शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३७३ - लिखत पास

भाग: २२ साल: २०३७ महिना: भाद्र अंक:

निर्णय नं. १३७३   ने.का.प. २०३७

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३६ सालको दे.फु.नं. ३७।४८

फैसला भएको मिति :  २०३७।५।६।६ मा

निवेदक : का.न.पं. वा.नं. २ लाजिम्पाट बोलागाल बस्ने गणेशबहादुर सोपु श्रेष्ठ समेत

विरूद्ध

विपक्षी : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.साउने टोल बस्ने क्षेत्रकुमार सोपु श्रेष्ठ

मुद्दा : लिखित पास

(१) लिखत पारित गरी लिने समूहभित्र परेकोलाई पनि उक्त ऐनले सुविधा दिन मिल्ने गरी हकदार उपस्थित भई लिखत गरी दिएको होइन भन्ने उजूर गर्दागर्दै रजिष्ट्रेशन पास गर्नसक्ने देखिन्न भनी ठहर गरेको डिभिजन बेञ्चको मिलेन बकसपत्र पारित हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने ।

 (प्रकरण नं. १९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

फैसला

          न्या. सुरेन्द्रप्रसाद सिंह : हुकुम प्रमांगीबाट दोहरिई यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त रीपोर्ट निम्न बमोजिम छ ।

          २.  पुनकुमार सोपु श्रेष्ठले हामीहरूका नाउँमा मिति ०२७।३।६ गते हालै देखिको खान व्यहोर्न पाउने गरी बकसपत्र लेखी दिनुभएको उक्त बकसपत्र लेखी दिने व्यक्ति अचानक आफ्नो कालगतिले ०२७।३।२४ गतेका दिन परलोक हुनुभएकोले कानुन बमोजिम दिन ३५ भित्र निवेदन प्रस्तुत गरेको छु निम्न लेखिएका बाहेक अरू हकदैया लाग्ने कोही नभएको हुँदा उक्त बकसपत्र पास गरिपाउँ भन्ने समेत सोपु श्रेष्ठ जगतमान १, सानु सोपु श्रेष्ठ १, गणेशबहादुर सोपु श्रेष्ठ १, जगतबहादुर सोपु श्रेष्ठ १, कान्छा सोपु श्रेष्ठ १ समेतको ०२७।४।२७ को निवेदन ।

          ३.  रजिष्ट्रेशनको ९ नं. बमोजिम १५ दिने सूचना टाँस गरिएको छ निज पुनकुमारको हकवाला भए आफ्नो सबूत प्रमाण साथ उपस्थित हुनु भन्ने काठमाडौं भूमिप्रशासन कार्यालयको ०२७।५।१४ को सूचनाबालकुमारी पञ्चायत ठिमीमा समेत ०२७।५।२१।१ मा टाँस भएको मुचुल्का।

          ४.  पुनकुमार सोपुको म नजिकको हकदार कोही नहुँदा निज पुनकुमारको हक निज परलोक भई अपुतालीबाट मेरो एकलौटी हक हुनआएको घर जग्गा दरखास्तवाला जगतमान समेतले खिचोला गरेमा खिचोला मेटाई पाउँ भन्ने भ.पु.जि.अ.मा ०२७।५।११।५ मा नालेश दायर गरेको पर्चाको नक्कल पेश गरेको छु परलोक हुने पुनकुमारले जगतमान समेतलाई हालै देखिको बकसपत्र गरिदिएको थाहाजनक नहुँदा बकसपत्र पास हुन नपाओस् भन्ने ०२७।५।३० को छत्रकुमार सोपु श्रेष्ठको वारेस एमन रहसनको उजूरी निवेदन ।

          ५.  पुनकुमार सोपु श्रेष्ठको निजले भाइ भतिजा जवान ६ लाई ०२७।३।१६ मा हालै देखिको बकसपत्र लेखी निज २०२७।३।२४ मा परलोक भएको हो त्यसमा म समेत साक्षी बसी आएको हुँ भन्ने प्रेमबहादुर श्रेष्ठको र सोही मिलानको विकुबहादुर श्रेष्ठ १, कृष्णबहादुर सोपु श्रेष्ठ १, सुईकुमार श्रेष्ठ १, गोविन्दलाल श्रेष्ठ १ समेतको बकपत्र र कागज ।

          ६.  पक्ष विपक्ष दुवैलाई पुस्तावरी खुलाउन लगाई पेश गर्नु भन्ने भूमिप्रशासन कार्यालय काठमाडौंको ०३०।११।२२ को आदेश ।

          ७.  पुनकुमार सोपु १, लक्ष्मीनारायण सोपु १, लक्ष्मीलाल सोपु १ समेत जवान ३ का नाउँमा भूमिसुधार कार्यालय भक्तपुरमा दर्ता भएको दर्तावाला ३ जना परलोक भइसकेको सो दर्ता मध्ये मेरो बाबु नारी लक्ष्मी नारी हुन् पुनकुमार मेरा काका हुन लक्ष्मीलाल दाजुभाइ हुन निजहरूको हक खाने म मात्र भएको भन्ने समेत छत्रकुमारको विवरण निवेदन ।

          ८.  लिखतमा बिगो खुलेको नहुँदा दामासाहीले बिगो खुलाउने कागज राई ५ जनाको नाउँमा ५ खण्ड गरी बकसपत्र पारी गरी दिन मनासिव देखी पेश गरेको छु भन्ने फाँटवालालाई राय भई पेश गरिएको टिप्पणीमा पारित गरी दिने सदर भनी ०२९।१।२९ मा भूमिप्रशासकले सदर गरेको टिप्पणी सदर गरेको रहेछ ।

          ९.  उक्त पारित गरी दिने गरी टिप्पणी सदर गरेकोमा चित्त बुझेन भन्ने छत्रकुमार सोपु श्रेष्ठको पुनरावेदन पत्र ।

          १०. पुनकुमारले बकसपत्र गरी दिएको हो भनी बुझाएका साक्षीहरूले बकपत्र गरी दिएको रजिष्ट्रेशन पारित गरिपाउँ भनी म्यादभित्र दरखास्त गरेको हुँदा पारित गरी दिने प्रशासकले गरेका निर्णय मनासिव ठहर्छ भन्ने समेत अञ्चलाधिशको कार्यालय बागमती अञ्चलाधिशको ०३२।१।२४।४ को फैसला रहेछ ।

          ११.  प्रस्तुत मुद्दाको दावीको लिखित जालसाजी नठहरी आजै किनारा भएको र नजिकको हकदार को हो र कसले पाउने हो भन्ने तर्फको निर्णय दिनुपर्ने मुद्दा नभई हालै देखिको बकसपत्र जालसाज हो होइन भन्ने मुद्दातर्फबाट सद्दे ठहरी किनारा भइसकेकोले यसमा अरू विचार गरिरहनु परेन बागमती अञ्चलाधिशको कार्यालयको फैसलामा केही परिवर्तन गर्न परेन इन्साफ बागमती अञ्चलाधीशको कार्यालयको मनासिव छ भन्ने समेत ०३४।५।७।३ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

          १२. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा रजिष्ट्रेशनको ९ नं. बमोजिम टाँसेको म्यादमा हकदार हुँ भनी निवेदक आएको र लिखितबाटै निवेदक हकदार देखिँदा देखिँदै उपरोक्त ऐनको त्रुटि गरी बागमती अञ्चलाधिशको कार्यालयबाट गरेको निर्णयलाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मनासिव ठहराई गरेको फैसलामा सार्वजनिक महत्त्वको विषयमा गम्भीर कानुनी त्रुटि देखिएकोले न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा ५ को खण्ड ख बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजन बेञ्चको आदेश ।

          १३. यसमा रजिष्ट्रेशनको ९ नं. बमोजिम टाँसिएको म्यादमा मर्नेको अपुताली खानेको हकदार उपस्थित भई लिखत गरी दिएको होइन भन्ने उजूर नगरेमा मात्र रजिष्ट्रेशन पारित गर्नसकिने देखिन्छ । सो बमोजिम हकदार उपस्थित भई लिखत गरी दिएको होइन भन्ने उजूर गर्दागर्दै रजिष्ट्रेशन गर्नसकिने स्थिति देखिन्न यसरी लिखत पास हुनु नसक्नेमा पास गरेको र त्यसलाई सदर गरेको बागमती अञ्चलाधिशको निर्णय मनासिव ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिएन बदर हुने ठहर्छ भन्ने डिभिजन बेञ्चको फैसला रहेछ ।

          १४. सो उपर सानु श्रेष्ठ १, गणेशबहादुर सोपु श्रेष्ठ १, कान्छा सोपु श्रेष्ठ १ समेतको हकमा र आफ्ना हकमा समेत ऐ. जगतमान सोपु श्रेष्ठले चढाउनुभएको बिन्तिपत्रमा व्यहोरा साँचो भया सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३६।१।४ गते छिनिएको लिखत पास मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएको हुकुम प्रमांगी ।

          १५. नियम बमोजिम दैनिक कजलिष्टमा चढी यस बेञ्च समक्ष पेश हुनआएको र आज निर्णय सुनाउन तारिख तोकिएको प्रस्तुत मुद्दाका वा समेत निवेदक जगतमान सोपु वा सानु सोपू र विपक्षी छमकुमार सोपुको वा गणेशमान डंगोललाई रोहवरमा राखी निवेदक तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता ठाकुरप्रसाद खरेल र विपक्षी तर्फबाट विद्वान अधिवक्ता रामगोपाल श्रेष्ठले गर्नुभएको बहस समेत सुनियो ।

          १६. विद्वान अधिवक्ता ठाकुरप्रसाद खरेलले रजिष्ट्रेशनका ९ नं. ले लिने र दिनेको समूह छुट्याएको छ विपक्षी छमकुमार बकसपत्र लिने समूहभित्र परेको हुनाले निजलाई उक्त ऐनले सुविधा दिन मिल्दैन भन्ने र विद्वान अधिवक्ता रामगोपाल श्रेष्ठले हकदार छमकुमार स्वयंले उजूर गरेको हुँदा उजूर गर्दागर्दैको अवस्थामा पारित गर्न नमिल्ने हुनाले रजिष्ट्रेशनका ९ नं. ले मेरो पक्षले सुविधा पाउने स्पष्ट छ तसर्थ इन्साफ डिभिजन बेञ्चको सदर ठहरिनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १७. यसमा पुनकुमार सोपुले हामीहरूका नाउँमा मिति ०३७।३।१६ मा हालैको बकसपत्र गरिदिनुभएको सो पारित हुन नपाउँदै ०२७।३।२४ मा परलोक भएकाले हामी बाहेक हकदैया लाग्ने कोही छैन उक्त लिखत पारित गरिपाउँ भन्ने समेत भूमिप्रशासन कार्यालय काठमाडौंमा निवेदक वादी जगतमान सोपु श्रेष्ठ समेतको दरखास्त परेकोमा म्याद टाँस हुँदा बकस पाउने मध्येका विपक्ष प्रतिवादी छत्रकुमारले म मात्र मर्नेको नजिकको हकदार भएकोले मलाई स्वतः अपुताली प्राप्त भएको छ लिखितमा रीत नहोस् भन्ने समेत पारित गर्न रोक लगाउन निवेदन दिएकोमा भूमिप्रशासन कार्यालय काठमाडौंबाट निवेदक वादी समेतका नाउँमा ५ खण्ड गरी पारित गरी दिन ०२९।१।२९ मा टिप्पणी सदर गरेको उपर छत्रकुमारको पुनरावेदन पर्दा लिखत पास हुने ठहराएको बागमती अञ्चलाधिश कार्यालयको इन्साफ मनासिव ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३४।५।३ मा फैसला भएको देखियो ।

          १८. रजिष्ट्रेशनका ९ नं. मा रजिष्ट्रेशन पास गराउनुपर्ने घरसारमा भएको लिखत रजिष्ट्रेशन हुन नपाउँदै सो लिखत गरिदिने मानिस मर्‍यो त्यसको ऐनले अपुताली खाने हकदार कोही छैन रजिष्ट्रेशन गरिपाउँ भनी लिखत गराई लिनेले ऐनमा म्यादभित्र दरखास्त दिन आएमा यस्तो व्यहोराको लिखत घरसारमा गरी दिई गरेको हो होइन मर्नेको अपुताली खाने हकदार कोही छौ भने बाटाका म्याद बाहेक १५ दिनभित्र हाजिर भई जाहेर गर्न आउनु लेखिएको म्यादभित्र मर्नेको अपुताली खान पाउने हकदार हाजिर हुन नआए रजिष्ट्रेशन भई जानेछ भन्ने समेत व्यहोराको म्याद सो लिखत गरी दिई मर्नेको गाउँ शहर टोल घर रजिष्ट्रेशन गरी दिने अड्डाको ढोकामा र सबैले देख्ने ठाँउमा टाँसी दिनुपर्छ । सो म्यादभित्र मर्नेको अपुताली खाने हकदारको वा श्री ५ को सरकारमा आउने अपुताली भए जहाँसुकैको लिखत गरिदिएको वा मरेको छैन भन्ने उजूर नपरे म्याद नाघेको मितिले ७ दिनभित्र लिखत गरी दिई मरेको जान्ने भनी दरखास्तवालाले लेखी दिएको मानिस र सो लिखतमा लेखिएका साक्षीहरू बुझी बुझिए सम्मका प्रमाणबाट लिखत गरिदिइसकेपछि मरेको ठहर्‍यो र त्यसको अपुताली खाने हकदार पत्ता लागेन भने सोही व्यहोरा जनाई कानुन बमोजिम रीत पुर्‍याई रजिष्ट्रेशन गरी दिनु भन्ने समेत व्यवस्था भएको देखिन्छ । यसबाट विपक्ष प्रतिवादी क्षत्रकुमार सोपु श्रेष्ठ ऐनले व्यवस्था गरेको बकसपत्र गरिदिनेको समूहभित्र नपरी निवेदक वादी र विपक्ष छत्रबहादुर सोपु श्रेष्ठ समेत बकसपत्र गरी लिनेको समूहभित्र परेको देखिन आयो ।

          १९. लिखत पारित गरी लिने समूहभित्र परेकोलाई पनि उक्त ऐनले सुविधा दिन मिल्ने गरी हकदार उपस्थित भई लिखत गरिदिएको होइन भन्ने उजूरी पर्दापर्दै रजिष्ट्रेशन पास गर्नसक्ने देखिन्न भनी ०३६।१।१४ मा ठहर गरेको डिभिजन बेञ्चको मिलेन बकसपत्र पारित हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४।५।३ को इन्साफ मनासिव ठहर्छ । तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम म.क्षे.अ.को फैसला सदर ठहरेको हुनाले प्रतिवादी क्षेत्रकुमार श्रेष्ठलाई गर्ने गरेको जरीवाना रू.५।लगत काटिदिनु भनी डिभिजन बेञ्चले लगत दिने गरेको हाल सो बमोजिम गर्नु पर्दैन भनी का.जि.अ.त.मा लगत दिनु..........................१

प्र.वादी क्षेत्रकुमार सोपु श्रेष्ठले म.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१।५० स.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१।५० समेत जम्मा रू.३।हाल भरी पाउने ठहरेकाले ०३६।९।३०।२ मा का.जि.अ.मा धरौट राखेको कोर्टफी निवेदक फिरादीहरूलाई कानुनको रीत पुर्‍याई फिर्ता दिनु र व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी ऐ. ऐ ....................२

निवेदक वादी जगतमान सोपु समेत जना ५ ले सर्वोच्च अदालतमा पुनरावेदन गर्दा स.अ.ल.न.विभाग मार्फत ०३६।९।३० का.जि.अ.मा राखेको कोर्टफी रू.१।माथि इन्साफ खण्डमा लेखिया बमोजिम क्षेत्रीय अदालतको इन्साफ सदर ठहरेकाले कोर्टफी ऐन, २०१७ को दफा १५(११) का म्याद ३ वर्षभित्र निवेदक वादीहरूले विपक्ष छत्रकुमारबाट भरी पाउँ भनी दरखास्त दिए दस्तूर केही नलिई भराई दिनु भनी ऐ. ऐ.........३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

हामीहरूको सहमति छ ।

 

प्र.न्या. नयनबहादुर खत्री

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३७ साल भाद्र ६ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु