निर्णय नं. २९१४ - उत्प्रेषण

निर्णय नं. २९१४ ने.का.प. २०४३ अङ्क ११
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४३ सालको रि.नं. २३५२
आदेश भएको मिति : २०४३।११।२६।१ मा
रिट/निवेदक : भ.पु.न.पं.वार्ड नं. १तौलाछे टोल बस्ने न्हुच्छेकुमार प्रजापतीसमेत
विरुद्ध
विपक्षी : भ.पु.जि.सुडाल गा.पं.वा.नं.३ बस्ने रामबहादुर प्रजापतीसमेत
विषय : उत्प्रेषण
(१) दिने दाताले चित्त नबुझी धर्मपुत्रले शर्त पूरा नगरेमा त्यस्तो धर्मपुत्रलाई बदर गर्न पाउने लिखतको आधारमा धर्मपुत्रलाई छोरा सरहको मानी जग्गाधनीलाई समेत नबुझी कानुन विपरीत जोत नामसारी गर्ने गरी गरेको निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेश द्वारा बदर हुने ।
(प्रकरण नं. ११)
रिट/निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
विपक्षीतर्फबाट : विद्वान सरकारी अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
उल्लिखित मुद्दा : १. सम्वत् ०४१ सालको रिट नं. २२२९ मा मिति ०४२।५।९ मा डिभिजनबेञ्चबाट सिद्धान्त प्रतिपादित
२. ०४२ सालको रिट नं. २२५३ मा ०४३।४।१७।६ मा डिभिजनबेञ्चबाट निर्णय भएको
३. ०४३ सालको रि.फु.नं. ४३ निवेदक शेषप्रसाद कुर्मी विरुद्ध भू.सु.का.पर्सा भएको रिट निवेदनमा पूर्णइजलासबाट ०४३।११।१५ मा निर्णय भएको
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६ तथा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्नानुसार छ ।
२. हामी निवेदक समेत ६२ जवान गुठियारहरू भएको दुनिया गुठीका गुठियार मध्ये थकाली चन्द्रवीर कुमार प्रजापतीको नाउँमा दर्ता भ.पु.जि.सुडाल गा.पं.वा.नं.३(ङ) को कि.नं.१७ को क्षे.फ. ५–२–० जग्गाको जोताहा मोही माहिला प्रजापती जनिएको छ । सो गुठी जग्गाको दर्तावाला थकाली चन्द्रवीर कुमार प्रजापती परलोक हुनु भएपछि उक्त जग्गा हामी निवेदकको नाउँमा दर्ता गरी पाउँ भनी मालपोत कार्यालय भक्तपुरमा निवेदन परी कारवाही चली हामीहरूको नाउँमा नामसारी भई संयुक्त दर्ताको ज.ध.प्रमाणपूर्जा पाएका छौं ।
३. विपक्षी रामबहादुरले सो जग्गाको मोही माहिला प्रजापतीले मलाई मिति २०४१।११।१४ मा धर्म पुत्र पास गरी दिएको निज माहिला प्रजापती २०४२।५।४ मा परलोक भएकोले सो मोहियानी हक नामसारी गरी पाउँ भन्ने निवेदन र रामबहादुर नाबालख भएको भन्दै निवेदकको बाबु कान्छा प्रजापतीले निवेदनमा सनाखत सही गरी मिति ०४२।६।७ मा निवेदन दर्ता गराएको र महेन्द्र सुडाल गा.पं.ले सिफारिश गरिदिएका रहेछन् ।
४. भू.सु.का.भक्तपुरको शा.अ.ज्यूले उक्त जग्गाको दर्तावाला जग्गाधनीलाई बुझ्दै नबुझी कानुन व्यवस्था सम्बन्धी ऐन, २०१० को दफा २(क) बमोजिम पुत्र शब्दले धर्मपुत्र राख्न पाउनेले धर्मपुत्र राखेकोलाई समेत छोरा मान्न पर्ने भन्दै धर्मपुत्र राख्नेको आफ्नै सहोदर भाइ नै निवेदक रामबहादुर प्रजापतीको आफ्नै खास बाबु नै अभिभावक अर्थात् संरक्षक देखिएको मात्र नभई जग्गाधनीले अरुलाई पत्याउन मोहीको अरु कोही परिवार समेत नभएको र कूत बाली बुझाउनमा संरक्षक जिम्मेवारी हुने नै र उमेर पुगेपछि वादी निवेदक रामबहादुर प्रजापती स्वयं जिम्मेवारी हुने कुरामा विवाद नभएको समेत हुँदा गा.पं.को सिफारिशबाट पनि कमाई आएको होइन भन्न नमिल्ने हुँदा साविक मोही माहिला प्रजापतीको नाउँबाट उमेर नपुगेसम्म निज नाबालखको खास आफ्नै बाबु कान्छा प्रजापतीले संरक्षकले कि.नं.१७ को क्षे.फ. ५–२–० जग्गा कमाउने गरी निवेदक रामबहादुर प्रजापतीको नाउँमा नामसारी गरी दिने ठहर्छ भन्ने भू.सु.का.भक्तपुरबाट मिति २०४२।१०।२२ मा निर्णय भएको छ ।
५. उक्त निर्णयमा निम्न त्रुटिहरू छन् । साविक मोही माहिला प्रजापती भएकोमा विवाद भएन । निजको स्वर्गवास भएपछि भू.सं.ऐन, २०२१ को दफा २६(१) अनुसार मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानुनी व्यवस्था छ । ऐनको तात्पर्य मोहीको पति वा स्वामी तथा मोहिबाट जन्म भएको छोराहरू हुनुपर्दछ र मोही पछि उक्त मध्ये कसैलाई पनि जग्गाधनीले पत्याएकै हुनुपर्छ जग्गाधनीले पत्याएकोमा सो पत्याएको मोही र जग्गाधनी बीच भू.सं.ऐन, २०२१ को दफा ३४(२) अनुसार कबूलियत हुनुपर्दछ । प्रस्तुत मुद्दाको निर्णय गर्ने अधिकार भू.सु.अधिकारीलाई मात्र हुनेमा शा.अ.ले दुषित निर्णय गर्नुभएको छ । हामी जग्गाधनीलाई नबुझी मोही नामसारी गर्ने गरेको निर्णय कानुनसंगत छैन । प्राकृतिक न्याय सिद्धान्त समेतको प्रतिकूल भएको छ । मोही नामसारी हुने कानुनी व्यवस्था नभई मोही पछि निजको स्वास्नी, पती, छोराहरू मध्ये एक जनालाई सम्बन्धित ज.ध.ले पत्याए कबूलियत गरी दिएमा मोही हुने व्यवस्था छ । सो को प्रतिकूल भएको निर्णय कानुनी त्रुटिपूर्ण छ । यसरी ऐन कानुनमा हुँदै नभएको व्यवस्थालाई उल्लेख गरी मोही नामसारी गर्ने गरी भएको निर्णय न्यायिक मनको अभावमा कानुनी त्रुटिपूर्ण छ ।
६. अतः संविधानको धारा १०(१) धारा ११(२)(ङ) धारा १५ द्वारा प्रदत्त हक कुन्ठित भएकोले भू.सु.का.भक्तपुरको मिति २०४२।१०।२२ को निर्णय बदर गरी पाउन संविधानको धारा १६, ७१ अन्तर्गत निवेदन गर्न आएको छौं । उक्त निर्णय बदर गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
७. विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश ।
८. मेरा धर्म पिता परलोक भएको र म नाबालख १० वर्षको मात्र भएकोले मेरो संरक्षक होइदिने अन्य कोही पनि नहुँदा मेरो हेरचाह कान्छा प्रजापतीले गरी आउनु भएको मेरो संरक्षण निजबाट भएको भएपछि मेरो धन सम्पत्तिको रेखदेख हेरचाह सम्म निजबाट हुनु स्वाभाविकै भएको यस पृष्टभूमी र वास्तविकतालाई ध्यानमा राखी कूत नबुझाएमा संरक्षक अर्थात् कान्छा प्रजापतीलाई जिम्मेवार बनाउने गरी ज.ध.समेको कूत प्राप्त गर्ने हकलाई संरक्षण गर्दै म बालिग अर्थात् १६ वर्ष पुगेपछि म स्वयंले कूत बुझाउने लगायतको जिम्मेवारी हुने भनी भएको निर्णयको अनाधिकारी अर्थ गरी बाबु कान्छा प्रजापतीले कमाउन पाउने निर्णय भएको छ भन्ने लगायतको झुठ्ठो मिसिल विरुद्धको जिकिर लिई विपक्षीले रिट निवेदन गर्न आएबाट विपक्षीको हात सफा र मन स्वच्छ नभएको प्रष्ट हुने हुँदा विपक्षीको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नाबालख रामबहादुर प्रजापतीको हकमा कान्छा प्रजापतीको लिखितजवाफ ।
९. भू.सं.ऐन, २०२१ को दफा २६(१) ले जोताहा पछि निजका पति, पत्नी वा छोराहरू मध्ये जग्गाधनीले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था भएको हुँदा धर्मपुत्र पनि छोरा नै मान्नु पर्ने भएकोले यस कार्यालयबाट मिति २०४२।१०।२२ मा ऐन कानुनको परिधिमा रही निर्णय भएको हुँदा यस कार्यालयले निर्णय सदर हुनु पर्ने र रिट निवेदन खारेज हुुनु पर्ने व्यहोरा अनुरोध गर्दछु भन्ने समेत व्यहोराको भू.सु.का.भक्तपुरको लिखितजवाफ ।
१०. निवेदकतर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले र विपक्षी कार्यालय तर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्सालले र विपक्षी लिखितजवाफवाला तर्फबाट उपस्थित हुनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले गर्नुभएको बहस समेत सुनियो, मुख्यतः निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
११. यसमा नाबालख धर्मपुत्रलाई मोही कायम गरी सो धर्मपुत्रलाई जन्माउने बाबुले कमाउने गरी गरेको निर्णय बदर गरी पाउँ भन्ने मुख्य रिट निवेदकको भनाई भएकोमा त्यसतर्फ हेर्दा विवादीत जग्गा सुडाल गा.पं.वडा नं.३(ङ) कि.नं.१७ को क्षेत्रफल रोपनी ५–२–० मा जग्गाधनी निवेदकहरू र जोताहामा मोहिया माहिला प्रजापती भएको र निज परलोक भई निजका स्वास्नी छोरा (आफूले जन्माएको) नभएको कुरामा विवाद देखिएन । मृतक माहिला प्रजापतीले नाबालख रामबहादुर प्रजापतीलाई निजको बाबुको संरक्षक बनाई ०४२।११।१४ मा धर्मपुत्रको लिखत पास गरी दिएको र सोही आधारबाट निवेदकहरुलाई समेत बुझ्दै नबुझी मृतक माहिलाको नामबाट धर्मपुत्र नाबालख रामबहादुरका नाउँमा मोही नामसारी गरी निजका बाबु कान्छा प्रजापतीले जोतभोग गर्ने गरी निर्णय गरेको पाइन्छ । प्राचिन हिन्दू विधिमा पनि औरष पुत्र र धर्मपुत्रको समान स्थिति देखिन्न । तत्सम्बन्धी विषयमा व्यवस्था भएको भू.सं.ऐन, ०२१ को दफा २(ग) मा कुनै व्यक्तिको सम्बन्धमा परिवार भन्नाले सो व्यक्ति र निजको देहायका नातेदार भन्नेलाई सम्झनु पर्छ । जस्तै (१) अंश छुट्टिएको वा नछुट्टिएको भए पनि पति वा पत्नी (२) बाबु वा आमा, जीवित छउञ्जेल अंश छुट्टिएको वा नछुट्टिएको जे भए तापनि १६ वर्ष उमेर नपुगेको छोरा भन्ने र (३) बाबु आमा जीवित छउञ्जेल ३५ वर्ष उमेर नपुगेको अविवाहिता छोरी भन्ने सम्म उल्लेख भई व्यवस्था भएको र धर्मपुत्रलाई लिएको देखिँदैन । ऐ.ऐन, ०२१ को दफा २६(१) मा मोही सम्बन्धी हक निजको शेषपछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने शब्दबाट पनि धर्मपुत्रलाई लिएको पाइँदैन । सम्वत् २०४१ सालको रिट नं. २२२९ मा एउटै बाबुको विर्यबाट जन्मेको भए पनि आफ्नो कोखबाट नजन्मी सौतेनी कोखबाट जन्मेको छोराले भू.सं.ऐन, ०२१ को दफा २६(१) को प्रयोजनको लागि सौतेनी आमाको मोही हक निज पछि प्राप्त गर्न नसक्ने भन्ने डिभिजनबेञ्चबाट ०४२।५।९ मा सिद्धान्त प्रतिपादित भएको पनि पाइन्छ । त्यस्तै ०४२ सालको रिट नं. २२५३ मा चेला छोराले पनि मोही हक प्राप्त गर्न नसक्ने भन्ने ०४३।४।१७।६ मा डिभिजन बेञ्चबाट निर्णय भएको देखिन्छ । जस्तै गृहस्थ जिवनमा धर्मपुत्र र सन्यासी महन्थ आश्रमतर्फ चेला छोरा हो । यी दुबै एकै श्रेणीमा आउँछन् भन्ने र त्यस्तो ०४३ सालको रि.फु.नं.४३ निवेदक शेषप्रसाद कुर्मी विरुद्ध भू.सु.का.पर्सा भएको रिट निवेदनमा पूर्णइजलासबाट ०४३।११।५ मा भएको निर्णयमा विवादीत जग्गाको मोही हरिनन्दन कुर्मीको मोही सम्बन्धी हक निज परलोक भएपछि निजको धर्मपुत्र रिट निवेदकलाई प्राप्त हुन नसक्ने भन्ने समेतका यसै अदालतबाट भएको प्रतिपादित सिद्धान्तहरूबाट देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोही कायम गर्ने प्रष्ट कानुनी व्यवस्था भएको छँदा छँदै यस्तो स्थितिमा दिने दाताले चित्त नबुझी धर्मपुत्रले शर्त पूरा नगरेमा त्यस्तो धर्मपुत्रलाई बदर गर्न पाउने लिखतको आधारमा धर्मपुत्रलाई छोरा सरहको मानी जग्गाधनीलाई समेत नबुझी कानुन विपरीत जोत नामसारी गर्ने गरी गरेको भू.सु.का.भक्तपुरको ०४२।१०।२२ को निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । नियमानुसार गरी फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४३ साल फाल्गुण २६ गते रोज १ शुभम् ।