निर्णय नं. २२१८ - कर्तव्य ज्यान

निर्णय नं. २२१८ ने.का.प. २०४१ अङ्क १२
डिभिजन बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको फौ.पु.नं. ६२०
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/वादी : देवकी उपाध्यायनीको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी : स्याङजा जिल्ला चण्डी कालिका गा.पं. वडा नं. ९ गहते घर भै हाल सेतीदोभान गा.पं. वा.नं. ३ सेती दोभान बस्ने महमदसरिफ मियाँ
फैसला भएको मिति : २०४१।१२।१५।५ मा
§ शंकाको भरमा अपराधी ठहर्याउन प्रमाण योग्य भएको नदेखिँदा शुरूले निजलाई ज्यान सम्बन्धीको १६ नं. अनुसार सजाय गरेको फैसला कानुनसंगत नदेखिने ।
(प्रकरण नं. २२)
पुनरावेदक तर्फबाट : विद्वान बरिष्ठ सरकारी अधिबक्ता श्री केदार प्रसाद शर्मा
प्रतिवादी तर्फबाट : x
उल्लेखित मुद्दा : x
फैसला
न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पश्चिमाञ्चल क्षे.अदालतको फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. मेरो पतिदेव भुवानीप्रसाद गणेशपुर गा.पं. वार्ड नं. ६ ठूली बेसी आँधी खोलाको तिर मूलबाटोमा चियाको दोकान गरी बस्ने भएको म गाउँको घरमा बस्ने गरेको ०३८ साल बैशाख ३० गते राति नमालुम कुन समयमा कहाँका मानिस आई पतिदेवलाई कर्तव्य गरी मारेछन् कर्तव्यवालाको पत्ता लगाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने ०३८।१।३१ को देवकी उपाध्यायनीको जाहेरी दर्खास्त ।
३. मृतक भुवानीप्रसादको बायाँ कानमा रगत आइरहेको दाहिने, कुम माथि घाँटीमा अं. १ अंगुल चौडाई २ अंगुल लम्बाई भएको, रातो डाम देखिएको लास नाङ्गो रहेको देखिएको भन्ने समेत ०३८।१।३१ को लास जाँच प्रकृति मुचुल्का ।
४. श्वास गतिमा अवरोध भई मुचुल्का मृत्यु भएको भन्ने ०३८।१।३१ गतेको पोष्टमार्टम ।
५. स्याङजा सेती दोभान गा.पं. वडा नं. ३ सेती दोभान बस्ने हाजिका हिलाको जेठो छोरा मुहमदसरिफ मियाँ र अरू नचिनेका २ जना समेत ३ जना भई ०३८ साल बैशाख २८ गते मेरो पतिदेवले दोकान गरेको ठाउँमा झै–झगडा गरी तँलाई आजको ३ दिनभित्र लास नपारी छाड्दैनौ भनी धम्की दिई गएका र पतिदेवको ०३८।१।३० गते राति कर्तव्यबाट मृत्यु भएकोले निज महमदसरिफ मियाँ र नचिनेको २ जना समेत ३ जनाले मेरो पतिदेवलाई कर्तव्य गरी मारेमा कारवाही गरिपाउँ भन्ने देवकी उपाध्यायनीको ०३८।२।१३ को जाहेरी दर्खास्त ।
६. ०३८।१।३० गते राति भुवानीप्रसादलाई कर्तव्य गरी मारेका हुन् मार्नेमा धोती कन्नानी समेत केही नभएकोले मुसलमान जातिले नै मारेको शंका लाग्दछ को कसले मारे मलाई थाहा छैन भन्ने समेत हिमप्रसादले ०३८।२।१५ मा गरेका कागज ।
७. ०३८।१।२८ गते बिहान हाजी काहिलाको छोरा जेठा र अरू नचिनेका २ जना समेत ३ जना सेती दोभानतर्फ गएको देखेको हुँ म भुवानी प्रसादको दोकानमा आउँदा मुसलमानहरुले भुवानीप्रसादसँग झगडा गरी दागा धरे भनी भुवानीप्रसादले भनेको निज कर्तव्यबाट मारिएको शंका लाग्छ भन्ने समेत ०३८।२।१५ मा इन्द्रबहादुरले प्रहरीमा गरेको कागज ।
८. ०३८।१।२६ गतेदेखि ऐ. जेष्ठ २ गते सम्म म लुङखु देउरालीमा बसेको हुँ मैले भुवानीप्रसादलाई कर्तव्य गरी मारेको होइन म उपर किन जाहेरी दिएकी हुन् र इन्द्रबहादुरले किन शंका लाग्छ भन्ने समेत ०३८।१।२८ गते मृतक भुवानीप्रसादको दोकानमा गिलास माझ्ने सम्बन्धमा झगडा भई ३ दिनभित्र लास पार्छौ भनी दागा राखी महमद सरिफ र नचिनेका २ जना समेतले भुवानीप्रसादलाई कर्तव्य गरी मारेमा शंका लाग्छ भन्न केही र मोहमद सरिफले ०३८।१।२६ गतेदेखि ऐ. जेष्ठ २८ गतेसम्म लुङखु देउरालीमा हुँदा निजले कर्तव्य गरी मारेको होइन भवानीप्रसाद कर्तव्यबाट मरेका हुन् । कसले कर्तव्य गरी मारे थाहा छैन भन्ने केही सरजमीन भएको ०३८।२।२६ को सरजमीन मुचुल्का ।
१०. पक्राउमा परेका महमद सरिफ मियाँलाई बयान कागज गराउँदा भुवानीप्रसादलाई कर्तव्य गरी मारेमा इन्कारी भई इन्कारी बयान गरेको छ तापनि ०३८।१।२८ गते भवानीप्रसादको दोकानमा भनाभन भएको त्यसको ३ दिनभित्रै भुवानीप्रसाद कर्तव्यबाट मरेकोले महमदसफरिफ मिया र अरू २ जना समेत जना ३ भई कर्तव्यबाट भुवानीप्रसादलाई मारेका भनी चिया खाएको बखत मौकामा चस्मदिद आँखाले देख्ने इन्द्रबहादुर तथा सरजमीनका १ देखि १२ दफा सम्मका मानिसहरूले प्रष्ट साथ बकी लेखी दिएको र भुवानीप्रसादको लास पोष्टमार्टम हुँदा स्वास गतिमा अवरोध भई मृत्यु भएको भनी मेडिकल अधिकृतले लेखी दिएकोले संकलन भएको सबूत प्रमाणबाट महमदसरिफ मियाँ र अरू २ जना समेत ३ जना मियाँ भई मारेको सो सिद्ध देखिन आएकोले अरू २ जनाको नाम हालसम्म खुल्न नआएकोले पछि खुल्न आएका बखत निजहरू प्रति ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ अनुसार सजाय हुने नै हुँदा यसैका चोटबाट भवानीप्रसाद मर्न गएको भन्ने कतैबाट खुल्न नआएकोले महमदसरिफ मियाँ उपर मुलुकी ऐन ज्यानसम्बन्धीका महलको १३ नं. को देहाय ३ अनुसार जन्मकैदको सजाय हुन तत्सम्बन्धित कागजात र पक्राउमा परेका महमद सरिफ मियाँलाई पेश गरेका छौं भन्ने प्रहरी प्रतिवेदन ।
११. ०३८।१।२६ गते गई ऐ. जेष्ठ २ गतेसम्म लुङखु देउराली गा.पं. वार्ड नं. ९ बस्ने साहिँला बाकहाँ बसेको हुँ । जेष्ठ २ गते बेलुका मात्र आएको थिएँ । भुवानीप्रसादलाई मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत महमदसरिफ मियाँले ०३८।२।२८ मा अदालतमा गरेको बयान ।
१२. प्रहरीमा गरेको कागज मेरो खुसीराजीले गरेको हुँ भनी ०३८।३।२५ मा इन्द्रबहादुर थापाले अदालतमा गरेको बयान ।
१३. ०३८।१।३० गते जस्तो लाग्छ भुवानीप्रसाद चिया पसलमा कर्तव्य भई मरेको हो । गा.स.स. र गा.पं.स. समेतले मर्ने भुवानीप्रसादलाई प्रधानपञ्चसँग भन बैठक गरौला भनी मुसलमान महमद समेतसँग झगडा भएकोबारे कुरासम्म भएको सुनेँ छलफल बैठक केही भएन भन्ने समेत छबिलालले अदालतमा गरेको बयान ।
१४. सरजमीनका मानिस भनी उल्ला मियाँ समेत जना ९५ को बकपत्र र जाहेरवाली देवकी उपाध्यायनीलाई अदालतबाट बुझिएको प्रतिवादी महमदसरिफ मियाँको साक्षी यमप्रसाद अधिकारी समेत जवान ४ को बकपत्र ।
१५. मर्ने भुवानीप्रसादको श्रीमती देवकी उपाध्यायनीको किटानी जाहेरी तथा अदालतको बकपत्र समेतबाट पनि धम्की दिएको देखिन आएको र सो धम्की अनुसार नै ३ दिनभित्र मर्ने भुवानीप्रसाद मुसलिम धर्म अनुसार नै कर्तव्य गरेको प्रकृतिबाट देखिन आएको र छाला भएको मासु हिन्दूले काटे पकाएको नखाएको बिस्कुट खाएको आदि प्रकृतिबाट मुसलमानहरूबाट कर्तव्य भएको देखिन आएकोले २ जना व्यक्तिको नाम पत्ता नलागेको हुनाले पछि पत्ता लागेको बखत कानुन बमोजिम हुने गरी ज्यानसम्बन्धीका २० नं. अनुसार मुलतवी राख्ने र प्रतिवादी मुहमद सरिफ कर्तव्यवाला हो भन्ने तथ्य आधार प्रमाण नदेखिएको छ तापनि पहिले चैत्र महीनामा र पछि ०३८।१।२८ मा धम्की दिई झगडा गरेको मिसिल प्रमाणबाट देखिन आएकोले सो धम्की अनुसार ३ दिनभित्र भुवानीप्रसाद कर्तव्य भई मरेकोमा निजकै षड्यन्त्रबाट मरेको देखिएको हुँदा प्रहरी प्रतिवेदन अनुसार ज्यानसम्बन्धीको १३ को उपदफा ३ अनुसार कसूर गरेको नठहर्ने ऐ. १६ नं. अनुसार षड्यन्त्र गर्नेसम्म ठहर्छ भन्ने समेत ०३८।१२।२९ को स्याङजा जिल्ला अदालतको फैसला ।
१६. शुरू अदालतको इन्साफमा चित्त बुझेन भन्ने वादी श्री ५ को सरकारतर्फको पुनरावेदन ।
१७. शुरूले गरेको इन्साफ मिलेन पूर्ण सफाइपाउँ भन्नेसमेत मुहमदसरिफ मियाँको पुनरावेदन ।
१८. प्रतिवादी मुहमद सरिफ मियाँको हकमा विचार गरेमा पहिलो जाहेरी नमालुमको परेको, दोश्रो जाहेरी परेकोमा अगाडि पनि चिया पसले भुवानीप्रसादले मुहमद सरिफलाई चिया दिएको गिलास दिएको माझ्नुपर्छ भन्दा नमाझेकोमा विवाद उठी ०३८।१।२८ गते सोही कुराको निहुँ झिकी मुहमद सरिफले चियामा पानी हाली दिई आजका ३ दिनभित्र खत्तम गर्छु भनी दागा राखेको लेखाई देखिन्छ । वादी तर्फबाट मुहमद सरिफ उपर ज्यानसम्बन्धीको १३(३) को दावा लिएकोमा शुरूले ज्यानसम्बन्धीको १६ नं. अनुसार सजाय गरेको पाइयो । वादी दावीमा महमद सरिफ प्रहरी तथा अदालतमा इन्कार रहेको निजले नै कर्तव्य गरी मारेको हो कि भन्नलाई जाहेरीको लेखाई र केही सरजमीनका मानिसको भनाई मात्र भएको कर्णबहादुरले किटानी बकेकोमा प्र.ले जिरह गर्दा केही जान्दिन भनी बकेबाट निजको किटानी बकाई प्रमाण योग्य भएन । निज महमद सरिफले ०३८।१।२८ गते मार्ने दागा गरेको सोको ३ दिनभित्र भवानीप्रसाद कर्तव्यबाट मर्न गएको आधारबाट निजले नमारे अरू कसले मारे होला भन्ने शंकाको आधारमा दावी लिएको पाइन्छ । निजले यस्तो प्रकारबाट यसरी मारेको हो भन्ने प्रमाण मिसिलबाट देखिँदैन । निजले दागा गरेको अवधिभित्र अरूले पनि भुवानीप्रसादलाई कर्तव्य गरी मार्न सक्ने अवस्थाको हुँदा प्रमाणको अभावमा निजले नै मारेको रहेछ भनी ठहर्याउनु र शुरूले निजलाई ज्यानसम्बन्धीको १६ नं. अनुसार सजाय गरेको फैसला कानुनसंगत नदेखिँदा उल्टी भई दावीबाट प्रतिवादी मुहमद सरिफ मियाँले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला।
१९. उक्त फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको ।
२०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट रहनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्माले मर्ने भुवानीप्रसादको प्र.मुहमदसरिफ मियाँ बाहेक अन्य व्यक्तिसँग रिइ इवी भएको भन्ने कतैबाट देखिन आउँदैन यस्तो स्थितिमा पश्चिमाञ्चल क्षेत्रीय अदालतले मुहमदसरिफ मियाँ कर्तव्यवाला नभई अन्य व्यक्ति हुन सक्दछ भनी आधारहीन बुँदा लगाई प्र.मुहमदसरिफ मियाँलाई सफाई दिने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त इन्साफ बदर गरी शुरू माग दावी बमोजिम सजाय हुनुपर्छ भन्ने समेतको बहस समेत सुनी पश्चिमाञ्चल क्षेत्रीय अदालतको उक्त इन्साफ मनासिव वा बेमनासिव के रहेछ भनी इन्साफतर्फ विचार गर्दा यसमा मेरो पतिदेव भुवानीप्रसाद गणेशपुर गा.पं. वार्ड नं. ६ ठूलीबेसी आँधी खोलाको तिर मूल बाटोमा चियाको दोकान गरी बस्नुभएको म गाउँको घरमा बस्ने गरेको ०३८ साल बैशाख ३० गते राति नमालुकम कुन समयमा कहाँका मानिस आई पतिदेवलाई कर्तव्य गरी मारेछन् कर्तव्यवालाको पत्ता लगाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने ०३८।१।३१ को देवकी पाध्यायानीको जाहेरी दर्खास्त ।
२१. ०३७ साल चैत २८ गते म जाहेरवालाको लोग्ने भुवानीप्रसादले चिया दोकान गरेको होटेलमा चिया खान गएको होइन छैन चैत २६ गतेदेखि ०३८ साल बैशाख ६ गतेसम्म तनहुँ जिल्ला खैरानीटार गा.पं.अन्तर्गत ‘दूले’ गौंडा दाइ महमद हुसेनको ससुराली स्यानाकान्छाको घरमा गई बसेको छु ०३८ साल बैशाख २६ गते साइला बाबु अमिरको किराना दोकान पर्वत जिल्लामा पर्ने लुङखु देउरालीमा भएकोले साइला बाबु दोकानमा गई जेष्ठ २ गते सेती दोभानमा आएको छु मैले भवानीप्रसादलाई कर्तव्य गरी मारेको होइन भन्ने अभियुक्त प्रतिवादी मुहमदसरिफ मियाँले प्रहरीमा गरेको बयान सोही कुरालाई अदालतमा इन्कार रही बयान गरेको पाइन्छ ।
२२. कर्णबहादुरले किटानी बकेको भन्ने हकमा प्रतिवादीले जिरह गर्दा केही जान्दिन भनी बकेबाट निजको बकाई विश्वसनीय भएन । यस्तो अवस्थामा शंकाको भरमा अपराधी ठहराउन प्रमाणयोग्य नभएको देखिँदा शुरूले निजलाई ज्यानसम्बन्धीको १६ नं. अनुसार सजाय गरेको फैसला कानुनसंगत नदेखिँदा उल्टी भई दावीबाट प्रतिवादी मुहमदसरिफ मियाँले सफाई पाउने ठहर्याई गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्छ, नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४१ साल चैत्र १५ गते रोज ५ शुभम् ।