निर्णय नं. १३४२ - आयस्ता दिलाई पाउं

निर्णय नं. १३४२ ने.का.प. २०३७
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र
सम्वत् २०३३ सालको दे.पु.नं. ११०
फैसला भएको मिति : २०३६।१।६।५ मा
पुनरावेदक : इन्द्रकुमारी र रामराजको मु.स.गर्नेसमेत रूपन्देही मैन्हिया गा.पं.वार्ड नं. ९ बस्ने अनन्तराज पाण्डे समेत
विरूद्ध
विपक्षी : पाल्पा मध्ये बन्दीपोखरा गा.पं.वार्ड नं. ५ बस्ने भुवानसिं खड्का क्षेत्री समेत
मुद्दा : आयस्ता दिलाई पाउं
(१) काम गर्ने कामदार हो भन्न सकिने सबूत प्रमाणको अभावमा काम गर्ने कामदार भनी ठहर गरी वादी दावी बमोजिमको बिगो भराई दिन न्यायसंगत नदेखिने ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना
फैसला
न्या. ईश्वरीराज मिश्र : पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३३।११।१८ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको तथ्य यस प्रकार छ ।
२. हाम्रो भाइ अंशबाट पाइआएको वि.रूपन्देही तप्पे सक्रौन मौजे चेन्टाका जिमीदारी चार आना म रेशमीराजका नाममा र १।१ आना म रामराज अनन्तराजका नाममा दुई आना इन्द्रकुमारीका नाममा रहेको सो जिमीदार जोत जिरायत समेतको दामकाम गरी नगदी जिन्सी आम्दानी खर्च गरी बाँकी तहवील हामीलाई बुझाउने गरी डिल्लीराजलाई दिएको निजले छोडेकोले छोरा धर्मबहादुरलाई दिन पर्यो भनी भुवानसिंले चिठ्ठी लेखेका र बाबु छोरा बराबर भन्न आएकोले निज धर्मबहादुरलाई ०२२ साल वैशाखमा भर्ना गरी काम गर्दै जाँदा ०२४ साल सम्मको आम्दानी मध्ये रेशमीराजका नाममा रु.१४५०।– अन्तरराजका नाममा रु.१४५०।– पठाएको र बाँकी पनि बुझाउनु भन्दा अरू २७००।– बुझाइएको थियो । ०२५ सालको श्रेष्ता र ०२४।२५ को तहवील बुझाउँछु भन्दै रही ०२६ सालको आयस्ता मध्ये कति पनि नपठाई ०२६।१२।९ देखि भागी घर आई बसेछन् । मैन्हिया पञ्चायतबाट जिमीदारीमा जो भएको जिन्सी दोपाया चौपाया कसम तमनको तायदाती मुचुल्का ०२६।१२।१० मा खडा गरी डिल्लीराज जिम्मा लगाई दिए देहाय बमोजिमको बिगो रु.२८११४।९२ विपक्षमध्ये धर्मबहादुरले नबुझाएमा बाबु छोरा समेतबाट दिलाई भराई बाँकी नतिर्नेका ९ नं. बमोजिम सजाय समेत गरिपाउँ भन्ने समेत रेशमीराज अनन्तराज र रामराज समेतको ०२७।११।२१ को फिरादपत्र ।
३. बाँकी नतिर्नेका १ नं. को हदम्याद भित्रको यो उजूरी हो, होइन, आयस्ता बाँकी रहने अवस्था थियो थिएन बाँकी रहेको कुरा श्रेष्ताबाट होइन जग्गाको जिम्मा लिने पदमराजका हस्ताबाट निजका नामको सही गरी यिनै वादीले लेखाएका पत्रहरूबाट अवगत हुने कुरा पञ्चायतलाई अधिकार नभएको कुरामा दरखास्त दिई तायदाती मुचुल्का खडा गरी प्रमाण उभ्याउने षडयन्त्र गर्ने देखिन आएको छ हामी निर्दोष छौं र धर्मबहादुरले निजहरूसँग आफ्नो काम गरेको लिन बाँकी छ भन्ने कुरा निजहरूले नै आफ्ना हिसाबबाट छुट्याई देखाएको छ, अब जुन किसिमले बाँकी भन्ने देखाएको छ, त्यसमा पदमराज नै हर्ताकर्ता रहेको पदमराजले मसित बुझेको कागजपत्रमा यस्तो बाँकी रहेको कुरा कुनै देखाएको छैन । ०२४।२५ सालको हकमा हदम्याद नाघी दावी गरेको समेत हुँदा र ०२४ सालदेखि ०२६ साल सम्मको तलब बाँकी छ, यसप्रकार मैले कसैलाई कुनै किसिमको कुनै कुरा बुझाउने प्रश्नै रहेको छैन । ०२४।२५ को प्रश्नमा म्याद खिलाप र ०२६ को हकमा बाली पदमराजले बन्देज लगाई आफैं त्यस्तो व्यवस्था गरेको हुँदा त्यसको जिम्मेवार म छैन भन्ने कुरा स्वतः सिद्ध भएको छ । वादी दावी खारेज गरी तलब वादीबाट दिलाई भराई सजाय गरिपाउँ भन्ने समेत धर्मबहादुर खड्का भवानसिंह खड्का समेतको संयुक्त प्रतिउत्तर ।
४. मलाई मुख्य मानिस भनी प्रतिउत्तरमा लेखाएर ०२२ सालको अकर्ण समेत म जिम्मा लगाएको ०२६ सालको बाली मैले बेच्न गल्ला रोकाएको भन्ने समेत मेरा उपरको दावी जिकिर निरर्थक हो, सो जग्गा जिमीदारीमा मेरो कुनै सरोकार छैन, ०२२ सालको अकर्ण भर्पाई मैले बुझी लिएको छैन भन्ने समेत पदमराजको बयान ।
