शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २९५० - लिखत बदर

भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२

निर्णय नं. २९५०     ने.का.प. २०४३            अङ्क १२

फुलबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४० सालको दे.फु.नं. ५६, ९०

फैसला भएको मिति :      २०४२।१।२८ मा

 

निवेदक/प्रतिवादी : का.न.पं.वडा नं.२० मरुटोल बस्ने देवीदाशको मु.स. गर्ने कुमारदास मानन्धरसमेत

विरुद्ध

विपक्षी/वादी : का.न.पं.वा.नं.२० मरुटोल बस्ने गणेशप्रसाद मानन्धरसमेत

 

मुद्दा : लिखत बदर

 

(१)               आफूले आर्जेको सम्पत्ति आफू खुश गर्न पाउने ।

(प्रकरण नं. १४)

 

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विद्वान अधिवक्ता श्री नूतन थपलिया विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

 

फैसला

न्या.बब्बरप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकहरू दुइजनाको श्री ५ महाराजाधिराजका जुनाफमा छुट्टाछुट्टै बिन्तिपत्र पर्दा मुद्दा दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२. बाबा गणेशदाशको हामी समेत ५ छोरा भएका थियौं, हामीहरू समेतको अंश हक लाग्ने कालीमाटी न.पं.वार्ड नं. ५ को कि.नं.३१ को जग्गा रोपनी १३ मध्ये ०१ जग्गा रु.३०,०००।मा ०३२।४।७ गते गणेशलाल श्रेष्ठलाई राजीनामा पास गरी दिएकोले हामीहरूको भाग ५ खण्डको ४ खण्ड बदर गरी पाउँ भन्ने गणेशप्रसाद समेतको ०३३।२।६ को फिरादपत्र रहेछ ।

३. मेरो आर्जनबाट छोडपत्र गराई लिएको घर जग्गा कालीमाटी सडक निर्माणमा परी सट्टा भर्ना पाएको जग्गा बिक्री गरेको हुँ विपक्षहरूका हक लाग्ने होइन क्षतिपूर्ति विषयमा विपक्षीहरूको उजूर परी अदालतमा हक बेहक गराउनु जानु भनी सुनाएकोमा विपक्षीहरू नगएको मेरो एकलौटी हकको जग्गा बिक्री गरेको हुँदा लिखत बदर हुन नपर्ने भन्ने समेत प्र.देवीदाशको ०३३।४।३१ को प्रतिउत्तरपत्र रहेछ ।

४. देवीदाशले विष्णु भक्तलाई भोगबन्धकी दिएको निजलाई बहाल बुझाउने गरी भोग गरी आएको कालीमाटी सडक चौडाईमा परी बाँकी जग्गा देवीदाशबाट कूत बुझाउने गरी लिई म समेत भई मोटर ग्यारेज कारखाना घर बनाई भोगचलन गरी आएको छु । देवीदाशको आर्जनले जोडेको निजको हकको जग्गा राजीनामा गराई लिएको हुँदा लिखत सदर गरी पाउँ भन्ने समेत प्र. गणेशलालको ०३३।४।३१ को प्रतिउत्तरपत्र रहेछ ।

५. बिक्री गरेको सदर हुने हुँदा वादीले लिखत बदर गरी पाउँ भनी झूठ्ठै उजूर गरेको ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको ०३५।८।२८।४ को फैसला ।

६. सो फैसला उपर चित्त बुझेन भन्ने समेत गणेशप्रसाद समेतको पुनरावेदन जिकिर ।

७. लेनदेन व्यवहारको १० नं. अनुसार सबै अंशियारको मन्जूरी लिनु पर्नेमा वादीहरूको मन्जूरी लिएको नदेखिँदा वादीहरूको भाग बदर हुने ठहर्छ भन्ने समेत ०३८।५।१२।६ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

८. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा देवीदाश वादीहरू एकाघरसंग बसेको भन्ने वादीहरूले खुलाउन नसकेको देवीदाशले तीर्थदाशबाट छोडपत्र गराई लिएको सम्पत्तिमा वादीहरूको मञ्जूरी लिन नपर्ने हुँदा लेनदेन व्यवहारको १० नं. को त्रुटि गरी म.क्षे.अ.ले फैसला गरेको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।७।५।४ को र ०३८।९।२२।४ को आदेश रहेछ ।

९. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा कुमारदासका बाबु देवीदाशले २००२।९।७ गते तिर्थदाश मानन्धरबाट छोडपत्र गराई लिएको लिखतमा मेरो नाउँमा फार्छे भराई लिएतापनि सो रुपैयाँ तपाई देवीदाशको रुपैयाँ भएको भन्ने बोली परेको देखिन्छ । त्यस बोलीबाट सो परेको थैली देवीदाशले यो यस किसिमबाट आर्जन गरेको भन्ने देखिँदैन । सो रुपैयाँ निजी आर्जन गरेको भन्ने लिखत प्रमाण देखाउन पनि सकेको छैन । देवीदाशले गणेशप्रसाद उपर घर छुट्याई पाउँ भनी दिएको मुद्दामा २००६।२।१७ मा पास भएको बण्डाबाट यिनीहरूको बाबु काकाको बीचमा अंश गरेको देखियो । वादीहरू र प्रतिवादी कुमारदाशको बाबु देवीदाशको बीच अंशबण्डा भई छुट्टिएको भन्ने देखिन आएको छैन । मानो छुट्टि भिन्न भएको भन्ने कुराको कानुन बमोजिम रजिष्ट्रेशन पारित भएको लिखत प्रमाण पेश हुनआएको पाइँदैन यस अवस्थामा देवीदाशले बिक्री गरेको जग्गा देवीदाशको रहेछ भन्न सबुद प्रमाणको अभावमा मिल्ने नदेखिएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन लिखत बदर हुने ठहराएको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३९।९।१८ को फैसला ।

१०. निवेदक प्रतिवादीहरूको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद पन्त र श्री मुकुन्द  रेग्मीले विवादको जग्गा पैतृक सम्पत्ति होइन देवीदाशले आर्जन गरेको हो निजको आर्जन हैन भन्ने वादीको भनाई पनि छैन । कालीमाटी सडक चौडा गर्ने सिलसिलामा वादीले केही जग्गा सट्टा पट्टा पाएको र बागमती अञ्चलाधीशको संयुक्त दर्ता गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भएको छ, र जग्गा देवीदाशले दर्ता गराएको छ । देवीदाशलाई घर बनाउन दिएकोमा विपक्षीको उजूर छैन आफूले आर्जेको सम्पत्ति बेचेको हुँदा विपक्षीको मन्जूरी लिन जरुरी छैन, २०२९ सालको सर्वोच्च अदालतको फैसलाले मानो छुट्टिएको कुरालाई मानेको छ तसर्थ वादी दावी नपुग्ने ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी वादीहरूको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू सर्वश्री रामगोपाल श्रेष्ठ, श्री नूतन थपलिया तथा अनुपराज शर्माले वादीहरू र प्रतिवादी आजसम्म सगोलमा बसेको भन्ने २०२९ सालको सर्वोच्च अदालतको फैसलाबाटै स्पष्ट भएको छ । विवादको जग्गा देवीदाशको आर्जनको हो भन्ने प्रमाण आउन सकेको छैन, मानो छुट्टिएको लिखत पास हुनुपर्छ मानो छुट्टिएको कुरामा मुख नमिलेमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति मान्ने हो । सगोलको सम्पत्ति जुनसुकै व्यक्तिको नाममा रहन सक्छ, निजी भन्नेले सो को प्रमाण दिनु पर्ने हो तसर्थ वादीको समेत हक लाग्ने सम्पत्ति बिक्री गरेको हुँदा लिखत बदर हुने ठहराएको डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

११. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादीले आफ्नो फिरादपत्रमा निजहरू र प्रतिवादी देवीदाश र निजको मु.स.गर्ने कुमारदाश बीच बण्डा भई नसकेको भन्ने उल्लेख गर्दै निजहरूको समेत हक लाग्ने कालीमाटीको हाल सर्भे नापीमा कालीमाटी गा.पं.वडा नं.५ कि.नं.३१ को १३ मध्येबाट ०१ प्र.गणेशलाललाई ३०,०००।मा ०३२।४।७ मा राजीनामा पारित गरेको हुँदा लेनदेन व्यवहारको १० नं. बमोजिम पाँच खण्डको चार खण्ड लिखत बदर गरी पाउँ भन्ने दावी लिएको पाइन्छ । मैले तिर्थदाश मानन्धरबाट आफ्नो आर्जन कमाईबाट २००२।९।७।६ मा मेरै हकको जग्गा भएकोले छोडपत्र गराई लिएको र मेरो एकलौटी हकको जग्गा पारित गरी दिएको हुँ भन्ने समेत प्रतिवादीको जिकिर देखिन्छ । हाम्रो समेत हक लाग्ने भन्ने वादी र आफ्नो आर्जनको एकलौटी भन्ने प्रतिवादी भएबाट लिखत बदर हुने वा नहुने के हो भन्ने सन्दर्भमा हेर्दा प्रतिवादीले २००२।९।७ मा तिर्थदाश मानन्धरबाट गराई लिएको पारित छोडपत्रको व्यहोरा हेर्दा का.मरु.७०९।६४३ नं. का पोता लगतमा दर्ता भएको कूत धान १।आउने पोता रु.।४८ लागेको अवल खेत रोपनी १ र सो मा बनेको घर समेत मेरा नाउँमा फार्छे गराई लिए तापनि सो रुपैयाँ तपाई देवीदाश मानन्धरको रुपैयाँ भएको हुनाले मेरा नाउँमा राखी छाड्न पनि मनासिब नपर्ने हुनाले तपाईका नाउँमा लेखी दिएको छुभन्ने व्यहोरा परेको देखिन्छ । उक्त लिखतबाट तिर्थदाश मानन्धरले तुल्सीनारायण मानन्धरबाट फार्छे गराई लिँदा देवीदाशको रुपैयाँबाट लिएको भन्ने देखिन्छ ।

१२. तत्काल विद्यमान कानुनी व्यवस्था तर्फ हेर्दा साविक मुलुकी ऐन साहू असामीको ८ नं. मा अंश नभई एकाघर सगोलमा बसेकाले अचल गैर बेचविखन गर्दा ऐनले आफूखुशी गर्न पाउने अरुको मन्जूरी लिनु नपर्ने बाहेक अरुमा एकाघरसंग बसेका सबैको मन्जूरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ लिखत नभए लिखत नहुनेले यसै सरहदमा भए ६ महीना र विदेश गएको भए एक वर्षसम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर गर्‍यो र मन्जूरी ठहरेन भने संगै बसेकोमा बेच विखन गरे पनि जाँदैन उजूर गर्नेको हक जति फिर्ता गराई बेच विखन गर्नेको नाउँमा कपाली तमसूक गराई वा जायजातबाट भराई दिनु, आफूले आर्जेको भए सम्म बस्नेको मन्जूरी लिनु पर्दैन, बेचविखन समेत गैर गर्नु हुन्छ भन्ने समेत उल्लेख भएको पाइन्छ । आफूले अचल सम्पत्ति बेच विखन गर्दासंग बस्नेको मन्जूरी लिनु पर्देन भन्ने  साहू आसामीको उक्त ८ नं. मा भएको व्यवस्था प्रतिवादीले ०३२।४।७ मा राजीनामा बिक्री गरेको अवस्थामा पनि मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा रहेको देखिन्छ । अर्थात् आफूले आर्जेको अचल सम्पत्ति आफूखुशी बेच विखन गर्न पाउने व्यवस्था देवीदाशले विवादको जग्गा खरीद गरे देखि बिक्री गर्दा तक यथावत रुपमा रहेको देखिन्छ ।

१३. अब विवादको जग्गा देवीदाशले आफूले आर्जेको हो वा हैन भन्ने सम्बन्धमा हेर्दा माथि उल्लेख गरेको २००२।९।७ को छोडपत्रको कागजबाट रुपैयाँ देवीदाशको परेको देखिन्छ । यसको अलावा वादी प्रतिवादीका बाबु काकाहरू बीच भएको २००६।२।१७ को बण्डापत्रको कागज हेरेमा विवादको जग्गा बण्डा भएको देखिँदैन । यस्तै गरी कालीमाटी सडक चौडा गर्दा विवादको जग्गा मध्ये केही जग्गा परी त्यसको सट्टामा बागमती अञ्चलाधीश कार्यालयबाट प्रदान गरिएको कि.नं.१८, १९ को जग्गा वादी प्रतिवादीहरूको नाउँमा संयुक्त दर्ता गरी दिए उपर प्रतिवादी देवीदाशको सर्वोच्च अदालतमा रिट परी सर्वोच्च अदालतबाट ०३४।११।९ मा फैसला हुँदा उक्त बागमती अञ्चलाधीशको ०३२।६।१४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको समेत पाइन्छ । यी सब कुराहरूबाट विवादको जग्गा देवीदाशको स्वआर्जित सम्पत्ति हो भन्ने स्पष्ट हुन्छ ।

१४. अतः उपर्युक्त बुँदा प्रमाण समेतले प्रतिवादीले आफूले आर्जेको सम्पत्ति आफूखुश गर्न पाउने नै हुँदा वादीहरू अंश नभई सगोलमा रहेको भन्ने आधारबाट पाँच खण्डको ४ खण्डमा लिखत बदर हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३९।९।१८।१ को इन्साफ मिलेको देखिएन । वादी दावी नपुग्ने ठहराएको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा वादी दावी नपुग्ने ठहरेकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।५।१२।६ को फैसला बमोजिमको ०३८।८।२९।२ को लगत र सर्वोच्च अदालतको ०३९।९।१८ को फैसला बमोजिमको ०४१।२।१५ को लगत कायम राख्‍नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी का.जि.अ.त.मा लगत दिनु ...... १

प्र. कुमार दाशले सर्वोच्च अदालतका ०३८।७।२५ को आदेश बमोजिम ०३८।१०।२ मा का.जि.अ.त.मा धरौट राखेको कोर्ट फी रु.११।५० र गणेशलालले ०३८।७।२६।४ मा धरौट राखेको कोर्ट फी रु.५।७५ निजहरूको दर्खास्त परे ऐनको रीत पुर्‍याई निजहरूलाई फिर्ता दिनु भनी ऐ.ऐ.मा लगत दिनु .....२

मुद्दा दोहर्‍याउँदा प्र. कुमारदाशबाट दाखिल भई सदर स्याहा भएको कोर्ट फी रु.१।र प्र. गणेशलालबाट दाखिल भएको कोर्ट फी. १।समेत वादीहरूबाट भराई पाउँ भनी प्र.हरूको दर्खास्त परे वादीहरू गणेशप्रसाद १, बद्रीनारायण १, पूर्णदाश १, बुद्ध कुमार १ समेत जना चारबाट ऐनको रीत पुर्‍याई प्रतिवादीहरूलाई दिलाई दिनु भनी ऐ.ऐ.मा लगत दिनु.... ३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु...४

 

उक्त रायमा हामीहरूको सहमती छ ।

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

न्या. महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४२ साल बैशाख २८ गते रोज ६ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु