निर्णय नं. २९३७ - जग्गा खिचोला

निर्णय नं. २९३७ ने.का.प. २०४३ अङ्क १२
फुलबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको दे.फु.नं. ८०
फैसला भएको मिति : २०४२।३।२८।६ मा
निवेदिका/वादी : का.जि.का.न.पं.वडा नं.३१ धोविधारा बस्ने सावित्रीदेवी उपाध्याय
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने लक्ष्मीमायाँ महर्जनसमेत
मुद्दा : जग्गा खिचोला
(१) वादीले लिएको राजीनामा लिखत नै बदर हुने स्थितिमा जग्गामा वादीको हक कायम हुन नसक्ने ।
(प्रकरण नं. २०)
निवेदिका/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली
फैसला
न्या.धनेन्द्रबहादुर सिंह : डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ :
२. कृष्णबहादुर अमात्यका नाउँमा का.जि.दोश्रो मालमा दर्ता भएको साल १ को धान मुरी ५।५ तिर्नु पर्ने जग्गा र घर समेत मोही हरिराम भण्डारीसंग ०२१।१०।२६ मा राजीनामा गरी लिएको पूर्व कूलो पश्चिम बाटो उत्तर पर्खाल दक्षिण रैकर जग्गा र सो जग्गा मध्ये कूलो पश्चिम घर चोक उत्तर पर्खाल दक्षिण घर यति चारकिल्ला भित्रको २ रोपनीमा ०२१।११।९ मा आलु गोडी खिचोला गरी ०२१।११।१९ मा जबरजस्ती छाप्रो समेत बनाई मोल रु.१,०००।– पर्ने जग्गामा खिचोला गरेकोले खिचोला मेटाई छाप्रो हटाई हक कायम गरी पाउँ भन्ने समेत फिरादपत्र ।
३. वादीले दावी गरेको जग्गाको ४ किल्ला नाप नक्शा पास भएमा निजले २ रोपनी भनेको मिल्न आउँदैन । जग्गा नकमाई बीचमा छ्वाय बाली खाई आउने हरिराम भण्डारीको अधिकार समाप्त भइसकेकोमा निजसंग म लक्ष्मीमायाँ र म लोग्ने कान्छाले मगनीमा कमाई आएको जग्गा वादीले लिएकोले उक्त राजीनामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) ले निस्क्रीय भइसकेको छ । २०२१ सालको बाली पनि छ्वायबाली खाने हरिरामलाई १।५ र जग्गाबाली कृष्णबहादुर अमात्यलाई दशैं पछि भाइटिका नआउँदै बुझाई दिएको हुँ । मगनीको मोही हुँदा मलाई रसीद दिएको छैन । वादी दावी बिलकूलै झुठ्ठा हो । कमाई गरी बस्नका लागि अघिदेखि बनाई बसी आएको मेरो छाप्रो घर कायम राखी वादी दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत प्र.लक्ष्मीमायाँ र लक्ष्मीनारायणको संयुक्त प्रतिउत्तरपत्र ।
४. राजीनामाको फट्के साक्षीमा लक्ष्मीनारायणको नाममा लागेको सहिछाप म विरामी भएको बेला झुक्याई गराएको हो । जग्गा हामीहरूले कमाई आएको हुँदा प्रमाण बुझी कानुन बमोजिम गरी पाउँ भन्ने समेत प्र.लक्ष्मीनारायणले गरेको बयान ।
५. लक्ष्मीनारायणलाई झुक्याई सहिछाप गराएको होइन खुसीराजीबाट गरी दिएको हो भन्ने समेत वादीको वा. हरिनाथको बयान ।
६. झुक्याई सही गराएको होइन भन्ने समेत लेखक साक्षी हरिहर उपाध्यायको बयान ।
७. वादी दावीको जग्गा साल १ को धान मुरी ५।५ कूत बुझाउने गरी चक्रबहादुर श्रेष्ठले कमाई आएकोमा निजले कमाउन सक्तिन भनेकोले २००२ सालका बालीदेखि हरिराम भण्डारीलाई जग्गा कमाई घरमा बस्न दिएको, ०२१ सालसम्म कूत बुझाउन दिएको र ०२२ सालदेखि बुझाएको छैन । लक्ष्मीनारायण र लक्ष्मीमायाँलाई मैले जग्गा कमाउन दिएको छैन । मैले बनाएको घर बिक्री गर्ने हरिरामलाई अधिकार नै नभएकोले लिए दिएका कानुनी कारवाही गरी माग्दछु भन्ने समेत पेटबोलीबाट बुझिएका कृष्णबहादुर अमात्यको वा.कृष्णभक्त मल्लले गरेको बयान ।
८. जग्गावाला र खास जग्गा कमाउनेका बीचमा रही खानेको अधिकार भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१)ले समाप्त गरेकोले हरिरामबाट वादीले गराई दिएको ०२१।१०।२६ को राजीनामामा प्र.लक्ष्मीनारायणलाई फड्के किनारामा साक्षी राखी सहिछाप गराएको आफ्नो हक प्राप्तिको लागि वादीले झुक्याई सहिछाप गराएको बदर गरिदिने ठहर्छ भन्ने समेत काठमाडौं जि.अ.को ०२५।६।१।२ को फैसला ।
९. उक्त फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । निवेदकको फिरादपत्रमा कानुन बमोजिम गर्नु भनी जिल्ला अदालत काठमाडौंका नाउँमा परमादेशको आदेश जारी गरिएको छ भनी सर्वोच्च अदालत डिभिजनबेञ्चको ०२९।२।१।१ को फैसला ।
१०. खिचोला गरे भनी वादीले दिएको प्रस्तुत मुद्दा अ.बं.८२ नं.ले खारेज हुने ठहर्छ भन्ने समेत का.जि.अ.को ०३२।११।२१ को फैसला ।
११. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदनपत्र ।
१२. खारेज गरेको शुरु फैसला बदर गरिएको छ । ऐन बमोजिम जो बुझ्नु पर्छ बुझी किनारा गर्ने मिसिल शुरुमै पठाई दिने भन्ने समेत बागमती अञ्चल अदालतको ०३३।१२।२२ को फैसला ।
१३. वादीको लिखत बदर भएको देखिँदैन । हरिराम मोही हो भनी जग्गाधनी कृष्णबहादुरले २०२५।५।२५ मा बयान गरेको देखिन्छ । भई आएको नक्शा हेर्दा कि.नं.५, ८ सावित्रीदेवी जनिई आएकोमा प्रतिवादीले मञ्जूर गरेको कि.नं.४ प्रतिवादीको घर जग्गा जनिई झगडा जनिएको र कि.नं.७ मा पनि झगडा जनिएको देखियो । हाल सो कि.नं.४ को ४२५, कि.नं.७ को ४२३ र कि.नं.५ र ८ को ४२६ र ४२२ भएको छ । हरिराम भण्डारीबाट प्र.लक्ष्मीमायाँले केही जग्गा पाई कमाई आएको सिद्ध हुनआएकोले कि.नं.४२३ मा कुनै खिचोला नपरेको कि.नं.४२२ को घर कम्पाउण्डमा जोरिएको देखिन्छ । कि.नं.४२५ को जग्गा बाटाले काटी उत्तरतर्फ प्रतिवादीको घर जनिई आएकोले सो जग्गा प्र.ले हरिरामबाट मगनीमा लिई कमाएको देखियो । विवादीत कि.नं.४२३ को वादीको घर कम्पाउण्डको जग्गालाई प्रतिवादीले मेरो मोहियानी भनी खिचोला गरेको ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको ०३५।३।५ को फैसला ।
१४. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादीको छुट्टाछुट्टै पुनरावेदन ।
१५. वादी कृष्णबहादुर प्रतिवादी सावित्रीदेवी भएको दे.पु.नं. १४० को लिखत बदर मुद्दामा आज यसै बेञ्चबाट सावित्रीदेवीले हरिरामसित गराई लिएको लिखत कानुनी अस्तित्वहिन भएको हुँदा यसमा वादी दावी पुग्न सक्दैन भन्ने समेत बागमती अञ्चल अदालतको ०३५।९।१८ को फैसला ।
१६. उक्त निर्णय उपर वादी सावित्रीदेवीको बिन्तिपत्रमा मध्यमाञ्चल क्षेत्रीय अदालतका नाउँमा इन्साफ जाँचको हुकुम प्रमांगी बक्स भई पेश हुँदा यिनै पक्ष विपक्ष भएको लिखत बदर मुद्दामा सावित्रीदेवीले हरिरामबाट गराई लिएको लिखतले कानुनी मान्यता नपाउने ठहरी आजै निर्णय भएकोले वादीको दावी नपुग्ने ठहराएको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१७. उक्त निर्णय उपर वादीको बिन्तिपत्रमा इन्साफ जाँच गरी दिनु भन्ने सर्वोच्च अदालतका नाउँमा हुकुम प्रमांगी बक्स भई आए अनुसार निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा भूमिसम्बन्धी ऐन, २०२१ ले मोहियानी हक खरीद बिक्री गर्न निषेध गरेको छ । मोहियानी हकको जग्गामा बनेको पक्की घरको हकमा सम्म भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांश आकर्षित हुने र प्रस्तुत मुद्दामा मोहियानी हकको जग्गामा कच्ची घर बनेकोले उक्त दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांश आकर्षित हुनसक्ने देखिएन । कानुनले निषेध गरेको मोहियानी हकको खरीदबाट वादी सावित्रीदेवीको हकको सृजना हुन सक्दैन । गैरकानुनी काम गर्ने व्यक्तिलाई कानुनी हक प्राप्त हुन सक्दैन । भूमिसम्बन्धी ऐन, २०२१ ले प्रदान गरेको मोहियानी हक हरिरामले सावित्रीदेवीलाई बिक्री गर्दैमा त्यस्तो मोहियानी हकको जग्गामा वादीको हक स्थापित हुने स्थिति नहुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय ।
१८. निवेदिका प्रतिवादी सावित्रीदेवी उपाध्याय र विपक्ष वादी कृष्णबहादुर अमात्य भएको दे.वि.नं. १३० को लिखत बदर हक कायम मुद्दामा यिनै सावित्रीदेवीले प्रमाणमा दिएको ०२१।१०।२६ को राजीनामा लिखतले मान्यता नपाउने भनी ठहराएको बा.अं.अ.को निर्णय सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहरी आजै निर्णय भएको छ । सोही लिखतबाट हक हुनआएको जग्गामा खिचोला गरे भन्ने वादी सावित्रीदेवीले दावा लिएको हकमा यिनै वादी प्रतिवादी भएको दे.वि.नं.१३० मा विवेचना भइसकेको र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लिखित बूँदा प्रमाण समेतले विवादीत जग्गामा वादीको हक कायम हुनसक्ने स्थिति रहेन । तसर्थ वादी दावी नपुग्ने ठहराएको बागमती अञ्चल अदालतको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भई ०४०।१२।२० मा फैसला भएको रहेछ ।
१९. निवेदिकातर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीको बहस समेत सुनियो ।
२०. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा कृष्णबहादुर अमात्यका नाउँमा दर्ता भएको निजलाई साल १ को धान मुरी ५।५ तिर्नुपर्ने जग्गा र घर समेत उक्त जग्गा कमाउने मोही हरिराम भण्डारीसंग २०२१।१०।२६ मा किनेको मोहियानी हकको घर जग्गा ०२१।११।९ मा विपक्षीहरूले खिचोला गरेको हुँदा खिचोला मेटाई पाउँ भन्ने समेत वादी दावी देखिन्छ । वादीले उक्त लेखबाटै वादीले मोहियानी हकको जग्गा खरीद गरी लिएको कुरा स्वीकार गरेको देखिन्छ । मोहियानी हक खरीद बिक्री हुन नसक्ने कुरा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) ले स्पष्ट गरेको छ । यसै लगाउको वादी कृष्णबहादुर प्रतिवादी सावित्रीदेवी भई चलेको लिखत बदर हक कायम मुद्दामा सावित्रीदेवीले हरिरामबाट लिएको २०२१।१०।२६ को लिखत बदर हुने ठहरी आजै फैसला भएको छ । वादीले लिएको राजीनामा लिखत नै बदर हुने स्थितिमा जग्गामा वादीको हक कायम हुन नसक्ने हुँदा खिचोला मेटाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । वादी दावी नपुग्ने ठहराएको बागमती अञ्चल अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहराएकोले माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.पृथ्वीबहादुर सिंह,
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल आषाढ २८ गते रोज ६ शुभम् ।