निर्णय नं. २९२१ - अंश

निर्णय नं. २९२१ ने.का.प. २०४३ अङ्क ११
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४२ सालको दे.पु.नं. ७०१
फैसला भएको मिति : २०४३।८।३० मा
पुनरावेदक/वादी : जि.धनकुटा चानुवा गा.पं.वा.नं.१ बस्ने नरबहादुर भट्टराई
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.धनकुटा चानुवा गा.पं.वा.नं.१ बस्ने गजेन्द्रराम भट्टराईसमेत
मुद्दा : अंश
(१) फिरादपत्रमा प्रतिवादी बनाइएको रोमनकुमारी भट्टराई र गजेन्द्रराम भट्टराईको अतिरिक्त केशवध्वज, नारायणराम, ध्रवुराम, बशन्त, उज्वल र किरण समेतलाई अंशियार देखाएपछि अ.बं.१३९ नं. बमोजिम निज अंशियारहरूलाई बुझी निर्णय गर्नु पर्ने ।
(प्रकरण नं. ११)
फैसला
न्या.रुद्रबहादुर सिंह : पू.क्षे.अ.को इन्साफमा चित्त नबुझी पुनरावेदक वादी नरबहादुर भट्टराईको यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन परेकोमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत अंश मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :
२. विपक्ष मध्येका रोमनकुमारीका पति गजेन्द्रराम समेतका पिता सेनध्वजका ३ वटी पत्नीहरूमध्ये जेठीको जायजन्म नभई परलोक भएकोले माइली आमा मदेला तर्फ जेठो बलराम कान्छो म नरबहादुर र छोरी कल्पना समेत ३ जना र कान्छी आमा विपक्षीतर्फ जेठो गजेन्द्रराम, माइलो केशवध्वज, साइलो नारायण राम, काइलो ध्रुवराम, अन्तरे बसन्त, ठूलो कान्छो उज्जल, कान्छो किरण र छोरी शोभा समेत ८ जना छोराछोरी हुन् । मेरी आमा मदेला परलोक भई सक्नु भएकोले पिता तथा विपक्षी आमाले म समेतका दाजुभाई दिदीलाई पालन पोषण गर्नु भइरहेकोमा दाजु बलराम पनि परलोक हुनु भई दिदी कल्पनाको पनि अघि नै विवाह भइसकेको हुँदा सगोलको परिवार ठूलो भई व्यवहार चलाउन समेत गार्हो परेकोले विपक्षीहरूसंग अंशबण्डा गरी दिनु होस् भन्दा अहिले दिदैनौं भनेबाट म्यादभित्र फिराद गर्न आएको छु विपक्षी समेत हामी सबै अंशियारका नाउँमा रहेको अचल जग्गा जमीन र चल सम्पत्ति समेतको रीतपूर्वक तायदाती लिई मैले पाउने अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी ।
३. वादी छुट्टि भिन्न भएको कुरा स्वीकार गरेको हुँदा अब हाम्रो आमा तर्फका ७ भाइ र आमा रोमनकुमारीको समेत ८ अंश लाग्नेमा माइलो भाइ केशवध्वज पनि छुट्टि भिन्न भइसकेकोले अब आमा समेत ७ अंश मात्र लाग्ने हो निज वादी र दावी तर्फको स्व.दाजु बलरामको छोरा गोपाल र टिकामाया समेत गरी १० अंश लाग्ने होइन वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. प्रमाण परिबन्दहरूबाट वादी र प्रतिवादीहरू मुलुकी ऐन अंशबण्डाको महल ३० नं. को प्रयोजनको लागि छुट्टी भिन्न भएको मान्नु पर्ने हुँदा वादीको प्रतिवादीहरू उपर अंशमा दावी पुग्न नसक्ने ठहर्छ भन्ने धनकुटा जिल्ला अदालतको ०४१।१।२० को फैसला ।
५. शुरु अदालतको फैसला चित्त बुझेन भनी पू.क्षे.अ.मा नरध्वज भट्टराईको पुनरावेदनपत्र परेको रहेछ ।
६. बुझिएका प्रतिवादीका साक्षी फत्तेजड्ड बूढाथोकी १, भोलानाथ पौडेल १, समेत २ जनाले यी वादी प्रतिवादीहरूको बीच अंश लिई छुट्टी बेग्लै बसी आएको हो भनी किटानी साथ बकी लेखी दिएको समेतबाटै पुनरावेदक वादी आफ्नो अंश लिई छुट्टि बेग्लै बसी आएको देखिन आएको समेतबाट एकपटक अंश लाएपछि दर्ता व्यवहार समेत गरी सकेको अवस्थामा अंशबण्डाको ३५ नं.अनुसार अंशमा पुनः दावी पुग्न नसक्ने हुनाले वादी दावी पुग्न नसक्ने ठहराएको शुरु धनकुटा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने पू.क्षे.अ.को फैसला ।
७. प्रस्तुत मुद्दामा पू.क्षे.अ.ले गरेको फैसला मनासिब बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।
८. यसमा पिता सेनध्वजको ३ वटी पत्नीमा जेठीको जायजन्म नभई परलोक भएकोमा माइली तर्फ बलराम र कान्छो म नरबहादुर र छोरी कल्पना कान्छी आमा तर्फ गजेन्द्रराम केशवध्वज नारायण राम, ध्रुवराम, बसन्त, उज्जल, किरण र छोरी शोभा हुन् । सगोलको ठूलो परिवार भई व्यवहार चलाउन गार्हो परेकोले विपक्षीहरूसंग अंशबण्डा गरी दिनुहोस् भन्दा अंश नदिएबाट विपक्षी समेत हामी सबै अंशियारका नाउँमा रहेको चल तथा अचल सम्पत्तिको तायदाती लिई अंश दिलाई पाउँ भन्ने वादी नरबहादुर भट्टराईको फिरादमा उल्लेख गरेको पाइन्छ ।
९. वादी आफ्नो अंश लिई छुट्टि बेग्लै बसी आएको देखिन आए समेतबाट एकपटक अंश लिएपछि दर्ता व्यवहार समेत गरी सकेको अवस्थामा अंशबण्डाको ३५ नं.बमोजिम पुनः दावी पुग्न नसक्ने हुनाले दावी पुग्न नसक्ने ठहराएको शुरु अदालतको इन्साफ मनासिब ठहर्छ भनी पू.क्षे.अ.ले निर्णय गरेको देखिन्छ ।
१०. वादीले अंश पाइसकेको भन्ने पू.क्षे.अ.को निर्णयमा प्रमाण ऐन, ०३१ को दफा ५४ र मु.ऐन अंशबण्डाको ३० नं. को त्रुटि देखिएको हुँदा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमित प्रदान गरेको पाइन्छ ।
११. प्रस्तुत मुद्दामा वादी नरबहादुर भट्टराईले फिरादपत्रमा प्रतिवादी बनाइएको रोमनकुमारी भट्टराई र गजेन्द्रराम भट्टराईको अतिरिक्त केशवध्वज, नारायण राम, ध्रुवराम, बसन्त, उज्वल र किरण समेतलाई अंशियार देखाएपछि अ.बं.१३९ नं. बमोजिम निज अंशियारहरूलाई बुझी निर्णय गर्नु पर्ने साथै मालपोत कार्यालयमा दर्ता विषयमा निवेदन दिई कार्यबाही गरेको विषयमा पनि बुझेको नदेखिँदा उक्त अंशियारहरूलाई बुझ्दै नबुझी गरेको पू.क्षे.अ.को फैसला ऐन कानुनको रीत पुगेको भन्न मिलेन । तसर्थ पूर्वाञ्चल क्षेत्रीय अदालतले बेरितसंग गरेको फैसला बदर हुने ठहर्छ । वादीले फिरादमा उल्लेख गरेका उक्त अंशियारहरूलाई अ.बं.१३९ नं. बमोजिम बुझी अंशियारको नाउँबाट निजहरूको नाउँमा गएको र आएको जग्गा दर्ता सम्बन्धमा समेत जो जे बुझ्नु पर्ने सो समेत बुझी कानुन बमोजिम निर्णय गर्नु भनी रुजु रहेका पक्षहरूलाई तारेख तोकिदिई पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४३ साल मार्ग ३० गते रोज शुभम् ।