५. ०२४।०२५।०२६ सालको बाँकी र २ वर्ष भित्रैमा दायर हुनुपर्ने सो नभएकोले बाँकी नतिर्नेको ११ नं. ले नालेश नलाग्ने हुँदा वादी नै खारेज हुन्छ भन्ने समेत रूपन्देही जिल्ला अदालतको ०२९।१।११ को फैसला ।
६. सो फैसला उपर वादीहरूको पुनरावेदन परेकोमा कसूर भए गरेका मितिले २ वर्षभित्र फिराद दायर गरेकोले बाँकी नतिर्नेका ११ नं. को म्यादभित्रको फिराद देखिएकोले खारेज गरेको शुरूको फैसला बदर गरिएको छ, कानुन बमोजिम किनारा गर्ने रूपन्देही जि.अ.मा पठाई दिने भन्ने समेत लुम्बिनी अञ्चल अदालतको फैसला ।
७. प्रतिवादीहरूबाट आयस्ता दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत रूपन्देही जिल्ला अदालतको फैसला ।
८. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको पुनरावेदन परेकोमा इन्साफ रूपन्देही जिल्ला अदालतको मनासिव छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३३।४।२२ को फैसला ।
९. सो फैसलामा सर्वाजनिक महत्त्वको विषयमा प्रत्यक्ष गम्भीर कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत अनन्तराज र रेशमीराजको निवेदन परेकोमा वादी प्रतिवादीले दिएको प्रमाणहरू कुनै नबुझी निर्णय दिएको समेत अ.बं.१८४(क) को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत ०३३।११।१८ को स.अ.डिभिजन बेञ्चको आदेश ।
१०. प्रतिवादीले स्वहस्तले लेखेको भनेको ०२४ सालको तप्पे सक्रौन मौजे च्यान्टाको नयाँ उब्जनीको लगत भन्ने लेखिएको कागजको सक्कल वादीबाट दाखिल गराई प्रतिवादीलाई सुनाउन पेश गर्न भन्ने स.अ.डिभिजन बेञ्चको आदेश ।
११. पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले प्रतिवादी सो मौजाको दामकाम गरेको हो आयस्ता नबुझाएको हुँदा वादी दावी बमोजिमको आयस्ता भरिपाउनुपर्ने भन्ने समेत र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाले वादीको मौजाको दामकाम गर्न प्रतिवादी नियुक्त भएको छैन, वादी दावी बमोजिमको आयस्ता तिर्न बुझाउने पर्ने हैन भन्ने समेत बहस गर्नुभयो ।
१२. यसमा निर्णयतर्फ हेर्दा तप्पे सक्रौन मौजे च्योटाको जिमीदारी मौजा र जोत जिरायत समेतको दामकाम गरी नगदी जिन्सी जिम्मा लिई आम्दानी खर्च गरी बाँकी तहवील हामीलाई बुझाउने गरी भर्ना गरी काम चलाइआएको आयस्ता नबुझाएकोले दिलाई भराई बाँकी नतिर्नेको ९ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत बाँकी नतिर्नेको ९ नं. को आधार लिई बाँकी नतिर्नेको ११ नं. को म्यादभित्र पनि प्रस्तुत मुद्दाको फिराद परेको देखिन्छ ।
१३. बाँकी नतिर्नेको ९ नं. हेर्दा सरकारी बाहेक अरूको काम गर्ने कामदारले नगदी जिन्सी तहवीलमा समेत धनीको उजूर परी ठहर्यो भने बिगोको सयकडा पच्चीस जरीवाना गरी बिगो भराउनुपर्नेमा बिगो समेत भराई दिनुपर्छ भन्ने समेत उल्लेख भएको पाइन्छ ।
१४. वादीहरूले प्रतिवादी धर्मबहादुरलाई सो तप्पे सक्रौन मौजे च्येटाको जिमीदार जोत जिरायत समेतका गल्ला बेचबिखन गरी हिसाब बुझाउने गरी काम गर्न जिम्मा लगाएको भए निजले त्यसप्रकार काम गर्न जिम्मा लिएको छ भन्ने सबूत प्रमाण वादीहरूबाट पेश हुनसक्नुपर्ने सो बमोजिमको सबूत प्रमाण कुनै पेश दाखिल हुन नसकेको त्यसप्रकार काम गर्ने कामदार हो भन्न सकिने सबूत प्रमाणको अभावमा धर्मबहादुर सो बमोजिम काम गर्ने कामदार भनी ठहर गरी वादी दावी बमोजिमको बिगो भराई दिन न्यायसंगत देखिन आएन ।
१५. अतः उपरोक्त उल्लिखित कारणबाट समेत पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन, रूपन्देही जिल्ला अदालतबाट आयस्ता दिलाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहराई छिनेको मनासिव छ भनी पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चले गरेको इन्साफ मनासिव छ । कोर्टफी लागी पुनरावेदन दायर भएको हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०३६ साल वैशाख ६ गते रोज ५ शुभम् ।