शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९४६ - लिखत पारित

भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२

निर्णय नं. २९४६     ने.का.प. २०४३            अङ्क १२

फुलबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको रि.फु.नं. ५६

फैसला भएको मिति : २०४२।११।२८।३ मा

 

निवेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२३ बस्ने बसुन्धरा भक्त माथेमा

विरुद्ध

विपक्षी/वादी : ऐ.वडा नं.१४ बस्ने सानूनानी भन्ने लक्ष्मीकुमारी मानन्धर

 

मुद्दा : लिखत पारित

 

(१)         प्रतिवादीले अदालतमा बयान गर्दा लिखत आफ्नो हस्ताक्षरले लेखेको र लेखात्मक तथा ल्याप्चे सहिछाप गरी दिएको कुरा उल्लेख गरेबाट लिखत कीर्ते वा जालसाजी भन्ने स्थिति नरहने ।  

(प्रकरण नं. १०)

(२)        प्रतिवादीले गरेको कागजको व्यहोराले नै प्रतिवादीको कथनलाई खण्डन गरिरहेको स्थितिमा रकम तथा सुन नलिई कागज गरी दिएको भन्न मिल्ने अवस्था नदेखिने ।

(प्रकरण नं. ११)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल

विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान

 

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्रको व्यहोरा साँचो हो र लिखत गर्दा र दावी गर्दा समेत सुनको बिगो नखुलाई लिखत दावी भएको रहेछ भने त्यस अदालतको डिभिजनबेञ्चबाट २०३९।७।२१ मा किनारा भएको बिन्तिपत्रमा लेखिएको लिखत पारित मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२. तपाई दिजुका सुनका गहनाहरू जम्मा तोला ९० र नगद रु.२३,४००।लिई राखेको मैले मासी दिएकोबाट तपाई दिजुको चित्त बुझाउने गति धितो राखी दिनु मेरो मञ्जूर भएको र धितो लेखाई लिनु तपाइको पनि मञ्जूर भएकोले अरु कसैलाई कुनै प्रकारको लिखत गरी नदिएको मेरो मात्र हकभोगचलनको का.जि.का.न.पं.वडा नं. २३ अन्तर्गत ब्लक नं. ५।८४३ मध्ये पूर्व काका धनबहादुरको घर पश्चिम लाल गुभाजुको घर र धंसार देवल उत्तर नन्दमाया बांडानी र अरु बांडाहरूको  घर दक्षिण गल्ली बाटो यति ४ किल्ला भित्रको २ नाले र १ नाले समेत जम्मै घरहरू समेतको दृष्टिबन्धकीको कागज लेखी उपरोक्त गहना र नगद रुपैयाँ समेत ६ महीनाभित्र बुझाउँला नबुझाए दसौद दरले ब्याज समेत लगाई उपर गरी लिनु होला । यो कागज म्यादभित्र पास गरी दिउँला भनी उल्लेख गरी २०३४।७।४ मा उक्त दृष्टिबन्धकीको कागज लेखी निज भाइ बसुन्धराले मलाई दिएको । उक्त दृष्टिबन्धकीमा लेखिया बमोजिमको गहना र नगद रुपैयाँ समेत नबुझाएको र पारित पनि गरी नदिएकोले यो नालिश गर्नु परेको हो । मुलुकी ऐन (सातौं संशोधन), २०३४ को राजपत्रमा प्रकाशित मिति २०३४।२।२७ गते हुनाले सो भन्दा अघि सम्पन्न भएको लिखतको हकमा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को उपदफा (४) अनुसार जुन बेला जुन कानुन बहाल र सो कानुन अनुसार भएको काम हुनाले रजिष्ट्रेशनको साविक ६ नं. मा लिखत गरी दिनेले म्यादभित्र पारित गरी दिएन भने ३५ दिनभित्र थमाई नालेश लाग्ने नै हुँदा उक्त दृष्टिबन्धकीको लिखित पारित गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३. मैले यस मितिमा यो बापत यति रुपैयाँ लिई मासी दियो यो धितो राखि लेखी दिएको म्यादमा पास गरी नदिएकोले पास गरी पाउँ भन्ने नालेश यो नभई तपाई दिदीले नम्बरी सुनको गहनाहरू जम्मा तोला ९० र नगद रु.२३,४००।लिई राखेको मासी दिएको बापत कागज गरी दिएको दृष्टिबन्धकको तमसूक पारित गरी पाउँ भन्ने दावा देखियो मेरो मूख्य कुरा यो छ की वादी मेरो सहोदर दिदी र वहाँको लोग्ने बेलायतमा राजदूत हुनुभएको रामप्रसाद मानन्धर मेरो भिनाजु हुनुभएको निज ०१२ सालमा राजदूत हुनु भई बेलायत जाने भई सो जाने मलाई खर्च नपुगेकोले रु.१०,०००।कर्जा देउ दशौद ब्याज दिन्छु यो गहनाहरू पनि तपाई कहाँ राख्‍नु भनी दिदी भिनाजुले करीव १००।१०२ तोलाको गहना जिम्मा गरी दिई उक्त दशहजार रुपैयाँ कर्जा लिनुभएको थियो । २०१६।१।१९ गते दिदीले बेलायतबाट हामी आएको ३ वर्ष भयो तिमीलाई रुपैयाँको खाँचो पर्ला १०० तोला सुन बेची हामीले तिर्नु पर्नेमा सोध भर्ना गरी लिनु भनी चिठ्ठी पठाउनु भएबाट उसबखत सुन तोला १ को नम्बरी रु.१००।बजारमा चलेकोबाट रु.१००।दरले दर भाउ छ, भनी लेखी पठाउँदा सो खबर पुगेपछि निज दिदीबाट १९५९ जुन २० तारिखमा तिमीले सुनको भाउ लेखेको बुझें यहाँ पनि मैले भाउ बुझ्दा तोला १ को रु.१००।मात्र पर्छ तोला १०० बेची पठाउनु भनी चिठी आउँदा रु.१००।को दरले १०० तोला बिक्री गरी मेरो साँवा भर्ना गरे त्यसपछि वहाँलाई चाहिने मालसामान लेखी आउँदा मेरै रुपैयाँबाट खर्च गरी पठाउँदै गरेको थिएँ । बेलायतबाट फर्कनु भएपछि मेरो दिदीले मेरो सक्कली मुगाको तोला १०५ भएको माला १ र १४ दाना हिरा जडाउ भएको घडी १ देवाली पूजामा लाउनु पर्‍यो भनी लिई जानु भयो । देवाली सिद्धिएपछि बराबर माग्दा मसंग भएको कहाँ जाला भन्नु भई दिनु भएन । आफू सहोदर दिदी हुनुभएकोले दिनु होला भनी बसेको तर नदिनु भएकोले जहानमा कचकच हुँदा मैले भन्नै भएन भन्दा रिसाउनु भएको थियो । २०३४ कार्तिक महीना हो गते बारको सम्झना भएन मलाई डाँक्न पठाउनु भई तिम्रो हाम्रो हिसाब राम्रो मिलेन भनी मलाई लोग्नेले तँ माइत गई बस भनी झगडा भयो तिमी भाइ र दिदीमा के हुन्छ गहना र नगद मासी खाए दिन्छु भन्ने एउटा कागज गरी देउ लिने होइन भन्दा दिदीलाई सुविधा हुने भए लौ भनी वहाँ भएको वकिल दिनेशमान डिठ्ठा शिवलालले भने बमोजिम मैले कागज लेखी दिएँ । सो कागज हेर्न मलाई मैले यसै भन्न सक्दिन । मैले र दिदी भिनाजुले पनि धर्म भाकी मसंग बाँकी यति छ भनी भाक्नु भएमा दिन तयार छु । दिदी भिनाजुको खाने मेरो नियत छैन । यो यस मितिमा यो यति सुन लिएको त्यसको यो भाउले यति रुपैयाँ यस मितिमा लिएका नगद यति समेत जम्मा यति भन्ने केही नभएको कानुनको विरुद्धको लिखत हुँदा पारित गरी दिन नमिल्ने हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४. आफूले गरी दिएको लिखत प्रतिवादीले म्यादभित्र पारित गरी दिनु पर्ने सो गरी दिएको नदेखिँदा वादी दावी बमोजिमको मिति २०३८।७।४।५ को दृष्टिबन्धकी लिखत पारित हुने ठहर्छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको फैसला ।

५. शुरु फैसला उपर चित्त नबुझी सो फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन ।

६. पुनरावेदक प्रतिवादीले २०३४।७।४ मा आफ्नो हकभोगको का.जि.का.न.पं.वडा नं.२३ ब्लक नं. ५।८४३ को २ नाले र १ नाले घर समेत दृष्टिबन्धक लेखी वादीलाई दिएको देखिन्छ आफ्नै हस्ताले लेखेको लिखत हो भनी स्वीकारी पुनरावेदकले बयान समेत गरेको देखिनाको साथै प्रतिवादीले वादीबाट लिखतमा लेखिए बमोजिमको सुन गहना समेत नलिएको भए स्वहस्ताले त्यस्तो लिखत लेख्‍नु पर्ने सम्मको कुनै ठोस सबूद पेश हुन नसके समेतबाट वादी दावी बमोजिम लिखत पारित हुने ठहराई शुरु काठमाडौं जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३७।३।३ को फैसला ।

७. उक्त निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने डिभिजनबेञ्चको मिति २०३८।७।२८ को आदेश ।

८. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा प्रतिवादीले सुन बेची सकेको र बाँकी नभएको कुरा उल्लेख गरेको देखिन्छ । यदि प्रतिवादीको कुरा सत्य साँचो भए निजले पछि २०३४।७।४ मा दृष्टिबन्धकको कागज लेखी नदिनु पर्ने हो । पक्षले आफ्नो हित विरुद्ध कुनै कार्य गर्छ र सो कार्यलाई स्वीकार गरी बस्छ भने उसलाई अदालतले मद्दत गर्ने कुरा आउँदैन । २०३४।७।४।५ को दृष्टिबन्धक कागज पारित हुनुपर्ने होइन भन्ने सम्बन्धमा हेर्दा उक्त कागज मुलुकी ऐन रजिष्ट्रेशनको ५ नं.बमोजिम रजिष्ट्रेशन पास गरी माग्न पाउने वादीको हक सुरक्षित नै देखिँदा र बेरीतको नदेखिँदा लिखत पारित हुने ठहराएको शुरु इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत डिभिजनबेञ्चको मिति २०३९।७।२१।१ को फैसला ।

९. निवेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता द्वय श्री कृष्णप्रसाद पन्त तथा श्री लक्ष्मणप्रसाद अर्यालले प्रतिवादीले पेश गरेको कागज अ.बं.७८ नं. बमोजिम सुनाइएको छैन । विवादको कागज लेनदेन बापतको नभई मासी दिए बापतको कागज भएको छ । लिखत गर्दा नगदमा लिखत नभएको हुँदा लेनदेनको २ नं.वा ३ नं. बमोजिम कागज भएको छैन । तसर्थ लिखत पास गरी दिएको मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरू श्री शम्भूप्रसाद ज्ञवाली तथा श्री दिनेशमान प्रधानले धनी र ऋणी भनी कागज भएको छ । दृष्टिबन्धकीमा उसै बखत रकम लिनु दिनु गरेको हुनुपर्छ भन्ने छैन । व्यापारिक कारोबारमा मात्र लेनदेन व्यवहारको ४० नं.लागू हुने हुँदा यस्तोमा उक्त ४० नं. लाग्ने होइन । कागज सुनाउँदा सो कागज गरी दिएको कुरालाई प्रतिवादीले स्वीकार गरी राखेको हुँदा लिखत पारित हुने ठहराएको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१०. मिति २०४२।११।३ मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा सुनका गहनाहरू जम्मा तोला ९० र नगद रु.२३,४००।लिएको बापत जनाई आफ्नो हकको का.जि.का.न.पं.वडा नं.२३ अन्तरगत ब्लक नं. ५।८४३ को २ नाले र १ नाले घरहरू समेत २०३४।७।४ मा दृष्टिबन्धक लेखी दिएको र पारित गरी नदिएकोले पारित गरी पाउँ भन्ने वादी दावी देखिन्छ दृष्टिबन्धकको कागज गरी दिएको कुरालाई स्पष्ट रुपले स्वीकार नगरी २०३४ साल कार्तिक महीनामा एउटा कागज गरी दिएको भन्ने उल्लेख गर्दै कागज नै हेर्न नपाई यसै हो भन्न सक्दिन  भन्ने र यो यस मितिमा यो यति सुन लिएको त्यसको यो भाउले यति रुपैयाँ र यस मितिमा लिएको नगद यति समेत जम्मा यति भन्ने नभएको कानुन विरुद्धको लिखत हुँदा पारित गर्न नमिल्ने भएकोले खारेज गरी पाउँ भन्ने प्रतिवादीको जिकिर देखिन्छ । प्रतिवादीले २०३५।८।९ मा काठमाडौं जिल्ला अदालतमा बयान गर्दा उक्त दृष्टिबन्धकी लिखत आफ्नो हस्ताक्षरले लेखेको र लेखात्मक तथा ल्याप्चे सहिछाप गरी दिएको कुरा उल्लेख गरेकोबाट उक्त लिखत कीर्ते वा जालसाजी भन्ने स्थिति रहेन ।

११. अब दिंदी भिनाजु बेलायतमा राजदूत भई जाँदा रु.१०,०००।कर्जा लिई १००।१०२ तोला सुन छोडी गएको र २०१६।१।२९ र सन् १९५९ जुन २० का पत्र बमोजिम तोला १०० को रु.१००।का दरले बिक्री गरी आफ्नो सावाँ असूल गरेका भन्ने प्रतिउत्तर जिकिरको हकमा यदि प्रतिवादीले लिएको सुन २०१६ सालमा नै बिक्री गरेको भएपछि २०३४ सालमा आएर नब्बे तोला सुनका गहना समेत राखी दृष्टिबन्धकको कागज नगरी दिनु पर्ने हो । प्रतिवादीले गरेको कागजको व्यहोराले नै प्रतिवादीको कथनलाई खण्डन गरी रहेको स्थितिमा रकम तथा सुन नलिई कागज गरी दिएको भन्न मिल्ने अवस्था देखिएन । विवादको २०३४।७।४ को लिखतमा प्रतिवादीले आफ्नो हकभोगका घरहरू राखी दृष्टिबन्धकको कागज लेखी दिएको कुरा उल्लेख गरेको छ । तसर्थ उक्त कागजलाई मुलुकी ऐन लेनदेन व्यवहारको ३ नं. बमोजिमको कागज भएन भन्न मिलेन । उक्त लिखत रजिष्ट्रेशनको ५ नं.बमोजिम पास गरी माग्न पाउने वादीको हक सुरक्षित नै हुँदा र उक्त कागज कानुनको रीतपूर्वकको नै देखिँदा उक्त कागज पारित हुने ठहराएको डिभिजनबेञ्चको मिति २०३९।७।२१ को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमती छ ।

न्या.हरगोविन्द सिंह प्रधान

न्या. महेशरामभक्त माथेमा

 

 

इतिसम्वत् २०४२ साल फाल्गुण २८ गते रोज ३ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु