निर्णय नं. २८८१ - संस्थाको आफ्नो जिम्माको रकम मासी भ्रष्टाचार गरे भन्ने

निर्णय नं. २८८१ ने.का.प. २०४३ अङ्क १०
संयुक्तइजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको फौ.पु.नं. ४४९
फैसला भएको मिति : २०४३।१०।९।६ मा
पुनरावेदक/प्रतिवादी : जि.वारा कवही गोठ गा.पं.वा.नं.४ बस्ने साझा संस्था लि.को बिक्रेता विष्णु कान्तप्रसाद यादव
विरुद्ध
विपक्षी/वादी : जि.वारा साझा संघ लि. वाराको पत्रले श्री ५ को सरकार
विषय : संस्थाको आफ्नो जिम्माको रकम मासी भ्रष्टाचार गरे भन्ने
(१) साझा संस्थालाई बुझाउन पर्ने आफ्नो जिम्माको रकम असूल उपर गरी पाउँ भनी कानुन बमोजिम नालेश गरी असूल उपर गर्न पाउने ।
(प्रकरण नं. १६)
पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लिखित मुद्दा : १ फौ.पु.नं. ४५२ प्र.कूलबहादुर क्षेत्री वि.श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दामा ०४२।४।२७ मा, पुनरावेदक श्यामबहादुर क्षेत्री विरुद्ध श्री ५ को सरकार भएको फौ.पु.नं. ६२५ को आ–आफ्नो जिम्माको सम्पत्ति मस्यौट गरे भन्ने मुद्दामा मिति ०२८।९।२६ मा र पुनरावेदक बलदेव उपाध्याय समेत विरुद्ध श्री ५ को सरकार भएको संस्थानलाई हानी आफूलाई फाइदा पुर्याएको भन्ने फौ.पु.नं. १४६।१८१ को मुद्दामा मिति ०३७।२।१२ मा सिद्धान्त प्रतिपादित
फैसला
न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।
२. साझा संस्था लि.कबही गोठको बिक्रेता विष्णु कान्तप्रसाद यादवले संस्थाको रकम रु.४१,७०७।२५ हिनामिना गरेकोले कारवाही गरी रकम असूल उपर गराई दिनु अनुरोध छ भन्ने जि.सा.सं.लि. कलैयाको ०३८।७।१९ को पत्र ।
३. संस्थाबाट बिक्री गरेको बुझाउन बाँकी मालको रकम रु.४१,७०७।२५ मध्ये व्यवस्थापक लक्ष्मणजड्ड राणाले आफ्नो लागि रु.२,२७५।– को खाद र नगद रु.२,८७६।३५ लिनुभएको खादको बिल नाम सम्झना नभएको अर्कैको नाममा काटेको लेखापाल गगन देवप्रसाद यादवले नगद रु.८,०००।– पियन जह्द्दिन मियाँले रु.१,८९२।५० लिएको र म संग रहेको बाँकी रु.२६,६६३।४० घर व्यवहार खर्च भएकोले बुझाउन नपाएको हुँ । मेरो रोहवरमा संस्थाको स्टक जाँच हुँदा बिक्री हुने सामान आम्दानीमा खर्च कटाई बाँकी हुनुपर्ने रु.१७,२३८।०३ को सामान घटी हुनु ठीक हो, सामान घटी हुनुको कारण खाद खरीद गरी लिँदा ट्रयाक्टर पल्टी पानीले भीजी नोक्सान हुन गएको र गहुँ धान तथा अरु सामान मुसाले नोक्सान भएको हो, जानी जानी हिनामिना गरेको होइन कारवाही भएको छैन, ०३८।७।१७ को आम्दानी रु.७९।९० बुझाउन बाँकी छ, ०३८।०३९ को सम्पत्ति र दायित्व खाताको सहायक खातामा र माथि बाँकी देखाएको रु.४३,५८७।५५ मध्ये भौचर नं. ७४ को २६,७५७।२५ भौचर नं. ८५ को १४,९५०।– समेत जम्मा रु.४१,७०७।२५ बिक्री रकम बुझाउन बाँकी रहेको व्यहोरा लेखाएको छु । भौचर नं. ८० को रु.२२५।– दशैं पेश्की लिएको मिन्हा हुने तर्फ कारवाही चलिरहेको छ । अ.ल्या. जनाएको रु.१,९२१।९० गत सालको अडिटले बेरुजु देखाएको मध्ये २६६।६० तलबबाट कटाइसकेको हुँदा बाँकी रु.१,६५५।३० बुझाउन बाँकी छ भन्ने समेत विक्रेता विष्णुप्रसाद यादवको मिति ०३८।८।२८ को वि.प्र.अधिकृत जि.का.बारामा भएको बयान ।
४. सेल्समेन विष्णुकान्तप्रसाद यादवले समयमा कहिले पनि रकम नबुझाएको र ०३८ साल भाद्र देखि असोज ६ गतेसम्म ५ वा ७ दिनको रकम बुझाएको छैन, बुझाएको रकमको भर्पाई दिएको छु । रकम नबुझाए पछि व्यवस्थापकलाई लिखित, मौखिक जानकारी गराएको छ । विष्णुकान्तसंग संस्थाको कुनै रकम लिएको छैन । रकम नबुझाएकोमा रिपोर्ट गरेको रिसले झुठ्ठा लेखाएको हो । मबाट लिनु पर्ने बाँकी देखाएको रु.३,६११।१० मध्ये रु.३००।– दशैं पेश्की मिनाहामा कारवाही चलिरहेको रु.७६०।१० गत सालको बेरुजु र रु.२,५५१।– सामान खरीद गर्न लिएको खरीद गर्न नपाउँदै सरुवा भएकोले सामान खरीद गर्न पाइन, दशैं पेश्की बाहेक रु.३३१।१० मिति ०३८।८।२६ मा रसीद नं. १९३ बाट रु.३,२००।– रसीद नं. २०० बाट रु.११०।१० साझा संघ कलैयामा बुझाई रसीद लिएको नक्कल पेश गरेको छु भन्ने समेत गगनदेवप्रसाद यादवले वि.प्र.अ.जि.का.बारामा गरेको बयान ।
५. विष्णु कान्तप्रसाद यावदसंग मैले संस्थाको र निजी रुपैयाँ सामान केही लिएको छैन । रु.१,८९२।५० लिएको भन्ने निजको भनाई झुठ्ठा हो । म बाट लिनु पर्ने बाँकी देखाएको रु.६६५।– मध्ये दशैं पेश्की रु.१५०।– लिएको मिनाहा दिनेतर्फ कारवाही भइरहेको, अघिल्लो सालमा लिएको भनिएको रु.७०३।– आमा बिरामी हुँदा तलबबाट कट्टा गर्ने गरी सापटी लिएकोमा रु.१८८।– कटाई बाँकी रु.५१५।– मिति ०३८।८।२९ मा संस्थाको खातामा जम्मा हुने गरी वारा जि.सा. संस्थामा बुझाई नं. १९६ को रसीद लिएको छ, सो को प्रतिलिपि पेश गरेको छु भन्ने पिउन जहदिन मियाँले ०३८।८।२९ मा वि.प्र.अ.जि.का.बारामा गरेको बयान ।
६. भ्र.नि., २०१७ को दफा १३ को अभियोग लगाई सोही ऐनको दफा २९(१) अन्तर्गत हिनामिना भएको रकमको बिगो असूल उपर गर्न आवश्यक अदालती कारवाही चलाउन पर्ने भन्ने स.अ. तथा स.अ.का.ना.अ. हेटौंडाको ०३९।४।१ को राय ।
७. व्यवस्थापक लक्ष्मणजंग राणा, लेखापाल गगनदेवप्रसाद यादव, जहरदिन मियाँ समेत उपर मुद्दा दायर गरी रहन नपर्ने देखिएकोले निजहरू बाहेक अभियुक्त विक्रेता विष्णुकान्त यादवले संस्थाको रकम रु.४१,७७७।१५ संस्थानमा दाखिल नगरी हिनामिना गरेको र स्टक जाँचबाट घटी देखिएकोले उल्लिखित जिन्सी मालको हुने रु.१७,२३८।३ गत सालको बेरुजु मध्ये कट्टी गरी बाँकी रु.१,६५५।३० समेत जम्मा रु.६०,६८०।४८ हिनामिना गरी मासी खाई भ्रष्टाचार गरी भ्र.नि. ऐन, ०१७ को दफा १३ अनुसारको अपराध गरेको सबूद प्रमाण परिबन्दबाट सिद्ध हुनआएको र सरकारी अधिवक्ताको रायबाट पनि अभियुक्त विक्रेता विष्णुकान्तप्रसाद यादव उपर अदालती सजायँको कारवाहीलाई मुद्दा दायर गर्न सबूद पुग्ने देखिएकोले सो ऐनको दफा १३(२) बमोजिम सरकारी बाँकी सरह बिगो भराउने र भ्र.नि.ऐन, २०१७ को संशोधन सहितको दफा १३(२) र २९ अनुसार जरिवाना समेत हुने सजायँको दावी लिएको नारायणी अञ्चलाधीश कार्यालय वीरगञ्जको ०३९।९।५ को प्रतिवेदनपत्र ।
८. आरोपित कसूर मैले गरेको होइन, छैन रु.४१,७७७।१५ को मैले खाद बिक्री गरेको थिएँ । बिक्रीबाट आएको रकम रोजिन्दा लेखापाल गगनदेवप्रसाद उपाध्यायलाई बुझाउने गरी आएको थिएँ । मैले ०३८।४।२२ गते देखि २८ गतेसम्म बिक्रीको रकम बुझाएको बुझें भनी २८ गतेको दिन रु.२२,८६७।– को रकम निज गगनदेवले आफ्नो हस्ताक्षरबाट भर्पाई गरी दिएको थियो । पुनः ०३८।४।२८ देखि ३२ गते सम्मको रकम रु.२६,१२०।७५ निज गगनदेवलाई बुझाएकोमा ०३८।४।३२ मा निजले आफ्नो हस्ताक्षरबाट रकम बुझें भनी गरी दिएको भर्पाईको सक्कल पेश गरेको छु । भाद्र आश्विन महीनाको बिक्रीको रकम रु.४१,७०७।२५ र ०३८।७।१४ को बिल अनुसारको आम्दानी रु.७९।९० समेत निज लेखापाल गगनदेवलाई बुझाएको भर्पाई दिन्छु भनी विश्वास दिलाएकोले भर्पाई लिन सकिन, पछि भर्पाई माग्दा नदिई झगडा गरेको भन्ने समेत विष्णुकान्तप्रसाद यादवको अदालतमा भएको बयान ।
९. प्रतिवादीले बिक्रीबाट आएको रु.४१,७०७।२५ ०३८।७।१४ गतेको बिल अनुसारको रु.७९।९० र स्टक जाँचबाट घटी देखिएको भनिएको रु.१७,२३८।३, बेरुजु बाँकी रु.१,६५५।३० समेत गरी जम्मा बिगो रु.६०,६८०।४८ आफ्ना जिम्माको मसौट गरी मासी भ्र.नि.ऐन (संशोधन समेत) ०१७ को दफा १३ अन्तर्गतको अपराध गरेको ठहर्छ रु.१०००।– जरिवाना हुने र मासेको बिगो प्रतिवादीबाट असूल गरी लिन पाउने ठहर्छ भन्ने समेत ना.अं.अ.को फैसला ।
१०. सो फैसलामा चित्त बुझेन भन्ने समेत विष्णुकान्तप्रसाद यादवको पुनरावेदन ।
११. साझा संस्थाको राष्ट्रसेवकले आफू सस्पेण्ड भएको पदको हैसियतले आफू जिम्मा रहेको मलखाद बिक्री गरी बुझाउन पर्ने पैसा नबुझाई हिनामिना गरी घर खर्चमा लगाएको व्यहोरा निजैको बयानबाट देखिएकोले भ्र.नि.ऐन, २०१७ को दफा १३ को कसूर गरेको देखिँदा ना.अं.अ.ले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला ।
१२. म.क्षे.अ.को फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्र.विष्णुकान्तप्रसाद यादवको निवेदन परेकोमा म.क्षे.अ.को फैसलामा पु.श्यामबहादुर थापा क्षेत्री, वि.श्री ५ को सरकार भएको फौ.पु.नं. १४६।१८१ को मुद्दामा ०३७।२।२२ मा यस अदालतबाट प्रतिपादित सिद्धान्त तथा भ्र.नि.२०१७ को दफा १३(१) को त्रुटि भएकोले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको ०४२।९।३।४ को आदेशानुसार पुनरावेदन लगतमा दर्ता भई पेश हुनआएको रहेछ ।
१३. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहित मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विपक्षी श्री ५ को सरकारको तर्फबाट खटिई उपस्थित हुनुभएका का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१४. अब म.क्षे.अ.को इन्साफ मिलेको छ छैन सो को निर्णय दिन परेको छ ।
१५. निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी बिक्रेता विष्णुकान्तप्रसाद यादवले साझा संस्था लि.कबही गोठको निज जिम्मा रहेको जम्मा बिगो रु.६०,६८०।४८ संस्थालाई बुझाउनु पर्नेमा नबुझाई हिनामिना गरी मासी खाई भ्रष्टाचार गरेको भनी भ्र.नि.ऐन, २०१७ को दफा १३(२) तथा २९ अनुसार जरिवाना समेत गरी पाउँ भन्ने वादी दावी देखिन्छ ।
१६. त्यसरी संस्थालाई बुझाउन पर्ने आफ्नो जिम्मा रहेको रकम नबुझाई बाँकी राखी हिनामिना गरी मासी खाएको देखिएमा त्यस्तो हिनामिना गरेको रकम दाखिल गर्न नसकेमा संस्थाले त्यस्तो हिनामिना गर्ने व्यक्ति उपर कानुन बमोजिम नालेश गरी असूल उपर गराई लिनसक्ने र भ्र.नि.ऐन अन्तर्गत कार्यवाही गर्न नमिल्ने भनी यस अदालतबाट फौ.पु.नं.४५२ प्र.कूलबहादुर क्षेत्री, वि.श्री ५ को सरकार भएको भ्रष्टाचार मुद्दामा ०४२।४।२७ मा पुनरावेदक श्यामबहादुर क्षेत्री विरुद्ध श्री ५ को सरकार भएको फौ.पु.नं. ६२५ को आफ्नो जिम्माको सम्पत्ति मस्यौट गरे भन्ने मुद्दामा मिति ०२८।९।२६ मा पुनरावेदक बलदेव उपाध्याय समेत विरुद्ध श्री ५ को सरकार भएको संस्थालाई हानी आफूलाई फाइदा पुर्याएको भन्ने फौ.पु.नं.१४६।१८१ को मुद्दामा मिति ०३७।२।२२ मा निर्णय हुँदा सिद्धान्त प्रतिपादन भइरहेको देखिन्छ र सहकारी संस्था ऐन, २०१६ को दफा १२(क)(१)(२) बमोजिम कुनै व्यक्तिले रजिष्टर्ड संस्थाको सम्पत्ति आफ्नो निजी सम्पत्ति गराएको रहेछ वा यो ऐन वा र.सं.को विनियमले अधिकार दिएको काममा बाहेक अरु काममा लगाएको छ भन्ने कुरा र.सं.ले वा सो संस्थाले अधिकार दिएको सदस्य वा समितिले उजूर गरी उजूर गरेको प्रमाणित हुन आएमा रजिष्टर संस्थाले वा निजबाट अधिकार पाएको व्यक्तिले रु.२००।– सम्म जरिवाना गरी निजले प्राप्त गरेको र.सं.को सम्पत्ति र त्यस सम्पत्तिको चलन चल्तिको मूल्यमा कानुन बमोजिम लाग्ने ब्याज निजको जायजेथाबाट सरकारी बाँकी सरह असूल उपर गराई दिन सक्नेछ भन्ने व्यवस्था भएको देखिँदा प्रस्तुत मुद्दामा पनि प्रतिवादी विष्णुकान्तप्रसाद यादव उपर संस्थालाई बुझाउनु पर्ने रकम नबुझाएको र हिनामिना गरी मासी खाएको उपरोक्त भन्ने नै वादी दावी भएको देखिन आएकोले प्रतिपादित सिद्धान्त एवं कानुनी व्यवस्था अनुसार विपक्षी संस्थाले पुनरावेदक प्र.विष्णुकान्तप्रसाद यादव उपर साझा संस्थालाई बुझाउनु पर्ने आफ्नो जिम्माको रकम असूल उपर गरी पाउँ भनी कानुन बमोजिम नालेश गरी असूल उपर गर्न पाउने प्रष्ट देखिन आएको हुँदा पुनरावेदक प्रतिवादी उपर त्यसरी संस्थालाई बुझाउन पर्ने आफ्ना जिम्मामा रहेको रकम नबुझाई हिनामिना गरी मासी खाएको भनी वादी दावी बमोजिम पुनरावेदक प्रतिवादीले भ्रष्टाचार गरेको ठहर्याई जरिवाना समेत गर्ने गरेको ना.अं.अ.को इन्साफ सदर गर्ने गरेको म.क्षे.अ.को फैसला माथि उल्लिखित यस अदालतबाट प्रतिपादित सिद्धान्त तथा कानुनी व्यवस्था समेतको विपरीत भई त्रुटिपूर्ण हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए अनुसार म.क्षे.अ.को इन्साफ उल्टी हुने ठहरेकोले देहाय बमोजिम गर्न ना.अं.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ......... १
यस अदालतमा पुनरावेदन गर्दा राखेको म.क्षे.अ.को मिति ०४१।१२।१४ को फैसलाले लागेको थप जरिवाना रु.१००।– धरौट राखेको फिर्ता पाउने हुँदा सो फिर्ता दिनु भनी-१
ना.अं.अ.को मिति ०४०।५।१३ को फैसलाको लगत बमोजिमको जरिवाना रु.१०००।– नलाग्ने हुँदा सो लगत कट्टा गर्ने भनी - २
नारायणी अञ्चल अदालतको मिति ०४०।५।१३ को फैसलाको लगत बमोजिम प्र. विष्णुकान्तप्रसाद यादवबाट बिगो रु.६०,६८०।४८ असूल गर्ने गरेको लगत कट्टा गर्नु भनी -३
मुद्दा उल्टीमा ना.अं.अ.को न्यायाधीश श्री महेश्वरमान प्रधान र म.क्षे.अ.को मा.न्या.द्वय श्री कृष्ण जड्ड रायमाझी र हरिप्रसाद शर्माको रेकर्ड राख्न भनी यस अदालतको प्रशासन शाखालाई जनाउ दिनु....२
मिसिल नियम बमोजिम बुझाई दिनु...........३
उक्त रायमा म सहमत छु ।
न्या. रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल माघ ९ गते रोज ६ शुभम् ।