निर्णय नं. २८८६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. २८८६ ने.का.प. २०४३ अङ्क १०
संयुक्तइजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको रिट नं. १४३४
आदेश भएको मिति : २०४३।१०।२६।२ मा
निवेदक : ललितपुर न.पं.वा.नं.२२ बस्ने बाबुकाजी महर्जनसमेत
विरुद्ध
विपक्षी : ललितपुर नगर पञ्चायत कार्यालय, मंगलबजार ल.पु.न.पं वार्ड नं.२२ बस्ने नन्दरत्न ब्रम्हाचार्य भिक्षुसमेत
विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
(१) हक बेहकमा निर्णय गरेको नभई इजाजत नलिई राखेको ढोकासम्म झिकी दिने भनी साविकको निकाश कायमै रहने गरी निर्णय गरेको देखिएकोले हक बेहकको प्रश्न समावेश भएपछि नगर पञ्चायतले हेर्न नहुनेमा मुद्दा हेरी छिनेको बदर हुनुपर्छ भन्ने रिट निवेदन जिकिर तर्क कानुनसंगत देखिन आएन ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री वारकृष्ण श्रेष्ठ
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ ।
२. यम्बहालको पूर्वपट्टि रहेको पर्खाल भत्काई बाबुकाजी महर्जनले आफ्नो घरमा आउने जाने गर्ने हिसाबले ढोका राखी बिहारको जग्गा मिची अनाधिकार काम गरेकाले पर्खालको उत्तरपट्टिको मूल बाटो यम्बालको गल्लीबाट भएको हो । बिहारमा आउने जाने बाटो नभएकोले उल्लिखित पर्खाल रातारात भत्काई बाङ्गो पारी आफ्नो घर जान सजिलो पार्न ढोका राखी बिहारको जग्गा मिचेकोले सो ढोका झिक्न लगाई पाउँ भनी नन्दरत्न ब्रम्हाचार्य भिक्षु र सानुकाजी ब्रम्हाचार्य भिक्षुको ल.पु.न.पं.मा निवेदन दिएको र ल.पु.न.पं.का जा.केदार ब.के.सी. र जा.गोकूलबहादुर थापाले पर्खालमा चौकोश राखी ढोका १ इजाजत भन्दा बढी बनाएको भन्ने समेत व्यहोराको प्रतिवेदन पेश गर्नुभएको थियो । मैले ल.पु.न.पं.मा बयान गर्दा प्रतिवेदनमा उल्लिखित पर्खाल मेरो श्रीमतीको नाउँमा दर्ता रहेको जग्गामा बनाई राखेको पुरानै पर्खाल हो । विहारको होइन, सोमा पहिले देखि नै आवत जावतको लागि चौकश नराखेको ढोका थियो, इजाजत पत्रमा पेश भएको फोटो हेरेमा पनि सो कुरा प्रष्ट हुने नै छ । दिएको निवेदनको व्यहोरा झुठ्ठा हो भन्ने समेत व्यहोराको बयान गरेको थिएँ । यस्तो निवेदन प्रतिवेदन बयान भएको मुद्दामा ल.पु.न.पं.का.प्र.पञ्चको इजलासबाट ढोका न.पं.को स्वीकृति बेगर बनाएको देखिँदा प्रतिवादीलाई आजका मितिले १५ दिनभित्र ढोका बन्द गरी दिनु भनी सुनाई दिने, बन्द नगरे वडा समितिबाट बन्द गर्न लगाउनु भनी सम्बन्धित वडा समितिलाई परिपत्र गरी दिने समेत ठहर्छ भनी फैसला गर्नु भयो । उक्त फैसला बदर गरी पाउँ भनी ल.पु.न.पं.बोर्डमा मेरो पुनरावेदन परेकोमा मेरो प्रमाणको न्यायिक मूल्याङ्कन नै नगरी प्रधानपञ्चको इजलासबाट भएको पर्चालाई सदर गर्ने ठहर्याई निर्णय गरियो । जुन फैसला गैरकानुनी र अन्यायपूर्ण भएको व्यहोरा अवगत गराउन चाहन्छु । विपक्षी नन्दरत्नले ल.पु.न.पं.मा दिएको निवेदनमा मुख्य दावी नै बिहारको जग्गा मिची अनाधिकार काम गरे भन्ने नै छ मैले बयान गर्दा विवादीत पर्खाल विहारको होइन, मेरो श्रीमतीको नाउँमा दर्ता भएको जग्गाको पुरानो पर्खालको भनी बयान गरेपछि पर्खालमा तेरो मेरो, हक बेहकको प्रश्न उपस्थित भएकोमा न.पं.ले हक बेहकको प्रश्नमा असर गर्ने गरी निर्णय फैसला गर्न नहुनेमा फैसला गरेको मुलुकी ऐन, अ.बं.३५ नं.को आधार समेतमा बदरभागी छ र साथै ल.पु.न.पं.ले वादी दावी भन्दा बाहिर गई न.पं.ऐन, २०१९ को दफा १७, ४९ समेतको विपरीत हुने गरी गरेको उक्त निर्णय फैसला प्रत्यक्षतः त्रुटिपूर्ण हुन गएको छ । साविक देखि नै विवादीत ढोका थियो भन्ने कुरा पर्खाल मर्मतको लागि इजाजत पाउन मौकैमा मिति ०४०।४।१८ मा निवेदन साथ पेश गरेको फोटो तथा संलग्न मिसिल प्रमाणबाट प्रष्ट किटानी रुपमा देखिँदा देखिँदै पनि मेरो सबूद प्रमाणको कुनै मूल्याङ्कन नै नगरी गरिएको निर्णय फैसलाबाट मेरो सम्पत्ति सम्बन्धी मौलिक हकमा प्रत्यक्षतः आघात पर्न गएको हुँदा ल.पु.न.पं.को उक्त मिति ०४२।३।२३ को निर्णय फैसला उत्प्रेषणको लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालतको मिति ०४२।५।२ को आदेश ।
४. विपक्षीले गैरकानुनी तरीकाबाट विहारको जग्गा मिची ढोका बनाएकोले भत्काई पाउन ल.पु.न.पं.मा उजूरी परी ल.पु.न.पं.बाट जाँचबुझ गर्दा नगर पञ्चायतको स्वीकृति बेगर उजूरीमा उल्लिखित ढोका बनाएको प्रमाणित हुनआएकोले ढोका बन्द गर्ने गराउने गरी निर्णय न.पं.ले गरेको हो । तेरो मेरोको प्रश्न त पर्खाल कसको हो भनी ठहर गरेको भए उठ्ने थियो । यहाँ त ढोकामा मात्र सीमित रही निर्णय गरिएको हुँदा तेरो मेरोको प्रश्न उठ्ने कुरै छैन । निर्णय गरिँदा दावीमा नै सीमित रही गरिएको हुँदा र पुनरावेदनको तह समेतबाट निर्णय भइसकेको हुँदा विपक्षीको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको ल.पु.न.पं.को लिखितजवाफ ।
५. प्रस्तुत रिट निवेदन दायर गर्ने विपक्षीको हक अधिकार नै छैन । विपक्षीले पर्खाल मर्मत गर्ने इजाजत लिएर न.पं.समेतलाई झुक्याई पर्खालमा ढोका राख्नु भएकोमा हाम्रो उजूरी न.पं.मा परी छानबीन हुँदा सो कुरा प्रमाणित हुनआएकोले गैरकानुनी अनाधिकृत तबरबाट बनाएको उक्त ढोका बन्द गर्ने गराउने निर्णय न.पं.बाट भएको हो । यसमा हक बेहकको प्रश्न पनि उपस्थित भएको छैन । दावी भन्दा बाहिर गएर निर्णय गरिएको नहुँदा सो निर्णयबाट विपक्षीको सम्पत्ति सम्बन्धी हक हनन् समेत नभएकोले विपक्षीको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सानुकाजी ब्रम्हाचार्यको लिखितजवाफ ।
६. रीतपूर्वक म्याद तामेल भई नन्दरत्न ब्रम्हाचार्य भिक्षुबाट लिखितजवाफ पेश नभएको ।
७. नियम बमोजिम पेश भएको प्रस्तुत रिट निवेदनका फाइल समेत अध्ययन गरी निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री वारकृष्ण श्रेष्ठको बहस जिकिर समेत सुनियो ।
८. अब निवेदकको माग दावी अनुसार आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सो को निर्णय दिनु परेको छ ।
९. निर्णयतर्फ विचार गर्दा तेरो मेरोको प्रश्न समावेश भएको प्रस्तुत विषयमा नगर पञ्चायतलाई न.पं.ऐन, २०१९ को दफा १७(१)(७) दफा ४८ र ४९(२) समेतले निर्णय गर्ने अधिकारै छैन, अधिकार विहीन निकायबाट भएको त्रुटिपूर्ण निर्णय बदर हुनुपर्छ भन्ने मुख्य रिट निवेदन जिकिर तथा बहस जिकिर भएको प्रस्तुत रिट निवेदनमा पेश भएको सम्बन्धित फाइल हेर्दा विवादको पर्खाल बनाउन निवेदकले ल.पु.न.पं.बाट इजाजत लिएको र साविकमा घटी बढी नहुने गरी बनाउने गरी नगर पञ्चायतले इजाजत दिएको देखिन्छ । विवादको पर्खालमा निवेदकको घरतिर साविकदेखि चौकोश विनाको आवत जावत गर्न हुने सम्म निकाश रहेको कुरा फाइलमा पेश भएको तस्वीर समेतबाट प्रष्ट देखिएकै छ ।
१०. माथि उल्लेख गरे अनुसार साविकको पर्खालमा कुनै परिवर्तन नगरी बनाउन निवेदकले इजाजत पाएकोमा निवेदकले उक्त निकाश रहेको ठाउँमा चौकोश हाली ढोका समेत राखेको कुरा निवेदकको रिट निवेदनबाटै प्रष्ट देखिएको र त्यसरी राखेको ढोका झिकी पाउँ भनी विपक्षी सानुकाजी ब्रम्हाचार्य भिक्षु समेतको ल.पु.न.पं.मा उजूर परेको देखिन्छ । उक्त निवेदनमा कारवाही हुँदा न.पं.प्रधानपञ्चले उक्त ढोका बन्द गरी दिने भनी निर्णय गरेको उपर ज्ञानीमाया महर्जनको पुनरावेदन परेकोमा न.पं.बैठकबाट पर्खाल बनाउन स्वीकृति लिई ढोका समेत राखी पर्खाल बनाएको हुँदा सो इजाजत लिई स्वीकृति बेगर बनाएको ढोका झिकी दिने ठहर्याई मिति ०४२।५।२३ मा निर्णय भएको पाइन्छ ।
११. प्रस्तुत निर्णय हेर्दा न.पं.बाट उक्त पर्खालको स्वामित्वमा केही नबोलेबाट हक बेहकमा निर्णय गरेको नभई इजाजत नलिई राखेको ढोकासम्म झिकी दिने भनी साविकको निकाश कायमै रहने गरी निर्णय गरेको देखिएकोले हक बेहकको प्रश्न समावेश भएपछि नगर पञ्चायतले हेर्न नहुनेमा मुद्दा हेरी छिनेको बदर हुनुपर्छ भन्ने रिट निवेदन जिकिर तर्क एवं कानुनसंगत देखिन आएन । तसर्थ रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इतिसम्वत् २०४३ साल माघ २६ गते रोज २ शुभम् ।