शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३६७ - जबरजस्ती करणी

भाग: २२ साल: २०३७ महिना: श्रावण अंक:

निर्णय नं. १३६७ ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३५ सालको फौ.विविध नं. ६०

फैसला भएको मिति :  २०३७।४।१२।५ मा

निवेदक : जि. सुनसरी आइतवारे वकलौरी गा.पं.वार्ड नं. ३ बस्ने जि.सुनसरी वकलौरी गा.पं.को प्रधानपञ्च इन्द्रप्रसाद आचार्य

विरूद्ध

वादी : इद्रिश मियाँको जाहेरीले श्री ५ को सरकार

मुद्दा : जबरजस्ती करणी

(१)  आमा भनी प्रहरीमा बयान गर्ने गोगिया र अदालतमा आई आमा भनी बयान गर्ने सायरा भनेकाको बयान परस्पर नमिल्दो देखिएको र एउटै व्यक्ति हो भन्ने तथ्यसाथ यकीन हुन नआएकोले निजको बयानमा भर गर्न नमिल्ने ।

(प्रकरण नं. २५)

(२)  जबरजस्ती करणी भएपछि पनि सँगै सुतेको भनी बयान गरेको समेत देखिन आएकोले यस्तो अवस्थामा जबरजस्ती करणी ठहर्‍याउन न्यायको रोहमा मिल्ने नदेखिने ।

(प्रकरण नं. २५)

निवेदकको तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

श्री ५ को सरकारको तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

फैसला

          न्या. सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराज सरकारका पाउमा निवेदक इन्द्रप्रसादको हकमा टंकप्रसाद सत्यालले चढाएको बिन्तिपत्र जाहेर हुँदा मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भन्ने समेत मिति ०३५।८।२२ को हुकुम प्रमांगी बक्स भई आएबमोजिम विविधको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य निम्नानुसार छ ।

          २.   २०३१।८।१५ गते बेलुका अं.११ बजेको समयमा प्रधानपञ्च इन्द्रप्रसाद आचार्य १, धनबहादुर श्रेष्ठ १ समेत २ जनाले मेरो घरमा आई माछा नदिने छोरीलाई भान्से नपठाउने साले भनी कुटपिट गरी रातभर कोठामा बन्द गरी थुनी राखे मेरी श्रीमती र छोरी ममिनालाई प्रधानपञ्चले बोलाएको छ भनी राजकुमार बाहुन मेरो घरमा आई बोलाएछ छोरी र श्रीमती प्र.पं.को ठाउँमा गएछन् आमालाई डर धाक देखाई घरतिर पठाएछ, छोरी १३ वर्षकी ममिनालाई माथि तल्लाको कोठामा लगी सुताई छोरीलाई जबरजस्ती करणी गरेछ भोलिपल्ट उज्यालो भएपछि छाडी दिएछ थुनामा राखेको कुरा नभन्नु भनी भने ६ वर्ष जेल जालास् भनेपछि राजकुमार लेख्ने प्रधानपञ्च अराउने गरे केही लेखे केही नलेखेका कागजमा सही गराई बिहान ७।८ बजे मलाई छाडी दिएपछि घर जाँदा माथि लेखिएको श्रीमती र छोरी प्रधानपञ्चको घरमा गएको र छोरीलाई जबरजस्ती करणी गरेको समेत कुरा थाहा पाई मौकैमा उजूर गर्नुपर्ने कुरा थाहा नहुँदा पछि मात्र थाहा पाएकोले छोरीलाई लिई उजूर गर्न आएको छु भन्ने समेत इद्रिश मियाँको जाहेरी दरखास्त ।

