शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३४१ - माना चामल

भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक:

निर्णय नं. १३४१ ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश बब्बरप्रसाद सिंह

सम्वत् २०३४ सालको विविध नं. ४४

फैसला भएको मिति :  २०३६।५।२८।५ मा

निवेदक : का.जि. ओमबहाल बस्ने मुगादेवी बाहुनीको हाल श्रेष्ठनी

विरूद्ध

विपक्षी : का.न.पं.वडा नं. ७ वसन्तपुर बस्ने कृष्णप्रसाद श्रेष्ठ

मुद्दा : माना चामल

(१)  प्रमाण ऐन, २०३१ को दफा २३(४) अनुसार नाता सम्बन्धी कायम गर्ने कुरामा सम्बन्धित व्यक्तिहरूलाई चिन्ने जान्ने स्थितिमा रहेको व्यक्तिको भनाई नै प्रमाणमा सरोकार हुने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री शम्भुराम कार्की

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

फैसला

          न्या. विश्वनाथ उपाध्याय : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३५।३।४ गते भएको फैसलामा चित्त बुझेन सो मिसिल झिकी इन्साफ जाँच गरिपाउँ भनी मुगादेवी बाहुनीको हाल श्रेष्ठनीले श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभागमा चढाएको क.११३० को बिन्तिपत्रमा यो क.११३० को बिन्तिपत्र र यसैसाथ रहेको रु.१२८२ ग.११७४ को बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३५।३।४ गते छिनिएको माना चामल मुद्दाको मिसिल झिकी त्यस अदालतबाट इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु निवेदिकालाई जनाउ दिनु भन्ने हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुनआएको छ ।

          २.   मुद्दाको तथ्य यसप्रकार छ : पति परदेशमा गई घरमा बस्न नसकी घर धा.जि. गैरीथोकबाट भागी ११ साल माघ महीना देखि क्षेत्रपाटीमा दिदीको घरमा बसी आएकी सनीमङ्गलबाट मङ्गलबार अशोक विनायकको दर्शन गर्न जान्थ्यो विपक्ष मेरो पछि लागि मसँग सोधखोज गर्दै थिए साथै निजको कुराबाट मनकल्पी विपक्षसँग रही पति मानी बस्न मञ्जूर गरेर त्यतैबाट साथ लागि ०१८ साल फाल्गुण महीनामा लुगा धोती चुरा पोते बजार खरीद गरी दिई चाखाछैं गल्लीमा बद्रीकेशर भन्नेको घरमा डेरा लिई मलाई राखेको थियो त्यहाँबाट का.जि.यटखा हेपुननीमा नाउँ नजानेको झाको घरमा डेरा सारी ०२४ सालमा छोरा पाएपछि बसन्तपुरको घरमा लानु भो र ०२७ सालमा छोरी जायजन्म भयो केही वर्ष बसेपछि सौतासँग कल झगडा भइरहेकोले श्रीमानले साथै ल्याई स्वयम्भू मुनि डेरामा राख्नु भयो त्यसैपछि इन्द्रायणी स्थान नेर डेरामा राखी खान लाउन र डेरा भाडासमेत नदिएकोले नालेश गर्नआएको छु इज्जतआमद अनुसार छोराछोरी २ र म समेत ३ जनालाई ०३१ साल आश्विन १४ गते देखि आजसम्मको रोज १ को चामल माना ३।। को रु.७। तिउन के रु.२।, नून तेल यसलाई रु.१।, दाउरा के रु.१।५०, नाबालक २ जनाके खाजा के रु.१। समेतको हुने रु.१४।५० ले महीनाको हुने रु.४३५।५० डेरा बहाल रु.५०। छोरो पढाई रु.५। समेत जम्मा रु.४९०।५० ले वर्ष १ को हुने रु.५६८६।५० र लाउनातर्फ जवान ३ को हुने वर्ष १ को रु.६२२। समेत जम्मा खाना लाउना के रु. ६३०८।८० विपक्षबाट दिलाई भराई पाउँ भन्ने समेत मुगादेवी श्रेष्ठको ०३२।६।१२।३ को फिराद ।

          ३.   वादीलाई मैले ल्याएको र स्वास्नी तुल्याएको समेत होइन मेरो करणी वीर्यबाट छोराछोरी जन्मेको पनि होइन मेरा नाउँ साहू बंगाली पनि होइन भैरव भण्डार चुरोट भण्डार भनेको मेरो छँदा पनि छैन वादीले अञ्चलाधिश कार्यालयमा र महिला सङ्गठनमा बङ्गाली साहूबाट माना चामल दिलाई पाउँ भनी उजूर गर्दा म बङ्गाली साहू भन्ने होइन भनी मैले कागज गरी छुटकारा पाइआएकोमा अहिले फेरि कृष्णप्रसाद श्रेष्ठ भनी वादी दिएकोले म्याद बुझ्न कर लागी म्याद बुझी प्रतिउत्तर दिन आएको छु वादीले वङ्गाली साहू भन्ने कृष्णलाल श्रेष्ठको नाममा नालेश गरेको फिराद नक्कलबाट देखिन्छ म्यादमा भने कृष्णप्रसाद श्रेष्ठ भन्ने उल्लेख गरी मलाई म्याद बुझाउन ल्याई पनि बंगाली साहू भन्ने पनि म नभएको कृष्णलाल श्रेष्ठ पनि नभएको र यो वादी मेरो स्वास्नी पनि नभएको निजको छोराछोरी पनि मेरो नभएको हुँदा यो मुद्दा खारेज गरिपाउँ भन्ने समेत कृष्णप्रसादको प्रतिउत्तर ।

          ४.   फिराद मुगादेवीलाई बंगाली भन्ने कृष्णप्रसाद श्रेष्ठले ०१५ साल देखिन स्वास्नी तुल्याई नरदेवी नेटपाचो टोलमा डेरा गरी राखेका रहेछ म निज बंगाली भन्ने कृष्णप्रसाद श्रेष्ठको घरमा काम गरी बस्ने मानिस भएकोले चावल तेल इत्यादि खाने कुरा पुर्‍याई देउ भनी निज कृष्णप्रसादले भनेकोले मैले निज मुगादेवी कहाँ खानेकुरा पुर्‍याई दिने गरी आएको थिएँ । पछि घरैमा लगी राखेको थियो मुगादेवी कृष्णप्रसादकै स्वास्नी हो निजबाट जन्मेको छोरा १ छोरी १ समेत निजै कृष्णतर्फबाट जायजन्म भएको हो निज मुगादेवी मेरो स्वास्नी होइन भन्ने समेत रामचन्द्र श्रेष्ठको बयान ।

          ५.   निज वादी मुगादेवी मेरो स्वास्नी होइन रामचन्द्र भन्ने भरियाको स्वास्नी हो । निज मुगादेवीलाई निज रामचन्द्र भन्ने भरियाले कमाएको पैसा निजसँग लिन आउँदा निज रामचन्द्रको स्वास्नी हो भनी चिनेको हुँ निज रामचन्द्रले २०२५ साल वैशाख २८ गते वीर हस्पीटलमा सुत्केरीको वेथाले भनी भर्ना गर्दा मुगादेवी मेरो श्रीमती हुन् भनी त्यहाँ सही गरेका छन् र ०३६ साल चैत्र १८ गते सुत्केरी हुन् भनी वीर हस्पीटलमा भर्ना हुँदा मुगादेवीको बहिनी पुननानीले रामचन्द्रको श्रीमती हुँ भनी जमानी बसी सही गरेको त्यहाँ पछि निजको गर्भबाट छोरी जन्म भएको थियो वादीको बाहुनपट्टिको छोरी उषाले रामचन्द्रको श्रीमती भनी बालाजु प्रहरी ठानामा उजूरी दिएको छ । निज रामचन्द्रले छोरालाई मखन तारा नी.विद्यालयमा भर्ना गर्दा मेरो छोरा भनी साक्षी बसी भर्ना गरेको छ निज रामचन्द्रले भारी बोक्ने काम गरेको बखत मेरो पसलमा ल्याएको २ पेटी चुरोट नपुग भएकोले मैले निजलाई अब देखि मेरो पसलमा भारी बोक्ने काममा आउन पर्दैन भनी भनेको थिएँ त्यसै इवीबाट निजले मलाई मुगादेवी मेरो श्रीमती हो भनी भनेको होला भन्ने समेत कृष्णप्रसाद श्रेष्ठको ०३३।१।२९ को बयान ।

          ६.   मेरो पति कृष्णप्रसाद श्रेष्ठ नै हुन निज कृष्णप्रसादको म स्वास्नी भई बसेको १४ वर्ष भयो मलाई चोखाछे गल्लीमा डेरा गरी राखी ८ वर्ष बसी १ छोरा १ छोरी जाय जन्म भएको र त्यसपछि नरदेवी नेटपाचोमा चन्द्रमानको घरमा डेरा गरी राखेको र त्यसपछि विजेश्वरीमा रामबहादुर गिरीको घरमा डेरा गरिराखेको डेराको बहाल निजै लोग्ने कृष्णप्रसादले बुझाउने गरी आएको थियो निज घरबेटीहरू बुझी पाउँ र छोराछोरीको र कृष्णप्रसादको रगत जाँच गराई पाउँ भन्ने समेत मुगादेवीको ०३३।१।२९।३ को बयान ।

          ७.   वादी मुगादेवी प्र.कृष्णप्रसाद श्रेष्ठको श्रीमती ठहर्छ निजबाट वादी दावी बमोजिम माना चामलको बिगो रु.६३०८।५० समेत भराई दिनु भन्ने समेत शुरू काठमाडौं जिल्ला अदालतको ०३३।३।१५।२ का फैसला ।

          ८.   उक्त फैसला उपर इन्साफमा चित्त बुझेन भन्ने समेत प्र.कृष्णप्रसाद श्रेष्ठको पुनरावेदन ।

          ९.   वीर हस्पीटलबाट पठाएको एडमिशन फारामको फोटोकपीमा मुगादेवी रामचन्द्रको पत्नी भन्ने उल्लेख भइराखेको देखिनाले विपक्षीसँग छलफल गर्न आवश्यक हुँदा अ.बं.२०२ नं बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत ०३४।४।१६।१ को सिंगलबेञ्चको आदेश ।

          १०.  वादीको साक्षी रामप्रसादले ०२८ साल भरी नेटपाचोमा चन्द्रमानको घरमा बसी ०२९ सालमा विजेश्वरीमा घर बनाई सरेको भनी अर्को साक्षी रामबहादुरले ०२९ साल वैशाख देखि ०३१ मार्गसम्म मेरो घरमा वार्षिक रु.१००। दिने गरी बसेको भन्ने बकेबाट साक्षी साक्षीको बकपत्र र वादी र वादीको साक्षीको बकपत्र कुरा समानरूप नभई बाझिएको वादीका साक्षी दुवै जनाले मुगादेवी कृष्णप्रसादका स्वास्नी हुन् पनि भन्न नसकी कसको स्वास्नी हुन् निजहरू जानून् भनी भनेको र रामचन्द्र पनि सँगै बस्थ्यो भन्ने वादीको साक्षीको बकाई भएको र वादीको छोरा विश्वनाथ तारिणी बाल विद्यालयमा भर्ना हुँदा बाबु रामचन्द्र भन्ने लेखिएको र भर्नाको रजिष्टरमा रामचन्द्रले रेखात्मक सहिछाप समेत गरेको भन्ने तारिणी विद्यालयको ०३४।३।१२ को जवाफ प्राप्त हुनआएको देखिन्छ । वादीकै बहिनी पुननानीले वीर अस्पतालमा वादीलाई रामचन्द्रको स्वास्नी भनी लेखे लेखाएको वीर अस्पतालबाट ०३४।३।१०।६ का पत्र र ०३४।६।२४ का पत्र साथ आएको एडमिशन फारामको फोटोकपीहरूबाट देखिन आउँछ । यस स्थितिमा वादी मुगादेवीलाई प्रतिवादी कृष्णप्रसादकै स्वास्नी हो र निजबाट जन्मेको छोरा १ छोरी १ समेत कृष्णप्रसादको करणी वीर्यबाट जन्मेको रहेछ भनी ठहराउन मिलेन, निज वादी कृष्णप्रसादको स्वास्नी छोराछोरी नठहरेपछि वादी दावी बमोजिम माना चामलको बिगो भराई पाउँ भन्नेतर्फ प्रश्न नउठ्ने हुँदा वादी दावी झुठ्ठा ठहर्छ शुरूले वादी दावी बमोजिम माना चामलको बिगो भराई दिने गरेको शुरू इन्साफ गल्ती हुँदा भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३५।३।४।१ को फैसला ।

          ११.   यसमा मध्यमाञ्चल अदालतको मिसिल संलग्न फा.नं. ४७ को वीर अस्पतालबाट प्राप्त भएको औषधी उपचार सम्बन्धी कागज फाराममा लोग्नेको नाम भन्नेमा रामचन्द्र खतिवडा उल्लेख भई विरामीको नाम मुगादेवी बाहुनी भन्ने उल्लेख भएको देखिन आएको र सोही फारामको पीठमा मेरी बहिनी भन्ने उल्लेख गरी पुननानी श्रेष्ठले सहिछाप गरेको पुननानी श्रेष्ठ र यो वादी यस प्रकार सम्बन्धित भएको भन्ने पनि नदेखिएकोले उक्त अस्पतालका लिखत प्रमाणहरू लिन नमिल्नेमा वादीका विरूद्ध प्रमाण लिई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिएको अ.बं.२०२ नं. र स.अ.नियमावली बमोजिम छलफल निमित्त प्रतिवादी कृष्णप्रसाद श्रेष्ठलाई म्याद दिई झिकाई आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०३५।१।२।१ मा आदेश भएको रहेछ ।

          १२.  यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३५।३।४।१ मा भएको फैसला मिलेको छ छैन भनी त्यसको निर्णय गर्नुपर्ने हुनआएको छ ।

          १३.  प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निवेदिकातर्फबाट रहनुभएका वैतनिक अधिवक्ता श्री शम्भुराम कार्की र विपक्षी कृष्णप्रसाद श्रेष्ठको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा वादीको दावी साँचो हो वा होइन भन्ने प्रश्नको निरोपणको लागि मुख्यतया साक्षीहरूको बयान, तारिणी बाल विद्यालयको रजिष्टर र वीर अस्पतालबाट प्राप्त एडमिशन फारामको फोटो प्रतिलिपि समेतको प्रमाणहरूको सही विष्लेषण र मूल्यांकन हुनुपर्ने देखिन्छ । प्रस्तुत मुद्दामा रामचन्द्र श्रेष्ठ समेतले अदालतमा गरेको बयान सम्बन्धित विचारणीय छ । बंगाली भन्ने कृष्णप्रसाद श्रेष्ठको घरमा काम गर्ने मानिस भएकोले चामल तेल इत्यादि खाने सामानहरू मलाई बोकाई मुगादेवी बसेको डेरामा पुर्‍याउन लगाउने र म पुर्‍याउने गर्दथेँ नेटपाचो टोलबाट डेरा सारी पछि एउटै घर सिङ्गै सोभाभगवती पछाडि लिई त्यहाँ राखेका र त्यहाँपछि कहाँ लगी राखे के गरेका छन् मलाई थाहा छैन, मुगादेवी बंगाली भन्ने कृष्णप्रसाद श्रेष्ठकै स्वास्नी हुन् र मुगादेवीको एउटा छोरा एउटी छोरी प्रतिवादी कृष्णप्रसाद श्रेष्ठकै तर्फबाट जायजन्म भएकोसम्म मलाई थाहा छ भन्ने निजको बयान छ । निजको बयान अनुसार निज प्रतिवादी कृष्णप्रसादको काम गर्ने व्यक्ति हो भन्ने कुरा कृष्णप्रसाद स्वयंले स्वीकार गरी बयान गरेको पाइन्छ । रामचन्द्रको उपर्युक्त बयानको पुष्टी रामबहादुरको बयानले पनि गर्दछ । निज कृष्णप्रसाद श्रेष्ठ र रामचन्द्र श्रेष्ठसँगै गई रामबहादुर गिरीको घर बहालमा लिन मागेको र कृष्णप्रसादले बहाल बापत निजलाई रु.१००। दिएको भन्ने रामबहादुर गिरीको बयान छ । मुगादेवीसँग प्रतिवादी कृष्णप्रसादको कुनै सम्बन्ध नभए निजले भरिया भनेको रामचन्द्र श्रेष्ठको स्वास्नीको लागि घर बहालमा लिन आफैं जानुपर्ने कुनै कारण र आवश्यकता देखिन्न । यस स्थितिमा प्रतिवादी कृष्णप्रसादले मुगादेवीलाई मैले स्वास्नी राखेको होइन, निज रामचन्द्र श्रेष्ठ भन्ने भरियाकी स्वास्नी हो भन्ने कुरा विश्वसनीय देखिँदैन । साधारण झैझगडाको कारणले मात्र आफ्नो स्वास्नी र सन्तानलाई अर्काकी स्वास्नी र सन्तान हो भन्ने रामचन्द्र श्रेष्ठले भन्नुपर्ने कुनै तर्कसंगत कारण देखिन्न । प्रमाण ऐन, २०३१ को दफा २३(४) अनुसार नाता सम्बन्धी कायम गर्ने कुरामा सम्बन्धित व्यक्तिहरूलाई चिन्ने जान्ने स्थितिमा रहेका व्यक्तिको भनाई नै प्रमाणमा सरोकारको हुन्छ । रामचन्द्रश्रेष्ठ प्रतिवादीको काम गर्ने मानिस भएकोले प्रतिवादी कृष्णप्रसाद र मुगादेवीको सम्बन्ध के कस्तो रहेको थियो भन्ने कुरामा निजको बयानको प्रमाणित महत्त्व अरू साक्षीहरू भन्दा बढी हुन्छ । जहाँसम्म वीर अस्पतालको भर्ना फारामको कुरा छ त्यसमा रामचन्द्र श्रेष्ठ वादीको पति हो भन्ने उल्लेख नभई रामचन्द्र खतिवडा भन्ने उल्लेख भएको र त्यसमा रामचन्द्र भन्ने कुनै व्यक्तिको सहिछाप नपरेकोले प्रतिवादीको तत्सम्बन्धी जिकिरलाई स्वीकार गर्न सकिन्न । पुननानीले बहिनी भनी सहिछाप गरेकोमा सो पुननानी भन्ने व्यक्ति को हो मुगादेवीसँग निजको नाता सम्बन्ध के कसरी पर्नआएको हो सो कुरा उक्त फाराममा खोलेको छैन र प्रतिवादीले पनि सो कुरा प्रष्ट गर्नसकेको पाइन्न ।

          १४.  अतः उपयुक्त कुराहरूबाट जिल्ला अदालतको फैसला मनासिव छ, देखिन्छ । सो फैसला बदर गर्ने गरेको क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिएकोले बदर हुन्छ । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम मध्यमाञ्चल क्षेत्रीय कार्यालयको २०३५।३।४ को फैसला बदर भई शुरू का.जि.अ.को ०३३।३।१५।२ को फैसला मनासिव ठहरी फैसला भएकोले म.क्षे.अ.ले गर्ने गरेको देहाय बमोजिमको लगत कट्टा गर्न का.जि.अ.त.मा लगत दिनु.................१

शुरू काठमाडौं जिल्ला अदालतको ०३३।३।१५।२ को फैसलाले र का.जि.अ.त.को ०३३।६।२७।४ को लगतले प्र.कृष्णप्रसाद श्रेष्ठबाट दावी मुगादेवी श्रेष्ठलाई भराउने गरेको बिगो रु.६३०८।५० र अरू दस्तूर रु.२।२१ समेत जम्मा रु.६३१०।७१ माथि इन्साफ खण्डमा लेखएबमोजिम भरी नपाउने हुँदा सो लगत कट्टा गर्नु भनी का.जि.अ.त.का लगत दिने, काठमाडौं जि.अ.को उक्त फैसला र लगत बमोजिम हु.प्र.बमोजिम कोर्टफी नरही मुद्दा दायर भएको हुँदा प्रतिवादी कृष्णप्रसाद श्रेष्ठबाट लिने गरेको कार्टफी रु.२६०।३४ पुनरावेदन गर्दाको अवस्था निजले बागमती अञ्चल अदालत मार्फत ०३३।४।२९।६ मा दाखिल गरी का.जि.अ.त.मा सदर स्याहा गर्न पठाएको मिसिल साथ रहेको भर्पाईबाट देखानाले शुरूको उक्त कार्टफीको लगत कट्टा गरी सो कोर्टफी रु.२६०।३४ प्रतिवादीले वादीबाट भरी पाउने हुँदा प्र.कृष्णप्रसाद श्रेष्ठले वादी मुगादेवीको जेथा देखाई दं.स.का.४२ नं. को म्याद ३ वर्षभित्र दरखास्त दिएमा दस्तूर केही नलिई वादीबाट प्रतिवादीलाई भराई दिनु भनी का.जि.अ.त.मा लगत दिने कलम का.जि.अ.को उक्त फैसला र उक्त लगत बमोजिम प्रतिवादी कृष्णप्रसाद श्रेष्ठबाट वादीलाई भराउने गरेको अरू दस्तूर रु.२।५० प्र.कृष्णप्रसादले पुनरावेदन गर्दा बा.अं.अ.मा दाखिल गरी ०३३।४।२९ मा का.जि.अ.त.मा धरौट राख्न पठाएको भर्पाईबाट देखिनाले सो धरौटी भराई पाउँ भनी पुनरावेदक प्र.कृष्णप्रसाद श्रेष्ठको ऐन म्याद ३ वर्षभित्र दरखास्त पर्न आए दस्तूर केही नलिई निजलाई फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिने कलम..१ इन्साफ उल्टीमा का.जि.अ.का तत्कालीन जि.न्या. शिवबहादुर थापाको रेकर्ड राख्न मध्यमाञ्चल क्षेत्रीय अदालतको प्रशासन शाखामा लेखी पठाउने कलम.१

इन्साफ जाँच हुनआएकोले अरू केही गर्न परेन नियमानुसार गरी मिसिल बुझाई दिनु...................२

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३६ साल भाद्र २८ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु