शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २८९८ - नाता कायम

भाग: २८ साल: २०४३ महिना: माघ अंक: १०

निर्णय नं. २८९८     ने.का.प. २०४३            अङ्क  १०

संयुक्तइजलास

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४२ सालको फौ.पु.नं. ४९६

फैसला भएको मिति : २०४३।१०।१८।१ मा

 

पुनरावेदक/वादी : जि.झापा शरणामती गा.पं.वार्ड नं. ८ बस्ने मनहरी उप्रेती

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.गारामनी गा.पं.वार्ड नं. ९ बस्ने खगेन्द्र उप्रेती

 

मुद्दा : नाता कायम

 

(१)         कुनै कुरामा नालिश गर्नु पर्ने कारण परी सो कुरा देखाई अदालतमा फिराद लिई गएपछि पर्न आएको फिराद कानुनले तोकेको व्यवस्था बमोजिम रीत नपुगेको भन्ने आधारमा इन्साफ दिन नमिल्ने भन्ने ठहर भएपछि सो ठहरमा आफ्नो चित्त नबुझे ऐनका म्यादभित्र पुनरावेदन दिई बदर गराउनु पर्ने ।

(प्रकरण नं. ११)

(२)        फिराद कानुनको रीत नपुगेको भन्ने आधारमा निर्णय दिन नमिल्ने भनी खारेज गरेपछि सो निर्णय भएको मितिले अदालतको प्रचलन बमोजिम ३५ दिनभित्रमा  कानुन बमोजिमको अर्को फिराद दिई आफूलाई आवश्यक परेको कानुनी उपचार लिन जानु पर्ने ।

(प्रकरण नं. ११)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल तथा विद्वान अधिवक्ता श्री पवनकुमार ओझा

 

फैसला

न्या.हिरण्येश्वरमान प्रधान : श्री पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति २०४२।१।२३ को फैसला उपर यस अदालतमा पनुरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।

२. सम्वत् १९९९ सालमा विपक्षीसंग मेरो आमा इन्द्रा भन्ने चित्र रेखाको विवाह भएको थियो । विपक्षीकै विर्यबाट दाजु मोहनलाललाई जन्माई त्यसपछि विपक्षीकै विर्यबाट गर्भ रही करिब ५ महीनाको गर्भ बोकी आमा हरिमान सिटौलासंग पोइल गइछन् । सिटौलाकै घरमा म जन्मेछु । विपक्ष खगेन्द्र मधेशतिर हुँदा नामाकरण गर्न बाजे नरप्रसाद, तीन पुस्ताभित्रका बंश बडा बाबु, नागेन्द्र उप्रेतीले पानी समाई नामाकरण धर्मशास्त्र र ऐन कानुन अनुसार गरेछन् । म ५ वर्षको हुँदा खगेन्द्रको जिम्मा दिएछन् । विपक्षी खगेन्द्रको घरमा छोरा होस् भनी स्वीकार गरी बस्तै जाँदा सौतेनी आमासंग नमिली म भित्र बस्छु भन्दा विपक्षीले दाजु मोहनलाल समेतलाई हातमा लिई घरबाट निस्की त मेरो छोरा होइनस् भनी बेइज्जत गरेकोले गाली बेइज्जती, जालसाज र नाता कायम गरी पाउँ भन्ने विपक्षी खगेन्द्र उपर एउटै फिराद दिएकोमा अ.बं.७२ नं.ले एउटै फिराद नलाग्ने हुँदा जालसाज र गाली बेइज्जती नठहर्ने नाता कायमतर्फ इन्साफ दिन नमिल्ने हुँदा खारेज हुने भनी फैसला भएकोले अदालती बन्दोवस्तको ३६ नं. ले नाता कायमतर्फ जहिलेसुकै नालेश लाग्ने हुँदा अ.बं.को ११ नं.अनुसार विपक्षी खगेन्द्र उप्रेती संग नाता कामय गरी पाउँ भनी फिराद गर्न आएको छु भन्ने मनहरी उप्रेतीको फिराद ।

३. फिरादीले जिल्ला कार्यालय चन्द्रगढीमा बाबु पत्ता लगाई पाउँ भनी निवेदन दिएकोमा वादीको मामा पुष्पलाल मैनाली, कूलप्रसाद मैनाली, माइजु जसमाया मैनाली, हरिमाया समेतले जिल्ला कार्यालयमा कागज गर्दा वादीकी आमा हरिमान शिटौलासंग पोइल गएकी हुन् । वादी हरिमन सिटौलाका छोरा हुन् भनी कागज गरेका छन् । सो कागज उपर जालसाज र गाली बेइज्जती अनि नाता कायमको मुद्दा दायर हुँदा दावी नठहरी फैसला भएको सो मुद्दाबाट फिराद दावी झुठ्ठा हो भन्ने प्रष्ट भएकै छ । वादीको आमा २०१२ सालमा पोइल गएकी २०१३ साल श्रावण १४ गते वादी जन्मेको भन्ने देखाइएको छ । २०१३ सालमा जन्मेको व्यक्तिले २१ वर्ष सम्म सिटौला भन्ने र फिरादीकी आमा सुबेदीसंग पोइल गएपछि अहिले उप्रेती कायम गरी पाउँ भन्ने दावी झुठ्ठा ठहरी सकेकोले पुनः नाता कायम गरी पाउँ भन्ने दावी झुठ्ठा हुँदा झुठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेतको खगेन्द्र उप्रेतीको प्रतिउत्तरपत्र ।

४. वादीले नाता कायम गरी पाउँ भन्ने मुद्दा एकपल्ट फिराद गरी निर्णय भइसकेकोमा त्यस उपर पुनरावेदन नगरी पुनः फिराद दायर गरेको अ.बं.८५ नं.र न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १२ समेतको प्रतिकूल भएकोले वादीको फिराद अ.बं.८५ नं.ले  खारेज हुने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको २०४१।५।१४ गतेको फैसला ।

५. शुरु जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादी खगेन्द्र उप्रेती संग नाता कायम समेत गरी पाउँ भन्ने समेतको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

६. यिनै वादीले यिनै प्रतिवादी उपर मिति ०३१।१।३१ मै नाता कायमतर्फ समेत फिराद गरी नाता कायमतर्फ खारेज हुने ठहरी २०३४।१।३१।६ मा फैसला भई अन्तिम रुपमा रही रहेको देखिँदा पुनः २०४०।९।२४ मा प्रस्तुत नाता कायमको फिराद दायर हुनआएको देखिँदा उपरोक्त कानुनी व्यवस्था समेतका कारण परिबन्दबाट अ.बं.८५ नं.बमोजिम वादी दावी खारेज हुने ठहराएको झापा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पू.क्षे.अ.को मिति २०४२।१।२३ को फैसला ।

७. शुरु झापा जिल्ला अदालतको इन्साफ सदर गरेको पू.क्षे.अ.को फैसला त्रुटिपूर्ण भएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति पाउँ भन्ने मिति २०४२।६।२५ को वादीको निवेदन ।

८. पहिलो पटक फिराद गर्दा अ.बं.७२ नं.को आधारमा नाता कायमतर्फ मुद्दा खारेज भएको देखिन्छ । पुनः नाता कायममा फिराद परेकोमा इन्साफ गर्नु पर्नेमा अ.बं.८५ नं.ले पुनः हेर्न नमिल्ने भन्ने शुरु झापा जि.अ.को इन्साफ सदर गरेको पू.क्षे.अ.बाट भएको निर्णय अ.बं.८५ को त्रुटि भएको र त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषयमा समेत हुँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिएको छ भन्ने मिति २०४२।११।२९ को आदेश ।

९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुनआएको प्रस्तुत पुनरावेदनमा पुनरावेदक वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा श्री राजाराम कर्माचार्य र विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल तथा विद्वान अधिवक्ता श्री पवनकुमार ओझाले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।

१०. यसमा क्षेत्रीय अदालतबाट उनै वादीले उनै प्रतिवादी उपर दिएको मुद्दामा खारेज हुने ठहरी फैसला भएपछि उनै वादीले उनै प्रतिवादी उपर उनै कुरामा दावी लिई दिएको यो फिरादबाट अ.बं.८५ नं.ले पनि इन्साफ दिन नमिल्ने र एकपटक हदम्यादलाई ग्रहण गरी फिराद दिइसकेपछि अ.बं.२६ नं. को आधार लिई धेरै समय लिई पछि पर्न आएको यो फिरादबाट इन्साफ दिन नमिल्ने भनी खारेज गर्ने ठहराएकोमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको निवेदन परी बेञ्च समक्ष पेश हुँदा पहिले फिराद गर्दा अ.बं.७२ नं.को आधार लिई नाता कायमतर्फ मुद्दा खारेज भएकोबाट पुनः नाता कायममा फिराद परेकोमा अ.बं.८५ नं.ले हेर्न नमिल्ने भनी ठहर गरेको अ.बं.८५ को त्रुटि देखिन आएको भन्ने आधारमा पुनरावेदन गर्ने अनुमति प्रदान भई विपक्षीलाई समेत झिकाई पेश हुनआएकोमा पुनरावेदकतर्फबाट विद्वान अधिवक्ता श्री राजाराज कर्माचार्य र अधिवक्ता श्री हरिहर दाहालले र विपक्षीतर्फबाट उपस्थित हुनुभएका वरिष्ठ विद्वान अधिवक्ता श्री मोहनकृष्ण खरेल र विद्वान अधिवक्ता पवनकुमार ओझाले गर्नुभएको बहसलाई समेत ध्यानमा राखी क्षेत्रीय अदालतको ठहर मनासिब छ छैन भन्नेतर्फ विचार गरिएमा जहाँसम्म प्रस्तुत फिराद अ.बं.८५ नं.बमोजिम हेर्न नमिल्ने भन्ने हकमा यिनै वादीले यिनै प्रतिवादी समेत उपर अघि दायर गरेको गाली बेइज्जती जालसाजी तथा नाता कायम गरी पाउँ भन्ने मुद्दा २०३५।३।११ मा भएको फैसला हेरिएमा अ.बं.७२ नं.मा भएको व्यवस्थाको आधारमा वादी दावीका कुराहरू मध्ये विपक्षी खगेन्द्र उप्रेती उपर नाता कामय गरी पाउँ भन्ने दावीको हकमा प्रस्तुत फिरादबाट इन्साफ दिन नमिल्ने भनी खारेज गरेको  देखिन आएकोबाट सो मुद्दामा जिल्ला अदालतबाट ठहर गर्दा सो सम्बन्धी फिराद दावीको कुरामा कुनै विचारै नगरी दावीको कुरामा निर्णय दिन मिलेन भन्ने ठहर गरेकोबाट सो फिरादबाट कुनै कुरामा विचार गरी निर्णय भएको देखिन आएन । यस्तो स्थितिमा उनै वादीले उनै विपक्ष उपर नाता कायम गरी पाउँ भनी दावी लिएको यो फिरादपत्रबाट इन्साफ दिन नमिल्ने भन्ने कुरा पुनरावेदकतर्फको जिरह बमोजिम मनासिब देखिन आएन ।

११. अतः अब प्रस्तुत फिरादबाट ठहर निर्णय हुनुपर्ने हो कि भन्नालाई वादी पुनरावेदकतर्फबाट नाता कायम गरी पाउँ भन्ने कुरामा दावी लिन कानुनले कुनै हदम्याद नकिटेको र यस्तो अवस्थामा अ.बं.३६ नं.ले जहिलेसुकै पनि फिराद दिनसक्ने हुनाले कानुनले गरेको व्यवस्था अन्तर्गत पर्न आएको यो फिराद पहिले खारेज गरेको फैसला भएको ३५ दिनभित्र नपरेको भनी क्षेत्रीय अदालतले खारेज गरेको नमिल्ने भन्ने जिकिर लिएको देखिन आउँछ । तर कुनै कुरामा नालिश गर्नु पर्ने कारण परी सो कुरा देखाई अदालतमा फिराद लिई गएपछि पर्न आएको फिराद कानुनले तोकेको व्यवस्था बमोजिम रीत नपुगेको भन्ने आधारमा इन्साफ दिन नमिल्ने भन्ने ठहर भएपछि सो ठहरमा आफ्नो चित्त नबुझे ऐनका म्यादभित्र पुनरावेदन दिई बदर गराउनु पर्ने यदि चित्त बुझेको भए सो फैसला भएको मितिले फिराद दरपीट भएको सरह अञ्चल अदालत तथा जिल्ला अदालत नियमावलीको नियम २६ बमोजिम ७ दिनभित्र कानुनको रीत पुगेको अर्को फिराद लिई जानु पर्ने वा फिराद लाँदैको अवस्था दरपीट नभएको कारणबाट सो म्याद नलाग्ने भन्ने मानिएमा पनि परेको फिराद कानुनको रीत नपुगेको भन्ने आधारमा निर्णय दिन नमिल्ने भनी खारेज गरेपछि सो निर्णय भएको मितिले अदालतको प्रचलन बमोजिम ३५ दिनभित्रमा कानुन बमोजिमको अर्को फिराद दिई आफूलाई आवश्यक परेको कानुनी उपचार लिन जानु पर्नेमा सो बमोजिम नगरी अघि भएको फैसलाको मितिले करिब ५ वर्ष पछि पर्न आएको यो फिरादलाई नाता सम्बन्धी कुरामा हदम्याद नकिटिएको भन्ने आधारमा अ.बं.३६ नं. बमोजिम म्यादभित्रको भनी इन्साफ दिन नमिल्ने देखिएकोले पनुरावेदनतर्फको जिरह मनासिब देखिन नआई विपक्षीतर्फको यस सम्बन्धी जिरह मनासिब देखिन आएकोले प्रस्तुत फिराद सोही आधारमा खारेज गर्ने गरेको सम्म पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४३ साल माघ १८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु