निर्णय नं. २९०६ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने

निर्णय नं. २९०६ ने.का.प. २०४३ अङ्क ११
संयुक्तइजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको रि.नं. १४९६
आदेश भएको मिति : २०४३।८।१५।१ मा
निवेदक : जि.का.कारागार शाखा काठमाडौंमा थुनामा रहेको माधव श्रेष्ठ
विरुद्ध
विपक्षी : मा.मु.न्यायाधीश मध्यमाञ्चल क्षेत्रीय अदालत, तत्कालीन केन्द्रीय कारागार निरीक्षक प्रमुखसमेत
विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने
(१) एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्ने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ :
२. वादी श्री ५ सरकार प्रतिवादी म भएको नकवजनी चोरी मुद्दामा का.जि.अ.का ०३९।२।६ का फैसला र ०३९।८।८ का लगतले जरिवाना रु.१,९५५।– र कैद १ महीना पहिलो, ऐ.ऐ.का फैसलाले जरिवाना ६७५ र कैद ४ महीना १५ दिन दोश्रोपटक, ऐ.ऐ.को फैसलाले जरिवाना रु.२,८७२।५० र कैद १ वर्ष ६ महीना चौथोपटक पारी चोरी गरेको र ऐ.का ०३९।५।२५ का फैसला र ०३९।८।६ का लगतले जरिवाना रु.३,०००।– कैद ९ महीना हुने भनी जम्मा रु.८,५०२।५० र जम्मा कैद २ वर्ष ८ महीना १५ दिन भएको र जरिवाना बापत चोरीको २८ नं. ले हुने कैद वर्ष ४ समेत जम्मा कैद वर्ष ६।८।१५ हुने हुँदा बन्दी मिति ०३७।६।१९ गते देखि हिरासतमा रहेको हुँदा २०४४।९।१५ मा छुटी जाने भन्ने कैद म्याद ठेकी राखेकोमा केन्द्रीय कारागार निरीक्षणको सिलसिलामा कैद ठेकिएको माधव श्रेष्ठलाई चोरीको १४ नं.ले कैद वर्ष २।९ हुन पर्नेमा म्यादी कैद २।८।१५ मात्र गर्ने गरेकोले र म्यादी कैद २।९ र जरिवाना बापत थप कैद वर्ष ४ गर्दा २०४४।३।१९ मा छुटी जानेमा कैद म्याद किन फरक परेको हो हेर्ने श्रेस्ता हेरी प्रतिवेदन पेश गर्नु भनी माननीय मुख्य न्यायाधीशज्यूका आदेशानुसार यस अदालतबाट प्रतिवेदन गर्दा ०४४।३।९ मा छुटी जाने भनी लेखिएको भनी सो बमोजिम कारागार, शाखा काठमाडौंलाई र मलाई लेखी पठाएको छ । विपक्षी जि.अ.बाट मलाई दिएको कैदी पुर्जीमा म उपर लगाइएको चोरी मुद्दामा कैद जोडी खापिएको छ । माननीय मुख्य न्यायाधीशज्यूले कारागार निरीक्षण गरी आदेश दिएकोमा पनि उक्त कैद जोडी खापिएको छ । एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको ठूलो हद छ सो ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी ठेक्नु पर्दछ भन्ने दण्ड सजायँको ४१ नं.को प्रष्ट कानुनी व्यवस्था भएको र जि.अ.बाट सो विपरीत सम्पूर्ण कलमको कैद जोडी कैद ठेकेको छ । का.जि.अ.का फैसलाले चौथोपटक कायम गरी १ वर्ष ६ महीना कैद तोकी सबैभन्दा ठूलो हद कायम भएको र जरिवाना बापत ४ वर्ष गरी ०४२।१२।१८ गते थुनाबाट मुक्त गर्नु पर्नेमा मलाई ०४४।३।३ सम्म बस्नु पर्ने भनी कैद तोकिई थुनामा राखेको गैरकानुनी हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट मुक्त गरी पाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।
३. विपक्षीहरूबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत सिंगलबेञ्चको २०४३।४।२० को आदेश ।
४. अधिकार प्राप्त अदालतबाट दिएको आदेशानुसार ०४४।३।४ मा छुट्ने गरी कैद ठेकिएको श्रेस्ताबाट देखिन्छ । यस कार्यालयबाट गैरकानुनी कार्य नगरिएकोले रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेतको कारागार शाखा काठमाडौंको लिखितजवाफ ।
५. लगत नमिलेको भए अ.बं.१७ नं. बमोजिम उजूर गर्न पाउने अधिकार निवेदकलाई सुरक्षित छँदै यो बन्दीप्रत्यक्षीकरणको रिट दिएको देखिँदा रिट खारेज गरी पाउन अनुरोध गरिएको छ भन्ने समेत मा.मुख्य न्यायाधीश, मध्यमाञ्चल क्षेत्रीय अदालतको लिखितजवाफ ।
६. प्रथम पटक चोरी गरेकोमा का.जि.अ.का ०३९।२।६ का फैसलाले कैद महीना ।१। र जरिवाना रु.१९५५।– दोश्रोपटक चोरी गरेकोमा म्याद कैद महीना ।४।१५ र जरिवाना ६७५।– चौथा पटक चोरी गरे बापत म्यादी कैद वर्ष १।६ र जरिवाना रु.२८७२।५०, ०३९।५।२५ को का.जि.अ.का फैसलाले तेस्रो पटक चोरी गरे बापत म्यादी कैद महीना ।९। र जरिवाना रु.३०००।– समेत जम्मा म्यादी कैद वर्ष २।८।१५ र जरिवाना बापत चोरीको २८ नं. ले ४ वर्ष कैद गरी वर्ष ६।८।१५ हुनेमा निज बन्दी ०३७।६।१९ गते देखि हिरासतमा रहेको लगतबाट देखिएको भन्ने समेतको काठमाडौं जिल्ला अदालतको लिखितजवाफ ।
७. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बद्रीप्रसादले ठूलो कैदको एक कलम मात्र तोकिनु पर्नेमा चारवटैको खत खापेको मिलेको छैन कैद अवधि भुक्तान गरी सकेकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनुपर्दछ भन्ने समेत र विपक्षी अदालत समेतको तर्फबाट खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले कानुन बमोजिम लागेको कैद बापत थुनामा राखिएको हो, बढी समय थुनामा राख्ने लगत राखेको होइन, फैसला बमोजिम लागेको कैद भुक्तान नगरी छाड्न नमिल्ने हुँदा रिट खारेज हुनुपर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
८. अब निवेदकका माग बमोजिमको आदेश जारी गर्न पर्ने हो वा होइन भन्ने कुरामा निर्णय दिनु परेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा यो रिट निवेदन चोरी मुद्दामा थुनामा परेको भन्ने कुरामा विवाद छैन । निजले चौथोपटक चोरी गरेको भनी काठमाडौं जिल्ला अदालतबाट फैसला भइसकेको र निवेदकतर्फबाट पनि सो कुरा स्वीकारै गरेकोले त्यसतर्फ पनि केही विचार गर्नु परेन । अब यो निवेदकलाई के कति समय थुनामा बस्नु पर्ने रहेछ ? निजलाई लागेको कैद भुक्तान भएको हो वा होइन भन्ने कुरामा नै विचार गर्नु पर्ने देखिन आयो ।
१०. रिट निवेदकलाई का.जि.अ.का मिति ०३९।२।६ का फैसलाले प्रथम पटक चोरी गरे बापत म्यादी कैद महीना ।१। र जरिवाना १,९५५।– दोश्रोपटक चोरी गरे बापत म्यादी कैद महीना ।४।१५ र जरिवाना रु.६७५।–, चौथा पटक चोरी गरे बापत म्यादी कैद वर्ष १।६ र जरिवाना रु.२,८७२।५० र का.जि.अ.कै मिति ०३९।५।२५ गतेको फैसलाले तेश्रो पटक चोरी गरेबापत म्यादी कैद महीना ।९। र जरिवाना रु.३,०००।– गरी जम्मा कैद वर्ष २।८।१५ र जरिवाना बापत चोरीको २८ नं. ले कैद वर्ष ४ गरी जम्मा कैद वर्ष ६।८।१५ भएको भन्ने कुरा निवेदकका लेखाई र का.जि.अ.को पेश हुनआएको लिखितजवाफबाट देखिन्छ । एकै मानिसलाई एकै वा धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा सबैभन्दा ठूलो कैदको हद छ सो ननाघ्ने गरी कैद ठेक्नु पर्दछ सो बमोजिम मलाई सबैभन्दा ठूलो कैदको हद १ वर्ष ६ महीना र जरिवाना नतिरे कैद बापतको कैद वर्ष ४ गरी जम्मा ५ वर्ष ६ महीना कायम हुन पर्ने भन्ने निवेदन जिकिर लिएको देखियो । सो सम्बन्धमा भएको कानुनी व्यवस्था हेर्दा दण्ड सजायँको ४१ नं.मा एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्छ भन्ने उल्लेख भएको पाइयो । यो निवेदकलाई विभिन्न ४ पटक चोरी गरेको कायम गरी कैद वर्ष २।८।१५ ठेकिएको देखिन आयो र जबकि विभिन्न चार पटक चोरी गरेको कायम गरेकोमा चौथा पटक चोरी गरे बापतको १ वर्ष ६ महीना कैदको हद सबैभन्दा ठूलो देखिन आएको छ । उक्त ४१ नं.को व्यवस्था अनुरुप ठूलो हदको एउटा कैद १ वर्ष ६ महीना हुन पर्ने देखिन आयो । फैसला, कैदी पुर्जी, कैद ठेक्ने किताबमा सम्म अरु कैदको कुरा पनि खुलाउन पर्ने हो । सबै खतको कैद राखी सजायँ गर्नु दण्ड सजायँको ४१ नं.को प्रतिकूल हुन जाने देखिँदा निवेदकको हकमा सबैभन्दा ठूलो कैदको हद १ वर्ष ६ महीना मात्र लाग्ने हुन्छ । जरिवाना नतिरे बापत चोरीको २८ नं.ले यो निवेदकलाई ४ वर्ष कैद हुने पनि देखियो । सो दुवै गरी जम्मा ५ वर्ष ६ महीना निवेदकलाई कैदमा बस्नु पर्ने देखिन्छ । यो निवेदक मिति ०३७।६।१९ गते देखि हिरासतमा रही थुनामा परेको देखिँदा मिति ०४२।१२।१८ गते सम्म निवेदकलाई थुनामा बस्नु पर्नेमा सो अवधि भुक्तान गरिसकेको देखियो ।
११. अतः रिट निवेदकलाई काठमाडौं जिल्ला अदालतका फैसलाले चोरी मुद्दामा थुनामा बस्न पर्ने अवधि भुक्तान भइसकेको देखिएकोले थुनाबाट तुरुन्त छाडी दिनु भनी विपक्षीहरूको नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् ०४३ साल मार्ग १५ गते रोज १ शुभम् ।