शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३५८ - लेनदेन

भाग: २२ साल: २०३७ महिना: असार अंक:

निर्णय नं. १३५८   ने.का.प. २०३७

फुल बेञ्च

सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३६ सालको दे.फु.नं. २७

फैसला भएको मिति :  २०३७।२।१०।६ मा

निवेदक : धादिङ जिल्ला नौविसे गा.पं वडा नं. १ देवीथान बस्ने रामेश्वरी उप्रेती

विरूद्ध

विपक्षी : ऐ.ऐ वडा नं. ७ जामुनेडाँडा बस्ने नरहरीनन्द पाठक

मुद्दा : लेनदेन

(१) लेनदेन व्यवहारको ६ नं. मा लिखतमा ब्याज नलखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएकोले वादीको दृष्टिबन्धक लिखतमा थैली बुझाउनेको भाखा २ वर्षको मात्र ब्याज बुझाउने उल्लेख भई सो बाहेक धितो चलन नगरी कपाली भएको अवस्थामा थैलीको ब्याज बुझाउने लिखतमा नलेखिएकोले थैली बुझाउने भाखा वर्ष २ पछिको लिखत कपाली भएकोमा थैलीको ब्याज उपरोक्त लेनदेन व्यवहारको नं. ६ को कानुनी व्यवस्थाबाट नै नपाउने हुनाले ब्याज पाउँछ भन्न नमिल्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

फैसला

          न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक प्रतिवादी रामेश्वर उप्रेतीले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।

          २.  मुद्दाको विवरण यस प्रकार छ : ४ कित्ता जग्गा दृष्टिबन्धक लेखी ०१९।४।६ मा घरसारको मो.रु.६२००। कर्जा लिई ०१९।४।७।१ मा दृष्टिबन्धक पास गरी दिनुभएको ब्याज समेत नबुझाएको २ वर्षभित्र नालेश दिई चलन चलाई लिन नसकेको लिखत भएको मितिदेखि आजसम्म सावाँ ब्याज चुक्ती गरी देउ भन्दा दिन्न भनी जवाफ दिएकोले तमसुक मिति ०१९।४।६।७ देखि फिराद दर्ता हुने दिन ०२८।३।२४ सम्मको ब्याज समेत जम्मा मो.रु.११,२११।७६ र मुद्दा अन्तिम टुंगो नलागेसम्मको ब्याज समेत कपाली सरह दिलाई भराई पाउँ भन्ने समेत वादी ।

          ३.  रु.६२००। लिई दृष्टिबन्धक लिखत पास गरी दिएको हुँदा ब्याज बुझाउँदै आएको ०२१।८।२९ गते दरपीठ गराई ४२००। बुझाएको र बाँकी रु.२०००। मा पनि ब्याज बुझाउँदै आएपछि ०२७।१०।६ गते रु.१२००। बुझाई रु.८०० मात्र बुझाउनुपर्ने बाँकी छ झुठ्ठा दावी गरेमा सजाय गरिपाउँ भन्ने समेत प्रतिवादी ।

          ४.  लेनदेन व्यवहारको ५ नं. २ दफा अनुसार भर्पाई लिनुपर्ने सो लिएको भन्न, पेश गर्न नसकेकोले प्रतिवादीका भनाई अनुसार तिरे बुझाएको सबूत प्राप्त हुन नसकेको हुँदा दावी अनुसार सावाँ ब्याज भरी पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला । चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन । शुरू ठहर बमोजिम पूरै सावाँ ब्याज पाउने भन्न मिलेन प्रतिउत्तरमा लेखी देखाएबमोजिम रु.८००। मात्र बाँकी पाउने ठहर्छ बाँकी रु.८००। को ब्याज नपाउने ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको फैसला ।

          ५.  सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादीको निवेदन परेकोमा अनुमति भई निर्णय हुँदा तमसुकमा दरपीठ गरिएको आसामीको सहिछाप नभएको त्यस्तो दरपीठको आधारमा सावाँ बुझाएको भन्न पनि नमिल्ने हुनाले प्रतिवादीले वादीलाई तिर्न बुझाउन नपर्ने अरू कुनै सबूत गुजार्न नसकेको हुनाले वादीले प्रतिवादी रामेश्वर उप्रेतीबाट वादी दावा बमोजिमको सावाँ बराबर ब्याज भरी पाउने ठहराएको इन्साफ काठमाडौं जिल्ला अदालतको मनासिव छ बा.अं.अ.ले सावाँ रु.८००। मात्र भरी पाउने ठहराएको मिलेन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          ६.  म.क्षे.अ.को निर्णय उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा अनुमति प्राप्त भई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय हुँदा दृष्टिबन्धक तमसुकमा रूपैयाँको ब्याज वर्ष १ को सयकडा १० का दरले जो लागेको बुझाउँला सो रूपैयाँ तिर्ने भाका वर्ष २ को भयो भन्ने समेत उल्लेख भएको देखिन्छ यसरी ब्याज समेत बुझाउने शर्त राखी दृष्टिबन्धक पास गरी दिएकोमा ब्याज नबुझाएको र साहुले दृष्टिचलन गर्न नपाएकोमा कानुनी व्यवस्था के छ भनी हेर्दा प्रचलित मुलुकी ऐन लेनदेन व्यवहारको ३ नं. मा भोग वा दृष्टिबन्धक लेखाई लिएकोमा भोग बन्धकको हकमा लिखत भएको मितिले र दृष्टिबन्धकको हकमा भाका नाघेको मितिले २ वर्षभित्र बन्धक लिएको अचल सम्पत्ति साहुले वा निजको तर्फबाट चलन गर्नुपर्छ वा चलन गर्न नदिए चलन चलाई माग्न नालेश दिनुपर्छ सो म्यादभित्र नालेश नदिएमा बन्धकी लिखत कपाली सरह हुने देखिन्छ अब त्यसरी ब्याज समेत बुझाउने गरी भएको दृष्टिबन्धक लिखत कपाली सरह भएकोबाट ब्याज पाउने नपाउने कानुनी व्यवस्था के छ भनी हेर्दा प्रचलित मुलुकी ऐन लेनदेन व्यवहारको ६ नं. मा कर्जा लेनदेन भएकोमा ब्याजको ब्याज लिन हुँदैन लिइसकेको भए पनि फिर्ता गर्नुपर्छ लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन वर्ष १ को सावाँको सयकडा १० भन्दा घटी ब्याज लेखिएकोमा लिखत बमोजिम नै हुन्छ लिखतमा ब्याज लिने दिने कुरा लेखी ब्याजको अङ्क नकिटिएकोमा वर्ष १ को सावाँको सयकडा १० भन्दा बढी ब्याज भराउँदा वर्ष १ को सावाँको सयकडा १० भन्दा बढी भराउनु हुँदैन ब्याज नलेखी मुनाफा लिने दिने कुरा लेखिएकोमा पनि ब्याज सरह नै हुन्छ भन्ने उल्लेख भएको देखिएको र प्रस्तुत मुद्दाको लिखतमा ब्याज वर्ष १ को सयकडा १० का दरले जो लागेको बुझाउँला भन्ने लेखिएकोबाट वादीले ब्याज भरी पाउँदैन भन्न मिल्ने देखिएन वादीले प्रतिवादीबाट वादी दावा बमोजिमको सावाँ बराबर ब्याज भरी पाउने ठहराएको इन्साफ का.जि.अ.को मनासिव छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको इन्साफ मनासिव छ भन्ने समेत डिभिजन बेञ्चबाट ०३४।७।३० मा निर्णय भएको रहेछ ।

          ७.  प्रस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगीसाथ संलग्न न्यायिक समितिको सिफारिश पर्चामा म.क्षे.अ.ले दरपीठमा आसामीको सही नभएकोले लेनदेन व्यवहारको ५ नं. ऐनले प्रमाण नलाग्ने भनी तमसुकको पछाडि पट्टी रु.२२००। असूल भएको र अब बाँकी रु.४०००। भन्ने खुलाई लेखिएको लिखतको मुख्य प्रमाण नलगाई बुझाइसकेको भन्ने दावाको तमसुकमै लेखिएको उक्त रु.२२००। को सावाँ र ब्याज गरी रु. ४४००। समेत भराउने गरेको म.क्षे.अ.को फैसला कायम राखी फैसला भएकोबाट सर्वोच्च अदालतको फैसलामा प्रमाण ऐन, ०३१ को दफा ३।१४ र १९ मुलुकी ऐन भाग १ प्रारम्भिक कथनको नम्बर ४ को समेत प्रत्यक्ष त्रुटि हुनगएको देखिन्छ प्रस्तुत मुद्दामा सर्वोच्च अदालतले आफ्नो निर्णय जाँच गर्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको रहेछ ।

          ८.  यसमा निवेदक प्रतिवादी रामेश्वर उप्रेतीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको बहस सुनी निर्णयतर्फ विचार गर्दा जग्गा दृष्टिबन्धक लेखी १९।४।६।७ मा रु.६२००। कर्जा लिई ०१९।४।७।१ मा रजिष्ट्रेशन पास समेत गरी दिएको धितो समेत चलन गर्न नदिएको मैले चलन चलाई पाउँ भनी उजूर पनि नगरेको हुँदा कपाली भएकोले सावाँ ब्याज भरी पाउँ भन्ने वादी नरहरि नन्द पाठकको वादी दावी भएकोमा वादीले प्रतिवादीबाट वादी दावा बमोजिमको सावाँ बराबर ब्याज भरी पाउने ठहर्‍याएको इन्साफ का.जि.अ.को मनासिव छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको इन्साफ मनासिव छ भन्ने ०३४।७।३० मा डिभिजन बेञ्चबाट निर्णय भएकोमा चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भनी निवेदक प्रतिवादीको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा मुद्दा दोहर्‍याई दिने बक्स भइआएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहोरी निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको सावाँ ब्याज भरी पाउने ठहराएको स.अ.डिभिजन बेञ्चको निर्णय मिलेको छ छैन के रहेछ भन्ने कुरामा नै निर्णय दिनुपर्ने प्रस्तुत मुद्दा देखियो ।

          ९.  तत्सम्बन्धमा विचार गर्दा प्रतिवादी निवेदक रामेश्वरले विपक्षी वादीलाई गरी दिएको १९।४।७ मा रजिष्ट्रेशन पारित भएको लिखित हेर्दा रु.६२००। सापटी लिए बापत जग्गा किन्न र घर खर्च गर्न लियाको ठीक साँचो हो यिन रूपैयाँको ब्याज सयकडा १० का दरले जो लागेको बुझाउँला सो रूपैयाँको धितो तपसीलको जग्गा दृष्टिबन्धक लेखिदिया सो रूपैयाँ तिर्न भाका आजको मितिले वर्ष २ भयो सो भाकाभित्र सावाँ ब्याज चुक्ती गरी बुझाउँला बुझाउन सकिन भने सो जग्गा भोग चलन गरी खानु धितो कच्चा ठहरे धनीको थैली मेरो घरघरानाबाट उपर गरी लिनु भन्ने लिखतमा लेखिएको व्यहोराबाट नै यो थैली रु.६२००। को थैली बुझाउने भाषा वर्ष २ को थैलीको ब्याज वादीले पाउने प्रष्ट देखिएको छ ।

          १०. अब सो थैली बुझाउने भाखा नाघेपछि वादीले लिखतमा लेखिएको धितो चलन गर्न नदिएको भनेको र चलन गरिपाउँ भनी नालेश उजूर समेत नगरेकोबाट लेनदेन व्यवहारको ३ नं. बमोजिम लिखत कपाली सरह भएकोले सो थैली बुझाउने भाखा नाघेको मितिले पछिको ब्याज वादीले पाउने नपाउने के रहेछ भन्ने हकमा विचार गर्दा लेनदेन व्यवहारको ६ नं. मा लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएकोले वादीको दृष्टिबन्धक लिखतमा थैली बुझाउने भाखा २ वर्षको मात्र ब्याज बुझाउने उल्लेख भई सो बाहेक धितो चलन नगरी कपाली भएको अवस्थामा थैलीको ब्याज बुझाउने लिखतमा नलेखिएकोले थैली बुझाउने भाखा वर्ष २ पछिको लिखत कपाली भएकोमा थैलीको ब्याज उपरोक्त लेनदेन व्यवहारको नं. ६ को कानुनी व्यवस्थाबाट नै नपाउने हुनाले ब्याज पाउँछ भन्न मिलेन ।

          ११.  साहुले दाखिल गरेको उपरोक्त दृष्टिबन्धक लिखत सक्कलको पीठमा ०२१।८।२९।२ मा यो तमसुक बमोजिमको रु.६२००। मध्ये बुझी लिएको रु.२२००। र बाँकी रु.४०००। भन्ने लेखिएको देखिन्छ । जुन तमसुकको सावाँ थैलीमा दावी गरेको छ त्यस तमसुकको सावाँ मध्ये रु.२२००। बुझी लिएको भन्ने तमसुकको पीठमा लेखिएको छ भन्ने साहुको जिम्मामा रहेको तमसुकको पीठमा सावाँ मध्ये रु.२२००। बुझी लिएको भन्ने जनिएको रु.२२०० सावाँमध्ये आसामीले बुझाएको होइन भन्न न्यायोचित नहुने आसामीले थैली मध्ये बुझाएको बेगर तमसुकको पिठमा यति रूपैयाँ बुझाएको भन्ने कुनै अवस्थामा पनि नलेखिनेमा बुझाएको भन्ने लेखिएको देखिएकोले सो रु.२२००। आसामी निवेदक प्रतिवादीले उक्त लिखतको थैली रु.६२००। मध्ये उक्त रु.२२००। बुझाएको समेत ठहर्छ ।

          १२. अतः उपरोक्त कारणको आधारमा दृष्टि तमसुक ०१९।४।७ मा रजिष्ट्रेशन पारित भएको मितिले थैली बुझाउने भाखा वर्ष २ को सयकडा १० का दरले हुने थैली रु.६२००। को ब्याज रु.१२४०। र उपरोक्त लेखिएबमोजिम लिखतको थैली रु.६२००। मध्ये पीठमा दरपीठ गरी बुझाएको थैली रु.२२००। कट्टी गर्दा बुझाउने बाँकी रहेको थैली रु.४०००। समेत जम्मा रु.५२४०। प्रतिवादी निवेदक रामेश्वरबाट विपक्षी वादी नरहरी नन्द पाठकले भरी पाउने ठहर्छ । सावाँ बराबर ब्याज भराई दिने गरेको म.क्षे.अ.को इन्साफ सदर गरेको डिभिजन बेञ्चको ०३४।७।३० को निर्णय मिलेको देखिएन । डिभिजन बेञ्चको इन्साफ केही उल्टी हुने समेत ठहर्छ । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ डिभिजन बेञ्चको केही उल्टी भएकोले शुरू का.जि.अ.को ०२९।३।२८।३ को फैसला र बा.अं.अ.को ०३२।५।२७ को फैसला बमोजिमको लगतमा कुनै काम गर्ने कुनै लगत काटि दिने समेत गरी गरेको म.क्षे.अ.को ०३३।९।२ को फैसला बमोजिमको लगत बमोजिम समेत हाल केही गर्नु परेन सो तिनै अदालतको लगत व्यहोरा जनाई सम्पूर्ण लगत काटि दिने भनी का.जि.अ.त.मा कानुन बमोजिम लगत दिने .................. १

विपक्षी वादी नरहरी नन्द पाठक के माथि इन्साफ खण्डमा लेखिएबमोजिम भरी पाउने ठहरेको सावाँ ब्याजको बिगो रु.५२४०। र वादीले फिराद गर्दा राखेको कोर्टफी रु.४६८।४७ मध्ये उक्त बिगोको लाग्ने कोर्टफी रु.२२९।६० र नक्कल दस्तूर रु.।४० इतलाय दस्तूर रु.।२५ समेत प्रतिवादीबाट भरी पाउने हुँदा शुरूमा रहेको कोर्टफी ४६८।४७ मध्ये वादीले भरी नपाउने कोर्टफी रु.२३८।८७ कट्टी गरी अरू भरी पाउने कोर्टफी रु.२२९।६० नक्कल दस्तूर रु.।४० इतलाय दस्तूर रु.।२५ समेत जम्मा रु.२३०।२५ सावाँ ब्याजको बिगो रु.५२४०। समेत प्रतिवादीबाट भरी पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ (११) को म्याद ३ वर्षभित्र प्रतिवादीको जायजात देखाई दरखास्त गरे भरी पाउने बिगोको २।। दस्तूर लिई अरू कोर्टफी नक्कल दस्तूरमा केही नली कानुनको रीत पुर्‍याई प्रतिवादी रामेश्वर उप्रेतीबाट वादीलाई भराई दिनु भनी का.जि.अ.त.मा कानुन बमोजिम लगत दिने ................... २

प्रतिवादी रामेश्वर उप्रेतीले शुरू काठमाडौं जिल्ला अदालतको फैसला उपर पुनरावेदन गर्दा राख्नुपर्ने कोर्टफी र शुरूले भराई दिने गरेको कोर्टफी बापत वेदनिधी उप्रेतीको जेथाजमानी दिई बा.अं.अ.मा पुनरावेदन गरेको देखिएकोले अब सो जेथाजमानी दिएको कोर्टफी केही हाल नलाग्ने भएकोले वेदनिधि उप्रेतीको जेथाजमानी फुकुवा गरी दिनु भनी सम्बन्धित कार्यालयमा लेखी पठाइदिनु ................३

 

हामीहरू सहमत छौं ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

न्या. त्रैलोक्यराज अर्याल

 

इति सम्वत् २०३७ साल जेष्ठ १० गते रोज ६ शुभम् ।

S]

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु