निर्णय नं. २९४० - हक सफा

निर्णय नं. २९४० ने.का.प. २०४३ अङ्क १२
फुलबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३९ सालको दे.फु.नं. ३३
फैसला भएको मिति : २०४०।६।११।३ मा
निवेदिका/वादी : जि.नुवाकोट मदानपुर गा.पं.वा.नं.५ बस्ने फणिन्द्रनाथको मु.स.गर्ने बुद्धिमाया उपाध्याय
विरुद्ध
विपक्षी/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.७ चाहविल बस्ने भवानीप्रसाद उपाध्याय
मुद्दा : हक सफा
(१) कुनै जग्गामा घरबास गरी कमाई आएको व्यक्तिलाई मोही कुरिया भन्न सकिने ।
(प्रकरण नं. १८)
(२) मोही र मोही कुरियाको एउटै स्थिति नभई बेग्ला बेग्लै कानुनी स्थिति भएको देखिने ।
(प्रकरण नं. १८)
निवेदिका/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल
विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।९।६।२ को निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा डिभिजनबेञ्चबाट निर्णय भएको उक्त मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी ठहरे बमोजिम छिनी दिनु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ :
२. का.ई.मैतीदेवी बस्ने सरदार तारानाथको विर्ता प. १ नु.इ.बेलकोट तींगाउ फाँटको माटो मुरी ।१०० भन्ने खेत नारानाथ र निजको शेषपछि निजका जहान समेतलाई सालको तिरो धान मुरी २५ तिरी बुझाई जग्गाको मोही भई खाई आएकोमा ०१३।७।२० गते यक्षकुमारीले मलाई बिक्री गरी दिएको भनी भवानीप्रसाद नेपालले यसै नु.अ.मा नालिश दिनु भएको म्याद नक्कल आएपछि मलाई थाहा भएकोले जग्गा बिक्री गर्नेका हकदारहरूले म्यादभित्र हक सकार नगरेको र साहू असामीका १० नं. ले मोहीले पनि हक निखन्न पाउने भएकोले रु.२,००१।– दर्खास्त साथ धरौट राख्न ल्याएको छु लेखिएको रुपैयाँ भवानीप्रसादलाई बुझाई निखनाई उक्त जग्गा मेरो नाउँमा हकसफा गरी पाउँ भन्ने वादीको नुवाकोट मालमा दर्खास्त ।
३. यक्षकुमारीकै पालामा फणिन्द्रनाथले कूत तिरो नबुझाई २०१० सालमा मोहियानी बदर गरी पाउँ भन्ने मुद्दा दायर भई नुवाकोट अदालतमा आएको, ११ सालमा जग्गा बाँझै राखेको, २०१२ र १३ सालको बालीमा लालबहादुर भुजेल समेत अरु मोही खडा गरी जग्गा कमाउन दिएको, २०१२ सालको बालीमा म समेतका नाममा मुद्दा गरेको फणिन्द्रनाथको मोहियानी हक नभएको उक्त मुद्दाहरू किनारा लागेपछि ठहरे बमोजिम हुने हुँदा फणिन्द्रनाथसंग थैली बुझ्न कर नलाग्ने भन्ने समेत भवानीप्रसादको कागज ।
४. फणिन्द्रनाथ मरी मु.स.गर्ने बुद्धिमायाले दावीको जग्गा निखनी लिन पाउने ठहर्छ भन्ने नुवाकोट मालको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत भवानीप्रसादको पुनरावेदनमा नुवाकोट मालको सदर भन्ने समेत प्र.जि.अ.नुवाकोटको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत भवानीप्रसादको पुनरावेदनमा अदालतबाट हक बेहकको निर्णय गर्नु पर्नेमा बुद्धिमायालाई मोही ठहराई निखन्न पाउने गरेको प्र.जि.अ.को इन्साफ गल्ती ठहर्छ भन्ने समेत आय र कर अदालतको फैसला ।
७. उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने बुद्धिमायाको पुनरावेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने स.अ.सिंगलबेञ्चको आदेश भई आदेश बमोजिम दर्ता गरेको वादीको पुनरावेदन ।
८. क्षेत्रीय अदालत गठन भएपछि क्षेत्रीय अदालतमा मुद्दा सरी बेञ्च समक्ष पेश हुँदा प्रमाण बुझी इन्साफ दिनु पर्ने देखिन आए ३५ दिनभित्र नालेश गर्न जानु भनी सुनाई दिनु पर्नेमा सो बमोजिमको कार्य प्रमाणी नअपनाई केवल माल र प्र.जि.अ.को फैसलासम्म बदर गरी छिनेको आय र कर अदालतको इन्साफ बदर हुने ठहर्छ र न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १० को अधिकार प्रयोग गरी प्रस्तुत मुद्दाको शुरु कारवाही किनारा गर्ने अधिकार बागमती अञ्चल अदालतलाई तोकी पठाई दिने र जो गर्नु पर्ने यसै मिसिलबाट कारवाही गर्नु होला भनी हाजिर रहेका दुबै पक्षलाई तारिख तोकी पठाई दिने भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४।६।१२ को फैसला ।
९. स.तारानाथको विर्ता जग्गाको मोही भई कमाउने मेरा पति भएकोले यक्षकुमारीले विपक्षी भवानीप्रसादलाई बिक्री गरेको जग्गामा नुवाकोट मालमा धरौट रहेको रु.२,०००।– विपक्षीलाई बुझाउन लगाई मोहीको नाताले निखनाई पाउँ भनी मेरा पतिले थैली धरौट राखेको हुँदा उक्त थैली विपक्षीलाई बुझ्न लगाई जग्गाधनी हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको वा.शेषराज उपाध्यायको बा.अं.अ.मा बयान ।
१०. साहू आसामीका १० नं. मा हकदारले ननिखनेमा मोही कुरियाले निखन्न पाउने भन्ने उल्लेख भएको छ म मोही कुरिया हुँ भनी लेख्न सक्नु भएको छैन । वादी मोही कुरिया होइन निखन्न दिन इन्कार गर्दछु भन्ने समेत भवानीप्रसादको बयान ।
११. प्रतिवादीले फार्छेमा लिएको रकम अन्य हकदारले निखनी नलिएबाट म्यादभित्रै धरौट दाखेल भएको हुँदा वादी दावा बमोजिम प्रतिवादीबाट हकसफा गरी लिन पाउने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०३५।१।८ को फैसला ।
१२. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी भवानीप्रसादको म.क्षे.अ.मा पुनरावेदन ।
१३. यसै मुद्दामा वादी र प्रतिवादी समेत दश जवान भएको बाली लुटपिट तथा मोहियानी कायम मुद्दामा वादी मोही कायम हुने ठहरी ०२२।४।३१ मा भू.सु.विशेष अदालतबाट फैसला भई अन्तिम भइरहेकोले अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३६।९।२ को फैसला ।
१४. उक्त इन्साफमा चित्त नबुझेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने भवानीप्रसादको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत डिभिजनबेञ्चको ०३८।३।७ को आदेश ।
१५. जग्गामा घरबारी गरी बसेको मोहिलाई ‘मोही कुरिया’ भन्न सकिने अवस्था दर्शिएको स्पष्ट देखिन्छ र साविक साहू आसामीको १० नं. ले मोही कुरियाले हक सफामा दावी गर्न पाउने व्यवस्था भएको तर सो बमोजिमको मोही कुरिया यो वादी हो भन्ने कुरा देखिन नआएकोले उक्त साहू आसामीको १० नं. ले हक सफामा दावी गर्न पाउने वादीलाई हक अधिकार प्राप्त भएको नदेखिँदा निजको दावी नै लाग्न नसक्नेमा वादी दावी बमोजिम हकसफा गर्न पाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालत समेतबाट गरेको निर्णय कानुन विपरीत हुँदा सो फैसला बदर हुने र वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत डिभिजनबेञ्चको ०३८।९।६ को फैसला ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा ०४०।५।३१ मा यस बेञ्च समक्ष पेश भएको प्रस्तुत मुद्दामा निवेदिका तर्फबाट विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेलले विवादको जग्गामा मेरो पक्ष मोही हो भन्ने कुरामा विवाद छैन । जो मोही हुन्छ, त्यो कुरिया पनि हुन्छ । मोहीको र कुरियाको छुट्टाछुट्टै अस्तित्व साविक मुलुकी ऐनमा गरेको नहुँदा हकसफा गरी लिन पाउने मेरो पक्षको हक भएकोमा वादी दावा खारेज गरेको डिभिजनबेञ्चको इन्साफ मिलेको छैन भन्ने बहस गर्नु भयो । विपक्षीतर्फका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले तत्कालीन साहू आसामीको १० नं. अन्तर्गत जग्गा निखन्नलाई मोही कुरिया हुनुपर्छ । मोही कुरिया भन्नाले जग्गामा घर समेत बनाई जग्गा कमाई आएको व्यक्तिलाई जनाउने जिकिर लिँदै वादी ‘मोही’ मात्र भएको र ‘मोही कुरिया’ नभएकोले वादी दावी खारेज गरेको डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१७. वादी प्रतिवादीको दावी तथा दुवै तर्फका विद्वान अधिवक्ताहरूको बहस जिकिर समेतलाई मध्ये नजर राख्दा प्रस्तुत मुद्दामा, मोही कुरिया र मोहीको एउटै वा छुट्टाछुट्टै के कस्तो कानुनी स्थिति हुने हो ? विर्ता जग्गाको मोहीले साविक साहू असामीको १० नं. बमोजिम हकसफा गरी लिन पाउने नपाउने के हो ? डिभिजनबेञ्चको ०३८।९।६ को निर्णय मनासिब बेमनासिब के हो ? यिनै प्रश्नहरूको निरोपण गर्नु पर्ने हुनआएको छ ।
१८. पहिलो प्रश्नतर्फ विचार गर्दा वादीले आफ्नो दावीमा साविक मुलुकी ऐन, साहू आसामीको १० नं. को आधार लिएको देखिन्छ । उक्त साहू आसामीको १० नं. मा “विर्ता, जग्गा जमीन घर बारी, खेत कमाउने मोही कुरिया र रैकर जग्गा जमीन खेत मगनीमा कमाई घर धुरी खडा गरी खाई आएको त्यस्तो जग्गा जमीन, घरहरू जग्गाका धनीले अरुलाई फार्छे राजीनामा गरी दिएकोमा यसै महलका ९ नम्बरका ऐन बमोजिम हकवालाले निखनी लिने म्यादभित्र हकवालाले निखनी नलिएमा सो म्याद बाहेक ३५ दिन भित्रमा विर्ताका मोही कुरियाहरूले र रैकरमा मगनीवालाहरूले हामी मोही कुरिया मगनीवाला सबै भई देशीको थैली तिरी हामी लिन्छौं भनी सो म्यादभित्रै थैली लिई गई साक्षी राखी भनेको रहेछ भने र हकवालाको म्याद समेत नाघी सकेको र निखनी नलिएको रहेछ भने सो मोही कुरिया मगनीवालाहरू सबैले लिन पाउँछ” भन्ने व्यवस्था भएको पाइन्छ । वादीले विवादको जग्गा ‘मोही’ भई कमाएको कुरा उल्लेख गरेको र साहू असामीको १० नं. मा ‘मोही कुरियाले’ हकसफा गरी लिन पाउने व्यवस्था भएबाट मोही कुरिया र मोहीको स्थितिको सम्बन्धमा विचार गर्दा साविक मुलुकी ऐनको जग्गा पजनीको २० नं.को देहाय ६ मा “घरबारी गर्नु पर्ने भई मोही कुरियाले कमाएका जग्गा लिनु पर्छ” भन्ने तथा सोही देहायमा “सो लिँदा मोही कुरियालाई” भन्ने एवं सोही २० नं. को देहाय ८ मा “मोही कुरियाको कच्ची घर रहेछ भने ऐन बमोजिमको याममा पन्चकृति मोल दिई उठाउन हुन्छ” भन्ने तथा “अघिको बमोजिम घर बनाई दिएपछि मोही कुरियाले सर्दिन भन्न पाउँदैन” भन्ने व्यवस्था भएको देखिन्छ । यसबाट कुनै जग्गामा घरबास खडा गरी कमाई आएको व्यक्तिलाई मोही कुरिया भन्न सकिने देखिन्छ । ‘मोही’ र ‘मोही कुरिया’ एउटै हो जो मोही हुन्छ त्यो कुरिया पनि हुन्छ भन्ने निवेदक वादीतर्फका विद्वान अधिवक्ताले जिकिर लिनुभएको सन्दर्भमा विचार गर्दा साविक मुलुकी ऐन जग्गा विराउनेको २ नं.मा “कूलो भत्क्यो वा खेतमा खोलो पैर्हो लाग्यो भने भरसक मोहीहरूले आफैं वा दामासाहिले खेताला पठाई बनाई तयार गर्नु” भन्ने व्यवस्था भएको तथा जग्गा पजनीको २० नं. को देहाय १ मा मधेश पहाडका रैकर जग्गामा तिरो बढेकोमा “साविक मोहीले सकार गरुन्जेल साविक मोहीले पाउँछ साविक मोहीले सकार गरेन भने अरुलाई पजनी गरी दिनु हुन्छ” भन्ने व्यवस्था भएबाट मोही र मोही कुरियाको एउटै स्थिति नभई बेग्ला बेग्लै कानुनी स्थिति भएको देखिन्छ ।
१९. विर्ता जग्गामा सो जग्गाधनीले फार्छे राजीनामा गरी अन्य व्यक्तिलाई दिएकोमा हकवालाले निखनी नलिएसम्म हकवालाले निखनी लिने म्याद बाहेक ३५ दिनभित्र मोही कुरियाले थैली धरौट राखी निखनी लिन पाउने व्यवस्था साहू आसामीको उपर्युक्त १० नं.मा व्यवस्थित भएबाट ‘मोही कुरियाले’ मात्र त्यसरी हकसफा गरी निखनी लिन पाउने ‘मोहीले’ मात्र निखनी लिन नपाउने देखिन्छ ।
२०. अतएवः मोहीमा कमाई आएको नाताले धरौट रहेको थैली विपक्षीलाई बुझाई विवादको जग्गा हकसफा गरी पाउँ भन्ने वादीको फिराद दावी साविक साहू आसामीको १० नं. विपरीत देखिँदा वादी दावी नै लाग्न नसक्ने भई खारेज हुने ठहर्छ भनी गरेको डिभिजनबेञ्चको ०३८।९।६ को निर्णय मनासिब ठहर्छ । इन्साफ जाँचको लागि आएको हुँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गर्नु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.त्रिलोकप्रताप राणा
न्या. गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४० साल आश्विन ११ गते रोज ३ शुभम् ।