निर्णय नं. २९४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २९४१ ने.का.प. २०४३ अङ्क १२
फुलबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३९ सालको रि.फु.नं. ३८
आदेश भएको मिति : २०४०।७।११।६ मा
निवेदक/विपक्षी : का.जि.असन बालकुमारी बस्ने शंखधर तुलाधर
विरुद्ध
विपक्षी/निवेदक : का.जि.का.न.पं.वडा नं.१३ टंकेश्वर बस्ने जोगमानन्द बज्राचार्य
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) नगर पञ्चायतलाई घर बनाउने जग्गामा तेरो मेरो सम्बन्धी प्रश्नको विवाद पर्न गएमा सो विवादको निर्णय गर्ने अधिकार प्रदान गरेको देखिँदैन । यस्तो विवाद परेमा अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरूलाई सो कुराको सूचना दिनुपर्ने ।
(प्रकरण नं. १४)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३८।१०।१५।५ मा भएको निर्णय दोहर्याई पाउँ भन्ने निवेदन परेकोमा श्री ५ महाराजाधिराजबाट व्यहोरा साँचो भए फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम बक्स भई यस समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छन :
२. पूर्व म समेतको साझा चोक पश्चिम म समेतको साझा चोक उत्तर आफ्नै किलास सो देखि उत्तर सोही ठाउँ बस्ने देवहर्ष बज्राचार्य र शंखधर तुलाधरको घर दक्षिण आफ्नै किलास सो देखि दक्षिण ऐ.बस्ने ज्ञानरत्न तुलाधर, धर्मवीर सिंह तुलाधर, पूर्णवीर सिंह तुलाधरको घर यति ४ किल्ला भित्रको का.जि.का.न.पं.वडा नं.३० अन्तर्गत का.जि.असन बालकुमारीको कि.नं.१२४८, १२४९ मा बनी राखेको घर जमीनसम्म भत्काई साइड प्लानमा देखिएको ठाउँमा नक्शा बमोजिमको घर बनाउन पाउँ भन्ने मेरो नक्शा दर्खास्त । उक्त नक्शा दर्खास्त उपर विरोध गरी उजूर गर्नेहरू मध्ये देवहर्ष बज्राचार्य, ज्ञानरत्न तुलाधर, पूर्णमान सिंह तुलाधरसंग मिति ०३७।६।१९ मा काठमाडौं नगर पञ्चायत मुद्दा फाँटमा मिलापत्र भएको र विपक्ष शंखधर तुलाधरले कि.नं.१२४६ को घरमा आउने जाने बाटो रहेको हिंडी आएको बाटोमा चर्पी राख्न दिन मञ्जूर छैन । साझा चोक मिच्ने गरी घर बनाउन दिन मञ्जूर छैन । कि.नं.१२४९ को कित्ताको छिंडीमा हरेक वर्ष बांडा जात्रामा २ दिन पञ्चदान र पूजा गराइने ठाउँ हो भन्ने समेत व्यहोराको उजूरी । यसैसाथ संलग्न काठमाडौं नगर पञ्चायत बैठकबाट भएको निर्णयमा यिनै वादी प्रतिवादी मध्येको देवहर्ष बज्राचार्य, ज्ञानरत्न तुलाधर, धर्मवीर सिंह तुलाधर, पूर्णमानसिंह तुलाधर समेतको मिति ०३७।६।१९ मा का.न.पं.मुद्दा फाँटमा मिलापत्र भइसकेको र छिंडी तलामा हरेक वर्ष वाँडा जात्रामा २ दिन मात्र पञ्चदान र पूजा गर्न छाड्नु पर्ने कुरा जनाई नक्शा पास गरी दिने भनी मिति ०३८।२।२८ मा काठमाडौं नगर पञ्चायत बैठकबाट ठहर फैसला भएको रहेछ ।
३. विपक्षी नगर पञ्चायतमा मैले कि.नं.१२४६ र १२४९ को फिल्डबूकको नक्कल समेत पेश गरेको छु । जसबाट कि.नं.१२३७ मा २ दिने बांडे जात्रामा दान गर्ने ठाउँ कायम भएको ३ नं. नापी गोश्वाराको मिति ०३७।४।३० को निर्णयले भन्ने समेत कैफियतमा जनाएको छ । मैले नक्शा पासलाई दर्खास्त गरेको कि.नं.१२४८ र १२४९ को घर जगैसम्म भत्काई बनाउनलाई हो । फैसला गर्ने निकायले सबूद प्रमाणको छानबीन गरी निष्कर्षमा पुग्नु पर्नेमा त्यसको प्रतिकूल हुन गएको छ । अर्कोतर्फ ३ नं. नापी गोश्वाराको ०३७।४।३० को निर्णयबाट २ दिन बांडे जात्रामा दान गर्ने ठाउँ कि.नं.१२३७ भन्ने देखिएको छँदै मेरो कि.नं.१२४८, १२४९ मा बन्ने घरको छिंडी तलामा उल्लिखित व्यहोरा जनाई दिने भनिएबाट गरिएको निर्णय अनाधिकृत हो भन्ने कुरा प्रष्ट रहेको छ । काठमाडौं नगर पञ्चायत बैठकले न त कसैको हक कायम गर्ने अधिकार राख्दछ न त त्यसको विवादको निरोपण नै गर्न सक्दछ । सबूद प्रमाणको आधारमा आफूले कानुनले पाएको अधिकारको सही प्रयोगसम्म गर्न सक्ने हो । जसबाट अनधिकृत रुपमा जुन व्यहोरा जनाई दिने भनिएको छ, त्यो अ.बं. ३५ को साथै नगर पञ्चायत ऐन, ०१९ को संशोधन सहितको दफा १७ को (ढ) को समेत प्रतिकूल रहेबाट बदरभागी छ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लिखितजवाफ झिकाई आए पछि पेश गर्नु भन्ने ०३८।४।२१ को सिंगलबेञ्चको आदेश ।
५. नगर पञ्चायतको बैठक निर्णयबाट विपक्षीको कुनै सम्पत्ति नोक्सान हक बेहक हस्तान्तरण भए गरिएको छैन । विपक्षीको घर खुल्ला छिंडी दलानमा साविकदेखि चलिआएको हरेक वर्ष वाँडा जात्राको समय २ दिन पञ्चदान पूजा गर्ने ठाउँ भनी जनिएकोसम्म हो यसबाट साविक चली आए अनुसार वर्षको २ दिन पञ्चदान पूजा गर्न दिनु पर्ने सम्म कुरा हो । अरु समय आफू खुशी गर्न पाइने कुरा छँदैछ । शुरु नापी हुँदा र अहिले आखिरमा पनि उक्त कि.नं.१२४९ को घरमा २ दिन पञ्चदान पूजा गर्ने ठाउँ हो भनी फिल्डबूकमा जनिएको छ भनी विपक्षी झुठ्ठा कुरामा चलेको छ । तसर्थ यो असल नियत लिई नआएको झुठ्ठा निवेदन खारेज हुनुपर्दछ भन्ने काठमाडौं नगर पञ्चायतको लिखितजवाफ रहेछ ।
६. विपक्षीको कुनै संवैधानिक हक हनन् भएको छैन र सफा दिलले पनि यो निवेदन दिन नआएको र का.न.पं.बाट सन्धिसर्पन समेत बारे आफ्नो क्षेत्राधिकार भित्र रही निर्णय गरेको हुनाले विपक्षीको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी शंखधर तुलाधरको लिखितजवाफ ।
७. रिट निवेदकले कि.नं.१२४८ र १२४९ मा घर बनाउन नक्शा पास गरी पाउँ भनी नगर पञ्चायतमा दर्खास्त दिएकोमा उक्त कि.नं.१२४९ कित्ताको छिंडी हरेक वर्ष जात्रा गर्ने र पञ्चदान गर्ने ठाउँ हो भनी विपक्षीले दावी लिएपछि छिंडी तल्लामा उक्त जात्रा गर्ने पञ्चदान र पूजा गर्नलाई छाड्नु पर्ने कुरा जनाई नक्शा पास गरी दिने भनी नगर पञ्चायतको बैठकबाट मिति ०३८।२।२८ मा फैसला भएको देखियो । मिसिल संलग्न फिल्डबूक उतार हेर्दा जात्रा गर्ने पञ्चदान गर्ने भनिएको ठाउँ उक्त कि.नं.१२४८ र १२४९ नभई १२३७ कायम भएको भनी ०३७।४।३१।३ मा लेखिएको देखिन आयो ।
८. यसरी परस्परमा निर्णय फरक पर्न गई तेरो मेरोको प्रश्न समावेश हुनआएको उक्त विवादमा निर्णय गर्ने अधिकार नगर पञ्चायतलाई कुनै ऐनले पनि प्रदान गरेको देखिँदैन । त्यसप्रकारको विवादको प्रश्न समावेश भएमा नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरूलाई सो कुराको सूचना दिनु पर्नेमा सो नगरी गरेको निर्णय उक्त ऐनका विपरीत देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । अब कानुन बमोजिम कारवाही किनारा गर्नु भनी नगर पञ्चायतको नाममा परमादेशको आदेश जारी गरिएको छ भन्ने मिति ०३८।१०।१५।५ मा डिभिजनबेञ्चबाट भएको आदेश ।
९. डिभिजनबेञ्चबाट गरेको उक्त आदेश र फुलबेञ्चबाट दोहर्याई पाउँ भनी विपक्षी शंखधर तुलाधरले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाउनु भएको बिन्तिपत्रमा यसमा व्यहोरा साँचो भए फुलबेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई यस फुलबेञ्चमा निर्णयार्थ पेश हुनआएको ।
१०. यसमा निवेदक शंखधर तुलाधरतर्फका विद्वान अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले विपक्षी रिट निवेदक जोगमान बज्राचार्यको कित्ता नं.१२४९ को छिंडी तल्लामा परापूर्वकाल देखि हरेक वर्ष वाँडा जात्रामा २ दिन पञ्चदान पूजा गर्ने गर्दै आएको ठाउँ हो । सोही कुरा मिति ०३४।१२।२१ मा नापी हुँदा नापीको फिल्डबुकमा जनाएको छ र उक्त फिल्डबुकको जनाउ उपर विपक्षीले कुनै उजूर बाजूर गर्नुभएको वा उजूर गरी बदर गराउन सक्नु भएको छैन । यसपालीको वांडा जात्रामा पनि मेरो पक्षहरूले नै दुई दिन पञ्चदान पूजा चलाएको हो । काठमाडौं नगर पञ्चायतबाट सन्धिसर्पन समेतबारे आफ्नो क्षेत्राधिकार भित्र रही साविक लम्बाई चौडाइमा नबढाई बनाइने घरको छिंडी तल्लामा हरेक वर्ष वाँडा जात्रामा २ दिन मात्र पञ्चदान र पूजा गर्न छाड्नु पर्ने जनाई नक्शा पास गरी दिने भनी ०३८।२।२८ मा निर्णय भएको हो । उक्त निर्णयबाट धर्मको रक्षा गरेको छ । काठमाडौं नगर पञ्चायतको उक्त निर्णयबाट पनि उक्त कित्ता नं.१२४९ को घर जग्गा निज विपक्षी जोगमानन्दकै हक अधिकारभित्र हो भन्ने देखाएको र निजकै हकभोगको जग्गा भएको हुनाले प्रस्तुत मुद्दामा हक बेहकको विवाद छैन । तसर्थ काठमाडौं नगर पञ्चायतले ०३८।२।२८ मा गरेको निर्णय आफ्नो क्षेत्राधिकार भित्र रही गरेको हुनाले यस अदालतको डिभिजनबेञ्चबाट का.न.पं.को यस निर्णय बदर गर्ने गरेको आदेश गल्ती हुनाले बदर गरी पाउँ भन्ने समेत बहस गर्नु भयो ।
११. विपक्षी रिट निवेदक जोगमानन्द बज्राचार्यको तर्फबाट विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले डिभिजनबेञ्चको आदेश मनासिब भएको र यस कित्ता नं.१२४९ को सम्बन्धमा डिभिजनबेञ्चको आदेशानुसार नै हामी दुबै पक्षको काठमाडौं जिल्ला अदालतमा हक बेहकको सम्बन्धमा नालिश परी उक्त अदालतको विचाराधीनमा भइराखेको हुनाले विपक्षको निवेदन खारेज होस् भन्ने समेत बहस गर्नु भयो ।
१२. प्रस्तुत रिट निवेदनमा डिभिजनबेञ्चबाट भएको आदेश मनासिब बेमनासिब के हो भन्ने कुरामा निर्णय दिनु परेको छ । यस कुरातर्फ विचार गर्दा विवादास्पद कित्ताहरू कि.नं.१२४८, १२४९ र १२३७ मध्ये कुन चाँही कि.नं.मा वाँडा जात्रामा पञ्चदान पूजा गर्ने ठाउँ हो भन्ने कुराको निर्णय गर्ने अधिकार नगर पञ्चायतलाई प्राप्त छ छैन भन्ने कुराको नै सर्वप्रथम निक्र्योल गर्नु पर्ने हुन आउँछ । यसको लागि रिट निवेदनतर्फ दृष्टि दिँदा यसमा रिट निवेदकले वांडा जात्रामा पूजा गर्ने ठाउँ कि.नं.१२४८ र १२४९ नभई कि.नं.१२३७ हो भन्ने कुरा नापीको फिल्डबुकबाट समेत देखिन्छ भन्ने कुराको जिकिर लिएको देखिन्छ । विपक्षी काठमाडौं नगर पञ्चायत र शंखधर तुलाधरले कि.नं.१२४९ मा नै परापूर्वकाल देखि वाँडा जात्रामा दुई दिन पञ्चदान गर्ने ठाउँ हो र उक्त कुरा नापीको फिल्डबुकमा र उक्त कित्तामा पुनः जनाइसकेकोले सोही आधारमा नै काठमाडौं नगर पञ्चायतले उक्त कि.नं.१२४९ वाँडा जात्रामा दुई दिन पञ्चदान र पूजा गर्न छोड्नु पर्ने कुरा जनाई नक्शा पास गराई दिने निर्णय गरेको हो भन्ने कुरा लिखितजवाफमा उल्लेख गरेको पाइन्छ ।
१३. यसमा मिसिल संलग्न फिल्डबुक उतार हेर्दा उक्त वाँडा जात्रामा पञ्चदान गर्ने भनिएको ठाउँ कि.नं.१२४८ र १२४९ नभई कि.नं.१२३७ कायम भएको भनी ०३७।४।३१।६ मा लेखिएको देखिन आउँछ । यसरी पञ्चदान गर्ने ठाउँ रिट निवेदक जोगमानन्द बज्राचार्यको कथनानुसार कि.नं.१२४८ र १२४९ हो वा अर्को कि.नं.१२३७ हो भन्ने तेरो मेरो सम्बन्धी प्रश्नको विवाद परेको छ ।
१४. अब यसरी तेरो मेरो परेको विवादमा हक बेहक छुट्याई निर्णय गर्ने अधिकार नगर पञ्चायतलाई प्राप्त छ वा छैन भन्ने कुराको विचार गर्दा नगर पञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) लाई अध्ययन गर्न आवश्यक हुन आउँछ । यस ऐनको दफा ४९ को उपदफा (२) मा दफा ४८ को उपदफा (१) बमोजिम उजूरवाला घर बनाउने जग्गामा तेरो मेरो परी हक बेहक छुट्याई आएपछि नक्शा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरूलाई सो को सूचना दिनुपर्छ भन्ने उल्लेख गरेको पाइन्छ । अतः घर बनाउने जग्गामा तेरो मेरो सम्बन्धी प्रश्नको विवाद पर्न गएमा सो विवादको निर्णय गर्ने अधिकार प्रदान गरेको देखिँदैन । यस्तो विवाद परेमा अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरूलाई सो कुराको सूचना दिनु पर्नेमा सो नगरी उक्त दफा ४९(२) को विपरीत गरेको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गर्ने र अब कानुन बमोजिम किनारा गर्नु भनी नगर पञ्चायतको नाममा परमादेशको आदेश जारी गरिएको छ भन्दै मिति ०३८।१०।१५।५ मा डिभिजनबेञ्चले गरेको आदेश मनासिब छ । मिसिल नियम बमोजिम गर्नु ।
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या.धनेन्द्रबहादुर सिंह
न्या. हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल कार्तिक ११ गते रोज ६ शुभम् ।