निर्णय नं. २९३४ - उत्प्रेषण

निर्णय नं. २९३४ ने.का.प. २०४३ अङ्क १२
फुलबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०३९ सालको रि.फु.नं. ३१
आदेश भएको मिति : २०४०।१२।२४।६ मा
निवेदक : जि महोत्तरी निरौल गा.पं.वा.नं.७ बस्ने इस्माईल मियाँ
विरुद्ध
विपक्षी : जि.महोत्तरी एकडारा बेला गा.पं.वा.नं.७ बस्ने चन्द्रेश्वरप्रसाद सिंह
विषय : उत्प्रेषण
(१) भू.प्र.का.महोत्तरीले निवेदकलाई मोही कायम गरेकोमा चित्त नबुझेको भए अ.बं.८६ नं. बमोजिमको म्यादभित्र उजूर गरी उक्त मितिको निर्णयलाई बदर गराउन सक्नु पर्ने ।
(प्रकरण नं. १२)
(२) बदर नभई कायम रहेको फैसला निजको विरुद्धमा प्रमाण नलाग्ने भन्न नमिल्ने ।
(प्रकरण नं. १२)
(३) जग्गाधनी र निजका छोराहरूको बीच अंशबण्डा भई जग्गा छोराहरूको भागमा पर्न आएको कारणले मात्र यी निवेदकको मोहियानी हकमा असर पर्नसक्ने नदेखिने ।
(प्रकरण नं. १२)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
भू.सु.का.तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे
आदेश
न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत मुद्दा दोहर्याई इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भई फूलबेञ्चको लगतमा चढी पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकारको छ :
२. इस्माईल मियाँले श्रीपुर टारम्टोर गा.पं.वडा नं.१क. कि.नं.१०२ को २–६–१५ को जग्गा मध्ये १–१५–० जग्गाको मोही भई कूत बुझाउँदै आएको छु भर्पाई मिति ०२६।९।६ को भूमिप्रशासन कार्यालय महोत्तरीका फैसलाको आधारमा प्रमाणपत्र पाउँ भनी दिएको निवेदनमा मैले २०२०।४।३२ मै पिताबाट अंशबण्डा पत्र गराई छुट्टी भिन्न भई बसी आफ्नो अंश भाग बण्डाको जग्गा बण्डा पत्र पास भए दिन देखि आफैं दश कर्म गरी जग्गा जोतकोड आवाद गुल्जार गरी भोगी आएको छु विपक्षी जग्गाको मोही होइन पिताजीसंग अंशबण्डा गरी छुटयाई दिएपछि जग्गाको स्वामित्व ममा आएपछि जग्गाको विषयमा मलाई जानकारी नै नदिई पक्षै नबनाई बीच बीचमा पिताजीसंग मुद्दा उठान गरी हारजित गरिएको फैसला मेरो विरुद्ध प्रमाण लाग्ने होइन भन्ने समेत प्रतिवाद गरेको थिएँ ।
३. २०२६।९।६ को निर्णयबाट वादी प्रतिवादी समेतको जिकिर माथि इन्साफ गर्दा वादी दावीको जग्गामा एकपटक निर्णय भई सोही हक कायमै राख्ने देखिँदा उक्त निर्णय मिसिलमा प्रतिवादीको स्व.पिता वादी दावीको जग्गामा मेरो हकभोग अंश फाँटको छैन मेरो छोरा समेतको अंश फाँटको हो भनी जिकिर लिएको पाइयो र उक्त निर्णय भएको पुनरावेदनको म्याद गुजारी कतै पनि उजूर गरेको नदेखिएको र एकपटक निर्णय भइसकेको विषय माथि पुनः सोही विषयलाई दोहोर्याउनु कानुनी प्रतिकूल भएको र वादी दावी अनुसारको जग्गा प्रतिवादी सर्भेको नाउँमा हाल दर्ता भए पनि कानुनतः बण्डा पत्र भइसके पनि व्यवहारबाट सगोलकै जस्तो भूतपूर्व निर्णयबाट देखिनाले वादीले दावी लिएको जग्गाको कार्यालयमा रहेको २ नं.अनुसूची समेत माथि केही नगरी म्याद गुजारी बसेको र प्रतिवादीको स्व.पिता जगतनारायण सिंहले मोही राजीनामा गराएको मिसिलमा निजको हकभोगको थिएन भन्ने राजीनामा गराउने प्रश्न आउनु पर्ने थिएन । तसर्थ प्रतिवादीको समेत जिकिर कल्पीत जस्तो बुझिन्छ । सो बुझ्नाले भूमिसम्बन्धी ऐन, २०२१ को नियम ९(१) बमोजिम वादीका दावी प्रतिकूल भएकोले प्रतिवादी समेतका नाउँको जग्गामा मोहियानी हकको स्थायी प्रमाणपत्र वादीका नाउँमा कायम गरी दिने ठहर्छ भन्ने समेत विपक्षी भूमिसुधार कार्यालयको मिति ०३७।२।१५।४ को निर्णय रहेछ ।
४. भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगावै मिति २०२०।४।३२।६ मा म समेत अरु दाजु भाइहरू पिताजीबाट बण्डापत्र पास गराई छुट्टी भिन्न भई आ–आफ्नो अंश भागको जग्गा चल अचल सम्पत्ति बुझी लिई जीवन यापनको एक मात्र सहारा खेती नै हुँदा लाग्ने जग्गाको मालपोत बुझाई सालसालै आफैं जग्गा जोतेको आवाद गुल्जार गरी खाई भोगी आएको छु । विपक्षी मेरो जग्गाको मोही भए १ नं.अनुसूची भरी ४ नं.अनुसूचीको जो.अ.नि. प्राप्त गरेको हुनु पर्दथ्यो । सर्भे नापीमा पनि आफू मोही रहेको फिल्डबूकमा जनाउन सक्नु पर्ने थियो सो गर्नुभएको प्रमाण दिनु भएको छैन । मैले प्राप्त गरेको जग्गाधनी दर्ता प्रमाणपत्रमा मोहीको महलमा निजको नाम उल्लेख छैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ बमोजिम कूत कबूलियत दोहोरी रसीद निजसंग हुनुपर्दछ यदि कूत कबूलियत दोहोरी रसीद छैन भने विपक्षी जग्गाको मोही होइन भन्ने कुराको पुष्टि हुन्छ । ०२०।४।३२ मा नै पास भएको बण्डा पत्रबाट छुट्टी भिन्न भइसकेपछि पिताजीको कुनै काम कारवाहीबाट मेरो अंश भागको अचल सम्पत्ति हकको भोगमा कुनै प्रतिकूल असर पर्नसक्ने होइन । मलाई कुनै जानकारी नै नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त समेत विपरीत छ । विपक्षी भूमिसुधार कार्यालयको त्रुटिपूर्ण तथा गैरकानुनी निर्णयले निवेदकको कानुनी तथा संवैधानिक हकमा समेत हनन् भएकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी भूमिसुधार कार्यालयको मिति ०३७।२।१५ को निर्णय बदर गरी पाउँ भन्ने समेत रिट निवेदनको जिकिर रहेछ ।
५. विपक्षीहरूबाट लिखितजवाफ झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको आदेश रहेछ ।
६. विपक्षी विन्देश्वरप्रसाद सिंहका बाबु जगतनारायण सिंहको नामबाट १ नं.मोहीको भरिएको र २ नं.अनुसूची प्रकाशित भएको श्रेस्ताबाट देखिन्छ । रिट निवेदकको निवेदन अनुसार लगत प्रकाशित हुँदाका अवस्थामा निजका बाबु जगतनारायण सिंहको नाउँमा जग्गा दर्ता कायम नरही निवेदककै नाउँमा कायम भइसकेको भन्ने देखिन्छ । निवेदकका बाबु जगतनारायण सिंह इलाकाका प्रसिद्ध व्यक्ति भएका र निजबाट नै निकै अघिदेखि जग्गा मोहीमा जोत्दै आएको र बाबु छोरामा अंशबण्डा भई जग्गाधनी परिवर्तन भएको कुराको जानकारी मोहीलाई नदिएको र जगतनारायण सिंह नै सो जग्गाको कारवाही हेरिरहेकोबाट र जग्गाधनीमा रिट निवेदकका बाबु जगतनारायण सिंहको नाम देखिएको सोही जग्गा निवेदककै नाउँमा आएको कुरा रिट निवेदनबाटै स्पष्ट हुन जान्छ । जग्गा एउटै भएकोले २ नं.लगत प्रकाशित भएका बेला रिट निवेदकले जग्गा मेरो हो र मैले आफैं जोतेको छु मोही छैन भनी संशोधन गराउनु पर्ने सो नगरी बसेकोले ४ नं.जो.अ.नि.पाइसकेको कायमी मोहिलाई मोही होइन भन्ने विपक्षी रिट निवेदनको जिकिर निराधार भएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी भूमिसुधार कार्यालय महोत्तरीको लिखितजवाफ रहेछ ।
७. विपक्षी रिट निवेदकले आफ्नो रिट निवेदनमा सो जग्गाको मेरो नाउँको अनुसूची १ नं.भरेको अनुसूची २ नं.प्रकाशित नभएको अनुसूची ४ नं.नपाएको र भू.सं.ऐन, २०२१ को दफा ३४ अनुसार कबूलियत नभएको भन्ने जिकिर लिनुभएकोमा उक्त जग्गा साविकमा विपक्षीको स्व.पिताको नाउँमा दर्ता रहेको थियो सो जग्गा साविकमा विपक्षीको पिताको नाउँमा दर्ता भएको थिएन भनी भन्न सक्नु भएको छैन र मैले अनुसूची भरेको र पाएको ४ नं.जो.अ.नि.अरु नै जग्गाको हो र म नै जग्गाको मोही हो भन्ने व्यहोरा उल्लेख गर्न नसक्नु भएको हुँदा सो जग्गाको मोही म भएको स्पष्टै हुँदा भू.सं.ऐन, २०२१ को उद्देश्य विपरीत रिट निवेदन जारी हुन नसक्ने भई खारेज गरी पाउँ भन्ने इस्माईल मियाँको लिखितजवाफ रहेछ ।
८. निवेदकलाई नबुझी गरेको भूमिसुधार कार्यालय महोत्तरीको निर्णय निवेदक विरुद्ध प्रमाणमा नलाग्ने प्रष्ट भएको छ । भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा पहिले नै निवेदक र जगतनारायण सिंह विच अंशबण्डा भएकोले निवेदक छुट्टै अस्तित्व भएका व्यक्ति हुन यस्ता व्यक्ति र विपक्षीको बीच कबूलियत भएको देखिएन । विपक्षीले पाएको ४ नं.जोताहा अस्थायी निस्सा तथा २ नं.अनुसूची लगतमा समेत निवेदकको नाउँ जग्गाधनी निस्सामा उल्लेख भएको पाइएन । तसर्थ प्रमाणको त्रुटिपूर्ण मूल्याङ्कन गरी विपक्षी भूमिसुधार कार्यालय महोत्तरीले मिति २०३७।२।१५ गते गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ठहर्छ भन्ने यस अदालत डिभिजनबेञ्चको आदेश ।
९. उक्त स.अ.को आदेशमा चित्त नबुझेकोले श्री ५ महाराजाधिराज सरकारको जुनाफमा न्यायिक समिति राजदरबार मार्फत संविधानको धारा ७२(ख) अन्तर्गत मुद्दा दोहर्याई इन्साफ जाँच गरी दिनु भन्ने हु.प्र.बक्स पाउँ भनी इस्माईल मियाँले चढाएको निवेदन ।
१०. उक्त निवेदन न्यायिक समितिबाट सिफारिश भए अनुसार नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भई आएको हुँदा यस फुलबेञ्चमा पेश हुनआएको ।
११. निवेदक इस्माईल मियाँको तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री प्रभूनारायण चौधरी र भू.प्र.का तर्फबाट खटिई आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे समेतले गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यस अदालत डिभिजनबेञ्चबाट भएको मिति ०३८।१०।१२।२ मा भएको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने देखियो ।
१२. यसमा निर्णयतर्फ हेर्दा यिनै निवेदक र विपक्षीको बाबुको बीचमा मोहियानी बदर गराउने कागज बनायो भन्ने मुद्दामा भू.सु.का.महोत्तरीमा कारवाही हुँदा विपक्षीको पिता जगतनारायण सिंहले निवेदक समेतले कमाएको जग्गा मेरो छोराहरूको अंश भागमा परेको छ भन्ने बयान गरे तापनि उक्त जग्गाको मोही निवेदक ईस्माईल मियाँ समेत देखिएकोले २०२६।९।६ मा निवेदकलाई मोहियानी हकको प्रमाणपत्र दिई विपक्षीका बाबु जगतनारायणलाई भू.प्र.का.बाट जरिवाना भएको समेत मिसिल संलग्न कागजबाट देखिन्छ । यस्तोमा २०२६।९।६ मा निवेदकलाई मोहियानी कायम गर्ने गरेको निर्णय विपक्षलाई थाहा थिएन होला भनेर भन्न मिल्ने देखिन आएन । भू.प्र.का. महोत्तरीले निवेदकलाई मोही कायम गरेकोमा चित्त नबुझेको भए अ.बं.८६ नं.बमोजिमको म्यादभित्र उजूर गरी उक्त मितिको निर्णयलाई बदर गराउन सक्नु पर्दथ्यो सो समेत केही कारवाही चलाएको देखिँदैन । भू.सु.का.महोत्तरीको २०२६।९।६ को निर्णय अन्तिम रहेको देखिन आउँदछ । सर्वोच्च अदालतमा रिट निवेदन दिँदा पनि विपक्षीहरूले भू.सु.का.महोत्तरीको २०२६।९।६ को निर्णय बदर गरी पाउँ भन्नसकेको देखिँदैन । जहाँसम्म विपक्षीलाई बुझ्दै नबुझी गरेको निर्णय भन्ने आधार यस अदालतको डिभिजनबेञ्चको फैसलामा लिइएको छ त्यसमा पनि विपक्षीलाई भू.सु.का.को निर्णयमा चित्त नबुझेको खण्डमा बदर गराउनको लागि कारवाही चलाउन पर्दथ्यो सो समेत गरेको मिसिल संलग्न कागजबाट देखिन आउँदैन । बदर नभई कायम रहेको फैसला निजको विरुद्धमा प्रमाण नलाग्ने भन्न मिल्दैन । २०२० सालमा नै अंशबण्डा भएकोले छुट्टाछुट्टै अस्तित्व भएको व्यक्ति हुँदा मोही र जग्गाधनीको बीच कबूलियत हुनुपर्दछ भन्ने आधारलाई हेर्दा पनि विपक्षीको पिता जगतनारायणको पालादेखि नै निवेदकले जग्गा कमाई आएको देखिने र भू.सु.कार्यालयको लिखितजवाफबाट निवेदकले भू.सं.ऐन, २०२१ अनुसार १ नं.लगत भरी २ नं.अनुसूची प्रकाशन भएको आधारमा निवेदक भू.सु.ऐन लागू हुनुभन्दा अघिदेखि नै मोही कायम भइरहेको कुरा स्पष्ट देखिन आउँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) को अवस्थामा मोही जग्गाधनी बीच कबूलियत हुनैपर्दछ भन्न मिल्दैन । २०२०।४।३२ मा अंशबण्डा भएको कुरा निवेदकलाई जानकारी नहुँदा विपक्षको बाबुको नामबाट नै १ नं.अनुसूची भरी २ नं.लगत प्रकाशन भएको चित्त नबुझ्नेले संशोधन गराउन कारवाही चलाउन पर्ने सो नगरी बसेकोले जगतनारायण सिंह जग्गावालाको नामबाट १ नं.अनुसूची भरी २ नं.प्रकाशित भएको र ४ नं.अस्थायी जोताहा निस्सा दिएको देखिन्छ । पछि २०२० सालमा जग्गाधनी जगतनारायण र निजका छोराहरूको बीच अंशबण्डा भई जग्गा छोराहरूको भागमा पर्न आएको कारणले मात्र यी निवेदकको मोहियानी हकमा असर पर्नसक्ने पनि नदेखिएबाट समेत निवेदकलाई मोहियानी हक कायम गर्ने गरेको २०३७।२।१५ को भू.प्र.का.महोत्तरीको निर्णय मनासिब देखिन्छ । मिति २०३८।१०।१२ को यस अदालत डिभिजनबेञ्चको भू.प्र.का. महोत्तरीको निर्णय बदर गर्ने गरेको आदेश मिलेको देखिएन । नियमानुसार गरी फायल बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमती छ ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
न्या. हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४० साल चैत्र २४ रोज ६ शुभम् ।