शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८९११ - गैंडा मारी खाग बिक्री व्यवसाय

भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११

ने.का.प. २०६९,            अङ्क ११

निर्णय नं. ८९११

 

सर्वच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री तर्कराज भट्ट

फौ.पु.नं. ०६८–CF–०००१

फैसला मितिः २०६९।५।२८।५

 

मुद्दाःगैंडा मारी खाग बिक्री व्यवसाय 

पुनरावेदक वादीः रेञ्जर माधव खड्काको जाहेरीले नेपाल सरकार                                                                        

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः नवलपरासी जिल्ला देउराली गा.वि.स.वडा नं. ६ बस्ने ओमबहादुर राना समेत

 

शुरु फैसला गर्ने :

प्रमुख संरक्षण अधिकृत श्री शिवराज भट्ट

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की

मा.न्या.श्री पोषनाथ शर्मा

 

·         आरोपित कसूर गरेको तथ्यमा साबित भई एकअर्कालाई पोलसमेत गरी अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गरेको र उक्त बयान व्यहोरा सर्जमीनका मानिस तथा बरामदी मुचुल्काका मानिसहरूको बकपत्र समेतबाट समर्थित भएको अवस्थामा साबिती वयानलाई प्रमाणमा लिन मिल्ने 

·         पटक पटक गैंडाको खाग बिक्री गरेको र गैंडाको खाग आफ्नो घरमा नै राखेको देखिएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसूरमा ऐ. को दफा २६(१) बमोजिम पाँच वर्ष कैद र पचास हजार रूपैयाँ जरीवाना हुने 

(प्रकरण नं.६)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी

प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय कृष्ण सापकोटा र सविता बराल

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

·         राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), १९(१), २६(१)

 

आदेश

न्या.सुशीला कार्कीः यस अदालतको संयुक्त इजलासमा माननीय न्यायाधीशहरूका वीच राय नमिली सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :

जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. २ बस्ने सुन्दरसिंह ठकुरी र स्याङ्गजा घर भई हाल जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं. ९ सुन्दरपुर बस्ने विजय भन्ने लव मल्लसमेतले गंैडा मारी बिक्री व्यवसाय गर्छन् भन्ने सुराक पाई गस्तीको क्रममा जिल्ला नवलपरासीको कावासोती बजारमा खाग किन्न भनी आएको अवस्थामा पक्राउ गरी सोधपुछ गर्दा  दोग्ला भन्ने छिरिङ्ग लामा र तिब्वत ल्हासा घर भई का.न.पा.६ बौद्ध बस्ने तान्जिङ निमा तथा जिल्ला नवलपरासी देउराली गा.वि.स. ४ पुरानो बेलहानी बस्ने गजबहादुर फाल मगर समेतलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाऊँ भनी रे. माधव खड्काको मिति २०६०।१।९ को जाहेरी प्रतिवेदन 

तिब्बत ल्हासा घर बताउने नेपाली भाषा बोल्न नजान्ने हाल का.म.न.पा.वडा नं. ६ बौद्धमा डेरा गरी बस्ने तान्जिङ निमालाई पक्राउ गरी जीउ खानतलासी गर्दा कालो कपडामा पटुका जस्तो बनाई कम्मरमा बाँधेको अवस्थामा बरामद भएको रु.७,५०,०००। (अक्षेरूपी सात लाख पचास हजार) को बरामदी मुचुल्काको कागज 

२०५९ साल माघ महिनामा जिल्ला नवलपरासी देउराली६ बस्ने ओमबहादुर राना मगरले गैंडाको खाग बिक्री गराइदिन अनुरोध गरेकोले जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं. ८ शरदपुर बस्ने लव मल्लसँग चिनजान भएकोले गैंडाको खाग किन्ने साहू खोज भनी सुन्दरसिंह ठकुरीमार्फत् दोग्ला भन्ने छिरिङ्ग लामा मेरो घरमा वि.सं. २०५९ फागुन १५, १६ गतेतिर आई माल हेरी पछि आउँछु भनी गएकोमा २०५९ साल चैत्र महिनाको दोस्रो हप्तातिर लव मल्ल, छिरिङ्ग लामा, सुन्दरसिंह ठकुरी, तान्जिङ निमा र मसमेत भई नवलपरासी जिल्लाको चोरमारा बजार नजिक खोलामा रु.२,४०,०००। (अक्षेरूपी दुई लाख चालीस हजार) मा तान्जिङ निमाले गैंडाको खाग किनी मेरो भागमा रु.३०,०००। आयो भनी दिएको रकम मैले बुझेको हो भनी गजबहादुर फाल मगरले दिएको साबिती बयान 

२०५९ साल फाल्गुण महिनाको अन्तमा म र सुन्दरसिंह ठकुरीले जिल्ला नवलपरासी देउराली गा.वि.स.वडा४ पुरानो बेलानी बस्ने गजबहादुर फाल मगर र ऐ.ऐ. वडा नं. ६ बस्ने ओमबहादुर राना मगरसँग गैंडाको खाग छ भनी थाहा पाई उक्त खाग हेर्न छिरिङ लामाले साहू तान्जिङ निमालाई ल्याई रु.२,४०,०००। (दुई लाख चालीस हजार) मा बिक्री गराइ दिएबापत रु.१७,५००। (सत्र हजार पाँच सय) आफ्नो भागमा पाएको र वि.सं. २०६० वैशाख १९ गते पुनः खाग किन्न नवलपरासी जिल्लाको कावासोती बजारमा बसिरहेको अवस्थामा सुन्दरसिंह ठकुरी र म समेतलाई राष्ट्रिय निकुञ्जको गस्ती टोलीले पक्राउ गरी ल्याएको हो भनी लव मल्लले दिएको साबिती बयान 

२०५९ साल फाल्गुण महिनाको अन्त्यतिर म र लव मल्ल भएर नवलपरासी जिल्ला देउराली गा.वि.स.४ पुरानो बेलानी बस्ने गजबहादुर फाल मगर र ऐ ऐ वडा नं. ६ झ्यालबास बस्ने ओमबहादुर राना मगरसँग खाग छ भनी थाहा पाई खाग हेर्न म र लव मल्ल, छिरिङ्ग लामासमेत भई गएर हेरी छिरिङ्ग लामाले ल्याएको तिब्बतियनलाई दुई लाख चालीस हजारमा बेची गैडाको खाग खरिद बिक्री गराइ दिएबापत १२,५००। पाएको र मिति २०६०।१।१९ गते पुनः जिल्ला नवलपरासी कावासोती बजारमा खाग किन्न बसिरहेको अवस्थामा रा.नि.को गस्ती टोलीले पक्राउ गरी ल्याएको हो र वि.सं. २०५६ साल कार्तिक मंसिरतिर जिल्ला चितवना.स्, रत्ननगर नगरपालिका चिसारी सुकुम्बासी टोल बस्ने च्याङ्गवा लामासँग एकवटा बाघको छाला रु.२४,०००। (चौबिस हजार) मा किनी काठमाडौं घर बताउने सनम लामालाई रु.३०,०००। (तीस हजार) मा बिक्री गरेको । त्यस्तै गरी २०५८ आषाढ, साउनतिर जिल्ला चितवन पिप्ले गा.वि.स. डडुवा बस्ने गोपाल तामाङ्गसँग एउटा चितुवाको छाला रु.२५००। मा किनेको, त्यसैगरी मकवानपुर जिल्ला मनहरी गा.वि.स.ज्यामिरे बस्ने अक्षयकुमार गिरीसँग चितुवाको छाला रु.१०,०००। मा किनेको, जिल्ला चितवन पर्सा बजारभन्दा भित्र पर्ने धर्मपुर बस्ने चेपाङ्ग माइलासँंग चितुवाको छाला १ रु.३५००। मा किनी उक्त ३ वटा चितुवाको छाला काठमाडौं महानगरपालिका वडा नं. ५ बस्ने दोग्ला भनिने छिरिङ्ग लामालाई रु.२६,०००। मा बेचेको हो भनी सुन्दरसिंह ठकुरीले गरेको साबिती बयान 

मलाई सुन्दरसिंह ठकुरीले गैडाको खाग छ बेचिदिनु पर्‍यो भनी मेरो घरमा फोन गरी भनेकोले २०५९ साल फाल्गुण महिनाको अन्त्यतिर मैले तान्जिङ निमासँग कुराकानी गर्दा हुन्छ भनेकाले उसैलाई लिई नवलपरासी जिल्लाको कावासोतीमा आई सुन्दरसिंह ठकुरी समेतका मानिसलाई भेटी सुन्दरको मोरसाइकलबाट नवलपरासी जिल्ला देउराली गा.वि.स. झ्यालबासमा गई मालधनी ओमबहादुर राना मगर र गजबहादुर फाल मगर समेतलाई लिई तान्जिङ निमा बसेको होटलमा आई त्यसपछि चोरमारा खोलाको बगरमा खाग हेरी दुई लाख चालीस हजारमा मोलसमेत भई तान्जिङ्ग निमाले गैंडाको खाग किनी लगेको र २०५८ साल असार साउनतिर सुन्दरको घर रत्ननगर नगरपालिका टाँडी चितवनबाट चितुवाको छाला ३ थान २६,०००। मा खरीद गरी कपडाको झोलामा बेरेर बसको छतमा राखेर लगी काठमाडौं महानगपालिका वडा नं. ६ बौद्धमा डेरा बस्ने तान्जिङ निमालाई ३०,०००। मा बेचबिखन गरेको हो भनी दोग्ला भनिने छिरिङ्ग लामाले दिएको साबिती बयान 

२०५९ साल फागुनतिर छिरिङ्ग लामाले खबर गरेअनुसार एउटा गैंडाको खाग जिल्ला नवलपरासी चोरमारा खोलाको बगरमा सुन्दरसिंह ठकुरी समेतबाट रु.२,४०,०००। (दुई लाख चालीस हजार) मा लिएको र २०५८ साल असारतिर छिरिङ लामासँग ३०,०००। मा चितुवाको छाला तीन थान लिएको हो । मिति २०६०।१।१९ गते म र छिरिङ्ग लामा खाग किन्न  नारायणगढको होटलमा बसिरहेको समयमा रा.नि.को गस्ती टोलीले पक्राउ गरी मसँग भएको ७,५०,०००। (सात लाख पचास हजार) बरामद भएकोमा ६,००,०००। (छ लाख) ल्हासा बस्ने टासीले गैंडाको खाग किन्न पठाएको र १,५०,०००। (एक लाख पचास हजार) मै आफैंले गैडाको खाग किन्न लगाएको हो भनी तान्जिङ निमाले दोभाषेको रूपमा निजसँगै पक्राउ परेका छिरिङ्ग लामाबाट सहायक संरक्षण अधिकृतको रोहवरमा दिएको साबिती बयान 

नवलपरासी जिल्ला देउराली गा.वि.स.वडा नं. ४ पुरानो बेलानी बस्ने गजबहादुर फाल मगर समेतका व्यक्तिहरू बेलाबेलामा कावासोती बजारमा आवतजावत गरी हिँडिरहेको देखेको हो भनी जिल्ला नवलपरासी पिठौली गा.वि.स.वडा नं. ८ बस्ने भिमनारायण भुसालसमेतले गरेको सर्जमीन मुचुल्का 

प्रतिवादी गजबहादुर फाल मगर, लव मल्ल र सुन्दरसिंह ठकुरीको घर खानतलासी गर्दा वन्यजन्तुको कुनै पनि अखेंटोपहार फेला नपरेको भन्ने मिति २०६०।२।९को छुट्टाछुट्टै खानतलासी मुचुल्का 

जिल्ला नवलपरासी, देउराली गा.वि.स.वडा नं. ४ पुरानो बेलानी गाऊँ बस्ने गजबहादुर फाल मगरसमेत जना १२ का प्रतिवादीहरूले बिना इजाजत संरक्षित वन्यजन्तु गैंडाको खाग समेतका आखेटोपहार बिक्री वितरण गरी रा.नि.तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९ को कसूर अपराध गरेको देखिनआएबाट विरुद्ध खण्डका प्रतिवादीहरूलाई सोही ऐनको दफा २६(१) बमोजिम सजायको मागदावी लिई मुद्दा चलाउने, अखेटोपहार खरीदको लागि बरामद भएको रकम दशी प्रमाणको रूपमा अभियोगपत्र साथ पेश गर्ने साथै तिब्बत घर बताउने टासी भन्ने व्यक्ति र जडिबुटी बेच्ने सुमन भोटेको हकमा स्पष्ट नाम थर वतन खुलेका बखत कानूनबमोजिम गर्ने गरी मुद्दा चलाउने भनी जिल्ला सरकारी वकीलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता राजेन्द्रकुमार श्रेष्ठबाट भएको निर्णयको प्रतिलिपिसहितको मिति २०६०।२।१२ को पत्र 

अभियोगपत्रको विरुद्ध खण्डका प्रतिवादीहरूले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९(१) को कसूर अपराध गरेको पुष्टि भएकोले सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरिपाऊँ भनी पेश गरिएको अभियोग मागदावी 

पछि पक्राउ परी आएका प्र.ओमबहादुर राना मगरले आफूले वि.सं.२०५४ साल, २०५९ साल असोज र २०५९ साल पुससमेत गरी तीन पटक गैंडाको खाग विक्री व्यवसायमा संलग्न भएको हो भनी कार्यालयको इजलाससमक्ष गरेको बयान र पुर्पक्षको निमित्त थुनामा राख्ने गरी मिति २०६०।५।१२ मा शुरु कार्यालयको इजलासबाट भएको आदेश 

पछि पक्राउ परी आएका अर्का प्र. च्याङवा भनिने दिलबहादुर लामाले आफुलाई प्र. सुन्दरसिंह ठकुरीले बाघको छाला त्रिवेणीबाट चिवतनको भरतपुरमा ओसारी दिनुपर्‍यो भनेकोले चितवन भरतपुरको क्याम्पस गेटसम्म ल्याइदिएको र रु.२५००। (दुई हजार पाँच सय) लिएको हुँ भनी बयान गरेकोले निजलाई पूर्पक्षको लागि थुनामा राख्ने गरी शुरु कार्यालयको इजलासबाट भएको मिति २०६१।१।२ को आदेश 

सर्जमीन मुचुल्कामा बस्ने वीरबहादुर थारू, भीमनारायण भुसाल, सीताराम भुसाल र खेमनारायण थारू समेतले शुरु कार्यालयको इजलाससमक्ष गरेको छुट्टाछुट्टै बकपत्र 

जाहेरवाला तथा बरामदी मुचुल्कामा काम तामेल गर्ने रे.माधव खड्काले शुरु कार्यालयको इजलाससमक्ष गरेको बकपत्र 

प्रतिवादीहरू क्रमशः गोपाल तामाङ्ग, अक्षयकुमार गिरी, चेपाङ माहिला र मानबहादुर तामाङ्गसमेतको नाममा जारी भएको समाह्वान म्याद रीतपूर्वक तामेल भई मिसिल संलग्न रहेको 

प्रतिवादीहरू गजबहादुर फाल मगर, सुन्दरसिंह ठकुरी, लव मल्ल र छिरिङ्ग लामा समेतले गरेको साबिती बयान एवं बरामदी मुचुल्कामा काम तामेल गर्ने र जाहेरवाला रेञ्जर माधव खड्का र वेदबहादुर खड्कासमेतले कार्यालयको इजलाससमक्ष आई बकपत्र गरेको, सर्जमीन मुचुल्काका मानिसहरूले समेत शुरुमा गरेको कागजलाई समर्थन गरी कार्यालयसमक्ष बकपत्र गरेको देखिएकोले प्र.ओमबहादुर राना मगरले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसूर गरेको स्पष्ट हुँदा सोही ऐनको दफा २६(१) बमोजिम १० वर्ष कैद हुने ठहर्छ र प्र. गजबहादुर फाल मगरले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसूर गरेको स्पष्ट भएकोले सोही ऐनको दफा २६(१) बमोजिम १० वर्ष कैद हुने ठहर्छ । प्रतिवादी सुन्दरसिंह ठकुरीले ऐ. ऐनको दफा १९(१) को कसूर गरेको स्पष्ट भएकोले सोही ऐनको दफा २६(१) बमोजिम १२ वर्ष कैद र रु.५०,०००। जरीवाना हुने ठहर्छ । प्र. च्याङबा भन्ने दिलबहादुर रानाले ऐ ऐनको दफा १९(१) को कसूर गरेकोले ऐ. ऐनको दफा २६(१) बमोजिम ५ वर्ष कैद हुने ठहर्छ । प्रतिवादी छिरिङ्ग लामाले ऐ ऐनको दफा १९(१) को कसूर गरेको स्पष्ट हुन आएकोले ऐ ऐनको दफा २६(१) बमोजिम ५ वर्ष कैद र रु.१,००,०००। जरीवाना हुने ठहर्छ । प्र. विजय भनिने लव मल्लले ऐ. ऐनको दफा १९(१) को कसूर गरेको स्पष्ट भएकोले सोही ऐनको दफा २६(१) बमोजिम रु.१,००,०००। जरीवाना हुने ठहर्छ । प्र. गोपाल तामाङ्ग, अक्षयकुमार गिरी, चेपाङ माहिला र मानबहादुर तामाङले ऐ ऐनको दफा १९(१) को कसूर गरेको स्पष्ट भएकोले सोही ऐनको दफा २६(१) बमोजिम जनही रु.१,००,०००। जरीवाना हुने ठहर्छ । स्पष्ट ठेगाना नखुलेको काठमाडौं घर बताउने सनम लामाको हकमा वतन खुलेको बखत पेश गर्नु । प्र.तान्जिङ निमालाई कार्यालयबाट माग भएको नगद धरौट बुझाई तारिखमै रहेको अवस्थामा मृगौला र कलेजोको उपचार गर्दागर्दै सन् २००३ डिसेम्वर ९ तारिखको दिन मृत्यु भएको भनी मृत्यु प्रमाणपत्रको साथै उपचार गराएको अन्य कागजातहरू निज तान्जिङ निमाको श्रीमती डोमाले कार्यालयमा जानकारी गराएकोले अ.वं. १७६ नं. बमोजिम गैह्र मुद्दामा अभियोग लागेको मानिस फैसला नहुँदै मर्‍यो भने सो मर्नेलाई खतबात लाग्दैन भन्ने भएको हुँदा निजबाट बरामदी रु.७,५०,०००। र थप धरौट रु.१,००,०००। मध्ये रु.१,००,०००। धरौट सदर स्याहा गरी बाँकी धरौटी निजको हकदार वा हकदारले मञ्जूरनामा दिई पठाएको व्यक्तिलाई दिनु भन्ने शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनको मिति २०६१।६।११ को निर्णय 

शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा, चितवनले हामी प्रतिवादीमध्येका ओमबहादुर राना मगरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९   (१) को कसूरमा ऐ ऐनको दफा २६(१) बमोजिम १० वर्ष कैद हुने ठहराएको, म प्र. गजबहादुर फाल मगरलाई ऐ ऐनको दफा १९(१) को कसूरमा ऐ को दफा २६(१) बमोजिम १० वर्ष कैद हुने र म सुन्दरसिंह ठकुरीलाई ऐ ऐनको दफा १९(१) को कसूरमा ऐ दफा २६(१) बमोजिम १२ वर्ष कैद र रु.५०,०००। जरीवाना हुने ठहर्‍याएको फैसलाउपर चित्त बुझेन । शुरु निर्णय गर्दा निर्णयकर्ताले बारम्बार उल्लेख गरेको बरामदी मुचुल्का तान्जिङ निमाको शरीरबाट बरामद भएको रूपैया भै शुरुले उक्त रूपैयाँ फिर्ता दिने निर्णय गरेको भए पनि यो ऐ दफा १९ सँग सम्वन्धित वस्तु नभै २०६०।१।१९ को मितिलाई बरामदी मिति मानेको भए पनि सोही दिन कुनै काम नभएको अवस्था छ । २०६०।२।९ को खानतलासी मुचुल्कामा केही भेटिएको छैन । अस्पष्ट विरोधाभाषयुक्त र अभियोग स्थापित नै गर्न नसकेको वारदात, मिति, समय र स्थानको प्रकृति नखुलेको रेञ्जर माधव खड्काको प्रतिवेदन दावी प्रमाणित गर्ने वादी नेपाल सरकारको स्पष्ट सबूद प्रमाणको अभावमा समेत हामीलाई ऐ दफा १९(१) को कसूरमा ऐ दफा २६(१) बमोजिम कैद तथा जरीवाना गर्ने ठहराएको शुरुको निर्णय सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ३,,,१०,३ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २३, ३० समेतको विपरीत र सम्मानीत सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त समेतको विपरीत भै त्रुटिपूर्ण हुँदा सफाइ दिलाइपाऊँ भन्नेसमेत व्यहोराको ओमबहादुर राना मगर, गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीको संयुक्त पुनरावेदन जिकीर 

मारिएको भनिएको गैंडा कहिले, कुन ठाउँमा के कसरी मारी कहिले के कहाँ त्यसको खाग बिक्री गरिएको हो खुल्न नआई पुनरावेदकको साबिती बयान अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको नदेखिएको, रूपैयाँ बरामदी मुचुल्काका मानिससमेत नबुझिएको अवस्थामा निजलाई कसूरदार भनी सजाय गर्ने गरेको शुरुको फैसला फरक पर्नसक्ने देखिँदा छलफलको निमित्त विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६२।८।१९ को आदेश 

प्रस्तुत मुद्दाको प्रकृतिअनुसार आफैं अनुसन्धानकर्ता र आफैं वादी अनि आफै निर्णयकर्ता हुने भएकोले अनुसन्धान र कार्यालयमा भएका प्रतिवादीहरूको कसूरको साबिती र सहअभियुक्तको पोल अन्य स्वतन्त्र, भरपर्दो र प्रत्यक्ष प्रमाणबाट परिपुष्टि भएको अवस्थामा मात्र प्रमाण ग्राह्य हुनसक्छ तर प्रस्तुत मुद्दामा पुनरावेदकको सो साबिती र पोल अन्य कुनै पनि स्वतन्त्र र निश्चयात्मक प्रमाणबाट समर्थित हुनसकेको देखिँदैन । सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुनपर्ने (नेकाप २०५५, अङ्क ९, नि.नं. ६६०१) फौजदारी मुद्दामा अभियुक्तमाथि लगाइएको आरोप वादी पक्षले पूर्णरूपले प्रमाणित गर्नुपर्छ (नेकाप  २०४७, अङ्क ४, नि.नं. ४१३३, पृष्ठ ३७८) र कसूर प्रमाणित गर्ने प्रमाणहरू बिल्कुलै शंकारहित हुनुपर्छ शंकाको भरमा मात्र कसूर कायम गर्न मिल्दैन (नेकाप  २०४५, अङ्क, ४ नि.नं. ३४२१, पृ. ३४७) भनी सम्मानीत सर्वोच्च अदालतबाट सिद्धान्तसमेत प्रतिपादन भएको अवस्थालाई दृष्टिगत गर्दा वारदातस्थल, वारदात मिति र समयसमेत प्रष्टरूपमा किटान नगरी रेञ्जरले दिएको प्रतिवेदनको आधारमा अनुसन्धान गरी साबितीलाई समर्थन गर्ने अन्य प्रमाणको अभावमा प्रतिवादीहरू साबिती भएको भन्ने भरमा मात्र कसूरदार कायम गर्नु फौजदारी न्यायको मान्य सिद्धान्तसमेतले मिल्ने देखिँदैन । प्रस्तुत मुद्दामा अपराध कहिले कहाँ भयो भन्ने कुरा पनि वादी पक्षले देखाउन सकेको छैन । कोरा साबितीले मात्र प्रतिवादीलाई कसूरदार ठहर गर्न नमिल्ने भनी सम्मानीत सर्वोच्च अदालतबाट पटकपटक सिद्धान्त प्रतिपादन भएकोसमेत अवस्था छ । फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादीमा रहने भार हो । प्रस्तुत मुद्दाको पुनरावेदकको सन्दर्भमा कसूरसँग सम्बन्ध नराख्ने खालको बरामदी मुचुल्का, कसूरसँग सम्वन्धित अखेटोपहार फेला नपरेको भन्ने खानतलासी मुचुल्का, वारदात देखो सुनेको सम्म भन्न नसकेको सर्जमीनका व्यक्तिको बकपत्र समेतका मिसिल संलग्न कसूर प्रमाणित हुन नसक्ने तथ्यका आधारमा कोरा साबितीको भरमा पुनरावेदकहरू उपरको दावी वादीले शंकारहित तवरले प्रमाणित गर्न सकेको भन्न मान्न मिल्ने देखिँदैन । तसर्थ माथि उल्लेख गरिएका मिसिल संलग्न तथ्य र प्रमाणको विवेचनाको आधारमा अभियोग दावी प्रमाणित हुन नसकेको अवस्थामा पुनरावेदकहरूलाई सफाइ दिनुपर्नेमा कसूरदार ठहर गरी सजाय गरेको शुरुको मिति २०६१।६।११ को निर्णय मिलेको नदेखिँदा उल्टी भै पुनरावेदकहरू ओमबहादुर राना मगर, गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०६३।८।४ को फैसला 

प्रतिवादीहरूले एकआपसमा परस्पर पोल गर्दै आफूहरूले आरोपित कसूर गरेको भनी मुद्दा हेर्ने अधिकारीसमक्ष वारदातको साल, महिनासमेत उल्लेख गर्दै घटनाक्रमको चित्रण गरी यथार्थ रूपमा साबित भई बयान गरेका र मिसिलसंलग्न जाहेरी, बुझिएका मानिसहरूको भनाइ व्यहोरा समेतबाट सो साबिती एवं सहअभियुक्तको पोल समर्थित भइरहेको अवस्थामा सोको मूल्याङ्कन नगरी प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदावी बमोजिम सजाय गरिपाऊँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र 

प्रतिवादीहरू तीनैजना ओमबहादुर राना, गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा ५क र दफा १९(१) को कसूरमा दफा २६(१) को सजाय गरिपाऊँ भनी अभियोगपत्र दायर भएकोमा शुरु फैसला उल्टी गरी पुनरावेदन अदालतले सफाइ दिएउपर प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । प्रतिवादीहरू तीनैजनाले मुद्दा हेर्ने अधिकारीसमक्ष आफूले अपराध गरेको भनी साबित हुँदै बयान गरेको देखिन्छ । एक पक्षले लगाएको अभियोग अर्को पक्षले मुद्दा हेर्ने अधिकारीसमक्ष लिखित रूपमा स्वीकारी साबित भएमा प्रमाण बुझिरहन नपर्ने भनी प्रमाण ऐन, २०३१ को दफा ४ र अ.वं. १८४ (क) नं. मा व्यवस्था भएको देखिन्छ । मुद्दा हेर्ने अधिकारीसमक्ष जानीबुझी कसूर सकार गरेकोमा थप प्रमाण बुझिरहन पर्दैन । सो मुद्दा हेर्ने अधिकारी र अड्डा तत्कालीन संविधान २०४७ को धारा ८४ अन्तर्गत खास प्रकृतिको मुद्दा हेर्न कानूनबमोजिम गठित Specialised Court हो । संविधान र कानूनले मुद्दा हेर्ने कुनै खास निकाय तोकेकोमा त्यस्तो निकाय पनि अदालत सरहकै मुद्दा हेर्ने अधिकारी हो । संविधान, कानून स्पष्ट हुँदाहुँदै र प्रतिवादीहरू मुद्दा हेर्ने अधिकारीसमक्ष आफूलाई लागेको अभियोगमा साबित हुँदाहुँदै पनि कानूनबमोजिम तोकिएको मुद्दा हेर्ने अधिकारीको अधिकारक्षेत्र र कार्यविधिमा नै गलत अर्थ गरी प्रतिवादीहरूलाई सफाइ दिने गरेको पुनरावेदन अदालतको फैसला फरक पर्ने देखिँदा छलफलका लागि प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०६४।८।१४ को आदेश 

मलाई पक्राउ गरी हिरासतमा राखी डरधाक धम्की दिई बन्दुक उजाई कुटपीट गरी यातना दिई बयान पढी बाँची नसुनाई जवरजस्ती सहिछाप गराइएको हो । सहअभियुक्तहरूलाई पनि यसै गरी साबित गराई उस्तै व्यहोरामा सहिछाप गराइएको हो । सो बाहेक आरोपित कसूर स्थापित गर्ने अन्य कुनै स्वतन्त्र प्रमाण वादी पक्षले पेश गर्न नसकेको अवस्थामा शुरु फैसला उल्टी गरी अभियोग मागदावीबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला कानूनसम्मत भएकोले सदर गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू ओमबहादुर राना मगर, गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीले यस अदालतमा चढाएको छुट्टाछुट्टै लिखित प्रतिवाद 

प्रतिवादीहरूले आरोपित कसूर गरेको कुरामा साबित भई एकअर्कालाई पोलसमेत गरी अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान निजहरूले परस्पर गरेको बयान र सर्जमीनका मानिस तथा बरामदी मुचुल्काका मानिसहरूको बकपत्र समेतबाट समर्थित भएको देखिएको र प्रमाण ऐन, २०३१ को दफा ४(१)(क) तथा ९(१) बमोजिम मुद्दा हेर्ने अधिकारीसमक्ष निजहरूले गरेको साबिती वयानलाई निजहरूका विरुद्ध प्रमाणमा लिन मिल्ने देखिँदा प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग मागदावीबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भई प्रत्यर्थी प्रतिवादीमध्येका ओमबहादुर राना मगरले ३ पटकसम्म गैडाको खाग बिक्री गरेको भन्ने देखिएको र प्रस्तुत मुद्दामा समेत गैंडाको खाग निजले आफूसँगै आफ्नो घरमा नै राखेको देखिएको हुँदा निजलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसूरमा ऐ को दफा २६(१) बमोजिम पाँच वर्ष कैद र पचास हजार रूपैयाँ जरीवाना हुने ठहर्छ । अन्य प्रत्यर्थी प्रतिवादीहरू गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीले गैंडाको खाग आफ्नो सँगसाथ राखेको भन्ने देखिन नआएको र निजहरू प्रतिवादी ओमबहादुर राना मगरको सँगसाथ रहेको खाग बिक्री गर्नका लागि ग्राहक खोजी गर्ने काममा संलग्न रहेको देखिएको हुँदा निज प्रत्यर्थी प्रतिवादीहरू गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसूरमा सोही ऐनको दफा २६(१) बमोजिम जनही एक लाख रूपैयाँ जरीवाना हुने ठहर्छ । प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग मागदावीबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ सदर गर्ने गरेको सहकर्मी माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाको रायसँग सहमत नभएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम  ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासमा सम्माननीय प्रधानन्यायाधीश श्री रामप्रसाद श्रेष्ठले व्यक्त गर्नुभएको राय 

प्रस्तुत मुद्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३० र ३१ अनुसार तत्कालीन शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जरबाट अनुसन्धान तहकीकात गरी मुद्दा दायर भई सोही कार्यालयका प्रमुख संरक्षण अधिकृतबाट फैसला भएको देखिन्छ । यसरी मुद्दाको अनुसन्धानकर्ता, अभियोजनकर्ता र निर्णयकर्ता समेत एउटै निकाय रहेको अवस्थामा सो निकायका अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष भएको प्रतिवादीहरूको साबिती बयान र सहअभियुक्तहरूको पोललाई प्रमाणमा ग्रहण गर्दा सावधानीपूर्वक विचार गरिनुपर्दछ । त्यस्तो साबिती र सहअभियुक्तको पोल मिसिलसंलग्न अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणबाट समर्थित भएको अवस्थामा प्रमाणमा ग्राह्य हुन्छ तर प्रस्तुत मुद्दामा प्रतिवादीहरूले शुरु कार्यालयमा गरेको साबिती बयान र परस्पर गरेको पोल मिसिल संलग्न अन्य कुनै पनि ठोस सबूद प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन । मुख साबित हुनु र अपराध गर्नु फरकफरक कुरा हुन् । अपराधजन्य कार्य भए गरेको प्रमाणबाट पुष्टि र समर्थित भएमा मात्र कसूरदार ठहर्‍याई अभियुक्तलाई सजाय गरिन्छ । फौजदारी न्याय सिद्धान्तको स्थापित मान्यता पनि यही हो । बिना दशी प्रमाणको साबिती कहिल्यै पनि आपराधिक कार्य हुँदैन र दण्डनीय पनि हुँदैन । यदि त्यस्तो साबिती मात्रलाई आधार मानी अपराध गरेकै हो भनी आत्मगत सोचाई राखी नागरिकलाई दण्ड गर्दै जाने हो भने व्यक्तिका मौलिक हक, कानूनी हक र प्रमाण कानूनका प्रावधानहरू सबै निस्तेज र निष्क्रिय हुन्छन् । अनि त्यस्ता भावावेशपूर्ण निर्णयहरूबाट न्यायका स्थापित मान्य सिद्धान्तहरू धराशायी हुन्छन्, जुन कानूनी राज्यमा घातक सिद्ध हुन्छ । त्यसैले नै प्रमाण ऐन २०३१ को दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछभनी प्रमाणको भारको स्पष्ट व्यवस्था गरिएको हो । प्रत्येक अभियुक्तको साबिती वस्तुगत प्रमाण, स्वतन्त्र प्रमाण र परिस्थितिजन्य प्रमाणहरूको श्रृङ्खलासहितको कडीसँग जोडिएको हुनुपर्छ । प्रस्तुत मुद्दामा, त्यस्ता कुनै पनि प्रमाण कथित साबितीसँग जोडिएका छैनन्, पेश भएका छैनन् र परस्परका पोलसँग मेल पनि खाँदैनन् । त्यसो हुँदा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रतिवादीहरूले गरेको भनिएको साबिती बयान बाहेक निजहरू विरुद्धको आरोपित कसूर पुष्टि हुने अन्य कुनै स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण वादी पक्षले पेश गर्न सकेको नदेखिँदा त्यस्तो साबिती र पोल मात्रको आधारमा प्रतिवादीहरूले आरोपित कसूर गरेको ठहर्‍याई सजाय गर्न मिल्ने देखिन आएन । अतएव प्रत्यर्थी प्रतिवादीहरूलाई कसूरदार ठहर्‍याएको शुरु शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णय उल्टी गरी निजहरूलाई अभियोग मागदावीबाट सफाइ दिने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६३।८।४ को फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । पुनरावेदन नगर्ने अन्य प्रतिवादीहरू विजय भन्ने लव मल्ल, दोग्ला भन्ने छिरिङ्ग लामा, तान्जिङ्ग निमा, च्याङ्बा लामा, गोपाल तामाङ, अक्षयकुमार गिरी, चेपाङ माइला र मानबहादुर तामाङका हकमा समेत कथित साबिती र परस्परको पोलबाहेक आरोपित कसूर पुष्टि हुने अन्य कुनै स्वतन्त्र एवं ठोस प्रमाण वादी पक्षले पेश दाखिल गर्न सकेको अवस्था नदेखिँदा अ.वं. २०५ नं. बमोजिम निज प्रतिवादीहरूले समेत अभियोग मागदावीबाट सफाइ पाउने ठहर्छ । प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग मागदावीबाट सफाइ दिएको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गर्ने गरेको सम्माननीय प्रधानन्यायाधीशज्यूको रायसँग सहमत नभएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाले व्यक्त गर्नुभएको राय 

नियमबमोजिम पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको सम्पूर्ण मिसिल अध्ययन गरियो 

पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रेवतिराज त्रिपाठीले विधायिकाद्वारा निर्मित कानूनले प्रदान गरेको क्षेत्राधिकार अन्तर्गत अधिकारसम्पन्न निकायले मुद्दा हेरी निर्णय गरेको हो । त्यसैले निर्णय गर्ने निकायको सक्षमता र वैधतामा अदालतले शंका गर्न मिल्दैन । प्रत्यर्थी प्रतिवादीहरू आरोपित कसूर गरेको कुरामा अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष साबित रहेको अवस्थामा निजहरूलाई अभियोग मागदावीबाट सफाइ दिन मिल्दैन । तसर्थ पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गर्ने गरेको सम्माननीय प्रधानन्यायाधीशज्यूको राय सदर हुनुपर्दछ भनी बहस गर्नुभयो । प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री कृष्ण सापकोटा र श्री सविता बरालले साबिती प्रमाणमा ग्राह्य नै हुँदैन भन्ने होइन तर साबितीको विश्वसनीयताका विषयमा अदालत गम्भीर हुनुपर्दछ । प्रस्तुत मुद्दाको अनुसन्धान गर्ने, अभियोजन गर्ने र फैसला गर्ने निकाय एउटै भएको हुँदा यस्तो प्रकृतिको अद्र्धन्यायिक निकायमा भएको साबितीलाई प्रमाणमा ग्रहण गर्दा अदालतले सावधानी अपनाउनु पर्दछ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूको साबितीबाहेक अरु कुनै ठोस सबूत प्रमाण वादी पक्षले पेश गर्न सकेको अवस्था छैन । यसरी अर्दन्यायिक निकायमा भएको भनिएको साबितीलाई समर्थन गर्ने अन्य स्वतन्त्र प्रमाणको अभाव रहेको अवस्थामा सो साबिती मात्रको आधारमा कसूरदार ठहर गर्न नमिल्ने हुँदा प्रत्यर्थी प्रतिवादीलाई आरोपित कसूरबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाको राय सदर हुनुपर्दछ भनी बहस गर्नुभयो 

उल्लिखित बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरूले एक सिंगे गैंडा मारी गैंडाको खाग बिक्री व्यवसायमा संलग्न भई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९ को कसूर अपराध गरेकाले निजहरूलाई सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी रहेको देखिन्छ 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) मा अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कसैले राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको शिकार गर्न नहुने प्रावधान रहेको देखिन्छ । त्यस्तै उक्त ऐनको दफा १९ को उपदफा (१) मा तोकिएको अधिकारीबाट इजाजतपत्र नलिई कुनै पनि व्यक्तिले अखेटोपहारको बिक्री वितरण गर्न वा कुनै किसिमले हक छाडी दिन वा अखेटोपहारसम्वन्धी कुनै व्यवसाय गर्न पाउने छैन भन्ने प्रावधान रहेको देखिन्छ 

२. प्रस्तुत मुद्दामा अनुसन्धान अधिकारी शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराका रेञ्जरसमक्ष प्रतिवादीमध्येका विजय मल्ल भनिने लव मल्लले बयान गर्दा म र सुन्दरसिंह ठकुरी भई ओमबहादुर मगरसँग भएको गैंडाको खाग कावासोती जंगलमा हेरी दोग्ला भन्ने छिरिङ्ग लामालाई खाग बिक्री गर्ने योजनाअनुसार निज छिरिङ्गले साथैमा लिएर आएको तिब्वतियनलाई रु.२,४०,०००। मा खाग बेचेको हो, खाग बेचिदिएबापत मैले रु.१७,५००।पाएको हुँ भनी बयान गरेको देखिन्छ । त्यस्तै प्रतिवादी सुन्दरसिंह ठकुरीले बयान गर्दा २०५९ साल फागुन अन्तिमतिर म र लव मल्ल भई गजबहादुर फाल मगर र ओमबहादुर मगरसँग गैंडाको खाग छ भन्ने थाहा पाई दोग्ला भन्ने छिरिङ्ग लामासमेत भई खाग हेरी सो खाग छिरिङ्ग लामाले ल्याएको तिब्बतियनलाई रु.२,४०,०००। मा बेचेको हो, सो खाग बेचिदिएबापत मैले रु.१२,५००। पाएको हो, २०५६ साल कार्तिक मंसिरतिर मैले च्याङ्वा लामासँग बाघको छाला किनी सनम लामालाई रु.३०,०००।मा बेचेको थिएँ, २०५८ साउनतिर चितुवाको छाला गोपाल तामाङसँग रु.२,५००।मा र अक्षयकुमार गिरीसँग रु.१०,०००।मा किनी उक्त छालाहरू दोगला भन्ने छिरिङ लामालाई रु.२६,०००।मा बेचेको थिएँ भनी बयान गरेको देखिन्छ । प्रतिवादी गजबहादुर फाल मगरले बयान गर्दा २०५४ साल चैत्र तेस्रो हप्तातिर ओमबहादुर राना मगरले मसँग गैंडाको खाग छ किन्ने मान्छे खोज भनेकोले मैले खोजेको सुमन भोटेलाई रु.२,८०,०००।मा खाग बेचेको हो, सोबापत ओमबहादुरले मलाई रु.२८०००।दिएको  थियो । २०५९ चैत्र दोस्रो हप्तातिर लव मल्ल, छिरिङ्ग लामा, सुन्दरसिंह ठकुरी र नाम थाहा नभएको तिब्बतियनसमेत खाग किनबेचमा संलग्न भई मैले ओमबहादुर राना मगरलाई सूचना गरी निजले ल्याएको खाग रु.२,४०,०००। मा बिक्री गरेको हो र मैले रु.३०,०००। पाएको हो भनी बयान गरेको पाइन्छ । त्यस्तै प्रतिवादी छिरिङ्ग लामाले बयान गर्दा सुन्दरसिं ठकुरीले गैंडाको खाग बाघको छाला छ भनी फोन गरेकोले २०५८ सालको साउनतिर मैले रु.२६,०००।मा खरीद गरी तान्जिङ निमालाई रु.३०,०००।मा बेचेको हुँ । २०५९ साल फागुन अन्तिमतिर फेरि सुन्दरसिंले फोन गरेकोले मैले तान्जिङ निमासँग कुरा गरी सुन्दरसिंह ठकुरीसमेत भई रु.२,४०,०००। मा गैंडाको खाग खरीद बिक्री गरेको हो, माल मिलाइदिएबापत मलाई तान्जिङ निमाले रु.२५,०००। दिएको हो भनी बयान गरेको देखिन्छ । प्रतिवादीमध्येका तिब्बत घर भएका तान्जिङ निमाले बयान गर्दा २०५९ साल फागुनतिर छिरिङ लामाले खबर गरेअनुसार चोरमारा खोलाको बगरमा सुन्दरसिं ठकुरीबाट रु.२,४०,०००।मा  गैंडाको खाग खरीद गरेको हुँ, २०५८ साल असारतिर छिरिङ लामासँग रु.३०,०००।मा ३ वटा चितुवाको छाला लिएको हो, मैले टासीलाई ३ वटा चितुवाको छाला रु.६०,०००।मा र गैंडाको खाग रु.३,००,०००।मा बेचेको हुँ । मबाट बरामद भएको रु.७,५०,०००। मध्ये १,५०,०००। मैले हालेको र बाँकी रकम गैडाको खाग किन्न भनी तिब्बत ल्हासा बस्ने टासीले मलाई दिएको हो भनी बयान गरेको देखिन्छ 

३. मुद्दा हेर्ने अधिकारी शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत समक्ष बयान गर्ने क्रममा प्रतिवादी विजय मल्ल भनिने लव मल्लले २०५९ माघतिर गजबहादुर फाल मगरले गैंडाको खाग बेचिदिनु पर्‍यो भनेको हुँदा मैले सुन्दरसिंह ठकुरीलाई सो कुरा भनेको र सुन्दरसिंहले छिरिङ्ग लामालाई बोलाई हामी गजबहादुरको घरमा खाग हेर्न गयौं । गजबहादुरले ओमबहादुरलाई खबर गरेपछि ओमबहादुरले खाग लिएर आए । रु.३,००,०००। मा किनबेच गर्ने कुरा भयो । २०५९ चैत्र महिनामा छिरिङ्ग र तान्जिङ काठमाडौंबाट आएपछि हामी ६ जना भई चोरमारा खोलाको बगरमा बसी रु.२,४०,०००। मा गैडाको खाग तान्जिङ निमाले किनेको हो । खाग किनबेच गराइदिए बापत ओमबहादुर रानाले सुन्दरसिंह ठकुरी र मलाई रु.३०,०००। दिएकोमा मैले रु.१७,५००। र रु.१२५००। सुन्दरसिंहले लियौं । गजबहादुरले पनि रु.३०,०००। नै पाएको हो भनी बयान गरेको देखिन्छ । प्रतिवादीमध्येका सुन्दरसिंह ठकुरीले बयान गर्दासमेत २०५९ फागुनमा लव मल्लले गैंडाको खाग किन्ने मानिस खोजी दिनु भनेकोले मैले छिरिङ्ग लामालाई फोनबाट कुरा गरेको, २०५९ चैत्रमा छिरिङ्गले तिब्बतियन तान्जिङ निमालाई लिई चोरमारा खोलाको बगरमा आई गजबहादुर फाल मगरले खबर गरेअनुसार ओमबहादुरले निजको घरबाट ल्याएको गैंडाको खाग रु.२,४०,०००। मा किनबेच गरेको हो । खाग बेचाइदिए बापत ओमबहादुरले लव मल्ल र मलाई संयुक्त रूपमा रु.३०,०००। दिएको हो । २०५६ साल मंसिरतिर पनि मैले च्याङ्वा लामाबाट बाघको छाला किनी सनम लामालाई बेचेको थिएँ । २०५८ सालमा पनि गोपाल तामाङ, अक्षयकुमार गिरी र चेपाङ माइलासँग १=१ वटा चितुवाको छाला किनी सो छालाहरू दोगला भन्ने छिरिङ लामालाई रु.२६,०००।मा बेचेको थिएँ भनी बयान गरेको पाइन्छ । अर्का प्रतिवादी गजबहादुर फाल मगरले बयान गर्दा २०५९ माघ अन्तिमतिर ओमबहादुर राना मगरले गैंडाको खाग किन्ने मानिस खोजी दिनुपर्‍यो भनेकोले मैले लव मल्ललाई कुरा गरेको थिएँ । निजले सुन्दरसिंह ठकुरीलाई कुरा गरी निजले छिरिङ लामालाई भनेपछि खाग खरीद बिक्री गर्ने योजना तय गरी २०५९ चैतको दोस्रो हप्तातिर छिरिङ्ग लामा र तान्जिङ्ग निमा काठमाडौंबाट पैसा लिई चोरमारा आए । ओमबहादुर राना मगरले घरबाट ल्याएको खाग चोरमारा खोलाको बगरमा रु.२,४०,०००। मा छिरिङ र तान्जिङ्गले खरीद गरेका हुन् । मेरो भागमा परेको रु.३०,०००। मैले बुझिलिएको हो, त्यसबाहेक २०५४ साल चैत्रको तेस्रो हप्तातिर ओमबहादुर राना मगरले खाग किन्ने मान्छे खोज भनेकोले मैले सुमन भोटेसँग कुरा गरी रु.२,८०,०००।मा खाग खरीद बिक्री गरेको हो । खाग बिक्री गराइदिएबापत ओमबहादुरले मलाई रु.२८०००।दिएको हो भनी बयान गरेको पाइन्छ । त्यस्तै प्रतिवादी दोगला भनिने छिरिङ लामाले बयान गर्दा २०५८ साल असार श्रावणतिर सुन्दरसिहं ठकुरीबाट ३ वटा चितुवाको छाला किनी तान्जिङ निमालाई रु.३०,०००।मा बेचेको हुँ, २०५९ फागुन अन्तिमतिर सुन्दरसिंह ठकुरीले फोन गरी गैंडाको खाग छ, बिक्री गरिदिनु पर्‍यो भनी भनेकोले मैले तान्जिङ्ग निमासँग कुरा गरी निजलाई लिई नवलपरासीको कावासोतीमा आई सुन्दरसिंह ठकुरी र लव मल्ललाई भेटी ओमबहादुर राना मगरलाई खबर गरी निजले ल्याएको खाग चोरमारा खोलाको बगरमा रु.२,४०,०००। मा खरीद गरेको हो । खाग किनाई दिएबापत तान्जिङ्ग निमाले मलाई रु.२५,०००। दिएको हो भनी बयान गरेको देखिन्छ । प्रतिवादीमध्येका ओमबहादुर राना मगरले बयान गर्दा पहिलो पटक २०५४ सालको जाडो महिनामा सीताराम चौधरीले मलाई दिएको गैंडाको खाग मैले गजबहादुर फाल मगरमार्फत् सुमन मनाङ्गेलाई रु.३,००,०००। मा बेचेको हुँ । बिक्री गरिदिएबापत रु.५०,०००। गजबहादुर र मैले बाँडी लिएका हौं । दोस्रो पटक २०५९ असोज महिनामा प्रेमबहादुर बि.क.ले ल्याएको खाग मैले चन्द्रकान्त पाण्डेलाई रु.८०,०००। मा बेचेको हो । बिक्री गरिदिए बापत प्रेमबहादुर वि.क.ले मलाई रु.५०००। दिए । तेस्रो पटक २०५९ साल पुस माघतिर सीताराम चौधरीको भाईले ल्याएको गैंडाको खाग बिक्रीका लागि ग्राहक खोज्न मैले गजबहादुर फाल मगरलाई भनेकोमा उसले लव मल्ललाई भनेछ । लव मल्ल, सुन्दरसिंह ठकुरी, छिरिङ्ग लामा, गजबहादुर र मसमेत भै चोरमारा खोलामा सो खाग रु.२,४०,०००। मा तिब्बतियन तान्जिङ निमालाई बेचेको हो । बिकाई दिएबापत लव मल्ल र सुन्दरसिंह ठकुरीलाई संयुक्त रूपमा रु.३०,०००।, माल धनीलाई रु.१,५०,०००। दिई बाँकी रकम गजबहादुर फाल मगर र मैले बाँडी खाएका हौं भनी बयान गरेको पाइन्छ । प्रतिवादीमध्येका तान्जिङ निमाले बयान गर्दा सुन्दरसिंह ठकुरीले खबर गरेअनुसार २०५९ साल फागुन चैततिर चोरमारा खोलाको बगरमा निज समेतबाट रु.२,४०,०००। मा गैडाको खाग मैले खरीद गरी तिब्बत ल्हासा बस्ने टासीलाई मैले बिक्री गरेको हो । त्यस्तै ३ वटा चितुवाको छाला मैले छिरिङ लामासँग खरीद गरी टासीलाई नै ६०,०००।मा बेचेको हुँ । मबाट बरामद भएको रु.७,५०,०००। मैले गैडाको खाग किन्न बोकेको रकम हो । त्यसमध्ये रु.६,००,०००। निज टासीले गैडाको खाग किन्न मलाई पठाएको र बाँकी रु.१,५०,०००। म आफैंले हालेको हो भनी बयान गरेको देखिन्छ । त्यस्तै प्रतिवादीमध्येका च्याङ्वा भन्ने दिलबहादुर लामाले बयान गर्दा सुन्दरसिंह ठकुरीले त्रिवेणीबाट बाघको छाला ल्याउन सघाइदेऊ भनेकोले भरतपुरको क्याम्पस गेटसम्म बाघको छाला ओसारी दिएको हुँ । सो बापत सुन्दरसिंह ठकुरीले मलाई रु.२५००। दिएको हो भनी बयान गरेको पाइन्छ 

४. अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रतिवादीहरूले गरेको उल्लिखित बयान व्यहोरा हेर्दा प्रतिवादीहरूले एकै मिलानको बयान गरेको देखिन्छ । प्रतिवादीहरूको उक्त बयान व्यहोराबाट निजहरूले गैंडाको शिकार गरेको भन्ने देखिन नआई प्रतिवादी ओमबहादुर राना मगरसँग रहेको गैंडाको खाग बिक्री गर्न ग्राहक खोज्ने समेतको काममा प्रतिवादीहरू गजबहादुर फाल मगर, लव मल्ल, सुन्दरसिंह ठकुरी र छिरिङ्ग लामासमेत योजनाबद्ध रूपमा संलग्न भई प्रतिवादी तान्जिङ्ग निमासमेतले खाग खरीद गरिलिएको र प्रतिवादीहरूले आआफ्नो भाग हिस्सामा पर्नआएको रकम आपसमा बाँडी लिएको भन्ने देखिन आउँछ । यसरी प्रतिवादीहरूले परस्पर पोलसमेत गरी आरोपित कसूर गरेमा साबित भई गरेको उपरोक्त बयान व्यहोराबाट अखेटोपहार खाग बिक्री गर्ने सिलसिलामा भएको घटनाक्रम क्रमबद्धरूपमा चित्रण हुनआएको र खाग खरीद बिक्री गर्ने कार्यमा आआफ्नो संलग्नता देखाई प्रतिवादीहरूले गरेको बयान निजहरूको परस्परको बयान व्यहोराबाटै समर्थित हुन आएको देखिन्छ 

५. प्रतिवादीहरूको उपरोक्त बयान व्यहोराका अतिरिक्त प्रतिवादीहरू गजबहादुर फाल मगर, सुन्दरसिंह ठकुरी, विजय भन्ने लव मल्ल, दोग्ला भन्ने छिरिङ्ग लामा र तान्जिङ निमाले संयुक्त रूपमा लेखाइदिएको मिति २०६०।१।२० को कागजमा समेत ओमबहादुर राना मगरले गोसाई चौधरी भन्ने व्यक्तिबाट लिएको खाग बिक्री गर्न गजबहादुर फाल मगरलाई भनेको, गजबहादुरले ग्राहक खोज्न लव मल्ललाई भनेको, लव मल्लले सुन्दरसिंह ठकुरीलाई भनेको र सुन्दरसिंह ठकुरीले छिरिङ्ग लामालाई र छिरिङ्ग लामाले तान्जिङ निमालाई खाग बिक्री गर्ने कुरा गरी २०५९ साल चैत्रमा नवलपरासीको चोरमारा खोलाको बगरमा ६ जना भेला भई रु.२,४०,०००। मा गैंडाको खाग किनबेच गरी आआफ्नो भागमा परेको रूपैयाँ बण्डा गरी लिएको हो । त्यसपछि २०६० साल वैशाख १९ गते पुनः हामीहरू गैंडाको खाग बिक्री व्यवसाय गर्न बसिरहेको अवस्थामा पक्राउ परेका हौं भनी व्यहोरा लेखाइदिएको पाइन्छ । प्रतिवादीमध्येका तान्जिङ निमाको शरीर तलासी गर्दा खाग किन्न भनी बोकेको नगद रु.७,५०,०००। बरामद भएको भन्ने मिति २०६०।१।१८ को बरामदी मुचुल्काको तथ्यबाट समेत प्रतिवादीहरूको उपरोक्त बयान व्यहोरा समर्थित भएको देखिन्छ 

६. यसरी प्रतिवादीहरूले आरोपित कसूर गरेको तथ्यमा साबित भई एकअर्कालाई पोलसमेत गरी अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गरेको र निजहरूको उक्त बयान व्यहोरा सर्जमीनका मानिस तथा बरामदी मुचुल्काका मानिसहरूको बकपत्र समेतबाट समर्थित भएको अवस्थामा प्रत्यर्थी प्रतिवादीहरूको साबिती वयानलाई निजहरूका विरुद्ध प्रमाणमा लिन इन्कार गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको देखिन आएन । तसर्थ प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग मागदावीबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गरी प्रत्यर्थी प्रतिवादीमध्येका ओमबहादुर राना मगरले पटक पटक गैंडाको खाग बिक्री गरेको भन्ने देखिएको र प्रस्तुत मुद्दामा समेत गैंडाको खाग निजले आफ्नो घरमा नै राखेको भन्ने देखिएको हुँदा निजलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसूरमा ऐ को दफा २६(१) बमोजिम पाँच वर्ष कैद र पचास हजार रूपैयाँ जरीवाना गर्ने र अन्य प्रत्यर्थी प्रतिवादीहरू गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीले गैंडाको खाग आफ्नो सँगसाथ राखेको भन्ने देखिन नआएको र निजहरू प्रतिवादी ओमबहादुर राना मगरको सँगसाथ रहेको खाग बिक्री गर्नका लागि ग्राहक खोजी गर्ने काममा संलग्न रहेको देखिएको हुँदा निज प्रत्यर्थी प्रतिवादीहरू गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९  (१) को कसूरमा सोही ऐनको दफा २६(१) बमोजिम जनही एक लाख रूपैयाँ जरीवाना गर्ने गरी संयुक्त इजलासमा सम्माननीय प्रधानन्यायाधीश श्री रामप्रसाद श्रेष्ठले व्यक्त गर्नुभएको राय मनासिब देखिएकोले सो राय सदर हुने ठहर्छ । अरु तपसीलबमोजिम गर्नू 

तपसील

 

प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग मागदावीबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गरी प्रत्यर्थी प्रतिवादीमध्येका ओमबहादुर राना मगरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिम पाँच वर्ष कैद र पचास हजार रूपैयाँ जरीवाना गर्ने र अन्य प्रत्यर्थी प्रतिवादीहरू गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीलाई ऐ दफा २६(१) बमोजिम जनही एक लाख रूपैयाँ जरीवाना गर्ने गरी संयुक्त इजलासमा सम्माननीय प्रधानन्यायाधीश श्री रामप्रसाद श्रेष्ठले व्यक्त गर्नुभएको राय सदर हुने ठहरी फैसला भएकोले सोबमोजिम प्रत्यर्थी प्रतिवादी ओमबहादुर राना मगरका हकमा निज अनुसन्धानको सिलसिलामा पक्राउ परी थुनामा रहेको मितिदेखि पुनरावेदन अदालत हेटौंडाको फैसलाले छुटेको मितिसम्ममा निजले भुक्तान गरेको कैद अवधि कट्टा गरी बाँकी कैद तथा जरीवाना असूल गर्नू र अन्य प्रत्यर्थी प्रतिवादीहरू गजबहादुर फाल मगर र सुन्दरसिंह ठकुरीका हकमा निजहरूलाई लागेको जरीवाना असूल गर्दा निजहरू अनुसन्धानको सिलसिलामा पक्राउ परी थुनामा रहेको मितिदेखि पुनरावेदन अदालत हेटौंडाको फैसलाले छुटेको मितिबीचमा निजहरूले भुक्तान गरेको कैदबापतको कानूनबमोजिम हुने रकम कट्टा गरी मात्र असूल गर्नू भनी शुरु चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा लेखी पठाउनू–––

मिसिल नियमानुसार गरी बुझाइदिनू–––

 

उक्त रायमा म सहमत छु 

 

न्या.तर्कराज भट्ट

मा.न्या.श्री ताहिर अली अन्सारीको फरक राय :

यसमा प्रतिवादीहरूले गैंडाको खाग बिक्री व्यवसाय गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क) र १९ को कसूर अपराध गरेकोले निजहरूलाई सोही ऐनको दफा २६(१) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी रहेको देखिन्छ 

प्रस्तुत मुद्दामा शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराका अनुसन्धान अधिकारी तथा मुद्दा हेर्ने अधिकारीसमक्ष प्रतिवादीमध्येका विजय मल्ल भनिने लव मल्लले गरेको बयानमा म र सुन्दरसिंह ठकुरी भई ओमबहादुर मगरसँग भएको गैंडाको खाग कावासोती जंगलमा हेरी दोग्ला भन्ने छिरिङ्ग लामालाई खाग बिक्री गर्ने योजनाअनुसार निज छिरिङ्गले साथैमा लिएर आएको तिब्वतियनलाई रु.२,४०,०००। मा खाग बेचेको हो, खाग बेचिदिएबापत मैले रु.१७,५००।पाएको हुँ भन्ने उल्लेख भएको देखिन्छ । त्यस्तै प्रतिवादी सुन्दरसिंह ठकुरीको बयानमा २०५९ साल फागुन अन्तिमतिर म र लव मल्ल भई गजबहादुर फाल मगर र ओमबहादुर मगरसँग गैंडाको खाग छ भन्ने थाहा पाई दोग्ला भन्ने छिरिङ्ग लामासमेत भई खाग हेरी सो खाग छिरिङ्ग लामाले ल्याएको तिब्बतियनलाई रु.२,४०,०००। मा बेचेको हो, सो खाग बेचिदिएबापत मैले रु.१२,५००। पाएको हो, २०५६ साल कार्तिक मंसिरतिर मैले च्याङ्वा लामासँग बाघको छाला किनी सनम लामालाई रु.३०,०००।मा बेचेको थिएँ, २०५८ साउनतिर चितुवाको छाला गोपाल तामाङसँग रु.२५००।मा र अक्षयकुमार गिरीसँग रु.१०,०००।मा किनी उक्त छालाहरू दोगला भन्ने छिरिङ लामालाई रु.२६,०००।मा बेचेको थिएँ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । प्रतिवादी गजबहादुर फाल मगरले गरेको बयानमा २०५४ साल चैत्र तेस्रो हप्तातिर ओमबहादुर राना मगरले मसँग गैंडाको खाग छ किन्ने मान्छे खोज भनेकोले मैले खोजेको सुमन भोटेलाई रु.२,८०,०००।मा खाग बेचेको हो, सोबापत ओमबहादुरले मलाई रु.२८०००।दिएको  थियो । २०५९ चैत्र दोस्रो हप्तातिर लव मल्ल, छिरिङ्ग लामा, सुन्दरसिंह ठकुरी र नाम थाहा नभएको तिब्बतियनसमेत खाग किनबेचमा संलग्न भई मैले ओमबहादुर राना मगरलाई सूचना गरी निजले ल्याएको खाग रु.२,४०,०००। मा बिक्री गरेको हो र मैले रु.३०,०००। पाएको हो भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै प्रतिवादी छिरिङ्ग लामाले गरेको बयानमा सुन्दरसिंह ठकुरीले गैंडाको खाग बाघको छाला छ भनी फोन गरेकोले २०५८ सालको साउनतिर मैले रु.२६,०००।मा खरीद गरी तान्जिङ निमालाई रु.३०,०००।मा बेचेको हुँ । २०५९ साल फागुन अन्तिमतिर फेरि सुन्दरसिंले फोन गरेकोले मैले तान्जिङ निमासँग कुरा गरी सुन्दरसिंह ठकुरीसमेत भई रु.२,४०,०००। मा गैंडाको खाग खरीद बिक्री गरेको हो, माल मिलाइदिएबापत मलाई तान्जिङ निमाले रु.२५,०००। दिएको हो भन्ने उल्लेख भएको देखिन्छ । प्रतिवादीमध्येका तिब्बत घर भएका तान्जिङ निमाले गरेको बयानमा २०५९ साल फागुनतिर छिरिङ लामाले खबर गरेअनुसार चोरमारा खोलाको बगरमा सुन्दरसिंह ठकुरीबाट रु.२,४०,०००।मा  गैंडाको खाग खरीद गरेको हुँ, २०५८ साल असारतिर छिरिङ लामासँग रु.३०,०००।मा ३ वटा चितुवाको छाला लिएको हो, मैले टासीलाई ३ वटा चितुवाको छाला रु.६०,०००।मा र गैंडाको खाग रु.३,००,०००।मा बेचेको हुँ । मबाट बरामद भएको रु.७,५०,०००। मध्ये १,५०,०००। मैले हालेको र बाँकी रकम गंैडाको खाग किन्न भनी तिब्बत ल्हासा बस्ने टासीले मलाई दिएको हो भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीमध्येका ओमबहादुर राना मगरको बयानमा पहिलो पटक २०५४ सालको जाडो महिनामा सीताराम चौधरीले मलाई दिएको गैंडाको खाग मैले गजबहादुर फाल मगरमार्फत् सुमन मनाङ्गेलाई रु.३,००,०००। मा बेचेको हुँ । बिक्री गरिदिए बापत रु.५०,०००। गजबहादुर र मैले बाँडी लिएका हौं । दोस्रो पटक २०५९ असोज महिनामा प्रेमबहादुर बि.क.ले ल्याएको खाग मैले चन्द्रकान्त पाण्डेलाई रु.८०,०००। मा बेचेको हो । बिक्री गरिदिएबापत प्रेमबहादुर वि.क.ले मलाई रु.५०००। दिए । तेस्रो पटक २०५९ साल पुस माघतिर सीताराम चौधरीको भाइले ल्याएको गैंडाको खाग बिक्रीका लागि ग्राहक खोज्न मैले गजबहादुर फाल मगरलाई भनेकोमा उसले लव मल्ललाई भनेछ । लव मल्ल, सुन्दरसिंह ठकुरी, छिरिङ्ग लामा, गजबहादुर र मसमेत भै चोरमारा खोलामा सो खाग रु.२,४०,०००। मा तिब्बतियन तान्जिङ निमालाई बेचेको हो । बिकाई दिएबापत लव मल्ल र सुन्दरसिंह ठकुरीलाई संयुक्त रूपमा रु.३०,०००।, माल धनीलाई रु.१,५०,०००। दिई बाँकी रकम गजबहादुर फाल मगर र मैले बाँडी खाएका हौं भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै प्रतिवादीमध्येका च्याङ्वा भन्ने दिलबहादुर लामाले गरेको बयानमा सुन्दरसिंह ठकुरीले त्रिवेणीबाट बाघको छाला ल्याउन सघाइदेऊ भनेकोले भरतपुरको क्याम्पस गेटसम्म बाघको छाला ओसारी दिएको हुँ । सोबापत सुन्दरसिंह ठकुरीले मलाई रु.२५००। दिएको हो भन्ने उल्लेख भएको पाइन्छ 

अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रतिवादीहरूले गरेको बयान व्यहोरा हेर्दा सबैको बयानमा एकै मिलानको व्यहोरा उल्लेख भएको देखिन्छ । प्रतिवादीहरूको उक्त बयानलाई साबिती बयान भनी प्रतिवादीहरूले एकअर्कालाई परस्पर पोलसमेत गरेको भन्ने आधारमा शुरु शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले कसूर ठहर गरी प्रतिवादीहरूलाई सजाय गरेको देखिन्छ 

मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादीहरूको उपरोक्त बयान कागजबाहेक निजहरूउपरको आरोपित कसूर पुष्टि हुने अन्य कुनै पनि ठोस सबूत प्रमाण वादी पक्षले पेश गर्न सकेको पाइँदैन । वारदातस्थल कहाँ हो र वारदात कुन मितिमा भएको हो भन्ने कुरासमेत निश्चित् रूपले खुलाइएको छैन र कुनै स्वतन्त्र प्रमाणबाट दावीअनुसारको कसूर वारदात स्थापित हुनसकेको देखिँदैन । गैंडाको खाग बिक्री व्यवसाय गरेको भन्ने अभियोगमा प्रतिवादीहरूउपर मुद्दा दायर भएको देखिन्छ । तर मिसिलसंलग्न खानतलासी तथा बरामदी मुचुल्काहरू हेर्दा प्रतिवादीहरूले खरीद बिक्री गरेको भनिएको गैंडाको खागलगायत कुनै पनि आखेटोपहार कोही कसैबाट बरामद हुनसकेको देखिँदैन । प्रतिवादीमध्येका तान्जिङ निमाबाट बरामद भएको भनिएको रु.७,५०,०००। पनि प्रस्तुत मुद्दामा प्रतिवादीहरूले खाग खरीद बिक्री गरी लिएदिएको बिगो अर्थात् दशीको रूपमा बरामद भएको भन्ने देखिँदैन र प्रतिवादी तान्जिङ निमाको मृत्यु भएको भनी उक्त रकम निजको हकदारलाई फिर्ता दिने गरी शुरु शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाटै निर्णय भएकोसमेत देखिन्छ 

सरजमीन मुचुल्काका झिमनारायण भुसालसमेतका मानिसहरूले पनि प्रतिवादीहरू पक्राउ परेको कुरा सम्म सुनेको हो, निजहरूको आचरण र चालचलनको बारेमा केही थाहा छैन भनी व्यहोरा लेखाइदिएको पाइन्छ । निजहरूले अदालतमा बकपत्र गर्दासमेत प्रतिवादीहरूले गैंडाको खागको कारोबार गर्दछन् भन्ने हल्ला सुनेको सम्म हो, आफूहरूले देखे जानेको होइन भनी बकपत्र गरेको देखिन्छ 

प्रस्तुत मुद्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३० र ३१ अनुसार तत्कालीन शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जरबाट अनुसन्धान तहकीकात गरी मुद्दा दायर भई सोही कार्यालयका प्रमुख संरक्षण अधिकृतबाट फैसला भएको देखिन्छ । यसरी मुद्दाको अनुसन्धानकर्ता, अभियोजनकर्ता र निर्णयकर्ता समेत एउटै निकाय रहेकोमा कानूनले न्यायिक अधिकारक्षेत्र तोकेको मुद्दा हेर्ने अधिकारीले प्रतिवादीहरूको साबिती बयान र सहअभियुक्तहरूको पोललाई प्रमाणमा ग्रहण गर्दा अत्यन्त सावधानी अपनाउनु पर्ने हुन्छ । त्यस्तो साबिती र सहअभियुक्तको पोल मिसिलसंलग्न अन्य स्वतन्त्र र वस्तुगत प्रमाणबाट समर्थित भएको अवस्थामा मात्र प्रमाणमा ग्राह्य हुन्छ तर प्रस्तुत मुद्दामा प्रतिवादीहरूले शुरु कार्यालयमा गरेको भनिएको साबिती बयान र परस्पर गरेको पोल मिसिलसंलग्न अन्य कुनै पनि स्वतन्त्र र ठोस सबूत प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन । यथार्थमा प्रतिवादीहरूले गरेको भनिएको साबिती बयान पनि सजायभागी गराउने प्रकृतिको स्पष्ट साबिती बयान रहेको देखिँदैन 

प्रमाण ऐन २०३१ को दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेछभन्ने कानूनी व्यवस्था रहेको छ । सो कानूनी व्यवस्थाको अर्थ वादी अर्थात् सरकारले अभियुक्तबाटै कसूर स्वीकार गरेको कागज गराएर आफ्नो दायित्व पूरा भएको सम्झने भन्ने होइन । त्यसको अर्थ वादीले अभियुक्तको कसूर प्रमाणित गर्ने ठोस र स्वतन्त्र प्रमाणको खोजी गर्नुपर्दछ भन्ने हो । त्यस्तो स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण पेश भएको अवस्थामा प्रतिवादी इन्कार नै रहेको भए पनि निजको कसूर स्थापित भई निजलाई सजाय हुन्छ । कुनै पनि अभियुक्तलाई आफूउपर लगाइएको अभियोगको सम्बन्धमा कुनै बयान नदिई चूप लागि बस्ने सम्मको संवैधानिक अधिकार प्राप्त रहेको हुन्छ । अभियुक्तलाई यस्तो अधिकार प्राप्त रहेको सन्दर्भमा बिना कुनै स्वतन्त्र प्रमाण निजलाई वादी अर्थात् सरकारी पक्षले आफ्नो हिरासतमा राखेर गराएको कथित साबिती मात्रलाई कसूर प्रमाणित हुने पर्याप्त आधार मान्ने हो भने त्यो फौजदारी न्याय सिद्धान्तविपरीत हुन जान्छ । यसबाट आरोपित व्यक्तिको उक्त संवैधानिक हकको अपहरण त हुन्छ नै साथसाथै वादीलाई वस्तुनिष्ठ प्रमाणको खोजी गर्नेतर्फ भन्दा अभियुक्तलाई साबित गराउनेतर्फ दुरुत्साहन मिल्ने भई राज्यको फौजदारी न्याय प्रशासन विकृत र निरंकुश बन्न जान्छ । यो खतरालाई अदालतले सदा हृदयङ्गम गर्नैपर्दछ । त्यसैले अरु स्वतन्त्र एवं वस्तुनिष्ठ प्रमाणबाट समर्थित (Corroborate) नभएको कथित साबितीलाई अदालतले अभियुक्तका विरुद्ध प्रमाणमा लिन मिल्दैन 

कुनै वा केही व्यक्ति कुनै खास कसूर वारदातका कसूरदार हुन् भन्ने वादीलाई आशंका उत्पन्न हुन सक्दछ वा कुनै वा केही व्यक्तिउपर कुनै खास कसूर गरेको भनी अपराध अनुसन्धान गर्ने निकायका अधिकारीले आशंका गर्न सक्दछ । तर सो शंका, आशंकाको पृष्ठभूमिमा ठोस अनुसन्धानबाट यथेष्ट र भरपर्दो प्रमाणको खोजी गरी संकलन गर्न सक्नु पर्दछ । आशंकाको परिस्थिति दर्शाई सजायको मागदावी गर्न मिल्दैन । त्यसरी दावी गरिए पनि न्यायिक अधिकारी वा निकायले शंका, उपशंका वा कसैको पूर्व आचरण वा व्यवहारको पृष्ठभूमिलाई आधार बनाई निजलाई कसूरदार ठहर्‍याउन वा सजाय गर्नु मान्य फौजदारी न्याय सिद्धान्तको प्रतिकूल हुन्छ । फौजदारी कसूर निश्चित् र शंकारहित प्रमाणबाट प्रमाणित र पुष्टि हुनै पर्दछ । प्रस्तुत मुद्दामा आरोपित प्रतिवादीहरू विरुद्ध आरोपित कसूर गरेको शंकारहित प्रमाण प्रस्तुत गरिएको पाइँदैन । 

अतः प्रस्तुत मुद्दामा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसन्धान अधिकारी र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रतिवादीहरूले गरेको भनिएको साबिती बयानबाहेक निजहरू विरुद्धको आरोपित कसूर पुष्टि हुने अन्य कुनै स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण वादी पक्षले पेश गर्न सकेको नदेखिँदा त्यस्तो कथित साबिती र पोल मात्रको आधारमा प्रत्यर्थी प्रतिवादीहरूले आरोपित कसूर गरेको ठहर्‍याई निजहरूलाई सजाय गर्न नमिल्ने भएकोले शुरु शाही चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको निर्णय उल्टी गरी प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग मागदावीबाट सफाइ दिने गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६३।८।४ को फैसला सदर गरेको हदसम्म संयुक्त इजलासमा माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाले व्यक्त गर्नुभएको राय मनासिब देखिएकोले सो हदसम्म उक्त राय सदर हुने ठहर्छ 

यस इजलासका सहयोगी माननीय न्यायाधीशहरूको बहुमतले पुनरावेदन अदालतको फैसला उल्टी गर्ने संयुक्त इजलासका सम्माननीय प्रधानन्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय मनासिव ठहर्‍याउने निर्णयमा पुगेकोले सो बहुमतको रायसँग सहमत नहुँदा मैले मेरो फरक राय लेखेको छु । कानूनबमोजिम गर्नू । 

 

संवत् २०६९ साल भदौ २८ गते रोज ५ शुभम्––

इजलास अधिकृतः मातृकाप्रसाद आचार्य

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु