शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २२१६ - लेनदेन

भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२

निर्णय नं. २२१६   ने.का.प. २०४१           अङ्क १२

डिभिजन बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको दे.पु.नं. ५७९

मुद्दा : लेनदेन

पुनरावेदक/वादी : सर्लाही जिल्ला पिपरिया गा.पं. वडा नं. १ बस्ने लखन मंडल धानुक

विरूद्ध

विपक्षी/प्रतिवादी : सर्लाही जिल्ला मौजा गंगापुर हाल गा.पं. मूर्तिया वडा नं. ८ बस्ने विश्वनाथ उपाध्याय

फैसला भएको मिति :   २०४१।१२।४।१ मा

§  रेखा लेखा सम्बन्धमा विवाद उठ्न साथ विशेषज्ञलाई नै जँचाई हाल्नुपर्दछ, त्यसो नगरी अदालतले केही गर्न सक्दैन भन्ने प्रमाण ऐनको दफा २४ र ३६ को मनसाय र मतलव होइन । विशेषज्ञको राय लिन पर्ने अवस्थाको जटिलता छ भन्ने अदालतलाई लागेमा अदालतले विशेषज्ञको राय लिने हो त्यस्तो अवस्था छैन भन्ने अदालतलाई पुष्ट प्रमाण र अन्य कुराले लागेमा (जस्तो प्रस्तुत मुद्दाको देखिन आएको छ) अदालतले स्वयं निर्णय गर्न सक्तछ ।

(प्रकरण नं. १४)

पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल

उल्लेखित मुद्दा : x

फैसला

          न्या. गजेन्द्रकेशरी बास्तोला :     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी लखन मंडल धानुकको निवेदन परी अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा पुनरावेदन जिकिर निम्न प्रकारको रहेछ :

          २.  विपक्षी विश्वानाथले मेरो काका चुल्हाइ मण्डलसँग रू. २३९९५। लिई आफ्नो नामको जग्गा ५१९ को राजीनामा ०२५।१२।२३ मा घरमा लेखी दिनुभएको सक्कल मसँग छ । ०२६ सालमा काका आफ्नो कालगतीले परलोक हुनु भयो काकाको छोराछोरी कोही नहुँदा मेरो हकमा आफ्नो उक्त राजीनामा आज भोलि भनी पारित गर्ने म्याद गुजारी दिनुभएकोले लिखत कपाली हुन गएको हुँदा लिखत मिति देखि आजको मितिसम्मको थैली रू. २३९९५। को सयकडा १० का दरले हुने ब्याज समेत जम्मा रू. ४०३०३।४८ र बिगो भराउँदाको मिति सम्मको ब्याज दिलाई पाउँ भन्ने ०३५।४।११ को लखन मण्डलको फिरादपत्र वादीको काका चुल्हाई मण्डल भन्ने व्यक्ति नै तेजसिंहको घरको काम गर्ने व्यक्ति हो नापी हुँदा मेरो जग्गा नापी गराउन तेजसिंहले चुलाई मण्डललाई र वारेस खडा गरी नापी गरिएको कुरा फिल्डबुक हेरिएमा प्रष्ट हुन्छ मैले दावी लिए बमोजिम राजीनामा लिखत कसैलाई गरी दिएको छैन अ.नं. ७८ नं. अन्तर्गत देख्न पाएका बखत प्रतिकृया जनाउने नै छ वादी दावी अनुसार विपक्षीलाई मैले सावाँ ब्याज बुझाउनुपर्ने होइन भन्ने समेत व्यहोराको ०३५।९।१९ को प्रतिउत्तर पत्र ।

          ३.  लिखत सद्धे हो ल्याप्चे सहीछाप र हस्ताक्षर विश्वनाथकै हो कीर्ते लिखत होइन लिखतको अक्षर सच्याएको अक्षर उडाएको छैन । लिखत लिफामा खडा गरेको होइन लिखत कीर्ते भनेकोमा प्रतिवादीलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको लखन मण्डलको अदालतमा भएको बयान ।

          ४.  लिखतको अंक अक्षरसमेत पहिलेको उडाई पछि तयार गरेको समेतबाट कीर्ते गरेकोमा निजहरू लाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको अधिकृत वारेसको अदालतमा बयान ।

          ५.  लिखत कीर्ते गरेको भन्ने प्रष्ट हुन आयो प्रतिवादीको जिकिर अनुसार लिखत कीर्ते नै भएको मिसिल प्रमाणबाट देखिँदा त्यस्तो कीर्ते लिखतको बिगो वादीले पाउन सक्ने स्थिति नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहर्ने भन्ने समेत व्यहोराको शुरू सर्लाही जि.अ.को ०३६।१२।१७ को फैसला ।

          ६.  फिरादीको दावी पुग्ने नदेखिने र कीर्तेको दावी ठहर्ने भनी गरेको निर्णय बदर गरी विपक्षीबाट सावाँ ब्याज दिलाउने गरी फैसला गरिपाउँ र कीर्तेमा दावी पुग्ने भनी गरेको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको लखन मण्डलको जनकपुर अं.अ.मा परेको पुनरावेदन पत्र ।

          ७.  न्या. प्र.सु.ऐ. ०३१ को दफा १३(१)(क) ले जरिवानाको अंकबाट यो मुद्दा अञ्चल अदालतको अधिकार क्षेत्रभित्रको नभई क्षेत्रीय अदालतको अधिकारक्षेत्र भित्रको देखिँदा मिसिल म.क्षे.अ.मा पठाई दिनु भन्ने ज.अं.अ.को ०३८।९।१५ को सरूवा आदेश भई क्षेत्रीय अदालतमा पुनरावेदन दायर हुन आएको रहेछ ।

          ८.  लिखतको अंक अनुसार र मिति समेत सच्चिएको हो होइन रेखा विशेषज्ञबाट जँचाई आधार सहितको प्रतिवेदन लिई पेश गर्नु भन्ने क्षे.अ.को आदेश रहेछ ।

          ९.  मिसिल संलग्न सक्कल लिखत सरसरती हेर्दामा पनि बिगोको अंकमा २३ को अंक र अक्षर समेत सच्चिएको र तल पुछारको मितिमा पनि सालको ५ को अंक र २५ भन्ने अक्षर सच्चिएको देखिन अएको यस्तो नालेस गर्ने हदम्याद व्यतीत भइसकेपछि म्यादभित्रको पार्नलाई मिति साल अंक सच्चिएको रहेछ भन्ने कुरा देखिन आउने यस्तो मितिकै अंक सच्चिएको भएपछि अरू लिखत भन्ने तर्फ विशेष हेरी रहन नपरेको हुनाले लिखत कीर्ते ठहराएको शुरू सर्लाही जि.अ.को इन्साफ बेमनासिव भन्न हुने कुनै आधारै नभएकोले सो इन्साफ मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को फैसला ।

          १०.  उक्त क्षे.अ.बाट भएको फैसला लेनदेन व्यवहारको २ नं. अ.बं. १८४, १८५, १८९ र १९२ नं. समेतको प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भएको र अंक अक्षर सच्चिएको केमिकल प्रयोग भएको यावत कुरा सम्बन्धित जानकार लेखा विशेषज्ञसँग परीक्षण गराई मात्र निष्कर्षमा पुग्नु पर्नेमा न्याय र प्रमाण ऐनले प्रष्ट गर्दागर्दे नजँचाई भएको निर्णय कानुनको बिपरीत समेत भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र ।

          ११.  निवेदकको २०२५।१२।२३ को लिखत विशेषज्ञद्वारा जँचाउने भन्ने आदेश भएको सो बमोजिम नगरी लिखत कीर्ते ठहर्‍याई वादी दावीको बिगो भरी नपाउने ठहराएको सर्लाही जिल्ला अदालतको इन्साफ मनासिव ठहराएको म.क्षे.अ.को निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ३६(३) र अ.बं. १८४ नं. समेतको कानुनी त्रुटि देखिएको हुँदा पुनरावेदन गर्ने अनुमति गरिएको छ भन्ने समेत यस अदालतको डि.बे.को आदेश रहेछ ।

          १२.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको वा.गणेशबहादुरलाई बेञ्चबाट बोलाउन लगाउँदा उपस्थित नभएको र विपक्षीको वा.खिलकुमारीलाई रोहवरमा राखी पुनरावेदनको तर्फबाट बहसमा उपस्थित विद्वान अधिवक्ता राधेश्याम अधिकारी र विपक्षीको तर्फबाट उपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्ता पुण्यप्रसाद अर्यालको बहस समेत सुनियो ।

          १३.  प्रस्तुत मुद्दामा म.क्षे.अ.को इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनुपर्ने हुन आयो ।

          १४. यसमा विपक्षी विश्वानाथले मेरो काका चुल्हाई मण्डलसँग रू. २३९९५। लिई आफ्नो नामको जग्गा ५१९ को राजीनामा घरसारमा लेखी दिनुभएकोमा पारित गर्ने म्याद गुजारी दिनुभएकोले थैली रू. २३९९५। को सयकडा १० का दरले बिगो भराउँदाको मितिसम्मको ब्याज दिलाई पाउँ भन्ने फिराद परेकोमा फिराद दावी बमोजिम राजीनामा लिखत कसैलाई गरी दिएको छैन । विपक्षीलाई सावाँ ब्याज बुझाउनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर लिएको र विवादको लिखत लिफामा लेखिएको कीर्ते लिखत हो भन्ने समेत बयान गरेको लिखत हेर्दा बिगोको अंकमा २३ को अंक र अक्षर समेत सच्चिएको र तल पुछारको मितिमा पनि सालको ५ को अंक र २५ भन्ने अक्षर सच्चिएकै देखिन आएको यस्तो मितिकै अंक सच्चिएको भएपछि लिखत कीर्ते ठहराएको सर्लाही जि.अ.को इन्साफ बेमनासिव भन्न हुने कुनै आधार नभएकोले सो इन्साफ मनासिव ठहर्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएको अंक अक्षर सच्चिएको केमिकल प्रयोग भएको यावत कुरा सम्बन्धित लेखा विशेषज्ञसँग परीक्षण गराई मात्र निष्कर्षमा पुग्नु पर्नेमा नजँचाई भएको निर्णय त्रुटिपूर्ण छ भन्ने पुनरावेदक प्रतिवादीको जिकिर भएको र सोही आधारमा यस अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको र प्रस्तुत मुद्दाको लिफामा लेखिएको भन्ने जिकिर हुँदै आएको देखिएकोले यो लिफामा लेखिएको हो होइन भन्ने तर्फ विचार गर्नुपर्ने हो कि भन्ने पनि देखिन आउँछ तापनि त्यसतर्फ जानुभन्दा पहिले क्षेत्रीय अदालतले पुछारको मितिमा भएको सालको अंक अक्षर सच्चिएको भन्ने आधारमा कीर्ते ठहर गरेको कति सम्म न्यायोचित हो भन्ने तर्फ नै विचार गर्नुपर्ने देखिन आएको छ । यसतर्फ विचार गर्दा लिखतको इतिसम्वतको २०२५ दुई हजार पच्चीस लेखिएको र महीना चैत्र २३ गते लेखिएको अरू अक्षरहरू हेर्दा सालको २५दुईको अंक अक्षरमा पछिको २ को अंक अघिले भन्दा ठूलो र ५ को अंक र त्यस्तै दुको अक्षर अस्वाभाविक रूपले ठूलो फुलेको देखिएका छन् । त्यस्तै गतेको २३ को अंकको को अंक पनि ठूलो मोटो र फुलेको देखिएको छ यस कुरालाई पुष्टी दिने किसिमले लिखतको नवौ हरफमा रहेको २०२५ दुई हजार पच्चीसको अंक अक्षरहरूमा २५ को अंक र दुईका अक्षरहरू ठूला र फुलेको देखिएका छन् त्यसै गरी हजार पच्चीसका अक्षरहरूमा र पचीस अक्षरहरू ठूला र फुलेका छन् भन्ने कुरा स्पष्ट देखिएको छ यसरी लिखतको पेट र पुछारमा रहेको सम्बन्धित अंक अक्षरहरू नै स्पष्ट रूपले थपे सच्चिई कैफियत भएको देखिन आएपछि लिखत लिफामा लेखिएको हो होइन भन्ने तर्फ विचार गरी रहनुपर्ने अवस्था नै प्रस्तुत मुद्दामा देखिन आएन रेखा लेखा सम्बन्धमा विवाद उठ्नासाथ विशेषज्ञलाई नै जँचाई हाल्नु पर्दछ, त्यसो नगरी अदालतले केही गर्न सक्दैन भन्ने प्रमाण ऐनको दफा २४ र ३६ को मनासय र मतलव होइन । विशेषज्ञको राय लिनपर्ने अवस्थाको जटिलता छ भन्ने अदालतलाई लागेमा अदालतले विशेषज्ञको राय लिने हो त्यस्तो अवस्था छैन भन्ने अदालतलाई पुष्ट प्रमाण र अन्य कुराले लागेमा (जस्तो प्रस्तुत मुद्दाको देखिन आएको छ) अदालतले स्वयं निर्णय गर्न सक्तछ । तसर्थ यसमा माथि भनिएको परिवन्दबाट अरू कुरा विचार गरिरहनुपर्ने अवस्था नहुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतले लिखत कीर्ते ठहर दावी गरी शुरू सर्लाही जिल्ला अदालतको दावी नपुग्ने ठहर गरेको इन्साफ सदर गरेको इन्साफ मनासिव छ । तपसील बमोजिम गर्नु ।

         

तपसील

पुनरावेदक प्रतिवादी लखन मण्डल धानुकके माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले अ.बं. २०३ नं. अनुसार सयकडा ५ ले पुनरावेदन गरे बापत रू. ८९९।८३ थप जरिवाना हुन्छ । बेरूजू हुँदा असूल उपर गर्नु भनी शुरू सर्लाही जिल्ला अदालतमा लगत दिनु काठमाडौं जिल्ला अदालत तहसील शाखामा लगत दिनु

 

उक्त रायमा म सहमत छु ।  

 

न्या. महेशमाभक्त माथेमा

 

इति सम्वत् २०४१ साल चैत्र ४ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु