर्न विपक्षीहरूले पाउने होइन प्राकृतिक न्याय एवं अधिकार क्षेत्रको अवज्ञा गरी नाजायज तरीकाबाट गरिएको कथित निर्णयहरूबाट निवेदक संविधानको धारा १०(१), ११(२)(ङ) र १५ द्वारा प्रदत्त संवैधानिक हक अधिकारबाट बञ्चित भएकोले र प्रदत्त हक प्रचलन गर्न अन्य कानुनी मार्ग नभएकोले धारा १६।७१ अन्तर्गत यस सम्मानित अदालतमा आएको छ, उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षीहरूबाट गरिएको कित्ताकाट जग्गाधनी प्रमाणपूर्जा दिने निर्णय बदर गरिपाउँ भन्ने व्यहोराको रिट निवेदकको निवेदन जिकिर रहेछ ।

          ३.  यसमा के कसो भएको हो विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४१।२।५ को आदेश रहेछ ।

          ४.  वादी प्रतिवादी दुवै पक्षले आफ्नो मञ्जूरीले संयुक्त दर्खास्त दिई कारणीहरूको माग अनुसारको मिलापत्र अदालतबाट भएको र निवेदकलाई मिलापत्र बमोजिम गरी दिएन गरिपाउँ भन्ने बाहेक मिलापत्रमा चित्त बुझेन भन्ने उजूर लाग्न नसक्ने कुरा अ.बं. १८२ नं. मा प्रष्ट उल्लेख भएको हुँदा र यस अदालतबाट मिति ०४१।१।१३।४ मा मिलापत्र भए गरेको बाहेक अरू कुरामा अ.बं. १८२ नं. बिपरीत भए गरेको नहुँदा निवेदकको रिट निवेदन खारेज हुन नपर्ने हो भन्ने समेत व्यहोराको मकवानपुर जिल्ला अदालतको लिखितजवाफ रहेछ ।

          ५.  मिति २०४१।१।१३ मा वादी मानबहादुर तिवारी प्रतिवादी हेमबहादुर खड्का भएको चलन चलाई पाउँ मुद्दामा मकवानपुर जि.अ.बाट मिलापत्र फैसला भई उक्त अदालतको प.सं. ०४०।४१ दे.नं. १७६ च.नं. १९८७ मिति २०४१।१।१८।२ को चलन पूर्जि र मिलापत्रको नक्कल तथा वादीको निवेदन अनुसार उक्त कि.नं. ५३८ को ध.अ.ज.बि. ०१२१७ जग्गा मध्ये उत्तर तर्फबाट ज.बि. ०१७ वादी मानबहादुर तिवारीका नाउँमा कित्ताकाट भई दर्ता भएको र मु.ऐ. दण्ड सजायको ४४ नं. र रजिष्ट्रेशनको ३६ नं. बमोजिम चलनपूर्जि यस मा.पो.का.मा प्राप्त भएको साथै सो लाई मान्नुपर्ने उक्त महलको सो नम्बरमा व्यवस्था भएबाट यस मालपोत कार्यालयले अदालतको फैसला मिलापत्र र चलन पूर्जि अनुसार कार्य गरेको हुँदा निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय मकवानपुरको लिखितजवाफ रहेछ ।

          ६.  मिति ०३७।२।१७ का दिन विभागीय छलफलको दफा १ को क.मा मे नापी शाखाहरू सम्बन्धित मालपोत कार्यालय मातहतकै शाखाहरूको रूपमा रही काम गर्ने भन्ने उल्लेख भएको र दफा १ को घ मा नक्सा प्रिन्ट दिने कित्ताकाट गर्ने र अन्य प्रशासनिक काम सम्बन्धमा मालपोत कार्यालयबाट आदेश प्राप्त भएमा मे.ना.शाखाले शिघ्र काम सम्पन्न गरी दिने भन्ने परिपत्र भए अनुसार उक्त परिपत्रको आधारमा मालपोत कार्यालयको लिखित आदेशबाट यस शाखाले कित्ताकाट गरेको र मेन्टनेन्स नापी शाखाको काम नै कित्ताकाट गर्ने र नक्सा अद्यावधिक गर्ने भएकोले विपक्षी रिट निवेदकले गर्नु भएको दावी झुठ्ठा हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मे.ना.शा.हेटौंडाको लिखितजवाफ रहेछ ।

          ७.  मिल्ने उद्देश्यले आफ्नो नामको उक्त ०१२१७ जमीन मध्ये ०१७ जमीनको हक छोडी दिने कुरा व्यक्त गरी संयुक्त भई दर्खास्त दिने विपक्षीले हाल आएर हक छाडी दिएको होइन चलन चलाउने भन्ने भनी आफ्नो संयुक्त दर्खास्त र आफूले गरेको मिलापत्रलाई खण्डन गरेबाट प्रमाण ऐन, २०३१ को दफा ३४ अन्तर्गत विबन्धनको सिद्धान्त बर्खिलाप समेत जिकिर लिई आउनु भएको छ । उक्त संयुक्त दर्खास्त र मिलापत्र प्र.ऐन, २०३१ को दफा ९(३) को (घ) बमोजिम अकाट्य प्रमाणको लिखत हो साथै जग्गा पजनीको १७ नं. कानुन अबलम्बन गरी दर्ता बदर तर्फ उजूर गर्न सक्ने वैकल्पिक कानुनी उपचारको बाटो हुँदा हुँदै रिट क्षेत्रबाट निर्णय हुने होइन र अधिकार प्राप्त अधिकारीहरूले आफ्नो अधिकार क्षेत्रभित्र रही कानुन बमोजिम भए गरिएका काम कारवाहीबाट विपक्षीको कुनै पनि संवैधानिक हक अधिकार हनन् भएको नहुँदा निवेदकको माग बमोजिम आदेश जारी हुनुपर्ने होइन । विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी मानबहादुर तिवारीको लिखितजवाफ रहेछ ।

          ८.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत विषयमा तारिखमा रही बेञ्च समक्ष उपस्थित हुन आएको विपक्षी मानबहादुरको वा विश्वबन्धुलाई रोहवरमा राखी रिट निवेदक तर्फबाट बहसको लागि उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली र विपक्षी मानबहादुरको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता उमेश खकुरेल र विपक्षी अदालतको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

          ९.  प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुने हो होइन सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

          १०.  यसमा मिति ०३९।११।६ गते प्रतिवादी हेमबहादुर खड्काले रू. ३५,०००। पैंतीस हजार कर्जा लिई ०४० साल मार्ग महीना सम्ममा सावाँ ब्याज समेत चुक्ता बुझाउँला भनी मकवानपुर माल कार्यालय मार्फत दृष्टिबन्धक लिखत (तमसुक) पारित गरी दिएकोमा भाखाभित्र लिखत बमोजिम नगरी भोग चलन गर्न नदिएको हुँदा लिखतको प्रतिवादीका नाउँको मकवानपुर हे. न.पं. वार्ड नं. ७ कि.नं. ५३८ को ध.अ.ज.बि. ०१२१७ जग्गा चलन चलाई पाउँ भनी लेनदेन व्यवहारको ३ नं. अन्तर्गत प्रत्यर्थी मानबहादुर तिवारीको मिति ०४०।९।७ मा मकवानपुर जिल्ला अदालतमा नालिश परेकोमा विवादको जि.म.हे.न.पं. वार्ड नं. १७ कि.नं. ५३८ को ध.अ.ज.बि. ०१२१७ मध्ये उत्तरतर्फबाट ज.बि. ०१७ जग्गा वादी मानबहादुर तिवारीको नाउँमा हक सदर कायम हुने गरी प्रतिवादीले वादीको नाउँमा हक छोडी दिने र प्रतिवादी हेमबहादुर खड्काको नाउँमा वादी दावीको उक्त कित्ताको बि. ०१२१७ मध्ये उत्तरतर्फबाट ज.बि. ०१७ जग्गामा वादी मानबहादुर तिवारीले आफ्नो हकमा बुझी लिई वादीको अरू सम्पूर्ण दावी छोडी दिनमा मञ्जूर भएकोले भनी दुवैपक्षको मकवानपुर जि.अदालतमा संयुक्त दर्खास्त परी मकवानपुर जि.अ.ले मिति ०४१।१।१३।४ मा अ.बं. १८२ नं. बमोजिम मिलापत्र गराएकोमा विवाद देखिँदैन । यसरी दुवै पक्षको मञ्जूरी साथ मिलापत्र भइसकेपछि रिट क्षेत्रमा अहिले आएर मिलापत्र बदर गरिपाउँ भन्ने रिट निवेदकको निवेदन दावी निराधार भई मु.ऐन अ.बं. १८२ नं. को बिपरीत भएको देखिँदा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

         

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४१ साल चैत्र १८ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु