शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९४८ - लिखत बदर

भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२

निर्णय नं. २९४८     ने.का.प. २०४३            अङ्क १२

फुलबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको दे.फु.नं. ५७

फैसला भएको मिति :      २०४२।१।२८।६ मा

 

निवेदक/प्रतिवादी : का.न.पं.वडा नं.२० मरुटोल बस्ने कुमारदास मानन्धर

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने गणेशप्रसाद मानन्धरसमेत

 

मुद्दा : लिखत बदर

 

(१)         साविक मुलुकी ऐन साहू असामीको ८ नं. र मुलुकी ऐन, लेनदेन व्यवहारको तत्कालीन १० नं. समेतले आफूले आर्जेको सम्पत्ति आफू खुस गर्न पाउने ।

(प्रकरण नं. १३)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विद्वान अधिवक्ता श्री नूतन थपलिया विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

 

फैसला

न्या.बब्बरप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा डिभिजनबेञ्चबाट निर्णय भएको मिसिल झिकी फुलबेञ्चबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गरिदिनु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएका हुकुम प्रमांगी बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२. हामी वादीहरू ४ जना र विपक्षका बाबु देवीदाश १ जना समेत हामी ५ जनाको हक भएको सगोलको मोरङ्‌ विराटनगरको जग्गा कठ्ठा ०१० मध्ये ०१५ एक कठ्ठा पन्ध्र धुर जग्गा दाजु देवीदाशले विपक्ष कैलाश चन्द्रलाई रु.१,७९,००१।मा का.मु.प्र.का.मार्फत ०३४।३।८ गते राजीनामा पास गरी दिएको हुँदा हामी ४ जनाको हकको लिखत बदर गरी पाउँ भन्ने समेतको फिरादपत्र रहेछ ।

३. वादीवालाहरू र मेरा बाबु देवीदाशका बीच २००६ सालमा बण्डापत्र गरी छुटेको, पछि मुद्दा परी छुटाई दिने भए तापनि मानु बेगल बेगल गरी अलग अलग गरी बसी खती उपती भोग गरी आएको देवीदाशका नाउँमा दर्ता भएको विराटनगरको जग्गा आमा हिरादेवीलाई तत्कालीन श्री ३ महाराजाबाट बक्स पाई हक भएको स्त्री धन हो सो जग्गा रामबहादुरका नाउँमा दर्ता हुन गई पछि मेरा बाबुको ज्ञान शीपबाट ३५,००१।मा छोडपत्र पास गरी लिनुभएको जग्गा मध्ये ०१५ एक कठ्ठा पन्ध्रधुर जग्गा ०३४८ मा कैलाश चन्द्रलाई राजीनामा गरी दिनु भएको हो आमा हिरादेवीले बक्स पाई बाबाले आफ्नो आर्जनबाट छोडपत्र गराई लिएको हुँदा अंशबण्डाको १८ नं.ले वादीहरूको हक नलाग्ने भन्ने समेत प्र. कुमार दाशको प्रतिउत्तरपत्र रहेछ ।

४. निज कुमार दाशको आमा हिरादेवी बक्स पाई रामबहादुर लाखेबाट देवीदाशले आफ्नो निजी आर्जनबाट खरीद गरी लिई हकभोग भएको जग्गा मध्ये ०१५ जग्गाको रु.१,७९,००१।मा देवीदाशको श्रीमती छोराहरू साक्षी राखी ०३४८ मा पास गरी लिएको जग्गामा नक्शा पासको दर्खास्त दिई नक्शा पास गरी पक्की घर बनाई दिवाल लगाई बसोबास गरी भोगचलन गरी आएको जग्गा हुँदा वादीहरूको कुनै हक नभएकोले झुठ्ठा फिराद दिएमा वादीहरूलाई सजायँ गरी पाउँ भन्ने समेत कैलाशचन्द्र अग्रवालको प्रतिउत्तरपत्र रहेछ ।

५. हामीहरूका लोग्ने बाबु देवीदाशले साहूलाई बिक्री गरिदिएको ०३४।३।८ मा गरी दिएको राजीनामा हाम्रो समेत मञ्जूर छ वादीहरूको हकको होइन लोग्ने बाबुले बिक्री गरी दिएकै सदर हवस् भन्ने देवीदाशको छोरी रेनुका, भगवानदाश र हिरादेवी समेतको बयान रहेछ ।

६. पैतृक आर्जन भन्ने सबूद वादीहरू तर्फबाट पेश हुन नआएको आफ्नो आर्जनको सम्पत्ति बेच बिखन  गर्न लेनदेन व्यवहारको १० नं. ले अरुको मन्जूर लिन नपर्ने हुँदा प्रतिवादीहरू उपर वादीहरूले झुठ्ठो उजूर गरेको ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला रहेछ ।

७. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको पुनरावेदन रहेछ ।

८. लेनदेन व्यवहारको १० नं. अनुसार वादीहरूको मन्जूरी लिएको नदेखिँदा वादीहरूको ५ भागको ४ भाग लिखत बदर हुने ठहर्छ शुरुको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

९. सो फैसलामा कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा देवीदाश र वादीहरू एकाघरसंग बसेको भन्ने वादीहरूले खुलाउन नसकेकोले म.क्षे.अ.ले लेनदेन व्यवहारको १० नं. को त्रुटि गरी निर्णय गरेको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।७।५ को आदेश रहेछ ।

१०. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा प्रतिवादी कुमार दाशका बाबु देवादाशले ०३३।५।७ गते रामबहादुर लाखेबाट गराई लिएको लिखतको कैफियत महलमा धनीका भा.रु.३५,००१।परी २००८।१२।१९ मा मेरा नाउँमा खरीद भएको भन्ने बोली परेको देखिन्छ । त्यस बोलीबाट सो परेको थैली देवीदाशले यो यस किसिमबाट निजी आर्जन गरेको भन्ने देखिँदैन । सो रुपैयाँ निजी श्रमले आर्जन गरेको भन्ने लिखत प्रमाण देखाउन सकेको पनि छैन । देवीदाशले यही वादी गणेशप्रसाद समेत उपर घर छुट्याई पाउँ भनी दिएको मुद्दामा २००६।२।१७ मा पास भएको बण्डाबाट यिनीहरूको बाबु काकाको बीचमा अंश गरेको देखियो, भाइ भाइको बीचमा नीतिपूर्वक बण्डा भई नसकेको बण्डा छुट्याई दिन नमिल्ने भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चबाट २०२९।११।२९ मा अन्तिम निर्णय भइराखेको देखिन्छ । त्यसबाट वादीहरू र प्रतिवादी कुमार दाशको बीच अंशबण्डा भई छुट्टिएको भन्ने देखिन आएको छैन । वादीहरू र प्रतिवादी कुमार दाशको बाबु देवीदाश समेत मानो छुट्टि भिन्न भएको भन्ने कुराको कानुन बमोजिम रजिष्ट्रेशन पारित भएको लिखत प्रमाण पेश हुनआएको पाइँदैन । यस अवस्थामा देवीदाशले पुनरावेदक कैलाशचन्द्र अग्रवाललाई बिक्री गरेको जग्गा देवीदाशको निजी आर्जनको सम्पत्ति रहेछ भन्ने सबूद प्रमाणको अभावमा मिल्ने नदेखिएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन अरु क्षेत्रीय अदालतको फैसलामा लेखिएको बुँदा प्रमाणबाट समेत वादी दावी बमोजिम ०३४।३।८ को लिखतमा लेखिएको जग्गाको ५ भागको ४ भाग लिखत बदर हुने ठहराई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने डिभिजनबेञ्चको ०३९।९।१८ को फैसला ।

११. निवेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले विवादको जग्गा देवीदाशको श्रीमती हिरादेवीले मोहन शम्शेरबाट बक्स पाएको हुँदा पैतृक हैन । सो जग्गा हिरादेवीले रामबहादुरलाई बिक्री गरेको र रामबहादुरबाट देवीदाशले खरीद गरेको छ । देवीदाशले आफूले आर्जेको सम्पत्ति हुँदा साविक मुलुकी ऐन साहू असामीको ८ नं. र लेनदेन व्यवहारको १० नं. समेतले आफूखुसी गर्न पाउने अवस्थाको छ, तसर्थ वादी दावी नपुग्ने ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीहरूको तर्फबाट उपस्थिति विद्वान अधिवक्ताहरू श्री सर्वश्री रामगोपाल श्रेष्ठ, श्री नूतन थपलिया, तथा श्री अनुपराज शर्माले वादीहरू र प्रतिवादी सगोलमा भएको भन्ने सर्वोच्च अदालतको २०२९ सालको फैसलाले स्पष्ट गरेकै छ । विवादको जग्गा देवीदाशको आर्जनको हो भन्ने प्रमाण आउन सकेको छैन, सगोलको सम्पत्ति जुनसुकै व्यक्तिको नाममा रहन सक्छ । निजी आर्जन भन्नेले नै सो को प्रमाण दिनुपर्छ । मानो छुट्टिएको लिखत पास हुनुपर्छ मानो छुट्टिएको कुरामा विवाद भएमा फिराद परेको अघिल्लो  दिनलाई मानो छुट्टिएको मिति मान्ने हो, तसर्थ वादीहरूको समेत हक लाग्ने सम्पत्ति बिक्री गरेको हुँदा लिखत बदर हुने ठहराएको डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१२. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादीहरूले निजहरू र प्रतिवादी कुमारदाश बीच बण्डा भई नसकेको भन्ने उल्लेख गर्दै निजहरूको समेत हक लाग्ने मोरङ्‌ विराटनगर न.पं.वडा नं.८ दर्ता नं. ४६१ को जग्गा ०१० मध्ये ०१५ जग्गा कैलाशचन्द्र अग्रवाललाई ०३४।३।८ मा राजीनामा गरेकोले ५ खण्डको ४ खण्ड लिखत बदर गरी पाउँ भन्ने दावी लिएको पाइन्छ । आमा हिरादेवीले श्री ३ महाराज मोहन शम्शेरबाट बक्स पाएको जग्गा रामबहादुरबाट देवीदाशले आफ्नो ज्ञान शीप र निजी आर्जनबाट ०३३।५।७ मा छोडपत्र गराई लिएको हुँदा अंशबण्डाको १८ नं. ले वादीहरूको हक पुग्न सक्दैन भन्ने समेत प्रतिवादी कुमार दाशको प्रतिउत्तर जिकिर देखिन्छ । विवादको जग्गा हिरादेवीले बक्स पाएको भन्ने कुरामा विवाद देखिएन, उक्त जग्गा हिरादेवीबाट रामबहादुरको नाउँमा दर्ता भई प्रतिवादीको बाबु देवीदाशले आफ्नो आर्जनको रकमले खरीद गरेको देखिन्छ । यसरी देवीदाशले आर्जेको सम्पत्ति लेनदेन व्यवहारको तत्कालीन १० नं. ले प्रतिवादीले आफूखुशी गर्न पाउने नै देखिन्छ ।

१३. अतः उपर्युक्त बुँदा प्रमाण समेतबाट साविक मुलुकी ऐन साहू आसामीको ८ नं. र मुलुकी ऐन, लेनदेन व्यवहारको तत्कालीन १० नं. समेतले आफूले आर्जेको सम्पत्ति आफूखुस गर्न पाउने हुँदा ५ खण्डको ४ खण्ड लिखत बदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने भएकोले लिखत बदर हुने ठहराएको म.क्षे.अ.को इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३९।९।१८।१ को इन्साफ मिलेको देखिएन । वादी दावी नपुग्ने ठहराएको काठमाडौं जिल्ला अदालतको ०३५।१२।३१ को इन्साफ मनासिब ठहर्छ, अरु तपसील बमोजिम गर्नु ।

तपसील

वादी दावी नपुग्ने ठहरेको हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट दावीले प्रतिवादीबाट भरी पाउने ठहरेको कोर्ट फी मध्ये रु.५।७५ प्र. कुमार दाशले यस अदालतका आदेश बमोजिम ०३८।७।२६ मा का.जि.अ.त.मा धरौट राखेकोमा अब नलाग्ने हुँदा म.क्षे.अ.को ०३८।५।१२ को फैसला र ०३८।८।२९ को लगत स.अ.को २०४१।२।१५ को लगत काटी दिनु र प्रतिवादीले राखेको सो रकम प्रतिवादी कुमार दाश मानन्धरले फिर्ता माग्न आए ऐनको रीत पुर्‍याई फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु ...... १

स.अ.डिभिजनबेञ्चको इन्साफ दोहर्‍याउने हुकुम प्रमांगी बक्स भई फुलबेञ्चमा दर्ता हुँदा कुमार दाश मानन्धरले राखी सदर स्याहा भएको कोर्ट फी रु.१वादीहरूबाट भराई पाउँ भनी म्यादभित्र दर्खास्त पर्न आए कानुन बमोजिम दामासाहीका दरले भराई दिनु भनी ऐ.ऐ.मा लगत दिनु ..... २

मिसिल नियम बमोजिम गरी बुझाई दिनु....३

 

उक्त रायमा हामीहरूको सहमती छ ।

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव,

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४२ साल बैशाख २८ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु