निर्णय नं. २२१४ - उत्प्रेषण

निर्णय नं. २२१४ ने.का.प. २०४१ अङ्क १२
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०४१ सालको रिट नम्बर २२१९
विषय : उत्प्रेषण
निवेदक : वागमित अञ्चल ल.पु.न.पं. वडा नं. ११ कुटी सौगलको हाल बजेका नाम ढाँटी जग्गा नामसारी गरी ज.ध.प्र.पु. लियो भन्ने अभियोगमा वि.प्र.वि. बाट हिरासतमा राखी सदरखोर कार्यालयमा बन्दी भई बस्ने अष्टबहादुर चित्रकार
विरूद्ध
विपक्षी : वि.प्र.वि.सिंहदरवार
गजराज चित्रकार
आदेश भएको मिति : २०४१।१२।३०।६ मा
§ रिसवत लिनुदिनु गरे भन्ने उजूर सम्बन्धमा अनुसन्धान गर्ने अधिकार विशेष प्रहरी विभागलाई भएको ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
विपक्षी तर्फबाट : विद्वान स.अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री बलराम काफ्ले
उल्लेखित मुद्दा : x
आदेश
न्या. त्रिलोकप्रताप राणा : संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ ।
२. बाजेहरूको दाजुभाइ ५ मा (१) धिर्जविर (२) उजीर (३) हर्षमान (४) कुलमान (५) मानसिं समेत भई उहाँ बाजेहरू पाँचैका नाउँमा पा.सौगल ६० नं. का पोता लगतमा कि.नं. ४२ मा दर्ता भएको श्रेस्ताबाट देखिएको छ । वहाँ बाजेहरू मध्ये कुलमानको छोरा २ मा (१) विष्णु(२) भाइचा विष्णुको छोरा जोगरत्न जोगरत्नको छोरा सिद्धीरत्न हाल सजीव भई ल.पु.न.पं. १३ टंगालमा निवास गरी आउनुभएको छ । अर्को छोरा भाइचातर्फ भाइचा भाइचाको छोरा लोकबहादुर भन्ने जीवरत्न मृत्यु भई निजको सन्तान कोही छैन । मानसिंहको छोरा ३ मा (१) कुलविर (२) कुलबहादुर (३) कुलवन्त भन्ने ल्याम काजी, कुलविरको छोरा (१) रत्नबहादुर (२) जनकबहादुर निजहरू दुवै मृत्यु भई कुलविरको स्वास्नी दिलमाया भन्ने चिरीमाया हाल मृत्यु भई हाल सन्तान कोही छैन । कुलबहादुरको छोरा २ भएकोमा पनि दुवै मृत्यु भई बुहारी चन्द्रलक्ष्मी १ मात्र बाँकी भएको, ल्यामकाजी भन्ने कुलवन्तको छोरा निवेदक अष्टबहादुर भएकोले कुलमान मेरो सहोदर बाजे हुन वहाँका छोरा पनाति सिद्धीरत्न सजीव भई काका भतिजा नाता परेको छ । उपरोक्त लेखिएका दाजु भाइचा चित्रकारले म समेतका बाजे कुलमानका नाउँमा दर्ता भएको मेरो समेत हक लाग्ने जग्गा बाबुकाजी ताम्राकारलाई घरायसीबाट ०३३।७।२५ मा फार्छे गरी दिनुभएको जग्गा निवेदकले बाबुकाजीबाट ०३३।९।१० मा निखनी लिई मेरो हक हुन आएको उक्त जग्गा बाजे कुलमानका नाउँबाट म निवेदकका नाउँमा नामसारी दर्ता गरी ज.ध.प्र.पू. प्राप्त गरेकोमा भतिजा सिद्धीरत्नले चित्त बुझाई मौन रही आएको छ । उक्त जग्गा नामसारी गरी लियो भनी रिसले विपक्ष मध्येका गजराजले निवेदक उपर बागमती अञ्चलाधीशको कार्यालयमा जिम्मा लिएको घर जग्गा समेत फिर्ता दिएन भनी उजूर गर्नु भएबाट म निवेदकलाई वारेण्ट जारी भई पक्राउमा परी तारिखमा राखी बसी आएकोमा अञ्चलाधीशज्यू उपर मेरो यसै सम्मानित अदालतमा रिटको निवेदन परी तारिख छुटाई दिनुभएकोले रिटको निवेदन खारेज गरी डिभिजन बेञ्चबाट ०४०।४।९ मा निर्णयको आदेश भएको । यसपछि पुनः ल.पु.जिल्ला कार्यालयमा विपक्षी गजराजले निवेदन दिई निवेदकलाई ०४०।२।१६ देखि तारिखमा राखी बसी आएकोमा ०४०।५।३१ देखि तारिख दिनु नभई तामेलीमा राखी आएको छ । विपक्षी गजराजले निजका बाजेका नाउँमा दर्ता भएको जग्गा निवेदकले दर्ता गरी ज.ध.प्र.पू. लियो भनी बाहिर हल्ला मचाई रिटको लिखितजवाफमा बाजेको नाउँ ढाँटी श्रीसम्पत्ति हडप गर्नलाई झुठ्ठा रिट दायर गरेको हो भन्ने समेत लेख्नुभएबाट विपक्ष गजराजले जालसाजबाट मेरो बाजे कुलमानलाई निजको बाजे भनी कुलमानको छोरा नाति सिद्धीरत्न जीवित हुँदै कीर्ते नाति बनिएबाट जालसाजी कीर्ते नाति बनाएमा सजाय गरिपाउँ भनी का.जि.अ.मा विपक्ष गजराज उपर मेरो नालिश परी तारिख चलिरहेकै छ । त्यस्तो सम्पूर्ण ठाउँठाउँमा उजूर गर्दा आफ्नो इच्छा पूर्ण नभएबाट विपक्ष मध्येको गजराजले विपक्ष मध्येका वि.प्र.वि.मा के कुन व्यहोराको उजूर गर्नु र लिनु भई निवेदकलाई वारेण्ट अथवा म्याद जारी नै दिनु नभई बाटामा हिँडिरहेका निवेदकलाई वि.प्र.वि.बाट ठाडै पक्राउ गरी कार्यालयमा नै थुनी सवाल कार्यालयबाट उठाउनु भई भने जस्तै जवाफ नलेखिएमा कुट्ने र थुन्ने डर त्रास देखाई जवाफमा मेरो हस्ताक्षर गराई ‘अपरिचित’ व्यक्तिहरू बसी मेरो बयानमा बाजेको नाउँ ढाँटी मालपोत कार्यालयमा कर्मचारीहरूको सहयोगबाट नामसारी दर्ता गरी ज.ध.प्र.पू. लिएको हो भन्ने समेत बयान लेखाई ०४१।१।१२ देखि निवेदकलाई हिरासतमा सदर खोर कार्यालयमा विना अपराध बन्दी बसी आएको छु । वि.प्र.वि. मा बाजे कुलमान भनी नाउँ ढाँटी लेखिएको भनी लेखाउनुभएको बिलकुल गलत हो । बाजेको नाउँ ढाँटेको छैन । कुलमानका नाति भाइचाले बाबुकाजीलाई फार्छे गरेको मेरो समेत हक लाग्ने मैले निखनी हक हुन आएको हुँदा नामसारी दर्ता गरी ज.ध.प्र.पू. प्राप्त गरेकोमा कुलमानका छोरा नाति सिद्धीरत्नले चित्त बुझाई मौन रही आएको भन्ने समेत व्यहोराको बयान लेख्न अनुरोध गर्दा नदिई जबरजस्ती बयान लेखाई लिनु भयो । मालपोत कार्यालयको मानिसहरूको सहयोग लिई भन्ने कुरा समेत मलाई दिएको थुनुवा पूर्जिबाट देखिएको छ । मेरो स्वइच्छाले लेखिएको भए कार्यालयबाट कुन–कुन नाउँ दर्ताका व्यक्तिहरूबाट के कति लिई दिई सहयोग गरेका हुन्, भन्ने अथवा कुन किसिमबाट सहयोग दिए लिएको भनी जरूर सवाल गरी जवाफ लेखाई कर्मचारीहरू उपर र सिफारिश गर्ने वडा अध्यक्ष तथा प्रधानपञ्च समेत उपर कारवाही उठाउन सम्मिलित गराउन पर्ने सवालको जवाफमा लेखाउनुपर्ने सोबाट पनि जबरजस्ती बयान लेखाएको भनी स्वसिद्ध हुन्छ तसर्थ जबरजस्ती गराइएको उक्त बयान सम्पूर्ण बदर गरिपाउँ भन्ने समेतको निवेदन जिकिर ।
३. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको मिति ०४१।३।५ को आदेश ।
४. भ्र.नि.ऐन, ०१७ को परिच्छेद २ अन्तर्गतको कसूरमा सम्बन्धित व्यक्ति बुझ्न सक्ने लगायतका अन्य आवश्यक काम कुरा गर्न सक्ने गरी सोही ऐनको दफा १९(२) ले अधिकार प्रदान गरेको हुँदा ऐनद्वारा निर्दिष्ट मार्ग अपनाई अधिकार प्राप्त अधिकारीले कानुन अनुसार बुझेको काम कारवाही हुँदा रिट निवेदकको कुनै पनि संवैधानिक तथा कानुनी अधिकार हनन् नभएको हुँदा निजको रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको लिखितजवाफ ।
५. विपक्षीले वि.प्र.वि.मा गरेको कुनै पनि बयान वा निजका विरूद्धमा प्रस्तुत हुने प्रमाण कागजहरू खण्डन गर्न र बयान अस्वीकार गर्ने हक अधिकार विशेष अदालत ऐन, ०३१ तथा भ्र.नि. ऐन, ०१७ को २७(१) बमोजिम पर्याप्त रूपमा सुरक्षित रहेको हुँदा र तथाकथित बयानले निजको कुनै हक अधिकारमा असर पारी नसकेको अवस्थामा रिट जारी हुनुपर्ने होइन । रिट खारेज गरिपाउँ भन्ने समेतको गजराज चित्रकारको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ तथा विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले डरत्रास देखाई नेपालको संविधान, २०१९ को धारा ११ को दफा ५ बिपरीत मेरो इच्छा विरूद्ध जबरजस्ती मौलिक हकमा आघात पुर्याई गराइएको बयान बदर हुनुपर्छ भन्ने र विपक्षी विशेष प्रहरी विभागका तर्फबाट रहनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले ऐनद्वारा निर्दिष्ट मार्ग अपनाई अधिकार प्राप्त अधिकारीले कानुन अनुसार बुझेको काम कारवाही हुँदा प्रस्तुत रिट खारेज हुनुपर्छ भन्ने र अर्को विपक्षी बृजराजका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री बलराम काफ्लेले तथाकथित बयानले निजको कुनै हक अधिकारमा असर पारी नसकेको अवस्थामा रिट जारी हुनुपर्ने होइन प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
७. प्रस्तुत केशमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
८. यसमा विपक्षी गजराज चित्रकारको विशेष प्रहरी विभागमा परेको ०४०।२।२१ को निवेदन हेर्दा उक्त निवेदनमा निजले मैले उक्त जग्गा दर्ता गरिपाउँ भन्ने सम्बन्धमा मालपोत कार्यालय काठमाडौंमा निवेदन परी कारवाही चली सकेपछि मात्र विपक्षीले आफ्नो हकै नपुग्ने जग्गा दर्ता पाउँ भनी निवेदन लिनुदिनु गरी कारवाही चढाई विपक्षी अष्टबहादुर चित्रकारले सम्बन्धित फाँटवालालाई नगद दिनुलिनु गरी रिसवत आधारबाट मेरो पहिले परेको निवेदन मिसिल सहित गायव बेपत्ता पारी निज अष्टबहादुरको नाउँमा समेत दर्ता गराएको र भ्रष्टाचार गरेको भन्दै कर्मचारी र मिसिल समेत झिकी बुझी अनुसन्धान गरी सम्बन्धित मालपोत कार्यालयका फाँटवाला कर्मचारीलाई समेत हात लिई रिसवत दिनुखानु गरी जग्गाधनी प्रमाणपूर्जा लिनुदिनु गरेकोसमेत स्थितिमा छानविन गरी उक्त सम्बन्धमा कारवाही सजाय गरिपाउँ भनी उजूर गरेकोमा वि.प्रहरी विभागबाट अनुसन्धानको सिलसिलामा निवेदकको बयान लिएको देखिन्छ।
९. भ्रष्टाचार निवारण ऐन, ०१७ को परिच्छेद २ अन्तर्गतको सजाय हुने कारवाहीको तहकिकात विशेष प्रहरी अधिकृतद्वारा हुने कानुनी प्रावधान भ्रष्टाचार निवारण ऐन, ०१७ को दफा १७ ले औंल्याएको पाइन्छ । विशेष प्रहरी विभागबाट लिएको उक्त बयान स्वेच्छाबाट भएको होइन भन्ने निवेदकको भनाई भएकोमा सो स्वेच्छाबाट भएको हो वा होइन सो तर्फ रिट क्षेत्रबाट मूल्याङ्कन हुने स्थिति छैन । सम्बन्धित माल कार्यालयका फाँटवाला कर्मचारी उपर अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको देखिन्न । अदालतमा मुद्दा दायर गर्नु भन्दा अगावै अनुसन्धानको सिलसिलामा तत्सम्बन्धमा विशेष प्रहरी विभागले बयान लिन कानुनले बन्देज गरेको नदेखिँदा बयान लिन मिल्दैन भन्न मिलेन कर्मचारीले रिसवत लिनुदिनु गरे भन्ने उजूर सम्बन्धमा अनुसन्धान गर्ने अधिकार विशेष प्रहरी विभागलाई भएको र सोही सिलसिलामा निवेदकको बयान समेत भएकोले विशेष प्रहरी विभागको कारवाही अधिकार क्षेत्रात्मक त्रुटि भन्न मिल्ने अवस्था नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव
इति सम्वत् २०४१ साल चैत्र ३० गते रोज ६ शुभम् ।