निर्णय नं. १३६१ - उत्प्रेषणको आदेश जारी गरिपाउं

निर्णय नं. १३६१ ने.का.प. २०३७
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३६ सालको रिट नम्बर ८०३
आदेश भएको मिति : २०३७।३।१६।१ मा
निवेदक : जि. सुनसरी महेन्द्रनगर गा.पं. वडा नं ५ बस्ने हेमराज घिमिरे
विरूद्ध
विपक्षी : ऐ ऐ. बस्ने टेकबहादुर गुरुङ समेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं
(१) दुईथरले शान्ति कायम गर्न केही कुरा उल्लेख गरी कागज गर्छ भने त्यसको एउटा भागलाई मात्र प्रमाण लिई निर्णय गर्नु त्रुटिपूर्ण हुने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३६।५।१४।५ मा दर्ता भएको रहेछ ।
२. तथ्य यसप्रकार छ : २०३४ सालमा नापी दर्ता भएको जि.सु.महेन्द्रनगर गा.पं.वार्ड नं. ५ कि.नं. २७ को ज.बि.३–०–१६ जग्गाको म मोही हुँ ०३० सालसम्म ज.ध.ठोसरी गुरुङले अधियाँ बाडफाँड गरेको भर्पाई दिएको छ ०३४ सालको बाली मदन गुरुङले बुझी लगी भर्पाई दिन आलटाल गरे भर्पाई दिलाई पाउँ भन्ने समेत जि.भू.सु.का.मा परेको निवेदन र उक्त जग्गा मदन गुरुङले हेमराज घिमिरेलाई बिक्री गरी निज जग्गाधनीले मोही बेदखली गरे निजलाई कानुन बमोजिम गर्न भू.प्र.का.मा आदेश गरिपाउँ भन्ने कोशी अञ्चलाधिश कार्यालयमा ०३४।१।२५ मा परेको टेकबहादुर गुरुङको निवेदन विपक्षी मदन गुरुङले र समनको म्याद गुजारेको र जग्गा किन्ने हेमराज घिमिरेले मनमायाको ऐलानी भित्रको मदन गुरुङका नाममा रहेको जग्गा मोही नभएकोले खरीद गरी लिएको हुँ जग्गाको बाली लुटेमा जि.का.मा उजूर समेत गरी ०३५ सालको बाली आधा–आधा खाने र ०३६ सालको बाली छाडी दिने छु भनी कागज गरेको छ । ऐलानी जमीन दर्ता गराएको र यस्ता जमीनमा मोही लाग्न नपर्ने भन्ने समेत बयान भएकोमा महेन्द्रनगर गा.पं.को सिफारिश र सम्बन्धी क्षेत्रमा गई बुझी आउँदा मोहीले साविक देखि जोतखन आवाद गरी आएको बुझिएको भू.सं.ऐनको दफा २४(१) बमोजिम भर्पाई पेश भएको ०३५ सालको बाली आधा बुझ्न मञ्जुर भएकोले जोतेको कबूलियत मान्न सकिने हुँदा ऐनको दफा २५(१) बमोजिम मोही हक कायम गरी दिने ठहर्छ भन्ने समेत जिल्ला कार्यालय भूमिसुधार कार्यालय इनरुवा, सुनसरीको ०३६।३।२२ को फैसला रहेछ ।
३. रिट निवेदन जिकिर यसप्रकार छ : भूमिप्रशासककहाँ भर्पाई दिलाई पाउँ भन्ने उजूर परी मेरा दाता मदन गुरुङबुझिएको र भर्पाई दिनुपर्नेमा नपर्नेमा सीमित रही निर्णय गर्नुपर्नेमा टेकबहादुरलाई मोही कायम गर्ने निर्णय गरेको अ.बं.१८४क १८५ को विपरीत भई त्रुटिपूर्ण छ । भर्पाई दिलाई पाउँ भन्ने र मोही बेदखल गरे भन्ने भिन्ना–भिन्नै दिएको निवेदनको निर्णय छुट्टाछुट्टै गर्नुपर्नेमा एउटै उजूरी कायम गरी गरेको निर्णय अ.बं.७२, १८४क, १८५ समेतको विपरीत भई त्रुटिपूर्ण छ । मोही बेदखली गर्यो भनी कोशी अञ्चलाधिश कहाँ दिएको निवेदन लिई भूमिप्रशासकले हेरी निर्णय गर्न मिल्ने होइन यो ऐनको दफा ३१क.को विपरीत छ । ०३४ सालमा गएको मन्त्रीस्तरीय उच्च आयोगको निर्णयानुसार दाता मदन गुरुङका नाममा दर्ता भई ज.ध.प्रमाण पूर्जा पाएको जग्गा हो । त्यस अघि कसैको नाममा दर्ता थिएन । त्यस अवस्थामा कसैले कुनै भर्पाई गरी दिएको भए पनि जग्गावालाले गरी दिएको भर्पाई भन्न मिल्दैन सो भर्पाईलाई ऐनको दफा ३४(२) अन्तर्गतको भर्पाई भनी भूमिप्रशासकले आधार लिएको भू.सं.ऐन, ०२१ को दफा ३४(३) को विपरीत हुनुको साथै ऐन लागू हुनु पहिलेदेखि कमाइआएको भनी ऐनको दफा २५(१) अन्तर्गत मोही कायम हुने ठहर्छ भन्ने विपक्षी भूमिप्रशासकको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण छ । मोही कायम हुन २५(१) अन्तर्गत ऐन लागू हुनुभन्दा अघिदेखि कमाएको प्रमाणित हुनुपर्छ या जग्गावालाले कबूलियत गरी कमाउन दिएको हुनुपर्छ यसमा सो अवस्था विद्यमान छैन गा.पं.को सिफारिशको आधारमा मोही कायम गरेको त्रुटि छ । उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षी श्री भूमिप्रशासकको ०३६।३।२२ को फैसला बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर ।
४. विपक्षीहरूसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३६।४।२४।१ को आदेश ।
५. रिटकर्ता हेमराजले ०३५ सालको बाली बापत हामी दुवैथरी मिली बाली बाँडफाँड गर्नेछौं भनी जि.का.मा कागज गरेको देखिएको र जग्गा कमाएकै होइन भन्ने प्रतिवाद गरेको नपाइँदा भू.सु.ऐन, ०२१ को दफा २५(२) बमोजिम मोही कायम हुने गरी भएको निर्णय न्यायोचित छ दावी खारेज हुन अनुरोध छ भन्ने समेत जिल्ला भूमिसुधार कार्यालय सुनसरीको लिखितजवाफ भूमिसुधार कार्यालयबाट भएको निर्णय न्यायोचित छ । ऐलानी जग्गा जोत्नेलाई भू.सु.ऐन अन्तर्गत मोही भन्न सकिँदैन, तर सो जग्गा नम्बरी हुँदाका अवस्थामा सो जोताहा स्वतः मोही हुने अवस्था भू.सु.ऐन, ०२१ को दफा २५(१) मा उल्लिखित छ । सोही अनुरूप तथा दफा २५(२) बमोजिम मदन गुरुङदर्तावाला जग्गाधनी कायम भइसकेपछि पनि निजले मेरो जोतमा चित्त बुझाई बसेबाट म कानुन बमोजिम मोही भएको कुरामा विवाद छैन । सम्पूर्ण सबूत प्रमाणको आधारमा मोही कायम गरेको न्यायपूर्ण छ कुनै त्रुटि छैन । रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत टेकबहादुर गुरुङको लिखितजवाफ ।
६. निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना र विपक्षी कार्यालयतर्फबाट बहस गर्न खटिनुभएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय विपक्षी टेकबहादुरतर्फका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले गर्नुभएको बहस समेत सुनियो ।
७. प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुने हो होइन ? सो कुराको निर्णय दिनुपरेको छ ।
८. यसमा निर्णयतर्फ हेर्दा यो झोराको जग्गा हो भन्ने कुरामा विवाद देखिँदैन भूमिसुधार अधिकारीको लिखितजवाफमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(२) अन्तर्गत विपक्षी टेकबहादुरलाई मोही कायम गरेको भनाई छ । भूमिसुधार अधिकारीले आफ्नो निर्णयमा प्र.जि.अ.समक्ष यसै जग्गाको बाली सम्बन्धमा विवाद उत्पन्न हुँदा दुवैथर मिली गरेको कागजमा ०३५ सालको बाली आधा–आधा बाँडफाँड गरी लिने भन्ने कुरा उल्लेख भएकोलाई नै आधार लिएको देखिन्छ । तर वरिष्ठ सरकारी अधिवक्ताले बेञ्च समक्ष देखाएको मिसिलबाट सोही कागजमा ०३६ सालमा प्रत्यर्थीले जोतकोड नगर्ने भन्ने शब्द उल्लेख भएको छ । यसरी दुईथरले शान्ति कायम गर्न केही कुरा उल्लेख गरी कागज गर्छ भने त्यसको एउटा भागलाई मात्र प्रमाण लिई निर्णय गर्नु त्रुटिपूर्ण हुन्छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(२) अन्तर्गत मोही कायम गर्न उक्त ऐनको दफा ३४(१) बमोजिम कबूलियत हुनुपर्ने अनिवार्य छ । सो कानुनी व्यवस्था अनुसार प्रस्तुत मुद्दामा कबूलियतको सर्वथा अभाव देखिएको छ । यस्तो अवस्था कबूलियत बेगर अन्य कुराहरूको आधार लिई प्रत्यर्थी टेकबहादुरलाई मोही कायम गर्ने गरी गरेको ०३६।३।२२ को फैसला त्रुटिपूर्ण देखिन आयो ।
९. अतः उपरोक्त उल्लेख भएअनुसार जिल्ला भूमिसुधार कार्यालय सुनसरीबाट भएको मिति ०३६।३।२२ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेशको प्रतिलिपि जानकारी निमित्त विपक्षी कार्यालयमा पठाउन महा–न्यायाधिवक्ताको कार्यालयमा पठाई नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
म सहमत छु ।
न्या. हेरम्बराज
इति सम्वत् २०३७ साल आषाढ १६ गते रोज १ शुभम् ।