शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८९६ - खिचोला समेत

भाग: २८ साल: २०४३ महिना: माघ अंक: १०

निर्णय नं. २८९६     ने.का.प. २०४३            अङ्क  १०

संयुक्तइजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४२ सालको दे.पु.नं. ६५९

फैसला भएको मिति : २०४३।१०।५।२ मा

 

पुनरावेदक/वादी : ल.पु.न.पं.वडा नं.१९ पूर्ण चण्डी बला बस्ने डम्बरकुमारी श्रेष्ठनी स्वर्गीय हुनु भई मु.स.गर्ने निजका छोरा चन्द्रशेखर श्रेष्ठको अ.वा.भई आफ्नो हकमा समेत निवेदन गर्ने हरिशेखर श्रेष्ठ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.वडा नं.२१ इखाछें बस्ने भाइचा भन्ने सिद्धिबहादुर महर्जन

 

मुद्दा : खिचोला समेत

 

(१)         वादीको कुरालाई इन्कार गरी वादीको हकको साझा चोक हो भन्ने कुरामा विवाद उठाएपछि सोही मौकामा कानुन बमोजिम जो जसको उपर उजूर दिनु पर्ने हो उजूर दिई आफ्नो साझा हक कायम गराई राख्‍नु पर्ने ।

(प्रकरण नं. १६)

 

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री वारकृष्ण श्रेष्ठ

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ ।

२. पूर्व चन्द्रलाल श्रेष्ठको घरको किलास मोहन मायाकी छोरी नानी मैयाँको विपक्षी बसी आएको घर, पश्चिम मेरै पर्खाल समेतको केबबारी जग्गा उत्तर इखाछें टोल र कान्ति टोल आवत जावत गर्ने बाटो मेरो पर्खाल समेतको केबबारी जग्गा दक्षिण निज नानी मैयाँको बाँकी विपक्षी बसी आएको घर कृष्ण चोकमा आवत जावत गर्ने बाटो मेरै पर्खाल समेतको केबबारी जग्गा यति ४ किल्ला भित्रको ल.पु.न.पं.वार्ड नं. २२ इखाछें टोलको बाटो र चोक समेत मेरो साझा हकमै भोग गरी आएको मेरो पुर्खाले स्थापना गरी राखेको श्रीकृष्णलाई कृष्ण अष्टमीको भोलि नवमीको दिन भक्तजनहरू पूजा गर्न सोही ४ किल्ला भित्रको बाटो र चोकबाट हाल चन्द्रलालको र निजको बहिनी मोतीदेवी श्रेष्ठको झगडा भएको घर मुनिको ढोका भित्रबाट पसी कृष्ण चोकमा गई भगवान श्रीकृष्णको पूजा समेत गरी निजै चन्द्रलाल समेतको साझा चोकबाट निजै चन्द्रलालको घर मुनिको ढोकाबाट बाहिर निस्कन जाने गरी आएको चलन चल्ती रोहवर नहुने उक्त बाटो र चोक समेत विपक्षीले एकलौटी पूरा अधिकार जमाइसकेको छ भन्दै मलाई अधिकार छैन भनी बलजफती गरी बाटो र चोक समेत कब्जा गरी लिएकोले खिचोला गरेको मेटाई सो बाटो र चोक मेरा हक साझा कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३. विपक्षीले साझा भनेको उक्त ४ किल्ला भित्रको चोक समेत विपक्षी समेतको साझा होइन उक्त बाटो मिति २०३२।११।१८ मा नानी मैयाँ मास्के र विष्णुबहादुर श्रेष्ठबाट राजीनामा पारित गरिलिएको घर जग्गा मध्येको हो । सोही मितिदेखि मैले एकलौटी भोग गरी आएको छु वादी बिल्कूलै झुठ्ठा हो, म्याद नाघी आएको फिराद खारेजभागी छ झुठ्ठा दावीबाट मुक्त गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४. नक्शामा हेर्दा वादीको अचल सम्पत्ति घर जग्गा समेत उक्त बाटोबाट प्रवेश गर्नु पर्ने समेत निकास नक्शाबाट देखिन नआउने समेत कारण र परिबन्दबाट वादी दावी बमोजिमको उक्त बाटो र चोक प्र. ले खिचोला गरेको ठहर्दैन भन्ने समेत व्यहोराको मिति २०३८।५।१० को ललितपुर जिल्ला अदालतको फैसला ।

५. उपरोक्त फैसलामा चित्त बुझेन ल.पु.जि.अ.बाट गर्नुभएको सो कानुनी त्रुटिपूर्ण फैसला बदर गरी इन्साफ गरिपाउँ भन्ने समेत व्यहोराको बा.अं.अदालतमा पर्न आएको वादीको पुनरावेदनपत्र ।

६. उक्त बाटो र चोक प्रतिवादीले खिचोला गरेको ठहर्दैन भन्ने इन्साफ शुरु जिल्ला अदालतको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति २०३८।१०।८ को फैसला ।

७. उपरोक्त फैसलामा चित्त बुझेन त्रुटिपूर्ण बा.अं.अ.को फैसला हुँदा सो सबै फैसला बदर गरी फिराद  पत्रमा लेखिए अनुसार नै हुने गरी पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको म.क्षे.अदालतमा पर्न आएको वादीको निवेदनपत्र ।

८. लिखत बदर मुद्दामा आजै पुनरावेदनको लागि अनुमति प्रदान गरिएको र कार्यविधि सम्बन्धी कानुनको उल्लंघन गरी भएको बा.अं.अ.को फैसला कानुनी त्रुटिपूर्ण हुनाले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मिति २०४०।३।३० को म.क्षे.अ.सिंगलबेञ्चको आदेश ।

९. झगडा परेको चोकको लम्बाई चौडाई खुलाउनुको साथै स्पष्ट रुपको नक्शा १५ दिनभित्र सम्पन्न गराई पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ.डिभिजनबेञ्चको मिति २०४०।२।१५ को आदेश ।

१०. चोक र बाटो साझा हो भन्ने कुरा वादीले कुनै सबदू प्रमाण गुजार्नसकेको देखिएन । प्रतिवादीले खिचोला गरेको नठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याएको बागमती अञ्चल अदालतको इन्साफमा कानुनी त्रुटि नदेखिएकोले परिवर्तन गरिरहनु परेन । प्रतिवादीले खिचोला गरेको ठहर्दैन । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति २०४२।४।२२ को फैसला ।

११. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४२।४।२२ को इन्साफमा चित्त बुझेन उक्त इन्साफ उपर पुनरावेदनको अनुमति पाउँ भनी यस अदालतमा मिति ०४२।५।२४ मा पर्न आएको पुनरावेदक वादीको निवेदनपत्र ।

१२. यस लगतको लिखत बदर नि.नं.२४५ मुद्दामा मिसिल झिकाउने आदेश भएकोले यसमा पनि मिसिल झिकाई आएपछि साथ राखी पेश गर्नु भन्ने यस अदालत डिभिजनबेञ्चको मिति २०४२।६।९ को आदेश ।

१३. यसमा यसैसंग सम्बन्धित नि.नं.२४५ मा पुनरावेदनको अनुमति दिइएकोले यसमा पनि पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको मिति ०४२।११।२९ को आदेश ।

१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका अ.बा.समेतलाई रोहवरमा राखी विपक्षीतर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री बारकृष्ण श्रेष्ठले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१५. प्रस्तुत मुद्दामा शुरु ललितपुर जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याएको बागमती अञ्चल अदालतको इन्साफलाई मनासिब ठहराएको म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ त्यसमा निर्णय दिनु पर्ने देखिन्छ ।

१६. यसमा वादीले कृष्ण चोकमा आउने जाने गरेको गल्ती बाटो र चोकमा खिचोला गरे खिचोला मेटाई पाउँ भनी २०३५।६।३१ मा फिराद दिएकोमा प्रतिवादीले प्रतिउत्तर फिराउँदा वादीले दावी गरेको बाटो र चोक साझा नभई मलाई नानी मैयाँ र विष्णुबहादुर श्रेष्ठले २०३२।११।१८ मा पास गरी दिएको राजीनामा बमोजिम मेरो हक भएको बाटो र चोक हो भन्ने जिकिर लिई प्रतिउत्तर फिराएको देखिन आउँछ । क्षेत्रीय अदालतबाट भएको नक्शामा वादी दावी लिएको गल्ली बाटो न.नं.२, ३ मा र साझा चोक न.नं.४ मा जनिई आएको देखिन आउँछ । सो झगडा जनिएको न.नं.२ को गल्ली बाटो भनेको बाटो र न.नं.४ को साझा चोक भनेको चोकको पश्चिमतर्फ न.नं.१६ को जग्गा र सो जग्गाको पूर्व साँधमा चोकको पश्चिम साँधमा न.नं.१८ को पर्खाल उत्तरको पर्खाल देखि नक्शाको दक्षिण सीमासम्म रहे भएको नक्शाबाट देखिन आएको छ सो न.नं.१६ को जग्गा नक्शा कैफियतमा हरिभक्तको भनी जनाई सो जग्गा वादीले चलन पाएको हामीलाई थाहा छैन भनी नक्शा कैफियतमा जनिई आएकोमा वादीले आफ्नो जीरहमा सो जग्गा वादी डम्बरकुमारीको निजै  हरिभक्तको बाबु कृष्णभक्त संग मुद्दा परी जिती तपाई २०३९।१२।२० मा अदालतबाट चलन पुर्जी पाई मेरो हकको जग्गा भनी जिकिर लिएको अघि परेका उक्त मुद्दाहरू २०३७।११।२७ को अञ्चल अदालतको फैसलाबाट समेत वादीको हक कायम भइरहेको देखिन आएकोले सो न.नं.१६ को जग्गा वादीकै हकको कायम मानेमा पनि सो जग्गामा रहेको न.नं.१८ को उत्तरदेखि दक्षिणसम्मको पर्खालमा कहीं कतै वादीले साझा चोक, गल्ली बाटो भनी दावी लिएका न.नं.२, ३ को गल्ली बाटो र न.नं.४ को साझा चोकमा आउने जाने गर्ने कुनै ढोका रहेको नदेखिई सो पर्खाल कहीं ५ फुट र कहीं ६ फुटको उचाइको देखिन आएकोले सो न.नं.१६ को वादीको जग्गाको नाताबाट दावीको चोक र गल्ली बाटोमा वादीको साझा हक रहेको भन्न सकिने अवस्था देखिन आएन । न.नं.२ को झगडा परेको बाटोको उत्तरमा रहेको पर्खालमा एउटा ३ फुटको ढोका रहेको देखिन आएकोले सो ढोकाबाट पसी साझा रुपमा चलन गरी आएको हो की भन्नलाई पनि नक्शा कैफियतमा जनिएको व्यहोराबाट सो ढोकामा खापा रही भित्रबाट चुकूल लगाउने र बाहिरबाट ताल्चा लगाउने अन्तराप समेत रहेको देखिन आएको । यदी दावी बमोजिम झगडा परेको न.नं.२, ३ को बाटो र न.नं.४ को साझा चोक भए सो ढोकामा चुकूल लगाउने र ताला लगाउने कुनै व्यवस्था नरही न.नं.१९ को घरको उत्तरमा रहेको ढोका जस्तै दिनरात खुल्ला रहने प्रकृतिको हुनुपर्ने थियो । सो नभएकोबाट पनि दावीको सो बाटो र चोक वादीले उक्त ढोकाबाट पसी भोग गरी आएको भन्न मिल्ने देखिन आएन । वादी डम्बरकुमारीले कृष्णभक्त उपर विवादको न.नं.४ को पश्चिम साँधमा रहेको न.नं.१८ को पर्खालले घेरिएको न.नं.१६ को जग्गामा खिचोला गरे भनी २०२५।३।१३ मा दिएको फिरादमा सो विवादको जग्गाको किल्ला दिँदा पूर्व किल्लामा यही झगडा परेको न.नं.२ र ३ को गल्ली बाटो र न.नं.४ को साझा चोक भनेको चोकलाई न.नं.१५ को साझा चोक र गल्ली बाटो भनी किल्लामा लेखाए । सो मुद्दामा २०२८।५।३ मा नक्शा हुँदा न.नं.१५ मा नक्शामा साझा चोक भन्ने जनिए पनि नक्शा कैफियतमा वादीले न.नं.१५ लाई साझा चोक र गल्ली बाटो भनी देखाए पनि साझा चोक भन्ने हामीलाई थाहा छैन । चोक हो वादीले गल्ली बाटो भनी किल्लामा लेखेको बाटो चोकमा आउने जाने बाटो हो गल्ली बाटो होइन भनी नक्शा डोरमा उपस्थित हुने व्यक्तिहरूले लेखाएको देखिन आएको बाट सो झगडा परेको चोक र बाटो वादीको साझा चोक र गल्ली बाटो हो भन्ने कुरा उसै अवस्था इन्कार गरी रहेको तर वादीतर्फबाट उपस्थित हुने चन्द्र शेखरले आफ्नो सो सम्बन्धमा कुनै जीरह लिन सकेको समेत देखिन आउँदैन । यसरी वादीको कुरालाई इन्कार गरी वादीको हकको साझा चोक हो भन्ने कुरामा विवाद उठाएपछि सोही मौकामा कानुन बमोजिम जो जसको उपर उजूर दिनु पर्ने हो उजूर दिई आफ्नो साझा हक कायम गराई राख्‍नु पर्नेमा सो नगरी हाल मात्र यो फिराद दिन आएको देखिन आएकोले समेत दावीको न.नं.२, ३ को बाटो र न.नं.४ को चोकमा वादीको साझा हक कायम नगर्ने ठहर्‍याएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी लागि दायर गरेको हुँदा केही गरिरहन परेन नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४३ साल माघ ५ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु