शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३४८ - उत्प्रेषणको आदेश जारी गरिपाउं

भाग: २२ साल: २०३७ महिना: जेष्ठ अंक:

निर्णय नं. १३४८   ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३० सालको रिट नम्बर १३२५

आदेश भएको मिति :   २०३१।३।९।१ मा

निवेदक : जि. बारा प्र.खेस्राहा मौजे फेटा पञ्चायत वार्ड नं. ७ बस्ने रनजीत मियाँ अन्सारी

विरूद्ध

विपक्षी : जि. बारा कलैयाका भूमिप्रशासक पिडी सुभास समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) म्याद यस ठाउँमा टाँसेको भन्ने व्यहोरा लेखिएको नहुनाले अ.बं.१० नं. को रीत पुगी तामेल भएको भन्न नहुने ।

(प्रकरण नं. ८)

विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

आदेश

          न्या. हेरम्बराज : भूमिप्रशासकको ०३०।१।५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ ।

          २.  तथ्य यस प्रकार छ : गा.पं.फेटा वडा नं. ८ को कि.नं. ९ को ज.बि.२० कि.नं. ५७ ज.बि.०० कि.नं. ११४ ज.बि.०० समेतमा ज.बि.०१०८ मैले ०२४ सालको बालीदेखि विपक्षीको लोग्ने अजिम मियाँबाट जोती कमाइआएको र निजको परलोक भएको हुँदा हकदार उक्त विपक्षी भएबाट परलोक भएको लोग्नेका नाममा कायम भएको मोही कट्टा गराई म वास्तविक जोताहाको मोही कायम गराई पाउँ भन्ने सहिद मियाँको उजूरी निवेदन परेकोमा प्राप्त भएसम्मका सबूत प्रमाण परिबन्दको आधारबाट फेटा पं.वडा नं. ८ को कि.नं. ९ ज.बि.०८ कि.नं. ५७ को ज.बि.०० कि.नं. ११४ को ज.बि.०० समेत जम्मा जग्गा बिगहा ०१०८ मा निवेदक सहिद मियाँ अन्सारीको भू.सं.ऐन, ०२१ को संशोधन सहितको दफा २५ को उपदफा २ बमोजिम मोही कायम हुने ठहर्छ भन्ने समेत भूमिप्रशासकले निर्णय गरेको रहेछ ।

          ३.  उक्त निर्णय बदर गरिपाउँ भनी पर्न आएको यो रिट निवेदनमा लिएका मुख्य जिकिर यस प्रकार छन् : मेरो घरदैला बाहेक अन्यत्र ठाउँमा म्याद तामेल गराई मुद्दा एकतर्फी निर्णय गरिएछ । म्याद बेरीत र कानुन रीतपूर्वक छैन म्याद बदर गरिपाउँ भनी दिएको निवेदनमा कारवाई हुन सक्तैन भनी भू.प्र.कार्यालयबाट सूचना दिनुभयो ।

          ४.  विपक्षी सहिद मियाँ समेतको लिखितजवाफमा अधिकार प्राप्त प्रशासकले अधिकारक्षेत्रमा रही निर्णय गर्नुभएको भन्ने समेत उल्लेख भएको रहेछ ।

          ५.  विपक्षी भूमिप्रशासकको लिखितजवाफमा कानुनी अधिकारक्षेत्रभित्र नै रही गरेको निर्णय मनासिव छ भन्ने समेत उल्लेख गरेको रहेछ ।

          ६.  निवेदकका माग बमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

          ७.  विपक्षीतर्फका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले म्याद टाँस भएको ठाउँसम्म छैन अरू रीतपूर्वक छ भनी र विद्वान अधिवक्ता श्री ठाकुरप्रसादले भूमिप्रशासकको निर्णयमा कानुनी त्रुटि भएको छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।

          ८.  यसमा निवेदकका नाममा ७ दिने समाव्हान ०२९।४।१४।७ मा तामेल भएकोलाई बेरीत भएकोले बदर गरिपाउँ भनी निवेदन दिँदा सो निवेदनमा कारवाई हुनसक्दैन भनी ०३०।३।१३ जि.बारा कलैया भूमिप्रशासन कार्यालयबाट सूचना दिएको भनी प्रस्तुत रिटको निवेदनपत्रमा जिकिर गरेको र भूमिप्रशासन कार्यालयबाट आएको जवाफमा त्यस कुराको खण्डन गरेको नदेखिएकोले अ.बं.२०८ नं. ले पाउने सुविधा निवेदकले पाएको देखिन आएन । उक्त म्यादमा यस ठाउँमा टाँसेको भन्ने व्यहोरा लेखिएको नहुनाले अ.बं.११० नं. को रीत पुगी तामेल भएको भन्न भएन त्यस्तो म्यादको आधारमा भूमिप्रशासन कार्यालयबाट ०३०।१।५ मा गरेको निर्णय पर्चा कानुनी त्रुटि देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ अब कानुन बमोजिम गर्नु भनी भूमिप्रशासन कार्यालय बारा कलैयाका नाउँमा परमादेश दिनुपर्ने ठहर्छ यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. प्रकाशबहादुर के.सी.

 

इति सम्वत् २०३१ साल आषाढ ९ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु