निर्णय नं. २९११ - उत्प्रेषण समेत

निर्णय नं. २९११ ने.का.प. २०४३ अङ्क ११
संयुक्तइजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको रिट नं. २६०२
आदेश भएको मिति : २०४३।११।४ मा
निवेदक : भ.पु.जि.बालकुमारी गा.पं.वार्ड नं. १बस्ने लक्ष्मीनारायण न्हुछे श्रेष्ठ
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने तुयसिं फसि श्रेष्ठसमेत
विषय : उत्प्रेषण समेत
(१) बाली भराई मोहीबाट निष्कासन गरी पाउँ भन्ने निवेदकको उजूरी परेपछि कूत बुझाउन मन्जूर भएको कुरालाई आधार लिएको देखिँदा यस्तो आधारलाई न्यायिक आधार मान्न मिलेन मोही निष्कासन गर्दा अन्य मोहीमा नराम्रो प्रभाव पर्न जाने भनी उल्लेख गरेको आधार पनि न्यायिक एवं कानुनी नभई हचुवा किसिमको देखिने ।
(प्रकरण नं. ९)
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह
उल्लिखित मुद्दा : ने.का.प. २०४२, नि.नं.२४२८ पृ. ६६५ मा प्रकाशित दीपराज आड्डदम्बे निवेदक र भू.सु.का.झापा समेत विपक्षी भएको रिट निवेदनमा यस अदालतबाट सिद्धान्त प्रतिपादित
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ :
२. मेरा नाउँ दर्ताको दधिकोट गा.पं.वाड नं. ८(ख) कि.नं.१८५५ को रोपनी १–५–० को ०३७ र ०३८ गरी २ सालको धानबाली बुझाउन नल्याएकोले भू.सु.का.मा फिराद गर्दा ०३९।११।६ मा एकपटकलाई निष्कासन नगर्ने र बाली मात्र भराउने निर्णय भएकोले मलाई चित्त नबुझी सम्मानीत अदालतमा रिट निवेदन गर्दा कारण नै नदेखाई जग्गाधनीलाई बालीमात्र भराउने गरेको निर्णय बदर गरी पुनः कानुन बमोजिम निर्णय गर्नु भनी फिर्ता पठाएकोमा ०४३।२।१९ का दिन कसैलाई रोहवरमा नराखी आफैंले स.अ.को सिद्धान्त उल्लेख गर्ने र आफैंले कानुन अनुसार नगर्ने, कानुन अनुसार गरेमा मोहीलाई नराम्रो प्रभाव पर्छ भनी निर्णय गर्नु अ.बं.१८४(क) अनुसार त्रुटिपूर्ण निर्णय हो । बैशाखको बिस्केट जात्रामा मैले बाली लिन आउँला भनी भनेको भन्ने मौखिक कुरालाई प्रमाणमा लिई निर्णय गरेको स्वतः बदरभागी छ । कानुनी हकलाई वञ्चित गराई मोहीलाई प्रश्चय दिई मोही निष्कासन गर्दा अन्य मोहीलाई नराम्रो प्रभाव पर्ने हुँदा मोही निष्कासन नगर्ने भनी निर्णय फैसला गरेको कानुनी आधार नहुँदा मेरो हनन् भएको हक संरक्षण गरी मोहीलाई जग्गाबाट निष्कासन गरी पाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।
३. विपक्षीबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत सिंगलबेञ्चको आदेश ।
४. यस कार्यालयबाट मिति ०४३।२।१९ मा भएको निर्णय कार्यक्षेत्र भित्र रही गरेको र न्यायिक पूर्ण हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेतको भू.सु.का.भक्तपुरको लिखितजवाफ ।
५. भू.सं.ऐनको दफा २९(१) मा मोहीले कूत नबुझाएमा मोही निष्काशन गर्न आदेश दिन सकिने हो निष्कासन हुने बाध्यात्मक व्यवस्था छैन । भू.सु.का.भक्तपुरबाट ०४३।२।१९ मा भएको निर्णय कानुन बमोजिम अधिकार प्राप्त व्यक्तिबाट कानुनमा निर्धारित तरिका तथा प्रतिपादित नजीरको आधारमा भएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेतको तुईसिं फसी श्रेष्ठको लिखितजवाफ ।
६. नियम बमोजिम दैनिक कजलिष्टमा चढी आज यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनमा निवेदन सहितको सक्कलै फायल अध्ययन गरी विपक्षी कार्यालयका तर्फबाट खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंहले गर्नुभएको बहस समेत सुनियो ।
७. अब यो निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।
८. निर्णयतर्फ विचार गर्दा यसमा विवादीत कि.नं.१८५५ को जग्गाधनी रिट निवेदक र मोही विपक्षी तुइसिं फसी श्रेष्ठ भएकोमा विवाद देखिँदैन । उक्त जग्गाको ०३८ सालको कूत नबुझाएको हुँदा भराई मोही निष्कासन गरी पाउँ भन्ने निवेदकको भू.सु.का.भक्तपुरमा परेको निवेदनमा ०३८ सालको कूत भराई दिने मोही निष्कासन नगर्ने गरी ०३९।११।६ मा भू.सु.का.भक्तपुरबाट निर्णय भए उपर चित्त नबुझी प्रस्तुत रिट निवेदकको यस अदालतमा रिट निवेदन परी उक्त मितिको निर्णय कारण नदेखाई गरेको भनी उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः निर्णयको लागि भूमिसुधार कार्यालय भक्तपुरमा गएको रहेछ ।
९. भू.सु.का.भक्तपुरबाट मिति ०४३।२।१९ मा पुनः निर्णय भएको रहेछ । त्यसरी निर्णय हुँदा ०३८ सालको बाली बाँकी तिर्न बुझाउन विपक्षी मञ्जूर रहेको देखिएकोले यस्तो मोहीको संरक्षण गर्नु पर्ने कार्यालयको आफ्नै दायित्व भएकोले भूमिसम्बन्धी ऐन, (संशोधन सहित) को दफा २९(क) बमोजिम मोही निष्कासन गर्दा अन्य मोहीहरूमा समेत नराम्रो प्रभाव पर्ने हुँदा ०३८ सालको बालीसम्म मोहीबाट पक्षलाई भराई दिने ठहर्छ भनी आधार लिएको पाइयो । ने.का.प. २०४२ नि.नं.२४२८ पृ. ६६५ मा प्रकाशित दिपराज आङदम्बे निवेदक र भू.सु.का.झापा समेत विपक्षी भएको रिट निवेदनमा यस अदालतबाट मुद्दा परी सकेपछि कूत बुझाउन मञ्जूर गरेकोलाई मोहीबाट निष्कासन नहुने भन्ने कुराको न्यायिक आधार मान्न नहुने भनी सिद्धान्त प्रतिपादित भए मुताविक प्रस्तुत सन्दर्भमा पनि बाली भराई मोहीबाट निष्कासन गरी पाउँ भन्ने निवेदकको उजूरी परेपछि कूत बुझाउन मञ्जूर भएको कुरालाई आधार लिएको देखिँदा यस्तो आधारलाई न्यायिक आधार मान्न मिलेन । मोही निष्कासन गर्दा अन्य मोहीमा नराम्रो प्रभाव पर्न जाने भनी उल्लेख गरेको आधार पनि न्यायिक एवं कानुनी नभई हचुवा किसिमको देखिन आएको छ । यदि मोही निष्कासन गर्न नपर्ने भए त्यसको न्यायिक आधार अधिकार प्राप्त अधिकारीले आफ्नो निर्णयमा उल्लेख गर्न सक्नु पर्ने हुन्थ्यो । त्यस्तो न्यायिक आधार भू.सु.का.भक्तपुरको मिति ०४३।२।१९ को निर्णयमा उल्लेख गरेको देखिन आएन । तसर्थ मिति ०४३।२।१९ को भू.सु.का.भक्तपुरको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानुनी आधार खोली पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी भू.सु.का.भक्तपुरका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४३ साल फाल्गुण ४ गते रोज शुभम् ।