निर्णय नं. २८८२ - आफूलाई गैरकानुनी फाइदा गुठी संस्थानलाई हानी

निर्णय नं. २८८२ ने.का.प. २०४३ अङ्क १०
संयुक्तइजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको फौ.पु.नं. ३६८
फैसला भएको मिति : २०४३।१०।९।६ मा
पुनरावेदक/प्रतिवादी : गोरखा जि.मनकामना गा.पं.वडा नं.३ बस्ने गड्डाबहादुर रानामगर
विरुद्ध
विपक्षी/वादी : श्री ५ को सरकार वि.प्र.वि., सिंह दरबार
मुद्दा : आफूलाई गैरकानुनी फाइदा गुठी संस्थानलाई हानी
(१) भ्रष्टाचारको लागि बदनियत तत्वको आवश्यकता पर्ने ।
(प्रकरण नं. १४)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे
फैसला
न्या.पृथ्वीबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. मनकामना धर्मशाला निर्माण कार्यमा खटिएका तत्कालीन फो.ई.(ना.सु.) बरुणप्रसाद प्रधान, ढुवानी ठेक्काको काम गर्ने नारायण मगर र गड्डाबहादुर राना तथा लक्की ट्रान्सपोर्टका मेनेजर विष्णुगोपाल श्रेष्ठ समेत आपसमा मिलोमतो सहमत भई उक्त धर्मशाला निर्माणको लागि निकासा भएको रकमबाट गिट्टि (रोडा) खरीद गर्न निज वरुणप्रसादले नारायण मगरसंग कोटेशन लिई लिन लगाई सो बमोजिम खरीद नै नगरिएको गिट्टि कृत्रिम प्राप्त गरेको देखाउन नारायण मगरबाट कृत्रिम भर्पाई प्राप्त गरी रु.७,२००।– कृत्रिम तबरबाट खर्च देखाई आउनुको अतिरिक्त गड्डाबहादुर सित रु.१९,०००।– को मात्र गिट्टि खरीद गरी रु.२६,८२५।– को भर्पाई बनाई बनाउन लगाई बढी रकम रु.७,८२५।– खर्च देखाई हिनामिना गरी आउनु, जिल्ला पञ्चायतको दर रेट अनुसार बालुवा ढुवानी प्रति मुरीको रु.१५।– का दरले भुक्तानी दिनु पर्नेमा जि.पं.को दर रेट भन्दा पनि बढी दर रु.२०।– प्रति मुरीका दरले भुक्तानी खर्च देखाई जम्मा १०२९ मुरी १८ पाथी बालुवा रु.५,४७४।– ५० हिनामिना गर्नुका साथै लक्की ट्रान्सपोर्टबाट सिमेन्ट र छड काठमाडौं देखि मुग्लिङसम्म ढुवानी गराउँदा सिमेण्ट प्रतिबोरा रु.७।– मा ढुवानी गरी गराई रु.१२।– प्रतिबोराका दरले ढुवानी खर्च देखाउन तथा छड प्रति के.जी. ।२० पैसाको दरले काठमाडौं देखि मुग्लिङसम्म ढुवानी गरे गराएकोमा प्रति के.जी. ।३० पैसाका दरले ढुवानी गराएको खर्च देखाउन लक्की ट्रान्सपोर्टका मेनेजर विष्णुगोपाल श्रेष्ठबाट बढी दर रेटको कोटेशन प्राप्त गरी ९९० बोरा सिमेण्ट र ९००० के.जी. छड ढुवानीमा क्रमश ४,९५०।– र ९०० बढी रकमको भर्पाई गराई गरी उक्त रकम समेत जम्मा रु.२६,३४९।५० गैरकानुनी तवरले हिनामिना गरी गुठी संस्थानलाई हानी र आफूहरूलाई गैरकानुनी लाभ पुर्याई भ्रष्टाचार गरेकोले बरुणप्रसाद उपर भ्र.नि.ऐन, २०१७ को दफा ७(२) अन्तर्गत, गड्डाबहादुर राना, नारायण मगर र विष्णुगोपाल समेत उपर ऐ.ऐनको दफा ८ अन्तर्गत कारवाही र सजायँ हुन र उक्त ऐनको दफा २९ अन्तर्गत वरुणप्रसादबाट बिगो असूल गरी गुठी संस्थानलाई भराई दिनु हुन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोपपत्र ।
३. मैले ढुवानी गरेबापत सिमेन्ट प्रतिबोरा रु.६।– र छडको प्रति किलो रु.७।– पाएको छु । यसभन्दा बढी लिए खाएको छैन भन्ने समेत वि.प्र.वि.मा र वि.प्र.वि.को बयान मेरो राजीखुशीबाट भएको होइन । आरोप बमोजिम काम मबाट नभएको हुँदा फुर्सद पाउँ भन्ने समेतको बागमती विशेष अदालतबाट विष्णुगोपाल श्रेष्ठले गरेको बयान ।
४. पटक पटक गरी मैले रु.१९,०००।– भुक्तानी पाएको छु, भर्पाईमा लेखे मुताविक रकम भुक्तानी पाएको छैन भन्ने समेत वि.प्र.वि.मा र तीनवटै भर्पाईमा बरुणप्रसादले एकै चोटी सही गराएको थियो, तिम्रो ९ हजार र १० हजारको यो ३ वटा भर्पाई मध्ये दुई वटा माथि पठाउनु पर्छ एक हामी कहाँ राख्नु पर्दछ भनी निजै बरुणप्रसादले भनेको थियो र पैसा सो भन्दा अगाडि नै पटक पटक गरी १९,०००।– लिएको थिएँ । भर्पाईको व्यहोरा बरुणले सुनाएन बेलुकाको बेला हुँदा नपढी भर्पाईमा हस्ताक्षरको सही गरी दिएको हुँ । रु.७,८२५।– को भर्पाई मलाई झुक्याई व्यहोरा नसुनाई सही गरेको हुँ । रु.१९,०००।– भन्दा बढीको काम गरेको छैन भन्ने समेत व्यहोराको गड्डाबहादुर राना मगरले बागमती विशेष अदालतमा गरेको बयान ।
५. वि.प्र.वि.मा भएको मेरो बयान खुसीराजीसंग भएको होइन । बलजफती कुटपिट गरी गराई लेखाएको हुन । बालुवा प्रतिमुरी रु.२०।– र छाप्ने ढुड्डा रोडा जि.पं.बाट तोकिदिएको दर रेटमा खरीद गरेको हुँ । काठमाडौंबाट मुग्लिङसम्म सामान दर रेट कम हुने पार्टीबाटै ढुवानी गराई बिल भौचर बमोजिम भुक्तानी दिएको हुँ गड्डाबहादुरलाई पनि बिल भर्पाई बमोजिम पुरै रकम भुक्तानी दिएको हुँ गुठी संस्थानलाई कुनै हानी नोक्सानी भएको छैन भन्ने समेतको वा.वि.अ.मा बरुणप्रसाद प्रधानले गरेको बयान ।
६. मैले डकर्मी भई काम गरेको हुँदा ४ थान कागजमा ल्याप्चे सहिछापसम्म गरी दिएको छु । मैले कोटेशन प्रस्तुत गरेको पनि होइन, ढुड्डा रोडा दिएको पनि छैन, रकम भुक्तानी लिएको पनि छैन भन्ने व्यहोराको वि.प्र.वि.मा र म डकर्मी भएको हुँदा आरोप बमोजिम मैले काम गरेको नहुँदा मलाई सजायँ हुन पर्ने होइन भन्ने समेतको नारायण मगरले वा.वि.अ.मा गरेको बयान ।
७. भ्र.नि.ऐन, ०१७ को दफा ८ अनुसार रु.४००।– प्र.गंगाबहादुर राना मगर, नारायण, विष्णुगोपाल श्रेष्ठलाई जरिवाना हुने ठहर्छ । प्र.वरुणप्रसादलाई भ्र.नि.ऐनको दफा ७(२) अनुसार रु.५००।– जरिवाना हुने ठहर्छ । बिगोको हकमा रु.७,८२५ को गंगाबहादुर, वरुणप्रसादबाट दामासाहीले रु.५,८५० विष्णुगोपाल र बरुणप्रसादबाट दामासाहीले नारायण मगर र बरुणप्रसादबाट दामासाहीले रु.५,४७४।५० वरुणप्रसाद प्रधानबाट भरी पाउने ठहर्छ भन्ने समेतको बागमती विशेष अदालतको फैसला ।
८. उक्त फैसला उपर गंगाबहादुर राना मगर बरुणप्रसाद, विष्णुगोपाल र नारायण मगरको म.क्षे.अ.मा छुट्टाछुट्टै पुनरावेदन परेको ।
९. बिगो बरुणप्रसादबाट भराई पाउँ भन्ने आरोप भएकोमा सबै प्रतिवादीबाट भराउने गरेको वा.वि.अ.को फैसला फरक पर्ने भएबाट अ.बं.२०२ नं.बमोजिम विपक्षी झिकाउने आदेश म.क्षे.अ.बाट भएको । प्र.गंगाबहादुर, नारायण मगर र विष्णुगोपाल श्रेष्ठलाई भ्र.नि.ऐनको दफा ८ अनुसार कसूरदार ठहर्याएको र प्र.वरुणप्रसादलाई भ्र.नि.ऐनको दफा ७(२) बमोजिम कसूरदार ठहर्याएको इन्साफ मनासिब ठहर्छ । तर प्र.नारायण मगर, गंगाबहादुर राना मगर, विष्णुगोपाल श्रेष्ठ समेतबाट बिगो भराई दिने गरेको वा.वि.अ. को इन्साफ गल्ती हुँदा त्यती हदसम्म बदर हुन्छ वरुणप्रसादबाट वादी दावीको बिगो भराई दिने ठहर्छ भन्ने समेत ०४२।३।१९ को म.क्षे.अ.को फैसला ।
१०. म.क्षे.अ.को उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्र.गंगाबहादुर राना मगरको यस अदालतमा परेको निवेदनपत्र डिभिजनबेञ्च समक्ष पेश हुँदा वादी दावीको सम्पूर्ण रकमको कसूरदार वरुणप्रसाद ठहराई निजैबाट उपर गर्ने गरी म.क्षे.अ.बाट फैसला भएकोमा सो निवेदन उपर भ्र.नि.ऐन, ०१७ को दफा ८ बमोजिम कसूरदार ठहर्याएकोमा उक्त ऐनको त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने आदेश भई पुनरावेदनको लगतमा दर्ता भएको रहेछ ।
११. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले गंगाबहादुरले केवल गिट्टी कुटाई दिएको हो, केही बदनियत गरेको र गैरकानुनी फाइदा लिएको नहुँदा आरोपबाट सफाई पाउनु पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
१२. अब यो मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदकको हकमा भएको निर्णय मनासिब वा बेमनासिब के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।
१३. निर्णयतर्फ विचार गर्दा यसमा प्र.गंगाबहादुर राणा मगरले मनकामना धर्मशाला निर्माण कार्यमा ढुड्डाको गिट्टि कटाई सप्लाई गरेको भन्ने कुरामा विवाद देखिँदैन । यहाँ उक्त निर्माण कार्यमा खटिएका वरुणप्रसादसंग मिलेमतो गरी गुठी संस्थानलाई हानी आफूलाई गैरकानुनी फाइदा गरी भ्रष्टाचारको कसूर गरेको हो होइन भन्ने सम्बन्धमा मुख्य रुपमा विवाद खडा भएको देखियो ।
१४. प्रथमत भ्रष्टाचारको लागि बदनियत तत्वको आवश्यकता पर्ने हुन्छ । प्र.गंगाबहादुर राना मगरको बदनियत केही देखिन आएको छैन । केवल गिट्टि सप्लाई गरेको भन्ने देखिन आएको छ । प्र.गंगाबहादुरले आफ्नो बयानमा गिट्टि कट्टि दिए बापत प्रति टिन पहिला रु.३।– र पछि प्रति टिन रु.४।– का दरले लिई जम्मा १९,०००।– रुपैयाँ बरुणप्रसाद मार्फत बुझी लिएको कुरा उल्लेख गरेका छन् । जहाँसम्म रु.२६,८२५।– को भर्पाई छ सो सम्बन्धमा गंगाबहादुरले आफ्नो बयानमा रु.१९,०००।– भन्दा बढी नलिएको, साँझको समय हुँदा बरुणप्रसादले बनाएको भर्पाई नपढी ३ वटा भर्पाईमा हस्ताक्षर गरेको, वरुणप्रसादले २ वटा भर्पाई माथि पठाउनु पर्ने र एउटा यहीं राख्नु पर्छ भनी भनेकाले हस्ताक्षरको सही गरेको भनेको पाइन्छ । प्र.वरुणप्रसादको रोवहरमा नै मैले रु.१९,०००।– भन्दा बढी रकम लिएको छैन भनी गंगाबहादुरले बयान गरेको र सोही कुरा उल्लेख गर्दै प्र.बरुणप्रसादलाई सोधनी गरी बयान गराउँदा बढी रकम बुझाउन मञ्जूर छ भनी प्र.बरुणप्रसादले बयान गरेको समेत देखिन्छ गंगाबहादुरको बयानलाई वरुणप्रसादले खण्डन गरेको पनि पाइँदैन । उक्त रकमका सम्बन्धमा गंगाबहादुरको बदनियत भएको देखिँदैन । अतः यस्तो स्थितिमा प्र.गंगाबहादुर राना मगरलाई आरोपित कसूर गरेको ठहर्याई निजलाई रु.४००।– जरिवाना गर्ने ठहर्याएको इन्साफ सदर गरी पुनरावेदन गरे बापत रु.४०।– थप जरिवाना समेत गर्ने गरी म.क्षे.अ.बाट भएको फैसला निजका हकमा मिलेको देखिन नआएबाट त्यती हदसम्म उल्टी हुने ठहर्छ । पुनरावेदक प्र.गंगाबहादुरले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.गंगाबहादुरले आरोपित कसूरबाट सफाई पाउने ठहरेकोले मिति ०४०।३।९ मा का.जि.अ.मा बुझाएको रु.४००।– र यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन गर्दा दाखिल गरेको थप जरिवानाका रकम रु.४०।– समेत निजलाई नलाग्ने हुँदा ऐनका म्यादभित्र दर्खास्त दिन आए कानुन बमोजिम गरी प्र.गंगाबहादुर राना मगरलाई फिर्ता दिई तत्सम्बन्धी शुरु र म.क्षे.अ.ले राखेको लगत कट्टा गर्नु भनी का.जि.अ.त.मा लगत दिनु.....१ मिसिल नियम बमोजिम गरी बुझाई दिनु....२
उक्त रायमा म सहमत छु ।
न्या. रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल माघ ९ गते रोज ६ शुभम् ।