          ३.   ०३१।८।१५ गतेका राति अं.११ बजे मेरा बाबुलाई प्र.पं.र धनबहादुरले पञ्चायततर्फ लगेपछि राजकुमार आई प्र.पं.ले बोलाएको छ भनी मलाई र आमालाई प्र.पं.को डेरामा लगे । आमालाई हकारी घरतिर पठाए मलाई निज प्र.पं.को माथिको ओछ्यानमा लगी दक्षिण सिरान उत्तर गोडा गरी उत्तानो पारी सुताए मेरो सारी पल्टाई नाङ्गो पारी आफू बसी दुवै मेरो खुट्टा निजको तिघ्रा माथि राखी आफू घोप्टो परी मेरो दुवै कुममा समाती निजले आफ्नो लिंग मेरो योनीमा जोडी बलका साथ जबरजस्ती घुसाए मलाई अति पिडा भई सहन नसकी छटपटाउँदा नकरा कराइस् भने तेरो ज्यान लिन्छु तेरो बाबुलाई ६ वर्ष जेल राखी दिन्छु भन्ने डर धाक देखाउँदै निज इन्द्रप्रसादले बायाँ हातले मेरो मुख छोप्दै दायाँ हातले कुम समाती जबरजस्ती करणी गरी मेरो योनीबाट रगत समेत आयो । जबरजस्ती करणी गरिसकेपछि आफूसँगै सुताई उज्यालो हुने बेलामा आफ्नु घर जा भनी पठाएकोले घरमा गएको हुँ मेरो इच्छा विरूद्ध करणी गरेको हुन मेरो योनी जँचाई अपराधीलाई कानुन बमोजिम सजाय गरिपाउँ भन्ने समेत ममिना मियाँनीले प्रहरीमा गरेको बयान ।

          ४.   ०३१।९।२ को पत्र साथ आएको वर्ष १३ को ममिनालाई जाँच गर्दा योनीको बाहिरी भाग दुवै लेविया मेजिस सुनिएको देव्रे पट्टि घाउ भई हाइमेन छेदन भएको तथा योनीको मार्ग फैलिएको आदि लक्षण देखिएको भन्ने समेत ईनरुवा अस्पतालको ०३१।९।२ गतेको पत्र ।

          ५.   १५।२० दिन अगाडि प्र.पं.कै घर डेरामा आउँदा जाहेरवाला इद्रिसलाई बाँधी राखेको रहेछ पञ्चायतमा लगी थुन भनेकाले प्र.पं.का आदेशले इद्रिसलाई थुनी पालो बसेको हुँ म पञ्चायतका पिउन हुँदा प्र.पं.को अडर मानी पालो बसेको हुँ अरू कुरा थाहा भएन भन्ने समेत डिल्लीराम गौतमको प्रहरीमा गरेको बयान ।

          ६.   ०३१।८।१५ को दिन रात म धरान न.पं.वडा नं. ९ मा बस्ने दाजु फणिन्द्रप्रसादको घरमा छु धनबहादुर राजकुमार, कहाँ छ थाहा छैन सो १५ गते उक्त जाहेरवाला इद्रिसको छोरीलाई जबरजस्ती करणी गरेको छैन निजको परिवारलाई हटिया लाग्ने जग्गामा घर गरी बसेको हुँदा चिनेको हुँ । २।३ महीना देखि जाहेरवालाले टुहरी केही फुलोट नाम गरेकी हिन्दूकी छोरीलाई बिक्री गरेको कुरा बुझिएकोले निजलाई प्र.पं.को हैसियतले हकार पकार सम्म गरेको थिएँ सो कारणबाट म उपर झुठ्ठा बयान गरेको हुन् भन्ने समेत व्यहोराको प्र.पं.इन्द्रप्रसाद आचार्यले प्रहरीमा गरेको बयान ।

          ७.   श्रीमान, कृष्णजी, सम्झना कचौलवालाहरू धेरै ठीक बाटो तिर आउँदैछन ती घरपनि काटीसक्यो, मैले मइन्टोल दिलाई दिन्छु भनी दिएकोमा आज लिन आउँदै छन् गल्ती महसूस गराउँदै दिनुहोला विश्वास मानिस पठाउँदै छु अरू भेटमा भनी प्र.पं. इन्द्रप्रसादले वकलौरी गा.पं.बाट प्र.चौकी पकलीलाई ०३३।८।१५ गते लेखेको चिठ्ठी ।

          ८.   प्र.पं.१४ गते नै धरानतर्फ जानुभएको थियो । १५ गते वारदातको दिनमा निज घरमा छैन राजकुमार धनबहादुर कहाँ थिए थाहा छैन निज प्र.पं.इन्द्रप्रसाद त्यस्तो जबरजस्ती करणी गर्ने खालको मानिस होइन चालचलन राम्रो छ जाहेरवालाले किन उजूर गरेको थाहा छैन भन्ने समेत व्यहोराको प्रहरीबाट भएको सरजमीन मुचुल्का ।

          ९.   इन्द्रप्रसादले करणी गरेको होइन झुठ्ठा उजूर हो भन्ने सरजमीनको भनाई छ । जाहेरवालाले झुठ्ठा उजूर गर्नुपर्ने कारण खुल्दैन १५ गते आफ्नै हस्ताक्षरले वकलौरीबाट चिठ्ठी लेखेको चिठ्ठी प्राप्त हुन आएबाट र करणी यस्तो चिज हो कसैले घरमा थाहा नदिई गरी गर्ने कुरा हुँदा सो कुरा गरेको देख्न कोही नहुने भएकोले १३ वर्षको बालिका ममिनालाई जबरजस्ती करणी गरेकोले मुलुकी ऐनमा जबरजस्ती करणीको महलको १ नं. को परिभाषाभित्रको अभियोग हुँदा कारवाही भई सोही महलको ३ बमोजिम सजाय हुनुपर्ने र राजकुमार धनबहादुरलाई सोही ऐनको ४ नं. बमोजिम हुन समेत माग गरिएको छ भन्ने व्यहोराको स.अ.तथा प्रहरी समेतको संयुक्त प्रहरी प्रतिवेदन ।

          १०.  जाहेरवाला इद्रिश मियाँले वकलौरी पञ्चायत अन्तर्गतमा घर बनाई बसेको कर बुझाउन ल्याउनु भनी पत्र लेखी पठाएको थियो । हिन्दूको छोरी विदेशमा लगी बिक्री गरे भन्ने मौखिक कुरा सुनेको यस्तो कार्य गर्नु हुँदैन भनी झपारेको थिएँ, अब प्र.पं.ले त्यसै छाड्ने भएन भनी डरले इद्रिस गाउँबाट भागी हिंडेको वकलौरी चौकीको हवलदारले लकडी चोरी गरी घर बनाएको भनी मैले सुनी जि.पं.का.मा मैले भनेको थिएँ सो रिस इवी राखेको थियो जि.प्र.ई.का.का इन्सपेक्टर खड्गबहादुर समेत मार्ग १ गते गा.पं.मा आउनुभएका बखत मद्दतका लागी लेखी पठाएको पत्र नपाइएको प्रहरी चौकीले नबुझी दिएको कसरी काम चलाउने भनी निज इन्स्पेक्टरसँग भन्दा सो पत्र निजले च्याती दिएकोले सो सम्बन्धमा मैले जाँचबुझ केन्द्रमा निवेदन दिएको हुँ सो उजूर गरेको थाहा पाएपछि सोही इवी राखेको थियो । प्रहरीको हवल्दारले इद्रिसलाई ल्याई मार्ग १५ गते वारदात नगरेकोमा मलाई जि.प्र.नि.का.बाट पक्री तुरुङमा राखी कुटपीट डर देखाई जबरजस्ती करणी मुद्दा परेको केही थाहा नभएको बयान गर्दा थाहा पाएकोले ०३१।८।१५ गते ७ बजे देखि राति ११ बजेसम्म धरान शिवसिनेमा हलमा छु ममिनाले म उपर पोल गरेको पनि बाबुको र प्रहरी समेतको सिकाइमा पोल गरेको मात्र हो । मेरो विवाह भएको छैन म वारदातमा नहुँदा मैले कुनै कसूर गरेको छैन रिस इवीबाट झुठ्ठा आरोप लगाएको हुँदा अभियोगबाट फुर्सद पाउँ भन्ने समेत प्र.पं.इन्द्रप्रसाद आचार्यले अदालतमा गरेको बयान ।

          ११.   ०३१।८।१५ का दिन बिहानै फारवीसगञ्ज गई २।३ दिन पछिमात्र घर गाउँमा फर्किएको हुँदा सो दिन राति ११ बजे घर गाउँमै नभएको हुँदा जाहेरवालालाई मैले बोलाई प्र.पं. इन्द्रप्रसादको घरमा पुर्‍याएको समेत होइन । जाहेरवालाको छोरा अं.१० वर्षको अंसुल मियाँलाई पठाइदिनु भनी जाहेरवालाले भनेकोमा मैले फुर्सत छैन भनी भनेबाट मेरो उपर झुठ्ठाउजूर गरेको हो भन्नेसमेत व्यहोराको राजकुमारआचार्यले अदालतमा गरेको बयान ।

          १२.  ०३१।८।१५ का दिन बिहानै फारवीसगञ्ज गई २।३ दिनमा घर आएकोले सोही रात ११ बजे जाहेरवालाको घरमा गई निजलाई बोलाई प्र.पं.इन्द्रप्रसादका घरमा पुर्‍याएको समेत होइन । जाहेरवालाले माछा किन्न भनी मबाट रु.४०। लगेको नदिएकोले बराबर ताकेता गरेको सोही इवीबाट म घर गाउँमै नभएको मानिसलाई सो १५ गते राति ११ बजे बोलाउन आएको थियो भनी झुठ्ठा उजूर गरेको भन्ने समेत धनबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।

          १३.  ०३१।८।५ गतेको राति भात खाई सुती निदाएको बखत अं.११ बजे टायममा हाम्रै गाउँको प्र.पं.इन्द्रप्रसाद र गाउँकै धनबहादुर श्रेष्ठ हाम्रो घरमा आई ढोका घच्घचाउँदा आमा उठी बाबुलाई प्र.पं.ले बाहिर बोलाएको छ भनी भनेपछि बाबु बाहिर गए । प्र.पं.ले बाबुलाई कुटपिट गरेछन् र आमा रुन लाग्दा मेरो निन्द्रा खुलेछ । बाबुलाई पक्री पञ्चायतमा लगे । केही बेरपछि राजकुमार हाम्रा घरमा आई तिमी आमाछोरीलाई प्र.पं.ले बोलाएको छ हिँड भने । म र आमालाई प्र.पं.को घर लगे आमालाई हकार पकार गरी जा घर भनी पठाए र प्र.पं.ले मलाई हात समाती निजको घर तल्ला माथि लगी आफ्नु ओछ्यानमा बसाए । म आफ्नै घर जान्छु भन्दा यही बस् भनी राखे । म रोई कराई गर्दा पछि खुकुरीले काटछु चुप लाग भनी डरको मारे केही भन्न सकिन निज प्र.पं.ले मलाई आफ्नो ओछ्यानमा सुताई उत्तानु पारी मेरो सारी फर्काई निजले मेरो दुवै खुट्टा निजको आंग माथि राखी मेरो योनीतिर निजको लिंग राखी ४।५ पटकभित्र बाहिर गर्दा मेरो योनी दुख्यो र रोई कराई गर्दा कराउछेस् यही खुकुरीले काटछु भनी डर देखाई तैपनि पिडा सहन सकिन र निजले १ हातले मेरो मुख थुनी १ हातले मेरो काँध कुम समाई करणी गर्दा योनीबाट रगत आयो र करणी गरी सिद्धिएपछि मलाई निज प्र.पं.ले सोही ओछ्यानमै राखी च्यापी सुताए र बिहान हुने अवस्था अं.४ बजेको टायममा जा घर भनी निजले ढोका खोली दिएकोले घर गएको हुँ । सो सबै कुरा खुलाई प्रहरीमा बयान गरेको छु । इन्द्रप्रसादले करणी गर्नुभन्दा अगाडि मेरो कुनै करणी लिनुदिनुभएको छैन । पहिला पटक निज प्र.पं.ले मलाई जबरजस्ती करणी गरेको हो भन्ने समेत ममिना मियाँनीले अदालतमा गरेको बयान ।

          १४.  प्र.पं. इन्द्रप्रसादले जबरजस्ती करणी गरेको होइन । वकलौरी गा.पं.को म पिउनमा थिएँ । ०३१ साल मार्ग महीना देखि पिउन पदबाट राजीनामा दिई हिँडेको हुँ ०३१।८।१२ गते आ.व.गा.पं.मा नै छु । सो दिन प्र.पं.इन्द्रप्रसाद धरान गएको थियो इद्रिसलाई पाता कसी पञ्चायतमा लगी थुनेको समेत कुनै कुरा होइन मैले ०३१।९।३ को प्रहरीमा गरेको कागज मैले राजीखुसीबाट गरेको होइन । प्रहरीले कुटपिट गरी नपढी नसुनाई सही गराएकोले सो बारे मैले घाउ जाँच समेत गरेको छु । निज ममिनालाई मैले चिनेको छैन भन्नेसमेत डिल्लीप्रसादको अदालतमा गरेको बयान ।

          १५.  मेरी छोरी ममीना मियानीलाई प्र.पं.इन्द्रप्रसादले जबरजस्ती करणी गरेको होइन ०३१।९।१७ गते छोरी ममिना बाख्रा चराउन जाँदा कंजरा खोला नजिक लडी राखेको सखुवाको गाछी लडेकोमा फट्कन लाग्दा लडी छोरीको योनीमा घाउ भएको थियो । मैले नाउँ नजानेको मानिसहरूको सिकायतमा लागी पौष २ गते प्रहरीमा जाहेर गरी सो २ गते नै डाक्टरले प्रहरी मातहत जाँच गरेका थिए । छोरी ममिनाले प्रहरीमा र अदालतमा समेत सिकावटमा लागि प्र.पं.इन्द्रप्रसादले जबरजस्ती करणी गरेकै हो भनी बयान गरेकी छन् । सो सबै झुठ्ठा हो । निज छोरी ममिनाको झारबिलाजी बस्ने अलिमरु मियासँग विवाह भई ६ महीना सम्म निजले आफ्नो घरमा राखी त्यसपछि आउने जाने बराबर गरिरहेको र ०३२ सालमा निज छोरी १७ वर्ष लागी सो जाँच भएको अवस्था १६ वर्षपुगी सकेकी हुँदा हाईमेन छेद्न भएको भनी डाक्टरले किन लेखे म भन्न सक्दिन । डिल्लीप्रसादले किन प्रहरीमा त्यस्तो कागज गरे निज जानुन् मैले उजूर गर्न पर्ने कारण घरको कर नबुझाएमा त्यस ठाउँबाट घर उठाउने भएको हुँदा मानिसहरूकै सिकायतमा लागि यो उजूर गरेको हुँ । निज इन्द्रप्रसादले छोरीलाई करणी गरेको होइन भन्ने समेत व्यहोराको जाहेरवाला इद्रिश मियाँले अदालतमा गरेको बयान ।

          १६.  जाहेरवालाले छोरी ममिनालाई प्र.इन्द्रप्रसादले करणी गरेको होइन मेरै सिकावटमा लागि झुठ्ठा बयान गरेको हो भन्ने निजका बयानमा उल्लेख भएको पाइएकोले समेत जाहेरवाला इद्रिश मियाँको छोरी ममिना मियाँनीलाई प्र.ईन्द्रप्रसाद आचार्यले जबरजस्ती करणी गरेको र प्र.राजकुमार आचार्य, धनबहादुर श्रेष्ठले जबरजस्ती करणी गराउनेमा सहयोग गरेको ठहर्दैन प्रहरी अभियोग झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति ०३२।८।१६।३ को फैसला नसुहाउँदो बुँदा लगाई अपराधीलाई सफाई दिनु न्यायसंगत र कानुनी भएन अभियुक्त इन्द्रप्रसाद समेतका अभियुक्तहरूलाई दावी बमोजिम सजाय हुनुपर्ने सफाई दिएको सुनसरी जिल्ला अदालतको इन्साफ बदर भई प्रहरी प्रतिवेदन अनुसार सजाय हुन अनुरोध छ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदनपत्र ।

          १७.  शुरूले प्रतिवादीहरूलाई सफाई दिने गरेको इन्साफ मिलेको देखिएन विपक्षीहरूलाई छलफल निमित्त म्याद जारी झिकाई आए वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत पू.क्षे.अ.डिभिजन बेञ्चको ०३३।७।१०।३ को आदेश ।

          १८.  जाहेरवाला इद्रिश मियाँको श्रीमती सायरा हसीना गंगीया भन्ने देखिएकोले निजका श्रीमती ३ जना हुन् वा के हुन् ईद्रिशको बयान गराई पठाउने र ममिनाको उमेर सम्बन्धमा वैज्ञानिक जाँच गराई पठाउने भनी मिसिल शुरू जिल्ला अदालतमा गएकोमा जाहेरवाला इन्द्रिशको बयान कागज गर्दा मेरो श्रीमती सायरा मात्र जीवित छ हसिना श्रीमती भए तापनि बादती हुनुभन्दा अगावै मरीसकेको र गंगीया मेरो श्रीमती होइन भन्ने समेत ईद्रिशको सु.जि.अ.मा भएको कागज ।

          १९.  मैले प्रहरीमा कुनै कागज गरी दिएको छैन र जाहेरवालाको श्रीमती वर्ष ४१ की गंगीया मियाँहनी भनी लेखिएको कागजमा मैले ल्याप्चे सही गरेको छु । ०३१ साल पौष १० गते शनिवारका रात १२ बजेको समयमा प्र.पं.इन्द्रप्रसाद र धनबहादुर हाम्रा घरमा आई ढोका घच्घचाउँदा के हो भनी सोधनी हुँदा प्र.पं.भन्ने चाल पाई ढोका खोली दिए प्र.पं.र धनबहादुरले मेरो लोग्ने ईद्रिश मियाँलाई पञ्चायतमा लिएर गए, रातको ११ बजेको समयमा राजकुमार आई मलाई र मेरो छोरी ममिनालाई प्र.पं.ले बोलाएको छ भनी भनेकाले म र छोरी राजकुमारको साथ लागि प्र.पं.को घरमा पुगेपछि मलाई हकार पकार गरी डर त्रास देखाई घर फर्काए पछि छोरी ममिनालाई निज सुत्ने कोठामा लगी निजकै साथमा सुताई भोलिपल्ट बिहान मात्र छाडी दिए घर आई पुगेपछि छोरीले मलाई ईन्द्रप्रसादले जबरजस्ती गरेको कुरा भनेकीले मैले थाहा पाएँ वारदात अवस्थामा छोरीको उमेर १३ वर्षको थियो । अगाडि हसिना नाम गरेकी १ पत्नी थिइन् । निज वारदात मिति भन्दा १ वर्ष अगावै मरेकीले मलाई विवाह गरी ल्याएका हुन् भन्ने समेत जाहेरवालाको पत्नी सायराले सु.जि.अ.मा ०३४।१०।११ गते गरेको बयान ।

          २०.  निज ममिनालाई जाँच गर्दा निजको हालको उमेर १८।१९ पुगेको मेडिकल रीपोर्ट अनुसार अनुरोध छ भन्ने समेत ईनरुवा अस्पतालको मिति ०३४।१०।१७ को पत्र ।

          २१.  इन्द्रप्रसाद आचार्यले जबरजस्ती करणी गरेको ठहर्छ राजकुमार वाहुन र धनबहादुर श्रेष्ठले जबरजस्ती करणी गर्ने कुरा थाहा पाई लिए लगे संयोग पारी दिएको र मद्दत दिएको भन्ने कतैबाट प्रमाणित हुनआएको नदेखिएकोले निजहरूलाई सफाई दिने गरेको इन्साफसम्म सु.जि.अ.को मनासिव छ भन्ने समेत पू.क्षे.अ.को फैसला ।

          २२.  जाहेरवाला इद्रिस आफैं अदालतमा आई बयान गर्दा जबरजस्ती करणी गरेको होइन भनी बयान गरेको छ सरजमीनले वारदातका समयमा म सो ठाउँमा छैन भनी बकेको छ म प्रहरीमा र अदालतमा बयान गर्दा इन्कारी छु यस्तो हुँदाहुँदै पू.क्षे.अ.ले जबरजस्ती करणी ठहराएको फैसला कानुन त्रुटि हुँदा इन्साफ जाँच गरी दिनु भनी सर्वोच्च अदालतका नाउँमा प्रमांगी पाउँ भनी चढाएको ९०८ को बिन्तिपत्रमा मिसिल झिकाई इन्साफ जाँची दिनु निवेदकलाई जनाउ दिनुभन्ने समेत हु.प्र.बक्स भइआएको रहेछ ।

          २३.  प्रतिवादी इन्द्रप्रसाद आचार्यले २०३१ साल मार्ग १५ गते जबरजस्ती करणी गरे भनिएको ममिनाको उमेर जाँच गर्दा ०३४।१०।१७ मा १८।१९ वर्ष भनी लेखिएबाट उस बखत करीब १५ वर्षको कम्तीमा हुने देखिएको छ । २०३१ साल पौष २ गते मात्र इद्रिश मियाँको जाहेरी परेको रहेछ जबरजस्ती करणी भएपछि पनि इन्द्रप्रसादसँग सुतेको भनी ममिनाले बयान गरेको छ यस्तो अवस्थामा जबरजस्ती ठहर्‍याउन मिल्ने देखिँदैन अ.बं.२०२ नं. बमोजिम वादी पक्ष श्री ५ को सरकारका तर्फबाट बहस गर्न उपस्थित हुनु भनी महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने यस अदालत डिभिजन बेञ्चको आदेश ।

          २४.  निवेदक इन्द्रप्रसाद आचार्यतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विपक्ष श्री ५ को सरकारतर्फबाट खटिनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले गर्नुभएको बहस जिकिर समेत सुनियो ।

          २५.  यसमा इन्द्रप्रसादले ममिनालाई जबरजस्ती करणी गरेको ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको छ छैन प्रस्तुत मुद्दामा निर्णय दिनुपर्ने हुनआएको छ । प्रस्तुत मुद्दामा इन्साफतर्फ विचार गर्दा मेरो छोरीलाई इन्द्रप्रसादले जबरजस्ती करणी गरेकोमा सजाय गरिपाउँ भनी इद्रिश मियाँले प्रहरीमा मिति ०३१।९।२ मा जाहेर गरेकोमा अदालत समक्ष आई सो कुरालाई खण्डन गरी अरूको सिकावट बहकाउमा लागी त्यस्तो जाहेरी दरखास्त दिएको हुँ छोरी ममिनालाई इन्द्रप्रसादले जबरजस्ती करणी गरेको होइन छोरी बाख्रा चराउन जाँदा कन्जरा खोला नजिक लडिराखेको सखुवाको गाछी लडेकोमा फड्कन लाग्दा लडी घोच्न गएकोले छोरीको योनीमा घाउ भएको थियो भनी इद्रिश मियाँले अदालतमा दरखास्त दिई बयान समेत गरेकोले निजको जाहेरी प्रमाणलायकको देखिन आएन, आमा भनी प्रहरीमा बयान गर्ने गोगिया र अदालतमा आई आमा भनी बयान गर्ने सायरा भनेकाको बयान परस्पर नमिल्दो देखिएको र एउटै व्यक्ति हो भन्ने तथ्यसाथ यकीन हुन नआएकोले निजको बयानमा भर गर्न पनि मिल्ने देखिएन । करणी भएपछि काखी च्यापी सुताएकोले रातभरि म निदाई सुती राखेको भनी ममिनाले अदालतमा बयान गरेको यस्तो जबरजस्ती गरी आफ्नो छोरीलाई लगेको भए निजको आमा बाबुले कुनै किसिमको होहल्ला नगर्नु चुप लागी रातभरि बस्नुमा पनि स्वाभाविकता देखिन्न होहल्ला भए गरेको भनी कुनै सरजमीनका मानिसले भन्नसकेको पनि देखिन आएको छैन । २०३१ साल मंसीर १५ गते जबरजस्ती गरे भनिएको ममिनाको उमेर जाँच गर्दा २०३४।१०।१७ मा १८ या १९ वर्षकी भनी लेखिएबाट उस बखत करीब १५ वर्षको करीब हुने देखिएको छ वारदातमा फुर्सद पाएको १७ दिनपछि अर्थात ०३१ साल पौष २ गते मात्र इद्रिश मियाँको जाहेरी परेको छ । जबरजस्ती करणी भएपछि पनि इन्द्रप्रसादसँगै सुतेको भनी ममिनाले बयान गरेको समेत देखिन आएकोले यस्तो अवस्थामा जबरजस्ती करणी ठहर्‍याउन न्यायको रोहमा मिल्ने देखिँदैन । तसर्थ माथि उल्लेख भए गरेका कारणहरूबाट प्रतिवादी इन्द्रप्रसाद आचार्यले ममिनालाई जबरजस्ती करणी गरेको देखिन नआएकोले इन्द्रप्रसाद आचार्यले जबरजस्ती करणी गरेको ठहराई छिनेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन निज इन्द्रप्रसादलाई सफाई दिने गरी शुरू सुन्सरी जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहर्छ । तपसीलका कलममा तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी प्र.पं.इन्द्रप्रसाद आचार्य के पूर्वाञ्चल क्षेत्रीय अदालतका ०३५।८।११।१ का फैसला र ०३५।९।७।६ का लगतले कैद वर्ष ३। गर्ने गरेको माथि लेखिएबमोजिम सफाई पाएको हुँदा सो कैद नलाग्ने भई व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी पू.क्षे.अ.मा पूर्जि गर्न का.जि.अ.मा लगत दिनु.....................१

प्रतिवादी प्र.पं.इन्द्रप्रसाद आचार्य के पूर्वाञ्चल क्षेत्रीय अदालतका ०३५।८।११।१ का फैसला र ०३५।९।७।६ का लगतले निजको अंश सर्वस्व गरी आधा अंश ममिनालाई भराउने गरेको माथि लेखिएनुसार सफाई पाएको हुँदा सो आधा अंश भराउन पर्दैन व्यहोरा जनाई लगत काटी दिनु भनी पूर्वाञ्चल क्षेत्रीय अदालतमा पूर्जि गर्ने का.जि.अ.त.मा लगत दिनु..........................२

देहाएका प्रतिवादी प्र.पं.इन्द्रप्रसाद आचार्यको साक्षीहरू के उक्त फैसला र लगतले झुठ्ठा बकपत्र गरे बापत अ.बं.१६९ नं. बमोजिम जनही रु.१। का दरले गर्ने गरेको जरीवाना नलाग्ने हुँदा असूल भए फिर्ता दिने नभए व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी पूर्वाञ्चल क्षेत्रीय अदालतमा लेखी पठाउन का.जि.अ.त मा लगत दिनु...............................३

प्र.को साक्षी शारदाप्रसाद ढकाल के रु.१। को कलम ,, ,, भोजराज जोशी के.ऐ ऐ ,,     ,, प्रोफेसर हरिभक्त न्यौपाने के ऐ. ऐ

,,        ,, हिराप्रसाद रिजाल के.ऐ ऐ  ,,       ,, कोमलप्रसाद रिजाल के ऐ. ऐ ,,    ,, चक्रप्रसाद प्रसाई के ऐ. ऐ

प्रतिवादी प्र.पं. इन्द्रप्रसाद आचार्यको पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३५।८।१ को फैसला उपर पुनरावेदन गर्दा कैद बापत राखेको धरौटी रु.१६२० का.जि.अ.त.मा ०३६।७।८ मा बुझाएको देखिएकाले सो धरौटी नलाग्ने हुँदा ऐनका म्यादभित्र फिर्ता पाउँ भनी प्रतिवादी प्र.पं.इन्द्रप्रसादको दरखास्त पर्न आए दस्तूर केही नलिई फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु..............................४

मिसिल नियमबमोजिमगरी बुझाई दिनु....................५

 

म सहमत छु ।

 

न्या. ईश्वरीराजमिश्र

 

इति सम्वत् २०३७ साल श्रावण १२ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु