निर्णय नं. २२१२ - मानिस बिक्री

निर्णय नं. २२१२ ने.का.प. २०४१ अङ्क १२
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको फौ.पु.नं. ४९६
मुद्दा : मानिस बिक्री
पुनरावेदक/वादी : गोविन्दकुमारीको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : अर्घाखाँची जिल्ला मोरङ गा.पं. वडा नं. ७ बस्ने रूकुमबहादुर पाण्डे क्षेत्री
फैसला भएको मिति : २०४१।१२।२२।५ मा
§ ढुँग्री बन्धक लिएको भन्ने बयान भनाई भएकोमा सो कुरा प्रमाणित गर्ने भार निजैको हुने।
(प्रकरण नं. २०)
पुनरावेदक/वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
उल्लेखित मुद्दा : x
फैसला
न्या. त्रिलोकप्रताप राणा : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट यस अदालत समक्ष पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. रूकुमबहादुर पाण्डे, छवीलाल थापा, सोभाखर पाण्डे समेत ३ जनाले मलाई विदेश लगी बिक्री गर्ने सल्लाह गरी सोभाखर पाण्डेले मेरो पति झविन्द्रको घरबाट ल्याई तीनै जनाले तानसेन घुमी आउँ भनी म जिम्माको ३ थान सुनका किलिप सोभाखरले र १ जोर ढुँग्री, सारी, ३ चोला, २ ब्लाउज १, दोसल्ला बर्की १, तीन खापे खास्टो १, पेटिकोट २ पटुका २ रूकुमबहादुरले लिई ०३६।३।३१ गते छविलालले लिई पंजाव पुर्याई निजको फुपूको लोग्ने रोनकराम अग्रवालको घर लगी फुली माडवारी तिलहरी झिकी, पोते छवेले झिकी हिँडे, ५ दिनपछि छवे र रूकुमबहादुरलाई रोनकरामबाट भा.रू. १२००। लिएकोदेखि मलाई बिक्री गरेको कुरा थाहा पाएँ । निज रोनकरामले रू. ५,०००। मा अजामिर सिंह गुरूङले किनी निजहरूको घरमा लगेर पछि बाबु शशिधर लिन गई साथ लागि आएकोले निज रूकुमबहादुर, छविलाल र सोभाखरलाई कानुन बमोजिम सजाय गरी पाउँ भन्ने समेत पातली भन्ने गोविन्दकुमारीको जि.प्र.का. अर्घाखाँचीमा परेको दर्खास्त ।
३. पातली भन्ने गोविन्दकुमारीलाई बेचौं भन्ने कुरामा मेरो कसैसँग सल्लाह छैन के कतिमा बिक्री गर्यो सो पनि थाहा छैन पातली र रूकुमबहादुरको पोल झुठ्ठा हो भन्ने समेत व्यहोराको सोभाखरले प्रहरीमा गरेको इन्कारी बयान ।
४. ०३६।३।३१ गते रातारात पातली भन्ने गोविन्दकुमारीलाई भारतमा बेच्न लैजान उल्का पारी सम्म म छबिलाल र सोभाखर ३ जना भई गयौं म र सोभाखर घर फक्र्यौ छबिलालले गोविन्दकुमारीलाई बिक्री गर्न लिई हिँडिरहेका हुन् । गोविन्दको १ जोर ढुँग्री, पटुका २ दोसल्ला बर्की १ लिएको छु । बिक्री भएको रकम बाँडी खाने कुरा भएको हो र पछि गोविन्दकुमारीलाई बिक्री गरेको कुरामा शंका गरेको छ भन्ने छबिलालबाट सुनेपछि गोविन्दकुमारीलाई लिन पंजाव गयौं । रुपैयाँ फिर्ता दिन नसक्दा गोविन्दकुमारी फिर्ता हुन सकेन र हामी फक्र्यौ भन्ने समेतको रूकुमबहादुरको प्रहरीमा भएको कागज ।
५. रूकुमबहादुरले गोविन्दको ढुंग्री १ जोर पटुका २, दोसल्ला बर्को १ प्रहरी डोरमा दाखिल गरेको र गोविन्दले सुनको ढुंग्री १ जोर पटुका निलो सेतो २ दोसल्ला बर्को मेरो हो भनी गरी दिएको कागज ।
६. छबिलाल र रूकुमबहादुरले भा.रू. १२००। मा बिक्री गरेको पक्कै हो सोभाखरको सहमति छ भन्ने दफा १ मा गोविन्दको बाबु शशिधर गोविन्द आषाढ महीनादेखि हराएको सुनेको थियौं, गोविन्दलाई बिक्री गर्नेमा सोभाखर छबिलाल रूकुमबहादुर जना ३ को सहमति छ भन्ने नरेन्द्रबहादुर समेत ३४ जना, पंजावमा देख्दा सब कुरा बुझ्दा रूकुमबहादुर र छबिलालले रोनकराम अग्रवाललाई भा.रू. १२००। मा खास बिक्री गरेको हुन् सोभाखरको सहमति छ भन्ने पिताम्बर बन्जाडे, छबिलाल र रूकुमबहादुर २ जनालाई केटी गोविन्दलाई बिक्री गरेको पूरा विश्वास लाग्छ सोभाखरको विषयमा जान्दिन भन्ने जगतबहादुर समेतको ०३७।१।४ मा भएको सरजमीन मुचुल्का।
७. छबिलालले गोविन्दकुमारीलाई नेपाल सरहद बाहिर ललाई फकाई लगी विदेशमा रोनकरामलाई बेचेको देखिन आएकोले निजलाई जिउ मास्ने बेच्नेको दफा १ बमोजिम र भा.रू. १२००। को रू. १७४०। बेचेको थैलीको जरिवाना हुनुपर्ने रूकुमबहादुर सोभाखरले पातलीलाई बिक्री गर्नमा जानीजानी छबिलाललाई मद्दत गरेको देखिन आएकोले ऐ. महलको नं. ४ बमोजिमको सजायको माग समेतको प्रहरी प्रतिवेदन ।
८. मैले कुन अपराध गरेको र बिक्री गर्न सहमत समेत छैन भन्ने समेत अभियुक्त रूकुमबहादुरको ०३७।१।९ मा अदालतमा गरेको इन्कारी बयान ।
९. दर्खास्त अनुसार मैले अपराध गरेको छैन । यस सम्बन्धमा मलाई कुनै कुरा थाहा छैन भन्ने समेत व्यहोराको ०३७।१।९ मा अभियुक्त सोभाखरको अदालतमा बयान ।
१०. श्री ५ को सरकारतर्फका मुख्य गवाह पातली भन्ने गोविन्दकुमारीले ०३६।३।२५ मा रूकुमबहादुरकी श्रीमतीले निजको घरमा बोलाइन्, अर्को दिन रूकुमबहादुरको जेठान कहाँ लगी ५ दिन राखे, त्यसपछि रूकुमबहादुर निजकी श्रीमती छबिलाल सोभाखर समेत म उल्कापटी सम्म गएँ त्यसपछि अरू फर्के, छविलालले मलाई पंजाबमा लगी बिक्री गरेपछि बाबु शशिधर लिन गएर आएको छु भन्ने पिताम्बर बन्जाडेले ०३६।३।२५ मा गोविन्द हराएको २।३। दिन पछि रूकुमबहादुर सोभाखर छबिलालले भारत पंजाबमा लगी बिक्री गरे भन्ने हल्ला सुनेको भन्ने समेत लेखी दिएको शशिधरले ०३६।७।१५ मा गोविन्दकुमारी प्रतिवादी रूकुमबहादुर सोभाखर छबिलालले मिलेर बिक्री गरेको छ भन्ने कुरा निजले भनेबाट सुनी थाहा पाएको हुँ भन्ने समेत लेखी दिएको ।
११. अभियुक्त रूकुमबहादुरका साक्षी चन्द्रबहादुर, कर्णबहादुरको यी अभियुक्त रूकुमबहादुरले बिक्री गर्न सहमति दिए होलान भन्न सक्दिन भन्ने समेत व्यहोराको बकपत्र ।
१२. अभियुक्त रूकुमबहादुरका साक्षीले निज निर्दोष छु भनी बकी लेखिएका र प्रहरीमा सावित भई कागज गरे पनि अदालतमा आई अभियोगमा पूरा इन्कारी भई बयान गरेको सरजमीनका मानिसहरू र वादी पक्षका साक्षीहरूले पनि शंकासम्म देखाएको जाहेरवालीको दर्खास्त र अदालतमा भएको बकपत्रमा समेत कुरा मिल्न नआएको फौजदारी मुद्दामा शंकारहित प्रमाण वादीले पेश गर्नुपर्ने त्यस्तोमा शंकाको लाभ अभियुक्तले पाउने कानुनी सिद्धान्त हुँदा अभियुक्त रूकुमबहादुर पाण्डे र अभियुक्त सोभाखर पाण्डेले सफाई पाउने ठहर्छ । अभियुक्त छबिलालको हकमा ०३७।२।१९ मा तामेल भएको समाव्हानको म्यादै गुजारी बसेको देखिन आयो, यसमा बन्दी छबिलाल निरपराधी भए अदालतले दिएको म्यादमा उपस्थित भई आफ्नो सबूत प्रमाण समेत पुर्याई सफाई लिन पर्नेमा आफैं वादी दावीमा लाचार भई अनुपस्थित भइसकेको देखिँदा वादी दावीलाई स्वीकार गरी बसेको मान्न पर्ने अवस्था देखिँदा निजले यी जोहरवाली पातली भन्ने गोविन्दकुमारीलाई फकाई विदेश भारत पंजावमा लगी रोनकराम अग्रवाललाई बिक्री गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरू जि.अ.को फैसला ।
१३. उक्त इन्साफमा चित्तनबुझी वादी तर्फबाट प. क्षेत्रीय अदालतमा पुनरावेदन परेको।
१४. सोही फैसलामा चित्तनबुझी छबिलालको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन।
१५. शुरू अदालतले प्र. छबिलाललाई दावी बमोजिम सजाय गरेको इन्साफ मनासिव छ । निजको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र.रूकुमबहादुरको हकमा ढुंग्री दाखिल भएको नाताले सम्म निज दोषी हुन्की भन्नलाई रूकुमबहादुरलाई दोषी भन्ने पर्याप्त सबूत प्रमाण पेश दाखिल हुन आएको छैन । वादी पक्षबाट प्र.रूकुमबहादुरलाई गडाउ गर्ने सबूत पेश नभएकोले त्यसतर्फ श्री ५ को सरकारको दावा पुग्ने देखिएन । प्र. रूकुमबहादुरलाई सफाई दिएको शुरू अदालतको फैसला मनासिव छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१६. उक्त फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको यस अदालत समक्ष पर्न आएको निवेदनमा पातली भन्ने गोविन्दकुमारीले जाहेरी दर्खास्त दिँदा तथा बकपत्र गर्दा समेत प्र. रूकुमबहादुर पाण्डे तथा सोभाखर पाण्डेको नाम किटी उल्लेख गरेको र रूकुमबहादुरले पातलीको ढुंग्री पेश दाखिल गरेकोमा अ.बं. १७२ नं. बमोजिमको खानतलासी मुचुल्का भएन भनी जिल्ला अदालतको निर्णय सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजन बेञ्चको आदेश ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीकातर्फबाट रहनुभएका विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले सम्पूर्ण सबूत प्रमाणहरूबाट प्र.रूकुमबहादुर समेतको मिलिमतोबाट जाहेरवाली गोविन्दकुमारीको बिक्री गरिएको कुरा प्रष्ट हुँदाहुँदै सफाई दिने गरेको शुरू जिल्ला अदालत र प.क्षे.अ.को फैसला बदर गरी शुरू प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुनुपर्छ भन्ने र विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले शुरू जिल्ला अदालतले सफाई दिने ठहराएको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कुनै त्रुटि नहुँदा सोही फैसला सदर कायम हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
१८. प्रस्तुत मुद्दामा प.क्षे.अदालतको इन्साफ मिले नमिलेको के रहेछ निर्णय गर्नुपरेको छ ।
१९. यसमा प्र.रूकुमबहादुर पाण्डे पातली भन्ने गोविन्दकुमारी अधिकारीलाई बिक्री गर्नमा मद्दत सहयोग गरेतर्फ अधिकार प्राप्त अधिकारी प्रहरीमा सावित देखिन्छ ।
२०. ०३७।१।३ मा दाखिल भएको सुनको ढुंग्री आफूले दाखिल गरेमा निजले अदालतमा समेत स्वीकार गरेको पाइन्छ । उक्त ढुंग्री पातली भन्ने गोविन्दकुमारीले आफ्नो भनी सनाखत गरी दिएको पाइन्छ । सो ढुंग्री पातली भन्ने गोविन्दकुमारीको होइन भन्ने निजको अदालतमा बयान भनाई देखिन्न । छबिलालबाट उक्त ढुंग्री बन्धकी लिएको भन्ने रूकुमबहादुरको बयान भनाई भएकोमा सो कुरा प्रमाणित गर्ने भार निजैको हो तर सो प्रमाणित हुन सकेको देखिन्न ।
२१. स्वयं पिडित बिक्रीमा पर्ने पातली भन्ने गोविन्दकुमारीले यी प्र.रूकुमबहादुर समेत उपर पोल गरी अदालतमा समेत आ–आफ्नो जाहेरी दर्खास्तको समर्थनमा बकी लेखी दिएको र बरामद दाखिल भएको ढुंग्रीबाट प्रहरीमा झिकी निजको सावितीलाई पुष्ट्याइँ आफैंले निर्दोष छ भन्न मिलेन, प्र.रूकुमबहादुरलाई सफाई दिने ठहराएको शुरू जिल्ला अदालतको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती भई सो हदसम्म उक्त फैसलाहरू मिलेन प्र.रूकुमबहादुरलाई प्रहरी प्रतिवेदन दावी बमोजिम १० वर्षको सजाय हुने ठहर्छ । तपसील बमोजिम गरी बुझाई दिनु ।
तपसील
रूकुमबहादुर पाण्डे क्षेत्रीके माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरू जि.अ.को र पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले निज रूकुमबहादुर पाण्डे क्षेत्रीले अपराध गरेको ठहरेकोले निजलाई दश (१०) वर्ष कैदको लगत कस्नु भनी अर्घाखाँची जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु.......१
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल चैत्र २२ गते रोज ५ शुभम् ।