निर्णय नं. २८९५ - कर्तव्य ज्यान

निर्णय नं. २८९५ ने.का.प. २०४३ अङ्क १०
संयुक्तइजलास
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४२ सालको फौ.पु.नं. ४३७, ४९२
सम्वत् २०४२ सालको फौ.सा.नं. १०६
फैसला भएको मिति : ०४३।१०।१९।२ मा
पुनरावेदक/प्रतिवादी : भ.पु.जि.सिपाडोल गा.पं.वडा नं.५ घर भई हाल थुनामा रहेका आले ख्यापा भन्ने धनबहादुर तामाङसमेत
विरुद्ध
विपक्षी/वादी : बलराम गिरीको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक/वादी : बलराम गिरीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : भ.पु.जि.सिपाडोल गा.पं.वडा नं.५ बस्ने धनबहादुर तामाङसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) पेटमा विभिन्न खष्कअभचब हरूमा भएको चोटले अतिसय रक्तश्राव भएर र टाउकोमा गिदीमा लागेको चोटले रक्तश्रावबाट क्षोभ भएर मृत्यु भएको हो भन्ने कुरा देखिनाले एकपटक मात्र चोट छाडेको भन्न सकिने अवस्थाको देखिन नआउने ।
(प्रकरण नं. ३७)
(२) धेरैजनाले हुल भई धेरैपटक चोट छाडेको देखिन आउँदा ज्यानसम्बन्धीको १४ नं.नै यसमा प्रयोग हुनसक्ने भन्ने भन्न नमिल्ने ।
(प्रकरण नं. ३७)
(३) रक्सी खाई गिलास फुटेको कारणबाट कुटपिट भई मृतक भुण्टे देउजा मर्न गएको देखिन आउँदा उपरोक्त अपराध भएको अवस्था र परिस्थिति समेतलाई विचार गर्दा ज्या.सं.को १३(३) को सजायँ गर्दा चर्को पर्ने ।
(प्रकरण नं. ३७)
पुनरावेदन/प्रतिवादीकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का
विपक्षीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या.हरिहरलाल राजभण्डारी : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदक प्रतिवादी धनबहादुर तामाङ समेतको र वादी श्री ५ को सरकारको पुनरावेदन यस अदालतमा पर्न आई बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् ।
२. २०३७।१०।१ का दिन भ.पु.जि.अ.गुण्डु गा.पं.वडा नं.३ को भाइ नाताको भुन्टे देउजा महादेवको दर्शन गर्न भनी बिहान गएकोमा साँझसम्म पनि घर नफर्केको हुँदा खोजतलास गर्दा मिति ०३७।१०।२ का दिन भ.पु.जि. सिपाडोल रानी कोट वनको बाटो मुनि खोल्सामा मृतक अवस्थामा निज भुण्टे देउजाको नाक मुखबाट रगत बगी घा चोट समेत देखिएको फेला परेको हुँदा कर्तव्य गरी मारेको शंका लागि जाहेर गरेको व्यहोराको बलराम गिरीको ०३७।१०।२ को जाहेरी दर्खास्त ।
३. महादेवस्थान जाने गोरेटो बाटोमा हेर्दा ३ गते खोल्साकै भत्कारोमा भुण्टे देउजाको लाश भएको पाखो लाशको बायाँ आँखा मुनि अं.२ इन्च जति २ वटा घाउ भएको लाशको दायाँ कानमा निल परेको लाश प्रकृति ठीक छ भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
४. माघ २ गते एक जना स्वास्नी मानिसले भुण्टे देउजाको लाश आसापुरी बीच बाटो बाहिर छ भन्ने सुनिन्छ भन्दा मृतकको दाजु लगायत अरु केही व्यक्ति खोजी गर्न गएका छन् तिनीहरू आएपछि जाऔंला भनी चिया पसलमा चर्चा चलेकोले र त्यहीं बसे केही समयपछि रामबहादुर देउजा चाहीं लाश भएकै ठाउँमा बसी अरु मानिस आई पुगेर त्यसपछि धेरै मानिसहरू लिई लाश भएको ठाउँमा गई यकीन गरी मृतक शम्भूप्रसाद समेतको ५ जनाका साथ आसापुरी महादेव स्थानमा गएका थिए भन्ने बुझिएको भन्ने समेत व्यहोराको जाहेरवालाले ०३७।१०।१४ मा सनाखत कागज गरी दिएको ।
५. विभिन्न भोसेराहरूमा भएको चोटले अतिशय रक्तश्राव भएर टाउकोमा गिदीमा लागेको चोटले मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट ।
६. विष्णुप्रसाद खड्का समेत ५ जना भई खोज्न जाँदा ३ तले वडारमा बाटो मुनि बनमाराको झारमा गाडी राखेको देखि जुत्ता फेला परेकाले खोज्दै जाँदा हामीसंग गएका इमान तामाङले भुण्टे यहाँ रहेछ भनी भनेकाले जाहेरवाला प्रहरी कार्यालयमा खबर गर्न गए लाश हेर्दा कसैले कर्तव्य गरी मारेको जस्तो लाग्छ भन्ने समेत व्यहोराको प्रहरीबाट बुझिएका रामबहादुर देउजाले ०३७।१०।१५ गते गरी दिएको कागज ।
७. ०३७।१०।१ गते महादेव स्थान जान भनी बिहान ८।९ बजे गाउँमा नै बस्ने श्री हरी वाग्ले मर्ने भुण्टे देउजा र म समेत ३ जना भई गई दर्शन गरी एउटा दोकानमा आएर दही चिउरा र रक्सी खाएको रु.१८ तिर्यौं र हाम्रो गाउँको प्रेमबहादुर तामाङ समेतलाई नजानेका मानिसहरू झगडा गर्न लागेका रहेछन् श्री हरी वाग्ले र भुण्टे देउजा छुट्याउन भनी गए र म घरतर्फ आउन लाग्दा आसापुरी तर्फबाट १५।१६ जना ठोक भन्दै कराउँदै आई भोटे पसले समेतका १५।१६ जनाले कुटपिट गरे सोही हुलले भुण्टे देउजालाई पनि पिटे, सो हुलमा माष्टर भन्ने सूर्यबहादुर पनि थिए र म आफ्नो घरमा आएँ र झगडा भएको कुरा मैले कसैलाई भनिन । भुण्टे देउजालाई सोही टोलीले कुटपिट गरी कता लागे थाहा भएन भन्ने समेत व्यहोराको शम्भुप्रसादले गरी दिएको कागज ।
८. ०३७।१०।१ गते भुण्टे देउजा शम्भु र म समेत भई पाटी भन्ज्याङमा आइपुग्दा १२।१४ जना भोटेहरूले हामीलाई देखी समा–समा भनी कराए र म भागें आफ्नो घरमा आएँ । भोलिपल्ट भुण्टे देउजा मरेको थाहा पाएँ के भएर मृत्यु भयो म भन्न सक्तिन भन्ने समेत व्यहोराको कृष्णप्रसाद शर्माले गरी दिएको कागज ।
९. ०३७।१०।१ गते म समेतका ४ जना आसापुरी महादेव स्थानको दर्शन गर्न भनी गएको थियौं । एउटा दोकानमा गिलास फुटेको कुरालाई लिएर भुम्बु तामाङ् र साहिंला तामाङ् समेतका करिब ५०, ६० जना भोटेहरूले श्यामबहादुर तामाङ् र मलाई पिटे । भुण्टे देउजा मेरै मीत नाताका हुँदा मलाई पिट्ने भुम्बु तामाङ् र साहिंला तामाङ् समेतले नै भुण्टे देउजालाई पनि पिटेको मलाई शंका लाग्छ भन्ने समेत व्यहोरा प्रेमबहादुर तामाङ्ले गरेको कागज ।
१०. दावर तामाङ्, भुम्बु तामाङ्, साहिंलो तामाङ्, कालु तामाङ्, आले ख्यापा तामाङ् समेतका मानिसहरूले लखेटी रहेका थिए त्यसपछि म आफ्नो काममा लागि नाम थाहा नभएकी आइमाइले एकजना मानिस तल खोल्सामा लडी राखेको छ भनिन् मैले त्यसको सोध खोज गरीन भन्ने व्यहोराको मैते तामाङ्को कागज ।
११. भुण्टे देउजा, शम्भुप्रसाद, सूर्यमान पारी गए । हामी गाउँतिर लाग्दा ५०।६० जना तामाङ्को फौज आएर श्यामकृष्णलाई पिटे । म आफ्नो घरतर्फ लागें । माघ २ गते भुण्टे देउजा मरी सकेको रहेछ भनी श्यामकृष्णले सुनाए म अफिसतर्फ लागें अरु कुरा मलाई थाहा छैन भन्ने श्री हरि वाग्लेले गरेको कागज ।
१२. भुण्टे देउजालाई भुम्बु तामाङ् र साहिंला तामाङ्ले कुटपिट पारी मारी फाले भन्ने कुरा सुनेको छु । निजहरूले कुटपिट गरी मारेका मलाई पूरा विश्वास लाग्छ भन्ने समेत व्यहोराको सानुकान्त तामाङ्ले गरेको कागज ।
१३. भुण्टे देउजा, कृष्णप्रसाद, शम्भुप्रसाद वाग्ले मैतको पसलमा रक्सी खाई बाहिर तास खेलेको हेरिरहेको बेला, भुम्बु तामाङ्, साहिंला तामाङ्, पुड्के तामाङ् र नचिनेका २ जना समेतले प्रेमबहादुरलाई कुट्न आउँदा प्रेमबहादुर नभेट्दा प्रेमबहादुरको मित भुण्टे देउजालाई नै कुटपिट गर्नु पर्छ भनी भुम्बु र साहिंला पुड्के र म समेत भई भुण्टेलाई कुटपिट गर्न लाग्दा भुन्टे देउजाको कन्चटमा ३ थप्पड हाने भुण्टे देउजा र साथीहरु भागेकोले भुम्बु तामाङ्, साईला, पुड्के नाम नजानेका अरु २ जना म धनबहादुर समेत ६ जना भई लखेट्दै जाँदा भुण्टे देउजालाई भेट्दा साहिंला तामाङ्ले मुक्का हानी १० हात मुनि कान्लामा फाली छाडी दियो किन घाइते मात्र पारेको बरु मारेको भए हुन्थ्यो भनी मैतेले भनेकोले फेरि भुम्बु, साइला पुड्के माइलाको छोराको नाम नजानेको र सूर्यबहादुर तामाङ् म समेत ७ जना भई भुण्टे देउजा भएको ठाउँमा गई हेर्दा भुण्टे देउजा कराई रहेको रहेछ साइला तामाङ्ले हातमा ढुड्डा लिई हिर्काए । भुम्बुले अझ मरेको छैन भन्दा फेरि कन्चटमा ढुड्डाले हिर्काए र मैले, सूर्यबहादुरले, पुड्के र नाम नजानेका अरु २ जना समेतले हेरी रह्यौं अब मर्यो लैजाउ भनी भुम्बु र साहिंलाले भनेपछि म समेतले केही १०।१२ हात मुनी लगी फाल्यौं भन्ने व्यहोराको आले ख्यापा भन्ने धनबहादुर तामाङ्ले गरेको कागज ।
१४. मिति ०३७।१०।१ गते दिउँसो २.३० बजे साइलाको पसलमा तास खेलेको हेरी बसेको बेलामा मर्ने भुण्टे देउजा र मैले नचिनेका २ जना साथीहरू आई मैतेको पसलमा रक्सी खाई पसल बाहिर आएर तास खेलेको हेरी रहेकै अवस्थामा पप्पु तामाङ्, सानु तामाङ्, भुम्बु तामाङ् समेत ५ जना आई भुण्टे देउजा समेतका ३ तीन जनालाई कुटपिट गर्न थालेपछि भुम्बु साइला, पुड्के, पप्पु, सानु आले ख्यापा आले भन्ने धनबहादुर र म समेत भई ७ जनाले कुटपिट गर्दा मैले भुण्टे देउजालाई एक थप्पड मात्र हान्ने बित्तिकै भागी गएकोले लखेट्दै जाँदा साहिंला र भुम्बुले भुण्टेलाई समाई थप्पड हानें बाटोबाट १०–१२ हात मुनि खसाली दिई हामीहरू भन्ज्याङमा मैतेको पसल आई २ घण्टा पछि फेरि हामी सातै जना भुण्टेलाई लडाएकै ठाउँमा गई अँ.अँ. गरी कराई राखेको भुण्टेलाई साइला र भुम्बुले ढुड्डाले हानी मारे पछि मैले समेत भई भुण्टे देउजाको लाशलाई बोकी १०।१२ हात मुनि लगी मृतक भुण्टे देउजाको लाश राखी हामी सबै जना भन्ज्याङमा आयौं भन्ने व्यहोराको धनबहादुरको कागज ।
१५. आले ख्यापा भनेको बयानमा उल्लेख भएका नाम नजानेका २ जना मध्ये १ जना म र एक जना अन्तरेको छोरा पप्पु तामाङ् भन्ने समेतको प्रहरीमा धनबहादुर तामाङ्ले गरेको सनाखत कागज ।
१६. नाम नजानेको माहिलाको छोरा २ भएकोमा भूलबाट हुन गएको हो एक जना पक्राउ भई आएका धनबहादुर मात्र हुन भन्ने आले ख्यापा भन्ने धनबहादुर तामाङ्ले प्रहरीमा गरेको सनाखत कागज ।
१७. आले ख्यापा भन्ने धनबहादुर तामाङ्, धनबहादुर तामाङ्, साहिंला तामाङ्, सूर्यबहादुर तामाङ् पुड्के तामाङ्, पप्पु तामाङ् र म समेत ७ जना भई भुण्टे देउजालाई मैले ४, ५ थप्पड टाउकोमा छातीमा हान्दा भागी लखेट्दै जाँदा पहिला साइला तामाङ्ले २ घुस्सा हानी छाडी दिए हामीहरू ७ जना मैतेको पसलमा चिया खाई फेरि गई मैले ढुड्डाले २ थप्पड छातीमा हानी मुत्यु भएपछि टाउको तर्फ बोकेको हुँ भन्ने समेत व्यहोराको भुम्बु भन्ने सुमानबहादुर तामाङ्ले प्रहरीमा ०३९।९।९ मा गरी दिएको बयान ।
१८. भुण्टे देउजालाई भुम्बु तामाङ्, साइला तामाङ्, पुड्के तामाङ्, सूर्यबहादुर तामाङ, आले ख्यापा भन्ने धनबहादुर तामाङ्, धनबहादुर तामाङ् समेत ७ ले कुटपिट गरी मंगल डाँडाको ३ तले वडारको बाटोबाट खसाली फर्कि जाँदा पसल गरी बस्ने मैते तामाङ्ले कुटपिट मात्र किन गरेको भन्दा फेरि गई कुटपिट समेत गरी कर्तव्य गरी मारेकोमा पूरा विश्वास लाग्छ भन्ने समेत व्यहोराको ०३९।९।५ गते घटनास्थलमा भएको जना १३ को सरजमीन मुचुल्का ।
१९. भुम्बु भन्ने सुमानबहादुर तामाङ्, साहिंला तामाङ् समेतलाई ज्यानसम्बन्धीको १३(३) र सूर्यबहादुर तामाङ्, पुड्के तामाङ्, आले ख्यापा भन्ने धनबहादुर तामाङ्, माइलाको छोरा धनबहादुर, मैते तामाङ्लाई ज्या.सं.को १३(४) बमोजिम सजायँ भई कर्तव्यबाट मरेको ज्यान दबाउन प्रयास गर्ने मैते र सानु कान्छा बाहेकका अन्य प्रतिवादीहरूलाई ज्यानसम्बन्धी ४ नं.बमोजिम थप सजायँ हुन दावी गरिएको र प्रतिवादी सानुकान्छा तामाङ्लाई ज्यानसम्बन्धीको २५ नं.बमोजिम सजायँ हुन माग दावी लिएको प्रहरी प्रतिवेदन व्यहोरा ।
२०. प्रहरीमा भएको बयान कागज मेरो इच्छानुसार भएको हो, मृतक भुण्टे देउजालाई एक मुक्का मात्र हानेको छु पछि अरुहरूको मुक्काबाट मृतकको मृत्यु भएको हो लाश बोकी दबाउनसम्म लगेको हुँ मार्नु पर्ने रीसइवी केहि थिएन भन्ने समेत व्यहोराको माइलाको छोरा प्र.धनबहादुर तामाङ्ले अदालतमा गरेको बयान ।
२१. भुण्टे देउजालाई कर्तव्य गरी मार्नु पर्ने मेरो कुनै रीसइवी छैन । को को भई मारे मलाई थाहा छैन मलाई आले ख्यापाले किन पोल गरे म जान्दिन भन्ने समेत व्यहोराको मैते तामाङ्ले अदालतमा गरेको बयान ।
२२. भुण्टे देउजाले चक्कु प्रहार गरे भन्ने सुनेको थिएँ । सोही कुराको रिसले र सो दिन रक्सी खान आएको झोकमा प्रहरीमा गरी दिएको कागज मुताविकको कसूर गरेको हुँ भन्ने समेत व्यहोराको आले ख्यापा भन्ने धनबहादुर तामाङ्ले अदालतमा गरेको बयान ।
२३. भुण्टे देउजालाई ०३७।१०।२ गते भुम्बु भन्ने सुमानबहादुर साइला तामाङ् भई आसापुरीको मेलामा मारे रे भन्ने सम्म सुनेको हुँ, जाहेर गर्नु पर्छ भन्ने मलाई थाहा थिएन भन्ने समेत व्यहोराको प्र.सानुकान्छा तामाङ्ले अदालतमा गरेको बयान ।
२४. भुण्टे देउजासंग रीसइवी केहि थिएन रक्सी खाएको अवस्थामा ४, ५ मुक्कासम्म दिएको हुँ धेरैजनाले कुटपिट गरेपछि निजको मृत्यु भई लाश फेला पर्यो भनेको ठाउँमा लगी झारले छोपी आएको हो भन्ने समेत व्यहोराको भुम्बु भन्ने सुमानबहादुरले अदालतमा गरेको बयान ।
२५. ०३७।१०।२ गते पुलीसनी बज्यैले भाइ भुण्टे देउजालाई नैचालको तामाङ्हरूले कुटपिट गरी मारे रे भनेको हुँदा घटनास्थलमा गई कसले मारेछन् भनी बुझ्दा भुम्बु तामाङ्, साइला तामाङ् भन्नेले कुटपिट गरी मारेका रहेछन् आले ख्यापा भन्ने धनबहादुर तामाङ् म अरु नचिनेका ५।६ जनाले ज्यान दबाउन सरिक भएको व्यहोराको जाहेरवाला बलराम गिरीले अदालतमा गरेको बयान ।
२६. भुम्बु तामाङ्, साइला तामाङ्, सूर्यबहादुर तामाङ्, आले ख्यापा भन्ने धनबहादुर तामाङ् भई भुण्टे देउजालाई मारे रे भनी सुनी हेर्न जाँदा वडार मुनि मृत्यु भएको रहेछ भन्ने समेत व्यहोराको प्रेमबहादुर तामाङ्को अदालतमा भएको बयान ।
२७. सूर्यबहादुर तामाङ् र पप्पु तामाङ्को नाउँमा ७० दिने म्याद निजहरूको घरदैलोमा टाँस हुँदा पक्राउ भई नआएको ।
२८. मिति ०३७।९।१३ देखि ०३४।१०।१७ गते सम्म ल.पु.जि.भरखाल पञ्चायतमा जितबहादुरको घरमा सिकर्मी काम गरी बसेको छु । धनबहादुर तामाङ् र आले ख्यापा भन्ने धनबहादुरले किन पोले मलाई थाहा भएन भन्ने समेत व्यहोराको साइला तामाङ्ले अदालतमा गरेको बयान ।
२९. मिति ०३७।९।१८ गते देखि १९ गतेसम्म का.प.जि.मुकदेव गा.पं.मा मानबहादुर तामाङ्को काठ तास्न गएको हुँ । आले ख्यापा भन्ने धनबहादुर तामाङ्संग गाउँ घरमा सानो तिनो झगडा हुँदा त्यही रीसइवीले मलाई पोलेको हुनुपर्छ भन्ने समेत व्यहोराको पुड्के तामाङ्ले अदालतमा गरेको बयान ।
३०. भुम्बु भन्ने सुमानबहादुर तामाङ् मुख्य ज्यानमारा ठहर्छ निजलाई प्रहरी प्रतिवेदन मागदाबी बमोजिम ज्या.सं.को १३(३) अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । आले ख्यापा भन्ने धनबहादुर तामाङ्–१ माहिलाको छोरा धनबहादुर तामाङ्लाई १३(३) बमोजिम जन्मकैदको सजायँ हुने ठहर्छ, कान्छा तामाङ्लाई ज्या.सं.को दफा २५ नं.बमोजिम रु.२० जरिवाना हुने ठहर्छ । अन्य प्रतिवादीहरू मैते तामाङ्, साइला तामाङ्, पुड्के तामाङले प्रहरी प्रतिवेदनमा लगाइएको अभियोगबाट सफाई पाउने ठहर्छ फरार रहेका अभियुक्त सूर्यबहादुर तामाङ् र पप्पु तामाङ्समेत जना दुईको हकमा अ.बं.१९० नं. बमोजिम हाजिर भएका वा पक्रिएका बखत मुद्दामा कारवाही गर्ने गरी मुलतबी राखी दिने ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको मिति ०४१।८।२५ को फैसला ।
३१. भक्तपुर जिल्ला अदालतले गरेको इन्साफमा चित्त नबुझी मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको आले ख्यापा भन्ने धनबहादुर तामाङ् र माहिलाको छोरा धनबहादुर तामाङ्को पुनरावेदनपत्र ।
३२. शुरु भ.पु.जि.अ.बाट प्रतिवादीहरू साइला तामाङ्, पुड्के तामाङ् तथा मैते तामाङ्लाई सफाई दिने गरेको हदम्यादको फैसला उल्टाई प्रतिवादीहरूलाई शुरु प्रतिवेदनको दावी अनुसार सजायँ गरी पाउन मध्यमाञ्चल क्षेत्रीय अदालतमा श्री ५ को सरकारको पुनरावेदनपत्र ।
३३. मिति ०३७।१०।३ को लाश प्रकृति मुचुल्का र ०३७।१०।६ को लाश जाँच प्रतिवेदनबाट मृतक भुन्टे देउजाको शरीरमा विभिन्न घा चोट भएको र पेटमा बिभिन्न Viscera हरूमा भएको चोटले अतिशय रक्तश्राव भएर टाउकोमा, गिदीमा लागेको चोटले रक्तश्राव भई मृत्यु भएको भन्ने व्यहोरा भएको देखिएको छ । प्रतिवादीहरू आले ख्यापा भन्ने धनबहादुर माहिलाको छोरा धनबहादुर र सुमानबहादुरले मृतकलाई कुटपिट गरेको र कुटपिटकै चोटबाट मृतकको मृत्यु भएको भन्ने कुरामा अधिकार प्राप्त अधिकारी समक्ष साविती भएका र सो साविती बयान राजीखुसीबाट भएको हो भनी अदालत समेतमा बयान गर्दा स्वीकार गरेकोबाट मृतकलाई कुटपिट गरी सो कुटाइबाट मृत्यु भएको भन्ने कुरामा सावित भएको देखिन आएको छ । यसका अतिरिक्त निजहरूको बयानबाट आपसमा पोला पोल गरेको र निजहरूको खुसीराजीको बयानलाई शंका मान्नु पर्ने अवस्था देखिन आएन । ज्या.सं.को १३(३) मा हुल भई ज्यान मारेमा यसैको चोटले मरेको भन्ने देखिन आएमा सोही मुख्य ज्यानमारा हुने र निजलाई सर्वस्वसहित जन्मकैद हुने सो बाहेक अरुलाई जन्मकैदको सजायँ हुनसक्ने अवस्था रहेकोबाट १३(३) बमोजिम आले ख्यापा भन्ने धनबहादुरलाई १३(३) बमोजिम र आफैं लडी मरेको भन्ने भनाई प्रतिवादीहरू समेतको नहुँदा प्रतिवादी पुनरावेदकहरूको पुनरावेदन जिकिर साँचो मान्न सकिने अवस्था मिसिलबाट देखिन आएन । शुरुबाट सफाई पाएका प्रतिवादीहरू मैते तामाङ्, पुड्के तामाङ् र साहिंलो तामाङ्को हकमा मैते तामाङ्ले मार भनी बचन दिएको भन्ने कुरा मिसिल प्रमाणबाट पुष्टि हुन नआएको, पुड्के तामाङ् र साहिंलो तामाङ् आरोपित कसूरमा इन्कार भई बयान गरेको र निजहरूले कसूर गरेको भन्ने कुराको सह अभियुक्तहरूको पोल बाहेक अन्य स्वतन्त्र प्रमाण नदेखिएकोले आरोपित कसूर गरेको भन्न मिल्ने नदेखिँदा वादी श्री ५ को सरकारको र प्रतिवादीहरू सुमनबहादुर तामाङ् र धनबहादुर तामाङ् र आले ख्यापा भन्ने धनबहादुर तामाङ्को पुनरावेदन जिकिरहरू पुग्न सक्ने नदेखिएकोले इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
३४. मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी पुनरावेदक प्रतिवादीहरू आले ख्यापा भन्ने धनबहादुर तामाङ् समेतको र वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।
३५. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत कर्तव्य ज्यान मुद्दामा पुनरावेदक प्रतिवादी धनबहादुर तामाङ्को तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल पुनरावेदक प्रतिवादी आले ख्यापा भन्ने धनबहादुर तामाङको तर्फबाट विद्वान अधिवक्ता श्री शुशिलकुमार पन्त, भुम्बु भन्ने सुमानबहादुर तामाङ्को तर्फबाट विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का र वादी श्री ५ को सरकारको तर्फबाट विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनियो ।
३६. प्रस्तुत कर्तव्य ज्यान मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
३७. यसमा मृतक भुण्टे देउजाको नाक मुखबाट रगत बगी घा चोट समेत देखिएको लाश फेला परेको हुँदा कर्तव्य गरी मारी मराई फालेको शंका लागेको हुँदा आवश्यक कारवाही गरी पाउँ भन्ने व्यहोराको बलराम गिरीको मिति ०३७।७।१०।२ को जाहेरी दर्खास्तमा उल्लेख भएको पाइन्छ । मिति ०३७।१०।६ को लाश जाँच प्रतिवेदन हेर्दा पेटमा विभिन्न ख्ष्कअभचब हरूमा भएको चोटले अतिशय रक्तश्राव भएर टाउकोमा गिदीमा लागेको चोटले रक्तश्रावबाट क्षोभ भएर मृत्यु भएको हो भन्ने कुरा देखिनाले एकपटक मात्र चोट छाडेको भन्न सकिने अवस्थाको देखिन आएन । धेरैजनाले हुल भई धेरैपटक चोट छाडेको देखिन आउँदा ज्यानसम्बन्धीको १४ नं.नै यसमा प्रयोग हुनसक्छ भन्न मिलेन । माहिलाको छोरा धनबहादुर तामाङ्ले पनि कुटपिट गरेकोमा साविति भएको र कुटपिट गरी मारेको हो भनी आले ख्यापा भन्ने धनबहादुर तामाङ्ले प्रहरी र अदालत समक्ष साविति बयान गरेको कुरा अन्य प्रमाणबाट समेत समर्थित हुनआएको देखिँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम र मुख्य भई चोट छाडेकोमा भुम्बु भन्ने सुमानबहादुर तामाङ्लाई सर्वस्वसहित ज्या.सं.को १३(३) बमोजिम सजायँ गर्ने गरेको शुरुको इन्साफलाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पु.वे.प्र.सानोकान्छा तामाङ् १ मैते तामाङ् १ साइला तामाङ् १ सूर्यबहादुर तामाङ् १ पप्पु तामाङ् १ पुड्के तामाङ् १ को हकमा म.क्षे.अ.ले गरेको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । ०३७ साल माघ १ गते संक्रान्तीको दिन आसापुरी महादेवको दर्शन गर्न जाँदा होटेलमा रक्सी खाई गिलास फुटेको कारणबाट कुटपिट भई मृतक भुण्टे देउजा मर्न गएको देखिन आउँदा उपरोक्त अपराध भएको अवस्था र परिस्थिति समेतलाई विचार गर्दा ज्या.सं.को १३(३) को सजायँ गर्दा चर्को पर्ने भएबाट अ.बं.१८८ बमोजिम निज अभियुक्त प्रतिवादीहरू, आले ख्यापा भन्ने धनबहादुर तामाङ्, माहिलाको छोरा धनबहादुर तामाङ् र भुम्बु भन्ने सुमानबहादुर तामाङ्लाई जनही १० वर्षको कैद हुने ठहर्छ । साधकको लगत कट्टा गरी तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम अ.बं.१८८ नं. बमोजिम पुनरावेदन प्रतिवादी सुमानबहादुर तामाङ्लाई कैद वर्ष १० हुने ठहरेको हुँदा निज सुमानबहादुर तामाङ्लाई सर्वस्वसहित ज्या.सं.को १३(३) बमोजिम जन्मकैद हुने ठहराएको म.क्षे.अ.को लगत कायम राख्नु परेन, सो लगत कट्टा गरी मिति ०३९।९।११।१ देखि सुमानबहादुर तामाङ् थुनामा रहेको देखिँदा सो मितिदेखि कैद वर्ष १० को लगत कस्नु भनी थुनामा रहेको कारागार शाखालाई सूचना दिनु शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ….. १
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने हुँदा पु.वे.प्रतिवादी आले ख्यापा भन्ने धनबहादुर तामाङ्लाई ज्यान सं.को १३(३) बमोजिम जन्मकैद गर्ने गरेको म.क्षे.अ.को लगत कायम राख्नु परेन, सो लगत कट्टा गरी मिति ०३९।८।२३।४ देखि आले ख्यापा भन्ने धनबहादुर तामाङ् थुनामा रहेको देखिँदा सो मितिदेखि कायम हुने गरी कैद वर्ष १० को लगत कस्नु भनी थुनामा रहेको कारागार शाखालाई सूचना दिन शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ….. २
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पु.वे.धनबहादुर तामाङ् ज्या.सं.को १३(३) बमोजिम जन्मकैद गर्ने गरेको म.क्षे.अ.को लगत कायम राख्नु परेन सो लगत कट्टा गरी मिति ०३९।८।२५।६ देखि धनबहादुर तामाङ् थुनामा रहेको देखिँदा सो मितिदेखि लागू हुने गरी कैद वर्ष १० को लगत कस्नु भनी थुनामा रहेको कारागार शाखामा सूचना दिन शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु ..... ३
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इतिसम्वत् २०४३ साल माघ १९ गते रोज २ शुभम् ।